कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अम्बेडकर–गान्धीको सत्य शल्यक्रिया

दलित आन्दोलनका लागि अम्बेडकरले गरेका उल्लेखनीय संघर्ष र उनको बलियो विचारको बयानबाजी मात्रै होइन, गान्धीको सफेद ‘सादगी’ भित्र लुकेको सवर्ण पक्षधरतालाई उदांगो पारेर यस किताबले पाठक र नयाँ आन्दोलनलाई गुन लगाएको छ ।
गुरुङ सुशान्त

पछिल्लो समय नेपालमा अरुन्धती रोयका प्रशंसकहरू झन्–झन् बढेको दृश्यलाई सुखदै मान्न सकिन्छ । तर, विस्मित विपर्यास यस्तो छ– अरुन्धतीलाई नानावली अलंकारसहित बखान गर्ने कतिपय नेपाली ‘विद्वान्’ नै जात–व्यवस्थाको सन्दर्भमा परोक्ष गल्ली हुँदै दक्षिणपन्थी गजुर छुन पुगिहाल्छन् ।

अम्बेडकर–गान्धीको सत्य शल्यक्रिया

विकल्पसहितको प्रश्न स्वाभाविक उठ्छ– उनीहरू अरुन्धतीलाई गहिराइमा पढ्ने ‘लेठो’ गर्दैनन्, या लेखकीय प्रतिरोधी ज्ञान अपाच्य भई ‘बौद्धिक–वमन’ तिर लाग्छन् ? सीमान्तकृत समुदायको पक्षमा पैरवी गरेकै कारण सत्ताको नजरमा सधैं ‘तारो’ बनेकी ‘अरुन्धती–वैचारिकी’ माथि अधिक विमर्श हुनु जरुरी छ ।

आख्यान–गैरआख्यान होस् या सम्भाषण नै किन नहोस्, अरुन्धती सत्ता–संस्थापनले लादेको अधिनायकत्वविरुद्ध निरन्तर तार्किक तिखो औंलो उठाउँछिन् । सधैं सत्ताको अविवेकी सोच र व्यवहारलाई खबरदारी गरिरहेकी हुन्छिन् । उनलाई थाहा छ, अन्यायको महामारी चल्दा सुस्ताउनुको संकेत हुन्छ– न्यायप्रेमी जनताविरुद्ध कुनै न कुनै आवरणमा उभिनु । अरुन्धतीको नसा–नसामा विद्रोह छ । उनलाई साउती स्वीकार्य छैन, सायद ।

जात–व्यवस्थामा टेको दिइरहने राज्य–सत्ताविरुद्ध मुखर आलोचना गर्ने लेखक–अभियन्तालाई हेर्ने हाम्रो बौद्धिकीमा चाहिँ किन यस्तो संकट देखापर्‍यो ? अरुन्धतीलाई गतिलोसँग नपर्गेल्दासम्म हामीभित्रको द्विविधाले गलत ‘राजमार्ग’ पक्रने खतरा सधैँ रहन्छ । उनको वैचारिक गुदी प्रतिविम्बित गर्ने पुस्तकमध्ये एक हो– ‘द डक्टर एन्ड द सेन्ट’, जसलाई नरेश ज्ञवाली र विनोदविक्रम केसीले ‘ती विद्रोही, ती महात्मा’ नाम दिएर अनुवाद गरेका छन् । भाषिक घेराका कारण असली स्वादबाट टाढा रहेका पाठकका लागि अनुवादकद्वयले हित चिताएका छन् । अरुन्धतीको लेखनमा स्पष्टता, गम्भीर शोध, चखिलो प्रस्तुति भए पनि समाजको कठिन दृश्य र तथ्यचित्रणका कारण गणितजस्तो लाग्न सक्छ ।

अनुवादकहरूको शिल्पका कारण हुनुपर्छ, गद्यको भाषा कहीँकहीँ शक्तिशाली कविताको अन्तिम हरफजस्तो स्वादिलो लाग्छ । भाषामा हाम्रैपनको लय बगिरहनु नै अनुवादको सामर्थ्य मान्नुपर्छ । आशा गरौँ– नेपाली अनुहारमा यस पुस्तक जन्मिइसकेपछि अरुन्धतीको वैचारिक रुझान मात्रै होइन, दलित विमर्श र अम्बेडर–गान्धी द्विचर मिथकको पुनर्मूल्यांकन हुनेछ ।

सन् १९३५ मा लाहोरको जातपात तोडक मण्डलले बीआर अम्बेडकरलाई प्रवचनका लागि निमन्त्रण पठायो । तर, कथित उच्च जातका व्यक्तिहरूको असहमतिले लिखित भाषण अम्बेडकरले पढ्न पाएनन् । सोही भाषणलाई अम्बेडकरले एक वर्षपछि ‘एनाइलेसन अफ कास्ट’ का नाममा प्रकाशित गरे । गम्भीर बहसमा पुस्तकले केन्द्रीय चर्चा पाइरहेपछि सन् २०१४ को संस्करणमा अरुन्धतीले भूमिका लेखिन् । भूमिकालाई अम्बेडकरपन्थीहरूले आलोचना गरे, जसको आशय थियो– ‘भूमिकाले मूल कृतिलाई मात्रै ओझेल पारेन, गान्धीलाई पनि अनावश्यक स्थान दियो ।’ प्राज्ञिक महत्ता बोकेको उक्त भूमिका सन् २०१७ देखि भने स्वतन्त्र पुस्तकको स्वरूपमा सार्वजनिक छ ।

कतिपयलाई लाग्न सक्छ, भारतीय समाज र सन्दर्भ बोकेको यो किताब हामीले किन पढ्ने ? नेपाली पाठकलाई सम्बोधन गर्दै अरुन्धतीले भनेकी छन्– ‘मलाई थाहा छ, जात व्यवस्थाको क्रूर दैनन्दिन अभ्यासमा नेपाल पनि भारतभन्दा भिन्न छैन । यस उपमहाद्वीपमा हामी सबैको चेत खुल्न जरुरी छ । भव्यताको हाम्रो सपना जेसुकै होस्, हामी कदापि साँचो अर्थमा उचाइ हासिल गर्नेछैनौँ, हाम्रो कदापि प्रगति हुने छैन र हामीले कदापि ज्ञानोदय देख्नेछैनौँ तबसम्म, जबसम्म हामी त्यस्तो समाजमा रहिरहने छौँ, जो दैवी आदेशका आधारमा केही मानिस अरूभन्दा श्रेष्ठतर हुन्छन् भन्ने विश्वास गर्छ ।’

अध्ययनबाटै प्रायः क्रान्तिको थालनी हुने दाबी पस्कने अरुन्धतीले पहिलोपल्ट ‘एनाइलेसन अफ कास्ट’ पढ्दा महसुस गरिछन् कि कसैले निस्पट्ट अँध्यारो कोठाका झ्यालहरू खोलिदियो । लाग्छ– अरुन्धतीको पुस्तक–पठनपछि समाजको चरम विभेदमाथि मात्रै होइन, हाम्रो बौद्धिक जगत्को विश्लेषण–ढर्रामाथि समेत पृथक् र दृढ दृष्टि बनाउन सक्छौँ । भारतको हिन्दु समाजभित्र दलितको दारुण अवस्थालाई अरुन्धतीले तथ्यांकसहित यति प्रभावकारी चित्रण गरेकी छन्, जसले पाठक संवेदित हुन पुग्छ । विशेषगरी सामाजिक न्याय र स्वतन्त्रताका पक्षधरलाई थप बेचैन बनाउन सक्छ ।

दलितमाथि उत्पीडन र अपराधको कहालीलाग्दो शृंखला चलिरहँदा समेत प्रहरी–प्रशासन, राजनीतिकर्मी, न्यायपालिका र मिडियाले प्रभावकारी भूमिका नखेल्दा दक्षिणपन्थी चिन्तनले चर्को सुसेली हाल्दोरहेछ भन्ने पाठ पुस्तकले प्रस्तुत गर्छ । जातप्रथाको वकालत गर्दै मधु किश्वरजस्ता ‘प्राज्ञिक’ ले समेत हाकाहाकी लेखिन्– ‘धेरै गाली गरिएको जातप्रथाले भारतमा लोकतन्त्रलाई जीवन्त तुल्याउन निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ किनभने यसले मानिसहरूलाई केन्द्रीकृत, सर्वसत्तावादी शक्ति संरचनाको प्रतिरोध गर्ने तरिका दिएको छ ।’ डेढ दशकअघि छापामा आएको यस अभिव्यक्तिको जब्बर बीज–विचार भने ‘महात्मा’ का रूपमा ख्यातिप्राप्त मोहनदास करमचन्द गान्धीले सन् १९१६ मै एक धार्मिक सम्मेलनमा राखेका थिए– ‘जातको बृहत् संगठनले समुदायको धार्मिक चाहना मात्र होइन, राजनीतिक आवश्यकतालाई पनि सम्बोधन गर्‍यो । ग्रामीण जनताले जात–व्यवस्थामार्फत आफ्ना आन्तरिक मामिला व्यवस्थापन गरे । यसैमार्फत सत्तासीन शक्ति वा शक्तिहरूको उत्पीडनसँग लडे ।’ अम्बेडकर भने जात–व्यवस्थाभन्दा अपमाजनक सामाजिक संरचना अर्को नरहेको अडान राख्दै भन्थे– ‘अछुत’ का लागि हिन्दु धर्म साँच्चिकै यातनाशाला हो ।

नेपालमा पनि जात–व्यवस्थाको सकारात्मक पक्ष र धर्ममा वैज्ञानिकता खोज्ने ‘विद्वान्’ हरूको खडेरी छैन । आखिर उत्पीडनको तथ्यांक छोपेर मिथ्या तर्क गर्न कुन शक्तिले प्रेरित गर्छ ? संरचनात्मक लाभांशको पोषले, समाजविज्ञानीहरूको अध्ययन निष्कर्षले यही भन्छ । समाजका अन्तरविरोध र विभेदलाई अन्त्य गर्ने विषयमा अम्बेडकर र गान्धीबीच आधारभूत तहमै भिन्नता थियो । गान्धी ठान्थे– ‘वंशाणुगत सिद्धान्त जात–व्यवस्थाको आत्मा हो । यो श्वाश्वत सिद्धान्त हो । यसलाई फेरबदल गर्नु भनेको अव्यवस्था सृजना गर्नु हो ।’ यो ठम्याइ गलत मात्रै होइन, सामाजिक अग्रगमनका लागि समेत घातक अवरोधक रहेको साबित भइसकेको छ । यो साँचो हो, अरुन्धतीले पुस्तकमा गान्धीलाई प्रशस्तै स्थान दिएकी छन् । तर, उनले गान्धीभित्र ढाडिएर बसेको ‘उच्च जातीय’ अहंकारलाई छताछुल्ल पनि पारेकी छन् ।

‘चेरी पिकर’ हरूका लागि धेरै चेरी दिने गान्धीलाई यथास्थितिको महात्मा भन्ने ‘पगरी’ लगाइदिएकी छन्, अरुन्धतीले । यो एक बौद्धिकले गर्ने सानदार प्रतिवाद हो । तर, अम्बेडकरको भक्ति–भजनका खातिर अरुन्धतीको विरोध गर्ने अम्बेडकरवादी र माफी मागेर अतिरिक्त विनम्रता पेस गर्ने अरुन्धतीका टिप्पणीहरूलाई बेतुक ठानेर बेवास्ता गर्न सकिन्छ । तर, अनुयायीहरूले अम्बेडकरका लाखौँलाख मूर्ति बनाएको प्रसंगलाई अरुन्धतीले क्रान्तिकारी करार गर्नुलाई चाहिँ बहस बनाउन सकिन्छ । चिन्तक/विचारकको योगदानलाई विमर्श गर्नुभन्दा देवत्वकरण गर्ने संस्कृतिले अन्धभक्त बढाउने जोखिम उठाउँछ । यथार्थमा– प्रश्न गर्ने आलोचकहरूले नै कुनै पनि विचारकको विचारलाई गतिशील बनाउने गर्छ ।

पिटरम्यारिसवर्ग सहरमा ‘श्वेतहरू मात्रै’ का लागि सुरक्षित डब्बामा चढेकाले गान्धीले रेलबाट गलहत्तिनुपर्‍यो । यस घटनाले उनको आत्मसम्मानमा ठेस पुर्‍यायो नै । त्योभन्दा ठूलो उनको आपत्ति थियो, रैथाने काला अफ्रिकीसरह आफूलाई व्यवहार गरिएकोमा । उनको वैचारिक गुदी प्रतिविम्बित हुने यस्ता घटनाहरूको भने आदर्श लिपपोत गरिन्छन् । अनुयायीहरू गान्धीका सबै भनाइलाई आप्तवाक्य ठानी आदर्शीकरण गर्छन् । तर, उनका अतार्किक धारणामाथि उनीहरू कहिल्यै मन्थन गर्दैनन् ।

यौनसम्बन्धी धारणा र दैनन्दिनका आचरणलाई एकछिन पन्छाउँदा पनि गान्धीका केही जिकिरमाथि छलफल गर्न सकिन्छ । जस्तो– आफूले ‘अछुत’ को प्रतिनिधित्व गर्ने गान्धीको दाबी र गरिबहरूको गरिब भएर बाँच्ने उनको चाहनासँग धरातलीय यथार्थको जरा चुँडिएको देखिन्छ । यी भनाइलाई कसी बनाएर गान्धीको वैचारिकी जाँच गर्ने हो भने बहुसंख्यक दलित र गरिबमा अन्तरनिहित अलगाव–भाव उनले बुझ्नै सकेका थिएनन् भन्ने प्रस्ट हुन्छ । रोचक विरोधाभास– गरिबहरूको गरिब हुन रुचाउने नेताको संरक्षण र प्रायोजनचाहिँ घराना व्यापारी जीडी बिडलाले गर्थे । यस्तै विचित्रको चित्र नेपाली राजनीतिमा पनि देख्न सकिन्छ । समाजवादका नारा र झन्डा नै व्यापारीहरूको छत्रछायामा फहराइरहेको दृश्य हाम्रो समयले लाचार भई हेरिरहेको छ ।

अरुन्धतीले यस पुस्तकमा अम्बेडकरलाई खुलेर प्रशंसा गरेकी छन्, जसको योग्य उम्मेदवार अम्बेडकर हुन् नै । तर, आफ्ना पाँच लाख समर्थकसहित बौद्ध धर्म अपनाउने अम्बेडकरको कदमलाई अरुन्धतीले क्रान्तिकारी ठहर्‍याएकी छन् । उनको यो ठहरमाथि बुद्ध दर्शन सापटी लिएरै पनि सन्देह गर्नुपर्छ । भनिन्छ– काठमाडौँमा भएको विश्व बौद्ध परिषद्मा भाषण दिँदै अम्बेडकरले मार्क्सवादी चिन्तन र व्यवहारमाथि प्रश्न उठाए । मानसिक परिवर्तन, नैतिक शिक्षा र प्रेमजस्ता माध्यमबाट विरोधीको मन जित्ने हुनाले बौद्धमार्ग जन–जागरण आन्दोलनसँग जोडिने तर्क पनि अघि सारे । रूढ सामाजिक संरचना बदल्न हिँडेको एक नायक एकाएक कुनै धार्मिक महलमा प्रवेश गर्नु पलायनबाहेक अरू के हुन सक्छ र ! नेपालमा पनि केही दलितहरू सहअस्तित्वको आशमा धर्म परिवर्तनतिर लागेका देखिन्छन् । केही समय थोरै राहत मिले पनि यो सही निदान होइन ।

अम्बेडकर–यात्राको उत्तरार्ध आलोचनालायक भए पनि भारतीय दलित आन्दोलन उठाउन उनले जुन संघर्ष गरे, त्यो निकै ठूलो साहस थियो । उनी दलितको राजनीतिक पहुँचबाट सशक्तीकरण चाहने भएकाले दलितका लागि दाहोरो मतदानका पक्षमा उभिए । तर, यसले हिन्दु समाजभित्र फुट आउने त्रास देखाउँदै गान्धी दोहोरो मतदानविरुद्ध आमरण अनशन बसे । अनसनकै कारण दलित आन्दोलन सम्झौतामा अड्कियो । यस घटनाले पनि गान्धीको वैचारिक रूढिलाई अझै उघारिदियो ।

गान्धीजस्तो पुरातनपन्थी विचार–शक्तिसँग अम्बेडकरले आधुनिक समाज निर्माणका लागि लडेकै हुन् । तर, अम्बेडकर पढेरै वैचारिक बिराम निको हुने अपेक्षा अरुन्धतीले जो राखेकी छन्, त्यो सरासर अपुरो लाग्छ । भौतिकवादी निरूपणबिना न अम्बेडकर पूर्ण बुझ्न सकिन्छ, न गान्धी, न त अरुन्धती नै । दलित आन्दोलनका लागि अम्बेडकरले गरेका उल्लेखनीय संघर्ष र उनको बलियो विचारको बयानबाजी मात्रै होइन, गान्धीको सफेद ‘सादगी’ भित्र लुकेको सवर्ण पक्षधरतालाई उदांगो पारेर यस किताबले पाठक र नयाँ आन्दोलनलाई गुन लगाएको छ । र, नेपाली पाठकलाई थप सुसूचित अनि विमर्शमय पार्ने गुनिलो अनुवादद्वय साँचो प्रशंसाका हकवाला भएका छन् ।

प्रकाशित : आश्विन ९, २०७८ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?