कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ह्वाइट हाउसको निद्रा बिथोल्दै ‘हवाना सिन्ड्रोम’

‘हवाना सिन्ड्रोम’ को गूढ पत्ता लगाउन वैज्ञानिकहरू केही व्यक्तिमा माइक्रोवेभ पठाउने र त्यसले उनीहरूको मस्तिष्कमा पार्ने प्रभावबारे अध्ययन गर्दै छन् ।
पाँच वर्षयता अमेरिकी कूटनीतिक अधिकारीहरुलाई सताइरहेको ‘हवाना सिन्ड्रोम’ जति रहस्यमय छ, यसमाथिको अनुमान र आशंका उत्तिकै व्याप्त छ

सन् २०१७ को डिसेम्बर, रुसको मस्कोस्थित होटल मेरियट । मार्क पोलिमरोपोलोस (५१) ले त्यो रात ऐठनमा बिताए । ‘त्यस रात मलाई कसैले पटकपटक गोली हानिरहेजस्तो लागिरह्यो । सायद मेरो जीवनकै त्यो डरलाग्दो अनुभव थियो,’ अमेरिकी रेडियो एनपीआरसँग उनले भनेका छन् । अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) मा २६ वर्षसम्म अधिकृतको भूमिकामा रहँदा उनले इराक, सिरिया र अफगानिस्तान क्षेत्रमा यस्तै भयानक युद्ध अनुभव लिइसकेका थिए ।

ह्वाइट हाउसको निद्रा बिथोल्दै ‘हवाना सिन्ड्रोम’

अमेरिका–रुसबीच शीतयुद्धदेखि नै तनावपूर्ण सम्बन्ध छ । सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनपछि पोलिमरोपोलोसलाई सीआईएले मस्को खटाएको थियो । अमेरिकी निर्वाचनमा रुसले प्रत्यक्ष हस्तक्षेप गरेको खुलासा भएपछि युरोप, युरेसिया क्षेत्रका प्रमुख उनी विशेष मिसनसहित त्यहाँ पुगे । जहाँ उनी रुस र उसको प्रमुख गुप्तचर निकाय (जीआरयू) का गुप्त रणनीति बुझ्ने उद्देश्यसहित गएका थिए । तर अचानक ‘त्यो’ रात उनलाई ऐंठन भएको थियो । उनका लागि अवस्था यति खपि नसक्नु भयो की मस्कोको १० दिने भ्रमण नै छोट्याएर देश फिर्नुपर्‍यो ।

सुरूमा ‘फुड पोइजनिङ’ होला भन्ने ठानेका उनी केही दिनपछि फेरि उस्तै समस्या भोगेपछि भने आत्तिए । दुई महिनापछि टाउको दुख्ने समस्या पनि थपियो । त्यसपछिका लगातार तीन वर्ष उनले पटक–पटक एमआरआई, सिटीस्क्यान, एक्स–रे गराए, तर न समस्या पहिचान हुन सक्यो, न त उपचार नै । अन्ततः खराब स्वास्थ्य अवस्थाकै कारण उनले सन् २०१९ मा जागीर छोड्नुपर्‍यो ।

पोलिमरोपोलोसलाई समस्या देखिनु ठीक एक वर्षअघि पनि क्युबाको हवानास्थित अमेरिकी दूतावासमा खटिएका सीआईएका अधिकारीलाई यस्तै भएको थियो । यो क्रम यति बढेर गयो, त्यसपछिका दुई वर्षमा त क्युबामा कार्यरत २६ अमेरिकी अधिकारी र उनका परिवारमा पनि सोही समस्या देखियो । कतिपय समाचार संस्थाले पीडितको संख्या ४० भन्दा धेरै भएको दाबी गरेका छन् ।

क्युबाको हवानाबाट सुरु भएकाले यस समस्यालाई ‘हवाना सिन्ड्रोम’ भन्न थालिएको हो । रिंगटा लाग्ने, अत्यधिक टाउको दुख्ने, थकान हुने, बान्ता हुने, बेचैनी बढ्ने, दृष्टि, स्मरण शक्ति र मानसिक अवस्था खस्किँदै जाने लगायत समस्या यसका लक्षण हुन् । पीडितले सुरुवातमा कानमा भुनभुन आवाज (हमिङ साउन्ड) सुनेको समान बयान दिएका छन् । क्युबापछि चीनमा कार्यरत १५ अमेरिकी अधिकारीमा पनि हवाना सिन्ड्रोम देखियो ।

सन् २०१७ मा ग्वाङजाउस्थित अमेरिकी कन्सुलेट कार्यालयमा कार्यरत विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) का सुरक्षा अधिकारी मार्क लेन्जीले नोभेम्बरमा आफ्नो अपार्टमेन्टमा अनौठो आवाज सुन्न थाले । साथै रहेकी उनकी श्रीमतीले पनि उनले जस्तै मेटल फनेलमा मार्बल ठोक्काउँदाको जस्तो लाग्ने तेजिलो आवाज सुनिन् । अचम्म त के भने, यस्तो आवाज कोठाको निश्चित स्थानमा मात्रै सुनिन्थ्यो । ‘छोरा सुत्ने गरेको खाटमा र हाम्रो बिस्तरा नजिकै सुनिन्थ्यो,’ लेन्जीले सीबीएस न्युजसँगको कुराकानीमा भनेका छन्, ‘पछि हामी दुवै जनामा टाउको दुख्ने समस्या आयो । कुनै पनि कुरा छिनको छिनमै बिर्सन्थ्यौं ।’ लेन्जीको काम उच्च गोपनीय साधनको प्रयोग गरी कूटनीतिक मिसनमा विद्युतीय खतराको विश्लेषण गर्नु हुन्थ्यो ।

लेन्जीको फ्ल्याटभन्दा एक तलामाथि बस्ने क्याथरिन वार्नरले भने महिना दिनअघि नै यस्तै समस्या झेल्दै आएकी थिइन् । वार्नर अमेरिकी वाणिज्य विभागमार्फत ट्रेड अफिसरका रूपमा खटिएकी थिइन् । ‘कन्चटको दुवैतिर असह्य गरी दुख्थ्यो । फरक खालको मधुरो आवाज सुन्नु, रिंगटा लाग्नु बरोबर हुन थाल्यो,’ वार्नरले अनुभव सुनाइन्, ‘यो क्रम यति बढेर गयो, हरेक मध्यरातमा ब्युँझँदा नाकबाट रगत बगिरहेको हुन्थ्यो, बान्ता आउँथ्यो ।’ हुँदाहुँदा उनको कुकुरले समेत रगतै बान्ता गर्न थाल्यो । पछि वार्नरको हेरचाहमा पुगेकी आमालाई समेत उस्तै भएपछि उनीहरू तीन महिनामै चीन छोड्न विवश भए । वार्नरको समस्या सुनेपछि न्युरोलोजिस्ट डा. टिना सेट्टीसमेत अचम्ममा परिन् । वार्नरमा त्यसअघि न गम्भीर मानसिक आघात पर्ने कुनै घटना भएको थियो, न त टाउकोमा कुनै चोट नै । तर लक्षण मस्तिष्कमा मध्यमखालको चोट लाग्दा हुने जस्तो थियो । ‘वार्नरलाई फङ्सनल ब्रेन इन्ज्युरी भएको हुन सक्ने मेरो प्रारम्भिक अनुमान हो,’ डा. सेट्टीले भनेकी छन् ।

अन्ततः २०१८ को मे २३ मा तत्कालीन अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ग्वाङजाउमा कार्यरत अमेरिकी अधिकारीमा देखिएका लक्षण क्युबामा अमेरिकी अधिकारीलाई देखिएको जस्तै भएको घोषणा गरे । तर, यसको कारणबारे भने स्पष्ट नभएको बताए । हवाना सिन्ड्रोम ह्वाइट हाउस पनि छिर्‍यो । गत वर्ष दुई अधिकारी यसबाट पीडित भए । हनोईस्थित अमेरिकी दूतावासमा कार्यरत अधिकारीमा हवाना सिन्ड्रोमसँग मिल्ने लक्षण देखिएपछि गत अगस्ट २४ मा भियतनाम जान लागेकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस तीन घन्टा सिंगापुरमै रोकिइन् । सेप्टेम्बरमा भारत आएका एक सीआईए अधिकारीसमेत यसको चपेटामा परेको बताइएको छ । पछिल्लो झन्डै ५ वर्षमा क्युबा, चीन, उज्वेकिस्तान, रुस, पोल्यान्ड, जर्जिया, अस्ट्रेलिया, ताइवान, कोलम्बिया, किर्गिस्तान, अस्ट्रिया, जर्मनीलगायत मुलकमा खटिएका झन्डै दुई सय अमेरिकी कूटनीतिज्ञ, गुप्तचर, सैनिक, दूतावासका कर्मचारी तथा उनीहरूका परिवार हवाना सिन्ड्रोमको ‘सिकार’ भइसकेका छन् । क्युबास्थित क्यानडाली दूतावासमा खटिएका १४ अधिकारीबाहेक अन्य सबै पीडित अमेरिकी छन् ।

अधिकांश अधिकारीले त्यस्तो आवाज पहिलो पटक आफू बस्दै आएको घर वा होटलमा सुनेको बताउँछन् । ह्वाइट हाउसका एक अधिकारी भने कार पार्किङ स्थलमा यसको चपेटामा परेका थिए । विभिन्न अध्ययनअनुसार, यस्तो समस्या भोग्ने आधाभन्दा धेरै अधिकारी केही दिन, हप्ता वा महिना मात्रै यस्तो पीडाबाट गुज्रिएका छन् । केही ३/४ वर्षदेखि अस्पताल र चिकित्सक कक्षको चक्कर काटिरहेका छन् । व्यक्तिगत, पारिवारिक र जागिरे जीवन अस्तव्यस्त हुने अधिकारी भने धेरै छन् । खासमा यो व्यक्तिगत स्वास्थ्य समस्या मात्रै थियो या सुनियोजित रूपमा गरिएको आक्रमण ?

अध्ययनमै ‘कमजोरी’

विदेशी भूमिमा खटिएका नागरिक समस्यामा पर्दा सुरूमा ट्रम्प सरकारले खासै चासो दिएन । कतिपय अवस्थामा राजनीतिक रङ दिने कोसिस पनि भयो । घटना प्रकाशमा आएको १० महिनापछि अक्टोबरमा राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई आक्रमणको संज्ञा दिए । तर, तथ्य पस्किन सकेनन् । ‘यो निकै असामान्य आक्रमण हो । मलाई पक्का लाग्छ, यसमा क्युबा जिम्मेवार छ,’ ट्रम्पले भनेका थिए ।

आफ्ना कर्मचारीमाथि आक्रमण भइरहेको भन्दै अमेरिकाले सन् २०१८ को सेप्टेम्बरमा हवानास्थित दूतावासमा ‘अर्डर डिपार्चर स्टाटस’ लागू गर्‍यो । यसलाई बन्द भएकै बराबर मानिन्छ । उक्त घोषणाअघि जनवरीमा तत्कालीन अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले परराष्ट्र क्षेत्रमा कार्यरत अधिकारीसँग जोडिएका स्वास्थ्य सुरक्षासम्बन्धी घटनाको विश्लेषण गर्न एक बोर्ड गठन गरेका थिए, जसको नेतृत्व लिबियाका लागि राजदूत रहिसकेका पेटर बोडलाई दिइएको थियो । यसका अलावा एफबीआई, सीआईए, सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) लगायतले पनि अध्ययन गरिरहेका थिए ।

सन् २०१८ को जनवरीमा समाचार संस्था एसोसियट प्रेस (एपी) ले एफबीआईको अति गोप्य रिपोर्टमा हवाना घटनामा नियोजित सोनिक (ध्वनि) आक्रमणको कुनै प्रमाण नभेटिएको दाबी गरिएको जनायो । सीआईए र विदेश मन्त्रालयको आन्तरिक टकरावबाट अनुसन्धान प्रभावित बनेको त्यही वर्षको नोभेम्बरमा न्यु योर्करले एक रिपोर्टमार्फत जनायो । यो अनुसन्धानबाट विभिन्न अमेरिकी सरकारी विभाग तथा कर्मचारीको विवरण बाहिरिन सक्नेमा सीआईए संशकित थियो । कर्मचारीहरूको स्वास्थ्य विवरणसम्बन्धी दस्तावेज गोप्य राख्नुपर्ने अमेरिकी संघीय नियमले पनि अनुसन्धानमा बाधा गरेको थियो ।

जर्ज वासिङ्गटन विश्वविद्यालयको राष्ट्रिय सुरक्षा संग्रहालयले सूचनाको हक प्रयोग गरेर प्राप्त अमेरिकी विदेश मन्त्रालयको सन् २०१८ को प्रारम्भिक अध्ययन प्रतिवेदन प्रकाशन गरिदियो, जसले यो घटना नियन्त्रण गर्न मन्त्रालय पूर्ण असफल भएको संकेत गरेको छ । घटना र पीडितबारेको अध्ययन अराजक, अव्यवस्थित र अधिक गोप्य राख्न खोजिएको प्रतिवेदनमा औंल्याइएको छ ।

गत वर्षको अक्टोबरमा न्युयोर्क टाइम्सले अमेरिकी कर्मचारीमा देखिएको स्वास्थ्य जटिलताको प्रकृति र कारणको विषयमा मन्त्रालयका अगुवा, गुप्तचर अधिकारी, तत्कालीन सीआईए निर्देशक तथा ट्रम्प सरकारले नियुक्त गरेका अधिकारीबीचमै टकराव रहेको रिपोर्ट प्रकाशन गरेको थियो । मन्त्रालयले यी घटना र बिरामीको स्वास्थ्य अवस्थालाई सामान्य आँकेको, चिकित्सकीय अनुसन्धानमा बेवास्ता गरेको तथा कंग्रेसले बिरामीको व्यक्तिगत विवरण दिन नमानेको पाइएको भन्दै टाइम म्यागजिनले पनि अनुसन्धानात्मक रिपोर्ट सार्वजनिक गरेको थियो ।

घटना बाहिरिने अमेरिकी चिन्ता

कतिपय पीडितले घटनाबारे ह्वाइट हाउसका उच्च अधिकारीलाई बताउँदा बाहिर कसैलाई नभन्न र चिकित्सकको परामर्श पनि नलिन भनिएको बताएका छन् । यस्तो जवाफ पाउनेमा सान्ड्रा एडम्स र ब्यांक्स एड्रियन (परिवर्तित नाम) समेत थिए । सन् २०१९ मे अन्तिमतिर ट्रम्पको लन्डन भ्रमणका क्रममा खटिँदा दुवैले एकसाथ यो समस्या भोगेका थिए । अमेरिका फर्किएपछि सुरुमा ह्वाइट हाउसकै मेडिकल युनिटमा जाँच गराए, तर चिकित्सकले तनावका कारण सामान्य टाउको दुखाइ मात्र भएको जनाउँदै आइब्रुफिन (दुखाइ कम गर्ने औषधि) खान र आराम गर्न सल्लाह दिए । त्यसले समस्या ठीक भएन, झन् बढ्दै गयो । उनीहरू व्यक्तिगत तवरमा विभिन्न चिकित्सक र क्लिनिकमा पटकपटक धाए । ‘तर कहीं पनि हाम्रो समस्यालाई गम्भीरतापूर्वक लिइएन,’ एडम्सले सुनाइन् ।

सन् २०१७ अगस्टमा सीआईएकी एक उच्च अधिकारी क्युबाको हवानास्थित होटल नासिओनलमा बसिरहेको बेला उस्तै समस्याबाट गुज्रिइन् । आफ्नो विभागकै उच्च अधिकारी पीडित बनेपछि भने सीआईए केही गम्भीर देखिएको थियो । तर, यसपटक पनि उसले आन्तरिक रूपमै व्यवस्थापन गरेर थामथुम पार्ने प्रयत्न गर्‍यो । विश्वमै सुदृढ र शक्तिशाली मानिने आफ्ना संयन्त्रहरूको कमजोरी प्रकट हुने डरका कारण अमेरिकाले आफ्नै नागरिक अप्ठेरोमा पर्दासमेत धेरै चासो नदिएको मिडिया विश्लेषण छ ।

कतिपय बिरामीले उपचार गराउनै सकस भोग्नुपर्‍यो । न त आफू कार्यरत विभागबाटै कुनै सहयोग पाए । यसमध्येमै पर्छन्, पोलिमरोपोलोस । धेरै चिकित्सकलाई देखाउँदा पनि निको नभएपछि उनले वाल्टर रिडस्थित नेसनल मिलिटरी मेडिकल सेन्टरमा मस्तिष्कको बृहत् रूपमा उपचार गराउन एक वर्षसम्म सीआईएमा बारम्बार अनुरोध गरिरहे, तर अनुमति मिलेन । मस्तिष्कसम्बन्धी गम्भीर रोगको उपचार गराउन यो सेन्टर सुविधासम्पन्न मानिन्छ । ‘त्यहाँ मलाई उपचार गराउन अनुमति नदिनु रहस्यमय छ,’ उनले भनेका छन् । कतिपय पीडितलाई विदेश मन्त्रालयले आधिकारिक पत्र नै दिएर उनीहरूको मानसिक अवस्थामै आशंका जनाएको थियो ।

पत्रमा उल्लेख भएका कारण पत्यारिलो नभएको चीनमा अमेरिकी वाणिज्य विभागको ट्रेड अफिसरको रूपमा कार्यरत रहँदा पीडित बनेका रोविन गारफिल्ड बताउँछन् । ‘मलाई १७ वर्षअघि बेसबल खेल्दा लागेको चोटलाई कारण औंल्याइएको छ । तर, मसँगै बस्दै आएका श्रीमती र छोरीहरूलाई कसरी यस्तो भयो भन्नेमा चिकित्सक मौन छन्,’ उनले भनेका छन् । लेन्जी पनि चीनसँगको कूटनीतिक र व्यापारिक सम्बन्ध थप बिग्रने भएका कारण अमेरिकाले यी घटनालाई दबाउन खोजेको मान्छन् । ‘क्युबा सानो मुलुक हुनु र व्यापार तथा कूटनीतिक सम्बन्ध पनि फराकिलो नभएकाले त्यहाँका घटनालाई सहजै स्विकारियो, आक्रमणको तानाबाना बुनेको आरोपसमेत लगाइयो,’ उनले भनेका छन् ।

सिनेटर जिन सहिन भने पीडितहरूको पक्षमा उभिइन् । सिनेटको परराष्ट्र सम्बन्ध समितिकी सदस्यसमेत रहेकी सहिनले कतिपय पीडितले आफूलाई सरकारले नहेरेको मात्रै होइन, बाहिर कसैलाई नभन्न दबाब दिएको जनाउँदै तत्कालीन विदेशमन्त्री पोम्पेओलाई पत्र नै लेखेकी थिइन् । ‘केही पीडितलाई राम्रो व्यवहार गरिएको पनि पाइएको छ । म जान्न चाहन्छु, यसको सम्बन्ध क्युबा, चीन र रुससँगको परराष्ट्र सम्बन्धमा रहेको राजनीतिक संवेदनशीलतासँग छ ?,’ पत्रमा भनिएको छ, ‘खास प्रश्न नै यही हो कि किन केही व्यक्तिलाई मात्रै फरक व्यवहार गरियो ? के फरक–फरक मुलुकका लागि हाम्रो नीतिअनुसार यस्तो गरिएको हो ?’

विदेशमन्त्री पोम्पेओले यसको खण्डन गर्दै राजनीतीकरण नभएको स्पष्ट पारेका थिए । उनले आफ्ना कर्मचारीको उपचार र हेरचाहमा निरन्तर सहयोग गरिरहेको दाबीसमेत गरेका थिए । तर, चीनमा बिरामी परेकाहरूलाई वास्तविक पीडित मान्न मन्त्रालय तयार भएन । ‘क्युबामा बिरामी भएकाहरू वास्तविक पीडित हुन् । तर, मन्त्रालयले चीनमा बिरामी परेकाहरूलाई उही दर्जामा राखेको छैन,’ विदेश मन्त्रालयका एक उच्च अधिकारीले सीबीएस न्युजसँग भनेका छन् ।

सत्ताबाट ट्रम्प बाहिरिने समय हुनै लाग्दा रक्षा मन्त्रालयले अमेरिकी सैनिक र उनीहरूको परिवारमाथि आइपरेको स्वास्थ्य समस्याको अध्ययन गर्न कार्यदल गठन गर्‍यो । घटनाको विषयमा सीआईए र विदेश मन्त्रालय गम्भीर नभएको अवस्थामा रक्षा मन्त्रालय एक कदम अगाडि सरेको थियो । तत्कालीन रक्षामन्त्री क्रिस्टोफर सी मिलरले गत डिसेम्बरमा पीडितहरूसँग साक्षात्कार गरेपछि भने बिरामी र उनीहरूको पीडालाई उच्च प्राथमिकतामा राखेको बताएका थिए ।

डिसेम्बरमै सीआईएले पनि टास्क फोर्स बनायो । तर, यसले जो बाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेपछि मात्रै सक्रियता पायो । बाइडन नेतृत्वले हवाना सिन्ड्रोमलाई गम्भीरतापूर्वक लिँदै विभिन्न पाटोबाट विस्तृत अध्ययन थालेको जनाएको छ । नेसनल सेक्युरिटी काउन्सिल, सीआईए र डिरेक्टर अफ नेसनल इन्टेलिजेन्सले दुईवटा छुट्टाछुट्टै प्यानल बनाई अनुसन्धान सुरू गरेका छन्, जसमध्ये एउटाले घटनाको सम्भावित कारण खोज्नेछ भने अर्कोले विदेशी भूमिमा काम गर्नेहरूका लागि प्रतिरक्षासम्बन्धी रणनीति विकास गर्नेछ ।

काउन्सिलका अनुसन्धाता कुन उपकरणलाई कसरी प्रयोग गर्दा मस्तिष्कसम्बन्धी खराबी देखा पर्छ, जो हवाना सिन्ड्रोमसँग मेल खान्छ भन्नेबारे अध्ययन गरिरहेका छन् । न्यु योर्करका अनुसार, वैज्ञानिकहरू केही व्यक्तिमा माइक्रोवेभ पठाउने र त्यसले उनीहरूको मस्तिष्कमा पार्ने प्रभावबारे अध्ययन गर्दै पनि छन् । सीआईएले हवाना सिन्ड्रोमबाट पीडित व्यक्तिहरूको उपचार र अध्ययनमा चिकित्सकको संख्यासमेत उल्लेख्य थपेको जनाएको छ ।

पीडितको उपचार र क्षतिलाई फेडरल इम्प्लोइज कम्पेन्सेसन एक्टले समेट्न नसकेको भन्दै गत जुनमा सिनेटले अर्को कानुन नै बनाएको छ । ‘द हेल्पिङ अमेरिकन भिक्टिम्स एफ्लिक्टेड बाई न्युरोलोजिकल एट्याक्स (हवाना) एक्ट’ नाम दिइएको नयाँ कानुनमा सीआईए र विदेश मन्त्रालयले मस्तिष्क र मुटुमा क्षति पुगेका पीडितको उपचार र आर्थिक सहयोग गर्नुपर्ने उल्लेख छ ।

सेप्टेम्बर १५ मा पेन्टागनले हवाना सिन्ड्रोमसँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिए तुरुन्तै जानकारी दिन आफ्ना सैन्य तथा निजामती कर्मचारी र सँगै काम गर्ने ठेकेदारलाई आग्रह गरेको छ । रक्षामन्त्री लोयड जे अस्टिनद्वारा हस्ताक्षरित यस्तो आग्रहसहितको सूचना २९ लाख जनालाई पठाइएको छ । यसबाट बाइडन प्रशासनले विश्वभरका पीडितहरूको पछिल्लो तथ्यांक र अवस्था थाहा पाउन, पीडित भेटिए बेलैमा उपचार गर्न र प्रतिरक्षा रणनीति बनाइरहेका अधिकारीहरूका लागि पर्याप्त जानकारी संकलन गर्न खोजेको देखिन्छ ।

प्रकाशित : मंसिर १८, २०७८ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?