त्रासद अन्तराल

एक्कासि उसलाई सपनामा कुनै उज्यालो मुस्लोतिर यात्रा गरिरहेझैं अनुभव भयो । दृष्य हेर्न नसकेर दुवै आँखा बलियोसित चिम्म गर्‍यो ।
‘तिम्रो छोरो सुराकी हो, ऊ हाम्रो सुराकी गर्छ । तिम्रो परिवारले यो गाउँमा गरेको ज्यादती र हैकमको अब एकएक हिसाब हुन्छ ।’
दिनमान गुर्मछान

जंगमको छोरो बेपत्ता भएको बीस वर्ष पुगिसक्यो !

त्रासद अन्तराल

सन्तान हराएको पिताको अवस्था कस्तो होला ! कल्पना गर्न जोकोही सक्छन् । छोरो हराएपछि जंगम त्यही अवस्थामा वर्षौंदेखि भौंतारिइरहेको थियो । देख्नेका मनमा ऊप्रति सहानुभूति पलाउँथ्यो । छोरो बेपत्ता भएको केही वर्ष त जंगमको होस ठेगानमै थिएन । उसमा एकदमै उदासी र व्यग्रता देखिन्थ्यो । बातैपिच्छे छोरोको कुरा गर्थ्यो, टिलपिल–टिलपिल आँखा लिएर । आफैंलाई सम्हाल्न कठिन भएका बेला श्रीमती पनि सम्हाल्नु झनै कठिन कुरा थियो ।

जंगम पिता मात्रै थिएन पति पनि थियो । पति हुनुको त्यही दायित्वबोधले उसले आफूलाई भन्दा पनि श्रीमतीलाई सम्हाल्नु जरुरी ठानेको थियो । श्रीमतीको रेखदेखमा समय दिँदादिँदै ऊ सम्हालिएको थियो । सँगसँगै छोराको पनि खोजी गर्नु उसको अर्को नियमित कर्म बनेको थियो ।

जंगमले छोरा खोजेको वर्षौं भइसक्यो । यसरी खोजिरहँदा प्राप्त गरेको निराशामा पनि उसले कहिल्यै हिम्मत हारेन । बेपत्ता छोरो एक दिन फर्केर आउँछ वा फेला पर्छ भन्नेमा उसलाई विश्वास थियो । आशा नै उसको हिम्मत थियो ।

...

प्रत्येक बिहान दस बजे बनेपाको तीनदोबाटो आइपुग्थ्यो– जंगम । सधैं उही समयमा, मनमा उही आशा, विश्वास र भरोसा लिएर ऊ काठमाडौंबाट आउने बसतिर हेरिरहन्थ्यो– तीनदोबाटोमा उभिएर ।

तीनदोबाटो बस–स्टप वरपर ठेलामा फलफूल बेच्नेहरूको घुइँचो हुन्थ्यो । घुइँचोमा बस कुर्नेहरू पनि थपिन्थे । जंगम घुइँचोमै मिसिन्थ्यो । बस कुरुन्जेल वरपरको वातावरण नियाल्थ्यो । भीडमा कोही हतारमा कुदिरहेका हुन्थे । कोही यताउता भौंतारिरहेका । कोही फुटपाथमा उभिएर गफ चुटिरहेका हुन्थे । अलिपरै फोहोरको डुंगुरमा केही बटुलिरहेको झुत्रे र झुस्स दाह्री पालेको कसैलाई देख्थ्यो ऊ । सबै व्यस्त थिए– भागदौडमै थिए । कुनै युवा देख्दा उसलाई छोरा सम्झना आइदिन्थ्यो । छोरो आफूसँगै भइदिएको भए अहिले कस्तो हुन्थ्यो ! ऊ अनुमान लगाउन खोज्थ्यो ।

बेपत्ता छोरोको सम्झनामा ऊ डुब्न थाल्थ्यो । छोरोको उमेरका केटाहरूलाई निर्निमेष हेरिरहन्थ्यो, जसले उसलाई झनै व्यग्र बनाउँथ्यो । छोरो अहिले के गर्दै होला ? उसले के खायो होला ? यस्तै सोचेर ऊ दुःखी हुन्थ्यो । पीडाको दहमा डुब्दाडुब्दै झन्डै–झन्डै तीनदोबाटोमा नरोकिएलाझैं गरी काठमाडौंबाट हुइँकिँदै बस आइपुग्थ्यो । बसको हल्लीखल्लीले ऊ एक्कासि ब्युझेझैं हुन्थ्यो । र, त्यो भीडमा आफूलाई सम्हाल्थ्यो । बसमा ‘धुलिखेल’ लेखिएको छ कि छैन, हेर्थ्यो जंगम । धुलिखेल लेखिएको रहेछ भने नजिकिँदै गरेको बसलाई आतुरिएको मनले स्वागत गर्थ्यो । र, बस रोकिएको ठाउँसम्म पुग्थ्यो । भीड छिचोल्दै जंगम बसभित्र उभिन्थ्यो र धुलिखेलसम्म पुग्थ्यो ।

यही उसको दैनिकी थियो ।

जिल्ला प्रशासन कार्यालयको गेटमा पुग्दा जंगमको मनमा एक किसिमको आशाले बास गरेको हुन्थ्यो । सधैं एउटा उज्यालो जिज्ञासा लिएर ऊ त्यहाँ पुग्थ्यो । उसलाई एउटा विवश बाबुको जिम्मेवारी र दुर्दशाले डोहोर्‍याएको हुन्थ्यो । जंगमको उपस्थिति सबैका लागि पूर्वपरिचित हुन्थ्यो । उसलाई कसैले सोध्दैनथ्यो– के कामले आउनुभयो ? ऊ सरासर सिडिओको कार्यकक्षमा पुग्थ्यो । उसै पनि बेपत्ताका परिवारलाई सीडीओ कार्यालयमा खासै रोकटोक हुँदैनथ्यो । त्यहीमाथि उसलाई अब सबैले राम्रैसँग चिन्थे ।

दुई हात जोड्दै जब ऊ सीडीओको कार्यकक्षमा पस्थ्यो, उसको मनमा आशाको दियोको मुस्लो ठूलो भइसकेको हुन्थ्यो । जंगम देख्नासाथ मुसुक्क हाँस्दै सीडीओ उसको मनोबल बढाउने कोसिस गर्थ्यो । देशको अवस्था र आफ्नो व्यस्तता पनि बताउन सीडीओ भ्याउँथ्यो । । र, अन्त्यमा हरेस नखान सल्लाह दिन्थ्यो, ‘तपाईंको छोरोको केही खबर छैन । हामी सक्दो प्रयास गरिरहेका छौं । हाम्रा अरू पनि काम छन् । केही समस्या पनि थपिएको छ । तपाईं ढुक्कसाथ घर जानुस् ।’ मृदु मुस्कानसहितको आफ्नो वाक् दक्षतामाथि सीडीओ मख्ख पर्थ्यो । उसको मुस्कानको हावाले जंगमको आशाको दियोचाहिँ पूरै निभाइदिन्थ्यो ।

जंगमको आँखामा भने श्रीमतीको अनुहार र उसले लिने पीरको झल्को आइदिन्थ्यो । वर्षौंदेखि छोरो फर्किने आशामा बाँचेकी श्रीमतीको नाजुक अवस्था सम्झेर ऊभित्र खिन्नभावले डेरा जमाउँथ्यो । आज पनि नाजवाफ फर्किनुपर्ने पीडाले उसलाई खान थाल्थ्यो अनि श्रीमतीको निन्याउरो अनुहारले पिरोल्थ्यो– श्रीमतीलाई कसरी सम्झाउने भन्ने पिरलो ! त्यसपछि जंगम सीडीओसँग बिदा मागेर बाहिरिन्थ्यो । बाहिरिँदा मन अशान्त भए पनि भोलिको आशा भने जागिरहेकै हुन्थ्यो ।

...

त्यसपछि जंगम सीधै सेवा केन्द्र पुग्थ्यो ।

छोरो हराएपछि जंगमले गाउँ छाडेको थियो । गाउँमा बसेर छोरोको खोजी गर्ने अवस्था थिएन । गाउँमै बसेर छोरो नभेटिने भएपछि उसले बनेपाको नयाँबस्तीमा डेरा लियो । त्यसपछि छोरोको खोजी धेरै ठाउँमा गर्‍यो । उसको दिनचर्या नै फिरन्ते जोगीको झैं भयो । अनेक हन्डर र पीडाले सताएको उसको मनले बेलाबेला उसलाई सामाजिक काम गर्न घचघच्याइरहन्थ्यो । लामो समयपछि उसले छोरोको खोजीसँगै सामाजिक काम गर्ने सोच्यो । मानसिक समस्या भएकाहरूका लागि स्याहार केन्द्र खोल्ने विचार गरेर घर भाडामा लियो । छोरो बेपत्ता भएपछि उसकी श्रीमतीमा मानसिक समस्या देखापरेकाले यस समस्यासँग ऊ परिचित थियो । यसैलाई उसको आत्माले सही निर्णय ठम्यायो ।

...

सदाझैं धुलिखेलबाट फर्किएपछि उसले छोरोको नाममा खोल्न लागेको सेवा केन्द्रका कोठाहरू नियाल्यो । कोठामा राखिएका फर्निचरमा कुनै कमजोरी छन् कि भनेर जाँच्यो । ओछ्याइएका तन्ना, झ्यालका पर्दामा नजर पुग्यो, जुन छोरोको मन पर्ने रङको थियो । उसले छोरोको यादमा यी रङलाई ध्यान दिएको थियो । कुनै दिन छोरो फर्केर आयो भने यो देखेर दंग पर्ने विश्वास जंगमलाई थियो । त्यसैले उसले छोरोको यादमा निर्माण गरेको सेवा केन्द्रमा निकै ध्यान दिएको थियो ।

यसरी सधैं सेवा केन्द्रका कोठाहरू नियाल्दा उसलाई छोरो एक दिन फर्किन्छ भन्ने विश्वासले झक्झक्याइरहन्थ्यो । तर, पिता न हो बेलाबेला छोरो कहाँ सुत्यो होला भन्ने पीरले निकै गिजोल्थ्यो पनि । त्यसैले ऊ ओछ्यानबिनै भुइँमै सुत्ने गर्थ्यो । छोरोले के खायो होला भन्ने पीर लिएर ऊ आधा पेटै बस्थ्यो ।

आफ्नो सन्तानलाई झैं रेखदेख गर्न भनी खोलेको सेवा केन्द्रमा बस्ने कसैले एक पित्को पनि दुःख नभोगून् भन्ने जंगमको मनसाय थियो । घरको मूलढोकामा मिलन सेवा केन्द्रको बोर्ड थियो । घर चारैतिर पर्खालले घेरिएको कुनै आश्रम हो भन्ने प्रतीत हुन्थ्यो । आँगनमा दुबोघाँस राम्रैसँग मौलाएको थियो । मौसमी फूलहरू फक्रिरहेका थिए । लाग्थ्यो, यो कुनै बगान हो । घाम ताप्दै जंगमकी श्रीमती बाहिर बसेकी थिई । ऊ घरी घरका भित्तातिर नजर डुलाइरहेकी हुन्थी घरी मूल ढोकातिर । छोरो बेपत्ता भएदेखि उसले होस गुमाएकी थिई । उसको मनमा के चलिरहेको छ, कसैले बुझ्दैनथ्यो । सन्तान हराएकी आमाको पीडा र अवस्था जो कसैले पनि राम्रोसँग बुझ्छ । मिलनकी आमाको पनि उस्तै हाल थियो ।

जंगम काममै व्यस्त थियो । छोरोको नाममा केही गर्न लागेकोमा ऊ भित्रैदेखि खुसी थियो, तर उसको मनमा भने बेपत्ताको खोजीमा सरकारी संयन्त्रले सही ढंगले काम गरिरहेको छैन भन्ने विषय बिझाइरहेको थियो । सरकारले बेपत्ताका परिवारलाई ढिलासुस्ती गर्नुका साथै पीडाको भुमरीमा समेत बेरिदिएझैं लाग्थ्यो । ऊ सोच्थ्यो, ‘यो देशमा मजस्ता हजारांैं बाबुहरूको हालत यस्तै होला कि ?’ सम्झेरै उसको मन कटक्क खान्थ्यो !

केन्द्रमा आश्रय लिइरहेका नौजवानहरू आँगनमा घाम तापिरहेका थिए । जंगमको नजर उनीहरूमा पर्‍यो । उनीहरू आफ्नै हाउभाउमा मस्त देखिन्थे । हिजो मात्रै केन्द्रमा ल्याइएका ती सबै उसको छोराका उमेरका थिए । सबैको मानसिक अवस्था ठीक थिएन । ‘यिनीहरूका बाबुआमा को होलान् ? के मैलेजस्तै यिनीहरूका बाबुआमाले पनि यिनलाई खोजिरहेका होलान् ? यिनका बाबुआमासँग अब भेट होला कि नहोला ?’ उसको मनमा एक्कासि धेरै प्रश्न बल्झिए ।

प्रश्नसँगै उसलाई फेरि छोराको याद आयो ।

...

‘यो हाम्रो खानदानको पहिलो सरकारी मान्छे हुनेछ,’ हुर्किंदै गएको छोरो मिलन देखेर जंगम भन्थ्यो । छोरो भविष्यमा ठूलै मान्छे बन्छ भन्नेमा उसलाई विश्वास थियो । छोरोलाई सरकारी जागिरे बनाउने उसको ठूलो धोको थियो । जंगम गाउँको धनी परिवारको मान्छे ! र, पढे–लेखेको पनि भएकाले गाउँलेहरू उसलाई सम्मान गर्थे । पढेर पनि उसले सरकारी जागिरचाहिँ गरेन । आफ्नो त्यही कमी उसले छोरोबाट पूरा गर्ने रहर पालेको थियो ।

‘म पुलिस बन्छु,’ मिलनलाई कसैले के बन्छौ भनेर सोध्यो भने ऊ तोतेबोलीमा जवाफ दिन्थ्यो । छोरोको जवाफ सुनेर जंगम मख्ख पर्थ्यो ।

उसो त मिलनको जन्मसँगै जंगमको घरमा आशाको फूल फक्रिन थालेको थियो । बिहे भएको झन्डै आठ वर्षपछि जंगमकी श्रीमती दुई जीउकी भएकी थिई । त्यसबेला सबैभन्दा धेरै खुसी उसकी श्रीमती भएकी थिई । किनकि त्यो आठ वर्ष उसले धम्की, डर र सौता थपिने भय झेल्नुपरेको थियो । झन्डैझन्डै मानसिक तनाव नै झेल्नुपरेको थियो, जसबाट उसले अब मुिक्त पाएकी थिई । मुक्तिसँगै उसले घरमा स्थायी बुहारीको दर्जा पनि पाएकी थिई । त्यसैले पनि ऊ खुसी थिई ।

खुसीसँगै हुर्कियो मिलन । भन्छन् नि– सबैको लाडप्यारले हुँर्किदै गएको एक मात्र सन्तान मात्तिन्छ । मिलनमा पनि त्यही नियम लागू भइदियो । गाउँ डुल्ने र स्कुलबाट भाग्ने उसको बानी भयो । आफूभन्दा कमजोरलाई दुःख दिने अनि हातपातसमेत गर्ने भयो । त्यही बानी र बा–आमाले गरिदिएको नजरअन्दाजले मिलन बिग्रियो । गाउँमा मिलनलाई धेरैले राम्रो मन्दैनथे । ‘अब, प्लस टु पढ्न तँ धुलिखेल जा,’ छोरोको एसएलसीको रिजल्टपछि जंगमले भन्यो ।

मिलनलाई बाबुको त्यो प्रस्ताव चित्त बुझेको थिएन । उसलाई त्यसअगाडि पढ्न मन थिएन । पढाइमा मन लगाउनु उसको बसको विषय होइन भन्ने उसले राम्रोसँग बुझेको थियो । तर, बाबुको अघिल्तिर ऊ चुपचाप बसेर मौन स्वीकृति दिइरहेको थियो, जसले मिलनलाई भित्रैदेखि औडाहा भएर पोल्नुको साथै रिङ्ग्याइरहेको थियो ।

आमाको मनमा चाहिँ छोरोलाई आफ्नो आँखाबाट कसरी टाढा राख्ने भन्ने चिन्ताले छोपेको थियो । पातलो ज्यान, हँसिलो अनुहारको छोरो ऊसँग एक रात पनि टाढिएर बसेको थिएन । तर, जंगमको अघि उसको पनि केही चल्दैनथ्यो । त्यसैले चुपचाप स्विकार्नुबाहेक ऊसँग अर्को उपाय थिएन । बाबुको एकतर्फी निर्णय अनुसरण गर्दै मिलन धुलिखेल पुग्यो ।

...

‘तिम्रो छोरो सुराकी हो, उसले हाम्रो सुराकी गर्छ भन्ने हामीलाई थाहा छ । तिम्रो परिवारले यो गाउँमा गरेको ज्यादती र हैकमको अब एकएक हिसाब हुन्छ,’ जंगमलाई उसैको घरमा हुर्मत लिँदै यस्तो भनियो । सुन्नासाथ उसलाई बारुलाको झुन्डले चिलेझैं भयो । आङ डम्म फुलेझैं लाग्यो ।

घर हतियारधारीले घेरिएको थियो । आँगनमा कुर्लिंदै कमान्डर जंगमको हंस उडाइरहेको थियो । यस्तो लाग्थ्यो, ऊ कुनै दुस्मनी साधिरहेको छ । उसो त बेलाबेला जंगमले उनीहरूलाई चन्दासमेत दिँदै आएको थियो । तर, आज किन यस्तो भयंकर आरोप लगाइरहेछ ! उसले भेउ पाएको थिएन । धम्कीले जंगम अन्योल र विस्मयबीच घेरिएको थियो । ‘यो आरोप सोह्रैआना असत्य हो । मेरो छोरो धुलिखेल पढ्न बसेको हो । उसले तपाईंहरूको महान् कार्यमा कुनै किसिमको बाधा पुर्‍याउने काम गरेको छैन,’ उसले छोरो निर्दोष भएको प्रस्ट्याउन खोज्यो ।

छोरोको नाम सुराकीमा दरिएपछि जंगमको हंसले ठाउँ छाड्यो । बेकसुर छोरोलाई यसरी अपराधी बनाउँदा उसको मनमा चिसो पस्यो । यतिबेला मिलनलाई बेकार धुलिखेल पढ्न पठाएछु भन्ने उसलाई लाग्यो । र, मनमनै आफैंलाई धिक्कार्‍यो ।

‘तपाईं यसरी पन्छिन पाउनुहुन्न । यो गाउँमा उसले गरेको उपद्रोसँग जोकोही जानकार छन् । गाउँलेलाई गरेको दुर्व्यवहार हामीलाई थाहा छ । तपाईंको छोरो मिलनलाई भोलि नै गाउँमा झिकाउनुस् । ऊसँग हामीले अरू कुरा पनि बुझ्नु छ,’ बोल्नेको मुखमुद्रा रौद्र थियो । घरीघरी ऊ जंगमतिर औंला पनि तेर्स्याइरहेको थियो । त्यसअघि गाउँमा जंगमलाई कसैले औंला तेर्स्याउन सकेको थिएन । सदियौंदेखि गाउँमा हैकम चलाउँदै आएको परिवारको सन्तान थियो जंगम । यसबेला भने समय र परिस्थिति बदलिएको थियो । त्यसैले ऊ निरीह उभिइरह्यो ।

‘भोलि तपाईंको छोरा आएन भने परिणाम नराम्रो हुनेछ,’ चेतावनी गर्जिएसरि जंगमको कानमा पस्यो । सुनेर उसको शरीरका नसानसा झनझनाए । डर, संकोच र अन्योलले एकैपटक छोपेझैं लाग्यो । झन्डै रिँगटा लागेर ढल्लाझैं भएको थियो, तर उसले आफूलाई सम्हाल्यो । किनकि आफू कमजोर हुनु भनेको छोरोलाई कमजोर बनाउनु हो । भोलि केही तलमाथि हुनु हो ।

छापामारहरू चेतावनी दिएर गइसकेका थिए । घरमा चाहिँ रुवाबासी चलिसकेको थियो । मिलनकी आमा सुकसुकाउँदै बेहोसझैं घरको ढोकामा अडेस लगाएर थुचुक्क बसेकी थिई । अर्धचेत अवस्थामा उसलाई देखेर जंगमको होस

उड्यो । कतै यो पीरले बूढी बिरामी पो परी कि भन्ने पीरले गाँज्यो । हत्त न पत्त उसले श्रीमतीलाई पानी छम्कियो । ‘मेरो छोरोलाई केही हुनु हुँदैन,’ श्रीमती बर्बराइरहेकी थिई । उसको चेत हराइसकेको थियो । जंगमलाई चाहिँ अब के गरौं कसो गरौं भएर आयो । छोरो झिकाऊँ कि नझिकाऊँ भयो । यता श्रीमतीको यो हालत थियो । उसको सुझबुझले केही काम गरेन ।

...

भोलिपल्ट मिलन आफैं घरको आँगनमा देखापर्‍यो । अचानक छोरोलाई देखेर जंगम जिल्ल पर्‍यो । प्रायःजसो मिलन यसै गरी बिनाखबर घर आइपुग्थ्यो । खबरै नगरी आएकाले जंगमभित्र सन्त्रासले डेरा जमायो । हिजो आएका माओवादीले दिएको धम्की सम्झिएर शीतांग भयो । एक मन छोरोसँग रीस पनि उठ्यो, तर केही बोलेन ।

मिलनकी आमा ओछ्यान परेकी थिई । हिजोदेखि केही नखाएकी र अनिदो भएकीले आँखा धसिएका थिए । कमजोर देखिएकी थिई । छोरोलाई आँखासामु देखेर उसको आँखा रसायो । मनभित्रको खुसी अभिव्यक्त गर्ने सामर्थ्य पनि थिएन, यति धेरै कमजोर थिई ।

आमा–छोराको भेटले घरमा अनौठो वातावरण सिर्जना गरेको थियो । वर्षौंपछि आमा–छोरा भेटिएझैं लाग्थ्यो । यो दृश्य देखेर छिमेकीहरूका समेत आँखा रसाइसकेका थिए । तर, यता जंगमको मनमा भने ढ्याङ्ग्रो बज्न थालेको थियो । हिजै धम्की दिएर गएको छ, यो किन आएको होला ! ऊ मनमनै मिलनसँग रिसाइरहेको थियो । उता आमा–छोराको मिलनले उसको मन भक्कानिएलाझैं भइरहेको थियो ।

‘मिलनको घर यही हो ?’ बाहिर कोही बोलेको सुनियो ।

‘हो,’ भित्रैबाट मिलन बोल्यो । कसले सोधेको भन्ने भेउ नै नपाई ऊ बोलेको थियो । बोलाउनेको आवाजमा कुनै रोष वा दम्भ थिएन ।

‘बाहिर आउनुस् त ।’

जंगमको मन आत्तियो । पक्कै पनि उनीहरू आए भन्ने उसले अनुमान लगायो । अनुमानसँगै जंगमले अब के हुने हो भनेर सोच्यो । सोच्दासोच्दै उसले मिलनलाई रोक्न खोज्यो । तर, मिलन घरबाहिर निस्किसकेको थियो ।

बाहिर कम्ब्याक्ट ड्रेसमा हतियारधारीले चारैतिरबाट घर घेरिसकेको थियो । यो देखेर जंगम भय र द्विविधाले गलेजस्तै भयो । अनिष्टको शंकाले उसलाई

रिङ्ग्यायो । एक्कासि उसले भगवान्लाई मनमनै पुकारा गर्‍यो, ‘हे भगवान् ! रक्षा गर ।’

‘मिलन भन्ने मान्छे को हो ?’ एउटाले कडा स्वभावमा सोध्यो । मानौं हुकुम गर्जिरहेको होस् । यो प्रश्नले सबैको अनुहारमा औंसी छायो । अब के हुने हो– को भय सबैको मनमा गड्यो । त्योभन्दा बढी जंगमको अनुहारमा बादल छायो । निमेषभरमै उसको नौनाडी गलेर आयो ।

‘म हुँ,’ मिलन अघि सरेर बोल्यो ।

बोली भुइँमा खस्न नपाउँदै उसलाई कम्ब्याक्ट ड्रेसधारीले झ्यापझुप्प समाते, कुनै अपराधीलाई झैं । केहीले उसलाई हतियार पनि तेर्स्याए । यो अचानकको घटनाले सबैको होस उड्यो । आँगनमा लुगलुग कापिरहेको अवस्थामा सबै उभिएका थिए । मिलनले सोच्ने मौका पनि पाएन, आखिर के भइरहेको छ ! ऊ कालोनीलो भयो ।

‘मिलनको नाम माओवादीको लिस्टमा छ । ऊ यो गाउँको युवाहरूको नाइके हो । उसले युवाहरूको समूह बनाएर चन्दा आतंक मच्चाएको छ । हामीलाई यस्तै सूचना प्राप्त भएको छ,’ टोली नेताले भन्यो ।

बल्ल सबैले बुझे, यी माओवादी नभएर नेपाली सेना हुन् । तर, उनीहरूको यो कुरा सुनेर जंगम र उसका छिमेकी तीनछक परे । मिलनको चेतना पनि जिल खायो । हुँदै नभएको आरोप उसलाई लगाइएको थियो । यो आरोप निराधार थियो । यसमा कुनै सत्यता थिएन ।

जंगम र उसका छिमेकीले सेनालाई मिलनबारे राम्रोसँग सम्झाउने कोसिस गरे । मिलन धुलिखेल बसेर पढिरहेको सुनाए । उनीहरूको कुरा सेनाले मान्ने छाँटकाँट देखिएन । सेना एकोहोरो आदेशको पालना गर्ने मनसायमा थिए । उल्टै सेनासँग भएको माओवादीको सानो डायरी देखाएर मिलनको दोषमा सत्यता रहेको पुष्ट्याइँ गरे ।

अन्ततः उनीहरूले मिलनलाई पाता कसेर लगे ।

छोरोलाई सेनाले लगेको हेरेर बस्नुबाहेक जंगमसँग कुनै उपाय रहेन । अमिलो मन लिएर छोरो ओझेल नपरुन्जेल उसले घरको आँगनबाट हेरिरह्यो । ओझेल परेपछि उसले जिल्लामा आफ्ना मान्छेलाई सम्झियो । भोलि बिहानै जिल्ला पुगेर सबै घटना सुनाउने र आफ्नो छोरो निर्दोष रहेको कुरा जाहेर गर्ने विचार बनायो ।

...

‘तपाईंको छोरो हिजै छुटिसकेको छ । उसको बारेमा गलत रिपोर्ट परेको रहेछ । त्यसैले हामीले उसलाई हिजो दिउँसै छाडिदियौं,’ भोलिपल्ट ब्यारेकमा पुगेर सोधपुछ गर्दा पाएको जवाफले ऊ अक्क न बक्क भयो । आफूले सुनेको कुरामा पनि विश्वास भइरहेको थिएन ।

‘मेरो छोरो घर पुगेको छैन,’ उसको बेचैनी बढ्न थालेको थियो । छोरोको कुनै अत्तोपत्तो थिएन । हिजो आफ्नै आँखाअघिल्तिर पाता कसेर लगेकाले नै ‘हामीसँग छैन’ भन्दा उसको मनमा चिसो पस्यो । कतै छोरालाई यिनीहरूले बेपत्ता त पारेनन् ! उसको मन डरायो । उसले छोराको वास्तविक अवस्था बताइदिन अनुनयविनय गर्‍यो । तर, त्यो सिपाहीले मिलनलाई हिजै छाडिदिएको प्रमाणसमेत देखाइरहेको थियो ।

ब्यारेकबाट निस्कँदा व्यथित नै भए पनि जंगमको मनमा आशा पलाएको थियो । ऊ छोराको कोठासम्म पुग्यो । तर, मिलन त्यहाँ पुगेकै थिएन । उसले छोराका साथीहरूलाई भेट्यो, इस्टमित्रलाई खबर गर्‍यो । काठमाडौंतिर बरालिन आएको छ कि भनेर हरेक सम्पर्क सूत्रहरूको प्रयोग गर्‍यो । तर अहँ, कतै पनि मिलन पुगेको थिएन । न त कसैले उसलाई देखेकै थियो । ऊ बेपत्ता थियो ।

...

त्यही दिनदेखि उसको एक मात्र काम थियो– छोरोको खोजी गर्नु !

अर्धचेत श्रीमतीको स्याहार गर्दै ऊ बेपत्ता छोरोको खोजीमा दिनहुँ भौंतारियो । बेपत्ता छोरोको फोटोसहितको पर्चा कति बाँड्यो कति ! रेडियोमा सूचना प्रसारण गर्ने र पत्रिकामा सूचना छाप्ने काम धेरैपटक गर्‍यो । गाउँ, सहर चाहार्‍यो । तर, छोरो फेलापरेन । ‘छोरोको अब आस नगर,’ केहीले उसलाई भन्ने गर्थे । बेपत्ताहरू मारिएका केही उदाहरण पनि दिन्थे । यो सुन्दा जंगमको मनमा भुइँचालो जान्थ्यो । शरीर शीतांग भएर आउँथ्यो । झन्डै जिउँदो लासझैं हुन पुग्थ्यो ।

छोरो बेपत्ता भएपछि खोज्नुपर्ने र सोध्नुपर्ने कुनै ठाउँ उसले बाँकी राखेन । तर, ऊभित्र कहिल्यै निराशाले डेरा जमाएन । उसले सधैं आशाको दियो बालिरह्यो र छोरोको खोजी गरिरह्यो । उसलाई विश्वास थियो, छोरो एक दिन फेलापर्नेछ ! किनभने छोरो छुटेको विश्वास उसलाई ब्यारेकले दिलाएको थियो ।

मिलनलाई चियापसलमा झोक्राएको अवस्थामा त्यही साँझ देखेको केहीले बताएका पनि थिए । यस्तै अपुष्ट खबरले पनि ऊभित्र विश्वास दह्रो बनेको थियो ।

...

छोरो सम्झिँदा जंगमले आँसु झरेको पत्तै पाएन । दृश्यको टिलपिल आँखाले उसको मन पनि रुझेको छ भन्ने ज्ञात हुन्थ्यो । जब उसले आँखा रसाएको थाहा पायो, ऊ बरन्डाको कुर्सीमा बसेको थियो । बेपत्ता छोरोको यादले पिरोलेकोमा भन्दा पनि उसलाई यतिबेला श्रीमतीको पीडाले सतायो । सधैं एकोहोरो बाटोतिर आँखा लगाइरहने उसकी श्रीमतीको मनोदशाले उसलाई बेलाबेला भित्रैदेखि पीडा थपिदिन्थ्यो ।

‘बाबुहरूलाई नुहाइदिएर कपाल, दाह्री काटिदिनू । मैले कपाल काट्ने हजाम यहीँ बोलाएको छु,’ जंगमले सबैको सरसफाइलाई ध्यानमा राखेर भन्यो । सेवा केन्द्रमा ल्याइएका आठै जनाको मैलो कटकटिएर छाला कालो भएको थियो । र, लामो फोहोरी दाह्रीले अनुहार पनि नचिनिने भएका थिए । उनीहरूलाई ध्यान दिएर राम्रैसँग नियाल्दा पनि वास्तविक स्वरूप कस्तो होला भनेर अनुमान लगाउन गाह्रो थियो । त्यसैले जंगमले उनीहरूलाई नुहाइदिएर, कपाल, दाह्री काटिदिएर सफा र चिटिक्क बनाउने सोच्यो ।

घाम चर्को लागेको थियो, तर हिउँदयाम भएकाले घामको आवश्यकता सबैले महसुस गरेका थिए । घाम ताप्दै नाई पालैपालो आठै जनाको कपाल काट्न थाल्यो । नाई आफ्नो कलालाई निपुणतासाथ प्रदर्शन गर्दै थियो । उसको हात र कैंचीले जादू गरेझैं लाग्थ्यो । जिङरिंग कपाल काटेर छोटो बनाउँदा ती सबै जनाको रूपरङ नै बदलिएको र बेग्लै देखियो । त्यसपछि नाईले पालैपालो दाह्री काट्न थाल्यो । त्यतिबेला पनि उसको कला प्रदर्शन भइरहेकै थियो ।

हेर्दाहेर्दै जंगमले अलि परको कुर्सीमा बसेर नाईको क्रियाकलाप चुपचाप नियालिरहेकी श्रीमतीको आँखामा त्यसअघि कहिल्यै नदेखिएको अनौठो किसिमको चमक ठम्यायो । उसको अनुहारमा खुसीका रेखा चलमलाउन थाले ।

धेरैपछि श्रीमतीको उज्यालो अनुहार देखेर जंगम दंग पर्‍यो । उज्यालिएको अनुहारसँगै बिस्तारै उसका ओठ पनि मुस्कानले भरिएलाझैं भए । श्रीमतीको अनुहारको उज्यालो आफ्नो आँखामा टाँसेर जंगम पनि रूपरङ फेरिएका नौजवान पाहुनाहरूतिर हेर्न थाल्यो । हेर्दाहेर्दै यो के भयो, उसका आँखा कतै टक्क अडिए । उसको मुटुको धड्कन बढ्न थाल्यो । एउटा चामत्कारिक अनुभूति उसको चेतना हुँदै आँखासम्म आएर छरियो । त्यसको आलोकमा उसका आँखा तिर्मिराए । एक्कासि उसलाई सपनामा कुनै उज्यालो मुस्लोतिर यात्रा गरिरहेजस्तो अनुभव भयो ।

हेर्न नसकेर जंगमले आफ्ना दुवै आँखा बलियोसित चिम्म गर्‍यो । तर, आँखा चिम्लँदा यो दृश्य देख्न पाउन्नँ कि भनेझैं उसले तत्काल आँखा खोलिहाल्यो । अब उसका आँखा भिजिसकेका थिए । ‘हे भगवान् के यो सत्य हो ? यो सपना त होइन नि !’ काँपेको स्वरमा जंगम बर्बरायो ।

उसका आँखा त्यही युवकमा अडिएका थिए, जसलाई जंगमले तीनदोबाटोमा झुत्रे र मैलो आकृतिमा फोहोर बटुलिरहेको देखेको थियो ।

त्यो युवक उसले देखेजस्तो चिल्थो कपडा, लामो र फोहोरी कपाल, दाह्रीमा थिएन । उसले आफ्नो चोला पूरै बदलेको थियो । हो यो त्यही युवक थियो, जसको चालढाल देख्दा उसलाई त्यो पूर्वपरिचितजस्तो लागेको पनि थियो । तर, बस चढ्ने हतारमा त्यो आभास पानीको फोकाझैं तत्काल बिलाएर गएको थियो । जंगमलाई एक्कासि पछुतो लागेर आयो । हो, यो मिलन नै थियो । बेपत्ता भएको उसको छोरा, जसको खोजीमा ऊ बीसौं वर्ष भौंतारिएको थियो !

जंगमका आँखा निरन्तर बगिरहेका थिए । आँसुको ऐनामा ऊ सफाचट अनि सुकिलो अनुहारमा बसेको छोराको प्रतिविम्ब बोकेर बिनाहलचल बसिरहेको थियो । यसरी मानौं, कतै आँसुको पोखरी छचल्किएर छोराको आकृति नबिलाइजाओस् । बीस वर्षदेखि मौन रहेकी श्रीमतीचाहिँ अकस्मात् उर्लंदो बाढीजस्तै गर्जिंदै छोरालाई अँगालो हाल्न पुगिसकेकी थिई । ऊ जोड–जोडले रुँदै थिई । अब स्थिर हुने पालोचाहिँ जंगमको थियो । ऊ भक्कानिनसमेत सकिरहेको थिएन ।

प्रकाशित : कार्तिक १३, २०७८ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?