साथी हो, म त बाटैमा छु !- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साथी हो, म त बाटैमा छु !

बाटोमा हुनु, बाटैमा हुनु, सडकमा हुनु, सडकमै हुनु भनेको अलपत्र पनि हुनु हो । हाम्रा मुद्दा बाटैमा छन्, विचार बाटैमा छन्, आन्दोलन बाटैमा छन्, सपना बाटैमा छन् । गणतन्त्र पनि बाटैमा छ । 
विनोदविक्रम केसी

जिन्दगीको महाभाष्य ‘केवल द्रव्य महान् !’ बनाएका मेरा एक डफ्फा द्रव्यपरायण साथीहरूका सस्ता सवाल झेलिरहेको हुन्छु : यो जगत्‌मा तँ कहाँ छस् ? द्रव्यको दुनियाँमा कहाँ छस् ? उन्नतिको आकाशमा कहाँ छस् ? मुद्राको मर्त्यलोकमा कहाँ छस् ? जिन्दगीमा गरिस्चाहिँ के ?


सस्ता, सरदर या सशक्त ! जेजस्ता भए पनि सवालहरू जवाफका लायक हुन्छन् ।

त्यो डफ्फालाई मेरो एकमुष्ट जवाफ हुन्छ, ‘साथी हो, म त्यो बाटोमै छैन ।’

डफ्फा चकित हुन्छ र सोध्छ, ‘अनि कुन बाटोमा छस् त ?’

‘जगत् बदल्ने सपनाको यात्री हुँ म । त्यसको बाटोमा छु । र, बाटैमा छु ।’

जेरीसदृश यो वार्तालाप घुमाउरो, घुमाउरो, झन्झन् घुमाउरो हुँदै जान्छ ।

तीमध्ये एक जनाले मलाई मेरो जीवनको व्यर्थतामाथि प्रवचन दिएको थियो । उसले आराध्यदेव तुल्याएको थियो, बिल गेट्सलाई । गेट्सलाई नै थापेको थियो गुरु । गेट्सकै भक्त, गेट्सकै चेलो उसले भनेको थियो, ‘चालीस काटिसकेपछि पनि जसले एउटा बंगला, सानोतिनै सही≤ एउटा वाहन, स्यान्ट्रो सेकेन्ड ह्यान्डै सही; र बैंक ब्यालेन्स, केही लाखै सही≤ इन्तजाम गर्न सक्दैन, त्यसको जीवन खेर गयो ।’

मानौं, कुनै काल्पनिक अखबारको पहिलो पृष्ठमा उसले मेरा नाममा स्थूलकाय समवेदना छपाइदिएको थियो ।

देशमा नवधनाढ्यहरू बढेका छन् । सपिङ मलहरू बढेका छन् । टोलटोलमा रातारात भव्य बंगलाहरू उम्रिरहेका छन् । चिल्ला कारहरू बढिरहेका छन् । कमाउनु जीवनको एक मात्र ध्येय भएको छ । छोराले पहिलो तस्करीको कमाइ बुझाउँदा गर्वले हुप्प फुल्छन् बाउहरू । यस्तो वस्तुस्थिति र परिस्थितिले बनाइदिएको मेरो मित्रको मनोजगत्मा ऊ हिँड्नेबाहेक अर्को बाटो पनि हुन सक्छ भन्ने सत्य नै छैन । भन्छन्, जो जेसँग अभ्यस्त हुन्छ, त्यो नै उसका निम्ति सत्य भइदिन्छ ।

‘मैले हिँडेको बाटो फरक छ,’ मैले भनें ।

‘कस्तो बाटो हो त्यो ?’

‘इच्छुक हिँडेको बाटो ।’

‘को इच्छुक ?’ ऊ जान्न इच्छुक थियो ।

‘कवि कृष्ण सेन इच्छुक ।’

‘उनले के गरे ?’

‘सत्ताको हातबाट उनी मरे, तर उसको बाहुली चुम्न तयार भएनन् । त्यस्तो बाटो हिँडे, जहाँ व्यक्तिगत उन्नयनको गुञ्जाइस रहँदैन । सामूहिक उन्नयन, बृहत्तर हित र सम्पूर्ण मानवजातिको मुक्तिको चमक त्यस बाटोको गन्तव्य हो ।’

उसले कुरा बुझेन, मैले बुझाउन सकिनँ ।

चमेरोलाई जिन्दगीको सद्भावना दूत बनाउनेहरूसँग उज्यालोको चर्चा सायद निरर्थक हुन्छ । यसो पनि भनूँ, मसँग त्यस्तो चर्चा गर्ने प्रतिभा छैन ।

छुट्टिने बेलामा हामीले एकअर्कालाई एक–एक प्रति वक्रमुस्कान अर्पण गरेका थियौं ।

...

‘म २०३६ सालदेखि सडकमै छु, बाटैमा छु ।’

नागरिक आन्दोलनको एउटा कार्यक्रममा कवि भूपाल राईले भनेका थिए ।

उनको यस अभिव्यक्तिमा कुनै थकान थिएन, कुनै सुस्केरा थिएन । न त कुनै गुनासो थियो । न थियो बडप्पन । थियो त, प्रतिरोधको सदाबहार प्रतिबद्धता । जगत् बदल्ने सपनाप्रतिको इमानदारी । हरेक आन्दोलनमा सरिक हुने सुन्दर वाचा ।

खगेन्द्र संग्रौलाहरू बाटैमा छन् । विमल निभाहरू, श्रवण मुकारुङहरू बाटैमा छन् । स्वप्निल स्मृतिहरू पनि बाटैमा छन् । निभा शाहहरू पनि बाटैमा छन् । सञ्जीवनीहरू पनि बाटैमा छन् । सायद कवि, लेखक अनि तमसद्वेषी जनको स्थायी वतन बाटो हो ।

कवि–लेखकका तर्फबाट गरिएको यो कुनै अभिमानी घोषणा होइन, अहंकारको मुचुल्का होइन, आत्मप्रशंसाको अनर्गल एकालाप पनि होइन । सबै कवि–लेखक बाटैमा छन् भन्ने पनि होइन । कोही–कोही संस्थानको हाकिमी कुर्सीमा पनि छन्, चाकरीको मयूरमा आसीन भएर सत्ताको सुमेरुपर्वत घुमिरहेका पनि छन्, इमान, स्वाभिमान र नैतिकताले सर्वथा विहीन भएर पुरस्कार र तक्मा थापिरहेका पनि छन् । तर, कुरा असली कवि–लेखकहरूको हो । कुनै जटिलता ननिम्त्याई सायद मान्न सकिन्छ— जनताका पक्षमा, मान्छेका पक्षमा, जीवनका पक्षमा, न्यायका पक्षमा, स्वतन्त्रताका पक्षमा जो उभिन्छ, उही असली !

बैसट्ठी–त्रिसट्ठीको आन्दोलनको एउटा महत्त्वपूर्ण साहित्यिक उपलब्धि छ । यसले नेपाली कवितालाई जनतासँग जोडिदियो । त्यसअघि कवितालाई जनताले त्यति विघ्न आत्मीयतापूर्वक प्रेम गरेका थिएनन् । किनभने, त्यसअघि कविहरू गोली खान तयार भएर सडकमा उत्रेका पनि थिएनन् । आन्दोलन याममा कवि श्रवण मुकारुङको प्रसिद्ध कविता ‘बीसे नगर्चीको बयान’ को फोटोकपी जनताको हात–हातमा देख्ने जोसुकैले भन्न सक्छन्— इतिहासमा पहिलोचोटि नेपालीले कवितालाई आफ्नो ठानेका थिए । स्कुल, कलेज र विश्वविद्यालयका पाठ्यक्रमका कविता त्यतैकतै थन्किएका थिए । ती त पास हुनका निम्ति पढ्नैपर्ने बाध्यताले पढिदिने विद्यार्थीको नीरस रटानमै रमाइरहेका थिए । र, सडकमा जनतालाई अँगालो हाल्न आइपुगेको थियो, नयाँ खालको कविता ! जसले जनतालाई, उसका पीर, सन्ताप, आकांक्षा र सपनालाई बास दिएको थियो । र, जसलाई जनताले पनि प्रेमपूर्वक अँगालो हाल्यो ।

यी सारा विचार, चेतना, विद्रोह र प्रतिरोधका उत्सवहरू बाटैमा सम्पन्न भएका थिए ।

आन्दोलनकारीहरू गगन थापा, जीवन गौतम, रामकुमारी झाँक्री, अनुभव अजित, राजेन्द्र राई, प्रकाश पोखरेल, गुरु घिमिरे, ठाकुर गैरे आदि–आदिले प्रतिगमन र तानाशाहीको नाभि ताकेर ढुंगा हानेका थिए । अत्याचारविरुद्ध ढुंगा उजाउनु भव्य र उच्चतम प्रस्तरकला हो ।

वागलुङमा राजनीतिकर्मी युवा गोविन्द नेपालीले महेन्द्रको सालिक ढालेपछि एउटा नयाँ इतिहासको विन्यास हुन जाँदै थियो । देशको चारै सुरमा आन्दोलनको आँधी उठिरहेको थियो । सबै कुरा तपसिल महलमा थन्काएर जनता जुलुसमा हिँडिरहेको थियो । बाटो र सडकमा जननदी बगिरहेको थियो, जसमा उर्लिएका थिए— विद्यार्थी, किसान, मजदुर, चिकित्सक, इन्जिनियर, पत्रकार, कर्मचारी, वकिल । सबैसबै गरिखाने तप्का सडकमा थिए, बाटैमा थिए । बख्तरबन्द गाडीहरू पनि बाटैमा थिए । लाठी, गोली अनि दमनका कैयन् शैली र औजारलाई रौं पनि नगनी लोकतन्त्रको सपनाखातिर बलिदान हुन लालायित मान्छेहरू, मानौं, मिर्जा गालिब गुनगुनाइरहेका थिए :

‘रगों में दौडते फिरने के हम नहीं काइल

जब आँख ही से न टपका तो फिर लहू क्या है ।’

मानौं, उनीहरू भनिरहेका थिए, ‘सडकमै पोखिएन भने त्यो रगतको के औकात ?’

अनि, जनताको छातीतिर सोझिएको बन्दुकको ट्रिगरमा औंला तम्तयार राखेर हत्याव्यसनी सत्तासीनहरू धम्की दिइरहेका थिए, ‘आन्दोलनकारीलाई आतंककारीसरह व्यवहार गरिनेछ ।’ मृत्युको भयलाई कतै दूरदराजतिर निर्वासनमा पठाएर हिँडिसकेका मान्छेहरू चाहिँ गाइरहेका थिए (जो अलि पछि भविष्यमा लेखिनेवाला गीतको पंक्ति हुनेवाला थियो): ‘हिँडिसक्यौं, हिँड्नेछौं, हिँडुला खुन हुन्जेल ।’

...

त्यो विराट आन्दोलनको याममा हरेक युवालाई झैं मलाई पनि जुलुसको ‘लत’ लागेजस्तो भएको थियो । जुलुस सकिएपछि एउटा उदासीले छोप्थ्यो । मनभरि सन्नाटा फैलिन्थ्यो, एउटा रित्तोपनले शासन गर्थ्यो । आकाशै चकनाचुर बनाउलान्जस्ता स्वरहरूको न्यास्रो लाग्थ्यो ।

केशव सिलवाल, विश्व सिग्देल र म सम्मिलित एउटा कविमण्डली थियो । हामी नागार्जुन साहित्यिक प्रतिष्ठानसँग जोडिएका थियौं । सिलवाल ‘धेरथोर’ स्थापित कवि थिए । विश्व र म थियौं, नवोदित । कविता भन्न पाउने ठाउँको व्यग्र तलास हुन्थ्यो । राजतन्त्रको अवसान चाहने साहित्यकार र विद्वान्हरूलाई एउटै मञ्चमा जम्मा गराएको थियो, प्रतिष्ठानले । बेला–बेला कविता कार्यक्रम आयोजन गर्थ्यो । खासमा २०५९ असोज १८ को शाही घोषणापछि गणतन्त्रको आकांक्षी जनमत जन्मिसकेको थियो । हामीलाई कविता भन्ने ठाउँ चाहिएको थियो, सो प्रतिष्ठानले उपलब्ध गराउँथ्यो । साथमा, चिया–बिस्कुटको परम्परागत प्रबन्ध त छँदै थियो ।

हामी जहाँ भेटिन्छ, त्यहाँ कविता ‘ठोकेर’ हिँड्दिन्थ्यौं । हामीले कविता भनेका छौं र, आन्दोलन वेगवान् छ, हामीले कविता भनेका छौं र, संसार चलायमान छ, हामीले कविता भन्न छोडेको दिन ब्रह्माण्डले बाँकी बच्ने ल्याकत राख्दैन भन्ने खालको अभिमान भिरेका हुन्थ्यौं । नवोदित कविको मानसिक पर्यावरणमा अरू बाँचून्, नबाँचून्≤ दम्भका जीवजन्तु र अहंकारका जंगल अवश्य बाँच्छन् ।

गणतन्त्रवादी जनतामाथि दमनका लागि गुडाइएको सैनिक ट्याङ्कलाई कीर्तिपुरले अमल्सि (नयाँबजार) को सडकमै लम्पसार परेर सुतेर रोक्ने साहस गरेको थियो । त्यही कीर्तिपुरको एउटा आन्दोलनको कार्यक्रममा लोकतान्त्रिक चोक (स्थानीय नाम निम्हा सिमा, अमल्सि) मा म पनि सामेल थिएँ । मणि काफ्ले थिए त्यहाँ, आन्दोलनका ‘स्टार’ कवि । उनले पाउने ताली र सुसेलीका अगाडि हाम्रो कुनै भाउ थिएन, गणना थिएन ।

खै के भयो कुन्नि, अचानक भागदौड मच्चियो । सायद कुनै भिजिलान्तेले गडबड गरेको थियो । हामी त्रिभुवन विश्वविद्यालयको निर्माणाधीन पर्खाल नाघेर त्यसको परिसरतिर भागिरहेका थियौं । कताबाट पुलिसको लट्ठी बत्तिएर मेरो ढाडमा बज्रिन आइपुग्यो । प्रतिकार र प्रतिरोधको गरिमामय विरासतसम्पन्न भूमि — कीर्तिपुर — मा मैले पनि लोकतन्त्र र गणतन्त्रका नाममा एक लट्ठी खाएँ । तथापि, त्यो असाध्यै अनुल्लेख्य प्रकरण थियो । अझ देहमा गोली अड्काएर बाँचिरहेका परिवर्तनका योद्धाहरूका अगाडि मैले एक लट्ठी खाएँ भन्नु जत्तिको लाजमर्दो घोषणा अर्को के हुन सक्छ ? मधेस आन्दोलनमा गोली लागेर खुट्टा गुमाएपछि आजसम्म कृत्रिम खुट्टाका लागि याचनारत कुनै आन्दोलनकारीले मलाई भेट्यो भने एक लट्ठीको मेरो यो बकबासलाई के भन्ला ?

उहिल्यै काटिएका आफ्ना सन्तानका नाकहरूको चोट र आफ्नो माटोमा पोखिएको रगतको भेलले कीर्तिपुरलाई क्रान्ति र विद्रोहका निम्ति यसै पनि अग्रसर गराउँछन् । छयालीस सालको जनआन्दोलनमा रित्ता गाग्री बोकेर निस्केका कीर्तिपुरे महिलाहरूको जुलुस साक्षी थियो, कीर्तिपुर सहादतका लागि कति तिर्खाउँछ । २०४६ साल चैत २० गते सावित्री महर्जन (जो पछि अहिलेका लेखक राजेन्द्र महर्जनसँग दाम्पत्यमा आबद्ध भइन्) हरूको सयौं जनाको टोली पानीको हाहाकार भएको कीर्तिपुरमा गाग्रीसहित प्रदर्शनमा उत्रियो । त्यही जुलुसमा पछि कुटो, कोदालो पनि जोडियो र पुरुषहरूको व्यापक सहभागिता थपियो । जुलुसमाथि सत्ताले आततायी दमन गर्‍यो । प्रहरीको गोलीको निसाना बने— हीराकाजी महर्जन, राजमान माली, लनबहादुर महर्जन र राजेन्द्र महर्जन ।

लेखक राजेन्द्र महर्जन त्यतिबेला नख्खु जेलमा बन्दी थिए । उनका बालसखा, जोसँग गुच्चा खेलेर उनी हुर्किएका थिए, राजमान मालीसहित चार जना सहिद भएको खबरले उनी मर्माहत भए । कीर्तिपुरले हरेक साल मनाउने सहिद दिवसमा अहिले पनि उनलाई राजमानको यादले विह्वल बनाउँछ । आफ्नो संगाती सहिद भएको खबर पाएपछि महर्जन नख्खु जेलमा ‘दुःखको पहिरो र क्रोधको ज्वालामुखी’ को कठोर मिसमासपूर्ण मनोदशामा भाउन्निएका थिए । शक्ति, सत्ता, उत्पीडन र अन्यायविरुद्ध उनको कलमको टुप्पोबाट निःसृत हुने लाभामा धेरथोर साथीको सहादतको पनि भूमिका हुनुपर्छ ।

र, हरेक आन्दोलनमा राजेन्द्र महर्जन पनि बाटैमा हुन्छन् ।

...

राजा ढाल्ने आन्दोलनमा छोरो सरिक छ भन्ने कुरा मेरी आमाले जुन दिन थाहा पाइन्, उनी ‘दिनको भोक न रातको निद्रा’ मा परिन् । हरेक साँझ घर पुगेपछि मैले आमाको आँसुमय कारबाहीमा पर्नुपर्थ्यो । उनी मलाई ममताको कठघरामा उभ्याउँथिन् र बयान लिन्थिन् ।

‘कहाँ थिइस् दिउँसभरि ?’

‘जुलुसमा ।’

‘किन जानपर्‍या तँलाई ?’

‘राजा ढाल्न ।’

‘राजालाई कसैले ढाल्न सक्दैन ।’

‘हामी ढाल्छौं ।’

‘गोर्खापत्रसोर्खापत्रमा कहिलेकाहीं केके कवितासबिता’ छपाउने छोरालाई पुलिसले गोली हानेर सडकमा ढाल्देला भन्ने भयले उनको मुजा परेको अनुहारमा थप एउटा मुजा थपिदिएको थियो । अनि, अर्को एउटा मुजाको अर्ती हुन्थ्यो— राजासँग लड्नु भनेको कुहिनोले पहाडसँग जोरी खोज्नु बराबर हो । उनी रुने र म मर्माहत हुने, उनी ‘जुलुससुलुसमा नजा’ भन्ने र म ‘म नगए अरू को जान्छ त ?’ भन्ने≤ यो चक्र चलिरह्यो ।

दैवी सत्ता, शाही सत्ता र पितृसत्ता≤ यी तीन सत्ताले आमाको जुनीलाई शासन गरेका थिए । उनलाई यी ढाल्न सकिने चीज हुन् भन्नेमा विश्वास थिएन । राजनीतिक चेतनाको जूनकीरीसम्मसँग भेट गर्न नपाएकी उनले त्यसरी सोच्नु अस्वाभाविक पनि थिएन ।

मलाई तीन आमाका आँसुले कताकता, कसोकसो पोल्छ, कहिलेकाहीं ।

आन्दोलनकारी निर्ग नवीनकी आमा, नन्दीदेवी जैसी ।

सहिद विजय ढकालकी आमा, पार्वती ढकाल ।

अनि, मेरी आमा ।

सदा आन्दोलन र बाटैमा हुन्छन्, अनि बेहोस भएर बाटैमा ढल्छन् निर्ग । उनकी आमा नन्दीदेवी मसँग रोएकी थिइन् । गएको माघ १२ गते नागरिक आन्दोलनको बालुवाटार घेराउमा घाइते भएका निर्गलाई उपचारपछि साथीहरूले बागबजारको ताज होटलमा राखेका थिए । त्यहीं मैले उनकी आमालाई भेटेको थिएँ । छोराको मायामा उनी कस्तरी भक्कानिएकी थिइन् ! ‘जहिले पनि पुलिसले मेरै छोरालाई हान्छ, हान्न पनि टाउकैमा हान्छ,’ उनले भनेकी थिइन्, ‘कुन दिन मार्छ यसलाई ।’ उनका शब्द र लवज ठ्याक्कै टिप्न नसके पनि उनी जे भन्दै थिइन्, मैले बुझेको थिएँ ।

नन्दीदेवीजसरी नै एक दिन सहिद विजयकी आमा पार्वती पनि मसँग रोएकी थिइन्, आफ्ना वेदनाका कथा रुँदै सुनाएकी थिइन् । कसरी पुलिसले विजयलाई समातेर भ्यानमा हाल्यो, छोरो लगेपछि ‘मलाई पनि लैजा’ भनेर कसरी उनी भ्यानको डन्डीमा झुन्डिइन्, कसरी गुडिरहेको भ्यानमा उनी झुन्डिरहिन्, पुलिसले बन्दुकको नालले खसाल्न खोजे पनि कसरी उनले मरिगए डन्डी छाडिनन् ? र, पछि कसरी शाही सत्ताले विजयको हत्या गर्‍यो ?

नन्दीदेवी र पार्वती धेरथोर राजनीतिक चेतना भएका आमा थिए । तर, मेरी आमा, केही हरफ माथि नै भनें नि, यस मामिलामा निस्पट्ट थिइन् ।

सुदूरपश्चिम, पश्चिम र काँठका यी आमाहरूको एउटा कुरा समान थियो— आँसु । त्यस लवणले बोल्ने एउटा सार्वभौम भाषा । प्रेमको, स्नेहको, चिन्ताको भाषा ।

तिनका आँसुले दुखेको मेरो अन्तस्करण बोल्छ, यदाकदा, ‘रुमाल रोप्यौ कि रोपेनौ पाखैमा ?’

...

कोरोना त्रासदीको प्रथम चरणमा सहरबाट गाउँ गइरहेका थिए, हूलका हूल मान्छे । ती अघोषित देशनिकालामा परेका थिए । तिनका संघर्ष र वेदनाले छोइएर गीतकार सङ्गीतले लेखेको र गाएको गीत थियो, ‘साथी हो, म त बाटैमा छु ।’ बाटोमा नवजात शिशु बोकेका आला सुत्केरीहरू हिँडिरहेका थिए, थकित वृद्धहरू हिँडिरहेका थिए, कलिला केटाकेटी हिँडिरहेका थिए । शहरमा गरिखाने वातावरण नभएपछि गरिखानेहरू गाउँतिर लागेका थिए । बाटोमा दुःखी मान्छेहरू, मानौं, कवि श्रवण मुकारुङको पंक्तिलाई सत्य साबित गर्न ‘पीरैपीरको भारी बोकी’ हिँडिरहेका थिए । पीरहरूको अनन्त ‘क्याराभान’ मन्द गतिमा कतै गइरहेको थियो ।

बाटोमा हुनु, बाटैमा हुनु, सडकमा हुनु, सडकमै हुनु भनेको अलपत्र पनि हुनु हो । हाम्रा मुद्दा बाटैमा छन्, विचार बाटैमा छन्, आन्दोलन बाटैमा छन्, सपना बाटैमा छन् । गणतन्त्र पनि बाटैमा छ ।

र, हामी पनि बाटैमा छौं ।

बाटैमा हुनु उल्लासको विषय होइन, उपलब्धि र प्राप्तिको विषय पनि होइन ।

तर, बेग्लै जगत् निर्माण गर्ने सपना देख्ने मान्छे बाटैमा हुन्छ । बाटैमा हुनुको मतलब गन्तव्यउन्मुख हुनु पनि हो । बाटैमा नभएपछि यात्रामा पनि सामेल भइँदैन । बाटैमा हुन साहस चाहिन्छ । बाटैमा टिकिरहन हिम्मत चाहिन्छ ।

साथी हो, म त बाटैमा छु ।

अर्थात्, बाटो बिराएको छैन ।

प्रकाशित : भाद्र २६, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्

पृथ्वी एक्सप्रेस

केशव सिलवाल

करोडौं वर्षको हो पृथ्वी र मेरो बीचको प्रेम 

पृथ्वीको हरियो कपालसँग

पृथ्वीको सुवासिलो छालासँग

पृथ्वीको गहिरा र नीला ताल आँखासँग

सिङ्गै पृथ्वीसँग प्रेम गरेको हुँ मैले


पृथ्वीका माछा र गोहीहरु

पृथ्वीका हात्ती, घोडा र चराहरु

पृथ्वीका गँड्यौला र स–साना कीराहरु

सबै सबैसँग प्रेम गरेको हुँ मैले


धमिरा लागेको छ अहिले यो प्रेममा

छुट्दै छुट्दै गइरहेछ पृथ्वी र मेरो हात

पृथ्वी– मात्र एउटा टाउको


पृथ्वीको टाउकोमा चढेर

पृथ्वीका दुइटै कान निमोठी निमोठी


वेगवान् हुइँकाइएको छ पृथ्वीलाई


पृथ्वीको टाउकोमा ड्र्रिल गरी गरी

पृथ्वीको गिदी निकालेर

पोतिएको छ पृथ्वीकै निधारमा


चिहानै चिहान खनिएको छ पृथ्वीको टाउकोमा

डायनोसरको हड्डी यहीँ पुरिएको छ

यहीँ गाडिएको छ ह्वेल माछाको पुर्खा


देखिरहेछु सदियौँदेखि

पृथ्वीका गहिरा–गहिरा घाउ/चोटहरु


पृथ्वीको दाँत निकालेर

मोती झुन्डाइएको छ पृथ्वीकै कानमा

पृथ्वीका हरिया रौं उखेलेर

तालु बनाइएको छ पृथ्वीलाई


पृथ्वीको नाकको प्वालमा

कोचिएका छन् विस्फोटक मिसाइलहरु


पृथ्वीको आँखाको नीलो गहिराइ

टालिएको छ प्लास्टिकले


पृथ्वीको टाउकोमा कुँदिरहेका यति धेरै तरंग

तरंगमा लट्किरहेका चराहरु

यति धेरै रफ्तार र चिच्याहट

फिक्का भएको छ पृथ्वीको मासुको रङ


जमेको सहस्र हिउँ–आँसु पग्लिएर

गालामा आँसुको बाढी बगाउँदै

अनवरत रोइरहेछ पृथ्वी


पृथ्वीको चाउरिएको निधार हेर्नुहोस्

हेर्नुहोस् पृथ्वीको छाला मरेको गोरू–काँध


पृथ्वीलाई प्रेम गर्नु

आफैंलाई प्रेम गर्नु हो

तर, तिनीहरु पृथ्वीको टाउकोमा चढेर

पृथ्वीका दुइटै कान निमोठी निमोठी

अलमस्त हुइँकाइरहेछन् पृथ्वीलाई


ठोक्ने हुन् कि बृहस्पतिसँग ?

लगेर झोस्ने हुन् कि सूर्यको रापमा ?

न हाल्ने हुन् कतै ब्ल्याक होलमा ?


कसरी कल्पना गरुँ

डायनोसरसँगै चिहानमा मेरो हड्डी गाडिने समय ?


कसरी लेखूँ ?

पृथ्वीको नाममा

अन्तिम कविताको अन्तिम हरफ


धमिरा लागेको छ अहिले पृथ्वी र मेरो प्रेममा

छुट्दै छुट्दै गइरहेछ पृथ्वी र मेरो हात ।

प्रकाशित : भाद्र २६, २०७८ १०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×