ताता दिनहरू आउनेछन्- कोसेली - कान्तिपुर समाचार

ताता दिनहरू आउनेछन्

बिलले तथ्यांकलाई सरल शैलीमा पेस गर्दै जवाफ दिएका छन्, ‘ताता दिनहरू आउनेछन् । मान्छेले नयाँ स्वास्थ्य चुनौती सामना गर्नेछन् । नयाँ ठाउँहरूमा लामखुट्टे बसाइँ सर्नेछन् । औलो (मलेरिया) प्रकोप नयाँ ठाउँमा भेटिनेछ । ‘पोलार आइस’ पग्लिनेछ । सामुद्रिक सतह बढ्नेछ ।’
कृष्ण ढुंगाना

मान्छेले दिनदिनै जीवनयापनका सुविधा र उपभोग क्षेत्र थप्दै गइरहको छ । हातहातमा चल्ने स्मार्टफोनको ब्याट्री आयु बढाउनेदेखि, लाखौं टेगाबाइट डाटा भण्डारण गर्ने क्लाउड सेन्टरसम्म । खाना पकाउने चुल्होदेखि एउटा बटन दबाउँदा तातो/चिसो पानीले दिशा धुने ट्वाइलेट ब्रससम्म । प्रत्येक दिन सूर्य उदाउँदा करोड डलर कमाइ गर्ने ठूला उद्योगदेखि लिफ्टको सहारामा चढ्नुपर्ने गगनचुम्बी व्यापारिक भवनसम्म । रिमोट दबाउँदा घरकै ताप आफूअनुकूल बनाइदिने एयर कन्डिसनदेखि सिटमा मसाज सुविधा भएका सवारी साधनसम्म ।

सिमेन्ट निर्मित घर, कार र सुविधायुक्त सहरिया जीवन पाउँदा को खुसी हुँदैन ? अझ विकासशील देशमा बसोबास गर्ने, परम्परागत पेसा अपनाउँदै आएका मानिसका लागि यस्तो आधुनिक जीवनशैली ठूलै उल्लास हो । तर, ब्रह्माण्डीय संरचनाको सामान्य नियम छ– अन्धाधुन्ध प्रकृति दोहन र ऊर्जा खपत जसले गरे पनि त्यसको सजाय पृथ्वीवासीले पाउँछन् । शासनका लागि मानिसले पृथ्वीलाई राजनीतिक, आर्थिक एकाइमा विभाजन गरे पनि प्राकृतिक तहमा यो एउटा ग्रह मात्रै हो । त्यसका संरचनामा पर्ने अप्ठ्यारो यहाँका प्राणीका लागि विपत हो । त्यसैले अन्धाधुन्ध प्रकृति दोहन र जैविक इन्धन (कोइला, पेट्रोलियम पदार्थ र ग्यास) सहितको ऊर्जा खपतका कारण वायुमण्डलमा उत्सर्जन हुने ग्रिनहाउस ग्यास पृथ्वीवासी मानिसका सरोकारका विषय हुन् । जलवायु परिवर्तनको विपत् मानव स्वास्थ्य र जीवनसँग सीधै जोडिने विषय हो । अमेरिकी लेखक एवं माइक्रोसफ्ट संस्थापक बिल गेट्सको नयाँ गैरआख्यान किताब ‘हाउ टु अभोइड अ क्लाइमेट डिजाइस्टर ः द सोलुसन वी ह्याब एन्ड द ब्रेक थ्रुज्स वी निड’ ले जलवायु परिवर्तन खतराको फेहरिस्त भन्छ । किताबले हरितगृह ग्यास उत्सर्जनको विपत् सामना गर्ने व्यावहारिक मार्गचित्र पेस गर्छ । किताबलाई ‘न्युयोर्क टाइम्स’ सहितका पत्रिकाहरूले ‘बेस्ट सेलर’ सूचीमा राखेका छन् ।

परिचयबाहेक १२ च्याप्टरमा विभाजित २७५ पृष्ठको पुस्तकमा बिल गेट्सले आर्थिक समृद्धिको सीधा सम्बन्ध पृथ्वीको तापक्रम वृद्धि र प्रकृति दोहनसँग रहेको तथ्य केलाएका छन् । किताब मूलतः दुई अंकवरिपरि घुमेको छ, ५१ बिलियन र शून्य । मानव निर्मित प्रदूषणले बर्सेनि वायुमण्डलमा थप भइरहेको हरितगृह ग्यासको परिमाण ५१ बिलियन टन हो । पर्यावरणीय सन्तुलन मिलाउन यो कतिमा झर्नुपर्छ ? असाध्यै कठिन भए पनि त्यो संख्या शून्य हुनुपर्ने लेखको बुझाइ छ । सारा विश्व ऊर्जा खपत दौडमा प्रतिस्पर्धा गरिरहँदा करिब असम्भव लाग्ने यत्रो परिवर्तन किन आवश्यक छ ? बिल गेट्स लेख्छन्, ‘पृथ्वीको तापक्रम बढ्नुको कारण वायुमण्डलमा थुप्रिएको ग्रिनहाउस ग्यास हो । वायुमण्डलमा त्यो जति धेरै थुप्रिनेछ, पृथ्वी उति धेरै तात्दै जानेछ । त्यसैले अब कार्बन डाइअक्साइड उत्सर्जनको दौड घटाइनुपर्छ ।’

जलवायु परिवर्तनको आर्थिक सम्बन्ध

किताबको दोस्रो च्याप्टरले जैविक इन्धनसँग मानवीय गतिविधिको सम्बन्ध उजागर गर्छ । बिहान उठेर दाँत माझ्नेदेखि राति ओछ्यानमा पल्टिने बेलासम्म मानिसको जीवनशैली ऊर्जा–खपत र कार्बन–उत्सर्गनसँग अलग हुनै नसक्ने गरी जोडिएको छ । र, किताबले त्यो घटाउन आइपर्ने चुनौतीको उपाय सुझाउँछ । स्वस्थ जीवन बाँच्दै आयु लम्ब्याउनेदेखि आर्थिक संबृद्धि गर्नेसम्म मान्छेले पछिल्ला शताब्दीमा गजब राम्रा आविष्कार गर्‍यो । तर, करिब ती सबै नै जैविक इन्धन र ऊर्जा खपतमा आधारित छन् । जैविक इन्धन र सिमेन्टको प्रयोग व्यापक नभइसकेको औद्योगिक क्रान्ति अर्थात् १८ औं शताब्दीअघि पृथ्वी तात्ने अनुपात अहिलेजस्तो थिएन । लेखकले पात्रो पल्टाएरै देखाएका छन्, आधुनिकीकरणको सुरुआतसँगै वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन अत्यधिक थप भएको हो ।

किताबमा अमेरिकी उदाहरण धेरै प्रयोग भए पनि एकै विधिमा आधारित ऊर्जा प्रयोग, आधुनिक जीवनशैली, सम्भावित जोखिम र न्यूनीकरणका फेहरिस्त सबैका लागि उपयोगी छन् । क्याम्ब्रिज विश्वविद्यालयका इन्जिनियरिङका प्रोफेसर डेभिड म्याकीको तथ्यांकको साहरामा किताब भन्छ, ‘प्रतिव्यक्ति आय र ऊर्जा खपतको सम्बन्ध छ । बढी कमाउनेले धेरै ऊर्जा खपत गरिरहेछन् र थोरै कमाउनेले थोरै ।’

पछिल्लो समय चीनको चर्चा आर्थिक उन्नति, कम्युनिस्ट सत्ता, सस्तो श्रम बजार, विशाल भौतिक संरचना निर्माण र दक्षिण पूर्व एसियाको उदाउँदो शक्ति केन्द्रका लागि विश्व मञ्चहरूमा हुनेगर्छ । उपभोग गर्न पाउनेका लागि आधुनिक जीवनयापन खुसीकै विषय हो । तर, जलवायु परिवर्तनको दृष्टिले चीनको अर्को चित्र किताबले देखाएको छ । सन् २००६ देखि अमेरिकालाई उछिनेर वायुमण्डलमा बर्सेनि अत्यधिक कार्बन उत्सर्जन गर्ने देशहरूमध्ये पहिलो नम्बरमा छ चीन । पृथ्वी तात्ने विपत् नजिक आइरहे पनि भारत र नाइजेरिया चीनलाई भेट्न त्यही बाटोमा छिटोछिटो दौडिरहेका छन् । औद्योगिक क्रान्तिको सुरुआतका सन् १७६० देखि अहिलेसम्मका १८१ वर्षलाई फर्केर हेर्दा मानिसले पहिले आर्थिक गरिबी घटाउन अन्धाधुन्ध प्रदूषण बढाउने र पछि स्वच्छ वातावरणको खोजी गर्ने प्रवृत्ति देखिँदै आएको छ । यो परिवर्तनको गर्न नयाँ अवधारणा बिलले सार्वजनिक गरिदिएका छन् । लेख्छन्, ‘पृथ्वी तातेर वातावरणीय संकट गहिरिनुमा यो नै मुख्य कारण हो । अब आधुनिक जीवनयापन र आर्थिक समृद्धि प्राप्ति प्रक्रियामा वातावरण विनाशको पासोमा नपर्ने उपायको खोजी गर्नुपर्छ ।’

सरकारका नीतिले अर्थ राख्नेछ

किताबले तथ्यांक केलाउँदै सन् १८५० देखि अहिलेसम्म मानवीय गतिविधिका कारण पृथ्वीको तापक्रम १ डिग्री सेल्सियस बढेको प्रस्ट चित्र देखाउँछ । सुन्दा सानो लागे पनि पृथ्वीको तापक्रम १ डिग्री सेल्सियसले वृद्धि हुनु सामान्य होइन । यो विपत्को संकेत हो । तथ्यांक केलाउँदै पुस्तकले देखाएको छ, ‘सन् २०६० सम्म न्युयोर्क आकारका ठूला सहर प्रत्येक महिना थप भइरहने छन् । अहिलेकै अनुपातमा विश्व अघि बढिरहे सन् २०५० सम्ममा ऊर्जा माग ५० प्रतिशतले बढ्नेछ । र, हरितगृह ग्यास उत्सर्जन अनुपात पनि करिब ५० प्रतिशत नै बढेर जानेछ ।’ बहुकोणबाट तथ्यांक केलाउँदै पुस्तकले औंल्याएको छ, ‘यदि यो वृद्धिदर रोकेनौं भने सन् २०५० सम्म पृथ्वी १.५० देखि ३ डिग्री सेल्सियससम्म तात्नेछ । यो शताब्दीको अन्त्यसम्म पृथ्वी ४ देखि ८ डिग्री सेल्सियस तात्नेछ ।’ पृथ्वी तात्न रोकिएन भने नि ? बिलले तथ्यांकलाई सरल शैलीमा पेस गर्दै जवाफ दिएका छन्, ‘ताता दिनहरू आउनेछन् । मान्छेले नयाँ स्वास्थ्य चुनौती सामना गर्नेछन् । नयाँ ठाउँहरूमा लामखुट्टे बसाइँ सर्नेछन् । औलो (मलेरिया) प्रकोप नयाँ ठाउँमा भेटिनेछ । ‘पोलार आइस’ पग्लिनेछ । सामुद्रिक सतह बढ्नेछ ।’

ग्रिनहाउस ग्यास उत्सर्जनले पृथ्वी तात्दै गए त्यसबाट सबैभन्दा पहिले अविकसित देशका गरिब मानिसलाई असर पर्ने पुस्तकको निष्कर्ष छ । भारत, सिरियासहित कतिपय देशमा जलवायु परिवर्तनको असरस्वरूप खडेरी पर्नेदेखि भूमि अवक्रमण (ल्यान्ड डिग्रिगेसन) सम्म देखिन थालेको छ । पृथ्वी तात्तिँदै जाँदा हुने मरुभूमीकरण र उत्पादन कमीको सम्बन्ध कृषकदेखि उपभोक्तासम्मै रहेको चित्र पुस्तकले देखाउँछ । भारतमा किसानहरूले गरिरहेको आत्महत्यादेखि सिरियामा कृषि पेसाबाट पलायन लाखौं मानिसको मर्मस्पर्शी कथालाई लेखकले जलवायु परिवर्तनको असरको रूपमा औंल्याएका छन् ।

आधुनिक जीवनयापनसँगैसँगै कार्बन उत्सर्जन न्यून पार्ने र सकेसम्म शून्यमै झार्ने नयाँ उपायको खोजी पुस्तकमा छ । सौर्य, हावा (विन्ड) मिलजस्ता नवीकरणीय ऊर्जाको प्रयोग अहिले पनि भइरहेको छ । हावाबाट उत्पादन हुने बिजुलीको पंखा सधैं घुम्दैन र सूर्यबाट पनि सधैं ताप आइरहँदैन । पुस्तक भन्छ, ‘नवीकरणीय ऊर्जा छँदैछ । योबाहेक छलाङ मार्ने नयाँ प्रविधिको अविष्कार अबको आवश्यकता हो ।’ जैविक इन्धन उत्पादनस्थलमै उपकरण उपयोग गरी कार्बन ‘क्याप्चर’ गर्दा कार्बनडाइअक्साइडको उत्सर्जन न्यून पार्न सकिने अर्को उपाय किताबमा छ । तीन चीज एकैसाथ सँगै लगेर जलवायु विपत्बाट जोगिन सकिने उपाय किताबले देखाएको छ– जलवायु टेक्नोलोजी, नीति र बजार । यसमा पनि सरकारी नीतिले महत्त्वपूर्ण अर्थ राख्नेछ । जलवायु विपत्बाट जोगिन सरकारहरूले अपनाउनुपर्ने ७ मार्गचित्र पुस्तकमा प्रस्तुत छ ।

जलवायु परिवर्तन झनै घातक

कोभिड—१९ महामारीले विश्व विक्षिप्त भएको समयमा सार्वजनिक पुस्तकले जलवायु परिवर्तनको विपत्को असरबाट जोगिन प्रत्येक तहका मानिसले काम गर्नुपर्ने विधि सुझाएको छ । सार्वजनिक बहसदेखि नीति निर्माणका लागि मार्गनिर्देश गरेको छ । लेखकले जलवायु परिवर्तन विपत्लाई कोभिड–१९ महामारीसँगै तुलना गरेर तथ्यांक देखाइदिएका छन् । ‘यदि पृथ्वी तात्ने कार्य नरोकिए यो शताब्दीको मध्यसम्म पुग्दा जलवायु परिवर्तनबाट कोभिड–१९ जत्तिकै मानवीय, आर्थिक क्षति हुनेछ’, तथ्यांक केलाउँदै पुस्तक भन्छ, ‘शताब्दी अन्त्यसम्म यो क्षति बढेर पाँच गुणा पुग्न सक्छ । त्यतिबेला आर्थिक तस्बिर पनि धमिलो हुनेछ ।’ यस्तो लाग्छ, लेखकले अन्त्यसम्म पनि पुस्तकको शीर्षक ‘जलवायु विपत्बाट कसरी बच्ने’ लाई सार्थक पार्न कुनै कसर बाँकी राखेका छैनन् । कोण–कोणका पक्ष केलाएका छन् । कम्प्युटर सफ्टवेयरको मौलिक सोचलाई विश्वव्यापी रूपमा स्थापित गर्न सफल बिलले वैज्ञानिक तथ्य र तथ्यांकलाई यसरी केलाएका छन् कि त्यसले पाठकको मस्तिष्क तरंगित बनाउँछ । र, सत्ताकेन्द्रित राजनीतिक नेता तथा विकसित–अविकसित, लोकतान्त्रिक–तानाशाही सबैखाले देशका शासकलाई प्रचलित विकास मोडलबारे घोत्लिन बाध्य पार्छ ।

प्रकाशित : भाद्र १९, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्

नागरिक मरिरहून्, सत्ता अमर रहोस् !

कृष्ण ढुंगाना

प्राचीन भारतको बिहारस्थित नालन्दा विश्वविद्यालय भर्ना पाउन विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्थ्यो । १,५०० वर्षअगाडि नै त्यहाँ उत्कृष्टले मात्र भर्ना पाउँथे । करिब ८,५०० विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयका तीन फरक पुस्तकालय थिए ।

वेद, बौद्ध अध्ययनका सुत्त, विनय र अभिधम्म पिटक, व्याकरण, मानव र चिकित्सा विज्ञानका पुस्तकहरूले पुस्तकालय गुलजार थिए । मध्यएसियाकै अब्बल अध्ययन केन्द्र मानिने नालन्दा तेह्रौं शताब्दीमा ध्वस्त भयो । पुस्तकालयहरू जलाएर खरानी पारिए ।

सो विश्वविद्यालयका छात्र एवं चिनियाँ इतिहासकार ह्वेन साङले लेखेका छन्, ‘तीनवटै पुस्तकालयका पुस्तक जलेर खरानी हुन छ महिना लाग्यो ।’ त्यो बेला त्यहाँ लाखौं पाण्डुलिपि र हजारौं पुस्तक थिए । नालन्दामा आक्रमण गरेका माम्लिक साम्राज्यका सैनिक जनरल मोहम्मद बख्तियार खिलजीको फर्मान थियो, ‘सबै पुस्तक ध्वस्त पार्नू । कुरान पढे पुग्छ, अरू आवश्यक छैन ।’

सैनिक जनरलको आदेशबाट स्पष्ट छ : मानव सभ्यता र चेतनासम्पन्न समाज सत्तालाई खतरा हुन् । शासन चलाउन भारदार, आफ्ना आस्थावान् भए पुग्छ; अरू चाहिँदैनन् । प्राचीन नालन्दाका तीन पुस्तकालयहरू रत्नोदधि, रत्नसागर र रत्नरञ्जक खरानी भएयताका ८०० वर्षमा विश्वभर उत्कृष्ट शासकीय मोडल खोज गरिए, अपनाइए । कोशीको धेरै पानी बगेर गंगामा पुग्यो । नागरिकलाई स्वतन्त्रता र शासकलाई जिम्मेवार एकैसाथ बनाउने शासकीय मोडल यहाँ पनि अपनाइए । सम्राट्, राजा, महाराजा हुँदै शासकहरू प्रधानमन्त्री, राष्ट्रपतिमा बदलिए ।

तिनको नियुक्ति प्रक्रियामा ठूलै छलाङ भयो । तर यति बेला फेरि शासकीय शैलीले भनिरहेछ : सत्ता अमर राख्न भारदार, कार्यकर्ता भए पुग्छ । नागरिक मरिरहून् तर अमुक भगवान् अमर रहून् । यस्तो किन ? युनिभर्सिटी अफ न्यु हाम्सफारमा मिसेल डिलन र मेगन हेनलीले गरेको एउटा अनुसन्धानले भन्छ, ‘वैज्ञानिक सूचनाको पहुँचभन्दा टाढा हुनेहरू आफू आस्थावान् रहेको सम्प्रदायको नेताबाट छिटो प्रभावित हुन्छन् । यसलाई दलहरूले चुनावी फाइदाका लागि प्रयोग गर्छन् ।’ यो अमेरिकी सन्दर्भको कुरा हो । नेपालको यथार्थ अलि भयावह र फरक देखिँदै छ : सत्ता नागरिकलाई उपचार दिन नसकेको कमजोरी ठोरीमा निर्माण गरिने राम मन्दिरको गजुरले छोप्ने प्रयास गर्दै छ ।

निश्चय नै, धर्महरूले मानव अस्तित्वको व्याख्या गरेर अनुशासित जीवनको अवधारणा बुझाउन प्रयास गरेका छन् । र, अर्को तथ्य हो : धर्महरूको निरन्तरतालाई मानव अस्तित्व अनिवार्य सर्त हो । पैसा र सत्ताका लागि प्रभावशाली लयमा झुटो बोल्नु एउटा फरक क्षमता हो । यति बेला यो देशका नागरिकले भोगेको यथार्थ हो— शासक धार्मिक आस्थामा सवार भएर सत्ता दिगो बनाउन काम गरिरहेछन्, नागरिक बचाउनु ‘सेकेन्डरी’ हो ।

यदि त्यस्तो हुँदैनथ्यो भने माम्लिक साम्राज्य अन्त्यको ७३० वर्षपछि वीरगन्जमा उपचार नपाएर विष्णु लामाहरूले अल्पायुमै जीवन अन्त्य गर्नुपर्ने थिएन । आधा दर्जन अस्पतालले उपचार गर्न अस्वीकार गरेर विष्णु मृत्युवेदनामा छटपटाइरहँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा शय्या, आईसीयू, भेन्टिलेटर र अक्सिजन थप्न चासो नदिएर ठोरी र आसपासका जनप्रतिनिधिलाई फर्मान गरिरहेथे, ‘राम जन्मस्थल अयोध्या नेपालमै हो । ठोरीमा भव्य मन्दिर बनाऊ । ७८ सालमा त्यो उद्घाटन गर्नुपर्छ ।’ बालुवाटारबाट प्रधानमन्त्रीको फर्मान त्यति बेला भइरहेथ्यो, जतिखेर उपचार नपाएर नागरिकहरू काठमाडौंका कोठामा खोक्दै एक्लै छटपटाइरहेथे ।

समाजवाद स्थापनाको राजनीतिक दर्शन अँगालेका शासकको महामारी समयको यो फर्मान सैनिक जनरल खिलजीको भन्दा कति फरक छ ? सिद्धान्तमा आधारित भएर त्यसको शोध राजनीतिशास्त्रका विद्यार्थीहरूले बिस्तारै गर्लान् । अहिलेको मुख्य सवाल हो— यो समयमा शासकको प्राथमिकता के हुनुपर्छ : मन्दिर, मस्जिद, स्तूप वा मृत्युसँग संघर्ष गरिरहेका नागरिक ? महामारीलाई सत्ता, कमाइ र राजनीतिक दाउपेचको साधन नबनाउने हो भने जवाफ सहज छ : पहिलो कर्तव्य नागरिकको जीवन हो; उपचार, औषधि र अस्पताल व्यवस्थापन हो ।

महामारीमा २२८ नागरिकले ज्यान गुमाइसकेपछि अस्पतालमा स्वास्थ्यकर्मी र सेवा अभावको विषय फेरि सतहमा आएको छ । सरकारले प्रश्न गर्ने नागरिकप्रति जति ठूलो द्वेष देखाए पनि यो अवस्था बिनाकारण आएको होइन । कोभिड–१९ संक्रमित ५० जना नपुग्दै अनुसन्धान संस्था ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (जीआईआईएस) ले सातै प्रदेशका ११० अस्पतालको सेवा स्थिति अध्ययन गरेथ्यो । वैशाखमा सार्वजनिक रूपमै जीआईआईएस प्रतिवेदनले भनेथ्यो, ‘सानामध्ये ८१ प्रतिशत, मध्यममध्ये ३९ प्रतिशत र ठूलामध्ये ३३ प्रतिशत अस्पतालमा एउटा पनि आइसोलेसन बेड छैन । ठूला अस्पतालका ५० प्रतिशत आईसीयू सञ्चालनमा छैनन् ।’

हुन त अहिले देखिएको चिकित्सक, भेन्टिलेटर, आईसीयू र बेड अभावको बीउ सरकारले ७ महिनाअघि नै रोपेको हो । तथ्यले देखाउँछ : २०७६ पुसमा चीनमा देखिएको कोभिड–१९ एक महिनाको यात्रापछि मात्र नेपाल आइपुगेको हो । त्यहाँदेखि अहिलेसम्म सरकारले ककसका लागि काम गर्‍यो ?

प्रधानमन्त्री र भारदारहरू नागरिकप्रति ‘रिएक्ट’ (रेस्पोन्स होइन) गरिरहेछन् : सरकारले गजब गरेको हो, मिडियाले बिगारे, आलोचकको मति सप्रियोस् । मानौं ओम्नी, सांसद अपहरण आलोचककै उपज हुन् । र, पीसीआर टेस्ट गर भन्नु अक्कल बिग्रनु हो ।तथ्य हो, शासकले बोलेको झुट कार्यकर्ता वा भुइँमान्छेले पत्याए पनि कोभिड–१९ ले औषधि–उपचारबाहेक अरू भाषा बुझ्न सकेन ।

तैपनि नेपाल र भारत दुई देशका शासक वीरतापूर्वक ८०० वर्षपछाडिको शासकीय शैली अभ्यास गर्न प्रतिस्पर्धा गरिरहेछन् : राम र बुद्ध हाम्रै हुन्, नागरिकको जीवन तपसिलको कुरा हो । शक्तिशाली सरकार स्वयंले मस्यौदा गर्ने नीति, कानुनबाट महामारीमा भएका अनियमितता र भ्रष्टाचारबाट शासक र तिनका मतियारले डराउनैपर्दैन । बकस दिएर राज्य अंगमा पठाइएका नातेदार, दास वा भेटी बुझाएर गएकाहरूले प्रभुको खातिरदारी नगर्ने कुरै छैन । १ लाख वर्ष लामो इतिहासमा सबैमाथि जित हासिल गर्ने आखिर मानव नै त हो । यति शक्तिशाली प्रधानमन्त्री ओलीसामु एउटा सामान्य सवाल छ : उपचार नपाएर नागरिक मरिरहँदा प्राथमिकता मठमन्दिर बनाएको विषय मानव विकास इतिहासमा कस्तो रङले लेख्ने ? सुनौलो वा कालो अक्षरले ?

ट्विटर : @krishnakirtipur

प्रकाशित : भाद्र १७, २०७७ ०९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×