पैतालाको भूगोल
हिँड्ने बेलामा
थपक्क उठाएर खस्रा हातमा
उसले नापेको थियो सानी छोरीका पैताला
जो, उसको चिउँडोदेखि नाकको फेदसम्म
फैलिएका थिए
ती कलिला – कलिला पातहरू
हावामा तैरिरहेको थियो
ज्वानो र भुटेको तेल
बिदाइमा हल्लिरहेको थियो
हातभन्दा बढी एउटा मुटु
या भनूँ हावामा हल्लिरहेको थियो झुत्रो, निर्धो लुङ्दर
जसका खस्रा पैताला
चिउँडोदेखि उसका निधारका सिरानसम्म
फैलिएका थिए
बिनाठाउँ, बिनाठहर
वर्षाको माटो जस्तै
सर्दै गरेको पहाड
मर्दै गरेको चुरे भावर
मिचाहा झारले छोप्दै गरेको तराईबाट
ऊ जहाँ जहाँ टेक्छ
एक जोडी पैताला
चिउँडोदेखि नाकको फेदसम्म टेक्छ
चिउँडोदेखि निधारको फैलावटको किनार किनार टेक्छ
आफ्ना गह्रौं पैतालामा
फूलजस्तै दुई जोडी पैताला जोगाइ हिँड्न
कम्ता सकस हुन्न
ऊ तीन जोडी पैतालाले
हिँडेर आफ्नो निधारभरि
संसार नाउँको उदेक मात्र देख्छ
बाल्यकालको विद्यालय,
शैक्षिक सामग्रीको नाममा रहेको एउटै बडेमाको ग्लोब
पालै पालो दिन बिराएर
फरक फरक गुरू–गुरूमाले कक्षामा ल्याउनु
र घुमाउनु, सबैले एकै गरी
फनफन्ती,
विद्यालयको त्यो क्रीडा, त्यो कौतुकलाई
लोभिएर हेर्नु, हेरिरहनु
आफ्नो टाउको नरिङ्ग्याएसम्म पेट नबटारेसम्म
अनि घुमाएको टाउकोमा वाकवाकी लिएर
थचक्क बस्नु
बाबुको आाखाजस्तै धुमिलो
आमाको सुस्केराजस्तै अत्यासलाग्दो
जीर्ण बेन्ची !
सबै दोहोरिएको छ, त्यो रिँगटा, त्यो वाकवाकी
कसैले जे देख्यो त्यही आफ्नो हुने
कसैले जहाँ टेक्यो त्यही आफ्नो हुने
कसैले चाहिँ
सिँच्दा पनि आफ्ना पसिनाले
खनीखोस्री, मलिलो पार्दा पनि आफ्ना हाडखोरले
कहिल्यै आफ्नो नहुने
ऊ फर्केको छ नापेर
निर्मम निर्मम न्यायको जालो
खुम्चिएर
आफ्नै पैतालाको भूगोल
यतिखेर
छोरीको पैताला पुगिसकेको छ
उसको चिउँडोदेखि आँखीभौँका डिलडिल
ऊ नाप्न परहेज गर्छ
श्रीमतीका पैताला
साँघुरिएका, चाउरिएका
आफ्नो निधारसाम मिल्दाजुल्दा
गुजमुजिएका रेखाहरु, चिरिएका कुर्कुच्चाहरु
साँच्चै, साँच्चै छ सानो
उसको पैतालाको भूगोल
एउटा हावा भरिएको बेलुन
खुम्चिँदै, साँघुरिँदै, चाउरिँदै गएको सपनाजस्तो, कल्पनाजस्तो
कुनै दिन,
उसलाई फेरि यो घरबाट
उसको पेट अगाडि लाग्छ र निकाल्छ
नापेर पैतालाको भूगोल निधारभरि
पुनः फर्कन्छ ऊ, एक साँझ
गुमाएर,
बैंससँगै पैतालाको भूगोल ।।
प्रकाशित : आश्विन २३, २०७८ १३:४१