सिमेट्रीमा सखार वाक
‘स्टप ।’ ‘स्टप ।’
म पछाडि फर्किएँ । वातावरण स्पष्ट देखिने बेला भइसकेको थिएन । सखारको चार नबज्दैको बेला थियो । म अडिएको चाल पाएर फेरि त्यही स्वरले भन्यो, ‘कम हेर ।’
कुनै रूप देखिएन । स्वरमात्रै आएको थियो । मेरो आन्द्रामा सुलुल्ल चिसो दौड्यो । मैल सोधेँ, ‘ह्वेर आर यु ?’
उसले भन्यो, ‘हेर ।’
‘हेर ह्वेर ?’
‘हेर अन्डरनिथ ।’
स्वर जमिनमुनिबाट आइरहेको थियो । मलाई आफ्ना नसाहरू भित्रभित्र चोसो रगत दौडेझैं भान हुन थाल्यो । वास्तवमा म डराएको थिएँ । मैले उसको हुकुम मानें । म ठ्याक्क त्यहीँ पुगेछु । किनभने मेरो तेस्रो वा चौथो कदमको पाइला त्यहाँ टेकिनासाथ त्यसले फेरि भन्यो, ‘स्टप हेर ।’
म रोक्किएँ । सोधेँ, ‘को हौ तिमी ?’
‘यो ग्रेभ स्टोन हेर, त्यसमा मेरो नाम कुँदिएको देख्ने छौ ।’
मैले भनें, ‘स्टिल डार्क आई कान्ट सी ।’
‘आई नो, उज्यालो भएपछि पढ्नु ।’
‘ओके ?’
‘मलाई तिमीसँग एउटा कुरा बुझ्नु छ ।’
‘के ?’
‘त्यसका लागि तिमी भोलि आउन सक्छौ ?’
‘सक्छु, तर किन ?’
‘भनें नि तिमीसँग एउटा कुरा बुझ्नु छ ।’
‘के कुरा ?’
‘भोलि आऊ ।’
‘अहिले भने हुँदैन ?’
‘त्यसका लागि समय लाग्छ, त्यत्तिको समय अब मसँग छैन ।’
‘किन ?’
‘जिउँदा र मुर्दा मानिसहरूमा यही फरक छ ।’
‘के फरक ?’
‘जिउँदाहरू तर्क धेरै गर्छन्, मुर्दाहरूमा त्यो शक्ति हुँदैन ।’
‘ठीक हो ।’
‘थ्यांक्यु, तर अब म बोलिरहन पाउन्नँ । मेरो समय सकिन लाग्यो । कुनै पनि बेला म मौन हुन विवश हुनेछु ।’
‘किन ?’
‘मुर्दाहरू मौन हुनुपर्ने नियम लागू हुने बेला हुन लाग्यो ।’
‘यस्तो पनि नियम हुन्छ ?’
तर, जवाफ निस्केन । म एकछिन खडा नै रहेँ । मौन चलिरह्यो । कुनै चालचुल सुनिएन । मैले उसको ग्रेभ स्टोनतिर आँखा लगें । त्यसमा कुँदिएका अक्षरहरू देख्न सकिने उज्यालो अझ भइसकेको थिएन । त्यसकारण केही पनि पढ्न सकेको थिइनँ । मैले उसलाई बोलाउने प्रयास गरें, ‘हेलो ? हेलो डेड म्यान ?’
तर, डेड म्यान बोलेन । उसले भनेको नियम लागू भएको हुनुपर्थ्यो । अँध्यारो र उज्यालोको ठीक दोसाँधको बेला थियो । सायद मृतआत्माहरूको मौन हुने बेला थियो होला त्यो ।
म फेरि लस्कन थालेँ । मभित्र अनौठो द्वन्द्व चलिरहेको थियो । कहीँ म भ्रममा त थिइनँ ? संवाद त्यस्तो स्पष्ट थियो, कसरी भ्रम हुन् सक्थ्यो र ? म यही आत्म–तर्कमा गति बढाइरहेको थिएँ । केहीबेरमा मेरो देब्रे नाडीमा बाँधिराखेको स्मार्ट वाच मेरो हिँडाइ एक माइल पुग्यो भन्ने संकेत दिन थरथरायो, ठीक चिहानभित्रबाट थरथराएर निस्केको त्यो बूढो स्वरझैं । उसले मसँग के बुझ्न चाहेको होला ? मभित्र ठीक उत्तर उत्पन्न भइरहेको थिएन । तर, म तर्कमा थिएँ । रोमाञ्चित हुँदै थिएँ । र, लस्कँंदै थिएँ । यसरी म अरू चालीस मिनेट लम्केको थिएँ ।
सिमेटरी मर्निङ वाक गर्ने थलो होइन । तर, विगत तीन महिनादेखि म यो अर्लिंङ्टन सिमेटरीमा मर्निङ वाक गरिरहेको थिएँ । म मात्र होइन, यसभित्र पसेर मर्निङ वाक गर्ने सहरका अरू पनि छन् । यहाँ मर्निंग वाक गर्न आउनेमा विशेषगरी, साठी, पैंसठी पार बूढाहरू, बूढीहरू बढी छन् । म पनि यही उमेर समूहमा पर्छु । कोभिड–१९ को महामारी नहुँदो हो त मेरो ब्रिस्किङ, वाकिङ ट्रेल, बाइक पाथ, वाकर पार्कजस्ता नियमित ठाउँमा भइरहन्थ्यो ।
मार्च उन्नाइसको दिनबाट हाम्रो राज्य म्यासाचुसेटभर लकडाउन लागेको थियो । कोभिड लागेर अस्पतालमा भर्ना हुनेहरू र मर्नेहरूको तथ्यांक चुलिइरहेको थियो । सडकमा एम्बुलेन्सहरूको कुदाइको संख्या पनि त्यत्तिकै बढिरहेको थियो । तिनको अघिपछि त्यही मात्रामा दमकलहरू, पुलिस कारहरू साइरन चर्काएर कुद्या–कुद्यै हुन्थे । बिलकुल आतंकको वातावरण थियो । खेलकुद र मनोरञ्जनका समाचारहरू बन्द थिए । तिनको ठाउँ भाइरस, अस्पताल, अक्सिजन सिलिन्डर, भेन्टिलेटर, फ्युनरल होम र लासहरूले ओगटेका थिए । कोभिड–१९ को संक्रमणबाट बच्ने उपायहरूको प्रचार, प्रसार प्रचुर भइरहेको थियो । त्यसलाई पढेर, सुनेर मानिसहरू आफ्ना नाक–मुख छुन डराउँथे । डाक्टरहरू, विज्ञहरूले भाइरसबाट बच्न सुझाएका उपायहरूको एक बुँदामा आफ्ना हात नाक–मुखतिर नलैजान पनि भनिएको थियो । अर्को बुँदामा मानिसहरूसँग भेट नगर्ने, भेट गर्नुपर्ने स्थितिमा कम्तीमा ६ फुट दूरी राखेर भेट्ने सल्लाह थियो । त्यसपछिको बुँदामा सकभर बाहिर ननिस्किने, निस्किनुपरे नाक, मुख माक्सले छोपेर, माक्स नभए रुमाल बाँधेर, त्यो पनि नभए कुनै कपडाले ढाकेर निस्किन भनिएको थियो । तर, मैले यो सब केही गरिनँ । किनभने म बिलकुल बाहिर निस्किइनँ । चुपचाप घरभित्रै बसिरहें । यो जोखिम शून्यको उपाय थियो ।
ती दिनमा मेरो मानसिक वातावरण औधी त्रस्त थियो, स्तब्ध थियो, हतप्रभ थियो । म आफूलाई बाहिर निकाल्ने आँटमा थिइनँ । त्यसकारण निकै दिनसम्म मैले घरको दैलोसम्म उघारिनँ । चुपचाप कोठामै थन्किरहेँ । भाइरस नियन्त्रणमा आएको र महामारी सकिएको घोषणा होला र निस्कौंला भन्ने आशमा दुई महिना बित्यो । लकडाउन पनि हट्यो । निषेधका केही कुराहरू खुकुलो गरिए । तर, कोरोनाको संक्रमण दर घटेको थिएन । यथार्थमा झन्–झन् भाइरस बढेको, झन् धेरै मानिस अस्पताल भर्ना भएका, त्यत्तिकै संख्यामा मरेका र संक्रमित भइरहेका डरलाग्दा तथ्यांक प्रकाशित भइरहेका थिए । अमेरिकाभरि कोभिडले मर्नेहरू डेढ लाख पुगिसकेका थिए । दैनिक हजारौं भकाभक मर्दै थिए, लाखौँ संक्रमित हुँदै थिए । अस्पताल पुग्दै थिए । संक्रमित नघटेको राज्यमध्ये यो राज्य पनि थियो । मर्नेहरू र अस्पताल भर्ना हुनेको कुल संख्यामा यो राज्यले बीस प्रतिशत भाग थपेको थियो । यो बीस प्रतिशतभित्र म बसेको सहरको मात्र पाँच प्रतिशतको संख्या थियो ।
कोभिडको त्रासले आतंकित मानिसहरूका चिन्तन प्रणाली फेरिदिएको थियो । नसोचिएका कुराहरू हुँदै थिए । मानिसहरूले आफ्नो लागि भर्चुअल दुनियाँ बनाएका थिए । उनीहरूको संवाद त्यसैको भूगोलभित्र हुन्थ्यो । त्यसैमा उनीहरूको स्पर्शहीन सम्पर्क हुन्थ्यो । वास्तवमा यथार्थहरू डिजिटलाइज्ड हुँदै थिए । यान्त्रिक बन्दै थिए । मानिसहरू आफ्नै यथार्थको स्वरूप बिर्संदै थिए । मेरो हाल पनि यही थियो । सबको झैं हाम्रो व्यबहार पनि फोन, टीभी, कम्प्युटर र भर्चुअल स्पेसमा सीमित थियो । घरभित्र हामी दुई बूढा प्राणी– लोग्ने, स्वास्नी मात्र थियौं । हाम्रो पाइतालाको चाल बाथ रुम, लिभिङ रुम, किचेन र बेडरुमसम्म मात्र हुन्थ्यो, यो पनि आवश्यक पर्दा । नत्र हामी कि सोफामा कि कुर्सीमा हुन्थ्यौं । म त झन् कि टीभीमा घुर्थें कि कम्प्युटर स्क्रिनमा । यसको फल मेरो शरीरमा लाग्न थालेको थियो ।
किनभने मेरो शरीरको तौल मैले पहिले जत्ति घटाएको थिएँ, त्योभन्दा दोब्बर बढ्दै थियो । मेरो खानपिन उस्तै थियो, घटेको थिएन । अझ वाइनको मात्रा बढेको थियो । त्यही गतिमा मेरो पेट र कम्मरको आयतन फैलिएको थियो । शरीरको अन्यत्र पनि बोसो दनादन चढ्दै थियो । हरेक कुरालाई प्यान्डेमिक इफेक्ट भन्न थालिएको थियो । मेरो तौल बढाइलाई पनि त्यही टर्ममा प्यान्डेमिक वेट भन्न सकिन्थ्यो । जुन टर्ममा भने पनि स्वास्थ्य बिगार्ने किसिमले मेरो तौल बढ्दै थियो । त्यसकारण म चिन्तित हुँदै थिएँ । मेरो भुँडी र गाला हेर्दै मेरी श्रीमती डोर्थीले भन्न थालेकी थिई,‘अब हल्का जगिङ गर्न थाल, नभए पहिले झैं हिँड्न थाल ।’
‘कहाँ हिँड्ने ?’
‘पहिले जहाँ हिँड्थ्यौ ।’
‘ट्रेलमा, बाइक पाथमा ?’
‘यस ।’
‘त्यहाँ झन् खतरा छ, रनर, जगरहरू स्याँ–स्याँ गर्दै कुदिरहेका हुन्छन्, तिनको सासबाट निस्कने...!’
‘त्यसो हो भने साइड–वाकमा डिस्ट्यान्स मेन्टेन गरेर हिँड ।’
‘सोच्छु ।’
‘सोच्ने होइन थालिहाल, मेरो घुँडोले दिने भए म निस्किसक्थेँ ।’
‘बरु कम खान पर्यो, त्यो पनि दिनको एकपटक मात्र,’ मैले उसलाई तत्काल जागेको यस्तो उपाय सुनाएको थिएँ ।
उसको प्रश्न थियो, ‘त्यो त ठीक छ, तर वाइन छोड्न सक्छौ ?’
म मौन भइदिएको थिएँ । किनभने तत्काललाई म यो गर्न सक्नेमा थिइनँ । खाना मात्र घटाउने कुरो गरेको थिएँ मैले, वाइन होइन । खासमा बिहानको कफी र साँझको वाइन मेरा प्रिय पेय हुन् । चालीस वर्षदेखि म वाइनको आनन्द लिइरहेको छु । वाइनबिनाको साँझ म सोच्न सक्दिनँ । त्यसकारण यस प्रश्नमा म मौन थिएँ । मेरो मुखबाट केही ननिस्केपछि उसले फेरि भनेकी थिई,
‘वाइनमा कत्ति क्यालोरी हुन्छ तिमीलाई थाहा छ ?’
‘आई डन्ट कियर ।’
‘त्यसो हो भने वेटको चिन्ता छोड ।’
‘यसरी वेट बढाएर बस्नु पनि त भए न नि ।’
‘त्यसो हो भने वाकिङ थाल ।’
डोर्थीसँग यस्तो कुरा हुँदै गर्दा मलाई अर्लिङ्टन सिमेटरीको सम्झना हुँदै थियो । म मनमनै त्यही सिमेटरीभित्र हिँड्न जाने सोच्दै थिएँ । त्यसकारण मैले डोर्थीलाई भनेको थिएँ, ‘भोलि बिहानबाट सुरु गर्छु ।’
‘भोलि फेरि पर्सिबाट भन्ने होला ।’
‘नो, भोलि बिहान छ बजे हेर्नु म ओछ्यानमा हुने छैन, तँ नउठ्दै म निस्किसकेको हुनेछु ।’
‘विल सी ।’
‘ओके ।’
मेरो घरबाट हिँडेर अर्लिङ्टन सिमेटरी पुग्न दस मिनेट लाग्छ । तर, म त्यसबिहान आफ्नो कारमै त्यहाँ पुगेको थिएँ । कार सिमेटरी बाहिर सडकमा किनार लगाएको थिएँ । र, सिमेटरीभित्र पसेको थिएँ ।
त्यसो त कार सिमेटरीभित्र पनि लैजान र पार्क गर्न सकिन्थ्यो । तर, मैले कार सिमेटरीको कम्पाउन्ड बाहिर सडकको कर्भमा पार्क गरेको थिएँ । मलाई यही ठीक लागेको थियो । अहिलेसम्म पनि मेरो यही रीति छ । अरू कतिपय पनि यही गर्छन् ।
सुरुको त्यो बिहान म लगभग सवा घण्टा हिँडेको थिएँ । पसिनाले मेरो टिसर्ट लफ्र्याक्क भएको थियो । सोर्ट र अन्डरवेरको हाल पनि यस्तै थियो । भित्र सिमेटरीको किनारकिनार एक माइल घुमेको चक्रे सडक छ । मैले त्यसको पूरै पाँच चक्कर लगाएको थिएँ । यो हिसाबले म कुल पाँच माइल लस्केको थिएँ । आजको झैं मैले नाडीमा एप्पलको स्मार्ट वाच बाँधेको थिएँ । र, त्यसमा भएको फिटनेस एप अन गरेको थिएँ । त्यसमा प्रकट हुने डिजिटल अंकले पन्ध्र मिनेटमा मैले एक माइल लस्केको देखाइरहेको थियो । चलनचल्तीको घडी फालेर डेढ वर्षदेखि मैले नाडीमा एप्पलको यो स्मार्ट घडी बाँध्न थालेको हुँ । स्मार्ट घडी बाँध्नुको उद्देश्य आफ्नो हिँडाइ मापन गर्नु र हिँड्न प्रेरित हुनु थियो । वास्तवमा यो घडीले मलाई एक माइल बढी हिँड्न र स्पिड बढाउन प्रेरित गरेको थियो नै ।
जुनको दोस्रो दिनको त्यस बिहानदेखि मेरो हिँडाइको नियमितता फेरि त्यसरी सुरु भएको थियो । म घरबाट कारमा सिमेटरीको कम्पाउन्ड बाहिर पुग्थें । त्यही तरिकाले बाहिर सडक किनारमा कार बिसाएर सिमेटरीभित्र पस्थें । र, फटाफट लस्कन थाल्थें । ती दिनहरूमा यहाँ कमै मानिस छिरेका देखिन्थे । अगस्ट लाग्दा–नलाग्दै संक्रमण झन् झन् बढेसँगै यहाँ हिँड्न, जगिङ गर्न आउने धेरै हुन थाले । त्यसकारण मलाई यहाँ पनि हिंड्न खतरा हुने लाग्न थाल्यो । तर, बाइक पाथ, पार्कभन्दा सिमेटरीमा हिँड्नेहरू अझै कम थिए । तथापि संक्रमित भइएला, संक्रमितको फेला परिएला भन्ने भय मभित्र चर्किन थाल्यो । तर, हिँड्न छोड्नु पनि ठीक थिएन । त्यसकारण सिमेटरीमा आउने मेरो समय बदलियो । म सिमेटरीभित्र सखारमै पस्न थालेँ । म पस्दा सवा तीन बजेको बेला हुन्थ्यो । यो बेला म एक्लो हिँडेको हुन्थें । मबाहेकको प्राणीमा केही खरायोहरू, लोखर्केहरू घाँसहरूमा सर्याकसुरुक गरिरहन्थे । मेरो लागि यो निकै सुरक्षित बेला थियो । डोर्थीले मलाई सोधेकी थिई, ‘यस्तो बेला सिमेटरीभित्र पस्न डर लाग्दैन ?’
‘के को डर ?’
‘आई मिन ।’
‘नो, प्रोब्लेम ।’
‘तैपनि, अलि उज्यालो भएपछि निस्कँदा राम्रो ।’ उसले मलाई यो भन्दै सजग गराएकी थिई । मैले उसलाई भनेको थिएँ, ‘आई फिल सेफ देर ।’
‘ओके इफ यु थिंक सो ।’
घर फर्किएर मैले डोर्थीलाई डेड म्यानले रोकेको वृतान्त भनेको थिइनँ । भनेको भए ऊ मलाई भन्ने थिई, ‘मैले यस्तो बेला सिमेटरी जानु हुँदैन भनेकै थिएँ, त्यसकारण अब उज्यालो भएपछि मात्र जाऊ ।’
यसमाथि ऊ अरू केही फतफत पनि थप्ने थिई । र, बोर गर्ने थिई । त्यसकारण मैले उसलाई डेडम्यानसँगको कुरो भनिनँ । चुपचाप आफूभित्रै डेडम्यान खेलाइरहें । विशेषगरी म डेडम्यानको जिज्ञासामाथि जिज्ञासु भइरहेको थिएँ । आखिर त्यसले मसँग के बुझ्न चाहेको होला ?
अर्को दिनको सखारमा सिमेटरीभित्र पस्दा मभित्र यही बुझ्ने तीव्र हुटहुटी थियो । त्यसकारण म अझ चर्को लम्किएको थिएँ । मेरो पाइला ठीक उसको ग्रेभस्टोन सामुन्ने पर्नासाथ उसले भनिहाल्यो, ‘स्टप हेर ।’
यो सुन्ने अपेक्षा गरेरै म त्यहाँ पुगेको थिएँ । त्यसकारण म टक्क अडिएको थिएँ ठीक परेडमा रहेको सैनिक ट्रेनरले भनेको अटेन्सन सुन्नासाथ रोक्किए झैं । रिस्पोन्समा मैले भनें, ‘आई एम हेर ।’
‘आर यु ओके ?’
यो हाँसउठ्दो सोधाइ थियो । किनभने एक जिउँदोलाई मरेर गाडिएको मुर्दाले सोधेको प्रश्न थियो यो । तथापि मैले उसलाई साधारण प्रतिक्रिया दिएको थिएँ, ‘यस ।’
‘भेरी गुड ।’
‘थ्यांक्यु ।’
यसपछि उसले सोधेको थियो, ‘आजकल यहाँ हाम्रो सिमेटरीभित्र निकै मानिसहरू बिहान–बिहान रगरग गर्न थालेको नोटिस गर्दै छु, किन होला ?’
‘किन चाहियो तिमीलाई ?’
‘आश्चर्य लागेर सोधेको ।’
‘ती सब डराएर यहाँ आउने गरेका हुन् ?’
‘डराएर, यहाँ ? सिमेटरीमा ?’
‘हो ।’
‘किन ?’
‘जगिङ गर्न, ब्रिक्स वाक गर्न, वाक गर्न ।’
‘त्यो सब गर्न यहाँ ?’
‘हो ।’
‘तर, किन ?’
‘जोगिन ।’
‘जोगिन ?’
‘हो ।’
‘केबाट जोगिन ?’
‘सहरमा कोरोना भाइरसको महामारी फैलिएको छ ।’
‘ओ ! माई गड, महामारी, फेरि ?’
‘हो, देशभर लाखौँ मानिस मरिसके, संसारका सम्पूर्ण देश यो भाइरसको चपेटामा छन्, मर्नेहरूको जोड संख्या मिलियन नाघिसक्यो ।’
‘बाफ रे बाफ ।’
‘संक्रमणको क्रम बिलकुल घटेको छैन, एक मानिसबाट अर्को मानिसले बचेर हिँड्नुपरेको छ त्यसकारण म यहाँ अरू नपस्दै आउन थालेको हुँ ।’
‘थ्यांक्यु माई म्यान मैले यही बुझ्न चाहेको थिएँ ।’
‘नो प्रोब्लेम ।’
‘अनि तिमी निकै चाँडै पस्दो रैछौ नि ?’
‘हो ।’
‘किन ?’
‘पहिले म पनि उज्यालोमै पस्थें, तर यहाँ हिँड्न आउने थुप्रै हुन् थालेपछि म यसबेला आउन थालेको हुँ ।’
‘आई सी, तिमी धेरै त्रस्त भइसकेका रहेछौ ।’
‘के गर्ने संक्रमितको नजिक परियो भने... !’
‘तिमीलाई स्प्यानिस फ्लूको महामारीबारे थाहा छ ?’
‘किन नहुने ? छ, त्यसबारे मैले पढेको पनि छु, सुनेको पनि छु, उन्नाइस सय अठारको त्यस महामारीमा करोडौँ अमेरिकी पनि चपेटामा परेका थिए, लाखौँले ज्यान गुमाएका थिए ।’
‘हो ती लाखौँ अमेरिकीमध्ये एक अभागी म पनि हुँ ।’
‘सरी ।’
‘यो विशाल सिमेटरी त्यही बेला भरिएको हो, त्यसदेखियता यहाँ कुनै नयाँ मुर्दा सुताइएको छैन, खाली भए पो गाड्नु ।’
‘आई नो ।’
‘स्प्यानिस फ्लुको त्यस महामारीबाट मेरो परिवारका कोही पनि बचेनन्, मेरा टाढा टाढाका नातेदारका हाल पनि यस्तै भयो ।’
‘भेरी ट्रयाजिक ।’
‘त्यसकारण मेरो ग्रेभ स्टोनलाई सुम्सुम्याउन, सफा गर्न, फूल चढाउन आउने कोही छैनन् । तर, बेलाबेला खरायोहरू, लोखर्केहरू मेरो ग्रेभ स्टोन वरिपरि आएर खेल्छन्, सुँघ्छन्, वरिपरिका रूखहरूबाट झर्ने केही पातहरू पनि मेरोमा झर्छन् तिनको स्पर्शमा म आनन्दित हुन्छु ।’
यहाँनिर गला अवरुद्ध भएझैं ऊ रोक्कियो । म पर्खिरहेँ । ऊ फेरि बोलेन । ऊ मौन हुनुपर्ने बेला भएको हुनुपथ्र्यो । यही बुझेर म लस्कन थालेँ । म डेडम्यानको कुरालाई लिएर भावुक भइरहेको थिएँ । एकाएक एक माइल पूरा गरिस् भन्ने जनाउन मेरो नाडीको एप्पल वाच कोरोनाका बिरामी कामेझैं थर्थरायो । म झस्कें । मलाई यसको नियन्त्रण सह्य लागेन । मेरो चेतना खुल्यो । मैले त्यसलाई नाडीबाट फुकालेँ । र, जोड्ले ग्रेभस्टोनहरूको विशाल फौजतिर त्यसलाई हुर्याएँ । सायद त्यो उन्नाइस सय अठारकै फ्लुको महामारीले त्यसको कुनै महिनाको कुनै दिन मरेको कुनै मानिसको ग्रेभस्टोनमा बजारियो होला ।
प्रकाशित : आश्विन २३, २०७८ १३:३८