सिमेट्रीमा सखार वाक   - कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिमेट्रीमा सखार वाक   

मेरो ग्रेभ स्टोनलाई सुम्सुम्याउन, सफा गर्न, फूल चढाउन आउने कोही छैनन् । तर, बेलाबेला खरायोहरू, लोखर्केहरू मेरो ग्रेभ स्टोन वरिपरि आएर खेल्छन्, सुँघ्छन्, वरिपरिका रूखहरूबाट झर्ने केही पातहरू पनि मेरोमा झर्छन् तिनको स्पर्शमा म आनन्दित हुन्छु ।    
सिमेट्री मर्निङ वाक गर्ने थलो होइन । तर, विगत तीन महिनादेखि म यो अर्लिंङ्टन सिमेट्रीमा मर्निङ वाक गरिरहेको थिएँ । म मात्र होइन, यसभित्र पसेर मर्निङ वाक गर्ने सहरका अरू पनि छन् ।
राजव

‘स्टप ।’ ‘स्टप ।’
म पछाडि फर्किएँ । वातावरण स्पष्ट देखिने बेला भइसकेको  थिएन । सखारको चार नबज्दैको बेला थियो । म अडिएको चाल पाएर फेरि त्यही स्वरले भन्यो, ‘कम हेर ।’

कुनै रूप देखिएन । स्वरमात्रै आएको थियो । मेरो आन्द्रामा सुलुल्ल चिसो दौड्यो । मैल सोधेँ, ‘ह्वेर आर यु ?’

उसले भन्यो, ‘हेर ।’

‘हेर ह्वेर ?’

‘हेर अन्डरनिथ ।’

स्वर जमिनमुनिबाट आइरहेको थियो । मलाई आफ्ना नसाहरू भित्रभित्र चोसो रगत दौडेझैं भान हुन थाल्यो । वास्तवमा म डराएको थिएँ । मैले उसको हुकुम मानें । म ठ्याक्क त्यहीँ पुगेछु । किनभने मेरो तेस्रो वा चौथो कदमको पाइला त्यहाँ टेकिनासाथ त्यसले फेरि भन्यो, ‘स्टप हेर ।’

म रोक्किएँ । सोधेँ, ‘को हौ तिमी ?’

‘यो ग्रेभ स्टोन हेर, त्यसमा मेरो नाम कुँदिएको देख्ने छौ ।’

मैले भनें, ‘स्टिल डार्क आई कान्ट सी ।’

‘आई नो, उज्यालो भएपछि पढ्नु ।’

‘ओके ?’

‘मलाई तिमीसँग एउटा कुरा बुझ्नु छ ।’

‘के ?’

‘त्यसका लागि तिमी भोलि आउन सक्छौ ?’

‘सक्छु, तर किन ?’

‘भनें नि तिमीसँग एउटा कुरा बुझ्नु छ ।’

‘के कुरा ?’

‘भोलि आऊ ।’

‘अहिले भने हुँदैन ?’

‘त्यसका लागि समय लाग्छ, त्यत्तिको समय अब मसँग छैन ।’

‘किन ?’

‘जिउँदा र मुर्दा मानिसहरूमा यही फरक छ ।’

‘के फरक ?’

‘जिउँदाहरू तर्क धेरै गर्छन्, मुर्दाहरूमा त्यो शक्ति हुँदैन ।’

‘ठीक हो ।’

‘थ्यांक्यु, तर अब म बोलिरहन पाउन्नँ । मेरो समय सकिन लाग्यो । कुनै पनि बेला म मौन हुन विवश हुनेछु ।’

‘किन ?’

‘मुर्दाहरू मौन हुनुपर्ने नियम लागू हुने बेला हुन लाग्यो ।’

‘यस्तो पनि नियम हुन्छ ?’

तर, जवाफ निस्केन । म एकछिन खडा नै रहेँ । मौन चलिरह्यो । कुनै चालचुल सुनिएन । मैले उसको ग्रेभ स्टोनतिर आँखा लगें । त्यसमा कुँदिएका अक्षरहरू देख्न सकिने उज्यालो अझ भइसकेको थिएन । त्यसकारण केही पनि पढ्न सकेको थिइनँ । मैले उसलाई बोलाउने प्रयास गरें, ‘हेलो ? हेलो डेड म्यान ?’

तर, डेड म्यान बोलेन । उसले भनेको नियम लागू भएको हुनुपर्थ्यो । अँध्यारो र उज्यालोको ठीक दोसाँधको बेला थियो । सायद मृतआत्माहरूको मौन हुने बेला थियो होला त्यो ।

म फेरि लस्कन थालेँ । मभित्र अनौठो द्वन्द्व चलिरहेको थियो । कहीँ म भ्रममा त थिइनँ ? संवाद त्यस्तो स्पष्ट थियो, कसरी भ्रम हुन् सक्थ्यो र ? म यही आत्म–तर्कमा गति बढाइरहेको थिएँ । केहीबेरमा मेरो देब्रे नाडीमा बाँधिराखेको स्मार्ट वाच मेरो हिँडाइ एक माइल पुग्यो भन्ने संकेत दिन थरथरायो, ठीक चिहानभित्रबाट थरथराएर निस्केको त्यो बूढो स्वरझैं । उसले मसँग के बुझ्न चाहेको होला ? मभित्र ठीक उत्तर उत्पन्न भइरहेको थिएन । तर, म तर्कमा थिएँ । रोमाञ्चित हुँदै थिएँ । र, लस्कँंदै थिएँ । यसरी म अरू चालीस मिनेट लम्केको थिएँ ।

सिमेटरी मर्निङ वाक गर्ने थलो होइन । तर, विगत तीन महिनादेखि म यो अर्लिंङ्टन सिमेटरीमा मर्निङ वाक गरिरहेको थिएँ । म मात्र होइन, यसभित्र पसेर मर्निङ वाक गर्ने सहरका अरू पनि छन् । यहाँ मर्निंग वाक गर्न आउनेमा विशेषगरी, साठी, पैंसठी पार बूढाहरू, बूढीहरू बढी छन् । म पनि यही उमेर समूहमा पर्छु । कोभिड–१९ को महामारी नहुँदो हो त मेरो ब्रिस्किङ, वाकिङ ट्रेल, बाइक पाथ, वाकर पार्कजस्ता नियमित ठाउँमा भइरहन्थ्यो ।

मार्च उन्नाइसको दिनबाट हाम्रो राज्य म्यासाचुसेटभर लकडाउन लागेको थियो । कोभिड लागेर अस्पतालमा भर्ना हुनेहरू र मर्नेहरूको तथ्यांक चुलिइरहेको थियो । सडकमा एम्बुलेन्सहरूको कुदाइको संख्या पनि त्यत्तिकै बढिरहेको थियो । तिनको अघिपछि त्यही मात्रामा दमकलहरू, पुलिस कारहरू साइरन चर्काएर कुद्या–कुद्यै हुन्थे । बिलकुल आतंकको वातावरण थियो । खेलकुद र मनोरञ्जनका समाचारहरू बन्द थिए । तिनको ठाउँ भाइरस, अस्पताल, अक्सिजन सिलिन्डर, भेन्टिलेटर, फ्युनरल होम र लासहरूले ओगटेका थिए । कोभिड–१९ को संक्रमणबाट बच्ने उपायहरूको प्रचार, प्रसार प्रचुर भइरहेको थियो । त्यसलाई पढेर, सुनेर मानिसहरू आफ्ना नाक–मुख छुन डराउँथे । डाक्टरहरू, विज्ञहरूले भाइरसबाट बच्न सुझाएका उपायहरूको एक बुँदामा आफ्ना हात नाक–मुखतिर नलैजान पनि भनिएको थियो । अर्को बुँदामा मानिसहरूसँग भेट नगर्ने, भेट गर्नुपर्ने स्थितिमा कम्तीमा ६ फुट दूरी राखेर भेट्ने सल्लाह थियो । त्यसपछिको बुँदामा सकभर बाहिर ननिस्किने, निस्किनुपरे नाक, मुख माक्सले छोपेर, माक्स नभए रुमाल बाँधेर, त्यो पनि नभए कुनै कपडाले ढाकेर निस्किन भनिएको थियो । तर, मैले यो सब केही गरिनँ । किनभने म बिलकुल बाहिर निस्किइनँ । चुपचाप घरभित्रै बसिरहें । यो जोखिम शून्यको उपाय थियो ।

ती दिनमा मेरो मानसिक वातावरण औधी त्रस्त थियो, स्तब्ध थियो, हतप्रभ थियो । म आफूलाई बाहिर निकाल्ने आँटमा थिइनँ । त्यसकारण निकै दिनसम्म मैले घरको दैलोसम्म उघारिनँ । चुपचाप कोठामै थन्किरहेँ । भाइरस नियन्त्रणमा आएको र महामारी सकिएको घोषणा होला र निस्कौंला भन्ने आशमा दुई महिना बित्यो । लकडाउन पनि हट्यो । निषेधका केही कुराहरू खुकुलो गरिए । तर, कोरोनाको संक्रमण दर घटेको थिएन । यथार्थमा झन्–झन् भाइरस बढेको, झन् धेरै मानिस अस्पताल भर्ना भएका, त्यत्तिकै संख्यामा मरेका र संक्रमित भइरहेका डरलाग्दा तथ्यांक प्रकाशित भइरहेका थिए । अमेरिकाभरि कोभिडले मर्नेहरू डेढ लाख पुगिसकेका थिए । दैनिक हजारौं भकाभक मर्दै थिए, लाखौँ संक्रमित हुँदै थिए । अस्पताल पुग्दै थिए । संक्रमित नघटेको राज्यमध्ये यो राज्य पनि थियो । मर्नेहरू र अस्पताल भर्ना हुनेको कुल संख्यामा यो राज्यले बीस प्रतिशत भाग थपेको थियो । यो बीस प्रतिशतभित्र म बसेको सहरको मात्र पाँच प्रतिशतको संख्या थियो ।

कोभिडको त्रासले आतंकित मानिसहरूका चिन्तन प्रणाली फेरिदिएको थियो । नसोचिएका कुराहरू हुँदै थिए । मानिसहरूले आफ्नो लागि भर्चुअल दुनियाँ बनाएका थिए । उनीहरूको संवाद त्यसैको भूगोलभित्र हुन्थ्यो । त्यसैमा उनीहरूको स्पर्शहीन सम्पर्क हुन्थ्यो । वास्तवमा यथार्थहरू डिजिटलाइज्ड हुँदै थिए । यान्त्रिक बन्दै थिए । मानिसहरू आफ्नै यथार्थको स्वरूप बिर्संदै थिए । मेरो हाल पनि यही थियो । सबको झैं हाम्रो व्यबहार पनि फोन, टीभी, कम्प्युटर र भर्चुअल स्पेसमा सीमित थियो । घरभित्र हामी दुई बूढा प्राणी– लोग्ने, स्वास्नी मात्र थियौं । हाम्रो पाइतालाको चाल बाथ रुम, लिभिङ रुम, किचेन र बेडरुमसम्म मात्र हुन्थ्यो, यो पनि आवश्यक पर्दा । नत्र हामी कि सोफामा कि कुर्सीमा हुन्थ्यौं । म त झन् कि टीभीमा घुर्थें कि कम्प्युटर स्क्रिनमा । यसको फल मेरो शरीरमा लाग्न थालेको थियो ।

किनभने मेरो शरीरको तौल मैले पहिले जत्ति घटाएको थिएँ, त्योभन्दा दोब्बर बढ्दै थियो । मेरो खानपिन उस्तै थियो, घटेको थिएन । अझ वाइनको मात्रा बढेको थियो । त्यही गतिमा मेरो पेट र कम्मरको आयतन फैलिएको थियो । शरीरको अन्यत्र पनि बोसो दनादन चढ्दै थियो । हरेक कुरालाई प्यान्डेमिक इफेक्ट भन्न थालिएको थियो । मेरो तौल बढाइलाई पनि त्यही टर्ममा प्यान्डेमिक वेट भन्न सकिन्थ्यो । जुन टर्ममा भने पनि स्वास्थ्य बिगार्ने किसिमले मेरो तौल बढ्दै थियो । त्यसकारण म चिन्तित हुँदै थिएँ । मेरो भुँडी र गाला हेर्दै मेरी श्रीमती डोर्थीले भन्न थालेकी थिई,‘अब हल्का जगिङ गर्न थाल, नभए पहिले झैं हिँड्न थाल ।’

‘कहाँ हिँड्ने ?’

‘पहिले जहाँ हिँड्थ्यौ ।’

‘ट्रेलमा, बाइक पाथमा ?’

‘यस ।’

‘त्यहाँ झन् खतरा छ, रनर, जगरहरू स्याँ–स्याँ गर्दै कुदिरहेका हुन्छन्, तिनको सासबाट निस्कने...!’

‘त्यसो हो भने साइड–वाकमा डिस्ट्यान्स मेन्टेन गरेर हिँड ।’

‘सोच्छु ।’

‘सोच्ने होइन थालिहाल, मेरो घुँडोले दिने भए म निस्किसक्थेँ ।’

‘बरु कम खान पर्‍यो, त्यो पनि दिनको एकपटक मात्र,’ मैले उसलाई तत्काल जागेको यस्तो उपाय सुनाएको थिएँ ।

उसको प्रश्न थियो, ‘त्यो त ठीक छ, तर वाइन छोड्न सक्छौ ?’

म मौन भइदिएको थिएँ । किनभने तत्काललाई म यो गर्न सक्नेमा थिइनँ । खाना मात्र घटाउने कुरो गरेको थिएँ मैले, वाइन होइन । खासमा बिहानको कफी र साँझको वाइन मेरा प्रिय पेय हुन् । चालीस वर्षदेखि म वाइनको आनन्द लिइरहेको छु । वाइनबिनाको साँझ म सोच्न सक्दिनँ । त्यसकारण यस प्रश्नमा म मौन थिएँ । मेरो मुखबाट केही ननिस्केपछि उसले फेरि भनेकी थिई,

‘वाइनमा कत्ति क्यालोरी हुन्छ तिमीलाई थाहा छ ?’

‘आई डन्ट कियर ।’

‘त्यसो हो भने वेटको चिन्ता छोड ।’

‘यसरी वेट बढाएर बस्नु पनि त भए न नि ।’

‘त्यसो हो भने वाकिङ थाल ।’

डोर्थीसँग यस्तो कुरा हुँदै गर्दा मलाई अर्लिङ्टन सिमेटरीको सम्झना हुँदै थियो । म मनमनै त्यही सिमेटरीभित्र हिँड्न जाने सोच्दै थिएँ । त्यसकारण मैले डोर्थीलाई भनेको थिएँ, ‘भोलि बिहानबाट सुरु गर्छु ।’

‘भोलि फेरि पर्सिबाट भन्ने होला ।’

‘नो, भोलि बिहान छ बजे हेर्नु म ओछ्यानमा हुने छैन, तँ नउठ्दै म निस्किसकेको हुनेछु ।’

‘विल सी ।’

‘ओके ।’

मेरो घरबाट हिँडेर अर्लिङ्टन सिमेटरी पुग्न दस मिनेट लाग्छ । तर, म त्यसबिहान आफ्नो कारमै त्यहाँ पुगेको थिएँ । कार सिमेटरी बाहिर सडकमा किनार लगाएको थिएँ । र, सिमेटरीभित्र पसेको थिएँ ।

त्यसो त कार सिमेटरीभित्र पनि लैजान र पार्क गर्न सकिन्थ्यो । तर, मैले कार सिमेटरीको कम्पाउन्ड बाहिर सडकको कर्भमा पार्क गरेको थिएँ । मलाई यही ठीक लागेको थियो । अहिलेसम्म पनि मेरो यही रीति छ । अरू कतिपय पनि यही गर्छन् ।

सुरुको त्यो बिहान म लगभग सवा घण्टा हिँडेको थिएँ । पसिनाले मेरो टिसर्ट लफ्र्‍याक्क भएको थियो । सोर्ट र अन्डरवेरको हाल पनि यस्तै थियो । भित्र सिमेटरीको किनारकिनार एक माइल घुमेको चक्रे सडक छ । मैले त्यसको पूरै पाँच चक्कर लगाएको थिएँ । यो हिसाबले म कुल पाँच माइल लस्केको थिएँ । आजको झैं मैले नाडीमा एप्पलको स्मार्ट वाच बाँधेको थिएँ । र, त्यसमा भएको फिटनेस एप अन गरेको थिएँ । त्यसमा प्रकट हुने डिजिटल अंकले पन्ध्र मिनेटमा मैले एक माइल लस्केको देखाइरहेको थियो । चलनचल्तीको घडी फालेर डेढ वर्षदेखि मैले नाडीमा एप्पलको यो स्मार्ट घडी बाँध्न थालेको हुँ । स्मार्ट घडी बाँध्नुको उद्देश्य आफ्नो हिँडाइ मापन गर्नु र हिँड्न प्रेरित हुनु थियो । वास्तवमा यो घडीले मलाई एक माइल बढी हिँड्न र स्पिड बढाउन प्रेरित गरेको थियो नै ।

जुनको दोस्रो दिनको त्यस बिहानदेखि मेरो हिँडाइको नियमितता फेरि त्यसरी सुरु भएको थियो । म घरबाट कारमा सिमेटरीको कम्पाउन्ड बाहिर पुग्थें । त्यही तरिकाले बाहिर सडक किनारमा कार बिसाएर सिमेटरीभित्र पस्थें । र, फटाफट लस्कन थाल्थें । ती दिनहरूमा यहाँ कमै मानिस छिरेका देखिन्थे । अगस्ट लाग्दा–नलाग्दै संक्रमण झन् झन् बढेसँगै यहाँ हिँड्न, जगिङ गर्न आउने धेरै हुन थाले । त्यसकारण मलाई यहाँ पनि हिंड्न खतरा हुने लाग्न थाल्यो । तर, बाइक पाथ, पार्कभन्दा सिमेटरीमा हिँड्नेहरू अझै कम थिए । तथापि संक्रमित भइएला, संक्रमितको फेला परिएला भन्ने भय मभित्र चर्किन थाल्यो । तर, हिँड्न छोड्नु पनि ठीक थिएन । त्यसकारण सिमेटरीमा आउने मेरो समय बदलियो । म सिमेटरीभित्र सखारमै पस्न थालेँ । म पस्दा सवा तीन बजेको बेला हुन्थ्यो । यो बेला म एक्लो हिँडेको हुन्थें । मबाहेकको प्राणीमा केही खरायोहरू, लोखर्केहरू घाँसहरूमा सर्‍याकसुरुक गरिरहन्थे । मेरो लागि यो निकै सुरक्षित बेला थियो । डोर्थीले मलाई सोधेकी थिई, ‘यस्तो बेला सिमेटरीभित्र पस्न डर लाग्दैन ?’

‘के को डर ?’

‘आई मिन ।’

‘नो, प्रोब्लेम ।’

‘तैपनि, अलि उज्यालो भएपछि निस्कँदा राम्रो ।’ उसले मलाई यो भन्दै सजग गराएकी थिई । मैले उसलाई भनेको थिएँ, ‘आई फिल सेफ देर ।’

‘ओके इफ यु थिंक सो ।’

घर फर्किएर मैले डोर्थीलाई डेड म्यानले रोकेको वृतान्त भनेको थिइनँ । भनेको भए ऊ मलाई भन्ने थिई, ‘मैले यस्तो बेला सिमेटरी जानु हुँदैन भनेकै थिएँ, त्यसकारण अब उज्यालो भएपछि मात्र जाऊ ।’

यसमाथि ऊ अरू केही फतफत पनि थप्ने थिई । र, बोर गर्ने थिई । त्यसकारण मैले उसलाई डेडम्यानसँगको कुरो भनिनँ । चुपचाप आफूभित्रै डेडम्यान खेलाइरहें । विशेषगरी म डेडम्यानको जिज्ञासामाथि जिज्ञासु भइरहेको थिएँ । आखिर त्यसले मसँग के बुझ्न चाहेको होला ?

अर्को दिनको सखारमा सिमेटरीभित्र पस्दा मभित्र यही बुझ्ने तीव्र हुटहुटी थियो । त्यसकारण म अझ चर्को लम्किएको थिएँ । मेरो पाइला ठीक उसको ग्रेभस्टोन सामुन्ने पर्नासाथ उसले भनिहाल्यो, ‘स्टप हेर ।’

यो सुन्ने अपेक्षा गरेरै म त्यहाँ पुगेको थिएँ । त्यसकारण म टक्क अडिएको थिएँ ठीक परेडमा रहेको सैनिक ट्रेनरले भनेको अटेन्सन सुन्नासाथ रोक्किए झैं । रिस्पोन्समा मैले भनें, ‘आई एम हेर ।’

‘आर यु ओके ?’

यो हाँसउठ्दो सोधाइ थियो । किनभने एक जिउँदोलाई मरेर गाडिएको मुर्दाले सोधेको प्रश्न थियो यो । तथापि मैले उसलाई साधारण प्रतिक्रिया दिएको थिएँ, ‘यस ।’

‘भेरी गुड ।’

‘थ्यांक्यु ।’

यसपछि उसले सोधेको थियो, ‘आजकल यहाँ हाम्रो सिमेटरीभित्र निकै मानिसहरू बिहान–बिहान रगरग गर्न थालेको नोटिस गर्दै छु, किन होला ?’

‘किन चाहियो तिमीलाई ?’

‘आश्चर्य लागेर सोधेको ।’

‘ती सब डराएर यहाँ आउने गरेका हुन् ?’

‘डराएर, यहाँ ? सिमेटरीमा ?’

‘हो ।’

‘किन ?’

‘जगिङ गर्न, ब्रिक्स वाक गर्न, वाक गर्न ।’

‘त्यो सब गर्न यहाँ ?’

‘हो ।’

‘तर, किन ?’

‘जोगिन ।’

‘जोगिन ?’

‘हो ।’

‘केबाट जोगिन ?’

‘सहरमा कोरोना भाइरसको महामारी फैलिएको छ ।’

‘ओ ! माई गड, महामारी, फेरि ?’

‘हो, देशभर लाखौँ मानिस मरिसके, संसारका सम्पूर्ण देश यो भाइरसको चपेटामा छन्, मर्नेहरूको जोड संख्या मिलियन नाघिसक्यो ।’

‘बाफ रे बाफ ।’

‘संक्रमणको क्रम बिलकुल घटेको छैन, एक मानिसबाट अर्को मानिसले बचेर हिँड्नुपरेको छ त्यसकारण म यहाँ अरू नपस्दै आउन थालेको हुँ ।’

‘थ्यांक्यु माई म्यान मैले यही बुझ्न चाहेको थिएँ ।’

‘नो प्रोब्लेम ।’

‘अनि तिमी निकै चाँडै पस्दो रैछौ नि ?’

‘हो ।’

‘किन ?’

‘पहिले म पनि उज्यालोमै पस्थें, तर यहाँ हिँड्न आउने थुप्रै हुन् थालेपछि म यसबेला आउन थालेको हुँ ।’

‘आई सी, तिमी धेरै त्रस्त भइसकेका रहेछौ ।’

‘के गर्ने संक्रमितको नजिक परियो भने... !’

‘तिमीलाई स्प्यानिस फ्लूको महामारीबारे थाहा छ ?’

‘किन नहुने ? छ, त्यसबारे मैले पढेको पनि छु, सुनेको पनि छु, उन्नाइस सय अठारको त्यस महामारीमा करोडौँ अमेरिकी पनि चपेटामा परेका थिए, लाखौँले ज्यान गुमाएका थिए ।’

‘हो ती लाखौँ अमेरिकीमध्ये एक अभागी म पनि हुँ ।’

‘सरी ।’

‘यो विशाल सिमेटरी त्यही बेला भरिएको हो, त्यसदेखियता यहाँ कुनै नयाँ मुर्दा सुताइएको छैन, खाली भए पो गाड्नु ।’

‘आई नो ।’

‘स्प्यानिस फ्लुको त्यस महामारीबाट मेरो परिवारका कोही पनि बचेनन्, मेरा टाढा टाढाका नातेदारका हाल पनि यस्तै भयो ।’

‘भेरी ट्रयाजिक ।’

‘त्यसकारण मेरो ग्रेभ स्टोनलाई सुम्सुम्याउन, सफा गर्न, फूल चढाउन आउने कोही छैनन् । तर, बेलाबेला खरायोहरू, लोखर्केहरू मेरो ग्रेभ स्टोन वरिपरि आएर खेल्छन्, सुँघ्छन्, वरिपरिका रूखहरूबाट झर्ने केही पातहरू पनि मेरोमा झर्छन् तिनको स्पर्शमा म आनन्दित हुन्छु ।’

यहाँनिर गला अवरुद्ध भएझैं ऊ रोक्कियो । म पर्खिरहेँ । ऊ फेरि बोलेन । ऊ मौन हुनुपर्ने बेला भएको हुनुपथ्र्यो । यही बुझेर म लस्कन थालेँ । म डेडम्यानको कुरालाई लिएर भावुक भइरहेको थिएँ । एकाएक एक माइल पूरा गरिस् भन्ने जनाउन मेरो नाडीको एप्पल वाच कोरोनाका बिरामी कामेझैं थर्थरायो । म झस्कें । मलाई यसको नियन्त्रण सह्य लागेन । मेरो चेतना खुल्यो । मैले त्यसलाई नाडीबाट फुकालेँ । र, जोड्ले ग्रेभस्टोनहरूको विशाल फौजतिर त्यसलाई हुर्‍याएँ । सायद त्यो उन्नाइस सय अठारकै फ्लुको महामारीले त्यसको कुनै महिनाको कुनै दिन मरेको कुनै मानिसको ग्रेभस्टोनमा बजारियो होला ।

प्रकाशित : आश्विन २३, २०७८ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्

जुन २६ को सपना 

फर्केर हेर्दा लाग्छ, जीवनमा कुनै एकबेला हामी जतिसुकै अप्ठेरोमा परे पनि अन्ततोगत्वा जीवनले धेरै मौका दिन्छ । जीवन एउटा रूखजस्तै हो । एउटै पात बाँकी नभई झरेको रूखको केही समयपछि पालुवा लागेर हरियाली आउने स्थिति भएझैं निराशा नै निराशा र असफलताले जिजीविषा हराएको जीवनमा पनि धैर्य राखेर कुर्ने हो भने पालुवा चढ्न सक्छ । 
सुशील कोइरालाले भने–  तपाईंले पूर्व चितवन छोडेर पश्चिम चितवनमा घरजम गर्ने निर्णय लिनुअघि पूर्व चितवन राम्ररी बुझ्नुस् । 
विश्व पौडेल

सामान्यतया अगस्ट लागेपछि बर्कलीमा केही हप्ता तातो सुरु हुन्थ्यो । स्थानीयहरू त्यसलाई ‘हिट वेभ’ भन्थे । मेरी घरभेटी बज्यै एक जना वृद्धा थिइन्, जो एक्लै बस्थिन् । क्यालिफोर्निया सुक्खा हुँदै छ भन्ने कतै पढेदेखि नै कोठामा बस्नेहरूले पानी धेरै खर्च नगरून् भन्ने उनको चाहना हुन थालेको थियो ।

तिनी धेरै पढेकी महिला थिइनन् र मलाई थाहा भएसम्म घरभाडा उनको आम्दानीको प्रमुख स्रोत थियो । त्यसो त बर्कलीमा अन्य घरभेटीहरू पनि अप्ठेरा नै भएको खबर मेरा साथीहरू ल्याउँथे । म त्यसैले जसरी पनि मिल्ने कोसिस गर्थें, सकेसम्म हाँस्थें– उनले बुझे पनि नबुझे पनि, महत्त्व दिए पनि नदिए पनि केही मजाकका कुरा, केही नयाँ कुरा सुनाउँथे र समयमै भाडा बुझाउँथे । उनको मप्रतिको बानीवयहोरा सधैं उस्तै थियो– जोकमा पनि सकेसम्म नहाँस्ने, नबुझेझैं गर्ने गर्थिन् । उनी मलाई चिढ्याउन पनि चाहन्नथिन्, नजिक हुन पनि चाहन्नथिन् ।

‘धनी देशका विद्यार्थी त ठीकै छन् । तर, क्यानाडा, जापान, पश्चिम युरोप, पूर्वी एसियाका केही र खाडीका केही देशबाहेक अन्य ठाउँका विद्यार्थीहरू धेरै नजिक हुन दियो भने आफ्नो देशको दुःखको कुरा सुनाएर बेलामा बहाल नतिर्ने दाउ खोज्छन् भन्ने पनि यी घरभेटीमध्ये कतिलाई परेको छ’, एकदिन मेरो थाई साथीले भन्यो । हुन पनी मैले भाडा लिएर बसेको घरमा म बस्ने तलामा पहिल्यै एउटा इरानी केटा बसेको थियो, जो दिनदिनै इरान सरकारलाई गाली गर्थ्यो, आफ्नो परिवारका सदस्यलाई सत्य, न्याय, प्रजातन्त्र र धार्मिक अल्पसंख्यकको पक्षमा लाग्दा कसरी प्रताडित गरिएको छ भन्ने सुनाउँथ्यो र बूढीले पनि उसको दुःखका कथा सुनेर उसलाई पहिल्यै केही मद्दत गरिसकेकी थिइन् । त्यस इरानीबाहेक अर्को एक अमेरिकी, टाम, पनि त्यही तलामा बस्थ्यो ।

मुख्य कुरा उक्त घर मेरा लागि घरजस्तो भइराखेको थिएन । देख्दा हेल्लो भन्थें, घरभेटीलाई, त्यो इरानीलाई र टामलाई, जो थोत्रो सर्ट लगाउँथ्यो । नब्रास्काबाट एक जना समलिंगी मित्रको पछि लागेर क्यालिफोर्नियाको उत्तरी सहरी क्षेत्रमा आएको टाम नजिकैको एउटा डिपार्टमेन्टल स्टोरमा जुत्ता बेच्ने काम गर्थ्यो । एकदिन आफ्नो साथीले छोडेको, नब्रास्कातिर फर्केर जाने वातावरण नभएको जस्ता टामका दुःखका कुरा सुनेपछि मलाई फेरि ऊसँग धेरै कुरा गर्न मन लागेन ।

यसरी घरबाट पन्ध्र हजार किलोमिटर पर पुगेको मलाई त्यहाँ पनि कुनै सन्तुष्टि थिएन । मेरो मनमा चितवन दोहोर्‍याई तेहर्‍याई आउँथ्यो– सहन नसक्ने तातो मौसममा पनि, साथीभाइ नभएको एक्लोपनमा पनि । चितवनको तस्बिर धेरै खालको थियो । कहिले पश्चिमतिर डुब्न लागेको घामलाई सौराहाबाट हेरेको सम्झन्थें, कहिले भर्खर रोपेका धानको हरियो बीच–बीचको धमिलो पानी सम्झन्थें । कहिले निपनीबाट मोहनातिर जाँदै गर्दा पश्चिमतिर हेर्दा देखेको जंगल सम्झन्थें ।

सम्झनाहरू निरुद्देश्य आउँछन्, जान्छन् । ती मुस्कान पनि ल्याउँछन्, पीडा पनि दिन्छन् । मलाई धेरैजसोले पीडा दिन्थे । कहिलेकाहीं समयले मात्र सम्झनाहरूको अत्याचारबाट मुक्ति दिलाउँछ । मेरो हकमा सान फ्रान्सिस्कोको चिडियाखानाको एकसिंगे गैंडाले पनी सम्झनाको बोझ हल्का बनाउँथ्यो ।

एक शनिबार म चिडियाखानामा त्यो गैंडा हेर्दै थिएँ ।

गैंडासँगै छेउमै, लगभग मैलेजस्तै उक्त गैंडालाई मायालु भावले हेर्दै गरेकी, चिनेचिनेजस्ती, एक महिला देखिइन् । उनको जीउ ठूलो थियो । उनका दाँतहरू पनि धेरै मिलेका थिएनन् । परम्परागत परिभाषामा उनी सुन्दर थिइनन् । म उनको अझ नजिकै गएर गैंडालाई हेर्दै थिएँ, उनले भनिन्, ‘हाम्रै नेपालको ।’

जम्मा दुई शब्द । मलाई भनेको हो कि गैंडालाई बुझ्न सजिलो भएन । तर, पनि मैले भनें, ‘हाम्रै नेपालको जस्तै ।’

‘नेपाल कहाँबाट तपाईं ?’ मैले नजिकै पुगेर सोधें ।

‘चितवन टाँडीबाट,’ उनले भनिन् । उनको उत्तरले मलाई अप्ठेरो पार्‍यो । म अब उनलाई मतलब नगरीकन हिँड्न सक्ने स्थितिमा पुगिनँ ।

‘म पनि टाँडीकै हुँ,’ मैले भनें । उनी पश्चिमपट्टि सौराहा जाने बाटोतिरकी थिइन् । म पूर्वतिरको ।

मलाई नेपालीभाषीहरू फेला पार्न त्यो बे एरियामा गार्‍हो पनि थिएन । अरू बेला भएको भए उनको खासै धेरै मतलब गर्दैनथे हुँला । तैपनि उनीसँग बोल्न मन लाग्यो ।

‘कति भयो यता आएको ?’ उनले सोधिन् ।

‘यस्तै चार पाँच वर्ष,’ मैले भनें ।

‘चार, पाँच वर्ष पनि कति छिटो जान्छ है ?’ तिनले भनिन् ।

र, यसरी एउटा चिनजानको सुरुआत भयो । हामी बिस्तारै ठूलो ओठ भएको त्यो गैंडालाई छोडेर अर्कोतिर हिँड्न थाल्यौं । एकैछिनपछि उनले उनीसँगै घुम्न आएको एक जना इरिट्रियाली मित्रसँग मलाई चिनजान गराइन् । उसले अलिअली दार्‍ही पालेको थियो, मोटो, कालो रिम भएको चस्मा लगाएको थियो । ऊ मसँग चिनजान गर्दा खासै खुसी थिएन । म पनि ऊसँग चिनजान गर्नुपर्दा त्यस्तो खुसी थिइनँ र मलाई लाग्छ, हामी तीनै जना त्योबेला त्यो स्थिति नआइदिएको भए हुन्थ्यो भन्नेमा थियौं ।हामी सँगसँगै चिडियाखानाबाट बाहिर निस्क्यौं ।

नजिकै प्रशान्त महासागरले एसियाको चीन, सिंगापुरदेखि पानी ल्याएर अमेरिकाको जमिनमा छ्यापिरहेको थियो । नजिकै स्लोअट बुलभार्डको पुरानो पिट्स क्याफेमा पसेर मैले तीतो र तातो अमेरिकानो कफी मगाएँ । उनीहरूले जुस मगाए । उनको इरिट्रियाली मित्र आफ्नो देशबारे बोल्न धेरै रुचाएन । मैले बीचमा एकपटक भनें, देशको खराब खबर सुन्दासुन्दा म त गैंडाजस्तो भैसकेको छु, केहीले पनि नछुने । घरभेटी र अरू छिमेकीको कुरा भने मैले गरिनँ । उनले आफ्नो कुरा खासै गरिनन् । निकैवटा चिसा सन्नाटाबीच त्यो तातो कफी पियाइसकियो । पिइन्जेल हामी तीनै जना मन नभईनभई कुनै सभामा बस्न बाध्य भएका श्रोताजस्ता थियौं ।

फर्केर त्यो दिन राति मैले उनलाई सपनामा देखें । सपनामा उनी र म बजारमा हिँड्दै थियौं । अरू कोही पनि थिएनन् । उनले आफ्नो संघर्षका कथा सुनाइन् । टाँडीको माध्यमिक विद्यालयमा पढ्दाका कुरा सुनाइन्, सकीनसकी संघर्ष गरेर अमेरिका आउने जाँच दिएको कथा सुनाइन्, भिसा पाउने हो कि होइन भनेर राजदूतावासमा कुरेको कुरा सुनाइन् । अमेरिका गएपछि ट्युसन तिर्न गाह्रो भएको कुरा सुनाइन्, साथीभाइ नभएका बेला बल्ल एक जना इरिट्रियाली साथी भेटेको कुरा सुनाइन् । विपनामा जे कुरा उनले भनेकी थिइनन्, त्यो सपनामा आएर सबै स्पष्टीकरण दिइन् । बिहान उठ्दा उनीप्रति मेरो सोचाइ केही राम्रो भयो । त्यसको एक हप्तापछि फेरि बर्कलीमा मेरो क्याम्पसछेउ कफी खान भेट्ने उनको र मेरो कार्यक्रम बन्यो ।

मेरो सपनामा जेसुकै भए पनि कफी–भेटमा उनी कुनै स्पष्टीकरण दिने गरी आएकी थिइनन् । कफी खाँदै गर्दा उनी धेरै बोलिनन् । मेरो जीवन मेरो मर्जी हो भन्ने उनको सोचाइ थियोजस्तो लाग्छ । म बरु अरू बेला धेरै नबोल्ने मान्छे भए पनि त्यतिखेर उनीभन्दा धेरै बोलें । टाँडीको उनको गाउँ मोहनातिरको कुरा धेरै गरें । जबर्जस्ती केही प्रसंग ल्याएर टाँडीको मेरो गाउँ शान्तिचोक र उनको गाउँ मोहनाबीचको सम्बन्ध गाँस्न खोजें ।

‘शान्तिचोकमा सानो छँदा, उखुम गर्मीमा पानी लगाउन जाँदा, हामी बाघचाल खेल्थ्यौं । खेतको बीचमा सानो खरको छानो भएको कुटी बनाएको हुन्थ्यो, चिसो पानीको गाग्रो हुन्थ्यो, त्यही कुटीको शीतलमा बस्दै बाघचाल खेल्थ्यौं । छेउमा सधैं बसेर गफ चुट्ने दुई, तीन जना हुन्थे । एक जना कलकत्ताबाट फर्केका लाहुरे थिए, जो आफ्नो कलकत्ताको रसिक जीवनबारे सुनाउँथे । अर्को एक जना अन्तरिक्षयात्री थिए । उनका अनुसार, चितवनमा मान्छेहरू खासै नहुँदाका बेला, २०१८ साल तिर, एक दिन उनी डुल्दै मोहनातिर गएका थिए । चर्को गर्मीमा थाकेर खेतनजिकै सुस्ताएका मात्र के थिए, केही एलियनहरू आएर उनलाई समातेर मंगल ग्रह लगे । केहीदिन राखे र फर्काइदिए रे ।’

यत्तिको रसिलो अनुभव सुनाएपछि उनले प्रतिक्रिया जनाउने ठाउँ निकै हुन्थे । पहिलो कुरा यो कथा मोहनासँग जोडिएको थियो, अर्को कुरा अन्तरिक्षयात्री चितवनमा त्यसरी फेला पार्नु चानचुने कुरा थिएन ।

‘साँच्चै आस्ट्रोन्याट त के होला त्यो ?’ अपेक्षित रूपमा उनले सोधिन् ।

‘खै ?’ मैले पनि के–के न अनभिज्ञ भएजस्तो गरेर उत्तर दिएँ । तर, यथार्थमा उक्त आस्ट्रोन्याटको यात्रा विवरण सधैं उस्तै हुन्थ्यो । ऊ सुरुमा पाँच तले रकेट चढेर माथि गयो, सुरुमा रकेटको एउटा तला खस्यो, त्यसपछि दोस्रो तला खस्यो, त्यतिन्जेल ऊ वायुमण्डलको माथि पुगिसकेको थियो । त्यसपछि पृथ्वीको दुई चक्कर लगाएर पृथ्वीको अन्तरिक्षबाट बाहिर निस्कने बेला रकेटको अर्को तला खस्यो, त्यसपछिको करोडौं माइल दुईतले यानमा गयो । मंगलग्रह नजिक पुगेपछि ऊ माथिल्लो तलामा गयो । त्यसपछि तल्लो र माथिल्लो तला छुट्टियो ।

माथिल्लो तला मंगलग्रहतिर लाग्यो, तल्लो तलाले मंगलग्रहको वरिपरि फन्को लाइरह्यो । फर्केर पृथ्वी आउने बेला त्यो माथिल्लो तला आएर तल्लो तलासँग जोडियो र ऊ तल्लो तलामा गयो । त्यसपछि माथिल्लो तलालाई उतै मंगलग्रहमा छोडेर तल्लो तला मात्र भएको एकतले रकेटमा चढेर ऊ पृथ्वीमा आइपुग्यो । जतिपटक सोधे पनि रिठ्ठो नबिराई आस्ट्रोन्याट यही कथा भन्थ्यो । साँच्चै भनुम् भने मलाई पछि त उसको कुरामा विश्वास हुनथाल्यो । मैले उनलाई यही कुरा सुनाएँ ।

उनीसँग किन कुरा गरिरहेको थिएँ, किन उनले मेरो कुरामा ध्यान दिऊन् भन्ने चाहन्थें मलाई थाहा थिएन । म आफूलाई उनीभन्दा निकै माथिको व्यक्ति ठान्थें र त्यसको सुनिश्चितताका लागि पनि उनी मेरो प्रशंसा गरून्, मप्रति कौतूहल हुन् भन्ने चाहन्थें । तर, त्यही बेला उनको इरिट्रियाली साथी सम्झन्थें अनि मलाई हामी समुद्रमा फालिएका र बग्दै गर्दा अचानक भेटिएका प्लास्टिकका दुई खाली बोतलजस्तै हौं भन्ने लाग्थ्यो, भेटिएको केही समयपछि छुट्टिनेमा कुनै शंका नभएको ।

उनको इरिट्रियाली साथीसँग उनलाई भेटेपछिको एकदिन स्याटक अभेन्युको कर्नरमा भेटें । उसको एउटा सानो ग्रोसरी स्टोर थियो । मलाई देखेपछि ‘हे म्यान’ भनेर बोलायो । हामी दुवै जनालाई एक अर्काप्रति कुनै उत्सुकता नभएको कुरा हामी दुवैलाई थाहा थियो । उसको बाउसको बालाई पहिलोपटक त्यहीं भेटें । ती इरिट्रियाको इथियोपियासँगको स्वतन्त्रता क्रान्तिका बेलाका वामपन्थी विद्रोहीतर्फका एक महत्त्वपूर्ण नेता थिए । उनी इरिट्रियाका स्वास्थ्यमन्त्री पनि भएका थिए तर पछि राष्ट्रपतिसँग उनको कुरा नमिलेपछि उनी भागेर बर्कली आएर बसेका थिए । तर, उनको बर्कली बसाइ त्यति सुखद भने थिएन । मैले भेट्नु केही दिनअघि उनी रेल स्टेसनमा रेल कुर्दै थिए । उनले इरिट्रियामा छँदा मारेका कुनै व्यक्तिको परिवारको सदस्यले उनलाई चिनेछन् र धन्न रेलको लिकमा खसाएर फ्याँकिदिएनछन् ।

‘ढिलो–चाँडो त्यो बूढोलाई कसै न कसैले मार्छ । आफू मन्त्री हुँदा त्यसले भुइँ न भाँडामा भएर कतिलाई मारेको थियो,’ एकदिन बर्कलीमा पढ्ने एक इरिट्रियालीले मलाई भनेको थियो ।

‘तिनीहरूको परिवारलाई कुनै पनि इरिट्रियनले मन पराउँदैन, यहाँ तिनीहरूको कोही साथी पनि छैनन्,’ अर्को एक इरिट्रियनले मलाई त्यसपछिको एक दिन भन्यो ।संयोगवश ती इरिट्रियाली बूढालाई नेपालको सशस्त्र संघर्षबारे धेरै नै विस्तृत थाहा थियो । नेपालका विद्रोही नेताहरूको नाम पनि कनीकुथी भन्न सक्थे । मलाई लाग्यो, अन्तरकुन्तरमा उनी अझै विद्रोही थिए । ती कतै कोही विद्रोही भएर लडेको थाहा पाए भने कुरा बुझ्नतिर नलागी उनीहरूको पक्षमा नै बोल्ने खालका व्यक्ति थिए ।

***

सेप्टेम्बरको पहिलो हप्ता नै अपेक्षित रूपमा ‘हिटवेभ’ सुरु भयो । मेरो बस्ने कोठामा एयर कन्डिसनर थिएन । दिउसो कफी खाने बानी पनि केही समयलाई छुट्यो । पुस्तकालयको चिसो हुने भागमा बसेर पत्रिका पढ्दै समय कटाउन लागें ।

‘सेप्टेम्बरतिर मेरो ध्यान सधैं यहाँको नयाँ पारागुयान विद्यार्थी आए भन्नेमा हुन्छ । सधैं मेरो आशा राम्री, कुरो मिल्ने, तिक्ष्ण कोही आफ्नो छरछिमेकतिरबाटै आइदिओस्, मसँग ग्रोसरी गर्न अथवा अन्य केही काम गर्न सहयोगका लागि याचना गरोस्, उसका स्वर सुनिराखूँजस्तो मीठो होस् र मेरो सम्बन्ध बिस्तारै बढोस् भन्ने हुन्छ । तर, आजसम्म कहिल्यै त्यस्ता कोही आएनन, बरु यो दाह्री पाल्ने झुसिलो, गनाउने टिसर्ट लगाउने केटो अघिल्लो वर्ष आयो,’ मसँगै पढ्ने पारागुएको एक विद्यार्थीले अर्को पारागुएली केटालाई देखाउँदै पुस्तकालय बाहिर उच्छवास छोड्दै भन्यो ।

अरूले आफ्नो मनको कुरा भन्दा पनि कृतघ्नतापूर्वक मनमा त्यस्तो नभएको भन्ने देखाउने मेरो वानी अझै गइसकेको थिएन । ‘तिम्रो देश सानो भएकाले हो त्यस्तो भएको,’ मैले भनें ।

हिटवेभले सुत्न नदिएको त्यो बेला नै मैले एक सपना देखें । एक महिला विश्वविद्यालयको साथर गेटबाट सकीनसकी नीलो सुटकेसको झोला बोकेर विश्वविद्यालयतिर आउँदै थिइन् । म पुस्तकालयबाट निस्कँदै थिएँ । तिनले मेरो नजिक आएर भनिन्, ‘तपाईं नेपाली हैन ?’

म झस्कें । उनी मिलानका फेसन सोहरूमा क्याटवाक गर्ने मोडलहरूजस्तै वित्पात राम्री थिइन् । ‘कसरी चिन्नुभयो ?’ मैले सोधें ।

‘म बर्कली आउने भएपछि तपाईंको बारेमा सुनेको थिएँ । मेरा केही नातेदार पूर्व चितवनमा पनि छन् । तिनले पनि तपाईंलाई चिनेका रहेछन् । मेरो मावली बा चिन्नुहुन्छ होला । मंगलग्रहमा गएर फर्केका अस्ट्रोन्याट ।’

‘किन नचिन्ने ?’ मैले भनें ।

उनले मेरो आँखामा हेरेर भनिन्, ‘हेर्नुस् न, न छात्रावास देखेको छु, न जुस, फलफूल, मुस्ली कता गएर किन्ने भन्ने नै थाहा छ । के गर्ने होला ?’

मेरो निधारमा चिटचिट पसिना आयो, तैपनि मैले भनें, ‘किन पीर गरेको ? म छु नि !’ मैले उनलाई सहयोग गरें, छात्रावास पुर्‍याइदिएँ, किनमेल गराइदिएँ । अन्त्यमा उनले मलाई धन्यवाद भनिन् । मैले उनको मुख हेरिरहें । उनको सुन्दर आँखा, नाक, मुख, ओठ, शरीर सबै फेरिँदै गयो । तिनी मैले चिडियाखानामा भेटेको महिला बनिन् । म हिटवेभको प्रभावले त्यसपछि फेरि उठें ।

त्यसको केही दिनपछि तिनलाई फेरि भेटें । तिनी बिस्तारै राम्री लाग्दै गइन् । उनको स्वर पनि मीठो लाग्न थाल्यो । उनी कुनै नजिकैको नेपाली दोकानमा काम गर्थिन् र बर्कलीको बिचको मेट्रोस्टेसनबाट डेरामा घर फर्किन उनलाई पायक पर्थ्यो ।

उनलाई मैले सेप्टेम्बरको तेस्रो साताको एकदिन टेलिग्राफ अभेन्युमा रहेको बर्मेली खाना खाने रेस्टुराँमा लन्च गरौं भनेर प्रस्ताव राखेको थिएँ । तर, मैले उनलाई सीधै प्रस्ताव नराखेर घुमाएर राखेको थिएँ ।

‘तिमीलाई भोक लागेको जस्तो देखिन्छ । लन्च आवर पनि भयो । मैले त खासमा भर्खर टन्न पेट भर्ने गरी स्यान्डविच र कफी माथि पिएको थिएँ । तर, तिमीलाई भोक लागेको छ भने ऊ त्यहाँको बर्मेली खाना मलाई मन पर्छ, तिमीलाई म खुवाउँला । तिमीलाई साथ दिन म पनि केही खाउँला, ’ मैले उनलाई भनेको थिएँ । उनी उनका नमिलेका दाँत देखाउँदै उपहासको हाँसो हाँसेकी थिइन् । ‘भैगो पछि कुनै बेला तिमीलाई भोक लागेका बेला, खाउँला,’ उनले भनिन् ।

अक्टोबरको सुरुतिर हिटवेभ सकिन थाल्यो । उनको उपेक्षाले मलाई भित्रभित्र अप्ठेरो र उकुसमुकुस बनाउन थालेको थियो । माथि नै उल्लेख गरेजस्तै मैले आफूलाई जहाँ राखेर हेर्थें, त्यसको तुलनामा उनलाई निकै तल राख्थें र मसँग हिँड्नु, खाना खानु, कफी खानुले उनको सामाजिक प्रतिष्ठा बढाउँछ भन्ने उनले ठान्नुपर्ने हो भन्ने म सोच्थें । यसैले पनि उनको सरल, शिष्ट उपेक्षाले मेरो आत्मविश्वास दिनदिनै क्षय गरेको थियो । मलाई दुई दिन, तीन दिनको फरकमा एकपटक उनी भेट्थिन् र हामी बजारको बीचमा बसेर टाँडीको, चितवनको कुरा गर्थ्यौं । त्यसपछि उनी आफ्नो बाटो लाग्थिन्, म आफ्नो बाटो । केही दिनपछि भने म उनलाई भेट्दा अप्रत्यक्ष रूपमा कसरी अरू इरिट्रियालीहरू उनको साथीको परिवारलाई निन्दा गर्छन् भन्ने कुरा गर्न थालें ।

‘तिमी उसको डाहा गर्छौ,’ उनले उत्तरमा भनिन् ।

एकदिन साँझपख मैले उनलाई भियतनामी खाना खान साटक अवेन्युको ओरिएन्टल रेस्टुराँमा जाऊँ भनें । अक्टोबरको अन्त्यतिर भएकाले सडकमा ओक, कपूर तथा पिट्स्पोरम फूलका बुटामा बत्ती नै बत्ती बाल्न सुरु गरिएको थियो । त्यो वर्ष माथि बर्कली गार्डेनमा आठ दस वर्षमा एकपटक फुल्ने मालाडोरा भन्ने फूल फूलेको थियो । मालाडोरा आठ वर्षपछि जम्मा एक–दुई दिनका लागि फुल्थ्यो, तर फुल्दा गनाएको सिनोजस्तो दुर्गन्ध आउने गरी फुल्थ्यो । ‘कुन हो नेताले भनेको थियो, राजनीतिमा बीस वर्षसम्म केही हुँदैन, तर त्यसपछि यस्तो बीस घण्टा अपर्झट आउँछ कि त्यो बीस घण्टामा बीस वर्षमा हुनुपर्ने राजनीतिक घटना एकैचोटि हुन्छन् । यो फूल त्यस्तै छ । वर्षौं फुल्दैन, एक दिन फुल्दाचाहिँ संसारै आतंकित गराउँछ,’ भियतनामी रेस्टुराँतिर जाँदै गर्दा त्यो फूलको वर्णन गर्दै मैले उनलाई भनें ।

हाम्रो मित्रतामा पनि केही हप्तासम्मको शान्त स्थिरतापछि त्यो स्तब्ध पार्ने छोटो समय आउने बेला भएको थियो ।

उनले ओरिएन्टलमा पिरो फो खान सुरु गरेपछि मलाई भनिन्, ‘म तीन महिनाको गर्भवती रहेछु ।’

मलाई खाएको फो खाऊँ कि ओकलूँजस्तो भयो । ‘के गर्छ्यौ ?’ मैले यत्ति सोधें ।

‘राख्छु,’ उनका अनुसार, त्यो इरिट्रियाली केटा खबर सुनेपछि निकै खुसी थियो ।

कम्तीमा मेरा लागि उनको र मेरो अध्याय ठीक त्यहीँ अन्त्य भयो । उनको हकमा त्यो सम्भवतः कहिल्यै सुरु भएको थिएन ।

छ महिनापछि उनले बच्चा जन्माउँदा म उनलाई भेट्न टेलिग्राफ अभेन्युको एक फेमिली म्याटर्निटी सेन्टरमा गएको थिएँ ।

‘तिमीले यहाँ जरा गाड्यौ, मेरो फर्कने बेला भयो,’ मैले भनें । इरिट्रियाली केटाको बा पनि भेट्न आएका थिए । मैले जिस्क्याउँदै भने, ‘अब तिम्रो नातिले मेरो छोरा नातिलाई परबाट बम खसाल्ने होला ।’ उनको क्रान्तिकारिता पौडँदै–डुब्दै गरेको भकुन्डोजस्तो थियो ! अमेरिकाले दीनदुःखीलाई दिएको सहयोगको तारिफ गर्थे, तर मौका पाउँदा विश्वभरिका अमेरिका विरोधीहरूप्रति आसक्ति पनि देखाउँथे ।

‘तिमी पनि टाँडी नै त जाने हैन होला । मान्छेहरू आईए, बीए पास गर्नेबित्तिकै टाँडीका लागि ठूला हुन्छन् । त्यहाँ के छ र ? जागिर छैन । ती त्यहाँ अटाउँदैनन्,’ तिनले भनिन् । मैले आफू टाँडी नभई नजिकैको रामपुर क्याम्पसमा पढाउन जान लागेको भनेपछि उनले भनिन, ‘आकाशबाट झर्‍यौ, खजुरमा अड्कियौ ।’

आज फर्केर हेर्दा के लाग्छ भने जीवनमा कुनै एकबेला हामी जतिसुकै अप्ठेरोमा परे पनि अन्ततोगत्वा जीवनले धेरै मौका दिन्छ । जीवन एउटा रूखजस्तै हो । एउटा मात्रै पात बाँकी नभएर झरेको रूखको पनि केही समयपछि पालुवा लागेर हरियाली आउने स्थिति भएझैं निराशा नै निराशा र असफलता नै असफलताले जिजीविषा हराएको जीवनमा पनि धैर्य राखेर कुर्ने हो भने पालुवा चढ्न सक्छ ।

***

मेरो पढाइ सकिएर देश फर्कने बेला भयो ।

फर्कनु केही दिनअघि जीउ दुख्ने गरी यो किताब नेपाल लाने, यो छोड्ने भनेर निर्णय गर्दै, सामान सुटकेसमा राख्दै, आफूलाई मन परेका कपडा र जुत्तासमेत छोड्दै सकेसम्म सानो लगेज बनाउन कोसिस गर्दै थिएँ ।

यस्तै पुराना नेपाली गीतहरू इन्टरनेटमा सुन्दै सकेसम्म नेपालको म सानो छँदाको वातावरण बनाउँदै घरको सम्झना नजिक नजिक ल्याउन खोज्दै थिएँ । पुराना गीत–संगीतले गर्दा एकैछिनका लागि मेरो त्यो डेरामा म सानो छँदाको पूर्वी चितवन आयो र गयो ।

मेरी घरभेटी आमैले माया गर्दै तेरो देश गरिब छ, तेरो जीवनमा अझै धेरै संघर्ष बाँकी छ भनेर मलाई अप्रत्याशित रूपमा अन्तिम महिनाको घरभाडा नलिने घोषणा गरिदिइन् । म फर्केर चितवनको रामपुर क्याम्पसमा पढाउने लगभग टुंगो लागेकाले त्यस्तो कुनै संघर्ष बाँकी छजस्तो लागेको थिएन, तर उनले दिएको घरभाडाको उपहारको उपयोग गर्दै इन्डोनेसियाको बाली घुम्न गएर त्यही बाटो नेपाल फर्कने निर्णय गरें । बालीमा समुद्रको तीरमा पत्थरमा रहेको ताना लट मन्दिरमा एक जना नेपाली भेट भए । सरकारी हाकिम रहेछन्, कुनै अर्थशास्त्रीहरूको कन्फेरेन्समा पुगेका । ‘मेरी भान्जी राम्री छ, चिनाइदिन्छु,’ उनले छुट्टिने बेला, मेरो खर्चमा कफी र केक खाएपछि, भने । यसरी मेरो जीवनको डोरी बाँधियो ।

बिहेपछि एक वर्ष बित्यो, दुई वर्ष बित्यो । पश्चिम चितवन बढ्दै गएको देखेर र रामपुर क्याम्पसमै बसेर लामो समयदेखि पढाइरहेकाले पनि मैले पूर्व चितवन स्थायी रूपमा नै छोडेर पश्चिम चितवनमा घर बनाएर बस्ने लगभग निश्चय गरेको थिएँ । मेरी श्रीमतीको पनि त्यही चाहना थियो । त्यही बेला सुशील कोइराला चितवनबाट चुनाव लड्ने हल्ला धेरै जोडजोडले चल्न थाल्यो ।

त्यसैताका एक दिन सपनामा तिनै सुशील कोइरालालाई देखें । उनी सिलगुडीमा डुल्दै रहेछन् । मेरी श्रीमती र म पनि शैलेश्वेरी मन्दिरमा पूजा गर्न प्रतीक्षारत थियौं । वरिपरि कपललेखी, तिखा, पाँकरी, कलेना, सानागाउँलगायतका गाउँ भएका ठूला डाँडाहरू थिए । उत्तर र पश्चिममा डडेलधुरा, वैतडी र बझाङ चियाएर हेरिरहेका थिए । सुशील कोइरालाले मलाई नजिकै आएर भने– तपाईंजस्तो मान्छे के गर्नुभएको ? जानुस् आफ्नो ठाउँ ।’

‘आफ्नो ठाउँ भन्नाले ?’ मैले सोधें ।

‘पूर्व चितवन । तपाईंले पूर्व चितवन छोडेर पश्चिम चितवनमा घरजम गर्ने निर्णय लिनुअघि पूर्व चितवन राम्ररी बुझ्नुस्,’ कोइरालाले भने । आफू पश्चिम चितवनबाट चुनाव लड्न लागेका सुशील कोइरालाले किन मलाई पूर्व चितवनमा बस्न सल्लाह दिए मैले बुझ्न सकिनँ । राजनीतिज्ञहरू देशभरि घुम्छन्, थातथलो छोड्छन् र पनि मलाई किन त्यसरी थातथलो नछोड्न भनेका होलान् ? त्यसमा उनको फाइदा त केही थिएन ।

सपनाको अर्को भागमा मैले आफू सिलगुडीको एक होटलमा श्रीमतीसँगै बसेर चिया र माडा खाएको देखें । ‘भगवान्को कृपाले देशविदेश धेरै देखियो । अब पूर्व चितवन नै स्थायी रूपमा बसौं कि ?,’ मैले भनें । ‘पूर्व चितवनमा के गरेर बस्ने ? राम्रा कलेज छैनन् । सानो होटल खोल्ने ? कुखुरा पाल्ने ? के गर्ने ? कि फेरि खेतीपाती गर्ने ?,’ मेरी श्रीमतीले सोधिन् ।

‘हेरौं न, के गर्न सकिन्छ त्यहाँ ?,’ मैले भनें ।

मैले देखेको सपना त्यहीँ सकियो । त्यो दिन दिनभरि क्याम्पसमा बस्दा मनचाहिँ पूर्व चितवनतिर गइरह्यो ।

***

सुशील कोइरालासँग डोटीमा भेट भएको सपना देखेको दिन साँझपख म बिस्तारै टिकौलीको जंगल छिचोलेर पूर्वी चितवन गएँ । कल्पनाको तरेलीमा के भ्रम हो, के सत्य हो भन्ने स्पष्ट भएन । जंगलका सालका रूखहरूमुनि मेरो कल्पनामा दुईवटा बाघ देखिए, चारवटा गैंडा देखिए र सयौं हरिण देखिए । मैले सानोदेखि देख्न खोजेका सबै जनावर देखिए । प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै व्यक्ति देखिए । मेरा बा, कास्कीको माथिको डाँडामा वर्षौंदेखि दुःखजिलो गरेर बसेका र बितेर गएका मेरा पुर्खाहरू देखिए । यसपालिको मेरो फर्काई विशेष जो थियो ।

म निपनीबाट मोहनातिर गएँ । पश्चिमतिर डुब्न लागेको घाम म सँगसँगै हिँड्दै थियौं । धेरै वर्षपछि देख्दा पनि टिकौलीको जंगलका रूखहरूको उचाइ उस्तै थियो जस्तो मैले क्यालिफोर्निया हुँदा कल्पना गरेको थिएँ । केही खेतहरू फुल्न सुरु गरेका फलफूलका रूख र तरकारीका बुटाले भरिएका थिए । घामको मुनिबाट त्यो उचाइ र ती खेतहरूले मलाई पुरानो यादसँग एकाकार गराए । पुराना कुलाहरू अझै थिए । गोधूलि साँझमा टिकौलीबाट घाँटीमा घण्टा झुन्ड्याउँदै फर्कने गाई तथा भैंसीको झुन्डले मेरो अगाडिबाट बाटो काटे । तिनको खुरले उडाएको माटोको सुगन्ध मेरो नाकबाट शरीरभित्र पस्यो ।

सडकमा सेतो पाइन्ट, सेतै जुत्ता लगाएर जितेन्द्र र मिथुनका जस्ता कपाल बनाएका युवाहरू हिँडिरहेका थिए, पहेंलो सर्ट लगाएर जुही चावलाजस्तो देखिएर महिलाहरू हिँडिरहेका थिए । नीलम र श्रीदेवीजस्ता देखिने युवतीहरू पनि साइकल चढेर हिँडिरहेका थिए । मानौं पूरै जिल्लाको फेसन मैले हाइस्कुल पढेर छोड्दाको जस्तो भएको थियो ।

म सौराहाको केसि’ज रेस्टुराँमा गएर रोकिएँ । मेरा केही पुराना साथीहरू त्यहाँ मलाई कुरिरहेका थिए । मैले भने, ‘कस्तो हेर न, घर देखें, मान्छे देखें, सन्तोकको कुरा सबै कुरा मैले छोड्दाजस्तै छ । केही परिवर्तन भएको छैन ।’ उनीहरू हाँसे । भने, ‘परिवर्तन त तिमीले देखेकै छैनौ । परिवर्तन पनि धेरै भएको छ ।’

त्यसपछि म उनीहरूसँग परिवर्तन हेर्न गएँ । नजिकैको बछ्यौलीका गाउँहरूका फुसका घरहरू राम्रा भइसकेका रहेछन् । पहिले गाईगोठ हुने ठाउँमा निजी गाडी देखिए । होटलमा काम गर्ने विदेशीहरू बाटोमा हिँडिरहेका देखिए, उनीहरूका डेराका लागि बनाइएको राम्रो बस्ती देखियो ।

त्यसपछि म आस्ट्रोन्याटको घर गएँ । टेबलमा मैले ‘कादम्बिनी’ को एउटा विशेषांक भेटें– जहाँ नील आर्मस्ट्रङको चन्द्र–यात्रामाथि लेखिएको लेख थियो । आस्ट्रोन्याट मतिर हेरेर फिस्स हाँस्यो । मैले ‘ए’ भने ।

अन्त्यमा फेरि त्यो इरिट्रियाली मित्र, उसको नेपाली श्रीमती र उनीहरूका बच्चा देखिए । ‘हामी पनि त यहीँ बस्ने भनेर आयौं । अब यही घर किन्ने मन छ ।’ इरिट्रियालीले आफ्नो घुम्रेको कपाल र कालो वर्णको छाला भएको छोराको टाउको मुसार्दै भन्यो, ‘कती सहिष्णु र सम्पन्न ठाउँ !’

‘कस्तो राम्रो,’ मैले भनें ।

‘पचास लाख नेपाली विदेशमा भएकोमा चितवनका नै डेढ लाखभन्दा बढी जति विदेश गएका होलान् । कसले को बिहे गर्छ, कसले कुन देशको बिहे गर्छ । अब यो नेपाली महिलाले इरिट्रियालीसँग बिहे गरेर जन्मेकालाई के जात भन्ने ? यस्ता कति छन्, कति हुनेछन्, केमा विभेद गर्नु ?,’ मेरा साथीहरूले भने ।

‘तिमीहरूले यसरी सोचेको ? म सारा संसार घुम्दा पनि हुर्कंदाको विभेद खल्तीमा बोकेर हिँड्दै थिएँ । तिमीहरू यही बसेर फेरिएछौ,’ मैले उनीहरूलाई भनें, ‘पुराना कुरा पनि देख्छु, नयाँ सोचाइ पनि देख्छु ।’ मिथुनको जस्तो कपाल काटेको र जितेन्द्रको जस्तो सेतो पाइन्ट र सेतो जुत्ता लगाएको मेरो साथीलाई मैले भनें ।

म घर पुगें । बा–आमा घरबाट बाहिर निस्कनुभयो । धेरै बूढो हुनुभएको थिएन । मेरो घरको तल्लो तलामा दुई जना विदेशी र एक जना नेपाली बस्ने रहेछन् । ती पनि आए । एउटा इरानियन, एउटा अमेरिकी थिए । ‘हामी नजिकैको कलेजमा पढ्छौं,’ तिनले भने । ‘तपाईंका बा–आमाले माया गर्नुहुन्छ,’ इरानियनले भन्यो, ‘मेरो देशमा धेरै दुःख छ । मेरो घर इरानको निशापुरमा हो । यसपालि निशापुरमा धेरै बाढी आयो र हाम्रो धानखेत केही राखेन । बा–आमालाई भनेको, मेरो घरभाडा मिनाहा गरिदिनुभयो ।’ ‘थाहा छ, थाहा छ,’ मैले भनें ।

बा–आमासँग खाना खाँदै गर्दा बाले भन्नुभयो, ‘यो इरानीको देशमा धेरै दुःख रहेछ । अब घर जाने बेला पनि भएको छ । तेरी आमाले त्यसको अर्को महिनाको पनि भाडा नलिने कि भन्दै छे । मेरो वैंक खातामा अलिअलि पैसा छ, त्यता इरानतिर एउटा स्कुल भवन बनाउन चन्दा दिऊँ कि जस्तो लागेको छ । यो मान्छे सोझो, मिहिनेती छ, पैसा लगेर आफैं त नखाला है ?’

‘होस गर्नुस् । धेरै विदेशीको भर हुँदैन । यस्तै दुःखका कुरा सुनाउँछन् र हाम्रो पैसा लिएर जान्छन्,’ मैले भनें । ‘यसलाई एकपटकलाई चाहिँ दिनुस्, तर भविष्यमा सकेसम्म यस्ता दुःख देखाउने विदेशीलाई घर भाडामा नराख्नुस् ।’

बाले त्यही चेक झिक्नुभयो र मिति लेख्नुभयो, ‘जुन २६, २०१३ ।’

प्रकाशित : आश्विन २३, २०७८ १०:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×