आँखीझ्याल- कोसेली - कान्तिपुर समाचार

आँखीझ्याल

निर्भीकजंग रायमाझी

आँखीझ्याल सानो छ
तर यसबाट संसार हेर्न सकिन्छ !

घरका ठूला–ठूला ढोकालाई

अहंकारको खापाले बन्द राखेका छन्

सिसा राखिएका बुट्टेदार झ्याललाई

रंगमञ्चमा जस्तै पर्दाले छोपेका छन्


उफ् ! ग्यास च्याम्बरझैं

थुनिएको छ घर चारैतिर


तर को आयो साँझमा पाहुना ?

आँखीझ्यालबाट हेर्न पाइयो

बिहानी घामको पहिलो झुल्को

ओछ्यानबाटै छुन पाइयो

पूजाकोठाको धूप

घरभरि महक छर्दै छिमेकसम्म पुगिसक्यो...

आहा ! आँखीझ्यालले जस्तै

जस्तो त्रासमा पनि संसार चियाउन पाइयोस्

चाहन्छु– एउटा सानो आँखीझ्याल त

तिम्रो मनमा पनि भइदियोस् !

प्रकाशित : कार्तिक २७, २०७८ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्

कुरूप तथ्यको सुन्दर चित्र

बिब्ल्याँटो शिक्षाको विरूप पक्षलाई पुस्तकले आफ्नो आधार क्षेत्र बनाएको छ । पाठकलाई आख्यान पढेजस्तो होइन, आफ्नै अतीतका पाना पल्टिएजस्तो लाग्छ ।
घनश्याम खड्का

आइरिस कवि वस्कर वाइल्ड भन्ने गर्थे, ‘शिक्षा प्रशंसनीय कुरा हो, तर पनि बेलाबेलामा के सम्झिराख्नु जाती हुन्छ भने जान्नयोग्य केही पनि सिकाउन सकिन्न ।’ अलिक विनोदी भावमा अभिव्यक्त वाइल्डको उपरोक्त कथनले झट्ट सुन्दा शिक्षाको मर्मको प्रशंसा गरेजस्तो लाग्न सक्छ । तर, अलिक गुनी हेर्दा यसले प्रचलित शिक्षण पद्धतिमाथि तीक्ष्ण व्यङ्ग्य गरेको छ । अझ, जसरी पनि ‘पढ्नैपर्छ’ भनेर एउटा रटिरटाउ तालिकालाई शिक्षा मान्ने हाम्रोजस्तो समाज, प्रणाली, शिक्षक र अभिभावकबारे उनको कथ्यको निहितार्थ बढी नै लाक्षणिक, तर तिक्ष्ण प्रतिहासयुक्त जँच्न पुग्छ भन्दा बाधा पर्दैन ।

सिकाइ समूहले हालै प्रकाशित गरेको उपन्यास ‘कखरा’ पढेपछि वाइल्डका पंक्तिहरूले सच्चा अर्थमा माने दिएजस्तो अनुभावले मलाई गाँज्यो धेरै गहिरोसँग । अलिक पछि म कखराबारे केही भन्नेछु । पहिले त्यसको पृष्ठभूमि निर्माणार्थ वाइल्डकै कथ्यलाई अलिकति उजिल्याऊँ है त !

मूलतः शिक्षाको प्रयोजन हुन्छ जीवनलाई बदल्नु । जीवनलाई बदल्नु भनेको बुझाइलाई तिखार्नु हो । यसका पहेलीलाई जान्नु हो । अझ साँचो अर्थमा भन्दा जीवन बदल्नु भनेको आनन्दको अविराम स्रोतमा आफूलाई जोड्नु हो । तर, जीवन बदल्नु भनेको जसोतसो गरेर पद र प्रतिष्ठा हात पार्नु अनि मनग्य धन कमाउनुलाई आम रूपमा बुझ्न थालिएको छ संसारैभर । हामीमा त त्यो बझाइको लेप झनै बाक्लो छ । पहिलो त, यो नै शिक्षाको असफलता हो । कारण, पढे–लेखेकैको समाजमा अतिशय भोग र विलासको अंशले ठाउँ लिएको देखिन्छ । संसारमा भ्रष्टाचारको पूरै हिस्सा पढे–लेखेकाहरूबाटै भएको छ किनभने कथित अपठितहरू भ्रष्टाचार गर्ने ओहदामा पुगेकै हुँदैनन् ।

पढे–लेखेकै र सम्पन्न भनिएका मानिस ज्यादा आत्महत्या गरिरहेका छन् । पढे–लेखेकै घरमा जन्मिएकाहरू ज्यादा दुर्व्यसनी छन् । पढे–लेखेकै भनिएकाहरू शिक्षाले गर्नु हुँदैन भनेका यस्ता अनेक काम गर्छन्, जसको सूची जति तन्काए पनि तन्किन्छ । यस्तो आखिर किन भयो ? किन शिक्षाले भनेजस्तो प्रभाव पार्न सकेन ? किन शिक्षाले एक सन्तुष्ट हृदय जन्माउन सकेन ? किन शिक्षाले एक करुणायुक्त मानिस तयार पार्न सकेन ? यसबारे संसारभर पर्याप्त बहस भएका छन् । अनेक पुस्तक लेखिएका छन् । यसको फेहरिस्त पनि लामै हुन जान्छ ।

शिक्षितहरू त जीवनका जटिल सवालबाट सुल्झिएकाहरू हुनुपर्ने हो । शिक्षाले त मानिसलाई जीवनको सौन्दर्य र जगतको माधुर्यसँग जोडिदिनुपर्ने हो । पढाइले त खुसीको पारो बढाइदिनुपर्ने हो, करुणाशील हृदय जन्माइदिनुपर्ने हो । तर, भइरहेको छ उल्टो । यहाँ अपठितहरू बरु कम अल्झिएका छन् । तिनमा पढ्न पाइनँ भन्ने एउटा हरदमको पश्चात्तापबाहेक संसारसँग ज्यादा गुनासो सायद पाइन्न । तर, एउटा शिशित मष्तिस्कको साँचो विवरण उतार्ने कुनै यन्त्र बन्यो भने अनन्त आडम्बर, चिन्ता, कपट र गुनासा त्यहाँ निश्चत रूपमा पाइने स्थिति छ ।

एकातिर पढेकाहरूको यो हाल छ, अर्कातिर पढाउन खोज्दा राज्य, समाज र अभिभावक स्वयंको अथाह लगानी, परिश्रम अनि योजनाले ज्यादा फल दिन सकिरहेको छैन भन्न कुनै अध्ययनै गर्नु नपर्ने अवस्थाको असफलता हाम्रो अघिल्तिर छ ।

जम्मामा, अवस्था कस्तो छ भने आधाउधी मानिस पढेर बिग्रेजस्तो देखिन्छ भने आधाउधी पढ्न नसकेर बिग्रेजस्तो । पढाइले आनन्द दिन्छ भनूँ भने यहाँ पढेकाहरू पनि दुःखी र निराश छन्, पढ्न नसकेकाहरू पनि दुःखी र निराश छन् । शिक्षाले अनिवार्य रूपमा सम्पन्नता दिन्छ भनूँ भने पढेकाहरू पनि गरिब छन्, नपढेकाहरू पनि धनी छन् । एकातिर ताउ अर्कोतिर भुंग्रो भनेजस्तो छ अवस्था । पाए राम्रो, तर नपाए पनि उत्पातै केही नबित्ने निम्छरो क्षमताको यही शिक्षालाई अर्थ्याउनै वाइल्डले भनेको हुनुपर्छ, ‘शिक्षा प्रशंसनीय कुरा हो, तर पनि बेलाबेलामा के सम्झिराख्नु जाती हुन्छ भने जान्नयोग्य केही पनि सिकाउन सकिन्न ।’

यति भनिसकेपछि अब फर्किऊँ मूल प्रसंग ‘कखरा’ मा । भनेजस्तो हुन नसकेको यही विब्ल्याटो शिक्षाको विरूप पक्षलाई पुस्तकले आफ्नो आधार क्षेत्र बनाएको छ । पढ्दै जाँदा पाठकलाई आख्यान पढेजस्तो होइन आफ्नै अतीतको पानाहरू पल्टिएजस्तो लाग्छ । यो नै कखराको एक मौलिक शक्ति हो ।

एक आम नेपाली अभिभावकको चाहना हुन्छ, छोराछोरी एक आज्ञाकारी मनुष्यका रूपमा हुर्किऊन्, दिनरात किताबमा लिप्त होऊन् र पढाइमा फटाफट सफलता हात पारेर डाक्टर वा यस्तै केही बनेर मस्तले पैसा कमाऊन् । यो चाहत कति अभिभावकमा प्रस्टतर मुखरित हुन्छ र ती आफ्ना नानीलाई त्यसअनुसारै उपदेश दिन्छन् अनि तदनुसारको परिणाम उपलब्ध होस् भनी गच्छेअनुसारको आवश्यक प्रबन्ध पनि मिलाउँछन् । कतिपय अभिभावकमा आर्थिक विपन्नता, बुझाइको तह इत्यादि अनेक कारणले यो आकांक्षा सुषुप्त रहन पुग्छ, जसलाई छरितोसँग प्रकट गर्न ती सक्दैनन् । तर, अपेक्षा भने तिनको पनि उस्तै रहन्छ ।

अर्कातिर, शिक्षकहरू पनि विद्यार्थी खित्रिङमित्रिङ रामरमाइलोमा नअल्झीकन एक अनुशासित शिष्यको पूर्ण गुणसहित पढाइमा खरो उत्रिऊन्, परीक्षामा खुब अंक ल्याऊन् र पढाएको सबै रट्न सकून् भन्ने अपेक्षा गर्छन् । पूरै शिक्षा प्रणाली यही आकांक्षाको फूल फुलाउन दत्तचित्तले लागिपरेजस्तो देखिन्छ ।

पाठ्यक्रमभन्दा बाहिरका पुस्तक पढ्नुलाई पढेकै नमान्नु, शिक्षकले सिकाउने परिधिभन्दा बाहिर गएर सिक्नुलाई सिकाइ नै नठान्नु अनि अभिभावकले देखाएको भन्दा भिन्न बाटोबाट अघि बढ्नुलाई अघि बढेकै नजान्नु समकालीन नेपाली समाजको साझा लक्षण हो । प्रत्येक माटाको कणमा लुकेको जीवनको रहस्य र प्रत्येक फूलको सुवासमा छरिएको संसारको नैसर्गिक सौन्दर्यले पुलकित मानव हृदयका लागि तथाकथित शिक्षाले तय गरेको यो बाटोमा रस कम र कहर ज्यादा छ । यो विद्यालयबाट गुज्रिएका प्रत्येकको अनुभवमा उत्रिएको सत्य हो । यो कहरले बालकको हृदयमा कतिसम्मको घातक प्रदूषण ल्याउँछ र शिक्षाको नाममा कतिसम्म व्यापार हुन्छ भन्ने तथ्यलाई पुस्तकले मीठो कथ्यका साथ पस्केको छ ।

‘कखरा’ एउटा ‘अथेन्टिक’ पुस्तक हो । किनभने, यसका लेखक हरिहर तिमल्सिना पेसाले आजीवन शिक्षक हुन् । पुस्तकमा उनले अनुभवसिद्ध शैक्षिक असफलतालाई सुललित भाषामा मुखरित मात्रै गरेका छैनन्, त्यसविरुद्ध कठोर प्रहार पनि गरेका छन् र सुधारका नवीन तरिका पनि पस्केका छन् । अनेकमध्ये पुस्तकलाई पर्गेल्ने एउटा आधार हो भाव र तथ्यको प्रबलता । कल्पना, परिकल्पना वा स्वैरकल्पना भावपक्षसँग सम्बन्धित छ भने विषयले पक्रिएको धरातलको वस्तुगत अवस्था तथ्यसँग । पुस्तकमा लेखकले पीडोत्पादक शिक्षाप्रणलीको तथ्यलाई कल्पनाको सहाराले एक लयात्मक बान्कीमा उधिनेका छन् ।

यसका पात्रहरू काल्पनिक हुँदाहुँदै पनि वास्तविक छन् र कथा बनावटी हुँदाहुँदै पनि साँचो छ । यसरी तथ्यलाई कल्पनामा र कल्पनालाई तथ्यमा अन्तरघुलन गरेर हाम्रो शिक्षा प्रणालीको मौजुदा तस्बिर शब्दमा उतारेर तिमल्सिनाले आफ्नै अनुभवलाई पस्किएजस्तो लाग्छ । यस अर्थमा ‘कखरा’ एक कुरूप तथ्यको सुन्दर चित्र हो । अनुभवमा काँडाझैं बिझाउने विद्यमान पठनपाठनको परिपाटीसँग उनी सहमत छैनन् भन्ने त केही पाना पढिसक्दै बुझ्न सकिन्छ । पढ्नुको नाममा केवल अक्षर र अंकहरू सिकाएर जीवनका लागि चाहिने यावत् सीपहरूबाट सिंगै पुस्तालाई नै विमुख पार्ने यान्त्रिक पद्धतिलाई बदल्नुपर्छ भन्ने सन्देश उनले पुस्तकमा सफलतापूर्वक दिएका छन् । मानिसलाई दुःखी प्राणीका रूपमा परिणत गर्ने शिक्षाको विरोध गर्दै जीवनका सबै रङ र आयाम खुलाउने प्रेममयी परिवेशको शैक्षिक प्रणालीको वकालत गरेर लेखकले कवि वाइल्डसँग विनम्रतापूर्वक असहमति जनाएजस्तो लाग्छ, ‘शिक्षाले सिक्नयोग्य कुरा पनि सिकाउन सक्छ ।’

पढाउनबाहेक गीतहरूमा आफूलाई उधिन्ने, कवितामा भावहरू पोख्ने र ‘पढाउनेले पढौं’ भन्ने अभियान सुरु गरी शिक्षकका आँखा पाठ्यक्रमबाहिरका पुस्तकमा पार्ने काममा पनि हरिहर चिनिएका थिए । ‘कखरा’ ले उनको तिलचामले अनुहारलाई यो समयको नाडी छाम्न सक्ने एक लेखकका रूपमा पनि रूपान्तरण गरिदिएको छ ।

प्रकाशित : कार्तिक २७, २०७८ ११:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×