कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘उपनिवेशका नीलडाम अझै छन्’

हामी सबै घाइते हौँ, त्यही हाम्रो अनुभव हो । दुःख र चोटबाट मान्छेलाई मुक्त पार्ने त्यस्तो के कुरा छ ? मेरो रुचि तिनै विषयमा छ ।
कान्तिपुर संवाददाता

तान्जानियाली मूलका बेलायती आख्यानकार अब्दुलरजक गुर्नाह सन् २०२१ को नोबेल साहित्य पुरस्कार विजेता हुन् । उनी त्यस्ता लेखक साहित्यकार हुन्, जसको हृदयमा अझै उपनिवेशका नीलडामहरु छन् । उनका सबैजसो कृति उपनिवेशको प्रभाव र परिणाममा केन्द्रित छन् । ‘संस्कृति र महादेशीय खाडलबीच साम्राज्यवादको पृष्ठभूमिमा शरणार्थीको नियति र प्रभावको चित्रणमा सम्झौताहीन र करुणापूर्ण लेखनका लागि’ उनलाई नोबेल पुरस्कार दिइएको नोबल कमिटीले जनाएको छ ।

‘उपनिवेशका नीलडाम अझै छन्’

उनले दसवटा उपन्यास, अनगिन्ती कथा र निबन्ध लेखेका छन् । हरेकजसो कृतिमा शरणार्थीको दुःख, एक्लोपनको अनुभूति, मातृभूमिको स्मृति, राज्यले अल्पमतसँग गरेको वाचा उल्लङ्घनजस्ता विषय केन्द्रमा छन् ।

सन् १९४८ डिसेम्बर २० मा तान्जानियाको जन्जिबारमा जन्मेका उनी जन्जिबार क्रान्तिको रापबाट बच्न सन् १९६६ मा १८ वर्षको उमेरमा बेलायत पुगेका थिए । त्यसपछि कहिल्यै स्वदेश फर्केनन् । हाल बेलायतको केन्टबरीमा बसोवास गरिरहेका गुर्नाहले बेलायती नागरिकता लिइसकेका छन् । तथापि उनका लेखनमा मातृभूमि आइरहन्छ, जहाँ अझै उनको परिवार छ ।

नोबेल पुरस्कार पाउनुअघि उनको प्रसिद्ध उपन्यास ‘प्याराडाइज’ बुकर र ह्वाइटब्रेड पुरस्कारका लागि छोटो सूचीमा, ‘डिजर्सन’ बुकरको लामो सूचीमा र ‘बाई द सी’ लस एन्जेलस टाइम्स पुस्तक पुरस्कारको छोटो सूचीमा परेका थिए । उनका अन्य उपन्यास ‘मेमोरी अफ डिपार्चर’, ‘पिलग्रिम्स’, ‘डट्टी’, ‘एडमिरिङ साइलेन्स’, ‘द लास्ट गिफ्ट’, ‘ग्राभेल हार्ट’ र ‘आफ्टरलाइभ्स’ लाई पनि पाठकले उत्तिकै रूचाएका छन् । पुरस्कार घोषणा भएको भोलिपल्टै उनले समाचार संस्था एपीलाई दिएको अन्तर्वार्तामा शरणार्थीप्रति पश्चिमा मुलुकको क्रूरताको आलोचना गरे, ‘बेलायतले होस् वा अरू मुलुकले तिनीहरुप्रति गरेको व्यवहार अत्यन्त क्रूर छ । उनीहरू केही नलिई आएका होइनन् । जवानी, ऊर्जा र सम्भाव्यता साथै लिएर आएका हुन् ।’

गुर्नाहसँग उपनिवेशका प्रभाव र लेखनका विविध आयामबारे ‘द वर्ल्ड’ टीभी सोका मार्को वेर्मनले गत अक्टोबर १३ मा र अल्फ्रासो डट ओआरजीले सन् २०१६ जनवरी २१ मा गरेको वार्ताको महत्त्वपूर्ण अंश यहाँ समेटिएको छ । यसको अनुवाद कवि तथा कथाकार अभय श्रेष्ठले गरेका हुन् :

तपाईंका आख्यानमा भेटिने पात्रहरू जन्जिबारमा तपाईंसँगै हुर्केका मानिसहरू त होइनन् ?

केही पात्र अवश्य हुन् । तिनीहरू मेरो मनमा, मेरो कल्पनामा मसँगै हुर्किए । मेरो लेखनमा आउने पात्रहरू जन्जिबारमा मसँग हुर्किएका व्यक्तिहरूसँग धेरै मिल्दाजुल्दा छन् ।

तपाईंले आफ्नो लेखनमा उतारेका व्यक्ति अनेक घटना र सत्ताबाट घाइते छन् । केले तिनलाई त्यस्तरी घाइते बनाउँछन् ? तिनले कसरी यसको सामना गर्छन् ?

हामी सबै घाइते हौँ, त्यही हाम्रो अनुभव हो । म त्यसमा रुचि राख्छु । मान्छेलाई अन्यायको स्थिति र क्रूरताको सामना गर्न यस्तै कुराले बाध्य पार्छ । तर, सधैँ होइन । कहिलेकाहीँ प्रेम, स्नेह र त्यस्तै अरू कुराले पनि प्रभाव पार्छन् । दुःख र चोटबाट मान्छेलाई मुक्त पार्ने त्यस्तो के कुरा छ ? मेरो रुचि तिनै विषयमा छ ।

यीमध्ये अधिकांश दुःख र चोट उपनिवेशकै हुन् । हालैको अन्तर्वार्तामा तपाईंले भन्नुभएजस्तै तपाईंका आख्यानमा उपनिवेशका वक्ररेखाहरू आउँछन्, जुन तपाईंको आफ्नै पनि भोगाइ हो । यतिखेरै चाहिँ उपनिवेशवादबारे लेख्नु तपाईंलाई किन महत्त्वपूर्ण लाग्यो ?

यो समकालीन यथार्थको एक अंश हो । उपनिवेश समाप्त भइसक्यो भन्ने होइन । उपनिवेश र यसका नीलडामहरू अझै हामीसँग छन् । युरोपेली उपनिवेशले संसारलाई परिवर्तित गरिदियो । उत्तर अमेरिका, भारत, दक्षिण अमेरिका, अझ हिन्द महासागरतिरको संसारलाई हेर्नुस् त ! यी घटना दशकौँअघि भएका थिए, तर त्यसका परिणाम हामी अहिले पनि भोग्न बाध्य छौँ ।

तपाईंको उपन्यास ‘आफ्टरलाइभ्स’ प्रथम विश्वयुद्धको सेरोफेरोमा छ । म पाँच वर्ष पश्चिम अफ्रिका बस्दा मलाई हिर्काइरहने एउटा कुरा उपनिवेशका तहहरू हुन् । अफ्रिकामा पहिल्यै तनाव थियो । प्रथम विश्वयुद्ध तिनैमध्ये एउटा तह हो, जसले अफ्रिकालाई आफ्नै धरातलबाट काटिदियो । दोस्रो विश्वयुद्धले अझ नयाँ विभाजनहरू ल्याइदियो । एउटामाथि अर्को बन्दै गइरहेका तनावका तहहरूलाई तपाईं कसरी हेर्नुहुन्छ ? कुन बढी विध्वंसक छ ?

हो, तिनका बेग्लै प्रभावहरू छन् । मैले भन्न खोजेको बुझ्नुभयो होला । यो उपनिवेशका खास अनुभवमा भर पर्ने कुरा हो । फरक ठाउँका फरक अनुभूतिहरू हुन्छन् । उपनिवेशका एजेन्टहरूको पनि फरक फरक विचार वा व्यापारिक उद्देश्यहरू थिए । जर्मनीको सन्दर्भमा तिनले लडाइँ र हातहतियारको परम्परालाई आफ्ना उपनिवेशहरूमा फैलाउने काम गरे ।

तिनले तान्जानियामा पनि उपनिवेश लादे । त्यहाँ कस्तो प्रभाव पर्‍यो ?

हरेक प्रसंग त्यहाँ भएका घटनाहरूमा भर पर्छन् । भारतमा बेलायतको औपनिवेशिक अनुभवलाई हेर्ने हो भने उत्तर अमेरिकामा जस्तै सुरुमा त्यो कमजोर थियो । उनीहरू अन्ततिरका जनताको सहनशीलतामा भर पर्नुपरेको थियो । बिस्तारै उनीहरू बलिया हुँदै गए । १९औँ शताब्दीमा अफ्रिका विभाजनका क्रममा युरोप शक्तिशाली, हैकमशाली थियो । कुनै पनि काम गर्न उसले कसैको अनुमति लिनु पर्दैनथ्यो । त्यसै बेला जर्मन उपनिवेशको उदय भयो । यसरी उपनिवेश क्रमशः विजयी हुँदै गयो । उपनिवेश अब व्यापारिक मात्र थिएन । बिस्तारै यसले अर्कै रूप ग्रहण गरिसकेको थियो । यसपछि उपनिवेश प्रत्यक्ष आक्रमणमा परिणत हुँदै गयो ।

सन् १९६० मा अफ्रिकाका पूर्वउपनिवेशहरूले स्वतन्त्र भएको दाबी गर्दा तपाईं किशोर नै हुनुहुन्थ्यो । स्वतन्त्रतालाई तपाईं कुनञ रूपमा बुझ्नुहुन्छ ? सन् ६० मा उपनिवेशको उत्सवमय क्षणमा उपनिवेशको स्वरूप कस्तो थियो ? आज कस्तो छ ?

उपनिवेश जारी छ । हामी केही त परिवर्तन अवश्य हुन्छ भन्ने सोच्थ्यौँ । हामी ज्यादै आशावादी थियौँ । उपनिवेशमा बन्धित हामी ऊर्जाशील हुँदा र मानवीय आकांक्षा प्रकट गर्दा केही त अवश्य परिवर्तन हुन्छ भन्ठान्थ्यौँ । तर, हामीले ठानेजस्तो भएन । केही भयो भने उही मानवीय धोका, लोभ, पाप र लालच अनि भ्रष्टाचार र त्यस्तै कुरा मात्र । म निराशा र अर्थहीनताको मात्र कुरा गरिरहेको छैन । हामी एक पाइला अघि बढ्थ्यौँ, आधा पाइला पछि हट्थ्यौँ । कति ठाउँमा त एक पाइला पनि अघि बढेको हुँदैनथ्यो ।

पश्चिम अफ्रिका बस्दा मैले पढेकामध्ये एउटा किताब थियो– चिनुवा अचेबेको ‘थिंग्स फल अपार्ट’, जुन पचासको दशकको अन्त्यतिर नाइजेरियाली स्वतन्त्रताको पूर्वसन्ध्यामा छापिएको थियो । नाइजेरियाली स्वतन्त्रतापछिको यो आधुनिक क्लासिक्स बन्न पुग्यो । एउटै उपन्यासले सिंगै कथा भन्छ भन्ने होइन । मैले बुझ्न खोजेको कुरा, परिवर्तनतिर अगाडि बढिरहेको र तनावग्रस्त अफ्रिकी समाजमा साहित्यले कस्तो भूमिका खेल्न सक्छ ?

पहिलो कुरा, संसारमा जताततै साहित्यले खेल्न सक्ने भूमिका भनेको तत्कालीन समयको चित्र उतार्नु र त्यसलाई सम्बोधन गर्नु हो । अहिलेको सवाल यस्तो पनि हुन सक्छ– तपाईं यहाँसम्म कसरी आइपुग्नुभयो ? विगतमा के भएको थियो वा मान्छे के हो, हामी कसरी बाँचेका थियौँ, हाम्रा गतिविधि कस्ता हुन्थे भन्ने बुझ्न यो कुरा लेखनका लागि एउटा अवसर पनि हुन्छ । मान्छेले कसरी दुःखबाट त्राण पाउन सक्छ ? हुन सक्छ, तपाईं अरू मान्छे कसरी दुःखबाट बाहिर आउन सफल भए भन्ने पढेर पनि सिक्न सक्नुहुन्छ । तर, महत्त्वपूर्ण कुरा, साहित्यले तपाईंलाई खुसी पनि दिन्छ, आन्तरिक आनन्द फैलाउँछ । यति भयो भने साहित्यले पनि आफ्नो भूमिका राम्ररी निर्वाह गरेको मान्न सकिन्छ ।

साहित्यमा नोबेल पुरस्कार पाउनुभएको छ । तपाईं कसरी यो खुसी मनाइरहनुभएको छ ?

अधिकांश समय त म तपाईंहरूसँगै वार्ता गरेर दिन बिताइरहेको छु । जब अलिकति फुर्सद मिल्छ, म चुपचाप बस्छु । यो खुसी म चुपचाप र शान्त रहेरै मनाउँछु ।

तपाईं आफूलाई उत्तर उपनिवेशकालीन वा विश्व साहित्यका एक स्रष्टामध्ये के भन्न चाहनुहुन्छ ?

म यी कुनै पनि शब्द प्रयोग गर्न रुचाउँदिनँ । म आफूलाई कुनै पनि प्रकारमा बाँध्न चाहन्नँ । खासमा, म आफ्नो नामभन्दा फरक शब्दबाट सम्बोधित हुनै चाहन्नँ । अर्को कुरा कुनै पनि प्रश्न कसरी सोधिन्छ भन्नेमा भर पर्छ । मानौँ, कुनै पत्रकारले मलाई सोध्यो, ‘तपाईं विश्व साहित्यको लेखक हो ?’ यस्तो सोध्नेले यहाँबाट गएपछि के लेख्छ होला ! म त्यो होइन । म अलि अप्ठ्यारो मान्छे छु ।

विश्वको संस्कृति अक्सर दक्षिण र उत्तर ध्रुवको संस्कृतिका रूपमा भिन्न छन् । यस्तो कुरालाई खासगरी साहित्यका सन्दर्भमा कसरी हेर्नुहुन्छ ?

संसार उत्तर र दक्षिण भनेर विभाजित छैन । तर, त्यसरी व्याख्या गर्ने फेसनचाहिँ खुब चलेको छ । यसअघि नै तेस्रो विश्व, अल्पविकसित विश्वजस्ता पदावली प्रयोगमा आएकै हुन् । त्यसभन्दा चाहिँ उत्तर र दक्षिण अलि भद्र सुनिन्छ । तर, यसले यथार्थ र ऐतिहासिक भिन्नतालाई व्याख्या गर्ने कोसिस गर्छ । यसले अर्को कुरूप विश्व अर्थात् उपनिवेशबाट त्राण दिन्छ । ऐतिहासिक साम्राज्यवादले कथित उत्तर र दक्षिणको भिन्नतालाई जोड दियो र यसलाई जारी राख्यो ।

मलाई लाग्छ, आफ्नो विरासतका कारण उपनिवेशवादले यस भिन्नतालाई अझै भिन्न र स्थापित गरिदियो । त्यसैले त्यहाँ भिन्नताहरू छन्, तर उत्तर र दक्षिण भन्ने अवधारणा ठीक छैन । यसलाई तपाईं स्थानको भिन्नता होइन, प्रवृत्ति, बुझाइ र अपेक्षाहरूको भिन्नताका रूपमा बुझ्न सक्नुहुन्छ । हेर्नुस्, चीनका केही भाग पश्चिमा राष्ट्र जत्तिकै समृद्ध छन् भने कतिपय भाग त्यस्ता छैनन् । खासमा यो स्थानको भिन्नता हुँदै होइन ।

समकालीन समाजका लागि विश्व साहित्यको महत्त्व के छ ? विश्व साहित्यका स्रष्टाले निर्वाह गर्नुपर्ने निश्चित कर्तव्यहरू केही छन् कि ?

ओहो, यस्तो कर्तव्यलाई तपाईं कसरी परिभाषित गर्नुहुन्छ ? मलाई लाग्दैन, यो कुरा विश्वस्त पार्ने खालको छ । यो भनेको के हो ? यो भनेको अंग्रेजी, फ्रान्सेली, जर्मन, पुरानो फारसी, चिनियाँ साहित्य हो ? कि यसको अर्थ विश्वमा लेखिएका कुनै पनि साहित्य हो ? पक्कै पनि हरेक व्यक्तिलाई साहित्यको महत्त्व छ । जसै साहित्य लेखिन्छ, मानिसहरू पढ्छन् र केही सिक्छन् । मलाई यस मामलामा विश्व साहित्य भन्ने पदावली ‘पैसा’ जस्तै उपयोगी हो भन्ने लाग्दैन । रोजीरोटीका क्रममा पैसा हामीलाई हरेक दिन चाहिन्छ । विश्व साहित्य भन्ने पदावली त्यस्तो होइन । तपाईं एउटा किताब उठाएर सोध्न सक्नुहुन्छ त्यसका बारेमा । तर, ‘विश्व साहित्य’ पदावलि त्यति तुल्य होइन, जति यो सुनिन्छ । ‘विश्व साहित्य’ को कर्तव्य के हो ? यो कुरा तपाईंले कुन अर्थमा सोध्नुभएको भन्नेमा भर पर्छ । यस प्रश्नका नैतिक आयाम छन् ।

साहित्यको भूमिका समुदायलाई उन्नत बनाउने हो । कसैले भन्न सक्छ, लेखकले समाजमा प्रचलित परम्परालाई चुनौती दिने हो । त्यो चुनौती प्रत्यक्ष देखिने विचार हुन सक्छ, परिवार, औचित्य, यौन नैतिकता र त्यस्तै अरू विचार पनि हुन सक्छ । अर्कोतिर, त्यसैलाई जनताले अनुशासनविहीन, अनावश्यक र विध्वंशक पनि देख्न सक्छ । लेखकको भूमिका पाठकले मात्र छुट्ट्याउन सक्छ । तपाईंले मूल्यांकन गर्नुअघि यो कुरा लेखकलाई नै छाडिदिनु बेस हुन्छ ।

लेख्दा र पुस्तक छाप्दा तपाईंको व्यक्तिगत उद्देश्य के हुन्छ ? विशेष उद्देश्य हुन्छ वा तपाईंको मनमा एउटा कथा छ, जुन तपाईंले पाठकलाई भन्नु छ भन्ने मात्र लाग्छ ?

‘उद्देश्य’ भन्ने शब्द अहंकारग्रस्त सुनिन्छ । म भद्र कुरा लेख्न प्रयास गर्नुको साटो केवल आफूले सक्दो विश्वसनीय तरिकाले लेख्न चाहन्छु । तर, केही कुरा छन्, जसमा म गम्भीर हुन्छु । म आफूले लेख्ने कुरालाई नयाँ आविष्कारका रूपमा दिन चाहन्छु । विश्वमा महिलाको स्थानजस्ता विषयमा लेख्न चाहन्छु भन्दिनँ जब कि त्यो मेरो सरोकारको विषय नै हो । एउटा सैद्धान्तिक उदाहरण, मैले मेरी बहिनीको बिहेबारे लेखेँ भने त्यहाँ मेरी बहिनीबारे लेख्ने खास कुरै हुँदैन । अर्को राम्रो उदाहरण मेरै उपन्यास ‘बाई द सी’ कसरी लेखेँ भन्नेलाई पनि लिन सकिएला । यसको लेखन अनेक आकांक्षाहरूबाट सुरु भयो । नब्बे दशकको अन्त्यतिर अफगानिस्तानको युद्ध चरम सीमामा पुग्दा लन्डनमा एउटा हवाईजहाज पुग्यो, जुन एक जना यात्रुबाटै अपहरित भयो ।

तस्बिरहरू : एजेन्सी

यो अफगानिस्तानको आन्तरिक उडान थियो, सम्भवतः काबुलबाट हेरातसम्म । तर, अपहरणकारीले लन्डन पुर्‍यायो । अथवा इन्धन भर्न त्यहाँ अवतरण गरायो । टीभी समाचारमा देखिएका यात्रुको पहिरन युरोप यात्रामा हिँडेजस्तो देखिन्नथ्यो । सायद उनीहरू आफ्नै देशमा आफन्त भेट्न हिँडेका थिए । अपहरणकारीले अथोरिटीलाई उनीहरू शरण चाहन्छन् भनिदियो, तर बहुमत यात्रुले त्यो चाहेका थिएनन् । एक दिनपछि सबै जनाले शरण मागे । मैले आफैंलाई सोधेँ, त्यहाँका यात्रुमध्ये एक वृद्धले पनि त्यही चाहेका थिए त ? मेरो माग के हो भन्ने वास्तविक कुरा उनले बुझेका थिए त ? मैले बुझेसम्म युवायुवतीका लागि शरणको अर्थ एउटा थियो भने वृद्ध र परिवारका लागि त्यस कुराको अर्थ त्यही थिएन ।

यसले तपाईंलाई त्यसबारे गहिरिएर सोच्न बाध्य पार्छ । तपाईंलाई त्यसअघि रुचि नभएको कुरामा रुचि जगाउँछ । अन्ततः त्यसले लेखकलाई लेख्न उत्प्रेरित गर्छ । ‘बाई द सी’ मा यही भएको थियो । यस्तोमा तपाईं लेख्नुभन्दा बढी काम गर्नुहुन्छ । यो घटना र त्यस घटनाबीचको सम्बन्ध देख्न थाल्नुहुन्छ । कुराहरू सरर्र आउन थाल्छन् । यसरी नयाँ कुरा विकसित हुन्छ ।

तपाईंको लेखनशैलीमा कसैको वा कुनै कुराको प्रभाव छ ? अथवा आख्यान लेखनमा विशेष केही कुरा वा व्यक्तिको प्रभाव छ कि ?

यसलाई म त्यसरी भन्न चाहन्नँ । तान्जानियाबाट सानै उमेरमा म बेलायत आएँ । यहाँ बाहिरिया हुनु, जटिलताहरूसँग जुध्नु, मातृभूमिबाट अलग हुनु आदि कुराले मलाई घचघच्याइरहे । म भर्जिनिया उल्फजस्तो थिइनँ, जसले दस वर्षको उमेरमै लेखक बन्छु भन्ने अठोट गरेकी थिइन् । अरूले जस्तै मैले पनि लेख्न थालेँ । नयाँ पृष्ठ थपिँदै गए र नयाँ प्लट विकसित हुँदै गए । अनि म त्यही विन्दुमा आइपुगेँ जुन म सोच्थेँ । के हो यो ? यो लेखेर के गर्दैछु म ? बल्ल यस स्थितिमा तपाईं ‘कुराहरू लेख्नु’ र ‘मात्र लेख्नु’ बीच फरक भेट्न थाल्नुहुन्छ । म केही लेख्छु, त्यसलाई संगठित गर्दै जान्छु । बल्ल यो ‘मात्र लेख्नु’ भन्दा माथि पुग्छ किनभने तपाईंले आफैंभित्रबाट बोल्नुपर्ने हुन्छ । कुनै विन्दुमा पुगेर यो उपन्यासजस्तो बन्न पुग्ला, एउटा प्रक्रियामा जाला ।

प्रयास गर्दै जाँदा चिजमा सुधार हुँदै जाला । अनि तपाईं त्यसमा प्रतिबद्ध हुनुहुन्छ । बल्ल निकास निस्कन्छ । यसरी तपाईं अझै असल बन्ने प्रयास गर्नुहुन्छ र प्रकाशक खोज्न थाल्नुहुन्छ । बल्ल तपाईं लेखक बन्नुहुन्छ ।

प्रकाशित : कार्तिक २७, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?