१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

उम्दा कविका हृदयस्पर्शी निबन्ध

हरि अधिकारी

समसामयिक आधुनिक नेपाली कविताको क्षेत्रमा रेशम विरही एक सशक्त नाम हो । समकालीन कवि र साहित्यको एक विद्यार्थीका रूपमा म विरहीका कविताको पक्का प्रशंसक रहँदै आएको छु । दशकौंदेखि नेपाली कविताको आराधना गर्दै आएका विरही नेपाली साहित्यको एक अथक आराधक हुन् । संवेदनशील कवि, पत्रकार र राजनीतिक कार्यकर्ताका रूपमा संघर्षको राप–तापमा खारिएका वरिष्ठ नागरिक विरहीले आफूभित्र जीवन र जगत्लाई हेर्ने अनुभव र अनुभूतिजन्य सूक्ष्म अन्तर्दृष्टिको विकास गरेका छन् । उनका साहित्यिक रचनाहरूमा तिनै अनुभव र अनुभूति एवम् त्यही सूक्ष्म अन्तर्दृष्टिको प्रतिविम्ब परेको हुन्छ ।

उम्दा कविका हृदयस्पर्शी निबन्ध

झट्ट हेर्दा रेशम विरही समकालीन नेपाली कविहरूको पंक्तिमा उभिएका एक जना अर्को कविजस्ता देखिन्छन् तर उनले आफ्ना कविताहरूका लागि जुन प्रकारको निजी भाषा र भंगिमाको सन्धान गर्न सफल भएका छन् त्यसले उनलाई अरू समकालीन कविहरूको लहरमा टड्कारो देखिने एक अलग र विशिष्ट व्यक्तित्व प्रदान गर्दछ । उनका कविताहरूमा पाइने जीवन र जगतप्रतिको सूक्ष्म अन्तर्दृष्टि, उनले प्रयोग गरेका नवीन विम्बविधान, प्रतीक, मिथक र आञ्चलिक रङले नै उनलाई दौंतरी कविहरूको पंक्तिमा त्यस्तो पृथक् पहिचान दिलाएका हुन् । उनका कविताहरूमा पनि चित्रण हुने त आजको मान्छे, समय र समाज नै हो तर रेशमले ती सार्वभौम विषयमाथि कलम चलाउँदा पनि हरेक शब्द र पंक्तिमा आफ्नो निजी छाप छोड्न सफल हुन्छन् । उनको वैशिष्ट्य नै यही हो र रेशम विरही हुनुको महत्त्व पनि यसैमा छ ।

लामो समयसम्म कवितालाई प्रिय विधा बनाएर साहित्य सिर्जना गरिरहेका विरहीले केही वर्षपहिले साहित्यको त्यस सर्वाधिक प्रिय विधालाई केही समयका निम्ति थाँती राखेर निबन्ध/प्रबन्ध लेखनमा आफ्नो सीप प्रयोग गर्ने जमर्को गरेका थिए । अभ्यस्त भइसकेको विधालाई छोडेर नयाँ विधामा हात हाल्दा आफूलाई राम्रोसँग अभिव्यक्त गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा भने विरहीको मनमा केही संशय रहेको हुनुपर्दछ । हुन त लामो समय पत्रकारिता पेसा अपनाएका विरहीका लागि गद्य लेखन नयाँ कुरो भने थिएन । उनले अलिकति मिहिनेत गरेर आफ्ना निबन्ध/प्रबन्धलाई पत्रकारिताको लेखनका सीमाहरूबाट बाहिर निकालेर तिनलाई फराकिलो आयाम दिनु र तिनमा निजात्मक अनुभव र अनुभूतिको सुगन्ध थपिदिनु मात्र आवश्यक थियो ।

निबन्ध/प्रबन्ध विधा अपनाएपछिको कवि रेशम विरहीको पहिलो गद्यरचना ‘देब्रे आँखा’ शीर्षकको निबन्धसंग्रह थियो । धुक्चुक धुक्चुकमा पाठकहरूको हातमा पारिएको देब्रे आँखालाई साहित्यका विद्यार्थीहरू, समीक्षक तथा आमपाठकहरूले समान रूपले मन पराएर स्वागत गरेका थिए । त्यस निबन्ध संग्रहले हाम्रो समयका उम्दा कवि रेशम विरहीलाई त्यत्तिकै कुशल निबन्धकारका रूपमा नयाँ पहिचान दिलाएको थियो । यसबीच विरहीले ‘प्रेमदासको डायरी’ नामक एक उपन्यासको पनि प्रकाशन गरे । उपन्यासकार स्वयम्को राजनीतिक जीवनका कतिपय घटना समेटेर तयार गरिएको ठानिएको त्यस आख्यानले भने कवि–निबन्धकार विरहीको ख्याति र उनको अपेक्षाअनुरूप सफलता हासिल गर्न सकेको थिएन ।

अहिले मेरो हातमा विक्रमको २०७७ सालमा प्रकाशनमा आएको रेशम विरहीको नयाँ निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ छ । ‘भाव’ र ‘प्रभाव’ भन्ने दुई उपशीर्षकमा विभाजित २५ थान निबन्धहरूको यो संग्रहमा संकलित अधिकांश रचनाहरू विरहीको पहिलो निबन्धसंग्रह ‘देब्रे आँखा’ मा संकलित निबन्धहरूजस्तै आत्मकथात्मक छन् । यी निबन्धका पंक्तिहरूमा विचारधाराले मार्क्सवादी र आचरणका दृष्टिले आदर्शवादी, घुमन्ते स्वभाव भएको संवेदनशील कवि रेशम विरहीको जीवनको आरोह–अवरोहले भरिएको जीवनयात्राको विशिष्ट झलक देखिन्छ । रेशम विरहीको पूरा जीवन नै संघर्षको पर्याय भएर बितेको छ । उनले राजनीतिक दीक्षा लिएको कम्युनिस्ट पार्टीको इतिहास त्यति सुखद छैन । नेपाली कम्युनिस्ट नेता कार्यकर्ताहरूको इतिहास पार्टीको स्थापनाकालदेखि नै अन्योल, अनिश्चय, द्विविधा, परस्पर अविश्वास, आरोप–प्रत्यारोप, घात–प्रतिघातले भरिएको छ । नेपाली कम्युनिस्टहरू त्यस्तो विक्षुव्धकारी अनुभवबाट गुज्रिएर सकी नसकी धिच्चिँदै अगाडि बढ्दै आएकाले त्यो अत्यन्त पीडादायक प्रक्रियाको दंशबाट एउटा कम्युनिस्ट कार्यकर्ताका रूपमा कवि–निबन्धकार विरही पनि गुज्रेर आएका छन् । नेपाली कम्युनिस्ट आन्दोलनका ती तमाम अशोभनीय घटना–परिघटनाहरूको साक्षी र भोक्ता दुवै हुन् रेशम विरही । त्यसैले ‘सत्ता र स्वप्नदोष’ का अधिकांश निबन्धमा विरहीले आफ्ना ती प्रिय–अप्रिय अनुभव र अनुभूतिहरू पाठकहरूसँग साझा गर्ने जमर्को गरेका छन् ।

संवेदनशील कवि विरहीमा जीवन र जगतलाई हेर्ने एउटा उदात्त दृष्टिकोण छ । उनी हरेक विषयलाई सकारात्मक रूपले हेर्छन् । उनी सरल हृदयी भएकाले उनले धेरै प्रसंगमा आफू ठगिँदा ठगिँदै पनि मनले राम्रो ठानेको बाटो छोडेका छैनन् भन्ने थाहा हुन्छ उनका कतिपय निबन्धहरू पढ्दा । विरहीसँग एउटा सर्जकको सूक्ष्म अन्तर्दृष्टि छ । त्यसैले उनी समयका पदचापहरूलाई राम्ररी देख्न र केलाउन सक्षम देखिन्छन् । समयले नेपाली समाजमाथि पारेका प्रभावहरूको विषद् आकलन गरेका छन् उनले आफ्ना कतिपय स्थानकेन्द्रित निबन्धहरूमा । उनले आफ्नो जीवनको अधिकांश उमेर बिताएका चितवन र नेपालगन्जका पृष्ठभूमिमा लेखिएका केही निबन्धहरूमा उनको त्यो सूक्ष्म अन्तर्दृष्टिको राम्रो प्रतिविम्ब देख्न सकिन्छ । स–साना घटनालाई टिपेर तिनका आधारमा समयले मानिसहरू र तिनीहरूको संसारमा थाहै नहुनेगरी पारेका प्रभावलाई पाठकसम्म अत्यन्त प्रभावकारी ढंगमा पुर्‍याउन सक्षम देखिन्छन् रेशम विरही । विहरीले आफ्ना यी निबन्धमा सामान्यतः वर्जित मानिने गैरवैवाहिक प्रणय र अभिसारमाथि पनि कलम चलाएका छन्, त्यो पनि आफूलाई जोडेर । तर, विवादास्पद लाग्ने विषयमाथि लेखिएका ती निबन्धमा उनी कहीँकतै पनि भद्दा भएका छैनन् । उनले आफ्नो हृदयमा भएको स्त्रीजातिप्रतिको सम्मानको भावलाई कायमै राखेका छन् । प्रेमसम्बन्धमा आधारित ती निबन्धले संवेदनशील कवि र प्रेमी दुवैका रूपमा रेशम विरहीको उज्यालो छवि पाठकहरूसामु उजागर हुन्छ ।

रेशम विरहीले आफ्ना केही कामरेड, निकट मित्र र सामान्य व्यक्तिका बारेमा पनि शब्दचित्र कोरेका छन् । यस संग्रहमा ‘प्रभाव’ उपशीर्षकअन्तर्गत दिइएका यी छवटा व्यक्तिचित्रहरू संग्रहका अरू निबन्धहरूभन्दा बढी रोचक र पठनीय लागे मलाई । थोरै शब्दमा धेरै कुरा भन्न सक्ने रेशम विरहीको लेखकीय क्षमता यी व्यक्तिचित्रहरूमा राम्ररी प्रस्फुटित भएको छ भन्ने । योगी नरहरिनाथबारे लेखिएको ‘हठयोगका श्वेतशार्दूल’ निबन्धलाई नमुनाको रूपमा लिन सकिन्छ । समसामयिक नेपालको इतिहासमा योग्यता, क्षमता, दुस्साहस र हठको समुच्चय प्रतिरूप बनेका राजनीतिक जोगी नरहरिनाथका बारे यति प्रेमका साथ यति राम्रोसँग नेपाली साहित्यमा कसैले पनि अहिलेसम्म लेखेको जस्तो मलाई लागेको छैन । त्यस्तै अन्तर्राष्ट्रिय पर्यावरणवादी नेता डीबी सिंह र कामरेड रूपलाल विश्वकर्माका शब्दचित्रहरू पनि मर्मस्पर्शी लाग्छन् ।

यस निबन्धसंग्रहका केही निबन्ध पाठकीय दृष्टिकोणले कमजोर लाग्छन् । लेखकले बृहत्तर पाठकीय सरोकारसँग नजोडिने र अप्रासंगिकजस्ता लाग्ने विषयहरूको पनि उठान गरेका छन् कतिपय निवन्धहरूमा । ती रचनाहरूको आलोकमा हेर्दा लेखकका छवि त्यति उज्यालो देखिँदैन । तिनले विरहीलाई एउटा कुण्ठित र आक्रोशित व्यक्तिको रूपमा चित्रित गर्छन् । यो विषय सिद्धहस्त लेखक र प्रबुद्ध राजनीतिकर्मी रेशम विरहीको प्रतिष्ठाअनुरूप छैन । यति लेख्दालेख्दै पनि म रेशम विरहीको निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ लाई एउटा राम्रो कृतिका रूपमा लिन्छु ।

प्रकाशित : मंसिर १८, २०७८ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?