१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

इन्द्रजाल पढिरहेको बालक

केबियानी देउता थानमा परेवा र बोकाको बलि चढ्थ्यो । धामीको जीउमा देउता पस्थ्यो र काम छुटाउँथ्यो । राता–राता आँखाले काम्दै धामी अनेक कुरा भन्थे । जब धामी घोप्टे पछारिन्थे, जान्नेहरु भन्थे– अब देउता शान्त भएर धामीको जीउबाट आफ्नो बासमा गयो ।
इँटाजस्तो मोटो इन्द्रजालले मलाई घुरिरहेको थियो। त्यसको गातामा नरकंकालको तस्बिर थियो। अनेकथरी टुनामुना, उम्लँदै गरेका भाँडाका तस्बिरसहित एउटी लठ्ठ परेकी युवती र दाह्रीवालको तस्बिर पनि थियो। गातामा ठूलो अक्षरमा लेखिएको थियो– ‘बडा इन्द्रजाल !’
प्रमोद मिश्र

म त्यस्तै आठ–नौ वर्षको हुँदो हुँ, जब ममाथि ओझा बन्ने धुन सवार भयो । पूर्वी मोरङको हाम्रो गाउँ वरिपरि भूत–पिसाच (देउ) को जति बिगबिगी थियो, पाठा चोर्ने स्यालजस्तै, त्यति नै गाउँभित्र ओझा धामीहरूको जगजगी । कति त पुस्तैनीदेखि नै ओझागुनी गर्थे । कति अरूसँग सिकेर ओझा र धामी भएका थिए । गाउँ उत्तर केबियानी ‘झार’ मा ‘माहराज थान’ थियो, दुईवटा टिनका होचा छाना र सिकुटे सखुवाका खाँबा भएका खुला चारकुने घर । त्यसको मर्मत सम्भार अनि बर्सेनि पूजा र धामी बसाउने जिम्मा गाउँका दाउनियाँको थियो ।

इन्द्रजाल पढिरहेको बालक

गाउँ पश्चिमको देउता थानको जिम्मा भने एक जमानाका धनीमानी बिजनलालको परिवारको थियो, जोसँग एक समयमा दुई नाले टोटावाल बन्दुक हुने गर्थ्यो । दाउनियाँले बजार पूर्वका नामीगामी धामीलाई बोलाई धामी भराउँथे भने गाउँ पश्चिमको देउता थानको चमकदमक बिजनलालको जग्गाजमिन सिद्धिएसँगै हराइसकेको थियो । गाउँकै डम्फोका दाजु मगर एक जमानामा त्यहाँ धामी बस्थे अरे !

प्रत्येक वर्ष पूजाका दिन केबियानी देउता थानमा परेवा र बोकाको बलि चढ्थ्यो । बजारपारिको गाउँबाट आएका धामीको जीउमा देउता पस्थ्यो र काम छुटाउँथ्यो । राताराता आँखाले काम्दै धामीले हामी सबैलाई हेर्थे र भन्ने कुरा भन्थे । अन्त्यमा परेवाको टाउको हातले चुँडाएर रगत चुसेपछि काम्दै भुइँंमा घोप्टे पछारिन्थे अनि मात्रै देउता शान्त भएर धामीको जीउबाट सरेर आफ्नो बासमा जान्थे । देउता थानका देउता रिसाए भने त गाउँमा उपद्रो नै हुन्थ्यो । दादुरा, कामज्वरो, रगत छाद्ने रोग लाग्दा देउता रिसायो भन्ने गर्थे गाउँका बुज्रुक ।

एक साल हिउँदमा त मेरा बालसखा करक, गाउँकै केटी कान्द्री र मलाई बाघले माहराज थानमुनिको धान बाधमा झम्टेर रगताम्मे पार्‍यो । दाउनियाँका फुपाजु सुरुजले पल्लो गाउँबाट आएर सबैसँग मन्त्रणा गरेपछि भने, ‘केबियानी थानको देउता रिसाएजस्तो छ । त्यसैले बाघ पठाइदियो । नत्र यस्तो त कहिल्यै भाको थिएन । तैपनि काम छुट्ने धामी हुने विचार मेरो मनमा कहिल्यै आएन । को त्यसरी काम्न सक्छ र ! परेवाको काँचै रगत खान सक्छ र ! परेवाको मासुका चोक्टा भएको झोल भए म विचार पनि गर्न सक्थें । तर, गाउँका धोद गोसाईं, गेठिया बूढा, भट्टीवालाजस्ता सुकिलै रही ‘झारफुक’ गर्ने ओझा हुन्, दृश्य–अदृश्य शक्तिहरूलाई वशीभूत पार्न म जे गर्न पनि तयार थिएँ ।

चार कक्षामा स्कुल फस्ट भए पनि मेरा क्लेशहरू हराएनन् । गाउँ, बजार र बजारपूर्वका केटाहरूले होच्याउन, नाम राख्न, गिज्याउन छाडेनन् । बजारमा बस्ने ‘देश’ बाट आएर माछा मार्ने, मिठाई बनाउने पेसा गरेर बसेका गोढी, हलुवाईका स्वास्नीमानिसले चोर औँला तेर्स्याउन छाडेनन् र फेरि शुकदेव मुनिका पछि लागेर किताबमा भएको दैव दानवका कथामा भएजस्तो मेरो अहिलेसम्मको जीवनमा कुनै चमत्कार पनि भएन । दसैँ–तिहारमा बर्सेनि पाउने एक पाउ खसीको मासुभन्दा मात्रा बढेन । शुकदेव मुनिजस्तो मेरो नाम–जस त भएन नै, म सात वर्षबाट आठ अनि नौ कटिरहेको थिएँ ।

ओझा बन्ने अरू कुनै उपाय नलागेपछि अन्त्यमा म चोर्न राजी भएँ । त्यसबेलासम्म मैले कसैको केही पनि चोरेको थिइनँ । बुवाको झुन्ड्याएको कुर्थाको गोजी मा खुद्रा पैसा खनखन बज्थे, तर मैले कहिल्यै गोजीमा हात हालिनँ । बाधमा सिला खोज्न जाँदा अरू केटाहरू काटेका धानका पाँजा पनि मिसाउँथे र एक दुई घण्टामै एक बोझा सिला पार्थे र घर ल्याउँथे । मैले कहिल्यै त्यसो गरिनँ ।

दाउनियाँको धमधमी बाधमा करकसँग सिला खोज्न जाँदा पनि पाँजाबाट धान मैले कहिल्यै आफ्नो सिलामा मिसाएको थिइनँ । अरू केटाहरू आफ्नो बाउको खेतको धान बोझाका बोझा दाउनी गर्ने ठाउँबाटै गायब पार्थे । अनि त्यो पैसाले खोप्पी खेल्थे । भएन पैसा अलि बढी भयो भने ट्वेन्टिनाइन नै खेल्थे हिउँदे र चैते बालीभरि । गाउँका दाउनियाँ, प्रधान, जोगीधापका संसारै तर्साउने लोकबहादुर र यस्तै गाउँ वरपरका ठूलाबडा बाह्रै मास तास खेल्थे– फुट्टीकट र ट्वेन्टिनाइन ।

मलाईचाहिँ खेल्ने ठाउँमा जान पनि बन्देज थियो । खोप्पी खेल्दा करकले पैसा मारेको मारेकै देखेर म ठिङ्ग उभिएको बुवाले देख्नुभएछ एक दिन र घर पुगेपछि सातो जानेगरी झपार्नुभयो, ‘अब आइन्दा मैले जुवातास खेलेको ठाउँमा देखेँ भने फेरि ।’ तीन वर्षको हुँदा बुवालाई नचिनी आमा–बहिनीका नाम काढेर मुख छाडेकाले बाघ–हाते झापड खाइसकेको सम्झना आलै थियो । त्यसपछि त म तिहारमा पनि डाइस र कौडा हान्ने ठाउँमा बिरलै पाइला टेक्थेँ, खेल्न त परै जाओस् । तर, त्यस दिन म ठूलै कुरा चोर्न तयार भएँको थिएँ किनकि नयाँ वर्षको काँटामेला आउनेवाला थियो र त्यहीँ एउटा गजबको चोरी गर्नुपर्ने थियो ।

यो सबको कारण गाउँवरिपरि अदृश्य घुमिरहने देउ र सैतान नै थिए र तिनका अगाडि मेरो स्कुले पढाइको कामै नलाग्ने अवस्था । फेरि स्कुलमा फस्ट हुँदा पनि केही लछारपाटो लागेन । केटाहरूले अनेक नाम राखेर जिल्याएको जिल्याई गरे । अर्कोतर्फ म न अरूका जस्ता मेरा कोही आफन्त, न जातभाइ, न भाषाभाषी मेरो रक्षामा उत्रिने । फेरि म न तिघ्रे, न पाखुरे । स्कुलको वार्षिक भालेजुधाइ खेलमा चन्द्रबहादुर विश्वकर्मासंँग बोले मितेरीले गर्दा सबै तिघ्र्रेहरूलाई छल्दै, छल्दै, तर्किँदै, तर्किँदै तिनीहरूलाई ढाल्ने काम चन्द्रलाई छाडिदिएर अन्त्यमा हामी दुई जना मात्रै घेराभित्र रहेकाले सेकेन्ड पुरस्कार पाएको थिएँ । फेरि बुवा पनि देशको देशै । आमालाई दही जमाउँदै, मुढी भुट्दै, बगिया–भक्का बानाउँदै र बेच्दै फुर्सद नहुने । यी सबको निराकरण पनि त्यही चोरीको सफलतामा निर्भर थियो ।

दृश्य–अदृश्य शक्तिहरूसँग जुध्न ओझा नबनी भएन भनेर कस्सिएँ । तर, ओझा गाउँमा बस्थे भने देउ र सैतान बाढीको भुमरीले बनाएको मोनिमा र पिठारीको रूखमा अदृश्य बस्थे । हामी केटाकेटी स्कुल जाँदा दोपहरियामा बेस्कन हाँगा अनि पात हल्लाउँदै तर्साउँथे । मोनिमा माछा भएर उफ्रिन्थे । जेनतेन मोनी पार गरे पनि शेर सिंहको पिठारीमुनि पुग्यो कि त्यसका हाँगापात बाँदर उफ्रेझैं हल्लिन थाल्थे । तर, रातो मुखे बाँदर र कालो मुखे ढेडु त गाउँछेउकै शेर सिंहको सिमल घारीमा मात्र आउँथे, सिमलको फूल खान वर्षमा एकचोटि । तर, पिठारीको एक्लो रूखमा बाह्रै मास कहाँबाट बाँदर आउने ! भूतले नै हल्लाएको हुनुपर्छ भन्ने पक्का हुन्थ्यो र त्यहाँ पुग्नेबित्तिकै कुलेलम ठोक्थें । बर्खामा त्यो स्कुल जाने गोरेटो हिलाम्मे हुन्थ्यो र हिलामा छापिएका हुन्थे सैतानका उल्टा पदचिह्न ! फेरि ‘सैतानले मार्दैन, सताउँछ बढी’ गाउँलेले भनेका थिए । धानघारीमा घिसारेर लग्यो र बेसमारी हिलोमा नाके बोली बोल्दै गोद्यो भने के गर्ने भन्ने मनमा त्रास सधैँ रहिरहन्थ्यो ।

फेरि गाउँमा कसैलाई ज्वरो आयो, काम ज्वरो चल्यो (यो काम ज्वरोले त मलाई छ, छ महिनामा भेट्थ्यो), प्रसूतिको मृत्यु भयो (गाउँमा महिलाहरू प्रायः प्रजननकै बेला बित्थे), जीउ दुख्यो कि देऊले भेट्यो भन्थे । गाईले दूध दिन छाड्यो, बच्चा राति धेर रोयो, हातखुट्टा, जीउ दुख्ने रोग लाग्यो कि धामी–बोक्सी र देउले भेट्यो भन्थे । र, बिमारी हेरी धोद गोसाईं, गेठिया बूढा वा भट्टीवाला ओझालाई बोलाई आख्रा (राजवंशी समाजमा ओझाले बिरामीको जाँच र निवारण गर्ने अनि मरणपछि जीव तार्ने अनुष्ठान) बसाउँथे । धोद गोसाईं, जो मेरा भाया बाबु पनि थिए (उनकी घरवालीसँग आमाले भाया लगाउनुभएको थियो) रुघा–खोकी, सामान्य ज्वरो, जीउ दुख्ने र मरणमा जीव तार्न आख्रा बासाउँथे । भट्टीवालाको विशेषता र विशेषज्ञता ‘तेल कस्ने’ (जडीबुटी तेलमा अनेक अनुष्ठान गरी तीनबाटो, चौबाटोमा उमाल्ने) थियो । तर, गेठिया बूढा सबभन्दा खतरनाक र खुँखार थिए । उनको विशेषता ‘देवीभवानीकालीसंसारी’ लाई वशीभूत पारेर मार पनि गर्न सक्थे, सम्भार पनि । म तिनीबाट डराउँथेँ । राजवंशी गाउँमा खवास भएर प्रधान मसा (ठूलो बुवा) कहाँ एक्लै आश्रित भई बसे पनि तिनको बडा रवाफ थियो । तिनी कहाँबाट गाउँमा आएका थिए भन्ने कुरा अहिले पनि मेरो खोजको विषय बनेको छ ।

अस्ति भर्खर गाउँमा प्रधान मसाकी छोरी ढाक्नीबाई (दिदी) लाई फोनमा सोध्दा, तिनले एउटा थाहा नभएको कुरा सुनाइन् । तिनका स्वर्गीय पति देवचन भिनाजु किशोरावास्थाका हुँदा नाच हेर्न एक–डेढ कोस पर सुँघा गाउँ जान तम्सिए र गेठिया बूढालाई पनि सँगै जान भने । देवचन दाउनियाँका भाई भएकाले गेठियासँगै नजाने कुरै थिएन । तर ‘के जाने तेत्रो टाढा !’ भनेर गेठियाले आलटाल गर्न खोजे । ‘अनि नाच हेर्न नजानु त ? म त जान्छु, तिमी नजाने भए’ भनेर अल्लारे देवचनले भने र बाटो लागे । ‘म तिम्लाई यहीँ नाच देखाइदिन्छु, भएन ? रातिउँदी के जाने त्यत्रो टाढा’ भनेर गेठियाले भनेछन् र गाउँबाहिर लगेर ‘कालीसंसारीभवानी’ सहित भूतप्रेतको नाच देखाइदिएछन् ।

मोहनी

यसै ओझा धामीको प्रभावका बीच पहाडबाट ठूलठूला सुनका मुन्द्री, बुलाकी र च्याप्टा–च्याप्टा कानमा पहेँलपुर सुनको फूली लगाएकी पाँच दिदीबहिनी धान काट्न हिउँदमा मधेस झरे र हाम्रो गाउँमा धोद गोसाईंको गुहालीमा बास बसे, आफ्ना केही दाजुभाइ सँगै । हाम्रो गाउँमा धान काट्न, खेत गोड्न दरभंगाको झंझारपुरसम्मका ‘दफेदार’ सहितका ‘धनकटनियाँ’ जनहरू आउँथे । गर्मी र बर्खामा पाटा गोड्न, काट्न र धुन उत्तर पूर्वी विहारका खोट्टा मुसलमान आउँथे । ती सबै पुरुष हुन्थे । बालीको काम सिद्धिएपछि ती सबै आ–आफ्ना घर परिवारमा फर्कन्थे । चारकोस दक्षिण देश मोरङको सीमाबाट एक हुल ‘ऋषिदेव्रिखियासन’ (मुसहर समुदायको आदरार्थी नाम) पनि धान काट्न आउँथे । तिनीहरूसँग एक जना सिंघेसर नाम गरेका कायस्थ कथावाचक पनि आउँथे, जो ऋषिदेव समुदायकी युवतीसँग प्रेममा परेर तिनीसँगै घरजम गरेर त्यही समुदायको गाउँमा बस्थे र त्यही समुदायका जनबनिहारहरूको दफेदारी गर्थे । त्यो हुद्दा हाम्रै आँगनका शेर सिंहको धान काट्थ्यो अनि मेजबानी मौसीको बैठकमा डेरा गरेर बर्खे र हिउँदे बाली हुन्जेल बस्थ्यो ।

मेजबानी मौसी बंगाली मुसलमान थिइन्– श्रीमान् र तिनका पाँच भाइसहित शेर सिंहको आँगनको दक्षिणपट्टि बस्थिन् । राति खाना खाइसकेपछि म आमालाई सिंघेसर बसेको मेजबानी मौसीको बैठकमा लैजान भन्थेँ र सिंघेसरबाट सेतो–रातो–कालो बाईपंखी घोडा, जगमग राजप्रासादमा बस्ने मोहिनीजस्ती राजकुमारी र तिनलाई पाउन तीन कुमार दाजुभाइका शौर्य र प्रेमका कथा सुन्थेँ । ‘देश’ बाट यी कुनै पनि ‘जन’ र तिनका दफेदारले स्वास्नीमान्छे ल्याउँदैनथे ।

तर, यी पहाडबाट धान काट्न झर्ने हँसिली दिदीबहिनीले त गाउँ नै हँसिलो बनाएका थिए । फेरि त के थियो गाउँका अधबैँसे कुमार, ‘ढेना’ (विधुर) र कति विवाहितका पनि मन विचलित हुन थाले । म त यी सब कुरा बुझ्दिनथेँ, तर आमाले भने सबै कुरा सुनाउनुहुन्थ्यो । गाउँका कुमारा अन्धर, अकबर दाजुभाइ, ढेना भएका धोद गोसाईं (मेरी ‘भाया आई’ को प्रसवकालमा मृत्यु भइसकेको थियो), गेठिया, जसको अतीत रहस्यमय थियो (ढेक्नी बाईले पनि हालैको फोन संवादमा गेठियाको अतीतबारे केही भन्न सकिनन्) र भुट्टेका धक्कर बाउ भुट्टेकी आमालाई ‘चुमान बिहा’ गरेका भट्टीवाला र अरू को–कोबीच भित्रभित्रै ती दिदीबहिनीलाई घरवाली बनाउन कम्पिटिसन हुन थाल्यो । आमाले भन्नुभयो, ‘यी गाउँका कुमारा अकबर–अन्धरहरूको ओझाहरूका अगाडि के चल्थ्यो ! हेर्दै जा न तेरो भाया बाबु नभए गेठियाले लान्छ यिनलाई किनभने तिनीहरूका घरवाली छैनन् र ओझा भएकाले टुनामुना, मोहनी पनि जान्दछन् ।’

यो सब लीला भइराखेका बेला ती पाँच दिदीबहिनीका दाजुभाइले भने केही नभन्ने ! अचम्मको कुरा ! किनभने गाउँमा कुनै युवाले कुनै युवतीसँग बात मात्रै मारेको सार्वजनिक भयो भने बबाल हुन्थ्यो । लुकीछिपीको कुरा भने अर्कै हो । तर, यहाँ त ती दिदीबहिनी बिहान खितितिति हाँस्दै धान काट्न हिँड्थे र साँझ खितितिति हाँस्दै धान काटेर फर्कन्थे, अनि यी गाउँका ओझा र गैरओझा रोमियोहरूसँग जिस्किन्थे । हाम्रो राजवंशी समाजमा (किनभने अरू समाजबारे मलाई केही जानकारी थिएन) केटावालले केटी हेर्थे मेलाबजारमा वा घरमै गएर र कुरा मिलेपछि केटीवाललाई ‘चुमान’ (नगद र गाईवस्तु) दिन्थे । अनि विवाह हुन्थ्यो । यहाँ त यी पाँच दिदीबहिनीहरू जहाँबाट आएका थिए, त्यहाँ त केटाले केटीसँग र केटीले केटासँग ठाडै बात मार्ने, हँसी–ठट्टा गर्ने र एक अर्कालाई फकाउने चलन रहेछ । आमा छक्क पर्नुहुन्थ्यो । गाउँको चलन बिगार्छन् यिनले भनेर गाउँका बुज्रुकले चिन्ता पोख्थे । तर, मलाई भने ओझाहरूबीच भएको मोहनी लाउने होडबाजीमा कसले बाजी मार्ला भन्ने कौतूहल थियो ।

दिदीबहिनीमा माइली निकै मिजासिली थिइन् र अकबर–अन्धर दाजुभाइमा अकबर निकै हिरो बन्न खोज्ने ! कपालमा तेलफूल लगाएर कोर्दै, गीत गाउँदै हिँड्ने ! तर, एक–दुई हिउँदे बालीपछि कुमार अकबर–अन्धर र अरू पत्नीविहीन ओझा हिस्स परे । भट्टीवालाले दिदीबहिनीको हूललाई चारकोसे झाडी पार गराएर सोझी, हाँस–बोल कम गर्ने जेठी दिदीलाई सँगै लिएर फर्केछन् । ओझाहरूबीच पनि प्रतियोगिता हुँदोरहेछ भनेर म छक्क परें । अनि त के थियो, मेरो मन्त्र सिक्ने र ओझा बन्ने धुनले अझ वेग लियो । तर, कसैलाई मोहनी लाउन होइन । मेरो त उद्देश्य अर्कै थियो ।

प्रयास

गेठिया सबभन्दा तिखा र खतरनाक ओझा भएकाले सबभन्दा पहिला तिनीअगाडि मलाई पनि ओझा बनाइदिनु भन्ने आँट गरें । ‘हैट !!’ भनेर झपारेपछि धोद गोसाईं कहाँ पुगेँ । एक/दुई खेप गाउँमा मरण हुँदा तिनले मलाई आख्रामा बसेको देखेर तोरी तेल भरिएको बल्दै गरेको माटोको दियोमा तुलसी पात चोबलेर जीवात्मा देखाउने प्रयास गरेका थिए । उनलाई भने, ‘मलाई पनि ओझा बन्नु छ । सिकाइदिनुस ।’ भट्टीवालाकहाँ गइनँ किनभने ती भुट्टेका धक्कर (झड्केला) बाउ थिए (त्यही भुट्टे, जो मलाई फुटेको आँखाले देखिसक्दैनथ्यो) । फेरि हामीजस्ता नानीकेटाकेटीसँग भट्टीवाला कहिल्यै बोल्दैनथे पनि । एकछिन विचार गरेर, धोद गोसाईंले भने, ‘सिकाउन त सिकाइदिन्थेँ । तर, तेरो बाउ रिसाउँछ किनभने तँ भइस् स्कुलिया छुवा (केटा) । तेरो पढाइ अर्कै छ र यो ज्ञान अर्कै हुन्छ । यो जन्तरमन्तर विद्या तेरो बुवालाई मन पर्दैन । आफ्नो स्कुलिया पढाइ गर । यता नलाग ।’ यति भनेर उनले मलाई टारे । तर म के हरेस खान्थेँ !

मेजबानी मौसीको गोठाला बस्ने जैनालाई गाई चराउँदै गरेको भेटेँ । जैना ओझागुनी सिक्दै छ भनेर मेजबानी मौसीले सुनाएकी थिइन् । जमात (मुसलमानहरूको घुमन्ते धार्मिक समूह) सँग आउँदा मुसलमानहरूमा मान्य सिक्टीका माजुद्दिनले जैनालाई ओझागुनी नसिक्न सार्वजनिक चेतावनी दिएका थिए– तन्त्रमन्त्र इस्लाम धर्ममा बन्देज भएकाले गर्दा । तर, जैनाले के मान्थ्यो ! भेटेर जैनालाई मन्त्र सिका भनेर भने । ‘के गर्छस् सिकेर’ भन्यो । ‘तँ स्कुलिया केटा । तेरो आमाले गाली गर्छ र तेरो बाउले पिट्न सक्छ तँलाई पनि, मलाई पनि ।’ ‘हैन, केही गर्नुहुन्न,’ भने, ‘किनभने थाहै दिन्न ।’ तर, जैना टसमस भएन । जब प्रत्येक मन्तरको तीन सुक्का याने बाह्र आना (सिला खोजेको पैसा) दिन्छु भने त्यसपछि बल्ल मान्यो, तर अर्को एउटा सर्त पनि राख्यो । त्यो सर्त सुन्दा मेरो जीउमा चटचट पसिना छुट्यो ।

त्यो सर्त थियो इन्द्रजाल किताब । जैनासँग पनि थिएन त्यो किताब । सिला खोजेको सबै पैसा हालेर किन्छु भने । ‘सुपथको पैसा हालेर किनेको किताब कहाँ काम लाग्छ ?’ भन्यो । ‘अनि ?’ मैले भने । ‘चोर्नुपर्छ । अनि मात्र चोटिलो हुन्छ त्यसबाट सिकेको मन्त्र विद्या ।’ ‘म त चोर्दिनँ’ भने । ‘त्यसोभए ओझा हुने कुरा बिर्सी, स्कुलिया पढाइमा लाग’ भन्यो । म त्यहाँबाट हिँड्न त हिँडे, तर मेरो अरू केही उपाय थिएन ओझा बन्ने । एक–दुई दिनपछि जैनालाई फेरि भेटेँ गाई चराउने बाधमा । ‘कहाँ भेट्छ त्यो किताब ?’ सोधेँ । ‘काँटा मेलामा’ भन्यो ।

परीक्षा

नयाँ वर्षका दिन हाम्रो गाउँ एक–डेढ कोस दक्षिण त्यो काँटा मेला लाग्थ्यो, जहाँ टाढाटाढा बाट गोडा, घोडा, साइकल, सम्पनीमा चार जात छत्तीस वर्णका मानिस मेला भर्न आउँथे । राजवंशीहरूका लागि मेला विशेष महत्त्वको थियो किनभने त्यहाँ औपचारिक र सामाजिक रूपमा केटा र केटी हेर्ने कार्यक्रम पनि हुन्थ्यो । म पनि सदसरी नानीको बैलगाडामा आमासँग मेला गएँ र बजारको एक फन्को लगाएँ किताबको पसल खोज्दै । ‘कहाँ कुदी कुदी हिन्छस् ? हराउलास् ! कस्ता कस्ता मानिस कहाँ कहाँबाट यहाँ आउँछन् के ठेगान !’, आमाले भन्नुभयो ।

तर, म किताब पसलमा पुग्दै, गाडीमा फर्कँदै गरिराखेको थिएँ । इन्द्रजाल किताब त देखेँ, बूढो पसलेको भुइँमा पसारिएका कुशवहा कान्त र गुलशन नन्दाका जासुसी उपन्यास र सत्यकथादेखि ‘मर्दहोनेके घरेलु नुस्खे’ र रामायण–महाभारत–गीतासम्मका किताबका बीच । तर, टिप्ने आँट आएन । तेस्रो खेपमा टिपेँ, ओल्टाई–पल्टाई हेरेँ र राखेर मेला घुम्न गएँ । अर्को खेपमा किताब यताउता हेर्दै पर्खिरहेँ । जब एक्कासि घुइँचो बढ्यो पसलमा, त्यो पातलो किताब लिएर फनक्क फर्कें र फटाफट बैलगाडा भए ठाममा आएँ । आमा हुनुहुन्नथियो, तर सदसरी नानीले भनिन्, ‘कहाँ कुदी हिँड्छस् ? चैनले बस्न सक्तैनस् ?’ नसुनेजस्तो गरेर जैनालाई देखाउन हिँडेँ । ‘यो इन्द्रजाल त हैन मैले भनेको’ भन्यो । मलाई त छानाबाट खसेको जस्तो भयो । ‘मैले भनेको किताब त मोटो छ नि । यस्तो पातलो किताबमा कति नै मन्तर हुन्छ र !’

त्यत्रो जोखिम मोलेको परिश्रम खेर गयो भनेर थकथक त लाग्यो, तर हरेस खाइनँ । फेरि पसले भएको ठाम गएँ । बूढो पसलेकहाँ थिएन जैनाले खोजेको त्यो मोटो इन्द्रजाल । अलिअलि दाह्री फूलेको, दाँत माथि उठेको, छेउकै पसलेकोमा त्यो इँटाजस्तो बाक्लो गाता भएको मोटो इन्द्रजालले मलाई नै घुरिरहेको थियो । त्यसको गातामा नरकंकालको तस्बिर त छँदै थियो, अनेकथरीका टुनामुना, उम्लँदै गरेका भाँडाका तस्बिरसहित एउटी लठ्ठ परेकी युवती र दाह्रीवालको तस्बिर पनि थियो । अनि ठूलो अक्षरमा लेखिएको थियो– ‘बडा इन्द्रजाल !’ म फुच्चेले त्यत्रो मोटो किताब कसरी टिप्ने, पसलेले अचम्म मानेर नजर ममाथि लाउला, मनमा भयो । तर, भाग्यले मानिसको भीड किताब किन्न त्यतिखेरै जम्मा भयो र मैले त्यो किताब टप्प टिपेँ, बजारतर्फ फर्केँ र सटासट बाटो लागेँ ।

बयलगाडा भएको ठाम पुग्दा त म पसिनाले भिजिसकेको थिएँ । आमा पनि त्यहाँ आइपुग्नुभएको रहेछ । ‘कहाँ कुदी हिँड्छस् । त्यत्रो मोटो किताब काँबाट ल्याइस् ?’ सोध्नुभयो । ‘जैनाको किताब हो, मलाई हेर्न देको छ’ भने । पसिना नओभाउँदै जैना भएको ठाम गएँ । ‘हो, यही नै मैले भनेको’ भनेर जैना खुसी भयो । ‘ली’ भनेर दिन खोज्दा मानेन । ‘माजुद्दिन मेलामा आएको छ र आज हाम्रै गाउँमा बस्छ । म त लान्न । तैँ लैजा । तँ स्कुलिया छस्, तँलाई कसैले केही भन्दैन ।’ यत्रो मोटो किताब म फुच्चेको हातमा देखेर के–को भन्दैन भनेर मनमनै सोचेँ र गाडीतर्फ लागेँ । आमा र सदसरी नानी दुवै त्यहाँ थिएनन् । मेरो पालो त्यो मोटो र अर्को पातलो दुवै इन्द्रजाल बयलगाडामा ओछ्याएको परालमुनि घुसारेँ र कुरेर बसिरहेँ । मेलामा सनपापडी, बदाम, मिठाई खाने कुरा सबै बिर्सें ।

प्रयोग

घर आएपछि किताब गुहालीमा लुकाएँ, आमाले देख्नुभयो भने मार्नुहुन्छ भनेर । शुकदेव मुनि भएको सुखसागर त पढ्न नदिने आमाले तन्त्रमन्त्रको किताब देख्नुभयो भने मार्नुहुन्छ, सोचेँ । त्यसपछि जैनासँग मिलेर किताबमा भएका प्रयोग गर्न थालेँ । पानीमा आगो लाउन पाउँदा विस्मित भएँ । तर, मेरो ध्येय त मलाई दुःख दिने मभन्दा बलिया स्कुले केटाहरूलाई भुक्ने कुकुर बनाउनु थियो । भूतप्रेतलाई भगाउनु थियो । अरू के–के गर्नु थियो । गाउँकै गोठाला मेरा दौँतरी हासिम डराई–डराई कुकुर बन्न तयार भयो । ‘कुकुर भइसकेपछि मानिसमा फर्काइनस् भने के गर्नु ?’ डराउँदै भन्यो । ‘हैन, फर्काईहाल्छु नि । मसँग मार र सम्भार दुवै छ’ भनेर ढाटेँ ।

एउटा ओझामा मार–सम्भार विद्या दुवै हुनु राम्रो भनेर सुनेको थिएँ । कुकुर बनाउने टुनामुना सबै भेला पारेर मल्हुको गुहालीमा हासिमलाई ख्वाएँ र मन्त्र पढेँ । एकछिन पर्खेँ । केही भएन । फेरि प्रक्रिया दोहोर्‍याएँ । हासिम जस्ताको तस्तै रह्यो– भुकेन पनि र चारखुट्टे पनि भएन । मेरै गराइमा केही खोट होला भनेर सोचेँ र प्रयोग जारी राख्ने निधो गरेँ । यसैबीच जैनाले इन्द्रजाल लग्यो, गाई चराउँदै सिक्दै गर्छु भनेर । म स्कुल र सतही दुनियाँतर्फ लागेँ ।

दहन

गर्मी बिदा लागेपछि जैनासँग ‘मेरो किताब दे’ भनेर मागेँ । ‘हेर न, माजुद्दिन जामात लिएर आएको थियो र साथमा आएको उस्मान मौलवीलाई कसले सुनाइदिएछ मसँग इन्द्रजाल छ भनेर । मलाई बेस्मारी गाली गर्‍यो र किताब खोस्यो । अनि बैठक अगाडिको आँगनमा ठूलो आगो बालेर– यह सब शैतानियत है । हराम है भन्दै त्यसैमा इन्द्रजाललाई हाल्दियो ।’ त्यो सुन्दा मलाई साह्रै रिस पनि उठ्यो र चयन पनि भयो । तिघ्रे केटाहरूलाई कुकुर बनाउन नपाइने भइयो । भूतप्रेतले तर्साइराख्ने भए भन्ने मनमा लागि रह्यो । अर्कोतर्फ ढुक्क के कुरामा भयो भने आमाले अब गाली गर्नुहुन्न कोर्सबाहिरको किताब पढ्यो भनेर । जे होस्, मेरो ओझा बन्ने, तन्त्रमन्त्र सिक्ने प्रयास तत्कालका लागि रोकियो ।

प्रकाशित : मंसिर ११, २०७८ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?