वेश्या- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वेश्या

अस्मिता बादी

विवशतामा उत्रिएको मेरो चोली
वीर्य र रगतमा लतपतिएको फरिया
स्तनमा गाडिएका दाँतका नीला डामहरू
पुजारीले यौवनको हवस गरेको मेरो योनि
तड्पिएको त्यो रात
अनि त्यही रात मुटुमा पसेको चिसो अपमान
अनि अपमानमै जलेको मेरो अस्तित्व
यी सबै त प्रमाण हुन्
म वेश्या हुनुका ।

पुजारी

लामा

पादरी

गुरू

शिष्य

यी सबै पुरूषको गन्ध र स्पर्शसँग वाकिफ छु म

उनीहरू हरेक रात मभित्र होमिन आउँछन्

र, डुबिरहन्छन् आफ्नो हवसको समुद्रभित्र

उनीहरू डुबिरहँदा,

कालो गाजलको बाँध फुटाई

आँसुहरू गालामा उत्रिएझैं

म बाध्यताको सतहमा उत्रिरहन्छु ।


दिनौंदेखि नबलेको चिसो चुल्हो

औषधि नपाएर थला परेकी आमा

लाचारीले फाटेको ढाका मिलाउँदै

सिँढीमा टुसुक्क बसेको बूढो शरीर

आगेनोसँग सम्बन्धविच्छेद गरेको रित्तो ताउली

छिमेकीले नपत्याएको ऋण

मेलापात नचल्ने मेरो अछुत शरीर

यी सबै त कारक हुन्

म वेश्या हुनुको ।


शरीर बेचेर किनेको औषधिले

म निभेर बलेको चुलोले

म रित्तिएर भरिएको ताउली आदिले

मलाई वेश्या भनेनन्

तर, त्यो पुजारी

जो रातमा मेरो योनिको पूजा गर्छ

व्यभिचार र कामवासनाको शिक्षा दिने पादरी

जो घण्टौं मेरो स्तनमा झुन्डिएर जान्छ

मान–मर्यादाको पाठ सिक्ने र सिकाउनेहरू

मलाई काँच्चै निलेर जान्छन् ।


र, एक वेश्या बनाएर जान्छन्

हरेक रात रहरले वेश्याकहाँ आउनेहरू

पुरूष नै रहे, पुजारी–पादरी नै रहे

न पुजारीको पद फेरियो, न पादरीको ।


तर, म पूरै फेरिएँ

एउटा नामबाट बदनाममा

नारीबाट वेश्यामा ।


अब फेरि म

कसैकी प्रेमिका बन्न सक्दिनँ

न आमा, दिदी, बहिनी वा छोरी

अब केही हुन सक्दिनँ

म बाध्यतामा वेश्या बनिरहेँ


रहरले पनि पुरूषलाई वेश्या हुन दिएन

तर, बाध्यताले मलाई नारी हुन दिएन

अब लाग्छ, रहरलाई होइन

बाध्यतालाई वेश्या भनिने रैछ ।

प्रकाशित : आश्विन २३, २०७८ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्

जवाफ कसले दिने ?

अस्मिता बादी

म देशद्रोही होइनमाया छ, अपार छातीमा मेरोतर, भन्न मन लाग्दैन आजकल– म नेपाली हुँ ।राज्यले मलाई नागरिक ठान्दैन,समाजले मलाई मान्छे स्विकार्दैनम कुन दर्जाको मान्छे ?म कहाँको मान्छे ?छूत या अछूत ?म को हुँ ??? जवाफ कसले दिने ???

चुनाव आउँदा मेरो भोट चल्छ,

हवस मेटाउन मेरो योनि चल्छ ।

मेरो बाको हातले बनेको मूर्ति– मन्दिरमा भगवान् मानिन्छ ।

मेरी आमाले सिएको लुगाले तिम्रो इज्जत ढाकिन्छ ।

मेरो दाइले बनाएको जुत्ताले तिम्रो मर्यादा उचाल्छ ।

मेरै भाइको धुनमा तिमी धनी रे संस्कृतिको

हिजो जोगाउने त म थिएँ

तर, तिमीले रचेको इतिहासमा म किन अटिनँ ?

जवाफ कसले दिने ???

वर्षौंदेखि खोलाको किनारामा भोकै छु म

सदियौंदेखि तिम्रो सभ्यतामा नाङ्गै छु

छाना र खानाको लागि मात्र म सधैँ रूनुपर्ने ?

ए हजुर ! मलाई पनि त भोक लाग्छ,

मलाई पनि त लाज लाग्छ

म कहाँ जाऊँ भोकै–नाङ्गै तड्पिँदै ?

तिमी किन मलाई आफूजस्तै ठान्दैनौ ?

जवाफ कसले दिने ???


जन्मिने द्वार एउटै,

जन्मेको धरती एउटै,

फेर्ने सास एउटै,

बाँचुन्जेल पनि शाश्वत एउटै,

मरेपछि लास एउटै

मरेर पुग्ने गन्तव्य उही

अब भन, म अछूत कसरी ?

श्रम, सीप सबै चल्दा

मैले छोको पानी नचल्ने किन ?

जवाफ कसले दिने ???


तिमी जाबो ६ महिना लामो

लकडाउनको कुरा गर्छौ

म युगौंदेखि छु क्वारेन्टिनमा

आफैंले आफैंलाई गुम्स्याएर

आफ्ना इच्छा, चाहना र भावनालाई

तिम्रा नीति र नियमले थिचेर

मेरा सपनाका पखेटा तिमीले भाँचिदियौ

आफैंले आफैंलाई कच्याककुचुक्क पारी

तिमीले बनाएको भेदभावको जन्जिरभित्र

म एक्लै बस्न बाध्य छु

जहाँ आत्मसम्मानको सास फेर्ने अक्सिजन छैन,

सपनाको बीउ रोप्ने माटो छैन ।

मेरो वरिपरि पर्खालै–पर्खाल छन्

बेरोजगारी, अशिक्षा गरिबी र भेदभावका

जसलाई भत्काउन साहसको प्रकाशसमेत पुग्दैन

म भित्रभित्रै तोडिएको छु

तिमी बाहिर कसरी समृद्धिको कुरा गर्छौ ?

जवाफ कसले दिने ???


प्रिय सरकार !

म सवालै–सवालको वालमा खडा छु

को ? के ? कहाँ ? कहिले ? कसरी ? किन ? अनि कहिलेसम्म ?

यस्ता हजारौं प्रश्न छन्, सोध्नुपर्ने ।

तर, आज केही प्रश्नको उत्तर तिमीले दिनैपर्छ

म को हुँ ?

म अमान्छे भइरहँदा तिम्रो समाजमा

तिमी कुन समाजवादको कुरा गर्छौ ?

मलाई ढुङ्गे युगमै छोडेर

तिमी कसरी विकासवादका कुरा गर्छौ ?

मेरो पिल्सिएको छातीमा टेकेर

तिमी कस्तो समानताको कुरा गर्छौ ?

तिमी भन मलाई, अब न्याय दिन्छौ कि ?

म नागरिकता जलाऊँ ?

जवाफ कसले दिने ???

प्रकाशित : वैशाख ११, २०७८ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×