दुई शताब्दी पुरानो बजार- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कोसेली

दुई शताब्दी पुरानो बजार

असनमा मानिसहरु बजार देख्छन्, बजारमा पसल, पसलमा भीड र भीडमा मानिस देख्छन् । तर, पसल–पसलमा च्यापिएर बसेको इतिहास देख्दैनन् । असन एक व्यस्त बजार हो, जो कम्तीमा २०० वर्षदेखि निरन्तर उपभोग्य वस्तुहरु बेचिरहेको छ–किनिरहेको छ ।
असनमा २०० वर्षअघिदेखि एक परिवारले एउटै भाँडोमा नुन राखेर बेचिरहेको छ । एक जना विदेशी नुन होइन, नुन राख्ने भाँडो किन्न आएका थिए ।
सुरेश किरण

सय वर्ष पुराना स्मारक पुरातात्त्विक सम्पदामा दर्ज हुने इतिहासको सिद्धान्तलाई मान्ने हो भने असन केवल वस्तु विनिमय गरिने बजार होइन, एक पुरातात्त्विक सम्पदा पनि हो । बजार आफैं सम्पदामा रूपान्तरित भइसकेको कुनै थलो नेपालमा छ भने त्यो असन हो । असन अहिले पसल, डबली, मन्दिर, पाटी, सत्तलमा बसेर केवल बजार चलाइरहेको छैन, काठमाडौं उपत्यकाको शताब्दियौं पुरानो आर्थिक–सामाजिक इतिहासको कथा पनि बताइरहेको छ । एकफेर असनमा बेच्न राखिएका सामान होइन, ती सामान बेच्ने असनको इतिहासतिर फर्किहेरौं ।

यतिबेला असनलाई तिहार लागेको छ । असनको मुख्य चोकसम्म पुग्ने सातवटै नाकामा ‘सवारी प्रवेश निषेध’ लेखेर ट्राफिक तगारो तेर्स्याइएको छ । प्रत्येक वर्ष दसैं–तिहारका विशेष दिन असनमा ‘सवारी निषेध’ हुन्छ । चाडपर्व छिरेपछि असनमा मान्छे त छिर्न सक्दैनन्, सवारी कसरी छिराउने ?

दसैं–तिहारजस्ता ठूला चाडपर्व सबैभन्दा पहिले असन छिर्छन्, त्यसपछि मात्रै मान्छेका घर पस्छन् । यी चाडपर्वलाई चाहिने जम्मै सामान असनमै पाइन्छ ।

मान्छेका घर–घरमा चाडपर्व पुर्‍याउने दायित्व असनले अहिलेदेखि होइन, सयौं वर्षदेखि बोकिरहेको छ । उपत्यका वरिपरिका गाउँ–बस्तीका मानिस चाडपर्वकै बेला काठमाडौं आउँथे । पहिले–पहिले विशेष गरी इन्द्रजात्राका बेला उपत्यकाबाहिरका मानिस काठमाडौं आउने गर्थे । काठमाडौं आएर उनीहरू एक/दुई दिन जात्रा हेर्थे, र फर्किंदा दसैंका लागि चाहिने माल–सामानहरू किनेर लैजान्थे ।

असनका स्थानीय वीरेन्द्र तुलाधर (६८) को पसल ६ पुस्ता पुरानो हो । तुलाधरका अनुसार, पहिले–पहिले असनमा इन्द्रजात्रादेखि मात्रै बजार सुरु हुन्थ्यो । इन्द्रजात्रादेखि सुरु हुने यो बजारको घुइँचो तिहार नसकुन्जेलसम्मै जारी रहन्थ्यो । उतिबेला इन्द्रजात्रा हेर्न टोखा, साँखु, थिमि, भक्तपुर, कीर्तिपुर, ललितपुरदेखिका मानिस आउँथे । जात्रा सकिएपछि असन आएर दसैंका मरमसला, तेल, घ्यू, जिरा, मरीच, नुन, सख्खर आदि/इत्यादि किनेर घर फिर्थे । त्यही सामानले मानिसहरू कम्तीमा ६ महिना काम चलाउँथे ।

अहिले जात्रै हेर्नका लागि भनेर टाढा–टाढाबाट असन आउने मानिस घटिसकेका छन्, तर चाडपर्वमा लाग्ने असनको घुइँचो घटेको छैन, घुइँचो झन् बढ्दो छ ।

दुई शताब्दीभन्दा पनि पहिलेदेखि असनमा चल्दै आइरहेका केही पसलमध्ये एक हो– वीरेन्द्र तुलाधरको पसल । असन चोकबाट केलटोल जाने बाटो सुरु हुनेबित्तिकै दाहिनेतिर लहरै खोलिएका चारवटा मसला पसलमध्ये एउटा तुलाधरको हो । तुलाधरलाई थाहा भएअनुसार, यस पसलमा उनका हजुरबुबाका पनि बुबा तेजवीरसिंह तुलाधर बस्ने गर्थे । त्यसपछि उनका छोरा जोगवीरसिंह तुलाधर बस्न थाले, त्यसपछि उनका पनि छोरा रत्नवीरसिंह तुलाधर बसे । अहिले रत्नवीरका छोरा वीरेन्द्र तुलाधर पसल थामिरहेका छन् । तर, पसल चलाउने काम भने वीरेन्द्रका पनि छोरा सुविन्द्र तुलाधर (३२ वर्ष) ले गरिरहेका छन् । हजुरबुबाका पनि बुबा तेजवीरको मात्रै नाम थाहा भए पनि यो पसल तेजवीरभन्दा पहिले नै खुलिसकेको थियो भनेर आफूले सुनेको तुलाधर बताउँछन् । यसरी यो पसल प्रमाणसमेत खुल्ने गरी अहिले छैटौं पुस्ताले सञ्चालन गरिरहेको छ ।

तुलाधरको यस पसलमा पहिले–पहिले विक्री हुने सामानहरू विशेष गरी जडीबुटीबाट बनेका विभिन्न औषधि, पाचक, नरिवल, छोकडा, काजु आदि थिए । औषधिहरूमा पनि विशेष गरी पेट सेतो पलादी, घोटी, अग्नि कुमार आदि प्रमुख थिए । यी औषधि पसलेको घरमै विभिन्न जडीबुटी पिँधेर बनाइन्थ्यो । बिस्तारै बजारमा धमाधम एलोपेथिक औषधिहरू भित्रिन थाले र असनका पसलमा राखिएका यी अर्गानिक औषधिका बिक्री घट्न थाल्यो । त्यसैले पसलमा पनि यस्ता औषधिको मात्रा घट्दै जान थाल्यो । र, काजु, छोकडा, बदाम आदि मसलाको मात्रा बढ्दै जान थाल्यो । अहिले तुलाधरको यो पसल मसला–पसलमा बदलिएको छ ।

पसल बदलिए पनि केही मानिस अझै सेतो पलादी, अग्नि कुमार किन्न आउँछन् । पसलका चीजबीज नै फेरिइसक्दा पनि ग्राहक फेरिएका छैनन् । तिनै ग्राहकलाई चाहिन्छ भनेर तुलाधरले पसलमा ती पुराना औषधि बेच्न राखेकै छन् । तर, ती औषधि पहिलेझैं घरमै पिँधेर बनाइँदैन, बजारबाट थोकमा किनेर यहाँ खुद्रामा बेचिन्छ । तर, यसले पसलको शताब्दी पुरानो गन्धलाई जीवितै राखेको छ ।

वीरेन्द्र तुलाधरको पसल सामुन्नेको विदेहवीरसिंह तुलाधर (४१) को अर्को पसल पनि पहिले वैद्य (औषधि) कै पसल थियो । उहिले यो पसलमा विभिन्न प्रकारका औषधि र जडीबुटी पोको–पोको पारेर दलिनमा झुन्ड्याएर राखिएको हुन्थ्यो । पोकोमा कुनै नाम लेखिएको हुँदैनथ्यो, तर कुन पोकोमा के छ भन्ने पसलेलाई कण्ठै हुन्थ्यो । ‘तर पछि पसलमा बस्नेहरूलाई ती औषधिको नाम, त्यसको काम र त्यो बनाउने मात्राबारे जानकारी हुन छोड्यो, त्यसैले पसलमा त्यस्ता सामान बेच्न पनि छोडियो,’ विदेहवीरसिंह तुलाधर भन्छन् ।

अहिले उनको पसल धूप, बत्ती र मसलाको बनेको छ । विदेहलाई थाहा भएअनुसार, यस पसलमा कुनै बेला उनका हजुरबुबाका पनि बुबा बाबुकाजी तुलाधर बस्ने गर्थे । तथापि पसल बाबुकाजीभन्दा पनि पुरानो हो भन्ने उनले पनि सुनेका छन् । बाबुकाजीपछि दानवीरसिंह तुलाधर पसलमा बस्न थाले, जो प्रसिद्ध सितारवादक तारावीरसिंह तुलाधरका पनि बुबा हुन् । दानवीरपछि चित्तवीर र चित्तवीरपछि हाल विदेहवीर यो पसलमा बस्छन् ।

तुलाधरद्वयका यी पसलहरूको मुख्य काम केवल सामान बेच्ने हो । तर, परोक्षबाट हेर्ने हो भने यी पसलले सामान मात्रै बेचिरहेका छैनन्, तत्कालीन काठमाडौंको सामाजिक इतिहास पनि अहिलेका मानिसलाई बताइरहेका छन् । वीरेन्द्र तुलाधरको पसल त्यतिबेलादेखि नै स्थानीय वायुदेवता गुठीको घरमा भाडा लिएर चलाइएको थियो । तुलाधरसँगैको पसले लाल साहुले श्री वायुदेवता गुठीका गुठियार चौतरिया देवीप्रसाद शाहलाई पसलको भाडा तिरेको एउटा रसिदअनुसार, यो पसल सञ्चालनमा रहेकै १२० वर्षभन्दा बढी समय भइसकेको छ । विसं १९५७ वैशाखमा काटिएको उक्त रसिदअनुसार, उतिबेला यो पसल–कवलको भाडा प्रतिवर्ष रु. ५० रहेछ । प्रत्येक ६ महिनामा एक पटक रु. २५ तिर्ने व्यवस्था गरिएको थियो ।

लाल साहुले चौतरिया देवीप्रसाद शाहलाई १२० वर्षअघि पसलको भाडा तिरेको रसिद ।

उबेला काठमाडौंको न्युरोडमा पनि स्थानीय मानिसको घरमा पसल–कवल निकाल्ने चलन थिएन । घरको छिँडीलाई पसल बनाएर व्यावसायिक काममा प्रयोग गर्ने चलन असनमै मात्र थियो । त्यसैले असनमा छिँडी–कोठाको पनि ‘मार्केट भ्याल्यु’ हुन्थ्यो । अरू ठाउँमा छिँडीमा पराल, दाउरा भण्डारण गरिन्थ्यो वा ढिकी चलाइन्थ्यो । तर, असनका छिँडी–कोठामा सामान बिक्री वितरण हुन्थ्यो । काठमाडौंमा घरको कोठा वा पसल भाडामा दिने चलन उतिबेला खासै थिएन । त्यसको सट्टा कसैलाई चाहिए घरको छिँडी–कोठा पूरै नामसारी गरेर बेच्ने चलन थियो । वीरेन्द्र तुलाधरलाई सम्झना भएअनुसार, त्यस्ता पसल–कवलको आकार हेरी प्रति–कवल पाँच हजारदेखि पन्ध्र हजार रुपैयाँसम्ममा बिक्री हुन्थ्यो । त्यसैले असनमा अहिले पनि त्यस्ता घर प्रशस्त छन्, जहाँ छिँडीको पसल एउटा मान्छेको, माथिल्लो तल्ला अर्को मान्छेको र त्योभन्दा पनि माथिको तल्ला फेरि अर्कै मान्छेको नाममा हुन्छ । कतिपय ठाउँमा त एउटै घरको फरक तलामा जान भर्‍याङसमेत छुट्टाछुट्टै राखिएका हुन्छन् । तल्लैपिछे फरक मान्छेका नाममा रहेका यस्ता घर असनबाहेक असन टोलसँगैको बालकुमारी, केलटोल र इन्द्रचोकमा पनि छन् ।

पहिले–पहिले त समस्या थिएन, असनको महत्त्व बढ्दै गएपछि त्यस्ता घर फेरि बनाउनुपर्दा अहिले घरका कोठा–धनी र पसल–धनीबीच मारामार पर्ने गरेको सुनाउँछन् असन वडा नं. २७ का वडाअध्यक्ष चिनियाँमान वज्राचार्य । उनका अनुसार, यही समस्याले अहिले असनका कतिपय घर पुरानो भइसक्दा पनि फेरि निर्माण गर्न नसकिने अवस्था छ ।

असन र यसवरिपरिका घरका तलाहरू नै एकअर्कालाई बेच्ने त्यो चलन अहिले आधुनिक युगमा चलेको अपार्टमेन्ट प्रणालीसँग मेल खान्छ । काठमाडौंमा अपार्टमेन्ट प्रणाली भर्खरै सुरु भएको छ, त्यो पनि विदेशीको नक्कल गरेर ! तर, असनमा भने हाल आधुनिक मानिएको अपार्टमेन्ट किनबेचजस्तै तल्ला किन्ने चलन सय वर्षअघि नै प्रचलनमा आइसकेको थियो ।

भोटाहिटी (अहिले साझाको भवन रहेको ठाउँ) मा अन्नपूर्णको द्यःछें (देव घर) छ । त्यस देव घरबाहिरको पाटीमा अहिले पसल राखिएको छ । पहिले त्यो खुला ठाउँ थियो, त्यहाँ समयमै घर पुग्न नपाएका व्यापारी र बटुवाहरू एक रातका लागि बास बस्थे । अहिले भर्खरै सार्वजनिक भएको एउटा पुरानो तस्बिरमा साझा भवनको सामुन्ने एउटा पाटीसमेत देखिन्छ । यातायातको तीव्र विकासले अहिले कुबेला घर पुगिएला भन्ने डर रहेन । असनलगायत काठमाडौंका विभिन्न ठाउँमा बनाइएका धेरै पाटी र सत्तल अहिले पसल–कवलमा बदलिएका छन् । त्यसमाथि असन त अहिले त्यस्तो ठाउँ बनिसकेको छ, जहाँ मन्दिर, डबली, सत्तल, बाटो, पाटी जे छ ती सबै नाम मात्रैका बनेका छन्, काममा त ती सबै फरक प्रकारको ‘पसल कवल’ नै हुन् ।

असनमा उतिबेला पनि पसलहरू धेरै थिए । तर, तिनका प्रकार भने सीमित थियो । जस्तो मसला, औषधि पसल एक प्रकारको हुन्थ्यो भने चामल, चिउरा, पिठो, दाल र गेडागुडीको अर्को प्रकारको पसल हुन्थ्यो । त्यस्तै घिउ, तेल र चाकुको फेरि अर्कै पसल हुन्थ्यो । मासु पसल अलि बाहिरैपट्टि राख्ने चलन थियो, त्यसैले अहिले पनि असनमा मासु पसल छैन । भक्तपुर, ठिमीका किसानहरू तरकारी, चामल, चिउरा, गेडागुडीजस्ता स्थानीय उत्पादनका सामान बोकी एकाबिहानै हिँड्थे र हिँडेरै असन पुग्थे । ती सामान बेच्ने काठमाडौंमा असनबाहेक अर्को ठाउँ थिएन ।

असनमा चामल, दाल, चिउरा आदि बेच्ने पसल बढी मात्रामा भोटाहिटी, कमलाछी जाने बाटोतिर थियो भने घिउ, तेल, चाकु बेच्ने पसल अन्नपूर्ण मन्दिर पछाडि थियो । त्यहाँ पनि ५–६ पुस्तादेखि नै यिनै सामग्री बिक्री हुँदै आइरहेको छ । तथापि अहिले मैनबत्ती, च्युरी घिउ, प्याकेटवाला तेल आदि नयाँ सामान पनि थपिएका छन् ।

काठमाडौंको हल्चोकबाट स्थानीय पुतुवारहरू डोका र डालाभरि फूल लिएर त्यो पुरानो समयमा पनि असन नै आउँथे । असनका स्थानीय मानिस उनीहरूसँग फूल लिन्थे, त्यसबापत चामल दिएर पठाउँथे । फूल किनबेच गर्ने चलन उतिबेला थिएन ।

काठमाडौं र ल्हासा (तिब्बत) बीचको व्यापार पनि त्यतिबेला तीव्र गतिले चलिरहेको थियो । ल्हासामा व्यापार गर्ने स्थानीय नेवाः व्यापारीको मुख्य बासस्थान पनि असन र त्यही वरिपरि थियो । त्यसैले असनमा ल्हासाबाट ल्याइने सामान पनि किन्न पाइन्थ्यो । खास गरी ल्हासाबाट काठमाडौं आउने भोटेहरूले बख्खुभित्र पाँचऔंले, मुस्लीजस्ता विभिन्न हिमाली जडीबुटीहरू राखेर ल्याउँथे । उनीहरूले लिएर आउने ती औष्धि पनि असनमा किन्न पाइन्थ्यो ।

असनमा शताब्दीअघि बेचिने ती सामानहरूबाटै थाहा पाइन्छ– काठमाडौंका भान्छाहरूमा त्यस समय के पाक्थ्यो ? त्यसबेला काठमाडौंमा खाजाका रूपमा खाइने कुरा सीमित थिए । कि घिउ, चिउरा मुछेर र त्यसमा सख्खर राखेर खाइन्थ्यो !

कि रक्सीसँग चिउरा मुछेर खाइन्थ्यो । अरू खाजा भित्रिसकेको थिएन । जाडोयाममा सुपमा पिठोको डल्लो पकाएर ‘ग्वार्चा’ खाइन्थ्यो । वास्तवमा असन तत्कालीन नेपाली समाजको भान्छा र खानपिन सभ्यता पढ्न सकिने एउटा स्कुल हो । त्यो प्रतिविम्ब देखिने ऐना पनि हो ।

त्यतिबेला असनमा खासै भीड हुँदैनथ्यो । पसलेहरू बिहानै ६ बजे पसल खोल्थे । दिउँसो १२ बजेतिर खाना खान जान्थे । खाना खान जाँदा पसल बन्द गरिँदैनथ्यो । उनीहरू पसलको ढोकामा एउटा कपडा झुन्ड्याएर वा आधा खापा ढप्काएर जान्थे । खाना खाएर, एक निद्रा सुतेर पसल फर्कंदा ३–४ बज्थ्यो । त्यसपछि फेरि व्यापार सुरु हुन्थ्यो । र, राति ७–८ बजेतिर मात्रै पसल बन्द गरिन्थ्यो । दिउँसो पसल आधा खोलेर घर जाँदा पनि चोरी, लुटपाटजस्ता घटना हुँदैनथे । ढोकामा एक टुक्रा कपडा झुन्ड्याएपछि बुझिन्थ्यो– त्यो ‘लन्च ब्रेक’ को समय हो ।

त्यतिबेला बजारमा रुपैयाँ होइन, पैसा मात्रै थियो । सामान किन्न आउने ग्राहकहरू एक पैसा, दुई पैसा, पाँच पैसाका सामान किनेर फर्किन्थे । सामान पनि पैसामै पाइन्थ्यो । दिनैभर व्यापार गर्दा पनि संकलन हुने जम्मा पैसा २० देखि ३० रुपैयाँसम्म मात्रै हुन्थ्यो । पैसा बरु चाँदी, तामा वा पित्तलको ढ्याक हुन्थ्यो । दसैं, तिहारजस्ता ठूला पर्वमा दिनको ५०० देखि ६०० सम्म व्यापार हुन्थ्यो । त्यो भनेको त्यतिबेलाको निकै ठूलो कारोबार मानिन्थ्यो ।

असनका पुराना पसलहरूको सम्झना गर्दा पुरानै मान्छेहरूले सम्झिने एउटा अनौठो पसल हो– ढिके नुनको पसल । पहिले यो पसल अन्नपूर्ण देवीसँगै राखिएको थियो । अहिले त्यहाँबाट सरेर थोरै पर राख्न थालिएको छ । असनमा यो एउटा यस्तो पसल हो, जो न बन्द गर्नुपर्छ, न खोल्नुपर्छ । यो पसलमा सामानको नाममा नुन राख्ने एउटा काठको ठूलो अटल (बाटाजस्तो ठूलो भाँडो, अथः) बाहेक अरूअरू केही छैन । बन्द गर्दा कपडाले छोपेर हिँड्ने हो, खोल्ने बेला कपडा निकाल्ने हो । तर, यो पसल खुलेको कति भयो कसैलाई थाहा छैन । हाल पसल चलाइरहेका सुवर्ण श्रेष्ठ (६७) का अनुसार, यो ६ पुस्ताभन्दा पुरानो पसल हो । पहिले यो पसलमा उनका श्रीमान् बस्ने गर्थे । श्रीमान् बितेपछि उनैले पसल चलाइरहेको पनि ३० वर्ष पूरा भइसक्यो । नुन राखेर बेच्ने काठको अटल (भाँडो) नै करिब २०० वर्ष पुरानो मानिन्छ । २०० वर्ष अघिदेखि यो परिवारले एउटै भाँडोमा नुन राखेर बेचिरहेको छ । एक पटक एक जना विदेशी उनको नुन होइन, नुन राख्ने भाँडो किन्न आएका थिए । तर, एक लाख रुपैयाँसम्म दिन्छु भन्दा पनि सुवर्णले मानिनन् । किनभने त्यो केवल नुन राख्ने भाँडो थिएन, सुवर्णको सम्पूर्ण पसल थियो ।

काठमाडौंमा प्याकेटवाला ‘आयो नुन’ आएपछि ढिके नुनको चलन हटेर गएको थियो । मान्छेले ढिके नुन किन्नै छोडिसकेका थिए । तर, मान्छेले किन्नै छोडिसक्दा पनि सुवर्णको परिवारले बेच्न छोडेनन् । यो पसलप्रति उनीहरूको असाध्यै मोह थियो । तर, अहिले ढिके नुन खाने चलन फेरि बढेको छ । खास गरी उच्च रक्तचाप, मधुमेह आदि रोगलाई ढिके नुन फाप्छ भनिएकाले अहिले दिनकै चार–पाँच बोरासम्म नुन बिक्री हुने सुवर्ण बताउँछिन् । अहिले काठमाडौंमा ढिके नुन किन्न पाइने एउटै बजार असन हो । असनलाई ‘नुनदेखि सुनसम्म किन्न पाइने’ बजार जो भनिन्छ । यसमा सुवर्ण श्रेष्ठको नुन पसलको पनि ठूलो योगदान छ ।

तर, अब यो पसलको भविष्य के हुन्छ कसैलाई थाहा छैन । सुवर्णका कुनै सन्तान छैनन् । आफन्तसँग सम्पर्क छैन । त्यसैले आफूपछि यो पसल कसले हेर्छ भन्ने प्रश्नमा सुवर्णसँग कुनै जवाफ छैन ।

असन बजार कहिलेदेखि यति गुलजार बन्यो, त्यसको कुनै प्रामाणिक इतिहास पाइँदैन । किनभने यो कसैले शिलान्यास गरेर बसाएको बजार होइन, आफैं ‘उत्पत्ति’ भएको बजार हो । लिच्छविकालीन इतिहासमा पहिलेका ग्राम (गाउँ) हरू पछि ‘द्रङ्ग’ (नगर) बनेका उदाहरण प्रशस्तै छन् । जस्तो थानकोट, बलम्बु, सतुंगल, हाँडीगाउँ, देवपत्तन आदि । तिनमा असनको नाम कतै उल्लेख छैन । बरु असनसँगैको ‘कोलियग्राम’ पछि ‘द्रङ्ग’ बनेको पाइन्छ । लिच्छविकालीन कोलियग्राम नै अहिलेको केल टोल (सेतो मछिन्द्रनाथ मन्दिर क्षेत्र) मानिन्छ । उतिबेलै ‘द्रङ्ग’ बनिसकेका कतिपय बजारहरू बीचमा कता हराए, थाहा छैन । तर, असन भने जतिबेला जाग्यो, उतिबेलादेखि जागेको जाग्यै छ । बीचमा कहिल्यै जाग्न छोडेको वा हराएको इतिहास छैन असनको ।

‘हराएको छैन’ भन्नुको अर्थ बजार मात्रै होइन, ती बजारमा पाइने सामान र बजारको चरित्र पनि हो । काठमाडौंका विभिन्न ठाउँहरूमा अहिले नयाँ–नयाँ ग्लोसरी पसल खुल्न थालेका छन् । एउटा पसलमा छिरेपछि अन्त जानुपर्दैन । तर, ग्लोसरी पसलहरूको भीडले पनि असनको भीडलाई कम गर्न सकेको छैन । असनका पसलमा पनि अहिले नयाँ–नयाँ उत्पादनहरू देखा पर्न थालिसकेका छन् । समयले खोजेपछि असनले त्यो बेच्नैपर्छ । तर, ती नयाँ उत्पादनको किनबेच भने असनको आफ्नै शैलीमा हुनेगर्छ । ती उत्पादनको विनिमय चरित्र असनमा अहिले पनि त्यही छ, जसरी शताब्दी पहिले हुने गर्थ्यो । असनको बजार व्यवस्थापन र यसको व्यापारिक स्वभावले शताब्दी पहिलेको ‘फ्लेवर’ लाई अहिले पनि छोड्न सकेको छैन । यहाँ बिक्री–वितरण हुने हरेक वस्तुमा असनको गन्ध आई नै रहेको हुन्छ ।

काठमाडौंमा मल्लकालीन समयमै दोलखा भेगबाट राडीपाखी, चावर, घोडा, साँगा, भेडा, बाज, बँदेल, भोटेकुकुर, माछा, सल्लाको खोटो, बाघको छाला, कस्तुरी, पाँगा, ज्याफुस, नाम्जा, छत्रकुसा, नंबु (ऊनी कपडा), खाने तेल, ताउली (भाँडो), घ्यू, कुराउनी आदि सामान आयात हुन्थे (‘काठमाडौं उपत्यकाको मध्यकालिक आर्थिक इतिहास’, रमेश ढुंगेल, ऐश्वर्यलाल प्रधानांग ः २०५६) । तर, यी सामान काठमाडौं पसेपछि बिक्री–वितरण गरिने ठाउँचाहिँ कहाँ हो ? यसबारे कतै उल्लेख छैन । यति धेरै सामान आयात भएपछि त्यसको विनिमय हुने कुनै न कुनै स्थान पक्कै हुन्थ्यो ।

उपत्यकाले बाहिरबाट मात्रै सामान आयात गर्दैनथ्यो, आफ्नै नगरमा पनि विभिन्न सामग्री उत्पादन गर्थ्यो । कृषि उतिबेलाको प्रमुख उत्पादनको स्रोत हो । त्यसपछि धागो, कपडा, तेल, माटाका भाँडा, धातुका सामग्री आदि वस्तु यस सहरमा उत्पादन हुन्थे । ती सामग्री उत्पादन गर्ने जाति नै बेग्लाबेग्लै हुन्थे । अहिले ती जातिहरूले आफ्नो पुर्ख्यौली काम नगरे पनि उनीहरू यही सहरमा छन् र जाति पनि कायम छ । उनीहरूले उत्पादन गरेका ती सामग्री बेचबिखन गर्न मध्यकालको पूर्वाद्धदेखि नै उपत्यकाका विभिन्न ठाउँमा हाटबजारहरूको व्यवस्था गरिएको गोपाल राजवंशावलीमा उल्लेख छ । त्यस्ता हाटबजारमा स्थानीय व्यापारी मात्र होइन, कश्मीरी मुसलमान व्यापारीसमेत आफ्ना सामानहरू बेच्ने गर्दथे (उही) । त्यस्ता हाटबजारमा नुन, चामल, तेल आदि सामग्री बिक्री हुने गरेको पनि उल्लेख छ ।

मध्यकालमा काठमाडौं आएका कपुचीन पादरीहरूले काठमाडौंमा आफूहरूले तेल, मासुजस्ता सामग्री पसलबाट किनेको भनी आफ्ना केही पत्रहरूमा उल्लेख गरेका छन् । यसबाट थाहा हुन्छ– काठमाडौंमा पसल र बजारको अस्तित्व मध्यकालको पूर्वार्द्धमै थियो । तर, त्यो बजार कहाँ हरायो ? यदि त्यो बजार अहिलेसम्मै छ भने कहाँ छ ? त्यो कुन बजार हो ? यी प्रश्नमा नेपालको आर्थिक इतिहास मौन छ । सायद इतिहासको यो मौनता चिर्न असन बजारले पो केही बोलिरहेको छ कि, जो हामी सुन्न सकिरहेका छैनौं ?

प्रकाशित : कार्तिक १३, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्

जो पानीमा ‘आगो’ बालेर गए

कवि पूर्ण वैद्य भनिरहन्थे, ‘छन्द, मात्रा, अनुप्रास जम्मै जोडेर जुन शब्दहरुको थुप्रो बन्छ, यदि त्यसमा कविता नै जोड्न बिर्सिएछ भने त्यसलाई कसरी कविता भन्ने ? कवितामा छन्द नभए पनि हुन्छ, मात्रा नभए पनि हुन्छ । तर, कविताचाहिँ हुनुपर्छ ।’
पूर्ण वैद्य अन्तरमुखी थिए, कम बोल्थे । उनी कवितामा कम बोल्थे, बढी बुझाउँथे । सायद कवितामा नबोलेका धेरै कुरा उनको मनमै कतै अड्किएको हुँदो हो ।
सुरेश किरण

कवितामा अरू जम्मै छुटे पनि कविताचाहिँ छुट्नु हुन्न’, कवि पूर्ण वैद्य बरोबर भनिरहन्थे । जतिबेला पूर्ण वैद्यले नेपालभाषामा कविताको गद्यलेखन सुरु गरे त्यतिबेला यो भाषामा भएभरका कविहरूको लेखन पद्यमा हुने गर्थ्यो । छन्द, मात्रा, अनुप्रास, अन्त्यानुप्रास यी सबै जोडजाड पारेपछि मात्रै कविता बन्छ भन्ने कठोर धारणा त्यतिबेला थियो । तर, पूर्ण वैद्य प्रश्न गर्थे, ‘छन्द, मात्रा, अनुप्रास जम्मै जोडेर जुन शब्दहरूको थुप्रो बन्छ, त्यसमा यदि कविता नै जोड्न बिर्सिएछ भने त्यसलाई कविता कसरी भन्ने ?’ उनको भनाइ थियो— कवितामा बरु छन्द नभए पनि केही छैन, मात्रा नभए पनि केही छैन, कविताचाहिँ हुनुपर्छ । कवितामा अरू जम्मै छुटे पनि कविताचाहिँ छुट्नु हुन्न ।

उतिबेला नेपालभाषामा (र नेपालीमा पनि) लेखिने पद्य कविताहरूमा उनी पद्य मात्रै देख्थे, कविता देख्दैथे । उनी वास्तवमा त्यस्ता कविताको खोजीमा थिए, जसमा केवल कविता मात्रै होस्, कविता सिबाय अरू केही नहोस् ।

यो सम्भवतः विसं २०१६–१७ सालतिरको कुरा हुनुपर्छ । उनी त्रिचन्द्र कलेजा पढ्थे । त्यहाँ उनका कवि मित्रहरू थिए— श्यामसुन्दर सैंजु, रमेश मधु आदि । त्यहीं उनले नेपालभाषामा छन्दविहीन कविताहरू लेख्न थाले । तर, तत्कालीन साहित्य–वृत्तमा उनको कविता स्वीकृत हुन सकेन । कवि मण्डलीमा पनि उनका कविता तिरष्कृत थिए । साथीहरू उनलाई व्यंग्य कस्दै भन्ने गर्थे– जसलाई छन्दको ज्ञान छैन, उसले कसरी कविता लेख्ला र ?

त्यतिबेलाको लोकप्रिय ‘झी’ (हामी) पत्रिकामा कविता पठाउँदा साथीहरूका कविता छापिन्थे, उनको छापिँदैनथ्यो । यसले उनलाई यति अपमानवोध गराउँथ्यो कि उनी झन् अरू गद्य लेख्न कसिन्थे ।

त्रिचन्द्र कलेजमै उनका अर्का साहित्यकार मित्र पनि पढ्ने गर्थे, मोहनहिमांशु थापा । थापा नेपालभाषा पढ्ने मात्र होइन, नेपालभाषामा लेख्ने कवि पनि हुन् । उनले पूर्ण वैद्यको पाण्डुलिपि पढे, जसको शीर्षक थियो– ‘जितः गुलि मछिं थ्व संतप्त फिसलय् दनाः ।’ कविता राम्रो लाग्यो । त्यसपछि थापाले त्यसलाई नेपाली भाषामा उल्था गरे । शीर्षक पनि आफैं हाले, ‘यस संतप्त धरतीमा उभिएर ।’ थापाले त्यो कविता भारतको बनारसबाट प्रकाशित हुने ‘उदय’ पत्रिकामा छपाए । पूर्ण वैद्यको पहिलो प्रकाशित कविता त्यही बन्यो ।

थापाले नै उनको अर्को कविता ‘सन्ध्याया ई’ लाई पनि नेपालीमा अनुवाद गरी त्रिचन्द्र कलेजबाटै प्रकाशित हुने ‘ज्योति’ पत्रिकामा छपाए । त्यसपछि मात्रै हो, नेपालभाषाका साहित्यकारमा पूर्ण वैद्य ‘नोटिस’ हुनथालेको । उनका कविताहरू नेपालभाषाका पत्रिकाहरूमा पनि प्रकाशित हुनथाले । यसैक्रममा विसं २०२२ सालमा उनको गद्य कवितासंग्रह ‘सरासु : निष्पट्ट अँध्यारोमा पहिलो किरण)’ को पाण्डुलिपिलाई च्वसापासा नामक संस्थाले प्रतिष्ठित श्रेष्ठ सिरपाः (पुरस्कार) प्रदान गर्‍यो । यो नै नेपालभाषाको पहिलो गद्य कवितासंग्रह थियो । यो संग्रह प्रकाशनपछि पूर्ण वैद्यलाई नेपालभाषामा गद्य कविताका पहिलो सर्जकको सम्मान प्राप्त भयो ।

यसरी पूर्ण वैद्यले नेपालभाषा काव्य इतिहासमा करिब ६०० वर्षअघिदेखि लेखिँदै आएको पद्य विधालाई छिचोलेर पहिलोपटक गद्य कविताको आरम्भ गरे । काव्य क्षेत्रमा ‘सरासु’ एउटा भूकम्पजस्तै प्रकट भयो, जसले ठूलै हलचल मच्चायो र मक्किएका धेरै कुरा भत्कायो । तत्कालीन रोमानीवादका प्रणेता सिद्धिचरण श्रेष्ठले उनको त्यो संग्रह पढेर आफू झस्याङ्ग भएको लेखेका छन् । झस्याङ्ग भएर पनि नलेख्नेहरू अझ धेरै छन् ।

नेपालभाषा काव्यको इतिहासमा ‘सरासु’ एउटा मानक कृति बनिसकेको छ । नेपालभाषा काव्यको इतिहास लेख्दा ‘सरासु’ अघि र ‘सरासु’ पछि भन्ने दुई स्पष्ट कालखण्ड बनाउने गरिन्छ । ‘सरासु’ का कारण उनी आफैं पनि एक मानक कविका रूपमा स्थापित छन् । अहिले नयाँ आउने कविहरूमा जसले अलि गतिलो लेख्छ, समालोचकहरू उसलाई ‘भविष्यको पूर्ण वैद्य’ भनेर जोख्न थालिहाल्छन् । नेपालभाषामा यस्तो प्रेरणाको श्रेय कि दुर्गालाललाई छ, कि पूर्ण वैद्यलाई मात्रै छ ।

नेपालभाषाका अधिकांश साहित्यकार केवल लेखनमा सीमित छैनन् । भाषिक समानताको आन्दोलनमा उनीहरू सडकमा पनि उत्रिरहेका हुन्छन् । जस्तो दुर्गालाल श्रेष्ठ, मल्ल के. सुन्दर, बुद्ध साय्मि, प्रतिसरा साय्मि आदिहरू हरेकजसो आन्दोलनमा कहिले राँको बालिरहेका हुन्छन्, कहिले टायर बालिरहेका हुन्छन् । तर, पूर्ण वैद्य सडकमा आगो बाल्ने त्यस्ता कार्यक्रममा कमै उपस्थित हुन्थे । तथापि यसको अर्थ उनी आगोसँग डराउँछन् भन्ने होइन । उनी पनि आगो बालिरहन्थे, तर पानीमा । पछिल्लो समय उनले लेखेका ‘पानी कविता’ हरू यथार्थमा जम्मै आगो हुन् । उनले लेखेका छन्–

आफैंभित्र आगो नभई

पानी पनि कहाँ पानी भएर बस्न सक्छ र ?

उनले पानीलाई मात्रै विम्ब र प्रतीक बनाएर लेखेका कविताहरूको संग्रह ‘लः लः खः (पानी पानी हो)’ केही वर्षअघि प्रकाशित भयो । पहिलो संग्रह प्रकाशनको करिब ३० वर्षपछि निस्केको यो संग्रहमा जो पूर्ण वैद्य भेटिन्छन्, त्यो ‘सरासु’ वाला पूर्ण वैद्य होइन । उनको दोस्रो संग्रह यसरी निस्कियो, जसमा कृति मात्र होइन कवि नै फरक हुन् कि जस्तो लाग्छ । यो संग्रहले उनको परिचय ‘पानी कवि’ मा रूपान्तरण गरिदियो । आफूभित्रका सम्पूर्ण आक्रोस, प्रेम, घृणा, विद्रोह, असन्तोष, उकुसमुकुसलाई उनले पानी बनाएर पोखेका छन् यो किताबमा । नेपालभाषा मात्र नभई नेपाली साहित्यका लागि समेत यो एउटा नयाँ प्रयोग थियो । यसभित्रका ९० वटा कविता लेख्न उनलाई ४० वर्ष लागेको थियो । यी कविता लेख्न बस्दा कतिपय ठाउँमा उनी पानी भएका छन्, कतिपय ठाउँमा पानी उनी भएको छ । पानीलाई आफू बनाउँदै उनी लेख्छन् :

भेटिए जति उचाइहरू भत्काएर,

भेटिए जति खाडलहरू पुरेर

यो धरतीको विषम धरातल

पानीले मलाई प्रमाणित गर्छ, कि

भनौं, मभित्रकै एउटा आतुर वेग हो

समानताप्रति तीव्र प्रतीक्षाको ।

उनको ‘लः लः खः’ संग्रहले साहित्य मात्र होइन, समग्र भाषाकै स्तरलाई एक तह माथि पुर्‍याइदिएको ठहर गरेका छन् डा. कमलप्रकाश मल्लले । त्यो किताब नेपाली र अंग्रेजी भाषामा समेत अनुवाद भइसकेको छ ।

नेपालभाषाको कवितालाई छन्दबाट बाहिर निकाल्ने श्रेय पाएका पूर्ण वैद्यलाई कत्तिले छन्दविरोधी कवि पनि भन्छन् । किनभने उनको मान्यता थियो— कवितामा पढ्ने भनेको कविता मात्रै हो, छन्द होइन । छन्द त कविताको खोल मात्रै हो । भित्रको वस्तु अब्बल छैन भने खोल राम्रै भएर के अर्थ ?

तर, उनी आफैंचाहिँ छन्दविरोधी भएको स्विकार्दैनथे । ‘म छन्दमा लेख्ने कविहरूको विरोधी होइन, कविता भनेको छन्दमै मात्र लेख्नुपर्छ भन्ने जिरहको मात्रै विरोधी हुँ,’ उनले एउटा अन्तर्वार्तामा भनेका छन् ।

कम शब्द खर्चेर धेरै भन्न सक्नु उनको खुबी हो । त्यसैले तीन लाइनका हाइकु लेख्ने केही नयाँ कविहरूले उनलाई हाइकुतिर पनि कलम चलाउन आग्रह गरेका थिए । जवाफमा उनले भने, ‘ओहो ! मात्र १७ वटा अक्षरमा आफ्ना जम्मै कुरा भन्न सक्ने क्षमता ममा छैन । म त्यो आँट गर्न सक्दिनँ ।’

कविताबाहेक उनी निबन्ध पनि लेख्थे । त्यसो त त्यो पनि भन्नु मात्रै निबन्ध हो, त्यसलाई पंक्ति–पंक्तिमा लेखिएको कविताभन्दा फरक नपर्ला । ‘जि छगू अभिव्यक्ति युगया (म एउटा अभिव्यक्ति युगको)’ नामक उनको निबन्धसंग्रह पनि प्रकाशित छ । त्यो संग्रहले पनि श्रेष्ठ सिरपाः (पुरस्कार) जितेको थियो ।

त्यस्तै उनका साहित्य र काव्यसम्बन्धी अवधारणाको एउटा संग्रह पनि प्रकाशित छ । ‘कविताया लागा (कविताको क्षेत्र)’ शीर्षकको उक्त संग्रहलाई डा. मोहनहिमांशु थापाले ‘पूर्ण वैद्यको पहिचान’ बोक्ने कृति भनेका छन् । त्यस्तै उनले जापानी भाषाका कवि सुन्तारो तानिकावाको एउटा कविता संग्रह पनि नेपालभाषामा अनुवाद गरेका छन् ।

पूर्ण वैद्य अन्तरमुखी थिए, कम बोल्थे । कम पनि कति भने उनी कवितामा पनि कम मात्रै बोल्थे, बढी बुझाउँथे । सायद कवितामा नबोलेका धेरै कुरा उनको मनमै कतै अड्किएको थियो । त्यो निकाल्न उनीसँग भेट्ने मेसो मिलाउँदै थिएँ । गत असारको अन्तिम दिन मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डरीका हातबाट नेपाल प्रज्ञा प्रतिष्ठानले प्रदान गरेको नेपाल मातृभाषा प्रज्ञा पुरस्कार ग्रहण गरेका थिए । त्यो उनले पाएको अन्तिम पुरस्कार हो । त्यही सन्दर्भमा उनको लामो अन्तर्वार्ता गर्ने समय मिलाउँदै थिए । अचानक खबर आयो, उनी कब्जियतका कारण अस्पताल भर्ना भएका छन् । भोलिपल्ट अर्को खबर आयो, उनलाई कोभिड पनि भएको छ । तेश्रो दिन अर्को खबर आयो, उनलाई भेन्टिलेटरमा राखिएको छ । छैटौं दिन अन्तिम खबर आयो... उनी रहेनन् !

विसं १९९७ को जनैपूर्णिमाका दिन भक्तपुरमा जन्मेका कवि वैद्य गएको जनै पूर्णिमाका दिन ८१ वर्ष लागथे । जन्मदिनको पाँच रातपछि भदौ १० गतेका दिन उनी बिते । उनका कविता आउनु नेपालभाषा साहित्यका लागि जसरी भूकम्प हुने गर्थ्यो, उनको जानु पनि साहित्यका लागि पहिरो भएको छ । उनी भूकम्प भएर आए, पहिरो भएर गए । सायद पानीजस्तै ।

प्रकाशित : भाद्र १९, २०७८ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×