कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कविता

बागबजार

सङ्गीत

बागबजार गीत गाउन जाने छैन टाढा कतै
बरू गीत नै आएर टाढा कतैबाट
बागबजार सामु घन्किदिओस्, आज !

बागबजार

चप्पल लगाउन छाडिसक्यो बागबजारले

मोजा महिनौंसम्म गन्हाइरहोस्, तर जुत्ता छाड्दैन

कपाल पाल्ने रहर गर्छ, तर नुहाउने कष्ट गर्दैन

मेलम्ची–देशको पानी आइपुगेको हल्ला छ, अखबारमा

बागबजारलाई भने आँखाका चिप्रा पखाल्न पानी पुग्दैन


बागबजार हरदिन व्यस्त हुन्छ, हरक्षण व्यस्त

नाम कमाउने कुण्ठाले थलिएको लेखक

सुस्तसुस्त हिँड्दै बागबजारलाई भेट्न आइपुग्छ

नाम कमाइसकें भन्ठानेर गुत्थ फुलेको कवि

‘पाठकभन्दा म विशिष्ट’ भन्ने भंगिमा प्रदर्शनका लागि

बागबजारसँगै भलाकुसारी गर्न आइपुग्छ

लेखकको परिचयमा गुप्तचरी गर्ने जासुस

आधा गिलास चिया खान बागबजारलाई नै सम्झन्छ


अनुहारका मार्क्सवादीहरु र आँतका उत्तरआधुनिकतावादीहरु

बोलीका प्रगतिशीलहरु र बेहोराका पितृसत्तावादीहरु

किताबमा अम्बेडकरप्रेमीहरु र मनमा थर–गोत्रप्रेमीहरु

प्रविधिका अन्धपूजकहरु र प्रेमका धोकेबाजहरु

बागबजारलाई मिनेट–मिनेटमा मिसकल गरिरहन्छन् !


सम्पादकले पाखा पारिदिएको पत्रकार

सम्पादकलाई होइन, प्रधानमन्त्रीलाई मुख छाडेर गाली गर्न

पठाओ चढेर आइपुग्छ

हाकिमबाट हरघडी अपमानित कर्मचारी

स्तरहीन साहित्यको आलोचना गर्न

पुरस्कार विजेता पुस्तक बोकेर निस्कन्छ

मन्त्रीको स्वकीय हुन नपाएको कार्यकर्ता

रिन गरेर सिलाएको कोटको फुर्ती लगाउन

ट्याक्सी चढेर आइपुग्छ

डीभी भरिसकेको विश्वविद्यालयको विद्यार्थी

क्लासिक पुस्तकको गफ दिन हान्निन्छ

एक कप चिया सित्तैंमा खाइमाग्ने बौद्धिकहरु

बागबजारलाई बलिदानको पाठ पढाउन आइपुग्छन्

दलालहरुसँग चुनावका लागि हात पसार्ने नेताजी

चुनाव हारेपछि दलालतन्त्रलाई सराप्न बागबजारै आइपुग्छन्

दिनभरि सिंहदरबार छेउछाउ धाइरहने कार्यकर्ताहरु

रातभरि भड्केका आत्माझैं बागबजार वरिपरि घुमिरहन्छन्


बागबजार भने कहिले किताब च्यापेर कलेजभित्र छिर्छ

कहिले किताब च्यातेर कलेजबाहिर निस्कन्छ

कहिले बालुवाटारलाई गाली गर्न माइतीघर पुग्छ

कहिले सिंहदरबारलाई प्रेम गर्न बानेश्वर पुग्छ

साँझपख निस्कन्छ कहिलेकाहीँ रत्नपार्कसम्म

बिहानीपख पुग्छ कहिलेकाहीँ खसीबजारसम्म


तर,

बागबजार गीत गाउन जाने छैन टाढा कतै

बरू गीत नै आएर टाढा कतैबाट

बागबजार सामु घन्किदिओस्, आज !


बेलाबेला बहुभाषामा भाषण गर्छ बागबजार

बिहान बिस्तारै बोल्छ–

‘धर्म कोई रिलिजन नहीं, दोस्तों !’

दिउँसो उँचो स्वरमा अपिल गर्छ–

‘लेट्स डिस्ट्रोय द प्राइभेट प्रपर्टी

बट् डन्ट डिस्ट्रोय द प्राइभेट लाइफ !’

अनि साँझ दारूभावमा चिच्याउँछ–

‘मार्क्सले भनेकै छन्, क्लास–स्ट्रगल गर्नु नै छ

क्लास स्ट्रगल भनेको कक्षाभित्रको सङ्घर्ष हो

हामीले थालिसकेका छौं क्लासभित्रै स्ट्रगल !’


बागबजारिया क्लासमा पसिसकेका तन्नेरीहरु

स्ट्रगलको ढोकाबाट निस्कने उपाय खोज्दै छन्

चे ग्वेभारालाई सपनामा बोकिहिँड्ने किशोरहरु

बागबजारको बहुरुप देखेर आतंकित छन्

लेनिनलाई आदर्श ठान्ने युवतीहरु

बागबजारबाट भाग्ने बाटो नभेटेर हैरान छन्


बागबजार कसैलाई निमन्त्रणा पठाउँदैन

बागबजारले कसैको निमन्त्रणा स्विकार्दैन

घोषणापत्रहरु यहाँ आफैं आउँछन् र चिया अर्डर गर्छन्

दर्शनशास्त्रहरु यहाँ यसै आउँछन् र ठट्टामजाक गर्छन्

इतिहासहरु दौडिँदै आइपुग्छन् र हतारहतार भाग्छन्

कविताहरु फुटकर आउँछन् र अनुप्रास मिलाउँछन्–

‘बागबजार व्यस्त छ, जाँदैन है क्रान्तिमा

बस्, क्रान्ति नै एक दिन आइपुगोस् बागबजारमा !’


बागबजार गीत गाउन जाने छैन टाढा कतै

बरू गीत नै आएर टाढा कतैबाट

बागबजारसामु घन्किदिओस्, आज–

‘सयौं थुँगा बागबजारलाई बाँचिरहन देऊ !

हजार–हजार बागबजारलाई हाँसिरहन देऊ !’

प्रकाशित : मंसिर २५, २०७८ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?