शरद बनेपाको खोजी- कोसेली - कान्तिपुर समाचार

शरद बनेपाको खोजी

कवि मोहन दुवालको कवितासंग्रह ‘चुलिजाःगु स्वां’ ९२०२३० माथि जनकवि दुर्गालाल श्रेष्ठले लेखेका छन्, ‘यस कोपिलाबाट भोलि फक्रिनेछ फूलको सक्कली कथा ।’ दुवाललाई सम्पादक मात्रै भनेर चिन्नेहरू छन्, प्रखर समालोचक मात्रै भनेर चिन्ने पनि छन् र शिक्षक भनेर चिन्नेहरू पनि छन् । असलमा उनी शब्दसाधनाका एउटा शिल्पी हुन्, अपेक्षारहित । जीवनमा जुन मोड आयो त्यही मोडलाई कदर गर्ने, नियतिले जे दियो त्यसैको आस्वाद लिने र समयले जे दिन्छ त्यसलाई सौगात ठानेर स्वीकार गर्ने शान्त, स्निग्ध र शुभ्र !
दीपक सापकोटा

बनेपास्थित पुस्तैनी घरको छिँडीमा मोहन दुवाल (७२) म्हः पूजा गरिरहेका थिए । कोठाको बत्ती मधुरो थियो र परिवारका सबै लहरै पलेंटी कसेर मण्डल सामुन्ने बसेका थिए । कोठामा प्रत्येक सदस्यका लागि फरकफरक मण्डलहरू फल, धूप र फूलले सजाइएका थिए ।

म्हः पूजा सिद्धिनेबित्तिकै दुनोको दही सुरुप्प पारेर कपडामा टाँसिएका गोदावरीका पातसहित दुवाल जुरुक्क उठे । छिँडीकै ‘जनमत’ को डेस्कमा गए र प्रेस पठाउन तयार पारिएको ‘जनमत’ को प्रिन्टआउट सम्पादन गर्न थाले । दुवालको सम्पादनमा ३३ वर्षदेखि निरन्तर छापिइरहेको उक्त प्रिन्टआउट ‘जनमत’ को २८९औं अंक थियो ।

दुवाल मेरै अगाडि थिए, तर जब हुँदैनन् र म उनलाई सम्झिन्छु, तब मेरो कल्पनामा फुर्फुर झरिरहेको हिउँले छोपिएको जमिनमा एकसुरले हिँडिरहेको एक्लो मान्छेको चित्र आउँछ । उनी नयाँ अंकमा एकाग्रचित्त भए, मेरो मस्तिष्क भने पुराना सम्झनाका सडकमा ओहोरदोहोर गर्न थाल्यो ।

...

हठात् बनेपा बजारमास्तिर नयाँबस्तीमा खेतका विराट फाँट याद आयो । त्यही फाँटमा फाट्टफुट्ट घर, घरको लस्करमा रहेको मेरो स्कुल ।

स्कुलमा कविता प्रतियोगिता भइरहन्थ्यो । म कविताजस्तै केही लेख्थेँ । साथीहरू धाप मार्थे । म पुलकित भएर प्रतियोगितामा सामेल हुन्थेँ, तर पुरस्कृत अरू नै हुन्थे । र, घर फर्किन धक लाग्थ्यो । आफूसँग खिन्न हुन्थेँ वा आफूलाई झुर लागेका कविता पुरस्कृत भएकोमा मुर्मुरिन्थेँ– त्योचाहिँ याद छैन ।

ओइलाएको अनुहार लिएर इँटा छापिएका गल्ली हुँदै मयूर सिनेमाहलतिर डोरिन्थेँ, मोमोको बास्नाले पछ्याउँथ्यो । म भने मध्याह्नदेखि साँझैसम्म नजाने कुन औडाहा बोकेर ओहोरदोहोर गरिरहन्थेँ । गर्धनमा धर्के टाई लगाएको कलिलो र न्यास्रो श्वेतश्याम अनुहार अहिले सम्झिन्छु, त्यो मेरै थियो ।

तरंग फेरि प्रतियोगितामै पुगेको छ । सम्झिन्छु– काँचो इँटाले घेरिएको स्कुले चौरमा र स्कुलबाहिर फरकफरक कविता र वक्तृत्वकला प्रतियोगिता । प्रमुख निर्णायकमा चाहिँ एउटै अनुहार हुन्थ्यो, मोहन दुवाल । हातमा किताब वा पत्रिका र ओठमा उबेलाको फिल्टर चुरोट च्यापेर बनेपा बजारका साँघुरा गल्लीमा हिँडिरहने एक पुरुष थिए ती । प्रतियोगिताबाट विरक्तिएको मेरो मन ती पुरुषतर्फ भने सम्मोहित हुन्थ्यो । कारण थियो प्रतियोगितापछि तिनै पुरुषले मन्तव्य दिने तरिका । उनी बडो शालीन शैलीमा कवि र कविताबारे लामो समय बोल्थे । उनको बोलाइले मलाई मोहित तुल्याउँथ्यो ।

...

‘जनमत’ मा अल्झिएका दुवाल अघिल्तिरको भित्तामा टाँसिएका छन् विभिन्न नेपाली साहित्यकारका तस्बिर । र, त्यही लहरमा छ– कार्ल मार्क्सको तस्बिर पनि । बनेपाको त्यो कुन गल्ली थियो, जहाँ दुवाल मार्क्सवादका सिद्धान्त पढ्दै दिन बिताउँथे ? त्यो थियो– बनेपा भोलाखा टोलको पुरानो गल्ली, जहाँ उनका पिता गणेशबहादुरको कपडा पसल थियो । जो आफ्नो जमानामा बनेपाका नामूद व्यापारी थिए । ‘एकबाते साहु’ भनेर कहलिएका उनी एकबेला कार्यवाहक प्रधानपञ्च पनि भएका थिए । उनी तुलसीमेहर र सरदार भीमबहादुर पाँडेका करिबी मित्र थिए ।

बनेपाको व्यापारिक गौँडामा, जहाँ दुवाल बस्छन्, त्यो उनको बाजेले बनाएको घर हो– र, यही घर हो अहिले पनि कविता, संस्मरण लेख्ने उनको थलो । यही थलोमा पुरानो बनेपाको तस्बिर उनको स्मृतिमा ओहोरदोहोर गर्छ । दूरदूरका गाउँहरूबाट उनको यही टोलमा कपडा, नुन, तेल लिन मानिसहरू आउँथे र भीड बन्थ्यो । पुरानो घरको पुरानै झ्यालमा बसेर उनी सम्झिन्छन्, ‘नुन–तेलको भारी बोकेर गइरहेका मानिसहरूको लस्कर टाढाटाढासम्म देखिन्थ्यो ।’

राजमार्गको उत्तर चण्डेश्वरीतिर हिँड्ने बाटो समातेपछि छोइने बनेपाको बजार उहिल्यैकै चिनो हो । तर, अहिले हेरी उबेला यो बजारको शान भिन्नै थियो । ‘अरनिको राजमार्ग बनेपछि मात्रै यहाँको बजार फैलिएको हो,’ उनी भन्छन्, ‘पहिले पूर्वबाट पैदल काठमाडौँ जाने बाटो योबाहेक अर्को कुन थियो र ? बनेपा हुँदैहुँदै काठमाडौँ जान्थे मान्छेहरू ।’

...

भोलाखामै बित्यो दुवालको जीवनको अधिकांश अंश । समयको क्यानभासमा बनेपाको बद्लिँदो तस्बिर सिनेमाको रिलजस्तै घुमिरहन्छ उनको स्मृतिमा । झमझम झरी परिरहेका साँझहरू, गर्मीका उखरमाउला दिनहरू, स्याँठ चलेका बिहानहरू सबै भोगेको छ यस सहरले, र कैद छन् ती दुवालका स्मृतिमा पनि । सम्झनाको मयूरप्वाँखले उनलाई एकान्तमा गरिरहन्छ मृदु स्पर्श र कतिपय क्षणमा उनको स्मृतिको बादलमा झुल्किन्छ– उनकै अनुहार ।

यही बजारमा रमाए उनी– रैथाने जात्रा–पर्वमा, यही सहरमा पढे उनले– महाभारत, कुरान, बाइबल र कम्युनिस्ट मेनिफेस्टो । १ रुपैयाँ टिकट काटेर यही सहरको मयूर सिनेमाहलमा हेरे उनले– साँच्चैजस्तो लाग्ने मानव संवेदनाका कथा–कहानी । यही सहरमा सुने उनले– लामो सुइरोजडित पानासोनिक जापानी रेडियोमा– ‘यो रेडियो नेपाल हो ।’ धरहरा र घण्टाघरको ब्याकड्रप भएको स्टुडियोमा पहिलो पटक यहीँ खिचाए तस्बिर ।

समयको चेतनामा यो सहर डुब्दै, उत्रिँदै गरेको देखेका छन् उनले । सहरका पुराना दरबार, पुराना पुस्तकालय, बाजे–बराजुले बनाएका धारा, कुलो, पाटी र यही सहरमा सुनेका मिथक, कथा र गीत उनका सम्झनामा आउँछन्, आएर/फर्किन्छन् । यो सहरमा आएको सातसाले प्रजातन्त्र, माटो सुहाउँदो पञ्चायत, पुनःस्थापित प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र उनकै जीवनकालमा सम्पन्न भएको छ । तर, यो सहरको किनारामा टहराछेउ बसेर माछा बेच्ने बूढा हाजीहरू कहाँ छन् ? उनी सम्झन खोज्छन् । नीला–पहेँला रङ खुइलिएका पुराना डिजाइनका थोत्रा मिनिबसमा चढिरहेका–ओर्लिरहेका यात्रीहरू कहाँ गए ? उनी सम्झन खोज्छन् । ७० वर्ष पुरानो सहरको तस्बिर उनको मुदित नयनमा झुलुक्क देखा पर्छ– र निमेषमै बिलाउँछ ।

अब सहरमा ती पुराना दिनको चिनो विरलै भेटिन्छ– पुराना धूले गोरेटोको सौन्दर्य हरायो, पक्की इँटाका सडकहरू मासिए, चण्डेश्वरी खोलाछेउको घना जङ्गल पातलियो, पहेँलो टोपी लगाएर ठिङ्ग उभिएको रातो पत्र–मञ्जुषा उखेलियो, गर्जिंदो बाघको अनुहार कुँदिएको ढुङ्गेधाराबाट कल्कल बग्ने पानीले आफ्नो बाटो अन्तै खोज्यो, चारदोबाटो चोकमा लाग्ने घाम छेकियो । बनेपाको बान्की परेका वास्तुकला मेटिएर सिसाले मोरिएका भवन बने । काठका भर्‍याङलाई मार्बलको सिँढीले पाखा लगाइदियो ।

बनेपाको रैथाने वास्तुकला हराउँदै गयो । राजा त्रिभुवनको सेतो सालिक र सालिकनेरैको पाटीमा व्यस्त बाघचालखेलाडीहरूको अब कुनै निसानी बाँकी छैन । कति चिनाहरू नास भइसके । उनलाई लाग्छ– सबै बदलिन्छ । जसरी उनको आफ्नो अनुहार बदलिएको छ, जसरी जन्मसहरले आफ्नो रूप बदलेको छ । र, उनका लागि उनी बाँचेको ‘त्यो बनेपा’ अब नाउँमा मात्र छ, शेष छ स्मृतिमा मात्र ।

...

बनेपामा पहिलोपटक गाडी भित्र्याएका थिए– गोपालदास वादेका भाइ धनदासले, २०१२/१३ सालमा । त्यो लहरी थियो । ड्राइभर आफैँ थिए । उनको गाडी नै थियो, जसले त्यसबेला बनेपालाई काठमाडौँसम्म जोडेको थियो । दक्षुटोलको लाय्कु हुँदै काठमान्डु जान्थ्यो लहरी । खासमा सामान ढुवानी थियो त्यसको काम । तर, मानिस पनि त्यसमै चढ्थे । प्रतिव्यक्ति १ पैसा थियो भाडा । ‘ड्राइभरको निकै चाकडी गरेपछि बल्लबल्ल सिटमा बस्न पाइन्थ्यो,’ दुवाल सम्झिन्छन् ।

बनेपामा बरोबर आइरहन्थे– बीपी कोइराला, शम्भुराम श्रेष्ठहरू । र, उनैको घरमा पनि आउँथे । सात सालताका गणेशमान सिंह पनि उनको घर पुगिरहन्थे । दुम्जातिरबाट हिँड्दै आफ्नो कपडा पसलअघि आइपुगेका बीपीलाई दुवालका पिता गणेशबहादुरले खाडीको कपडा ओछ्याइदिन्थे । सम्झना कन्तुरबाट झिकेर उनी अकस्मात सम्झिन्छन् बनेपाली नेता राजदास वादेलाई । उतिबेला सभासद् उनी २०१४ सालको जहाज दुर्घटनामा बिते । हृदयचन्द्रसिंह प्रधानको किताब ‘कुरा साँचो हो’ छापिदिने पनि राजदासै थिए । किताबको भूमिकामा राजदासले लेखेका थिए, ‘बाउआमाको श्राद्ध गर्ने होइन, दुःखी लेखकहरूको किताब छाप्ने हो ।’

...

२०२३ सालमा एसएलसी दिए दुवालले, आजाद स्कुलबाट । चण्डेश्वरीको पाटीमा आजाद स्कुल सात साल फागुन २५ गते खुलेको थियो । २०१२ सालमा साइँला दाइ हरिप्रसादले फकाउँदै, डोर्‍याउँदै स्कुल पुर्‍याइदिएको हिजैजस्तो लाग्छ उनलाई । भन्छन्, ‘पाटीको स्कुलमा हाम्रो कक्षाकोठा थियो र बस्ने ‘बेन्च’ चाहिँ थोत्रो सुकुल । विद्यार्थीहरूको ठेलमठेल हुन्थ्यो । छडीको डर देखाएर शिक्षकहरू हामीलाई पाठ घोकाउँथे ।’

राजा वीरेन्द्र युवराज छँदै चण्डेश्वरीको वनमा सिकार खेल्न आएका थिए । स्कुलबाट भागेर दुवाल पनि राजाको रमिता हेर्न वनमा पुगेका थिए । भागेको थाहा पाएर मास्टर नेमलाल मुस्याजुले हानेको लठ्ठीको सुम्ला उनी सम्झिरहेकै छन् ।

कृष्णचन्द्र कायस्थमार्फत चिनियाँ पत्रिका ‘चीन–सचित्र’ पढ्ने क्रममा दुवाललाई लाग्यो, बहुजन हितायको काम त कम्युनिस्टले पो गर्नेरहेछ । उनी त्यतै लहसिए । २०२९ सालमा बनेपामा ‘प्रगतिशील कवि सम्मेलन’ गर्ने योजना बन्यो । रमेशनाथ पाण्डेद्वारा सम्पादित ‘नयाँ सन्देश’ ले त्यतिखेर लेख्यो– ‘चीनबाट हातहतियार झिकाएर पूर्वका कम्युनिस्टलाई भेला पार्ने उद्देश्यले कवि सम्मेलन गर्न खोजिएको छ ।’

समाचारकै कारण प्रहरीजत्था बनेपा आइपुग्यो हनुमानढोकाबाट । हरिकृष्ण श्रेष्ठ र जवाहर श्रेष्ठ (राँको समूहका सदस्य) तत्कालै पक्राउ परे । लुकीछिपी काठमाडौं पसे दुवाल र भूमिगत भए एक वर्ष । त्यसअघि उनी स्वंयसेवक शिक्षक पनि थिए । प्राविदेखि–मावि तहसम्मै उनले पढाए– २०२३ देखि २०४९ सालसम्म । तर, पुलिसप्रशासनको कसिंगर भइरहे ।

...

दुवाल २०४९ मा संयुक्त जनमोर्चाबाट बनेपाको मेयरमा उठे, तर हारे । कांग्रेसबाट उठेका उनका हेडमास्टर रामभक्त कोख श्रेष्ठले जिते । दुवाल कम्युनिस्ट राजनीतिसँग नजिक थिए । चौथो महाधिवेशनकालमा नेता मोहन वैद्य र दुवाल सँगै थिए । दुवाल सांस्कृतिक फाँटमा थिए, वैद्य पार्टी–इन्चार्ज । सँगै थिइन् पारिजात पनि । त्यसबेला दुवाल ‘वेदना’ पत्रिका प्रकाशित गर्थे । ‘लामो समयसम्म हामीले सहकार्य गरेका थियौं,’ मोहन वैद्य भन्छन्, ‘उनका पुराना समालोचना राम्रा लाग्छन् । सुरुमा उनी प्रगतिवादी लेखक थिए । अहिले प्रगतिशील छन् ।’

२०२७ साल वैशाखमा उनले ‘विगुल’ साहित्यिक पत्रिका दर्ता गरे । काठमाडौं न्हायकँ टोलमा २०२९ सालमा ‘बिगुल’ छापिँदै थियो । ‘प्रेस थियो तीर्थमान ज्यापूको । त्यो अंकमा राल्फाली गीत छापिएका थिए ३० वटा, तत्कालीन सोभियत संघलाई विस्तारवादी रूपमा प्रस्तुत गरिएको शक्ति लम्सालको लेख पनि थियो । सरकारी टोलीले बिगुलका प्रतिहरू सप्पै जफत गर्‍यो,’ दुवाल भन्छन् । त्यसपछि ‘समयपूर्व समाप्ति’ भयो– ‘बिगुल’ को ।

‘बिगुल’ को समाप्ति भयो, तर बेला रोकिएन । धुलिखेलका दिल वरदान र सुवास श्रेष्ठ आए, दुवाललाई ‘वेदना’ निकाल्न हौस्याए । दुवालले स्विकारे, तर धेरै समय रहेनन् । त्यसपछि ‘उत्साह’ सम्पादन गरे । २०३९ मा ‘जनमत’ पाक्षिक विचारप्रधान पत्रिकाको अर्को बिगुल फुके । सरकारको आँखा छल्न प्रकाशकमा लक्ष्मणसुन्दर सैंजू र सम्पादकमा धर्मपत्नी भारती श्रेष्ठको नाउँ राखे । तर, प्रकाशन भएपिच्छे स्पष्टीकरण दिन जानुपर्थ्यो । अन्ततः यो पनि बन्द भयो ।

२०४२ सालमा अहिलेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ ‘जनमत’ का प्रधानसम्पादकका रूपमा देखा परे । बनेपामा दर्ता भएको ‘जनमत’ छापिन्थ्यो काठमाडौंबाट । नारायणकाजी सम्झिन्छन्, ‘त्यसबेला मलाई विचारप्रधान पत्रिका चलाउनु थियो । दुवालजीले केही नबोली छाप्ने अधिकार दिनुभयो ।’ आठ महिनापछि नारायणकाजीले ‘मूल्यांकन’ सुरु गरे । २०४५ देखि ‘जनमत’ फेरि दुवालकै हातमा आयो । दुवालका अनुसार, एक समय ‘जनमत’ मा नेता बाबुराम भट्टराई पनि संग्लग्न थिए । नारायणकाजी भन्छन्, ‘दुवाल कुनै बेला निरंकुशताविरोधी आन्दोलनका योद्धा थिए । उनीसँग मेरो चिनजान लेखक होइन, योद्धा भएकाले हो ।’

छोरी सिर्जना दुवालले बुबालाई सधैं किताबकै वरिपरि मात्रै देखिन् । सिर्जना सानै छँदा दुवाल साँगास्थित महेन्द्र माविका प्रधानाध्यापक थिए । घरमा मानिसको बाक्लो आवतजावत हुन्थ्यो । उनी सोच्थिन्, ‘किन मेरो घरमा मात्रै धेरै मान्छे आएका ?’

...

दुवालका निम्ति बनेपा केही विशेष हो । यो सहरमा एक प्रकारको नशा छ, त्यसैको मात लाग्यो उनलाई । त्यही मेसोमा उनले कुनै बखत आफ्नो नामै शरद बनेपा राखेका थिए । शरद बनेपा निकै खरा समालोचक मानिन्थे । दौलतविक्रम विष्ट, बैरागी काइँला, मनबहादुर मुखियाका किताबमाथि उनले गरेको समालोचनाले उतिखेरको साहित्यिक वृत्तलाई निकै तताएको थियो । अस्वीकृत जमात र राल्फा संगठनमाथिको कडा समालोचना अझ चर्को थियो । राल्फाप्रति दुवालको प्रतिक्रिया भने पारिजातलाई चित्त बुझेको थिएन । पारिजातले आग्रह पनि गरेकी थिइन्, ‘दुवालजीको यो विद्रोह, बाटो नपाएको विद्रोह त होइन ? प्रगतिवादी समालोचकले प्रतिक्रियावादी लेखकहरूलाई नास नै गरून्, तर जनपक्षीय इमानदार विरुवाहरूप्रति त्यही हतियार नचलाइदिऊन् ।’ समालोचक रविलाल अधिकारी पनि दुवाललाई ‘ज्यादै खरा’ समालोचक मान्छन् ।

खगेन्द्र संग्रौला ‘सम्झनाको कुइनेटाहरू’ मा लेख्छन्, ‘तिनताकका साहित्यकार, तिनका कृति र प्रवृत्तिहरू चर्चा र प्रभावको शिखरमा थिए । त्यस्तो बेलामा तिनमाथि आलोचनात्मक समीक्षा गर्दा शरद बनेपाले साहित्य संसारमा सानोतिनो हुरी नै चलाइदिएका थिए । उनका ती आलोचनाहरू प्रगतिवादी र इतर दुवै शिविरमा पठन, चासो, चर्चा, सर्मथन र विरोधमा बहसको विषय बन्यो ।’ संग्रौलाका विचारमा दुवालको साहित्यिक यात्राको सबैभन्दा सार्थक, सुन्दर र अविस्मरणीय क्षण शायद त्यही हो, शरद बनेपा बौद्धिक मोर्चामा सशक्त रूपमा भिडेको त्यो क्षण ।

शरद बनेपापछि दुवाल ‘बहादुर’ उपनामबाट पनि खरा समालोचना लेख्न थाले । संस्मरणमा संग्रौला लेख्छन्, ‘म शरद बनेपाको असामयिक मृत्युमा शोकाकुल भएँ । अब शरद बनेपा छैनन्, मोहन दुवाल मात्र बाँकी छन् । मलाई शरद बनेपाको उखर्माउलो न्यास्रो लागिरहेको छ ।’

दस कक्षा पढ्दापढ्दै दुवालको कवितासंग्रह प्रकाशित भएको थियो, नेपाल भाषामा ‘चुलिजाःगु स्वां’ (२०२३) अर्थात् ‘टुसाउँदै गरेको फूल’ । किताबको भूमिकामा कवि दुर्गालाल श्रेष्ठले लेखेका छन्, ‘चुलिजाः चुलि हे मखा, कन्हे थुकि हे पिल्वीगु स्वाँया सकलि खँ (टुसाउनु भनेकै यही होइन र ? जसबाट भोलि फक्रिनेछ फूलको सक्कली कथा) ।’ त्यसयता उनका अरु पनि कविता–किताब प्रकाशित भए– ‘मानवीय संवेदनाहरू’, ‘सचेतका धुनहरू’, ‘सिर्जनाका फूलहरू’ आदि । दुवाललाई सशक्त कवि मान्छन् कवि विश्व सिग्देल । भन्छन्, ‘पत्रिकाको सम्पादन र साहित्यिक सक्रियताले दुवालको कवि व्यक्तित्वलाई ओझेल पारिदियो ।’

कमलमणि दीक्षितको शब्दमा ‘बनेपाकै पर्यायवाची’ भएका छन् दुवाल । धुस्वाँ सायमी लेख्छन्, ‘मोहन दुवालका कविता असन्तुष्ट र कुण्ठित मानिसका प्रलाप होइनन् ।’ समीक्षक गुरुङ सुशान्तलाई भने दुवाल राष्ट्रभक्त कवि लाग्छन् । ‘दुवाल सचेत, राष्ट्रभक्त, प्रकृतिप्रेमि गद्यकवि हुन्,’ उनी भन्छन् । तर, दुवालमाथि संग्रौलाको प्रश्न यथावत् छ, ‘के इतिहासमा हराएको मेरो प्रिय शरद बनेपाको अझ प्रौढ र परिष्कृत संस्करणसँग वर्तमानको कुनै क्षणमा मेरो साक्षात्कार हुन सक्ला ? मलाई थाहा छैन । मित्र मोहन दुवालजीलाई थाहा छ कि ?’

तर, मोहन दाइ मौन छन् । जुन सहरमा उनको सपना रोपियो, सपनाको धागोबाट जुन सहरमा उनले विपनाको स्वेटर बुनिरहे, कसलाई थाहा त्यो स्वेटर चुस्त छ वा उध्रियो ? उध्रिएको हो भने अझै सुन्दर तरिकाले बुनिने क्रममा पो छ कि ? के थाहा ? कालको मकलमा विद्रोहको अर्को राँको सल्काउन उनी जिन्दगीको ढुङ्ग्रोबाट कुनै योजनाको सास फुक्दै छन् कि ? के थाहा ?

प्रकाशित : कार्तिक २७, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्

सपनाको एउटा सफर

माछाको दुनियाँबाट संसारलाई चियाउने एउटा आँखीझ्याल हो नाटक ‘जिजीविषा’, आफूले पाएको भेउ अर्को पुस्तालाई दिनुपर्छ भन्ने चेतनाको यात्रा पनि हो
दीपक सापकोटा

काठमाडौँ — माछाहरूले आफ्नो कथा भन्नुपरे कसरी भन्लान् ? माछाका दृष्टिबाट मनुष्यका कर्तुत देखाउन मण्डला थिएटरमा मञ्चित नाटक ‘जिजीविषा’ ले भन्छ– मान्छेको मगजमा माछाको अनुभूति निसास्सिँदो छ । 

बाढी–पहिरोको गर्जन ! मानिसहरूको चीत्कार ! पशुपक्षीको पुकार ! खोलाको बगरमा मानिस, पशुपक्षी र माछाका लास छरिएका छन् यत्रतत्र । प्राकृतिक प्रकोपको अत्यासलाग्दो आवाजले मञ्च गुञ्जायमान् छ । पुन्टियस माछा घाइते छ । लासहरूबीच ऊ आफन्त खोज्छ । सेती असला रगतपच्छे छिन् र आफ्नो अन्तिम सास लिइरहेकी छन् । ‘जिजीविषा’ नाटकको अन्तिम दृश्य हो यो । नाटकमा माछाहरू पात्र छन् ।

नाटक ‘जिजीविषा’ एउटा सपनाको सफर हो । एक दृश्यमा अक्वारियममा पुन्टियस पौडिरहेको छ । उसलाई त्यस अक्वारियमभन्दा बाहिर बगिरहेको खोलाको ताजा पानीमा पौडिन मन छ । ऊ पौडीका विभिन्न तौरतरिका अपनाउँछ, मज्जाले उफ्रिन्छ, तर सानो अक्वारियमबाट बाहिर जान सक्दैन । अक्वारियम बाहिरबाट उसलाई हेरिरहेकी एउटी बालिका खुसीले हाँस्छे । पुन्टियस भन्छ– ‘अरूलाई सास्ती हुँदा हाँस्दा रैछन् मान्छेहरू ।’ ‘जिजीविषा’ फराकिलो संसार चाहनेहरूको कथा हो । पुन्टियस माछा र उसका साथीहरूको एउटा लामो यात्रा–कथा हो । शनिबार साँझ पहिलोपटक मञ्चन भएको यो नाटक माछाहरूको दुनियाँबाट संसारलाई चियाउने एउटा आँखीझ्याल हो ।

एक दृश्यमा रजबाम माछा भन्छ, ‘जतिजति मान्छेको बस्ती आउँदै जान्छ, माछाको वरिपरि काल घुम्छ । हामीले तैरिएपिच्छे होस राख्नुपर्छ । कतै बल्छी, कतै बम र कतै जाल हाम्रो काल पर्खेर बसेका हुन्छन् ।’ मान्छेहरूको संसार कति भयंकर छ र उसले आफ्नै प्रजातिलाई कसरी सिध्याइरहेको छ– ‘जिजीविषा’ ले नाटकमार्फत भन्न खोजेको छ ।

हिमालको फेदमा पानी सुक्दै गरेको एउटा तलाउ छ । तलाउभित्र भ्यागुताहरू ट्वार्रट्वार्र कराएको आवाज सुनिन्छ । पात्रहरू छन्– टिकुली, बुच्चे असला, बुदुना, चुच्चे असला, जलकपुर, तिल्के असला, धामी असला, रजबाम, भ्यागुताहरू, साइबेरियन चराहरू । बिस्तारै उनीहरूको आवाजले एउटा गति समात्छ । र, त्यो गति गीत बन्छ ।

नाटकमा मान्छेहरूले माछाको रूप धरेका छन् । रंगीविरंगी अनेक माछाहरू पौडिरहेका छन् मञ्चमा । पानीभित्रको विश्व देखाउँछ, मञ्चमा प्रयोग गरिएको मल्टिमिडिया र प्रोजेक्टरको उज्यालोले । तलाउको डिलमा लहरै भ्यागुताहरू देखिन्छन् । अलि परै माछा खान पर्खिएर बसेका साइबेरियन चराहरू चनाखो भएर तलाउनजिक आउँछन् । गीत बज्छ–

अक्काशैमाथि बादल छ दूर/म गाउँछु चिर्बिर

भाग्यको रेखा चरीपञ्जैमा/लेखेको किर्मिर

उडेर आएँ घरदेशबाट जानु छ परदेश

सपना थियो सुन्दर तर भैसक्यो अब शेष

साइबेरियन चराहरू गीत गाएर आफूहरूलाई घर फर्किन ढिला भएको कथा सुनाउँछन् । भ्यागुताहरू गीत गाएर माछाहरूले भोग्नुपरेका समस्या भन्छन् । भ्यागुताहरू मधुरो भाकामा गीत गाइरहन्छन्–

उडी आयौ कहाँबाट/कहाँ जान्छौ चरी

तिमी गएपछि मेरो/मन रुन्छ चरी

हिमाली फेदको कुनै मुहानमा पानी सुक्दै गएपछि पोखरीका जलचरमा भयानक संकट उत्पन्न हुन्छ । र, उनीहरू समुद्रसम्मको यात्रा गर्छन् । उर्लंदो खोलाको प्रवाहमा माछाहरू अनौठो यात्रा गरिरहेका छन् । नाटकमा ऋतु परिवर्तन भएको छ, खोलामा बाढी आएको छ । केही माछा औधी रमाएका छन्, केही असाध्यै आत्तिएका छन् । रूखका पहेंला पातजस्ता पातला देखिने ती माछा सफा पानीमा सैसला खेलिरहेझैं लाग्छन् । जमेको पोखरीबाट बगेको पानीमा पुगेका ती रंगीविरंगी माछाहरू जीवनको प्रवाह देखेर विस्मित हुन्छन् । यहाँ किरगिजस्तानी लेखक चिनगिज आइतमातोभको एउटा लाइन सम्झना हुन्छ, ‘सबै जीवित वस्तुको आ–आफ्नै वसन्त र शरद् हुन्छ ।’

सामान्य रूपमा हेर्दा नाटक माछाहरूको कथा भए पनि यो मान्छेहरूको जीवनको कथाहरूसँग गाँसिन्छ । माछाहरूको तलाउमा पानी सुक्नु भनेको मान्छेहरूको तलाउको पानी सुक्नु हो । हाम्रो शक्ति गुम्नु हो । पर्यावरणका तत्त्व सुक्नु हो । पानी मान्छेको जीवनमा पनि नभई नहुने, माछाको जीवनमा पनि नभई नहुने ! पानीको महत्त्व पनि कहन्छ नाटकले । यात्रा गरिरहनुपर्छ, एकै ठाउँमा जमेर बस्नुहुँदैन भनेर पनि भनिरहन्छ नाटकले । नाटकको मध्यतिर एउटा प्रेरणादायी गीत गुन्जिन्छ–

आशाका ती मसाल बोकी अघिअघि बढ्दै छन्

सपनाका यात्रीहरू, हेर समयलाई जित्दै छन् ।

जिन्दगीको रहस्य पत्ता लाग्नेवाला छैन, तर त्यसको रहस्य बुझ्ने यात्रा रोक्नु हुँदैन भन्छ नाटकले । आफूले पाएको भेउ अर्को पुस्तालाई दिनुपर्छ भन्ने चेतनाको यात्रा पनि हो नाटक– जिजीविषा । तर, यात्रामा हिँडेका माछाहरूले भने अनेक संकटको सामना गर्छन् । संकट तलाउमा बस्नेहरूलाई मात्र होइन, यात्रा गर्नेहरूलाई पनि छ भन्छ माछाहरूको यात्राले । मान्छे गाउँमा संकट भोगेर सहर पस्छ, तर सहरमा झनै संकटहरू थपिएका छन् । यात्रा गरिरहेका माछाहरूलाई मानिसहरूले जाल हान्छन् । यसले भन्छ, बजारले मान्छेलाई जाल हानिरहेको छ । अक्वारियममा माछाहरू छन् । मान्छेहरू पनि अक्वारियममा बन्द छन्, देश र पासपोर्टका नाममा हामी अक्वारियममा बन्द छौं भन्ने कथा नाटकले भन्छ । नाटकमा संकट छ, संकटलाई पार लगाउने शक्ति छ, अनि नाटकको यात्रामा खराब माछा छन्, असल पनि भेटिन्छन् ।

एउटा दृश्यमा ह्याट लगाएको सुकिलो मान्छेले सुटकेसमा ल्याएर बियरको क्यान र प्लास्टिकका खोलहरू खोलामा फालिदिन्छ । बियरको क्यानलाई टोपी बनाउँछ एक माछाले । यस दृश्यले मान्छेलाई कसरी मल्टिनेसनल कम्पनीहरूले दास बनाइरहेका छन् भन्ने संकेत दिन्छ । मान्छेमा भएको विचलनको यात्रा पनि हो यो कथा । यात्राको बीचमा लुटेरा माछा मिसिन्छ, अन्य माछाहरूलाई लुट्छ । सुनौला माछाहरूले यात्रा गरिरहेका माछाहरूलाई बन्धक बनाउँछन्, कुनै बेला माछाहरू भुमरीमा पर्छन् । बगेका अण्डाहरू भुमरीभित्र होलान् भनेर खोज्छन् । ठूलो महासेर माछा भेटिन्छ, जसले सबै साना माछाहरू खान मुख बाउँछ । तर, यात्रारत माछाहरू एकजुट भएर ऊसँग संघर्ष गर्छन्– अनेक सास्ती भोग्दै समुद्र पुग्छन् । तर, सागरमा पनि माछाहरूले शान्ति भेट्दैनन् । त्यहाँ पनि संकट देख्छन्, विचलन देख्छन्, महासागर पनि अशान्त देख्छन् । तैपनि कोही समुद्रमै बस्छन् । र, कोही आफ्नै पुरानो तलाउ फर्किन्छन् । साझा उद्देश्य बोकेर गरिएको यो यात्राले मानिसकै अनेक यात्रा र संघर्षको कथा भनिरहेको हुन्छ ।

२०७७ असोजदेखि सुरु गरिएको ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च’ कार्यक्रमअन्तर्गत मण्डला ड्रामा स्कुलको पहिलो शैक्षिक सत्रको अन्तिम नाट्य प्रस्तुति हो यो नाटक । कलाकारहरू आकाश नेपाली, आदित्य मिश्र, अनिल कुर्मी, सुस्मिता पोख्रेल, सुस्मिता गुरागाईं, विष्णुमाया परियार, शिव परियार, सञ्जय विश्वकर्मा, समृद्धि नेपाल, सरिता कठायत, पासाङ ल्हामु शेर्पा, सुमित्रा पेहिम, हाङ ओ हाङ राई, दीक्षा चौधरी, प्रदीप ढुंगाना, नीरज चौधरीको अभिनय जीवन्त छ । सोमनाथ खनालको लेखन र राजन खतिवडाको निर्देशन रहेको नाटकमा संवाद र गीत लेखेका छन्– कवि/आख्यानकार विप्लव प्रतीकले । संगीत उत्सव बुढाथोकीको छ ।

‘जिजीविषा’ बोकेका माछाहरूले गरेको समुद्रको यात्रा नै नाटक जिजीविषा हो, जहाँ कोही नायक छैनन्, न छन् सहायक पात्र । नाटकको अन्त्यमा सेती असला माछाले प्राण त्याग गर्छिन् । धमिलो हुँदै गएको मञ्चको सेतो, नीलो र खैरो प्रकाशमा उदास पुन्टियस चिच्याएर रुन्छ । तर, निर्जन किनारमा उसको विलाप बिलाएर जान्छ । रुँदारुँदै थाकेपछि पुन्टियस खोलाको किनारमा आइपुग्छ, एकाग्र दृष्टिले खोला अनि आफू आएको बाटोतिर हेरिरहन्छ । र, जारी राख्छ आफ्नो यात्रालाई । अन्तिम गीत बज्छ–

एउटा यात्रा हो जिन्दगी

यहाँ बस्नुको के काम

एउटा खोज हो जिन्दगी

यहाँ अड्नुको के काम ?

प्रकाशित : कार्तिक ८, २०७८ ०७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×