कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कोसेली

१५ हजार वर्षदेखिको मानव सारथि

कुकुरले आफ्नो मालिकको जाति, धर्म, वर्ण, लिंग वा उमेरमा भेद गर्दैन । मालिक आफ्नै हो वा होइन भन्नेबाहेक अरु कुनै हेक्का राख्दैन । पुच्छर बांगो भए पनि नुनको सोझो हुन्छ कुकुर । थुतुनो चिसो भए पनि मुटु न्यानो हुन्छ कुकुरहरुको । सेवा नै धर्म हो भन्ने अटल विश्वास हुन्छ कुकुरसँग ।
वर्षमा एक दिन कुकुर पूजा गरिन्छ । कुकुरलाई एकातिर तुच्छ व्यवहार, अर्कोतिर दैवस्वरूप पूजा– यो कस्तो विडम्बना ?
तीर्थबहादुर श्रेष्ठ

मान्छेलाई तुच्छभन्दा पनि तुच्छ स्तरमा गिराउनुपरे ‘कुकुर’ भनी अवहेलना गर्ने नेपाली समाजको सामान्य व्यवहार हो । त्यही कुकुरलाई हामी हाम्रै महान् चाड तिहार यमपञ्चकको दोस्रो दिन पूजा गर्छौं । आफ्नो संस्कृति, संस्कार र धर्मलाई जीवन्त राख्न वर्षभरिमा एक दिन भए पनि कुकुर पूजा गरिन्छ । एकातिर तुच्छ व्यवहार, अर्कोतिर दैवस्वरूप पूजा– यो कस्तो विडम्बना ? सोच्न थालेको छु– महाभारत युग र आजको युगबीच अन्तरालमा परेको सोच परिवर्तन त होइन यो ?

१५ हजार वर्षदेखिको मानव सारथि

पञ्चपाण्डवको स्वर्गलोक यात्रामा भीम, अर्जुन, नकुल, शहदेव र द्रोपदीसमेत कुनै न कुनै पापका कारण इन्द्ररथमा बस्नलायक भएनन्, तर युधिष्ठिरसँग इन्द्ररथमा चढ्न कुकुर योग्य ठहरियो । त्यसैले यो निष्कलंक प्राणीलाई पूजा गर्ने चलन बस्न गएको मान्यतामा हामी कुकुर तिहार मनाउँछौं । एक दिन मात्रै होइन, जीवनभरि नै कुकुर पूजनीय हुन्छ भन्ने हेक्कामा यो लेख लखेको हुँ ।

कुकुर घरपालुवा जनावर हो । अभिलेख भन्छ– लगभग १५ हजार वर्षदेखि मान्छेले कुकुर पाल्न थालेका हुन् । र, हालसम्म ४५० भन्दा धेरै जातका कुकुरलाई मान्छेले विकास गरिसकेको छ । मान्छेको सभ्यताक्रमसँगै विभिन्न प्रकारका कुकुर विकसित भएका हुन् । बाघ, गैंडा, हात्ती, भालु, स्याल, ब्वाँसोजस्ता प्राकृत वन्यजन्तु होइन कुकुर । प्रकृतिमा पाइने एकप्रकारको ब्वाँसोको वंशबाट कुकुर विकास गरिएको हो । त्यसो त हाम्रै वनजंगलमा पनि जंगली कुकुर ‘ढोले’ तथा ब्वाँसो, स्याल र फ्याउराहरू भेटिन्छन् ।

तर, आजको प्रसंग पाल्तु कुकुरसँग सम्बन्धित छ । पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्मै फैलन सफल प्राणी मान्छे र कुकुर मात्रै हुन् । हिमाच्छादित क्षेत्रमा बिनापांग्राका चिप्लेटिरत ‘स्लेड’ तान्ने हस्की जातको कुकुर सबैभन्दा ठूलो कदको हुन्छ । यिनीहरू दुई फुटभन्दा अग्लो र २५ किलोभन्दा गह्रौं हुन्छन् । अत्यधिक जाडो खप्न सक्ने यी कुकुरका भुत्ला निकै बाक्लो हुन्छ । त्यस्तै यी कुकुर मोटोघाटो हृष्टपुष्ट पनि हुन्छन् । संसारभर सबैभन्दा सानो कुकुर मेक्सिकोमा विकास गरिएको ‘चिहुवा हुवा’ जातलाई मानिन्छ । यसको ओजन ३ किलोभन्दा कम र उचाइ पनि एक बित्तासम्म मात्र हुन्छ ।

कुकुर ठूलो होस् वा सानो, चिल्लो होस् वा झ्यालटुंगे, सोझो होस् वा झम्टालु– जस्तै भए पनि मान्छेको सबैभन्दा भरपर्दो साथी उहि हो । लैनसिंह बाङ्देलले ‘लंगडाको साथी’ उपन्यासमा वर्णन गरेको कुकुरले मरणोपरान्त साथीको धर्म निर्वाह गरेको कथाको मर्म हामी सबैले बुझ्नुपर्छ ।

तसर्थ ‘लंगडा’ का साथी पनि कुकुर, आँखा नदेख्नेका साथी कुकुर, अपांग र अशक्तका साथी कुकुर, दीर्घरोगीका साथी कुकुर, धनीमानीका साथी कुकुर अनि गरिब भिखारीका साथी पनि कुकुर नै हो । कुकुरले आफ्नो मालिकको जाति, धर्म, वर्ण, लिंग वा उमेरमा भेद गर्दैन । मालिक आफ्नै हो वा होइन भन्नेबाहेक अरू कुनै हेक्का राख्दैन । पुच्छर बांगो भए पनि नुनको सोझो हुन्छ कुकुर । थुतुनो चिसो भए पनि मुटु न्यानो हुन्छ कुकुरहरूको । सेवा नै धर्म हो भन्नेमा कुनै प्राणीले कुकुरलाई भेट्दैन ।

एकपटक चिनेको मान्छेलाई कुकुरले कहिल्यै बिर्संदैन । कुकुरको घ्राणशक्ति मान्छेको भन्दा ५० गुना धेरै र अद्वितीय हुन्छ । वर्तमान विश्वमा मान्छेले कुकुरलाई उपयुक्त शिक्षा, तालिम र उचित अभ्यासमा समाहित गरी विशेष प्रकारका चमत्कारी सेवाहरूबाट लाभ लिएका छन् । मान्छेको शारीरिक मात्र होइन, मानसिक समस्यालाई पनि समाधानको बाटोमा डोर्‍याउन कुकुरहरू सफल भएका छन् ।

विज्ञान तथा प्रविधिले सम्पन्न वर्तमान विश्व परिवेशमा पनि कुकुरका विशिष्ट सेवालाई विस्थापित गर्न सक्ने उपकरणहरू उपलब्ध छैनन् । कुकुरका चमत्कारी सेवा अनेक छन् । केही उत्कृष्ट सेवाहरूको चर्चा गर्‍यौं भने सेवक कुकुरहरूको विशेष उल्लेख गर्नुपर्ने हुन्छ । मानिसको व्यक्तिगत सेवामा तिनको योगदान चमत्कारी साबित हुन्छ ।

शारीरिक अपांगता भएका वा मानसिक रूपमा शिथिल र अशक्त भएका व्यक्तिलाई सहयोगी सेवा प्रदान गर्ने विशिष्ट कुकुरहरूको प्रसंग कोट्याउँदा दृष्टिविहीन मानिसलाई बाटो देखाउने, विभिन्न गन्तव्यमा पुर्‍याउने चमत्कारी कुकुरहरूको सम्झना हुन्छ । सवारी नियम पालना गर्ने र मान्छेलाई डोर्‍याई सवारी साधनसम्म पुर्‍याइदिने काममा कुकुरहरू निपुण हुन्छन् । लठ्ठी–बैसाखीको सहारामा हिँडडुल गर्दा भीडभाडबाट मान्छेलाई बचाउने र अरू व्यक्तिलाई हटाउने काममा पनि निपुणता हासिल गरेका हुन्छन् कुकरले ।

‘बहिरा’ व्यक्तिलाई बाहिरी ध्वनि र आवाजको संकेत पनि दिन सक्ने क्षमता विकास गरिएको हुन्छ विशेष सेवाप्रदायक कुकुरहरूमा । गुड्ने मेच ‘ह्विलचियर’ को सहायतामा डुल्न बाध्यहरूका लागि पनि सहायक हुने कुकुर साथीहरू प्राप्त गर्न सकिन्छ । ढोका खोलिदिने, बत्ती बालिदिने, दराज–तख्ता खोल्ने र बन्द गर्ने, भुइँमा खसेको वस्तु टिपिदिने काममा पनि कुकुरहरूले तालिम पाएका हुन्छन् । त्यसका लागि घरको बन्दोबस्त पनि कुकुरमैत्री हुनु आवश्यक हुन्छ ।

सुस्त मनस्थिति, मस्तिष्कघात वा पक्षाघातले सहज जीवन जिउन नपाइरहेका व्यक्तिका लागि विशेष तालिम प्राप्त कुकुरको सेवा लाभप्रद हुन्छ । बेलाबखत मूर्च्छित हुने ‘सिजर’ रोगले सताउने मानिसहरूलाई रोगप्रहार हुनुअगावै सुइँको पाउने क्षमता कुकुरमा विकास गर्न विशेषज्ञहरू सफल भएका छन् । क्यान्सर अर्थात् अर्वुद रोगलाई समयमै ठम्याउने क्षमता पनि कुकुरमा विकसित गराउने चेष्टाहरू आशावादी बन्न थालेका छन् । आजभोलि कोरोना महामारीको रोग ठम्याउन पनि केही आधुनिक विमानस्थलमा कुकुरको तैनाथी प्रारम्भ भएको छ ।

भौतिक रूपमा प्रत्यक्ष सहयोगी भएर सेवा गर्ने कुकुरका अतिरिक्त रोगव्याधले थला परेका वा दीर्घरोगी वा उमेरका कारण अशक्त जीवन बिताइरहेकाका लागि कुकुरको साथ निकै लाभप्रद हुने गरेका थुप्रै उदाहरण छन् । तनको रोगबाट मन र मस्तिष्कलाई मुक्त गराउन कुकुरको साथले विशेष भूमिका खेल्दोरहेछ । तसर्थ विभिन्न अस्पताल, चिकित्सालय, बालगृह, वृद्धाश्रमजस्ता ठाउँमा बेलाबखत कुकुरको सेवा प्रदान गर्ने चलन छ । यस्ता कुकुर मायालु, मिलनसार, मित्रवत् व्यवहार जान्ने खालका हुन्छन् । यिनीहरू सोहीअनुसार तालिम प्राप्त हुन्छन् । यस्ता कुकुरलाई ‘थेरपिडग’ भनिन्छ ।

प्रहरी सेवाका कुकुरहरू विशेष सुराकीको काम गर्न सक्षम हुन्छन् । नाकको घ्राणशक्तिले अपराधी ठम्याउने, अवैध लागूपदार्थ वा आतंककारीका साथमा रहेको अवैध हातहतियार वा विस्फोटक पदार्थको सुराक दिने, हराएका बालबालिका वा अन्य व्यक्तिको खोजी गर्ने आदि काममा कुकुरको प्रयोग बढ्दो छ । नेपालमा पनि प्रहरी सेवाका कुकुरहरूका चमत्कारी काम बरोबर सार्वजनिक हुने गरेको छ ।

सैनिक गतिविधिमा विशेषतः शत्रुले विस्फोटन गराउन विभिन्न ठाउँमा थापेका बम वा विस्फोटक पदार्थको पहिचानमा कुकुरहरूले विशेष सेवा दिने गरेका छन् । शत्रुको सुराक लगाउन कुकुरहरू निपुण हुन्छन् । प्राकृतिक प्रकोपका बेला उद्धार कार्यमा कुकुरले सघाएका उदाहरण हाम्रै ०७२ सालको महाभूकम्पको समय प्रत्यक्ष भएको थियो । कुकुरले प्रदान गर्ने उपरोक्त विलक्षण सेवाका लागि तालिम सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ।

वर्तमान विश्वमा भएका कुकुरका जातिमध्ये ल्याब्राडोर रिट्राइभर, गोल्डेन रिट्राइभर, जर्मन सेपार्ड, स्टान्डर पुडुल, बेल्जियन म्यालिनवाह विशेष उल्लेखनीय छन् । कुकुर तालिममा मानिसले प्राप्त गरेको सबैभन्दा पहिलो कीर्तिमान भेडा, बाख्रा, गाईवस्तु तह लगाउने गोठाला कुकुरको तालिम हो । यस काममा लगभग १५ हजार वर्षपहिलेको इतिहास भेटिन्छ । सोही समयदेखि मान्छेको साथीका रूपमा घरघरमा कुकुर पाल्न थालिएको हो । विश्व बजारमा सयौं प्रकारका कुकुर उपलब्ध छन् । काखमा खेलाउने फुच्चे कुकुरदेखि घरबार रक्षा गर्ने जंगी कुकुरसम्म हामी छान्न सक्छौं ।

कुकुरसँग मेरो संगत

कुकुरसँग मेरो संगत सम्झिन बाल्यकालमा पुग्नुपर्छ । काठमाडौं महाबौद्ध बहालमा गल्ली–कुकुरका छाउराहरू हुन्थे । महाबौद्धको ग्वार्चा नामक एक फोगिन (माग्ने) को

थाङ्नोसँग १०/१२ वटा कुकुर पाटीमा सँगै खान्थे र सँगै सुत्थे । ती भुस्याहा गल्ली कुकुरहरू टोलका रक्षक थिए । अन्जान मान्छे टोलमा छिर्‍यो भने भुकेर तिनले रातैभर सुत्न दिँदैनथे । महाभारतको कथासँग एवं मोहेन्जोदारो सभ्यताको अवशेषसँग जोडिएका यी एसियाली नस्लका भुस्याहा कुकुरहरूलाई आजभोलि रेबिज रोगका कारण हामी उन्मूलन गर्ने जमर्कोमा छौं । के गाउँ, के सहर यिनको बिगबिगी उस्तै छ । यो विशेष नस्लको हाम्रो मौलिक कुकुरको संरक्षण गर्नुपर्छ वा पर्दैन ? त्यसबारे बहस हुनु जरुरी छ । इपू २५०० वर्ष अघिदेखि अर्थात् ४५०० वर्षभन्दा पुरानो कुकुरसँगको हाम्रो सहअस्तित्वलाई यत्तिकै मेटाइदिने वा संरक्षण गर्ने ?

हिमाली क्षेत्रमा जडीबुटी अध्ययनमा हिँड्दा गोठ–गोठमा पालिएका भोटेकुकुरले सातो लिन्थे । गोठालाले फकाएपछि चुप लाग्थे । तिबेटन मास्टिफ नामक यी कुकुरले ४ हजार मिटरभन्दा उच्च क्षेत्रमा भेडा–च्यांग्रा, चौरी–याकका बथानमा कसैलाई पनि बाटो बिराउन वा हराउन दिँदैनन् । साँझ सबै वस्तुभाउलाई खेदेर गोठमा ल्याइपुर्‍याउँछ । पाल्तु जनावर तह लगाउने काममा कुकुरको योगदान चर्चित छ । वन्यजन्तु सिकारमा प्रयोग हुने सिकारी कुकुरसँग कास्कीको लेकाली क्षेत्रमा र कर्णालीका विभिन्न कन्दरामा यदाकदा भेट भएको थियो । कस्तूरी सिकारमा तिनको विशेष भूमिका हुन्थ्यो ।

यस वर्ष अमेरिकाको छोटो बसाइमा शारीरिक एवं मानसिक अशक्तहरूको विशेष सेवामा खटिएको ‘सर्भिस डग’ सँग संगत भयो । नेपालमा पालेको आफ्नै रखबारी कुकुरलाई पनि बिर्सने कुरा भएन । रोन्डा, जाइलो र जोली नामक तीन प्रकारका कुकुरको प्रसंग यहाँ जोड्न चाहन्छु ।

रोन्डा

रोन्डा एक सर्भिस डग हो । सोख विशेषले पालिएको होइन । एक निर्दिष्ट संस्थाबाट खटाइएको प्राणी हो । अमेरिकी नियम, कानुन र मान्यता अरू कुकुरका भन्दा भिन्नै हुन्छ । तिनीहरू सधैं काजमा हुन्छन्, सेवामै बस्छन् ।

रोन्डा निख्खर कालो, चिल्लो र चम्किलो हुन्छ । कान दोब्रेको, थुतुनो लामो र आँखा चम्किला हुन्छन् । यसले कसैलाई भुक्दैन । चौबीसै घण्टा शान्त बस्छ । तर, ‘स्पिक’ भन्यो भने तुरुन्तै भुक्छ र पुच्छर हल्लाउन थाल्छ अनि सलबलाउँछ । माया गर्न थाल्यो भने चाट्छ । बस् अर्थात् ‘सिट’ भन्यो भने बस्छ, मुन्टो तल अर्थात् ‘डाउन’ भन्यो भने खुसुक्क मुन्टो तल झारेर लम्पसार बस्छ । मेचमा, कारमा वा सोफामा बस् नभनी बस्दैन । जाऊँ अर्थात् ‘लेट अस गो’ भन्यो भने साथै हिँड्छ । करिब ४०/५० वटा आदरार्थी शब्द पालना गर्न उसलाई सिकाइएको छ । आधुनिक भवनका ढोकामा जडिएका विद्युतीय चुक्कुलहरू आफैंले खोल्न सक्छ । घरका तख्ता र दराजहरू पनि खोल्न, बन्द गर्न सक्छ ।

रोन्डालाई विशेष प्रकारको खाना खुवाइन्छ । घरमा बन्ने कुनै पनि खाना दिइँदैन, बजारबाटै खरिद गर्नुपर्छ । खाना नापेर थालमा राखेपछि बोलाएर बसाउनुपर्छ । ‘सिट’ भनेपछि बस्छ र ओके नभनेसम्म कुर्छ । बेलाबखत बोलाएर केही खाना इनामस्वरूप दिने गरिन्छ । ‘राम्री छौ’ अर्थात् ‘गुड गर्ल’ भन्यो भने ऊ प्रसन्न हुन्छ । रोन्डालाई तालिमका क्रममा सामाजिक व्यवहारका थुप्रै कुरा सिकाइको हुँदोरहेछ । पहिलो त ‘स्पिक’ नभनी उसले कहिल्यै भुक्दैन । घरमा, बाटोमा वा बजारमा कहीँ पनि अरू मान्छे वा कुकुरलाई भुक्दैन, झम्टिँदैन । अरू कुकुरले बाटोमा वा पार्कमा उसलाई भुक्दा पनि ऊ शान्त बस्छ । बाटोमा खरायो, लोखर्के र कहिलेकाहीँ हरिण पनि भेटिन्छन् । रोन्डा चनाखो त हुन्छ तर भुक्दैन, झम्टिँदैन ।

रोन्डालाई लिएर घरबाहिर जाँदा उसको पहिचान र पेटी गर्दनमा बाँधेकै हुनुपर्छ । डोरीले नबाँधेको कुकुरलाई कसैले पनि बाहिर लिएर हिँड्दैनन् । अपांग सेवाको निसाना भएको नीलो पोसाकमा एउटा थैली पनि हुन्छ । त्यसमा दिसा बोक्ने प्लास्टिकको मुठा राखिछाड्न बिर्सन हुँदैन । ‘सर्भिस डग’ लेखिएको पहिरनमा भएका कुकुरलाई सबैले पहुँच दिन्छन्, रोक्न मिल्दैन ।

हामीले रोन्डालाई थिएटर हेर्ने ठाउँमा, विभिन्न पार्क, बगैंचा, उद्यान तथा अन्य कुकुर निषेध गरिएका निकुञ्ज वा पिकनिक स्थलमा सहजै लिएर जाने गरेका छौं । रेस्टुराँहरूमा भोजन गर्न जाँदा रोन्डा साथै जान्छ र खुरुक्क टेबलमुनि बस्छ । कुकुर छ वा छैन भन्ने चाल पनि अरूले पाउँदैनन् । मासु–मिष्ठान्नका बास्ना सुँघेर कसरी सहेर बस्न सकेको ? हामी अचम्मित हुन्छौं । धन्य छ रोन्डा ।

रोन्डाजस्तो कुकुर पाल्नेले उसको सेवाविशेषमा कमी गर्न मिल्दैन । कुकुरलाई बेवास्ता गर्ने, अनावश्यक गाली गर्ने वा पिट्ने गर्नु हुँदैन । बेलाबखत दिसापिसाब गराउन भुल्नु हुँदैन । बाहिर डुलाउन लैजाँदा पानी बोक्नुपर्छ वा कुकुरका लागि पानी खुवाउने बन्दोबस्त भएका पार्कमा लैजानुपर्छ । ठाउँ–ठाउँमा ‘डग पार्क’ भेटिन्छ, तर रोन्डालाई अरू कुकुरसँग मिसाउन मिल्दैन ।

रोन्डाको दाँत मञ्जनले ब्रस गरिदिनुपर्छ । बेलाबखत उसका नंग्रा काटिदिनुपर्छ, ब्रसले रौं कोरिदिनुपर्छ, स्नानगृहमा लगेर नुहाइदिनुपर्छ । कुकुर नुहाउने स्नानघर सेवा बजारमा उपलब्ध छन् । कुकुरलाई प्रत्येक दिन डुलाउने र कसरत गराउन विभिन्न खेल खेलाउनुपर्छ । विशेष गरी भकुन्डो खेल्न रुचाउँछ हाम्रो रोन्डा । मोटोपनले सताउला भनेर बेलाबखत उसको ओजन लिने र अभिलेख राख्ने बानी बसाल्नुपर्छ ।

रोन्डाजस्तो सेवाप्रदायक कुकुर हुर्काउन–बढाउन अनि तालिमको दीक्षान्त समारोह गरेर सेवाग्राहीलाई हस्तान्तरण गर्दासम्म ३० देखि ५० हजार अमेरिकी डलर (रु. ३०–५० लाख) खर्च हुन्छ । सयौं स्वयंसेवक एवं सहयोगी दाता त्यस काममा संलग्न हुन्छन् । र, शारीरिक एवं मानसिक समस्यामा जिउन बाध्य मानिसका लागि कुकुर निःशुल्क प्रदान गर्छन् । सेवाग्राहीहरू योग्य ठहरिएपछि तिनलाई कुकुरसँगै करिब दुई हप्ताको सघन तालिम दिइन्छ । तालिममा कुकुर–विषय ज्ञान, विज्ञान र मनोविज्ञान पक्षलाई विशेष जोड दिइन्छ । त्यहाँ कुकुरलाई मान्छेसरह व्यवहार गर्ने संकल्प पनि गरिन्छ ।

हाम्रो रोन्डा अहिले दुई वर्षकी भइन् । गोल्डेन रिट्राइभर तथा ल्याब्रोडोरको संयुक्त स्वरूप हो– रोन्डा । उसको जन्म सुनिश्चित गर्ने व्यवसायीले पनि स्वयंसेवककै रूपमा काम गरेका थिए । लगभग ८ हप्तापछि छाउरा पालिदिने अर्का स्वयंसेवकले १६ महिना नपुगेसम्म विशेष तालिमसहित रोन्डालाई सघन तालिमका लागि तयार पारिदिए ।

त्यसपछि विशेषज्ञहरूले सघन रूपमा शिक्षा र तालिम दिँदै दीक्षान्तको अवस्थासम्म पुर्‍याइदिएका थिए । ‘क्यानाइन कम्पनियन फर इन्डिपेन्डेन्स’ नामक संस्थाले न्युयोर्कमा एक समारोह बीच रोन्डालाई बिदाइ गरे । रोन्डा लिन दुई वर्ष कुर्नुपर्‍यो र दुई हप्ता पूरा परिवारले कुकुरका साथ विशेष तालिम पनि लिनुपरेको थियो । रोन्डा प्रदान गर्ने संस्था सन् १९७५ मा स्थापना भएको थियो ।

हालसम्म यस संस्थाले ५ हजारभन्दा बढी सेवा कुकुर प्रदान गरिसकेको छ । उक्त कार्यमा संलग्न हुने स्वयंसेवकको संख्या पनि ४३ सय नाघिसक्यो । शारीरिक एवं मानसिक कारणले परनिर्भर जीवन बाँच्नुपर्नेहरूलाई आत्मनिर्भर भएर बाँच्ने आधार खडा गर्न स्वयंसेवकहरूको भूमिका प्रशंसनीय छ । नेपालमा पनि रोन्डाजस्ता मानव–सहयोगी सेवा कुकुरहरू विकास गर्ने संघसंस्थाको सम्भाव्यता खोज्न अब ढिला गर्नु हुँदैन ।

जाइलो

जाइलो पाल्तु कुकुर हो । मालिकले ‘जाइलो’ नाम जुराए पनि नस्लअनुसार यो किसहाउन्ड जातको प्राणी हो । हल्यान्डमा विकसित यो जातको कुकुरलाई ‘राकुन डग’ पनि भनिन्छ । किनभने यसको अनुहार ‘राकुन’ नामक जन्तुसँग मिल्छ । लंगुर बाँदरको जस्तो कालो चेहरामा सेतो थुतुनो र काला चम्किला आँखा यसका विशेषता हुन् । सानो कदको भए पनि लामालामा झ्याप्ले भुत्लाले यो सामान्य कुकुरभन्दा भिन्नै देखिन्छ । यसका च्यांग्रे भुत्लाभित्रका भुवादारी भुवाले शरीर न्यानो राख्छ । लाडप्यारका लागि पालिने ‘पेट डग’ का रूपमा जाइलो ज्यादै मायालु, चंखे, चकचके, चनाखो र जेहेनदार छ । जाइलो दिनभरि घरैमा हुन्छ र दिनैभर शान्त बस्छ ।

स्कुलबाट फर्केका केटाकेटी एवं कामबाट फर्केका आमा–बुबा घर प्रवेश गर्नासाथ सर्वप्रथम जाइलोलाई सुमसुम्याउँछन् । अति प्रसन्न भए जाइलोले विशेष प्रकारको लडीबुडी खेल प्रदर्शन गर्छ । परिवारमा सौहार्द वातावरण बनाउन जाइलोको योगदान बेग्लै छ । पाहुनालाई भुक्ने वा यत्तिकै लेस्सिएर हेलिने बानी पनि यसको छैन । घरपालुवा कुकुरलाई घर व्यवहारको राम्रो तालिम नदिए लाजमर्दो व्यवहार पनि सहनुपर्ने हुन्छ । कुकुर भन्ने प्राणीको प्राण तालिममा हुन्छ ।

खुला हावा र शारीरिक व्यायामका लागि बिहान–साँझ कुकुर लिएर पार्कतिर टहल्ने थुप्रै मान्छे हुँदा रहेछन् अमेरिकामा । सबैले आफ्ना कुकुर बाँधेरै ल्याउँछन् र तिनले बिस्ट्याए तुरुन्तै सफा गरिन्छ । सहरहरूमा बाटोबाटोमा कुकुरको फोहोर सोहर्ने प्लास्टिक थैली र फ्याँक्ने ठाउँको बन्दोबस्त हुँदो रहेछ ।

ठाउँठाउँमा कुकुरलाई पानी पिलाउने धारा र ‘डग पार्क’ को पनि व्यवस्था हुँदो रहेछ । बेफुर्सदी मानिस आफ्ना कुकुरलाई टहलाउन खेताला पनि लगाउँदा रहेछन् । तालिम प्राप्त खेतालाहरू ४/५ वटा घरका कुकुर लिएर तिनका गोठाला लाग्दा रहेछन् । गोठालाहरूका कुकुर त लेकाली नेपालीमा धेरै देखेको हुँ, तर कुकुरका मान्छे–गोठाला यसपालि प्रत्यक्ष देख्न पाइयो ।

काठमाडौंमा पनि बिहान कुकुर लिएर टहल्ने भलादमीको उपस्थिति बाक्लै हुन थालेको छ । कसैले पनि कुकुरको दिसा सोहोरेर सफा राख्ने कष्ट गर्दैनन् । उनीहरू बरु लट्ठी लिएर हिँड्छन् किनभने भुस्याहा कुकुरको पनि सामना गर्नुपर्ने हुन्छ ।

जोली

सानेपा, ललितपुरको घर र त्यसको कम्पाउन्डलाई आठै प्रहर पहरा दिने ‘वाच डग’ को नाम जोली थियो । जर्मन सेफार्डको वंश भएको आमा र भुस्याहा गल्ली कुकुर बाबुबाट जोली मेरै घरमा जन्मेकी थिइन् । सफा दूधजस्तै सेती छाउरी कालान्तरमा खैरो रङको टाटेपाटे हुन थालिन् । लामो थुतुनो, ठाडो कान र मझौला कदको जोली रोगव्याध प्रतिरोधक क्षमता बढी भएको भुस्याहा तथा तेज जेहेनदार मस्तिष्क हुने जर्मन सेफार्डको गुणले सम्पन्न थिइन् ।

वर्षमा एकपल्ट ‘एन्टिरेबिज’ र ‘डिस्टेम्पर’ को सुई दिने अनि जुकाको औषधि खुवाउनेबाहेक अरू केही औषधिउपचार गर्नु पर्दैनथ्यो । नुहाइधुवाइ पनि खासै गरिँदैनथ्यो । उपियाँ, किर्ना पर्न नदिने पाउडरबाहेक अरू सेवा आवश्यक परेन । भान्छाको बचेखुचेको खानाले जोलीको पेट पालिन्थ्यो । तालिम केही दिएको होइन, तर सबै कुरा बुझ्थिन्– ढोकामा मान्छे आउनासाथ भुक्ने, तर ‘भित्र जा’ भन्नासाथ खोरभित्र पस्ने !

घरमा पाहुना छन् भने खोरभित्रै बस्ने ! बिहानीपख हामी परेवालाई चामल दिँदा जोलीकै खोरनजिक परेवाहरू आउँथे । चामल छरेपछि जोली खुरुक्क खोरभित्र पस्थिन् । परेवाहरू उडेर गएपछि हाम्रो कम्पाउन्डमा कोही छिर्न पाउँदैनथ्यो ।

१३ वर्षकी वृद्धा जोलीले विसं ०७६ को दसैं आउनुअघि एक दिन अचानक खाना खाइनन् । मैले कुखुराको कलेजो राखेर भात खुवाउन थालेँ । थोरै थोरै खाँदै पनि थिइन् । साँझमा खोरभित्र पसिन् । भोलिपल्ट बिहान जोलीलाई बेहोस, लम्पसार र हलचल नगरेको अवस्थामा देखेँ । बोलाए आँखा खोल्ने र पुच्छर हल्लाउने मात्रै गर्थिन् । भेटेनरी सेवाका मानिस बोलाएँ । केही सुई दिने काम भयो । दुई–चार दिन भेटेनरीका चिकित्सकले स्लाइन पानी चढाइदियो । एउटा सिरिन्जले पम्प गरेर उसको मुखभित्र दूध खुवाउन थालेँ । दैनिक २/४ पटक यस्तै चल्न थाल्यो । ‘जोली’ भनेपछि पुच्छर हल्लाउँथिन् । केही दिनपछि ‘बेडसोर’ भएर घाउ पनि देखिन थाल्यो । हलचलबिनै हप्तौं बित्न थाल्यो ।

दसैं आइपुग्यो । घर र बगैंचामा काम सघाउने मानिसहरू गाउँ जाने कुरा गर्न थाले । जोली मरिहालिन् भने लास व्यवस्थापन कसरी गर्ने भन्ने पीरले जे पर्ला भनेर बगैंचाको एक छेउमा चिहानका लागि खाल्डो खन्न लगाएँ । जोली लम्पसार परेको ३४ दिन भइसकेको थियो । एक बिहान मलाई वातावरण गोष्ठीमा जानु थियो । जोलीलाई दूध खुवाएँ, ‘जोली’ भन्दा उनले पुच्छर हल्लाइन् । बिहान ९ बजेतिर म बाहिर निस्केँ । २ बजेतिर घर फर्किंदा जोलीको जीउमाथि भुसुनाहरू उडिरहेका थिए ।

‘जोली’ भनेर बोलाउँदा पनि पुच्छर हल्लेन । जोलीले सास फेर्न छोडिसकेकी थिइन् । महिना दिनभन्दा लामो लगातार पीडाको अन्त्य भएछ । केही दिनमै तिहार दैलोभित्र आइपुग्यो । तर, कुकुर तिहारका दिन मेरो घरमा कुकुर थिएन । एउटा हरियो टपरीभरि चिउरा, त्यसमाथि एउटा रोटी, अलिकति टीका र अक्षता थियो । एउटा सयपत्रीको माला जोलीको चिहानमाथि राखिदिएँ । उनको बगलमा एउटा दियो बालेर कुकुर तिहार मनाएँ । एउटा पूजनीय प्राणीलाई पूजा गरेर तिहार मनाइयो ।

अन्त्यमा,

कुकुरका नैसर्गिक गुण र स्वभाव चिनेर/जानेर मानव कल्याणमा लगाउने परम्परा निकै पुरानो हो । कुकुरका विलक्षण गुणको खोजी–अनुसन्धान टुंगिएको छैन । अन्तरिक्ष यात्रामा मान्छेभन्दा पहिले कुकुरलाई पठाइएको हो । मानव र मानव यन्त्रले ठम्याउन नसक्ने कतिपय कुरा कुकुरबाटै भएको छ । क्यान्सर र कोभिडको समेत सुराक राख्न सक्ने क्षमता कुकुरले प्रदर्शन गर्न थालिसक्यो । म समस्त नेपालीसामु पुकार गर्छु– कुकुर पूजाको महिमा सिन्दूर–टीका र फूलमालामा मात्रै सीमित नगरौं ।

प्रकाशित : कार्तिक १३, २०७८ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?