३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सञ्जाल सत्य, समाज मित्थ्या

पछिल्ला दशकमा नेपाली समाजमा चलेको सबैभन्दा ठूलो क्रान्ति वैदेशिक रोजगार र यसले पठाउने रेमिट्यान्स तथा इन्टरनेट र स्मार्ट फोनको गठजोडबाट पैदा भएको सामाजिक सञ्जाल हो । हाम्रो समाज र सामाजिक जीवनलाई धेरै प्रभावित कसैले पारेको छ भने त्यो यिनै चीज हुन् ।
देशको दुर्गति र दलतन्त्रको कब्जा देख्दा भाउन्न भएको युवाले आक्रोश पोख्ने कहाँ ? यस्तोमा ऊ  सामाजिक सञ्जालमा बोल्छ । फेसबुकले यसै ‘ह्वाट्स अन योर माइन्ड’ सोध्दैन, यो मनजाल पनि हो ।
यज्ञश

यो समयको सबैभन्दा ठूलो प्रश्न के हो ? प्रश्न जति जटिल लाग्छ, यसको उत्तर त्यति सहज छ– ह्वाट्स अन योर माइन्ड ? (तपाईंको दिमागमा के छ ?)  यो प्रश्न सोध्छ, फेसबुकले । संसारभर छरिएका विभिन्न देश, भाषा र संस्कृतिका आफ्ना करोडौं प्रयोगकर्तालाई फेसबुकले हरेक दिन, हरेक घण्टा, हरेक मिनेट यही एउटा प्रश्न सोधिरहेको छ । र, मानिसहरू आ–आफ्नो उत्तरको खोजीमा जुटिरहेजस्ता लाग्छन् । 

सञ्जाल सत्य, समाज मित्थ्या

भारतका प्रख्यात साहित्यकार राही मासुम रजा (जो मुसलमान थिए) ले लेखेको ‘महाभारत’ टेलिसिरियलको सुरुआती वाक्य छ– मैं समय हुँ । समयको अर्थ हो, निरन्तरता र सर्वव्यापकता । सम्बन्धजस्तो समयको कुनै भेटिने–छुट्टिने विन्दु देखिँदैन, त्यसैले यसको विछोड हुँदैन । हरेक चीज जसको सीमा हुँदैन, त्यो समय बन्छ, समयातीत बन्न पुग्छ । आजसम्म मानिसले प्रेम र धर्मलाई यस रूपमा कल्पना गरेको पाइन्छ । महाभारत समायातीत भएकैले होला, हिन्दुको पवित्र धर्मग्रन्थ मानिएको महाभारतमाथि मुसलमान साहित्यकारले पटकथा/संवाद लेखे ।

समय नपुग्ने कुनै ठाउँ छैन । जहाँसम्म गणना छ, जहाँसम्म सोच छ, त्यहाँ समय छ । यसको अर्थ हो, समय सब जान्दछ । समय सब चिन्दछ । समय सब देख्दछ । सायद, धेरै वर्षदेखि मानिसको रखवाली, खबरदारी र चियोचर्चो गर्दा समय थाकेर हो, अहिले यो काम सामाजिक सञ्जाललाई सुम्पिएझैं लाग्छ । मानिसको दिमागभित्र के छदेखि मानिस कहाँ जान्छ, के खान्छ, कसलाई भेट्छ, सबै चीजको रेकर्ड अब सामाजिक सञ्जाल र यसको सञ्चालन गर्ने एआई (आर्टिफिसियल इन्टलिजेन्स) सँग सुरक्षित रहन थालेको छ । सूचना र तथ्यांकको यस्तो भण्डार यसअघि कसैसँग थिएन ।

यस्तो लाग्छ, हामी सामाजिक सञ्जालकै लागि बाँचिरहेका छौं । यो हाम्रा लागि साधन होइन, साध्य हो । म आफैं यो सञ्जालको एउटा लती हुँ । सहरका ठूला मल, रेस्टुरेन्ट वा चिल्ला सडकमा जतासुकै भीड देखिन्छ– फोटोसुट गर्ने र टिकटक बनाउनेको । तपाईं सोध्नुहोला– यसमा खराबी के छ ? केही छैन । आफ्नो मन खोल्नुमा कुनै खराबी छैन, जबसम्म यसको कसैले दुरुपयोग गर्ने खतरा हुँदैन ! अझै यसको त सकारात्मक पक्ष पनि छ– यसले सबलाई समान रुपमा अभिव्यक्त हुने माध्यम दिएको छ । ‘सबका मालिक एक’ भनेजस्तो यो सबैको माध्यम भएको छ । कुनै अनकन्टारबाट घुमन्तुले पोस्ट गर्ने फोटो र मुख्यधाराको कुनै सञ्चारमाध्यमले पोस्ट गर्ने समाचारको लिंकसम्मको एउटै हैसियत र सम्भावना यसमा रहन्छ ।

पछिल्ला दशकहरूमा नेपाली समाजमा चलेको सबैभन्दा ठूलो क्रान्ति वैदेशिक रोजगार र यसले पठाउने रेमिट्यान्स तथा इन्टरनेट र स्मार्ट फोनको गठजोडबाट पैदा भएको सामाजिक सञ्जाल हो । हाम्रो समाज र सामाजिक जीवनलाई धेरै प्रभावित कसैले पारेको छ भने त्यो यिनै चीज हुन् । राजनीतिक परिवर्तन र आन्दोलनहरूले धेरै मानिसका लागि तात्त्विक परिवर्तन ल्याउन सकेका छैनन् । जीवनको आयामलाई व्यापक र मानिसलाई स्वतन्त्र बनाउन रेमिट्यान्स र सञ्जालले सबभन्दा ठूलो भूमिका निर्वाह गरेका छन् ।

नेपालमा इन्टरनेट (वाईफाई) को विस्तार, स्मार्ट फोनको उपलब्धता र लामो समय दमित अवस्थामा रहेका जनसाधारणको आफूलाई अभिव्यक्त गर्ने हुटहुटीले परम्परागत रूपमा समाज भनिने स्पेसले गर्दै आएको काम सामाजिक सञ्जालको पोल्टामा पुर्‍याइदिएको छ ।

बोलै बोल माया हृदय खोलेर

केही हुँदैन मसँग बोलेर

टिकटक ट्रेन्डिङमा रहेको यो मुखडाले अहिलेको नेपाली समाजको प्रतिनिधित्व गर्छ । देश दुनियाँका खबर थाहा पाउनेदेखि दुनियाँलाई आफ्नो खबर दिने स्थान यही बनेको छ । चिया पसलदेखि पानी पधेँरामा हुनेजस्ता गफगाफ अब यहाँ हुन्छन् । गसिपको नयाँ अड्डा पनि यही बनेको छ । म्यासेन्जर, भाइबर, फेसटाइमजस्ता एपहरूले टाढा–टाढा पुगेका आफन्तलाई आँगनमै ल्याइदिन्छन् । कुनै बेला आफ्ना बिदेसिएका प्रियको सम्झनामा गाइएको ‘पाइन खबर, घर फर्की आउनुहोस् मेरो हजुर’ जस्ता गीत चल्थे । अहिले ‘मेरो हजुर’ र ‘मेरी प्यारी’ २४ सै घण्टा भिडियो कलमा उपलब्ध हुन्छन् ।

साथीभाइ र प्रियजनका जन्मदिन हुन्, वैवाहिक वर्षगाँठ हुन्, अब उत्सव पनि यहीं हुन्छ । शुभकामनादेखि बधाई दिनेको एकातिर लर्को हुन्छ, अर्कातिर आफ्ना उपलब्धि दुनियाँलाई देखाउने उत्साह ! यो उत्साह कतिसम्म व्यापक भइसकेको छ भने हामी सानाभन्दा साना उपलब्धि पनि ठूलो हुनेगरी पोस्ट गर्न व्यस्त छौं । सवालचाहिँ– कतै यसले वास्तविक उपलब्धिको महत्त्व र भोक नै मेटाइदिने हो कि ? हामी जुन किसिमको मिडियोकोर (एकदमै कामचलाउ मात्रै) राजनीति, खेलकुद, सिनेमा, साहित्य, व्यवसाय चलाइरहेका छौं, यसबाट उन्नततिर जाने चाह नै समाप्त हुने हो कि ? सिंगो समाजको रुचि र परख गर्ने क्षमतामा ह्रास आयो भने के हुन्छ ?

***

नेपाल देशभित्र धेरैवटा समाज छन् । काठमाडौं एउटै सहरभित्र धेरै समाज छन् । बालुवाटार र सिंहदरबार वरपरको समाज, बुढानीलकण्ठ र बालकोट वरपरको समाज तथा धोबीखोला, थापाथली पुलमुनिका बस्तीको समाज एउटै त होइन ? तर, समुच्चमा कुरा गर्ने हो भने काठमाडौंको सपना र देशको सपनाभित्र यी सबै पर्छन् । प्रश्नचाहिँ सिंहदरबारको सपनाभित्र धोबीखोलाले कति ठाउँ पाउँछ भन्ने हो । यी समाजहरूबीचको विषमतालाई कसले तोड्न सक्छ ? राजनीतिक रूपमा भन्ने हो भन समाजवादमा आधारित उदार र उदात्त शासन व्यवस्थाले त्यो विषमता हटाउन सक्छ, जुन व्यवस्थाको कल्पना हाम्रो संविधानले गरेको छ । तर, व्यवहारमा भने केवल भाषणमा मात्रै यस्तो हुने सम्भावना देखिन्छ । सामाजिक सञ्जालका लागि भने यी सबै समाज बराबर ! सबका विचारलाई उस्तै हैसियत र मान्यता सामाजिक सञ्जालमा प्राप्त छ ।

नैतिकताजस्तै समाज पनि एउटा परिकल्पना हो । ‘स्यापियन्स’ मा युवल नोहा हरारी भन्छन्— समाज र देश ‘इम्याजिन्ड अर्डर’ मा चलेका छन् । यिनको ठोस आकार छैन । न यिनको कुनै वजन छ, न आकार–प्रकार न रूप–रङ । यी छन् भन्ने कुरा दिमागमा ठप्पा लागेकाले यी छन् । यिनको अस्तित्व केवल हाम्रो सोचमा छ । र, हाम्रो सोचमा यस्तो ठप्पा सजिलै लागेको होइन । यसका लागि विभिन्नखाले सत्ताहरूले धेरै लामो समय प्रयत्न गरेका हुन् । रुसोले भनेजस्तो स्वतन्त्र जन्मिएको मानिस अहिले जहाँतहीँ बन्धनमा छ । समाजको बन्धन, परिवारको बन्धन, नैतिकता र संस्कृतिको बन्धन, राजनीति र व्यापारको बन्धन ! हामी थाहै नपाई ती बन्धनलाई नै आफ्नो स्वतन्त्रता र उन्नति ठान्न अभिशप्त भइरहेका छौं कि ? र, यसैले हामी नयाँ–नयाँ ठप्पा लगाउँदै गइरहेका छौं कि ?

कोरोना महामारीले एकातिर समाजको पुरानो चालचलनलाई ठप्प बनाइदियो भने अर्कातिर इन्टरनेट र सामाजिक सञ्जाललाई सबैभन्दा प्रभावशाली बनाउन पनि भूमिका खेल्यो । एक समय यस्तो आयो, पूरै संसार समेटिएर मानिसहरूका मोबाइलबाट प्रकट हुन थाले । सिनेमा त्यहीं, साहित्य त्यहीं, समीक्षा त्यहीं, समाचार त्यहीं, लोकाचार त्यहीं ! कुनै समय राजा–महाराजाका जन्मदिन भव्य रुपमा मनाइन्थ्यो, संजालले सबैलाई अब त्यो हैसियत प्रदान गरेको छ । हरेक दिन बिहानै फेसबुकले एउटा लिस्ट पठाउँछ, आज क–कसको जन्मदिन छ भनेर । ८–९ नबज्दै तपाईंको वाल शुभ सन्देशहरूले भरिइसकेको हुन्छ । के यो सामाजिक व्यवहार होइन ? कसैका बच्चा जन्मिएकामा बधाईदेखि कसैका आफन्तजनको बिदाइको शोकसम्म यही मञ्चमा प्रकट हुन्छन् ।

कोरोनापछि त स्कुल पनि यहीं, कलेज पनि यहीं, उद्घाटन पनि यहीं, महाधिवेशन पनि यहीं ! कोरोनापछि एउटा शब्द निकै चल्यो– सामाजिक दूरी । खासमा भौतिक दूरीको कुरा यो थियो । तर, यसले नजानीकनै सामाजिक दूरीकै पैरवी गर्‍यो । र, मानिसको निकटताजति सञ्जालमा स्थापित गरिदियो ।

कुनै जमानामा युधीर थापाका किताब एकै परिवारमा पाँचवटा बिक्थे रे, यसका विक्रेता रत्न पुस्तकका गोविन्दप्रसाद श्रेष्ठका अनुसार । किनभने, सबैलाई पढ्न मन लाग्ने, तर यसमा हुने वयस्क विषय र प्रस्तुतिका कारण एउटै सेयर गर्न नमिल्ने । ‘त्यसो भएपछि सबैले किन्थे, परिवारका अरू सदस्यसँग लुकाएर पढ्थे,’ उनले भनेका थिए ।

मोटामोटी टिकटकमा त्यस्तो ट्रेन्ड छाएको छ । यसमा परिवारका सबै छन्, आ–आफ्नो रुचिअनुसारका कन्टेन फलो गर्छन्, तर एकले अर्कालाई फलो नगर्न सक्छन् । फेसबुकमा शब्द र तस्बिर छन्, टिकटकमा छ भिडियो । स्मार्ट फोनको एउटा अर्को टुलको यहाँ सबभन्दा राम्रोसँग उपयोग हुन पाएको छ । कोही आफैंले खिचेको भिडियोमा त कोही ‘चरी जेलैमा...’ जस्ता गीतमा आफ्नो भावना र अभिनय प्रदर्शन गरिरहेका छन् । यस्तो लाग्छ, टिकटकले सबैलाई कलाकार र फिल्ममेकर बन्ने मौका दिएको छ ।

सामाजिक सञ्जाल एक अर्थमा समाजभन्दा प्रगतिशील छ । यहाँ कसैको हैसियत र वंशावलीको खासै मतलब गरिँदैन । कसैको जाति र धर्मको खासै वास्ता छैन (धर्मकै राजनीति र व्यवसाय गर्ने भने यहाँ पनि छन्) । मानिस आफ्नो विचार व्यक्त गर्न र प्रतिक्रिया दिन स्वतन्त्र छ । यसमा त आफ्नो परिचय नखुलाईकन पनि प्रश्न गर्न पाइन्छ, टिप्पणी गर्न पाइन्छ । तपाईंले नागरिकता देखाइरहनु पर्दैन, कतै गएर तमसुक गर्नुपर्दैन । जस्ता ठूला र प्रभावशाली भनिएका मानिसलाई पनि यहाँ साना भनिनेले र्‍याखर्‍याख पार्न सक्छन् । कुनै गलत कुरा आयो भने त्यसविरुद्ध तुरुन्तै विरोधको लर्को देख्न सकिन्छ ।

यतिसम्म कि कुनै अखबार वा न्युज पोर्टलले केही गल्ती गरेको खण्डमा अब भोलिपल्ट होइन, तुरुन्तै माफी माग्नुपर्ने अवस्था आएको छ । साधारण मानिस यति शक्तिशाली सायद पहिले थिएन ।

यसका केही खतरा पनि छन् । अलग विचारकालाई सकिन्जेल गाली गर्नेको एउटा समूह छ । अरिंगालको पूरै दस्ता यसमा छ । पार्टीहरूले अब यसलाई नै युद्ध मैदान मानेर साइबर सेल गठन गर्न थालेका छन् । कुनै राजनीतिक मुद्दालाई प्रभावित पार्न संगठित तरिकाले यसमा हुने बहसहरूमा हस्तक्षेप हुन थालेको छ । र, व्यक्तिको गोपनीयता सबभन्दा बढी दाउमा लागेको छ । मानिसहरू निकै नै पारदर्शी भएर आइदिँदा त्यसका गलत असरप्रति जानकार नभएजस्ता देखिन्छन् । केही भने यसकै कारण हिंसा र यौन हिंसाको सिकार भएका पनि भेटिएका छन् । कसैका तस्बिर र परिचयलाई गलत उद्देश्यका साथ प्रयोग गरिएको पनि पाइएको छ । विज्ञापन र प्रपोगन्डाका लागि सबभन्दा प्रभावकारी थलो यो भएको छ ।

***

कतारको ५० डिग्रीको गर्मीमा रापिएर, मनैदेखि बाफिएर, आफ्नो देशले गरेको हेला सम्झिएर, देशको दुर्गति र दलतन्त्रको कब्जा देख्दा भाउन्न भएको युवाले आक्रोश पोख्ने कहाँ ? समाजले उसको कुरा सुन्दैन । किनभने समाजको सिंढीमा ऊ सधैं भुइँमा हुन्छ, सुन्ने ठूलाहरू सिँढीको माथिको पल्लामा । यस्तोमा ऊ यही सञ्जालमा बोल्छ । फेसबुकले यसै ‘ह्वाट्स अन योर माइन्ड’ सोध्दैन, यो मनजाल पनि हो ।

अझै केहीका लागि त यो आम्दानीको स्रोत पनि हो । केही सामाजिक आन्दोलन र राजनीतिक मुद्दालाई यसले नै विस्तारित गर्ने काम गरेको छ । तर, यसको समस्या के छ भने सञ्जालमा जति आक्रोशित भए पनि आन्दोलन नै गर्न भने तपाईंले सडकमै उत्रिनुपर्छ । अन्यथा, तपाईंको वाणी शासकहरूले सुन्दैनन् ।

यसका खतरा पनि छन्, यो कसैको व्यापारको साधन हो । तपाईंका भावना, विचार कसैका लागि व्यापार हुन् । तर, अहिलेको युगमा कहाँ व्यापार छैन ? पत्रिकामा छापिनु व्यापार होइन कि अनलाइनमा अपलोड हुनु ? यो सञ्जालको दुर्गुणचाहिँ के भने यो बाहिर अरू कसैको नियन्त्रणमा छ । यसमा गएका विषय अरूकै सम्पत्ति बन्छन् । र, यसमा गलत कुरालाई पनि सत्यभन्दा चर्कोसँग फैलाउने शक्ति छ । यस अर्थमा फेरि सञ्जाल मित्थ्या छ ।

म्यानमारमा रोहिंग्याविरुद्ध दमन सुरु हुनुअघि फेसबुकमा प्रशस्तै हेटस्पिचहरू फैलाइएको थियो । रोहिंग्याविरुद्धका सन्देश फेसबुक र ह्वाट्एपबाटै छ्याप्छ्याप्ती बनाइएको थियो । यतिसम्म कि भोलि यो समयबाट आक्रमण गर्ने भन्ने पनि फेसबुकबाट फैलाइएको थियो । तर, फेसबुकले यस्तो हिंस्रक कुरालाई रोकेन । अमेरिकी पत्रकार डाना प्रिस्टको डक्युमेन्ट्रीमा फेसबुकका अधिकारीले यस विषयमा जवाफ दिएका छन्– स्थानीय भाषामा लेखिएको कुरा बुझ्ने मानिस नै हामीसँग थिएन । त्यो हाम्रो गल्ती भयो ।

फेसबुकका लागि सन्देशमा के लेखिएको छ भन्दा पनि त्यसले दिएको ‘इन्गेजमेन्ट‘ ठूलो कुरा थियो । किनभने, यो व्यापार हो । मित्थ्या समाचार फैलाउन पनि सञ्जालको निकै ठूलो भूमिका छ । अमेरिकामा राष्ट्रपतिको चुनावदेखि नेपालमा हुने पार्टीको वडा चुनावसम्ममा फेक न्युज फैलाउनका लागि सबभन्दा बलियो र प्रभावकारी माध्यम यही सञ्जाल भएको छ ।

***

पछिल्लो तीन दशकमा नेपालमा भएको सबैभन्दा ठूलो सामाजिक परिवर्तन वैदेशिक रोजगारी हो । यसले युवाहरूलाई रोजगारी दियो । परिवारलाई समाजमा सम्मान, बाँच्ने आधार, एक टुक्रा जमिन र बस्ने एउटा ठाउँ दियो ।

बालबच्चालाई पढ्ने स्कुल, श्रीमतीलाई दाउरा बोक्ने र घाँस काट्ने कामबाट निकालेर बच्चालाई स्कुल लैजाने–ल्याउने काम दियो । घर–घरमा इन्टरनेट र हात–हातमा मोबाइल पुर्‍याउन वैदेशिक रोजगारीबाट आएको पैसाभन्दा बढी के–को योगदान होला ? नेपालमा वैदेशिक रोजगारीबाट रकम आउने परिवारको संख्या ५६ प्रतिशतभन्दा बढी छ । बहुमतभन्दा बढी परिवारको आयको मुख्य स्रोत यही हो । कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत बराबर वैदेशिक रोजगारीको योगदान छ ।

सबभन्दा ठूलो योगदानचाहिँ यसले मानिसलाई आत्मविश्वास दिएको छ । राज्यले सबभन्दा कम लगानी गरेको वर्गका युवाले अहिले सरकारहरूलाई पाल्ने काम गरिरहेका छन् । राजनीतिक आन्दोलनहरूले दिएको चेतना र वैदेशिक रोजगारीले दिएको आर्थिक आडभरोसाका कारण समाजको तल्लो तहमा रहेका मानिसहरू बोल्न सक्ने भएका हुन् भन्न सकिन्छ । नियालेर अध्ययन गर्नेहरूले भन्न सक्छन्– वैदेशिक रोजगारीमा गएका युवा/युवतीका ५६ प्रतिशत परिवार उपल्लो वर्गका होइनन् (युरोप/अमेरिकातिर जाने थोरैबाहेक) ।

निम्न वर्ग र निम्नमध्यम वर्गका, देशमै रोजगारी र अवसर नपाएका/नपाउने, दलित र पिछडा वर्गका मानिसका लागि वैदेशिक रोजगारी एक मात्रै बाटो देखिन्छ । आफ्नो देश र परिवार छोडेर झन्डै १ सय ७२ देशमा फैलिएका नेपाली युवाका लागि पनि सञ्जाल नै आफ्नो समाजसँग जोडिने माध्यम हो । यिनले नै पठाउने पैसाले यिनको परिवार, शासक वर्ग र व्यापारी वर्गको कारोबार चलिरहेको छ । यही पैसाले अन्ततः समाजलाई उठाएर सामाजिक सञ्जालमा पुर्‍याइदिएको छ ।

र, हाम्रो समयको क्रान्ति सामाजिक सञ्जालमा भइरहेको छ । जुन मित्थ्या भए पनि यसले सत्यको स्वाद दिइरहेको छ ।

प्रकाशित : आश्विन २३, २०७८ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?