जम्काभेट शवहरूसँग- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जम्काभेट शवहरूसँग

म घटनास्थलमै उपस्थित भएर केही बीभत्स लासको मुचुल्का गर्न बाध्य भएँ । ती भयावह घटनाले मलाई एक कठोर नारीमा रूपान्तरण गरिदियो ।
सत्यभामा माथेमा

काठमाडौँ — यहाँ लेखिएका यी कथा मनगढन्ते होइनन्, बेहोरेकै व्यथा हुन् । न्यायाधीश पदबाट सरकारी अधिवक्तामा सरुवा हुँदा भएका लासहरूसँगका जम्काभेटको नालीबेली हो यो । म कानुनमा हदै अडिग भइदिँदा सर्वोच्च अदालतका प्रधानन्यायाधीशसमेत चिढिए । सजायस्वरूप म जिल्ला न्यायाधीशको पदबाट अञ्चल सरकारी अधिवक्तामा सरुवा गरिएँ । २०३०–३२ सालतिर अपराध भएका घटनास्थलमा प्रहरीसँगै सरकारी अधिवक्ता पनि जानु अनिवार्य थियो । त्यसै क्रममा आत्महत्या वा हत्याको स्थलगत लास मुचुल्का गर्दा धेरै लाससँग साक्षात्कार गरेकी छु ।

म सरकारी वकिल कार्यालय, वाग्मती अञ्चलमा सरुवा भएँ । वाग्मती पुलमुनि फालिएको नवजात शिशुको लास हेर्न प्रहरीसँगै गएँ । पुलमाथि मानिसको भीड थियो । प्रहरीसँगै लास हेर्न पुलमुनि जाँदै गर्दा सुनेँ, ‘कस्ती अपराधी आइमाई रहिछ ! बच्चा मारेर फाल्न कसरी सकेकी होली ?’

गालीगलौज त मैमाथि पो बर्सिएको रहेछ । केही बोलिनँ । लासको मुचुल्कापछि फर्कें । गाडीभित्र पसेपछि प्रहरी इन्स्पेक्टरले हाँस्दै भने, ‘सर, तपाईंलाई पो दोषी ठहर्‍यायो ।’

‘ठीकै छ, उनीहरूलाई के थाहा ! आखिर बच्चा जन्माउने त महिला नै हुन् । समाजले सधैं महिलालाई नै त दोषी देख्छ नि ! यो कुनै अस्वाभाविक आरोप होइन ।’

...

टुकुचा खोलाको बगरमा बोराभित्र ५ वर्षको बालकको लास फालिएको रहेछ । बालकको गर्धनपछाडिपट्टिको हाड भाँचिएको थियो । तथ्य खोतल्दै जाँदा नयाँ–सडकका एक साहुकहाँ काम गर्ने २७–२८ वर्षको जवान अभियुक्त प्रमाणित भयो । साहुसँग २–४ लाख असुल्न बालकको अपहरण गरिएको रहेछ । अभियुक्तले बयान दियो, ‘हत्या गर्ने मेरो उद्देश्य थिएन, घर जान बालकले हठ गर्‍यो । मुख बन्द गर्दा खाटको छेउमा टाउको बज्रिन गएर मृत्यु भयो ।’

बालककी आमाले अभियुक्तसँग भेट्न चाहिन् । त्यही मनसाय बुझेर कार्यालयमै भेटको प्रबन्ध मिलाइयो । भेटमा आमाको मार्मिक क्रन्दनले हरेकको आँखा रसायो । अपहरण अपहरणै थियो, अपहरणकारीले बालकलाई मार्न नै नखोजेको, दुर्भाग्यवश अप्रत्याशित घटना भएकोमा पश्चात्ताप गर्‍यो । अभियुक्तले पनि आँसु बगाउँदै हात जोडेर माफी माग्यो ।

...

अर्को एउटा अचम्मको घटना मनमा सम्झनामा छ । त्यौड र कमलाक्षीमा रहेको खड्गीहरूको टोलमा डेरा गरिबसेको २०–२५ वर्षको गाउँले ठिटो आफू बसेको घरभन्दा दुई घर पर बारीमा घोप्टो परेको अवस्थामा मृत भेटियो । घटनास्थलमै उपस्थित भएर लास मुचुल्का गर्दा उसको घाँटीमा साधारण डोरी कसिएको बाहेक अरू घाउचोट भेटिएन ।

तीन तलामाथि ऊ बसेको कोठाको निरीक्षण गरियो, भित्रबाट गजवार लगाएको बन्द कोठाको ढोका फोरेर । भित्र दाखिल हुँदा मदिराको गन्ध आयो । टेबुलमा चारवटा मदिराका खाली ग्लास थिए । साधारण खाटमा ओछ्याइएको खुट्टापट्टिको भागको तन्ना अति अव्यवस्थित थियो । तकियामुनि बडेमानको खुकुरी र तकियामाथिको दलिनमा मृतकको घाँटीमा बाँधिएको सानो डोरी चुँडिएको अवस्थामा थियो । मृतकका किताब जाँच गर्दा नोटबुक भेटियो, जसमा विद्वान्का कोटेसनबाहेक अरू थिएनन् ।

एउटा खापा खुला भएको झ्यालतिर जाँच गर्दा झ्यालको डिलमा पाइलाको अस्पष्ट छाप देखेँ । हत्यारा कोठाको ढोकाबाट शव अन्य व्यक्तिको बारीमा फालेर फर्किएपछि ढोका बन्द गरी झ्यालबाट ओर्ली तल्लो कोठाको झ्याल भएर भागेको हुनुपर्छ भन्ने हाम्रो टोलीले अनुमान गर्‍यो । प्रमाणका निमित्त मदिराको बोतल, ४ वटा खाली ग्लास र नोटबुक लिएर फर्कियौं । दिमाग त्यही हत्याको विषयमा घुमिरह्यो । प्रहरीले मृतकका ३ साथीसँगै घरपतिको पक्की बयान लियो, तर केही खुल्न सकेन । अन्त्यमा सबैलाई अदालतमा पेस गरियो ।

...

त्यसपछि मेरो सरुवा भयो— वाग्मती अञ्चल सरकारी वकिल कार्यालयबाट नारायणी अञ्चल, हेटौंडामा । हेटौंडामा सवारी दुर्घटना हुनु मामुली कुरा थियो । साधारण घटनाको अनुसन्धान जिल्ला सरकारी वकिलबाटै हुन्थ्यो ।

सरुवा भएको ४ महिना मात्रै पुगेको थियो । अदालत जान मुद्दाको फाइल अध्ययन गर्दै थिएँ । प्रहरीसँगै तुरुन्तै दुर्घटनास्थल जानुपर्ने भयो । मूलसडक पहिल्याउँदै निकै पर पुगेपछि अनुहार चिन्न नसकिने, गिदीसमेत छताछुल्ल भएको अवस्थामा एक युवकको मृत शरीर भेटियो । चिया पसल गरिरहेकी प्रत्यक्षदर्शी महिलाको भनाइ थियो— युवक ठीक उनकै पसलअघिल्तिरबाट हिँडिरहेका बेला गाडीले ठक्कर दियो । उठ्ने तर्खर गर्दागर्दै गाडीले ब्याक गरेर युवकलाई किच्यो र लछार्दै परसम्मै पुर्‍यायो । मान्छेहरूले रोक भन्दाभन्दै ड्राइभरले गाडी ब्याक गरेको थियो । मान्छेहरूले समात्न खोज्दाखोज्दै ड्राइभर भाग्न सफल भयो ।

ठक्कर दिइएको स्थानबाट मृतकलाई घिसार्दै लगेको डोब देखियो । मृतकको उमेर ठम्याउन गाह्रो थियो । मृतक पालुङवासी भएको बुझियो । लास मुचुल्कापछि म क्वार्टर आएँ ।

प्रहरीले दुर्घटनाको फाइल मेरो टेबुलमा पेस गर्‍यो । मैले ज्यान मुद्दा भनी फरक राय पेस गरें । पछि थाहा भयो, अदालतले प्रहरी र मेरो राय अध्ययन गरी ज्यान मुद्दा ठहर गरेछ । पछि मैले पेस गरेको राय सदर गरी मुद्दा दर्ता गरी ड्राइभरलाई थुनामा राखी मुद्दा चलाइयो ।

बीभत्स हत्याकाण्ड

कोटेश्वरबाट विमानस्थल जाने बाटोमा पर्ने दुईतले घरमा हामी पुग्यौं । मौसम राम्रो नभएकाले दिउसै अँध्यारो थियो । माथिल्लो तल्लामा थियो— साधारण खाट र सानो झ्याल । झ्यालको खापा खुलेको थियो । छानबिन गर्दा नोटबुक र रु. २०० भेटियो । र, नेपाल बैंकको बचत खातामा रु. २ लाख अघिल्लो दिन मात्रै जम्मा गरिएको रसिद पनि भेटियो । हत्यासम्बन्धी अरू कुनै प्रमाण फेला परेन । तल ओर्लंदा टर्चलाइटको उज्यालोमा भर्‍याङमुनि बाख्रा बाँधेकै छेउमा गर्धन काटिएको लास देखियो । सम्भवतः माथिबाट भागेर ओर्लंदै गर्दा मारिएको हुनसक्छ ।

छिँडीका कुनाकाप्चा चहार्दा मैलो–झुत्रो सिरकले मुख छोपिएको अर्को लास देखियो । खोलेर हेर्दा करिब ८ वर्ष जतिको बालिकाको घाँटीमा खुकुरीको प्रहारले भित्ता रंगिएको र बालिकाको दायाँ हातको तीनवटा औंला पनि भित्तामा टाँसिएको पाइयो । जताततै रगतको खोलो बगेर जमेको देखियो । खानतलासीपश्चात् बाहिर आउँदा आँगनको डिलमा अधबैंसे महिलाको रगतमा मुछिएको अर्को लास भेटियो । उनको शरीरमा ६०/७० पटक जति खुकुरी प्रहार भएको बुझियो । बिचरी गुहार माग्न बाहिर आएकी हुँदी हुन् । कति हृदयविदारक !

मानवतालाई नै लज्जित पार्ने हत्याकाण्डको मनसाय बुझ्न सकिएन । खोतल्दै जाँदा पनि रिसइबीको कुनै प्रमाण पुष्टि भएन । कोटेश्वर सडक निर्माण हुँदा सरकारबाट जग्गा अधिग्रहणबापत मृतकले मुआब्जा रकम पाएको बुझियो । सोही रकम लुट्न आएकाहरूबाट अन्दाजी ७० वर्षका वृद्घको सिंगो परिवारकै हत्या भएको देखियो । उज्यालो हुन लागेपछि भागेका हत्याराहरूको हातमा रकम परेन ।

अपराधी पत्ता लगाउन भरमग्दुर कोसिस गरियो । अन्त्यमा एक १२ वर्षीय बालक भेटियो । बालक ज्यादै त्रसित थियो । सोधपुछको दौरान तिनै बालकबाट तथ्य उजागर भयो । अपराधी लुकेर बसेको स्थानसमेत जानकारीमा आयो । बालकलाई कुनै नोक्सानी नहोस् भनी पुलिसको संरक्षणमा राखियो । केरकारपश्चात् अपराधीहरूले प्रयोग गरेको रगत मुछिएको खुकुरी पनि खोलाछेउमा माटोमुनि गाडिएको अवस्थामा बरामद भयो । तीन जना अभियुक्तलाई ज्यान मुद्दाको अभियोगमा अदालतसमक्ष मुद्दा दायर गरियो ।

म न्याय क्षेत्रमा पसेका एकाध महिलामध्ये एक, त्यसमा पनि नेवार समुदायको । मलाई अदालतभित्र पनि न्यायिक लडाइँ लड्न सजिलो भएन । अनेक अन्याय भोग्नुपर्ने अवस्था थियो । तत्कालीन प्रधानन्यायाधीश रत्नबहादुर विष्टले अरूको भनाइमा लागेर मलाई अनाहकमा सजाय दिए । त्यही सजायस्वरूप महान्यायाधिवक्ताको अञ्चल सरकारी वकिल कार्यालयमा सरुवा हुँदा अनेक लाससँग साक्षात्कार गरेँ ।

प्रहरीसँगसँगै घटनास्थलमा उपस्थित भई बीभत्स लासहरूको मुचुल्का गर्न बाध्य भएँ । त्यस्ता भयावह घटनामा उपस्थित हुँदा मेरो सरल स्वभावले काँचुली फेर्न थाल्यो अनि म कठोर र सख्त नारीमा रूपान्तरित हुन थालें । आजभोलि मलाई न कसैले दिएको सजायमा दुःखको आभास हुन्छ, न त सुखकै अनुभूति ।

(माथेमा नेपालको पहिलो महिला न्यायाधीश हुन्)

प्रकाशित : आश्विन ९, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्

तालको पानी बगेर जानी

तालका रुपमा रहेको काठमाडौंको पानी सुकेको दुर्लभ दृश्य देखेका पुर्खाले आफ्ना सन्तानलाई त्यो कथा सुनाउँदै पुस्तान्तरण गरे । ती अनेक कथा खिइँदै गएर दुईवटा मात्र बाँकी छन् । एउटा– तालको पानी चोभारबाट बगेर सुकेको थियो । अर्को– ताल सुक्नुअघिदेखि नै आदिम बासिन्दाका रुपमा नागजाति थिए ।
काठमाडौं ताल सुकेर मानव बसोबासका लागि उपयुक्त उपत्यकामा परिणत भएको १० हजार वर्षअगाडिको यथार्थ अहिले इतिहास भनौं इतिहास होइन, मिथक भनौं मिथक मात्रै होइन भनेजस्तो भएको छ ।
भोगीराज चाम्लिङ

भूगर्भशास्त्रीय अध्ययन भन्छ— आदिम समयमा काठमाडौं उपत्यका तालका रूपमा थियो । ठ्याक्कै यही कुरा काठमाडौं उपत्यकामा प्रचलित मिथकहरूले पनि भनिरहेका छन् । जस्तो कि बौद्ध मिथकअनुसार, उहिल्यै यो तालको नाम नागबास (नागह्रद, नागदह) थियो । तालमा विपश्वी बुद्धले कमलको बीउ रोपे । त्यो कमलमा ज्योतिरूप स्वयम्भूका रूपमा आदिबुद्धको प्रादुर्भाव भयो ।

यो कुरा महाचीनका बोधिसत्त्व मञ्जुश्रीले अन्तरध्यानद्वारा पत्ता लगाए । कृषक, भिक्षु, राजा धर्माकर र उनकी दुई पत्नीसहित आएर मञ्जुश्रीले स्वयम्भूको पूजा र परिक्रमा गरे । दोस्रो पटक परिक्रमा गर्ने क्रममा उनले चोभारलाई तरवारले काटी निकास बनाए । तालको पानी बगेर जान थाल्यो । मञ्जुश्रीचाहिँ नागराज कर्कोटकलाई उपत्यकाको सम्पूर्ण धनसम्पत्ति जिम्मा लगाएर मेष संक्रान्ति (वैशाख) का दिन (हाल टौदहका रूपमा प्रख्यात) तलाउमा बस्न गए ।

जस्तो कि हिन्दु मिथकअनुसार, शिवले ‘काठमाडौं उपत्यका जलमग्न हुनेछ र कृष्णले बाँध भत्काएपछि वाग्मती नदी बाहिर बगेर जानेछ’ भनेर भविष्यवाणी गरेका थिए । इन्द्रलाई जितेर स्वर्गमा राज्य गरेका वाणासुरका छोरा महेन्द्रदमनले वाग्मती नदी थुनेर काठमाडौंमा ठूलो ताल बनाई भाइहरूलाई सुरक्षा गर्न खटाए । श्रीकृष्णका छोरा प्रद्युम्नले बाँधको रक्षा गर्न बसेका महेन्द्रदमनका भाइहरू शंखाशुर र कच्छपासुरलाई मारिदिए । वाग्मती प्रकट भएर गंगाको दर्शन गर्ने इच्छा व्यक्त गरेपछि श्रीकृष्णले बाँध भत्काइदिए । पानी बग्यो । ताल सुक्यो ।

जस्तो कि अर्को हिन्दु मिथकअनुसार, दानासुरकी पत्नीले वाग्मतीमा स्नान गरी वसुन्धरा (वसुधरा) को स्तुति गरेपछि छोरी जन्माइन्– प्रभावती । छोरीलाई खेल्नका लागि भनेर दानासुरले पानी थुनी काठमाडौं उपत्यकालाई जलमग्न बनाए । तर, दानासुरले लुटेको आफ्नो खजाना खोस्न आएका विष्णुले चोभार (कच्छपाल) को पहाड काटी पानीको निकास खोलेर प्रभावतीलाई लिएर गए । यी धार्मिक मिथक फगत कल्पना हुन् कि यसको ऐतिहासिक जरा पनि छ ? यो प्रश्नको जवाफ लेखको अन्त्ममा खोजी गरिनेछ ।

...

‘प्यालिओ–काठमान्डु लेक प्रोजेक्ट’ अन्तर्गत जापान र नेपालका भूगर्भशास्त्रीहरू (हारुताका साकाई, तेत्सुय साकाई, रिई फुजी, योसिहिरो कुवाहारा, फुमिनोरी सावामुरा, हिदेउ तबाता, अजुमी होसोई, काजुनोरी अरिता, पीताम्बर गौतम, अनन्तप्रसाद गजुरेल, विशालनाथ उप्रेती, सुरेशदास श्रेष्ठ) ले ताल निर्माण र पानीको निकासपछि बनेको उपत्यकाबारे विस्तृत अध्ययन गरेका छन् । त्यसबाहेक थुप्रै भूगर्भशास्त्रीहरू (टोनी हेगन, मिसा सुगिमोटो, र्‍योको सेतोगुची, कियोसी साइजो, कजुओ किमुरा, नोरिओ मियोसी, एचजी दिल, गोपालमानसिंह डंगोल, मुकुन्दराज पौडेल, एस. भण्डारी, खुमनारायण पौडेललगायत) ले गरेको अध्ययन पनि महत्त्वपूर्ण छ । ती अध्ययन ‘जर्नल अफ् नेपाल जिओलजिकल सोसाइटी’ का साथै अन्य प्रतिष्ठित जर्नलमा अनुसन्धान लेखका रूपमा प्रकाशित छन् । यी अध्ययनहरूले भन्छ—

ताल निर्माण

३० लाख वर्षपहिले काठमाडौंका दक्षिणतर्फका पहाडहरू उठिसकेका थिएनन् । त्यसैले वाग्मती नदी उत्तरबाट सीधै दक्षिणतर्फ बग्थ्यो । त्यही क्रममा वाग्मती नदीले बगाएर ल्याएका ढुंगा–माटो–बालुवाबाट काठमाडौंको दक्षिणमा पर्ने तारेभीर (३० लाख वर्ष) को भूसतह बन्यो । त्यसमाथि वाग्मती नदीले नै बगाएर ल्याएका सामग्री थुप्रिँदा लुकुन्डोल (२८ लाख वर्ष) भूसतह बन्यो । लुकुन्डोलमाथि फेरि इटाइटी (१० लाख वर्ष) भूसतह बन्यो । काठमाडौं उपत्यका ताल बन्नुअघिको त्यस अवधिलाई भूगर्भशास्त्रीहरूले ‘प्रोटो–वाग्मती नदी चरण’ नाम दिएका छन् । २८ लाख वर्षदेखि चाहिँ काठमाडौं तालमा परिणत हुन थाल्यो । सुरुमा बनेको त्यो ताल धेरै सानो थियो र काठमाडौं उपत्यकाको मध्य–दक्षिण भागमा सीमित थियो । १० लाख वर्षअघि जब महाभारत पर्वत शृंखला छिटोछिटो अग्लिन थाल्यो, तब चोभार पनि अग्लिएर वाग्मती नदीको वहावलाई थुनिदियो र आदिम ताल (प्यालिओ लेक) फैलिँदै गएर काठमाडौं उपत्यका ढाक्यो । चोभार अग्लिएपछि लुकुन्डोल क्षेत्र तालभन्दा बाहिर पर्‍यो ।

काठमाडौं उपत्यकाको उत्तर र दक्षिण दुवै पाटोमा पहाडको फेदमा दलदल छ । पहाडको फेदमा आफैं पनि यस्तो दलदल माटोको तह नबन्ने होइन, तर एकदुई ठाउँमा मात्रै होइन, काठमाडौं उपत्यकाभरि नै छ– दलदल । त्यस्तै सबै दलदल निर्माणको समय समान छ । दलदलको बाहिरी तहको उमेर (समय) ३० हजार वर्ष देखिएको छ । त्यस हिसाबले हेर्दा आजभन्दा ३० हजार वर्षअघि सिंगै काठमाडौं उपत्यका तालका रूपमा थियो । त्यो ताल समुद्र सतहदेखि १४०० देखि १४४० मिटर उचाइसम्म फैलिएको थियो ।

एउटा विषय स्मरणीय छ, ३० हजार वर्षपहिले काठमाडौं र बनेपा एउटै तालभित्र थियो । पछि मात्रै अलग–अलग उपत्यकाजस्तो हुन पुगेको हो ।

काठमाडौं उपत्यकाको जमिनमुनि बालुवा, ढुंगा–माटो, रोडा, कालीमाटीबाट बनेका थुप्रै तह छन् । यी तहको अधिकतम मोटाइ ६५० मिटरसम्म छ । कालीमाटीको मात्रै कुरा गर्दा यो काठमाडौं उपत्यकाको जमिनमुनि व्यापक रूपमा फैलिएको छ र २०० देखि ४०० मिटरसम्म बाक्लो तह बनेको छ । भूगर्भशास्त्रीहरूका लागि यी तहहरू एउटा बृहत् पुस्तकालयजस्तै हुन्, जुन अध्ययन गरेर उनीहरूले ३० लाख वर्षदेखि हालसम्मको भौगर्भिक र जलवायु परिवर्तनबारे थाहा पाउने गरेका छन् ।

भूसतहहरू निर्माण

काठमाडौं उपत्यका तालमा परिणत भएपछि नदीले बगाएर ल्याएका र छेउछाउका डाँडाकाँडाबाट बगेर झरेका पातपतिङ्गर, ढुंगामाटो, बालुवा, रोडा सबै तालमा थुप्रिन थाल्यो । पानीको सतह घटबढ हुँदा तिनै थुप्रोबाट अहिले देखिएका भूसतहहरू बन्न पुग्यो, जसमाथि अहिले काठमाडौं उपत्यकाका तीन सहर बसेको छ । झन्डै गोलाकार काठमाडौं उपत्यका जसको पूर्व–पश्चिम लम्बाइ ३० किमि र उत्तर–दक्षिण लम्बाइ २५ किमि छ ।

महाभारत पर्वत शृंखला माथि उठेर आदिम ताल दक्षिणबाट उत्तरतर्फ सर्ने क्रममा सबैभन्दा पहिला प्याङगाउँ, चापागाउँ र बोडेगाउँका भूसतहहरू बने । त्यसपछि बनेका गोकर्ण (५०,०००–३४,००० वर्ष), ठिमी (३३,०००–२४,००० वर्ष) र पाटन (१४,०००–२०,००० वर्ष) चाहिँ कान्छा भूसतहहरू हुन् । धापासी (३९,०००–४५,००० वर्ष), धापासीदेखि गोकर्णसम्म (४५,०००–३४,००० वर्ष), टोखा (१९,०००–१४,००० वर्ष), कोटेश्वरलगायत पनि नयाँ भूसतहहरू नै हुन् । पाटन तहमाथि चाहिँ पाटन र काठमाडौं सहर बसेको छ । यीमध्ये जेठो भूसतह काठमाडौं उपत्यकाको दक्षिणी क्षेत्रमा, कान्छो भूसतह उत्तरी क्षेत्रमा पर्छ ।

काठमाडौं उपत्यकाको तालको पानी तीव्र गतिमा घट्ने क्रममै गोकर्ण, ठिमी र पाटनका भूसतहहरू बनेका हुन् । किनभने, यी भूसतहहरूको उचाइ पानी बाहिर जाने चोभार भञ्ज्याङ बराबर छ । गोकर्ण तालको पानी सबैभन्दा उच्च तहमा हुँदा बनेको हो भने ठिमी र पाटनचाहिँ तालको पानी सबैभन्दा तल भएको बेला । समयका हिसाबले यी भूसतहहरू ५० हजारदेखि १० हजार वर्ष पहिले बनेका हुन् ।

कहिले सुक्यो तालको पानी ?

गोकर्णको भूसतह बनेका बखत काठमाडौंको तालको पानी तीव्र गतिमा घटेको थियो । तालको पानी त्यसरी बगेर जानुमा मूलतः तीनवटा कारण हुन सक्ने सम्भावना छ । पहिलो कारण हो, पृथ्वीको गर्भभित्रका महादेशीय आकारका टेक्टोनिक प्लेटको हलचल । टेक्टोनिक प्लेटहरूले एकअर्कालाई निरन्तर ठेलाठेल गरिरहेका हुन्छन् । त्यही क्रममा महाभारत पर्वतशृंखला माथितिर उठ्दा कीर्तिपुर–चोभारका बीचमा खण्डीकरण हुन पुग्यो र त्यहाँ गहिरो गल्छी बन्यो । त्यही गल्छी पानी बाहिर जाने बाटो बन्यो ।

दोस्रो कारण हो, जलवायुमा परिवर्तन । टेक्टोनिक प्लेट उठेका कारण त्यसले जलवायुमा परिवर्तन आयो । किनभने, होचा भागहरू अग्लिएर पहाड बन्न पुगे । प्लेस्टोसिन युग (२६,००,०००–१०,०००) को अन्तिम चरणमा जलवायु परिवर्तन हुँदा भारी वर्षा भएर बाढी आएका कारण काठमाडौं उपत्यकाको पानीको तह बढ्न पुग्यो । र, तालको पानी बाहिर बगेर जान थाल्यो ।

तेस्रो कारण हो, भूकम्प । भूकम्पीय हलचलका कारण ठूलो परिमाणमा तालको पानी बाहिर बगेर गयो ।

यी तीनवटै कारण अथवा तीनमध्ये जुनसुकै कारणले तालको पानी बाहिर जान थालेको भए पनि पूर्ण रूपमा पानी बगेर जानुमा चाहिँ चोभार भञ्ज्याङको बनावटले भूमिका खेलेको छ । चोभार भञ्ज्याङ पहिला नदीले बगाएर ल्याएको सामग्री थुप्रिँदा बनेको मैदान थियो, तर महाभारत पर्वत शृंखला उठ्दाअग्लो हुन पुगेको मात्रै हो । त्यसैले तालको पानी बाहिर बग्ने क्रममा चोभार भञ्ज्याङको माटो पनि खियाउँदै बगाउँदा गहिरो गल्छी बन्न पुग्यो र तालको पानी पूर्ण रूपमा निख्रियो ।

तालको पानी सुक्नुमा चोभारकै शृंखलामा पर्ने दनुवार गाउँ क्षेत्रको निकासले पनि सहयोगी भूमिका खेलेको थियो । यसो भन्ने आधार हो— तालको पानी अन्तिम पटक सुकेको स्थान दनुवार गाउँनजिक हुनु । त्यस्तै दनुवार गाउँवरपरबाट वाग्मती नदीले आफ्नो धार परिवर्तन गरेर भूकम्पीय हिसाबले सक्रिय क्षेत्र (एक्टिभ फाउल्ट) हुँदै बग्थ्यो । एक्टिभ फाउल्ट भएका क्षेत्रमा जमिनमा धाँजा फाट्ने, पहिरो जाने हुनाले दनुवार गाउँनजिक साँघुरो धाँजा फाट्यो र पानी बाहिर जान थाल्यो ।

त्यसो भए तालको पानी कहिले सुक्यो त ? काठमाडौं उपत्यकाको तालको पानी थुप्रै पटक घटेको थियो– पहिलो पटक ४८ हजार वर्षपहिले, दोस्रो पटक ३८ हजार वर्षपहिले । त्यस्तै लगभग १९ हजार वर्षपहिले पनि कीर्तिपुर र चोभारबीचको भञ्ज्याङ भत्किएर पानी बाहिर गएको थियो ।

त्रिभुवन विमानस्थलको दक्षिणी भागमा मनोहरा नदीबाट नमुना माटो संकलन गरेर समय निर्धारण गर्दा १२,४०५ देखि १२,५३१ वर्ष पुरानो देखिएकोले काठमाडौं उपत्यकाको पानी १२ हजार वर्षपहिले पूर्ण रूपमा बगेर गएको थियो भन्ने अनुमान गरिएको छ । तर, जमिनमुनिको कालीमाटीको माथिल्लो भागको समय निर्धारण गर्दा चाहिँ तालको पानी १० हजार वर्षभन्दा पछि खाली भएको देखिएको छ । जे होस्, काठमाडौं तालको पानी पूरै खालि हुन पटकपटक गरेर लगभग ३६ देखि ३८ हजार वर्ष लाग्यो । यद्यपि अहिले पनि काठमाडौं उपत्यका अग्लिने क्रम भने निरन्तर छ । ताल सुकिसकेपछि काठमाडौं उपत्यका कम्तीमा २०० मिटर माथि उठिसकेको छ ।

...

पुरातात्त्विक तथ्यहरूले भन्छन्— लगभग ३२ हजार वर्षअघि काठमाडौं उपत्यकामा मानवहरू घुमन्ते सिकारी जीवन बिताउँथे । बूढानीलकण्ठनजिकै धोबीखोलाछेउमा सोभियत पुरातत्त्वविद् सेटेन्कोले ढुंगे हतियार फेला पारे, जुन ३२,००० वर्ष पुरानो भएको अनुमान छ । काठमाडौंकै डुमाखालमा मोहनप्रसाद खनालले फेला पारेको ढुंगे हतियारलाई पनि ३२ हजार वर्ष अथवा त्योभन्दा पुरानो मानिएको छ ।

हाँडीगाउँको सत्यनारायण मन्दिरनजिकै गरिएको उत्खननमा फेला परेको ढुंगाको बन्चरोलाई आद्य–ऐतिहासिक (प्रोटो–हिस्टोरिकल) मानिएको छ (चियरा सिल्भी एन्टोनिनी र जियोभान्नी भेरार्डी) । इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठले चाँगुको चापाख्वाल, भक्तपुरको घ्याम्पेडाँडा, पनौती काभ्रेको शंखपाटीचौरबाट ६ वटा नवपाषाण (नयाँ ढुंगे) हतियार संकलन गरेका थिए । ललितपुरको लुभु क्षेत्रबाट जनकलाल शर्माले फेला पारेको नवपाषाण (ढुंगे) बन्चरोलाई ४ हजार वर्षअघिको अनुमान गरिएको छ । उसो भए ३२ हजारदेखि ४ हजार वर्षअघिसम्म काठमाडौं उपत्यकामा अटुट रूपमा मानव बसोबास थियो कि बीचबीचमा खण्डित भएको थियो भन्ने प्रश्न उठ्छ । त्यसको सम्भावित उत्तर काठमाडौं उपत्यकाको जलवायुसम्बन्धी अध्ययनले दिएको छ ।

जमिनमुनिबाट प्राप्त वनस्पतिका बीउ र जीवका अवशेषहरूका आधारमा गरिएका जलवायुसम्बन्धी अध्ययनअनुसार, पनि ३५,००० देखि २६,७०० वर्षअघिसम्मको काठमाडौं उपत्यकाको जलवायु मानव बसोबासका लागि उपयुक्त थियो । २६,७०० देखि १६,००० वर्षका बीचमा चाहिँ जलवायु चिसो–सुक्खा मात्रै होइन हिमयुग नै चलेकाले यो अवधिमा काठमाडौं उपत्यकामा मानव बसोबास थिएन कि भन्ने अनुमान गर्न सकिन्छ । फेरि १६,००० देखि १४,४०० वर्षदेखिचाहिँ जलवायु क्रमशः न्यानो र वर्षायुक्त हुन थालेकाले सिकारको खोजीमा आइपुगेका मानवहरूको पुनः बसोबास सुरु भएको हुन सक्छ । अर्को कुरा, लुकुन्डोल क्षेत्रमा गाई, सुँगुर र मृगका हाडका अवशेषहरू पाइएकोले सिकारद्वारा जीविकोपार्जन गर्दै काठमाडौं उपत्यकामा निरन्तर लामो समय बसोबास गर्ने अनुकूलता थियो ।

काठमाडौं उपत्यकामा सर्वप्रथम मानव बसोबास सुरु भएको स्थानमध्ये एउटा हुनुपर्छ— साँखु क्षेत्रमा पर्ने मनिचुर । पुष्पलालले तालको पानी नसुक्दैको अवस्थामा मनिचुरमा वज्रयोगिनीको नेतृत्वमा आदिम साम्यवादी समाज थियो भन्ने आकलन गरेका छन् (छानिएका रचना, भाग १) । कपडाको खासै विकास नगरिसकेको अवस्थामा मनिचुरको घमाइलो पाटामा मानव बसोबास गर्थे भन्न सकिन्छ । अर्को महत्त्वपूर्ण विषय के भने साँखुको मन्दिरमा अगेनामा बालिएको आगो कहिल्यै निभ्न दिइँदैन । रूखको मुढा नै अगेनामा झोसिराखिएको हुन्छ । त्यसको सम्बन्ध पनि आदिम समयसँग छ भन्ने देखिन्छ ।

आदिम समयमा आगो न्यानोका लागि मात्रै थिएन । पकाएर खानका लागि मात्रै थिएन । आगो सुरक्षा पनि थियो । रातमा जंगली जनावरहरूबाट बच्नका लागि आगोले सुरक्षाको काम गर्थ्यो । आगो देखेपछि जंगली जनावरहरू परपरै भाग्थे । सम्भवतः साँखुको त्यो मनिचुर क्षेत्रमा आदिम युगमा मान्छेहरू आगोलाई सुरक्षाका रुपमा प्रयोग गर्नका लागि रातभर धुनी जगाएर मस्तसँग सुत्थे । त्यो प्रचलन पछि परम्पराका रूपमा विकास भयो । त्यस युगमा सम्भवतः मनिचुर क्षेत्रमा बस्ने मानवहरू मातृसत्तात्मक परिवारमा बस्थे । सम्भवतः महिला वज्रयोगिनीको नेतृत्वमा रहन्थे । के भनिन्छ भने काठमाडौं उपत्यकाका नेवारहरू तिनै वज्रयोगिनीका सन्तान हुन् ।

त्यस्तै अर्को कुरा पनि भनिन्छ– लिच्छविहरू काठमाडौं उपत्यकामा प्रवेश गर्नुभन्दा पहिले किरातकालमै मनिचुर (मणिचुड) को जंगलमा बौद्ध विहार स्थापना गरिएको थियो । वनमा बनाइएका कारण त्यसको नाम नै ‘गुं विहार’ राखिएको थियो । वज्रयोगिनी मन्दिरपरिसर र अलि पर गरी ढुंगा खोपेर बनाइएका ९ वटा आकर्षक गुफा छन् । ती गुफालाई इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठले इसापूर्व तेस्रो शताब्दी अर्थात् आजभन्दा २३०० वर्ष प्राचीन मानेका छन् (गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, २०७३) । यसले पनि संकेत गर्छ– मनिचुर क्षेत्र प्राचीनकालदेखि मानव गतिविधि र बसोबास भएको क्षेत्र हो । त्यस्तै काठमाडौं उपत्यकाका अन्य प्राचीन बस्तीहरूमध्ये चोभारभन्दा उचाइमा अवस्थित थानकोट, इचंगु, भुइँजसी, मनोपुर, साँखु, फर्पिङ पनि हुन् ।

सम्भवतः सिकारद्वारा जीविकोपार्जन गर्ने काठमाडौं उपत्यकाका आदिम जाति सापु र मेपुहरू हुन्, जसलाई वंशावलीहरूमा संस्कृतकरण गरेर गोपाल र महिषपाल भनिएको छ (रोलम्ब, १९८३) । उनीहरूको मूल बसोबास क्षेत्र भएकाले काठमाडौं उपत्यकाको बस्ती सुरु भएको अर्को स्थान मातातीर्थ हुन सक्छ । अहिले पनि नेवारभित्र ग्वा र हले भनेर चिनिने सापु र मेपुहरूको बसोबास टिस्टुङ–टौखेल–चित्लाङ क्षेत्रका टौखेल, न्हुलु, कुन्छा, पापुङ, पुलागाउँ र शिखरकोट गाउँहरूमा छ ।

यहाँ मातातीर्थबारे पनि पुनः विमर्श गरौं । मातातीर्थको नाम किन मातातीर्थ भएको होला ? सम्भवतः मनिचुरमा वज्रयोगिनीको नेतृत्वमा रहेझैं मातातीर्थ क्षेत्रमा पनि माता (महिला) कै नेतृत्वमा समाज चल्थ्यो । तर, लिखित इतिहासकालभन्दा अगाडिको त्यो कुरा मान्छेहरूको स्मृतिबाट हराएर गयो । बाँकी रह्यो, त्यही ठाउँको नाम मातातीर्थ । वज्रयोगिनी र मातातीर्थ नामले पनि संकेत गरिरहेको छ कि काठमाडौं उपत्यकामा मातृसत्तात्मक युगदेखि नै मानवहरू बसोबास गर्थे । सम्भवतः त्यसरी बसोबास गर्ने महत्त्वपूर्ण क्षेत्रमा पर्थ्यो मनिचुर र मातातीर्थ, जसले गर्दा नामकै रूपमा सही इतिहासको अवशेष अहिलेसम्म बाँकी छ । सम्भवतः ती सापु र मेपुका पुर्खाहरू थिए ।

सम्भवतः सापु र मेपुपछि काठमाडौं उपत्यका प्रवेश गर्नेमा किरातहरू थिए । यस सन्दर्भमा डा. साफल्य अमात्यको विचार छ कि पूर्वका किरातहरू सिकारको खोजीमा काठमाडौं उपत्यकामा आइपुगेका थिए । घना जंगल, स–साना दह तथा नदीहरूमा सबै किसिमका जीवजन्तु पाइने भएकाले सयौं वर्षसम्म सिकारी जीवन बिताए । उनै किरातहरूले उपत्यकावरिपरिका शिवपुरी, फुलचोकी, चन्द्रागिरि, फर्पिङ आदि डाँडाहरूमा बस्ती बसाले । यी क्षेत्रमा पाषाण युगमा प्रयोग हुने ढुंगे हतियारहरू फेला परेबाट यो पुष्टि पनि हुन्छ (काठमाडौं नारायण, २०५३) । किरात भाषामा रहेका स्थाननाम, लिच्छवि अभिलेखमा पाइएका २०० भन्दा बढी किरात भाषाका मानिएका शब्द र संस्कृत ग्रन्थहरूबाट काठमाडौं उपत्यकामा किरातहरूले सभ्यताको जग बसाएका थिए भन्ने देखिन्छ ।

लिच्छविहरू आइपुग्नुभन्दा पहिला किरातहरूले काठमाडौं उपत्यकाका अग्ला स्थानमा स–साना गाउँहरू निर्माण गरिसकेका थिए । जस्तो कि गोकर्णछेउछाउमा पर्ने अहिदुमकोट्टग्राम, लेलेको लेम्बटीद्रङ्ग, पशुपतिनाथको पूर्व र उत्तरपूर्वमा पर्ने ल्होप्रिङ र म्हुप्रिङ, ठमेलको पश्चिममा पर्ने मथङ्ग्राम, थानकोट क्षेत्रका कुदुङ्ग्राम, फेराङकोट्ट, किच्प्रिङग्राम, पासिङ्ख्य, थेन्चोग्राम र जोल्प्रिङग्राम, त्यस्तै गुन्डुनजिक पर्ने कोन्को, बूढानीलकण्ठ क्षेत्रमा पर्ने थन्थुरीग्राम इत्यादि लिच्छविकालभन्दा अगाडिका बस्ती हुन् ।

हाँडीगाउँको सत्यनारायण मन्दिरमा गरिएको उत्खननले लिच्छविकालभन्दा पहिलेको इसापूर्व १६७ देखि इसाको पहिलो शताब्दीबीचको इँटाको पर्खाल पत्ता लागेको छ । त्यस्तै अन्दिग्राममा ढुंगेधारा (जलद्रोणी) पनि फेला परेको छ, जुन किरातहरूसँग सम्बन्धित छ (सुदर्शन तिवारी, एन्सियन्ट सेटलमेन्ट्स अफ काठमान्डु भ्याली) । केही वर्षअघिको विनाशकारी भूकम्पपछि रविन कनिङ्घमको नेतृत्वमा गरिएको उत्खननले भक्तपुरको वत्सला मन्दिरको जगमा रहेको इँटा इसापूर्व पहिलो शताब्दीको हो, त्यस्तै काष्ठमण्डपको जग इसापूर्व दोस्रो शताब्दीको हो भन्ने देखाएको छ । यी तथ्यहरूले स्पष्ट हुन्छ— काठमाडौं उपत्यकामा इँटा प्रयोग गरेर बनाइएका घरहरूको बस्ती किरातकालमै सुरु भएको हो ।

इन्द्रचोकमा स्थापित आकाश भैरव मन्दिरको सम्बन्ध किरात राजा यलम्बरसँग, टेकु दोभाननजिकको पचली भैरवको सम्बन्ध किरातराजा पब्बीसँग रहेको (शान्ति सुरभ, ‘किरातकालीन सांस्कृतिक अवशेष : एक चिन्तन’) रैथाने नेवारहरूको जनविश्वासले पनि यी तथ्यहरूलाई बल पुगेको छ ।

...

यति धेरै मन्थन गरिसकेपछि फेरि मिथकमै फर्किएर प्रश्न गरौं— किन शिवले नै तालको पानी सुक्ने भविष्यवाणी गर्नुपरेको होला ? किन कर्कोटक नागलाई नै मञ्जुश्रीले धनसम्पत्ति जिम्मा लगाउनुपरेको होला ? काठमाडौं उपत्यकालाई किन नागह्रद, नागदह र नागबास भनिएको होला ?

काठमाडौं उपत्यकामा पाइएका ३२ हजारदेखि ४ हजार वर्षअगाडिसम्मका ढुंगे हतियार, तालको पानी सुक्नुभन्दा पहिलेदेखि कर्कोटक नागराज बस्थे भन्ने मिथक, आनुवंशिक अध्ययन तथा नेवार संस्कृतिमा माछाको अनिवार्यताजस्ता विषयले एउटा टड्कारो सम्भावनातर्फ संकेत गरेको छ— पक्कै पनि सापु र मेपुका साथै किरातहरूका सुदूर पुर्खाहरूले काठमाडौं ताल सुक्दै गरेको दृश्य आफ्नै आँखाले देखेका थिए । तेन्जिन गेइडेन (२००९) ले गरेको आनुवंशिक (जेनेटिक) अध्ययनले नेवारहरूको पुर्खा करिब १० हजार वर्षअघि काठमाडौं उपत्यकामा आइपुगेको प्रमाणित नै गरिसकेकाले यो परिकल्पनामा तार्किक सत्यता छ ।

अर्को कुरा, काठमाडौं उपत्यकाका नेवारहरूमा इन्द्रजात्रामा आकाश भैरव मन्दिरनजिक जिउँदो माछा जाँडले बगाइदिने चलन छ । त्यस्तै सगुन (शुभकार्य) मा बायाँतर्फ बाङ्गिएर सुकेको रैथाने प्रजातिका माछा (कुन्या) र सीधा सुकेको माछा (सुन्या) अनिवार्य चाहिन्छ (सुरेश किरणका अनुसार) । सम्भवतः यी दुई प्रचलन तालको माछाबाट जीविकोपार्जन गर्दाकै युगको सांस्कृतिक अवशेष हुन् । त्यसैले भन्न सकिन्छ कि तालको पानी सुकेको दुर्लभ दृश्य देखेका पुर्खाहरूले आफ्ना सन्तानहरूलाई त्यो कथा सुनाउँदै पुस्तान्तरण गरे । शताब्दिऔं पुस्तान्तरण हुँदाहुँदा खिइँदै गएर दुईवटा मात्रै मूल कुरा बाँकी रह्यो— तालको पानी चोभारबाट बगेर सुकेको हो र नागजातिहरू ताल सुक्नुभन्दा अघिदेखिका आदिम बासिन्दा हुन् । यही अवशेष समातेर समाजलाई प्रभावित गर्न हिन्दु र बौद्ध धार्मिक ग्रन्थहरूमा शिव, कृष्ण, विष्णु, दानासुर, बुद्ध र मञ्जुश्रीका कथाहरू थपिए ।

त्यसो भए मिथकमा भनेझैं तालको पानी नसुक्दैको बखतमा काठमाडौं उपत्यकामा बसोबास गरिरहेका ती नागवंशीहरू को होलान् त ? इतिहासकार निरिश नेपालको विचारमा सापु र मेपुहरू नाग वंशका हुन् र काठमाडौं उपत्यकाका आदिम बासिन्दा पनि (रोलम्ब, १९८३) । त्यही भएकाले मिथकमा मञ्जुश्रीले कर्कोटक नागलाई धनसम्पत्ति जिम्मा लगाएको कथा जडिएको हो । नागजातिहरूको आदिम बासस्थल भएकैले काठमाडौं उपत्यकालाई नागवास, नागह्रद र नागदह भनिएको हो ।

तर, लिच्छविहरूसँगै र त्यसभन्दा पछि प्रवेश गरेका संस्कृतभाषी आर्यहरूले काठमाडौं उपत्यकामा किरातहरूको प्रभावशाली उपस्थिति देखेर हिन्दु धार्मिक ग्रन्थमा शिवजीले तालको पानी सुक्नेबारे भविष्यवाणी गरेको कथा थपेको हुनुपर्छ । किनभने, शून्यमा बन्दैन मिथक । र, मिथकले कुनै न कुनै सामाजिक यथार्थलाई समातेको हुन्छ । त्यही भएर भनिन्छ नि– दुध र पानी छुट्याउन नसकिएझैं इतिहास र मिथकलाई पनि पूर्ण रूपमा छुट्याउन सकिँदैन । जस्तो कि काठमाडौं ताल सुकेर मानव बसोबासका लागि उपयुक्त उपत्यकामा परिणत भएको १० हजार वर्षअगाडिको यथार्थ अहिले इतिहास भनौं इतिहास होइन, मिथक भनौं मिथक मात्रै होइन भनेजस्तो हुन पुगेको छ ।

इतिहास अक्षरमा मात्रै लेखिँदैन, मान्छेहरूको सामूहिक स्मृतिका रूपमा, विश्वासका रूपमा, अभ्यासका रूपमा पनि निरन्तर जीवित रहेको हुन्छ । केवल हामीले त्यसलाई पढ्न सक्नुपर्छ ।

प्रकाशित : आश्विन ९, २०७८ १०:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×