शब्दकोशको राजनीति- कोसेली - कान्तिपुर समाचार

शब्दकोशको राजनीति

‘नेपाली शब्दकोश’ ले पाठकलाई कस्तो अर्थ सिकाइरहेको छ ? यसका शब्दार्थले आम मानिसमा कुनै जात, लिंग, धर्म, वर्ण र क्षेत्रका व्यक्ति वा समूहप्रतिको दृष्टिकोण निर्माणमा कत्तिको सकारात्मक वा नकारात्मक भूमिका खेलिरहेका छन् ?
प्रणेता

मेरा फेसबुके मित्रले एक चर्चित लेखकलाई ‘इनबक्स’ मा सोधेछन्– ‘राम्रो लेखक बन्न के गर्नुपर्छ ?’ लेखकको जवाफ आएछ– ‘नेपाली शब्दकोश पढ्नुहोस् !’ सुझाव काइदाको लाग्यो । शब्दसँग खेल्ने लेखकहरूको कला मनमोहक हुन्छ । त्यसका पछाडि शब्दकोशले महत्त्वपूर्ण भूमिका खेलेको थाहा पाउँदा रमाइलो लाग्यो । भाषा सिक्ने समाजबाट कि शब्दकोशबाट ? शब्दकोशकै स्रोत समाज हो कि अरू नै केही ? यी प्रश्न एकछेउ राखेर पहिले शब्दकोशभित्रै छिर्ने रहर गरेँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले छापेको ‘नेपाली बृहत् शब्दकोश’ को एप (दसौं संस्करण) ‘इन्स्टल’ गर्न ‘प्लेस्टोर’ मा पसेँ ।

‘नेपाली शब्दकोश’ ले पाठकलाई शब्दहरूका कस्ता अर्थ सिकाइरहेको छ ? यसका शब्दार्थले आम मानिसमा कुनै जात, लिंग, धर्म, वर्ण र क्षेत्रका व्यक्ति वा समूहप्रतिको दृष्टिकोण निर्माणमा कत्तिको सकारात्मक वा नकारात्मक भूमिका खेलिरहेका छन् ? शब्दकोशले सिकाएका अर्थले कुनै व्यक्ति–समुदायले दोस्रो पक्षलाई गर्ने व्यवहारमा फरक पार्छ कि पार्दैर्न ? शब्दकोश निर्माण र प्रकाशनमा खटिनेले के आधारमा अर्थ निकाल्छन् ? यसमा काम गर्नेहरूको मानसिकतामा कुन पक्षले प्रभाव पारेको हुन्छ ? यो लेख यिनै प्रश्नवरिपरि केन्द्रित छ ।

शब्दहरूको अपमानजनक अर्थ

शब्दकोशभित्र गहिरिएर पस्ने हो भने त्यस्ता अनेक शब्द भेटिन्छन्, जसले भेदभावयुक्त अर्थ बोकेका छन् । उदाहरणका लागि ‘अछुत’ र ‘अछुती’ लाई लिउँ । ‘अछुत’ को अर्थ लेखिएको छ– ‘छुन नहुने, पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने भनी मानिएको समुदाय, छुन नहुने वा नछोइएको’ । समानार्थी शब्द ‘अस्पृश्य’ पनि उल्लेख छ । ‘अछुती’ लाई कसरी अर्थ्याइएको छ भनी खोज्दा ‘छुन नहुने, तथाकथित तल्लो जातको’ मात्रै लेखिएको पाइन्छ । तर, ‘हिन्दु वर्ण व्यवस्थाअनुसार नयाँ मुलुकी ऐन लागू हुनुभन्दा पहिले’ भनेर अर्थलाई विस्तारमा खुलाइएको भने छैन ।

अर्को शब्द छ, ‘बिटुलो’, जसलाई ‘अरूसँगको छुवाछुत वा लसपसमा परेको’ भनी अर्थ्याइएको छ । यहाँनेर तिलक विश्वकर्माको ‘दलित महिलासँग विवाह गरेर बिटुलिएका यी बिटालु, जसलाई समाजले दलित ठान्छ अनि कानुनले बेग्लै’ शीर्षकको आलेखको प्रसङ्गमा जानु आवश्यक हुन्छ । कुन वर्ण वा समुदायको मानिस कुन वर्ण या समुदायको मानिसको ‘सम्बन्धमा वा सम्पर्कमा’ रह्यो भने ‘बिटुलिएको’ अर्थात् ‘अशुद्ध’ वा ‘जुठो’ बनेको ट्याग लाग्छ ? भनिरहनै पर्दैन । शब्दकोशले स्वच्छ, सफासुग्घर वातावरणमा रहनेलाई पनि सधैं अशुद्ध र फोहोरी देखिरहन्छ । यसकारण कि उनीहरू कथित निम्न दर्जामा राखिएका छन् । अर्थमै जोड दिने हो भने ‘बिटुलोको मतलब चोखो नभएको अशुद्ध, जुठो’ पनि लेखिएको छ । सामाजिक परम्पराले जसलाई कथित नीच स्थानमा राखेको छ, तीसँग कथित उपल्लो स्थानमा रहेका वर्णहरूको सम्बन्ध र सम्पर्क भएमा बिटुलिएको अथवा त्यो सम्बन्ध जुठो भएको मानिन्छ ।

पञ्चम वर्णअन्तर्गत विभिन्न पेसा, व्यवसाय गर्ने जातका व्यक्ति/समूहका लागि पनि अनेक गालीगलौज र अपमानबोधक शब्दार्थ रचना गरिएको छ । जस्तै ः ‘डुम’ लाई ‘कुनै बालखेलमा अछुत बन्ने व्यक्ति’ भनिएको छ । अछुत अर्थात् पानी बारिएको जात ! तब न ‘डुम’ ले हियाएर तुच्छ आवाजमा बोलिने शब्द बुझाउने भयो । यही अधम र निकृष्ट बुझाउने शब्दको अर्थसहित उदाहरण पनि दिइएको छ (हेर्नुहोस्– ‘यत्ति नाना फाट्यो, मुसाले काट्यो, सिलाइदेऊ न डुम दाइ !) ।

यत्तिमै टुङ्गिँदैन शब्दार्थको कुरा । ‘डुम’ भनेको ‘चाण्डाल जाति विशेष, डोम वा डुम्रो’ हो भन्ने अर्थ पनि लेखिएको छ । के भन्नैपर्छ भने शब्दकोश निर्माणमा संलग्न कथित बौद्धिकहरू अर्को जातिलाई आजीवन ‘नीच र घृणित’ बनाइरहने कर्ममा २०४० सालदेखि नै जुटिरहेका छन् ।

‘पोडे’, जसलाई ‘नेवार जातिको एउटा निम्न वर्ग, फोहोर–मैला आदि सफा गर्ने जाति, चाण्डालको एक भेद’ भनेर परिचय गराइएको छ । ४० वर्षअघिको र आजको पोडेको पहिचान ‘फोहोरमैला सफा गर्ने जाति’ मै सीमित गर्नु उचित छ त ? आफ्नो करङ रगडेर हैसियत निम्नबाट मध्यममा उकासेको एक पोडेको सन्तानले यो शब्दग्रन्थमा आफूलाई यसरी अर्थ्याइएको पाउँदा र ‘चाण्डाल’ सरोबर आफ्नो जाति हो भनेर पढ््नुपर्दा के उसको शिर झुक्दैन ? अर्को प्रश्न, फोहोर गर्ने मानिस फोहोरी हो कि फोहोरमैला सफा गर्ने मानिस ?

वास्तवमा ‘नेपाली बृहत् शब्दकोश’ मा कथित ‘अछुत’ जातबारे ‘खराब स्वभाव र चरित्र भएको, दुर्जन र दुष्ट’ भन्ने अर्थ निर्माण गरिएको त छ नै, उनीहरूले अँगाल्ने पेसालाई पनि अपमानजनक रूपमा प्रस्तुत गरिएको छ । यही प्रवृत्ति ‘पहाडे’ शब्दको अर्थमा पनि देखिन्छ । शब्दकोशअनुसार, ‘पहाडे’ विशेषणको अर्थ ‘जङ्गली, पाखे, असभ्य’ हुन्छ । थुप्रै हास्यव्यंग्य कार्यक्रम, टेलिसिरियल आदिमा ‘पहाडे’ ‘मदिसे’ आदि पात्र यस्तै अर्थमा बनाइयो, देखाइयो । पछिल्लो राजनीतिक चेतनाले सामाजिक व्यवहार बदलिने क्रम जारी छ, तर शब्दकोश नबदलिनु हास्यास्पद छ ।

अब जाऊँ जनजातितर्फ । अहिले जनजातिहरू आफ्नो भाषा, संस्कृति, भूमिथलो, आर्थिक र राजनीतिक अधिकारका निम्ति लडिरहेका छन् । जनजाति शब्दको अर्थ पुरानो शब्दकोशमा बताएजस्तो कदापि छैन । शब्दकोशमा ‘जनजाति’ लाई ‘सिकार खेली जीविका चलाउने आदिम जातीय समुदाय’ लेखिएको छ । सँगै ‘कुनै निश्चित क्षेत्रमा बसोबास गर्ने जाति’ पनि भनिएको छ । यसरी प्रज्ञा–प्रतिष्ठानमा सरकारी दाना–पानीको सुविधासहित शब्दार्थ निर्माणमा जागिरे बनेका पहाडे उच्च जातीय खस पुरुषहरूको डफ्फाले जनजातिलाई शब्दार्थमार्फत दिएको परिचयले साम्प्रदायिक र जातवादी राजनीति गरेको होइन त ? इतिहासमा जनजाति आन्दोलनले निर्माण गरेको अर्थ र परिचय पनि त छ ! नयाँ परिचय निर्माण गरेको जनजाति आन्दोलनले आफ्नो परिचयको गौरवमय अर्थ शब्दकोशमा अभिलेख गर्न पहल गर्नैपर्छ ।

शब्दकोशले लेखेका अर्थहरूबारे कुरा गर्दा ‘दलित’ शब्दलाई छुटाउनु हुँदैन । शब्दकोश भन्छ– ‘दलित’ भनेको ‘दमन गरिएको, थिचिएको, कुल्चिएको’ हो । यो अर्थबाट हेर्दा छुवाछुत तथा भेदभाव अन्त्यको विकल्प के हुनसक्छ भन्ने सन्दर्भमा वर्ण व्यवस्थाबाट उत्पीडित समुदायलाई ‘दलित’ सम्बोधन गर्नुहुँदैन । किनकि शब्दकोशमा दलितको अर्थ ‘फग्ल्याँटै फग्ल्याँटा पारिएको’ लेखिएको छ र यो ठीक परिचय भएन भनिएको पनि सुनिन्छ । यसबारे आहुतिको विचार छ, ‘शब्दकोशमा जे अर्थ लेखिए पनि दक्षिण एसियाको दलित आन्दोलनले दलित शब्दको नयाँ र गौरवमय अर्थ निर्माण गरिसकेको छ । आफ्नो आन्दोलनले नै निर्माण गरेको दलित शब्दको नयाँ अर्थलाई शब्दकोशमा समावेश गराउन दलित आन्दोलनले नै पहल गर्नुपर्छ । अब निर्माण हुने शब्दकोशमा दलित शब्दको नयाँ र गौरवमय अर्थ लेखिनुपर्छ ।’

यसबाट हामी बुझ्न सक्छौँ– समाजले भन्ने ‘अछुत’ या ‘दलित’ को अर्थ अब परम्परागत अर्थमा मात्रै सीमित रहेन । अछुत र दलित पर्यायवाची शब्द हुँदै होइनन् । आहुतिकै शब्दमा भन्नुपर्दा, दलित कुनै उत्पीडक समुदायले हेपेर, अपमान गरेर वा षड्यन्त्र गरेर दिएको शब्द होइन । आफू तल भएको नस्वीकारी, आफूलाई अत्याचार भएको थाहा पाएर र बोध गरेर त्यसबाट बाहिर निस्किन सङ्घर्षरत समूह नै दलित हो ।

तसर्थ पाठकले बुझ्न करै लाग्ने विषय यो छ कि शब्दको पुरानै अर्थ शब्दकोशमा राखिरहनु यसका निर्माता र राज्यको बेइमानी हो । त्यहाँ अर्थ अदलाबदली होला/नहोला, तर दलित र जनजातिबारे पालेको धारणामा भने परिवर्तन ल्याउनैपर्छ । शब्द र व्यवहारमा संघर्षले ल्याएको परिवर्तनलाई अपनाउनैपर्छ । शासकले अपमानसहित हेलाँहोचो गर्न राखिदिएको नाम ‘अछुत’ हो भने संघर्षबाट बनेको एक गौरवमय शब्द ‘दलित’ हो । आम मानिसलाई शब्दार्थमार्फत कसैको मानहानी गर्ने छुट छैन र हुनु पनि हुँदैन । तिनै जनताको करबाट चलेको प्रज्ञा प्रतिष्ठानजस्तो संस्थालाई त झनै छुट छैन ।

अर्थमा झल्किने लैंगिक दृष्टिकोण

शब्दकोशले नेपाली भाषाभाषीलाई विशेष सेवा पुर्‍याएको छ भन्ने दाबी छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा २०७५ मा संशोधित तथा परिवर्तित र डा. यज्ञेश्वर निरौलाद्वारा परिमार्जित यस शब्दकोशबाट विशेष सूचना लिन पाइएकोमा पाठकलाई यो नेपाली भाषाको अनुपम संयोजन पनि लाग्ला ।

हालसम्म ६० हजारभन्दा बढी प्रति (दिइएको विवरणअनुसार) विक्री भइसकेको यस ‘मूल्यवान्’ शब्दकोशमा ‘पुरुष’ को समानार्थक शब्दमा ‘लोग्नेमान्छे, लोग्ने, मानवजाति, भाले जातिको प्राणी, साङ्ख्यशास्त्रका अनुसार प्रकृतिदेखि भिन्न, अपरिणामी कर्ता, आत्मा, विष्णु, जीव’ जस्ता नामहरू दिइएको छ । त्यही ‘पुरुष’ लाई ‘भाले, वीर, आँटी’ जस्ता विशेषण पनि झुन्ड्याइएको छ । ‘पुरुष’ शब्दका समानार्थी शब्द अधिक छन् । स्त्री, महिला, नारी आदि जे भनेर खोजे पनि यिनका अर्थ ‘भद्र नारी, स्वास्नीमान्छे’ सिवाय अरू भेटिँदैन । न त विशेषण नै पुरुषलाई जसरी दिइएको छ । यहाँनेर ध्यान दिनुपर्ने विषय के छ भने ‘मानवजाति, जीव’ शब्द ‘पुरुष’ शब्दको समान अर्थमा व्यवहारीकृत छ । तर, ‘नारी’ को अर्थ भने सतही र सिमित छ ।

शब्दकोशले नारीलाई ‘महिला’ मात्रै ठानेको छ । तर, पुरुषलाई ‘प्रकृतिदेखि भिन्न’, ‘मर्द जीव’ आदि मानेको छ । ‘मर्द अर्थात् शक्तिशाली र साहसी’ । तर, ‘मर्द’ को स्त्री सम्बोधन भने छैन । यो शब्दकोशले ‘नारी शक्तिशाली हुन्छन्’ भनेर स्विकारै गर्दैन । त्यस्तै ‘अपरिणामी कर्ता’ पनि मानेको छ, पुरुषलाई । अर्थात् ‘अवस्था वा रूपमा हेरफेर नहुने र अविकारी’ जीव हो, पुरुष । संरचनाको टुप्पोमा रहेका र उच्च सामाजिक हैसियत भएका पुरुषहरूको अवस्था सधैं यस्तै रहिरहन्छ भन्न खोजिएको हो ? यस अर्थको भुमरीमा चक्कर लगाउँदा हजुरआमाको भनाइ याद आउँछ, ‘छोरामान्छे भनेका छोरैमान्छे हुन् !’ हजुरआमाले ‘छोरीमान्छे पनि छोरीमान्छे नै हुन्’ भन्न किन नसकेको होला ?

‘लोग्नेमान्छे’ लाई शब्दकोशले ‘विष्णु’ समान ठान्छ । विष्णुलाई हिन्दु धर्मशास्त्रले ‘सृष्टिको रचना, पालना र संहार गर्ने तीनमध्ये एक देवता’ मान्छ । शब्दकोशले ‘विष्णु’ को निकटमा ‘लोग्नेमान्छे’ लाई राखिदिएको छ । मान्छेलाई जन्म दिएर जसले पृथ्वीलाई ‘मनुष्यको दुनियाँ’ बनाउन अहम् भूमिका खेलेका छन्, तिनलाई शब्दकोशमा कुनै देवता (पूज्य) मानिएको छैन । संसारभरीका महिला आन्दोलनले ‘नारी’ वा ‘महिला’ शब्दको अर्थ नै बदलिसकेको छ । वैज्ञानिक, बौद्धिक, लडाइँका कमान्डर आदि जुनसुकै भूमिकामा नेपालकै नारीहरूले पनि अब्बल परिचय दिइसकेका छन् । ‘नारी’ र ‘महिला’ शब्द मात्रै होइन, अरू कैयौं शब्दको अर्थ महिलाहरूको विद्रोहकारी भूमिकाले बदलिसकेको छ । तर, शब्दकोश निर्माताहरू पितृसत्ताको जुगौं पुरानो अर्थभित्र कैद हुनु लाजमर्दो विषय हो ।

शब्दकोशमा ‘चाण्डाल’ को अर्थ लेखिएको छ– ‘ज्यादै नीच र घृणित जाति वा त्यस जातिका मानिस’ तथा ‘दुष्कर्मी, दुष्ट, क्रूर व्यक्ति’ । याद गर्नुहोस्, शब्दकोशमा ‘व्यक्ति’ जनाउँछ, तर ‘पुरुष’ जनाउँदैन, चाण्डालले । यही शब्दकोशमा ‘चण्डाल्नी/ चण्डालिनी’ शब्दलाई ‘दुष्ट स्वभावकी स्त्री’ भनी अर्थ्याइएको छ । यसर्थ बुझ्न करै लाग्छ, ‘चण्डाल वा चण्डाल्नी’ या त नारी हुन्छन्, चाहे जुनसुकै समुदायका होऊन् या त वर्णव्यवस्थाअनुरूप कथित तल्लो जात वा समुदायका मानिस हुन्छन् । ‘निरीह र समाजमा वर्जित प्राणी’ बनाएर मात्रै नअघाएको र तुष्टि नमिलेको ब्राह्मण पुंसताले ती मानिसलाई ‘ज्यादै नीच र घृणित’ को झुण्डमा भर्ती गरेको छ ।

‘बोक्सो’ शब्दको अर्थमा पनि ठ्याक्कै यस्तै देखिन्छ । शब्दकोशअनुसार, ‘बोक्सो’ भनेको त्यो ‘भाले जाति’ होइन, न त ‘वीर र आँटी लोग्नेमान्छे’ नै हो । त्यहाँ अर्थ्याइएअनुसार, ‘बोक्सेरो वा टुनामुना जान्ने व्यक्ति अथवा टुन्याहा’ नै ‘बोक्सो’ हो । यसबाहेक ‘बोक्सो’ कसैलाई भनिन्छ भने ‘सार्कीले जुत्ता सिउँदा प्रयोग गर्ने साधन विशेष’ लाई भनिन्छ । ‘विष्णु’ सरह हैसियत बनाइएको ‘शक्तिशाली मर्द’ लाई ‘बोक्सो’ भनिँदैन । उसोभए ‘बोक्सी’ कसलाई देख्छ त नेपाली आधिकारिक शब्द भण्डारले ? त्यही कला भएकी स्त्रीलाई ! यति मात्र होइन, यस्तो कलामा निपुण स्त्रीलाई शब्दग्रन्थले ‘डङ्किनी, डाइनी’ करार गरिदिएको छ । जुन नामलाई शब्दकोशले ‘आफ्नो बिगार गर्ने वा मन नपरेकी स्वास्नीमान्छेलाई गाली गर्दा भनिने शब्द’ भनेको छ । तर, बिगार गर्ने लोग्नेमान्छेलाई ‘बोक्सो वा डाइनो’ भनेर चिनाइएको छैन ।

‘पिशाच/पिशाचिनी, अलच्छिना/अलच्छिनी/कुलच्छिनी, डाइनी’ जस्ता ‘अमङ्गल’ भाव दर्साउने र वैगुण/दुर्गुण हुनेमा न्यूनतम ‘व्यक्ति’ र अधिकांश ‘महिला’ नै हुने भनेर कोष्ठभित्र ‘स्त्री’ राखीकन तोकेको छ शब्दकोशले । तर, यसरी नै पुरुषलाई तोकेर यस्ता कुनै विशेषण भिराइएको छैन ।

पत्नी बितिसकेको पुरुष ‘विदुर’ कहलिन्छ । उसलाई शब्दकोशमै उल्लिखित शब्दमा भन्दा ‘राँडो’ भनिन्छ । तर, यही शब्दकै स्त्री सम्बोधनले ‘पतिको देहान्त भएपछिकी पत्नी, विधवा’ मात्रै ‘राँडी/राँड’ हो भन्दैन । ‘स्त्रीलाई गाली गर्दा’ पनि यही शब्द बिनासङ्कोच प्रयोग गर्ने गरिएको छ । आम पाठकले ‘राँडी/राँड’ अर्थात् ‘एकल महिला’ बराबर ‘रण्डी/वेश्या’ हो भनी दिमागमा राख्छन् । शारीरिक कमजोरी भएका व्यक्तिलाई पनि शब्दकोशले अपमान र अन्याय गरेको छ । ‘अन्धो’, ‘लङ्गडो’, ‘खोरन्डो’, ‘कानो’, ‘डेडो’, ‘बहिरो’, ‘लाटो’ जस्ता शब्द हिजोआज अपमानजनक शब्दका रूपमा चिनिन्छन् । तर, शब्दकोशले परम्परागत अपमानलाई नै निरन्तरता दिएको छ, बदल्ने कष्ट उठाएको छैन ।

‘नपुंसक’ को अर्थ लेखिएको छ– ‘स्त्री वा पुरुष नछुट्टिएको प्राणी, हिजडा’ । यति मात्रै होइन ‘कुनै पनि काम कुरामा आँट नभएको व्यक्ति, हिम्मत वा साहस नभएको मानिस’ लाई पनि ‘नपुंसक’ मान्छ शब्दकोश । के यस समूहका मानिस आँटिला, हिम्मतिला वा साहसी हुँदैनन् ? ‘तेस्रो लिङ्गी’ वाक्यांशसमेत व्यापक प्रयोगमा आएर पनि ‘पारलैङ्गिक’ ‘समयौनिक’ जस्ता शब्दले विस्थापित हुन थालिसक्यो । अहिलेसम्म पनि यी शब्दमा पुनर्विचार गर्ने र सच्याउने वा अर्थको विकासक्रम दिने काम नगरिनु ताज्जुबलाग्दो छ ।

शब्दकोशमा संलग्नको मानसिकता

प्रतिष्ठानमा रहेर शब्दकोश निर्माण, परिमार्जन र संशोधनमा लागेका २०४० सालदेखिकै सदस्यलाई हेर्ने हो भने त्यहाँ अधिकांश ब्राह्मण पुरुष देखिन्छन् । पछिल्लोपटक गठित ११ सदस्यीय ‘प्राज्ञ परिषद्’ मा आधाभन्दा बढी सङ्ख्यामा कथित उच्च जातका पुरुष नै छन् । उक्त संस्थाको उच्च पदमा आसीन हुने अवसर महिलाले सायदै पाएका छन् । मधेसबाट एउटा मुहार भेटिन्छ, जसलाई सबैको मुख थुन्नकै लागि देखाइएको भान हुन्छ । दलित त धर्मग्रन्थ वा औपचारिक शिक्षा लिनबाट वञ्चित समुदाय नै भइहाल्यो ।

यसरी शब्दकोशमा हिन्दु, उच्च जातीय पहाडी खस पुरुषको अहङ्कार, चेतना र मनोविज्ञानको प्रभाव छ, जसले महिला, दलित तथा विभिन्न उत्पीडित जात–समुदायको परिचयमै प्रहार गरेको छ । परिणामस्वरूपः यो शब्दकोश वर्गीय, जातीय, क्षेत्रीय तथा लिङ्गभेदी शब्दशास्त्र हो भन्न किञ्चित हिच्किचाउनु पर्दैन ।

अब नेपाल प्राज्ञ–प्रतिष्ठानको ‘प्राज्ञ परिषद्’ का जात व्यवस्थाको विचारबाट प्रशिक्षित सदस्यहरूले आफ्नो चेतनामा ‘यथास्थिति’ कायमै छ र शब्दार्थ निर्माण प्रक्रियामा पनि त्यो झल्किएको छ भन्ने विषय आत्मबोध गर्नुपर्छ । ‘ज्ञान’ निर्माण प्रक्रियामा महत्त्वपूर्ण सुविधा प्रदान गर्ने र भूमिका खेल्ने आधिकारिक नेपाली भाषाको शब्दकोशले कुनै पनि जात, लिङ्ग, वर्ण, क्षेत्र, भूगोल र समुदायका मानिसको भावनामा ठेस पुग्ने शब्द र अर्थ समावेश गर्नु शोभनीय देखिँदैन ।

शब्दकोशमार्फत जति पनि साहित्य सिर्जना भएका छन्, तिनले पहिले सिक्न चाहने सिकारुकै दिमाग कब्जा गर्छन् । शब्दकोश आफैं मानिसलाई को अपमानयोग्य र को मानयोग्य छ भनेर चिनाउन उद्यत छ ।

शब्दकोश लेखनको सुरुआतदेखि परिमार्जनको समयसम्मै सहभागीहरूमा ज्यादा ब्राह्मणहरूकै वर्चश्व हुँदै आइरह्यो । यो क्रम अहिले पनि चालु छ । तिनले ‘ब्राह्मण–झुन्ड’ भित्र नअटाइएका समुदाय तथा जात या लिङ्गका मानिसलाई आफ्नो परिचय आफैँ दिने मौकै दिलाएनन् । न त कुनै दलित, महिला या जनजातिको आँखाबाट नियालेरै हेरे ।

परिचय अरूले दिएर हुँदैन, स्वयम्ले आफूलाई चिनाउनुपर्छ भन्ने स्वीकार गरिन्थ्यो भने जनजातिलाई सिकार खेल्ने जातिको रूपमा मात्रै चिनाइँदैनथ्यो । सयौं वर्षदेखि यस मुलुकका खस–आर्य शासकको स्वार्थअनुरूप ‘युद्धको सिकार’ बनिरहेकालाई न्यायपूर्ण विशेषण दिइएको हुन्थ्यो भने मुलुकलाई ‘वीर गोर्खा’ भनी चिनाउनेको परिचय सोहीअनुरूप दर्ज गरिएको हुनुपर्थ्यो । नरसंहारकारी युद्धको भुङ्ग्रोमा खरानी बनेर अथवा छातीमा बारुद थापेर मुलुकलाई गौरव गर्नलायक नाम दिनेहरू तिनको दिमागमै आउँदैनन् । ‘वीर गोर्खाली र गोर्खाली छोरो’ भनेर गौरवान्वित हुँदै यही विशेषणमार्फत आफूलाई चिनाउन हतार गर्ने ब्राह्मणहरूले यो ‘पदवी’ पाउन ज्यानको बाजी थाप्ने र थापिरहेका जनजातिलाई नयाँ परिचय दिन आनाकानी गरिरहेका छन् ।

शब्दकोशलाई ज्ञानको सङ्ग्रह र समानार्थी/अनेकार्थी शब्दको अनुपम संयोजन मान्ने हो भने यसले कस्तो ज्ञान प्रदान गरिरहेको छ र कस्तो ज्ञानसँग साक्षात्कार गराइरहेको छ भनी घोत्लिनु जरुरी छ । शब्दकोशले विविध अर्थ मात्रै दिएको छैन कुन सुन्दर, कुन कुरूप, के उदात्त, के तुच्छ, के ठीक, के बेठीक, को अब्बल, को बेकामे र को नालायक भन्ने धारणा बनाउन पनि उत्प्रेरित गरेको छ । साथै पाठकको सोच–व्यवहारमा कोही व्यक्तिप्रति सोही शब्दार्थअनुरूपको व्यवहार गर्न र भाषा प्रयोग गर्न छाप पनि छोडेको छ । यसो किन गरिएको छ भने यो अभ्यास सामाजिक, सांस्कृतिक, आर्थिक र अझ बढी राजनीतिक (शासकीय) तत्त्वहरूको परिणाम हो ।

शब्द र अर्थ निर्माण प्रक्रियामा कसलाई कुन शब्दार्थ र विशेषणले सम्बोधन गर्ने भन्ने विषय विविध तत्त्वहरू शक्ति (पावर), अवस्थिति, लिङ्ग, सार्वजनिक परिचय (फेस), वर्ग आदिले पनि निर्धारित गर्ने नै भयो ।

अबको आवश्यकता सम्बोधनका दृष्टिले भाषिक समानता कायम गर्नु पनि हो । ‘खाली पानारूपी मस्तिष्क’ का साथमा हुर्किएका बालबालिकालाई यस्ता विभेद र भेदभाव प्रस्ट बुझाउने शब्द सिकाउनु हुँदैन । बालबालिकाका बोलीले टिप्नुअगावै अर्थहरूमा ‘अपडेट’ गर्नुपर्ने बारे मन्थन हुनुपर्छ । विशेष जात, जाति, लिङ्ग, समुदायका मानिसबारे जबर्जस्ती निर्मित ‘भाष्य’ हरू शब्दकोशबाट हटाउनेबारे गहन छलफल गर्नु अब जरुरी छ । यस विषयमा अबेर नगर्नु नै मान्छेको मन–मस्तिष्कमा लागेको चोटको ‘ओखतीमुलो’ सुरु गर्नु हो । अब शब्दकोश संशोधन–परिमार्जन गरी शब्द र अर्थले झुकाएको शिरको शीघ्र ‘माङ्गेना’ गरियोस् ।

प्रकाशित : मंसिर ४, २०७८ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्

योगमायाको इतिहासमाथि अन्याय

प्रणेता

योगमाया–उपन्यासमा योगमाया आसामबाट फर्केर आफ्‍नै जन्मथलो भोजपुर आइपुगेको प्रसंग आउँछ । आसाममा हुँदा त्यस्तो के भयो जसले एउटी गृहस्थ नारी विद्रोही सन्त बनेर गाउँ फर्किन ? प्रश्न उठ्नु स्वाभाविक छ ।

यहाँनेर योगमायाकै मुखबाट उपन्यासकारले परस्परविरोधी कुरा बोल्न लगाएकी छन् । उनका घरमा अनेक साधु–सन्त, भेष बदलेका जागरण र स्वतन्त्रताका पक्षधरहरू बास बस्न आउँछन् । अत्याचार, कुरीति र अन्धविश्वासको विरुद्ध लड्न प्रेरित गर्छन् ।

वैधव्यको वर्णाश्रम परम्पराविरुद्ध विद्रोह गरेको भनेर उनको साहसको प्रशंसा पनि गर्छन् । अत्याचार सहने होइन, भिड्ने हो पनि भन्छन् । योगमाया आफैं विभिन्न गोप्य सभा र भाषणमा सहभागी हुन पनि पुग्छिन् । अंग्रेजविरोधी स्वतन्त्रता संग्राम चलिरहेको भारत, त्यसमाथि विभिन्न बौद्धिक तथा राजनीतिक आन्दोलनका लागि सन् १९३०–४० को दशकमा चर्चित पश्चिम बंगाल । त्यसैले योगमायाले वैधव्य त्याग गरेर बिहे गर्ने हिम्मत गरेको सुन्दा प्रसंसा गर्नेहरू आइपुगे होलान् भन्न सकिन्छ ।

तर, यी तमाम विद्रोहकारी विचार बोक्ने मान्छेले उनलाई गृहस्थ त्याग गरेर अत्याचार र कुरीतिको विरुद्ध एउटा लामो यात्रामा निस्कन प्रेरित गर्दैनन् । त्यसरी प्रेरित गर्ने पात्र हुन्छ कुनै पुराणवाचक पण्डित । पण्डितले त्यस्तो के उत्पातको विचार दिन्छ त योगमायालाई ? उसले भन्छ— परस्त्री र परपुरुष गमन गर्नाले भविष्यमा नर्कको यातना भोग्नुपर्छ । त्यत्रा क्रान्तिकारी कुराले दिएका अनेक ऊर्जाले काम गर्दैन तर पण्डितको यही भनाइले एक झट्कामा सबै काम गर्छ । त्यसपछि प्रायश्चित गरेर पाप पखाल्नका निम्ति योगमाया घरबार छाड्ने निर्णयमा पुग्छिन् ।

यत्रो विरोधाभास उपन्यासकार नीलम कार्की ‘निहारिका’ ले किन चित्रण गरिन् ? ऐतिहासिक पात्रलाई आख्यानको विषय बनाउँदा लेखकले सहारा लिने इतिहासकै पुस्तक हुन् । आख्यानकारले थप अध्ययन गर्न पनि सक्छन्, तर त्यसले छुट्टै मिहिनेत र समय माग गर्छ । निहारिकाले पण्डितको मुखबाट बोल्न लगाएको संवादचाहिँ इतिहासकार जनकलाल शर्माको पुस्तक ‘जोसमनी सन्तपरम्परा र साहित्य’ भित्रको ‘शक्तिमाई’ शीर्षक लेखबाट लिइएको हो । यही प्रसंग ज्ञानमणि नेपालको ‘नेपालनिरूपण’ भित्र ‘सन्त कवयित्री शक्तिमाता योगमाया’ शीर्षक लेखमा पनि भेटिन्छ ।

दुवै इतिहासकारले योगमायाले बिहे गरेको प्रसंगलाई बिटुलिएको अर्थमा व्याख्या गरेका छन् । बालविधवा करार गरिएकी योगमायाले कथित् ‘विधवा धर्म’ पालन गर्नुपर्थ्यो भन्ने आग्रह दुवैको छ । शर्मा लेख्छन्, ‘तारुण्यको जोसमा होस समाल्न सकिनन् र गाउँको डोटेल जैसीसित भागेर आसाम पुगिन् ।’ शर्माको यो भनाइले योगमायालाई बिग्रेर बिहे गरेकी मान्छ । नेपालले त झनै हेप्ने भाषामा लेखेका छन्, ‘पतिता तिरस्कृता बन्दै मुगलान पसी फूलबारी कमानमा पुगी पुनः एक डोटेल बाहुनसँग बसिन् ।’ उनीहरूका लागि योगमायाले प्रेम र विवाह गर्नु नै एक अपराध थियो । त्यसैले पापको प्रायश्चित्त जरुरी भयो ।

बालविधवाले उमेर पुगेपछि बिहे गर्नुलाई नै परपुरुष र परस्त्रीगमन मान्ने हो भने बालविधवा बनाउने वर्णाश्रम परम्परालाई पनि सही ठहर्‍याउनुपर्ने हुन्छ । प्रायश्चित्त नै गर्नेभए त्यही परम्परालाई कुरीति मानेर विद्रोह गर्नु किन पर्‍यो ? प्रायश्चित्त गर्ने मनसाय कुनै कारणले योगमायाको मनमा जन्मेको भए उनी हामीले चिनेकी विद्रोही योगमाया बन्न सक्थिन् ? पुरुषतन्त्रको विरुद्ध त्यत्रो धावा बोल्न सक्थिन् ? आसामबाट एउटा इरादासहित फर्केर आइसकेकी योगमायालाई उपन्यासमा त झन् कति निरीह र द्विविधाग्रस्त देखाइएको ?

राणाकालमा नेपालको पूर्वी र मध्यपहाडबाट बसाइ सरेर दार्जिलिङ, सिक्किम, आसाम, मनिपुर, बर्मा, भुटानतिर जानेको लर्को थियो । यताका साहु, सामन्तहरूको अत्याचार र शासकहरूको कोपभाजनबाट उम्कन धेरै मानिस त्यतातिर बसाइ सर्थे । अन्तरजातीय र योगमायाको जस्तो वर्णाश्रम व्यवस्था उल्लंघन गर्दै विद्रोही प्रेम गर्नेहरू पनि यताको अत्याचारबाट बच्न भागेर त्यता पुग्थे । योगमाया पनि त्यसरी नै आसाम पुगेकी थिइन् भन्न सकिन्छ ।

बारबरा निम्री अजिजको कृति ‘येअर टु अ साइलेन्ट सङ ः टु रिबेल विमेन अफ नेपाल’ मा योगमायाले आसाममा कस्तो वातावरण पाएकी हुन सक्छिन् भन्नेबारे तथ्यसंगत व्याख्या गरिएको छ । अजिजका अनुसार, योगमायालाई सन्तमार्गमा लाग्न र आफ्नै गाउँ फर्कन केले प्रेरित गर्‍यो भन्ने रहस्यको गर्भमै छ । त्यतिबेलाको दार्जिलिङमा जोसमनी सन्तहरूको गतिविधि उल्लेखनीय थियो । पश्चिम बंगाल क्षेत्र त्यतिबेला कम्युनिस्ट आन्दोलन, अंग्रेजविरोधी आन्दोलन, ब्राह्मणवादविरोधी सुधारवादी हिन्दु आन्दोलनहरू तथा बौद्धिक गतिविधिका कारणले पनि उथलपुथलकारी ठाउँ थियो । तिनै आन्दोलनहरूबाट योगमायाले धेरै कुरा सिकेको हुन सक्छ ।

यो प्रसंग उपन्यासमा नभएको होइन । तर, योगमायाको निर्माण फगत प्रायश्चित्त वा वैराग्यको परिणाम हो कि सामाजिक विद्रोहको दरिलो संकल्प ? यो प्रश्नमा आएर उपन्यासकार पुरै कन्फ्युज्ड देखिन्छिन् । शर्मा र नेपालको इतिहासलेखनको मनसाय ख्याल नगरी उनले पूरै विश्वास गरेकी छन् । नेपालका शब्दमा ‘पूर्वचरित्रमा पश्चात्ताप गर्दै उनले जोगमार्ग लिइन् ।’ किनभने उनका निम्ति पतिव्रता धर्ममा योगमाया उत्तीर्ण हुन सकेकी थिइनन् ।

अजिजले अनुसन्धानका क्रममा भेटेकी योगमायाकी चेली मनमाया भन्छिन्, ‘हजुर पोइला जानुभयो । वहाँ तेसबेला भर्खरकी केटी हुनुहुन्थ्यो तर हेर्नुस् त कति सहासी ?’ योगमायाका अनुयायीले समेत बुझेको यो सहसलाई निहारिकाले ध्यान नदिनु दुःखद कुरा हो । योगमाया जातप्रथाको समेत विरुद्ध थिइन् । अजिजसँगको भेटमा मनमायाले पनि स्थानीय राई समुदायका महिलासँग तुलना गर्दै हिन्दु महिलाहरू पितृसत्ताको चपेटामा परेर साह्रै दुःख पाएको उल्लेख गरेकी छन् । राई महिलाजस्तै स्वतन्त्र हुने उनको इच्छा छ ।

योगमायाका कविताहरूले नै शर्मा र नेपालको व्याख्यालाई गलत सावित गर्छन् । जुद्धशमशेरलाई पठाएको मागपत्रको पहिलो बुँदामै बालविवाह रोक्न माग गर्ने र आफ्ना कवितामार्फत पुरुषले धेरै पत्नी राख्न पाउँछ भने महिलाले किन धेरै लोग्नेसँग बिहे नगर्ने भनेर चुनौती दिने योगमायाले कथित् पतिव्रता धर्म पालन गर्न नसकेकोमा पश्चात्ताप गरिन् होला ? भोजपुरको गाउँमा भन्दा धेरै खुला वातावरण आसाममा थियो । त्यहाँ जान र बस्न त्यसैले योगमाया दम्पतीलाई सहज भयो । अब छोरीसमेत भैसकेपछि अचानक विधवापनको त्यत्रो नियास्रो कसरी लाग्न सक्छ ? त्यो पनि योगमायालाई ?

योगमायाले ‘अग्निसमाधि’ भनिने गरेको आगोमा हाम्फालेर अन्तिम धक्का दिन खोजिन् । त्यो प्रयासलाई सरकारी सैनिकले रोकिदिएपछि अरुणको उर्लंदो भेलमा बगेर प्राण आहुति दिने बाटो रोजिन् । पुरुषवादी र वर्णाश्रम व्यवस्थाको पक्षपाती इतिहासकारले योगमायाको इतिहास पनि नारीद्वेषी कलमले नै लेख्नु अनौठो होइन । पतिव्रता धर्मको कुरा ल्याएर योगमायाको निर्माण नै प्रायश्चित्तको बाटोबाट भएको मान्नु नै सबैभन्दा ठूलो नारीद्वेषी विचार हो । नेपालले त झन् योगमायाका निम्ति ‘बुढिया’, ‘जोगिनी बूढी’ जस्ता विशेषण नै प्रयोग गरेका छन् । योगमायाका अनुयायीहरू जेल परेको प्रसंगमा योगमायाकै अनुयायी प्रेमनारायणलाई ‘स्वामीजी’ सम्बोधन गर्ने नेपालले ‘आइमाइ जति तीन महिनाभित्र छुटे’ भनेर महिला अनुयायीलाई होच्याउन खोजेका छन् । योगमायालाई ‘पूर्वपातक’ भन्ने उनले बालविधवा बनाउने वर्णाश्रम व्यवस्थाप्रति असन्तोषसम्म पनि व्यक्त गरेका छैनन् ।

अजिजको भनाइमा योगमाया त्यतिबेला नारी मुक्तिको खँदिलो लडाइँ लडिरहेकी थिइन्, जतिबेला अमेरिकामा समेत नारीवादी आन्दोलन भएकै थिएन । भोजपुरको दिङ्लामै त्यतिबेला बालागुरु षडानन्दको पनि संस्कृत पाठशाला थियो । उनको संगठनले योगमायालाई भत्सर्ना गर्थ्यो । सनातन धर्मका यी अनुयायीको समर्थन गर्दै नेपाल योगमायाबोरे लेख्छन्, ‘आफूलाई एक चूकमा दश खोट लगाउने उच्च संस्कृत वर्गको अनेकौं खोट फेला पारेर खुनखोत्रो गरेर खोतलेर खोइलोपाइलो उतार्न थालिन् । राज्यका कर्णधार शासक कर्मचारी सनातनी बाहुन साहुजन सबका सब उनका लेखा आँखी बनेका थिए ।’ यो वर्णनले नेपाल स्पष्ट रूपमा योगमायालाई बालविधवा घोषित गर्ने सनातनी बाहुन, गरिब जनतालाई चक्रवर्ती ब्याज लगाउने साहुजन र अत्याचारी शासन चलाउने शासक कर्मचारीको पक्षमा छन् भन्ने बुझाउँछ ।

त्यसो हुँदैमा कुटी वा आश्रममा बस्ने कुनै धर्मगुरुसँग उनको तुलना हुन सक्दैन । उनले राणाशासनसँग आँखा जुधाउने हिम्मत गरेकी छन् । गरिब किसान र स्थानीय जनजातिलाई मिटर ब्याज लगाउने र जाली तमसुक बनाएर जग्गा हडप्ने साहु, महाजनको विरुद्ध ठूलो विद्रोह गरिन् । अजिजले लेखे झैं एक बिग्रेकी आइमाई, धर्मछाडा, जातपात नमान्ने अशुद्ध नारीको रूपमा उनको छवि बनाउने र बाँचेको मौखिक इतिहासबाट पनि उनलाई नामेट पार्ने प्रयास भने पछिसम्म पनि भैरह्यो । इतिहासका यस्तै भर्सनलाई सत्य मानेर आख्यान लेख्ने हो भने इतिहासका कति नारी फात्रमाथि अन्याय हुन्छ होला त ?

प्रकाशित : फाल्गुन ३, २०७६ १०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×