कहत कबीर सुनो भाई साधो !- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहत कबीर सुनो भाई साधो !

विश्वका कम बुझिने चिन्तकहरूमध्ये एक हुन् कबीर। तर, कबीरलाई नसुनेसम्म गान्धी बुझिँदैन, अम्बेडकरलाई अर्थ्याउन सकिँदैन र सूफी इस्लामको मर्म ठम्याउन सकिँदैन । एकातिर हिन्दुत्वको उग्रता एवं अर्कोतिर इस्लामको अतिवादले कबीरको प्रासंगिकतालाई झन् बढाइदिएको छ ।
सीके लाल

नाम : कबीर । अरबी भाषाको शब्द, अर्थ हुन्छ ‘महान्’ । जन्म : ठोकुवा तिथिमिति अनिश्चित, तर परिस्थितिजन्य प्रमाणका आधारमा सन् १४४० । जन्मस्थान : लहतारा ताल, काशी । कर्म : कपडा बुन्ने जोलाहा । शिक्षा : निरक्षर, तर अनवरत आत्म–अवलोकन । दीक्षा : ‘भाव गुरू’ स्वामी रामानन्द । धर्म : निर्गुन एकेश्वरवाद । परिवार : जनश्रुतिअनुसार जन्म दिने आमा–बुवाद्वारा परित्यक्त, पोखरीछेउ भेट्टिएको नवजात ‘नीरू–नीमा’ दम्पतीद्वारा हुर्काइएका, पत्नी ‘लोई’ बाट पुत्र ‘कमल’ तथा पुत्री ‘कमाली’ । सृष्टि : मौखिक परम्पराका ५००० भन्दा बढी पद एवं दोहा । दृष्टि : मानवतावाद, ‘जात पात माने नहीं कोई, हरी के भजे से हरी के होई’ । मृत्यु : मगहर, सन् १५१८ ।

कबीरलाई पढेर बुझ्न कठिन छ । आफैंले केही लेखेका छैनन् । मौखिक परम्परामा बाँचेका छन् । कबीरलाई ‘सुन्नु’ पर्छ । बंगालका ‘बाउल’, बंगाली भाषामा अर्थ हुन्छ पागल, एकतारा बजाउँदै कबीर गाउँछन् । मिथिलामा साँझपख ढोलकको तालमा उनको शब्दलहरी गुन्जिन्छ । कब्बाल फरिदुद्दिनअयाज उनको आवाजलाई कराँची, पाकिस्तानमा बुलन्द गर्छन् । प्रह्लाद टिपान्याले कबीरलाई मालवा भाषा र शैलीमा दुनियाँभर फैलाएका छन् । सामान्य अवस्थामा पनि कबीरलाई ‘सुन्नु’ जीवनका जटिलतम आयामहरूलाई सहजता साथ बुझ्नु हो । कबीर तानमा कपडा बुनेर गुजारा गर्ने जोलाहा थिए । त्यसैले उनी उपदेश दिँदैनथे । आफ्ना अनुभूति, अनुभव एवं अन्तर्दृष्टिलाई बोलीचालीको भाषामा कहिले गुनगुनाउँथे त कहिले तानको स्वरलहरीमा ताना मिलाएर गाउँथे । पढे–लेखेका थिएनन् । निरक्षर थिए । सुन्थे र गुन्थे । अनि उनलाई लागेको कुरा वेद र पुराणको मतलब नराखेर निर्धक्क बोल्थे :

मसि कागद छूयो नहीं, कलम गही नहिं हाथ ।

चारिक जुग को महातम, मुखहिं जनाई बात ।।

मसी र कागज नछोएको र हातमा कलम नपरेको व्यक्तिले चार युगको महात्म्य बखान गर्छ भने उनलाई सुन्ने कि त सामान्यजन हुन्छन् वा प्रकाण्ड विद्वान् । चन्द्रमोहन जैनबाट आचार्य रजनीश हुँदै ओशो भएर शरीर त्याग गरेका स्वयंसिद्ध विद्वान्लाई यी दुवै प्रवर्गमा राख्न मिल्छ । महात्माहरू आध्यात्मिक ज्ञान र मुक्तिका लागि सांसारिक सुख परित्याग गर्न तत्पर हुन्छन् । विद्वताको खोजीमा लागेकाहरू दैहिक आनन्दलाई दोयम प्राथमिकतामा राख्छन् । भौतिकतालाई स्वीकार गरेर कहिले सम्झौता त कहिले संघर्ष गर्दै आँसु झार्दै, खेल्दै, गीत गाउँदै, नाँच्दै र आफ्नो नियतिमा रमाउँदै जीवन जिउने कला कि त अबोधले जानेका हुन्छन् वा साँच्चिकै आत्मज्ञान प्राप्त गरिसकेका ज्ञानीले ठम्याएका हुन्छन् । विद्वताका स्थापित मापदण्डहरूलाई पन्छाउँदै ओशो कबीरलाई बुद्धभन्दा उपल्लो खुड्किलोमा राख्छन् ।

आत्मज्ञान प्राप्तिपछि सोपानको अर्थ बाँकी रहँदैन, तर ओशोले गरेको तुलना यात्रा वा गन्तव्यको नभएर प्रस्थान–विन्दुको हो । शाक्य नरेश शुद्धोधन एवं रानी मायादेवीका छोरा भएकाले युवराज सिद्धार्थ गौतमलाई सम्पत्तिको अभाव महसुस हुँदैन । मानव जीवनका पीडा भने देख्छन् । दौलत र दुःखबीचको धमिलो सम्बन्ध ठम्याउँछन् र सुखको खोजीमा धनको तिरस्कार गर्न उनलाई कत्ति पनि गाह्रो हुँदैन । जोलाहा दम्पती नीरू र नीमाले दुःखजिलो गरेर पालनपोषण गरेका दैवी सन्तान कबीर सम्पत्तिको अभावमा पनि सुख देख्छन् र धनको व्यर्थता ठम्याउँछन् । राजकुमारी यशोधरासँग विवाहित युवराज गौतमले सौन्दर्य, शिष्टता एवं समझको उत्कर्षलाई अनुभव गरेर त्यस्तो संगतका सीमितताहरूलाई बुझेका छन् र परित्याग गर्न सक्छन् । वनखेडी बैरागीका पालिता कन्या ‘लोई’ नामक कन्यालाई अंगीकार गरेका कबीर दैहिक आसक्तिबाट मुक्त हुने आवश्यकता नै देख्दैनन् । फरक बाटो भएर बुद्ध र कबीर एउटै गन्तव्यमा पुछन्— उन्मुक्ति । ओशो भन्छन्— जन्मिएका जति सबै युवराज सिद्धार्थ गौतम छैनन्, त्यसैले बुद्धत्व प्राप्त गर्ने त्यस्तो राजमार्ग सामान्यजनलाई उपलब्ध छैन । कबीरको गोरेटो भएर हिँड्न भने कसैलाई कुनै बाधा छैन ।

कबीरबारे अनेकौं पुस्तक लेखिएका छन् । अंग्रेजीलगायत विभिन्न भाषामा सैकडौं शोधपत्र अन्तर्जालमा उपलब्ध छ । उनी सहज छन्, सामान्य भाषामा बोल्छन र आफ्ना कुरालाई व्याख्या गरिराख्ने आवश्यकता देख्दैनन् । विद्वान्हरूले भने उनलाई आ–आफ्नै तरिकाले अर्थ्याएका छन् । कवीन्द्र रवीन्द्रनाथ ठाकुरले उनलाई ‘चिर आधुनिक’ भनेका छन् । परम्परागत विचारकहरूको नजरमा उनी फगत भक्त छन् । साहित्यका समालोचकहरूले उनलाई हिन्दी भाषाको अप्रतिम कविका रूपमा उभ्याएका छन् । कबीर त्यो सब त हुँदै हुन् । त्यसका साथै उनी दार्शनिक हुन् । उनी जीवन जिउने कला सिकाउँछन् । मुक्तिको बाटो देखाउँछन् । त्यसैले उनी कालजयी छन् । उनी बाँचेको समय कर्मकाण्डको थियो । उनले भने आफ्ना लागि प्रेम र भक्तिको गोरेटो रोजे । उनको सोच त्यस अर्थमा क्रान्तिकारी हो । प्रेमबेगर फ्रान्सेली क्रान्तिले सुझाएको ‘स्वतन्त्रता, समानता, बन्धुत्व एवं धर्मनिरपेक्षता’ सूत्रलाई कसरी कार्यान्वयन गर्न सकिन्छ र ! तर, आध्यात्मिक अर्थको भक्तिले उनको क्रान्ति–अह्वानलाई नरम बनाउँछ ।

सबभन्दा पहिले कबीरलाई पुरोहित, पण्डा एवं मौलवीहरूले परित्याग गरे, त्यो किनभने उनी हिन्दु र इस्लाम गरी दुवै प्रचलित धर्महरूको कर्मकाण्डका प्रचण्ड विरोधी थिए । राजनीतिकर्मीहरूमा मार्क्सवादीलाई उनको समतावादी सोच आकर्षक लागेको थियो । तर, निस्तो भौतिकवादमा अघाएर बसेका मार्क्सवादीलाई उनको ‘निर्गुन राम’ मन परेन । भीमराव अम्बेडकरले बुद्ध र ज्योतिबा फुलेसँगै कबीरलाई आफ्नो गुरु भनेर सम्बोधन गरेपछि दलित अधिकारकर्मीहरूमाझ उनको आकर्षण बढेको थियो । तर, कबीर संघर्षको साटो समानुभूति सुझाउँछन् । नयाँ पुस्ताका दलित जुझारुहरूका लागि उनी आदरणीय छन्, तर आदर्श होइनन् । पवित्र गुरुवाणीमा रहेकाले संगठित धर्महरूमध्ये सिख समुदायले मात्र उनलाई अझै ‘आफ्नो’ मान्दै आइरहेको छ । जिज्ञासुहरूका लागि भने कबीर–वाणी साक्षात गुणको खानी हो । यस आलेखमा त्यस अमूल्य आध्यात्मिक धरोहरका केही बान्की प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । यो कबीरलाई ‘सुन्ने’ आमन्त्रण हो, उनका वचनहरूको विवेचना कदापि होइन । जीवन जिउने र मुक्ति पाउने तीन प्रमुख ‘कबीर पथ’ वर्गीकरण नितान्त वैयक्तिक हो, स्थापित ‘कबीर पन्थ’ सँग यस श्रेणीबद्धताको कुनै लेनादेना छैन ।

उत्तम प्रीति

कबीर अनपढ छन् । उनी लप्पनछप्पन नलगाएर र लामो कथा नगढेर सोझै ‘अनगढ’ कुरा गर्छन् । अहंकारको उचाइ देख्छन् । मायाजाललाई सावधानीपूर्वक छुन्छन् । विद्वेषको गन्ध चाल पाउँछन् । दर्पको ललकार सुन्छन् । मौनताको शक्ति ठम्याउँछन् । आत्मानुभूतिको गहिराइ नाप्छन् । अनि प्रेमको स्वाद लिँदै मनै मन मुस्कुराउँछन् । कबीरका पूर्ववर्ती एवं हिन्दी भाषाको प्रारम्भिक रूप ‘हिन्दल्वी जुवान’ का रचनाकार अमीर खुसरोले लेखेका छन् कि प्रेमको उल्टो बग्ने नदीमा डुब्ने जति पारि पुग्छन् भने तरेर अर्को तट छुने सबै डुब्छन् !

खुसरो दरिया प्रेम का सो उल्टी वाकी धार !

जो उबरा सो डूब गया, जो डूबा वो पार !!

कबीर भने खुसरोको रहस्यपूर्ण अभिव्यक्तिलाई सावधानीपूर्वक सुन्छन् र मौनताको लयमा गाउँछन् :

अकथ कहानी प्रेम की, कुछ कही ना जाए ।

गुंगे केरी शर्करा, बैठे मुस्काए ।।

प्रीतिको प्राप्तिलाई कसले कथ्यमा ढाल्न सक्छ ? त्यो त आवाजविहीनले सख्खरको स्वाद पाएपछिको अप्रतिम आनन्दलाई वर्णन गर्न नसकेर बसेर मुस्कुराएको जस्तै हुनुपर्छ । हो, अर्को प्रेमीले भने मौनताको सन्देश ठम्याउँछ, जसरी लाटोको भाषा अर्को लाटोलाई बुझ्न खासै गाह्रो हुँदैन । सामान्य अवस्थामा कबीरलाई ‘सुन्नु’ आनन्दको आकाशमा उड्नु हो :

अति का भला न बोलना, अति की भली न चूप,

अति का भला न बरसना, अति की भली न धूप

ज्यादा बोल्नु र अत्यधिक पानी पर्नु एवं अतिशय मौनता तथा अचाक्ली सूर्यको रापलाई समानान्तर राखेर सरल शब्दमा मध्यममार्गको आवश्यकता एवं महत्त्वलाई उजागर गर्न सक्ने क्षमता कबीरजस्तो सामान्यजनको ‘साधु’ सँग मात्र हुन्छ । उनी भने स्वयंलाई नभएर उनका कुरा सुन्नेलाई ‘सुनो भाई साधो...’ भन्दै सम्बोधित गर्छन् । शब्दकोशले सांसारिक प्रपञ्च वा विषयासक्तिबाट टाढा रही जीवन बिताउने व्यक्तिलाई मात्र नभएर सरल प्रकृतिको मानिसलाई पनि साधु नै भन्छ । सन्त कबीर साधु श्रोतालाई सम्बोधित गर्छन् एवं प्रतीतिभन्दा प्रीतिलाई उच्च ठहर्‍याउँछन् :

पोथी पढि पढि जग मुआ, पण्डित भया न कोय ।

ढाई आखर प्रेम का, पढे सो पण्डित होय ।।

पोथी अर्थात् ज्ञानको भण्डार मानिने पवित्र ग्रन्थहरू पढेर कोही पण्डित हुन सकेको छैन । जम्मा दुई र आधा अक्षरको ‘प्रेम’ शब्दलाई ‘पढ्न’ जसले जान्यो, ऊ पण्डित भयो । शब्दलाई कबीर अक्षरमा छुट्याउँछन् । प्रथम अक्षरमा परमात्मा छन् । परमात्मालाई ठम्याउन पहिले आत्मालाई खुट्याउन सक्नुपर्छ । शब्द एवं वाक्यमा अल्झिनेले मौनताको सन्देश ‘सुन्न’ सक्दैनन् । अर्धाक्षर ‘र्’ मार्फत ‘अहम्’ अभिव्यक्तिमा आधा रहेको ‘म’ ले परमको नियन्त्रित ऊर्जा प्राप्त गरेपछि पूर्णतातिर उन्मुख हुन्छ । त्यसपछि कबीर गाउँछन् :

पीया चाहै प्रेम रस, राखा चाहै मान ।

दोय खड्ग ऐक म्यान मे, देखा सुना ना कान ।।

अहंकार हुनेले प्रेम बुझ्न सक्नु भनेको एउटै म्यानमा दुई खड्ग राखेको जस्तो न देखेको न त सुनेको अवस्थाजस्तै हो । एक पटक प्रेमको झिल्कोले छोएपछि त्यस आगोको तापलाई जोगाएर राख्न सबैले कहाँ सक्छन् र !

प्रीत पुरानी ना होत है, जो उत्तम से लाग ।

सौ बरसा जल मैं रहे, पात्थर ना छोरे आग ।।

प्रेम ‘उत्तम’ अर्थात् परमात्मासँग भएपछि कहिल्यै पुरानो हुँदैन, जसरी कि सयौं वर्ष पानीमा डुबेर रहेको ढुंगाको आगो त्यसभित्र रहिरहन्छ । तर, त्यस्तो पिरती पाउने पो कसरी ? कबीर सचेत एवं सक्रिय प्रतीक्षाको महत्त्वलाई इंगित गर्छन् :

धिरे धिरे रे मना, धिरे सबकुछ होए ।

माली सिंचे सौ घडा, ऋतु आए फल होए ।।

तर, कहिलेकाहीँ सय गाग्री पानी हालेको बोटमा ऋतु आए पनि फूल र फल लाग्दैन नि ? हो, तर प्रेमले सिञ्चित मन परिणामको चिन्ता गर्दैन, कर्म गर्दै कर्ताको प्रतीक्षा गर्दछ :

कबीरा किया कुछ न होत है, अनकिया सब होए ।

जो किया कुछ होत है, कर्ता और कोय ।।

त्यसोभए के कबीर भाग्यवादी हुन् त ? प्रेम त कर्म हो, एउटा यस्तो कर्म, जसले अर्को कर्ता जन्माउँछ र समाजमा संवेदना फैलाउँछ । फ्रान्सेली दर्शनशास्त्री एलैन बद्द्यूले प्रेमलाई ‘अति सूक्ष्म अभिरूपको साम्यवाद’ भनेर परिभाषित गरेका छन् । युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भन्ने नाजायज अभिव्यक्तिलाई काट्दै कबीर प्रीतिलाई त्यागको प्राप्ति भनेर अर्थ्याउँछन् ः

प्रेम ना बारी उपजै प्रेम ना हाट बिकाय ।

राजा प्रजा जेहि रुचै, शीश देयी ले जाय ।।

प्रेम न खेतबारीमा उब्जिन्छ, न त बजारमै किन्न पाइन्छ । राजा होस् वा प्रजा, प्रेम चाहनेले अहंकार परित्याग गरेर मात्र प्रीति अंगीकार गर्न सक्छ । त्यसपछि कबीर आफ्नो मौलिक र अनगढ शैलीमा घोषणा गर्छन् :

नेह निबाहन कठिन है, सबसे निबहत नाहि ।

चढ्बो मोमे तुरंग पर, चलबो पाबक माहि ।।

चाह र लगनबाट पाइसकेको प्रेम पनि सबैले निर्वाह गर्न सक्दैनन् । मैनको घोडा चढेर आगोमा हिँड्न आँट हुनेहरू मात्र पिरतीलाई कायम राख्न सक्छन् । बुद्धले त्यस यथार्थलाई ‘दुःख’ भनेका छन् । मुक्तिका लागि अष्टाङ्ग मार्ग सुझाएका छन्— सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति एवं सम्यक् समाधि । कबीरको प्रेमिल समर्पण सहज छ :

नैना अंतर आव तू, ज्यूं हौं नैन झंपेउ ।

ना हौं देखूं और को, न तुझ देखन देऊँ ।।

कति सजिलो— ‘तिमी मेरा दुई आँखा भएर भित्र आऊ, त्यसपछि म आँखा बन्द गर्छु । अनि न म अरू कसैलाई देख्छु, न तिमीलाई नै हेर्न दिन्छु !’ मनको आँखा खोलेर प्रेम गरेपछि परम ब्रह्म होस् वा अन्तिम सत्य, स्वतः प्रेमीको स्नेहिल बन्दी बन्न पुग्दछ ।

मध्यम भक्ति

सहज समयमा प्रेमपूर्वक बाँच्न वा मर्न सकिए पनि असहज अवस्थामा त्यसभन्दा बढी आत्म–संयमको आवश्यकता हुन्छ । कठिन समयमा कबीरलाई सुन्नु भनेको भक्ति रसमा विभोर हुनु हो । मार्क्सवादीहरू कबीरको भक्तिभावबाट चिढिन्छन् । मार्क्स भने ‘सबै आलोचना कर्मको सुरूवात धर्मको आलोचनाबाट हुनुपर्छ’ भन्ने प्रस्तावनाका बावजुद धर्मको अपरिहार्यतालाई इन्कार गर्दैनन् । मार्क्स लेख्छन्— ‘धर्म उत्पीडित प्राणीहरूको आह एवं हृदयहीन संसारको हृदय हो, भावहीन परिस्थितिको भावनाजस्तै । त्यो सामान्यजनको अफिम हो ।’ आधुनिक औषध विज्ञानको विकासभन्दा हजारौं वर्षअगाडिदेखि अफिम दुखाइ कम गर्ने दबाई रहँदै आएको हो । व्यक्तिलाई बन्दी बनाउने धार्मिक बन्धनको साटो कबीर उन्मुक्त तुल्याउने भक्तिका कुरा गर्छन् । पीडा हटाउने गीत गाउँछन् । सबभन्दा पहिले विद्वता छोड्न सुझाउँछन्, शास्त्रबाट मुक्त हुन भन्छन्, अनि बाउन्न अक्षरमध्ये ‘र’ र ‘म’ यी दुईमै चित्त केन्द्रित गर्न सुझाउँछन् :

कबीर पढिवा दूर कर, पोथी देय बहाय ।

बावन आखर सोध कर, रमैं ममैं चित्त लाय ।।

कबीरका ‘र’ एवं’ ‘म’ जोडिएका राम अयोध्याका दशरथ–पुत्र भने होइनन् । उनी ऊर्जा एवं मनोहरताका संगम हुन्, ‘सबमें रमै रमावै जोई, ताकर नाम राम अस होई ।’ पाण्डित्य र पोथी परित्याग गरिसकेपछि वर्णाश्रम व्यवस्थाको बन्धनबाट मुक्त हुन भक्ति रसमा डुब्ने दोस्रो सर्त हो ः

जहाँ भक्ति वहाँ भेष नहीं, वर्णाश्रम हूँ नाहिं ।

नाम भक्ति जो प्रेम सों, सौ दुर्लभ जग माहिं ।।

जहाँ भक्ति छ, त्यहाँ आवरण चाहिँदैन । वर्णाश्रम विभाजन हुँदैन । नामको भक्ति प्रेम जत्तिकै दुर्लभ हुन्छ । भक्तिको तेस्रो सर्त अझ कठिन छ ः

जब लंग नाता जाति का, तब लंग भक्ति न होए ।

भक्ति करे कोई सूरमा, जाति बरण कुल खोये ।।

जातिको नाता जोडेसम्म भक्ति हुँदैन । भक्ति त्यस्तो पराक्रमीबाट मात्र सम्भव छ, जोसँग आफ्नो जाति, वर्ण र कुल परित्याग गर्ने आँट छ । समानताका सबै सर्त पार गरे पनि भक्तिमार्फत मुक्तितिरको बाटो समात्ने कठिनाइ कबीर आफ्नै अनुभवबाट सुनाउँछन् :

पीछे लागा जाई था, लोक बेद के साथि ।

आगै थै, सतगुरु मिल्या, दीपक दीया हाति ।।

लोकाचार एवं वेदाचारमा अल्झिएर अज्ञानताको अँध्यारोमा थिएँ, गुरुले ज्ञानको दीपक हातमा दिए । भक्तिमार्गमा गुरुको महिमा अपरम्पार छ । गुरुलाई गोविन्दभन्दा पूज्य ठहर्‍याउने उनको प्रसिद्ध पंक्तिले सामान्यजनको विकलताको उपचार खोजेको छ । प्रेममार्ग उत्तम त हो, तर त्यस बाटोमा प्रकाश नभेट्टाएसम्म एक्लै हिँड्नुपर्ने हुन्छ, ‘प्रेम गली अति सांकरी, तामे दो न समाही’ ! गुरु भने हातमा बत्ती थमाइदिन्छन् :

गुरु गोविन्द दोऊ खडे, काके लागों पाय ।

बलिहारी गुरु आपणै, गोविन्द दियो बताय ।।

मध्यम भए पनि भक्ति सहज मार्ग हो । तर, जतिखेर भक्ति अन्धभक्तिमा परिणित हुन्छ, गुरु र शिष्य दुवै अज्ञानताको इनारमा एकसाथ खस्छन् ।

जाका गुरु भी अंधला, चेला खरा निरंध ।

अंधै अंधा ठेलिया, दून्यूं कूप पडंत ।।

सोझै कुवातिर पुर्‍याउने त्यस्तो बाटोलाई कबीर निषेध गर्छन् । संगठित धर्म, शास्त्रविधि, अनुष्ठान, अजान, नमाज, पुरोहित, मौलवी एवं धर्माधिकारीले देखाउने बाटाहरूको खिल्ली उडाउँछन् । संसारका अधिकांश द्वन्द्वहरूको मूलमा ‘संगठित धर्म’ रहने गरेको छ । मुक्तिको बाटोमा सबभन्दा बलियो तगारो पुरोहित, मौलवी एवं पादरीहरूले तेर्स्याएका छन् । तिनलाई पन्छ्याएर मात्र जीवनलाई सहज एवं मुक्तिलाई सम्भव तुल्याउन सकिन्छ ।

निषिद्ध कर्मकाण्ड

काशीमा कबीरको कालबेला झन्झटले भरिएको थियो । गंगा मैदानमा दिल्ली सल्तनतको शासन थियो । एकातिर हिन्दु धर्म परम्पराहरूको बेडीमा जकडिएको थियो भने अर्कोतिर जाति व्यवस्थाबट मुक्त रहेकाले शूद्र श्रेणीमा राखिएका सनातनीहरूमा इस्लामप्रतिको आकर्षण बढ्दो थियो । काशीको गंगाघाटमा पण्डा, मन्दिरमा पुजारी, मस्जिदमा मौलवी, सडकमा सुल्तानका सिपाही, खेतमा जमिनदार एवं बजारमा साहुकार एकसाथ शासन गर्ने गर्थे । त्यस्ता सबैखाले सत्ताका ज्यादतीहरूको बोझ सामान्यजनले बोक्नुपर्थ्यो । उनका समकालीन ‘ज्ञानीहरू’ राज्य, धर्म वा धनमध्ये कुनै न कुनै सत्तासँग सम्बद्ध थिए । उनी स्वयं श्रमजीवी थिए, त्यसैले सडकको भाषामा ठाडो ‘प्रश्न’ गर्थे :

पाहन पूजे हरि मिले, तो मैं पूजूँ पहार ।

ताते ये चाकी भली, पीस खाय संसार ।।

कबीर भन्छन्, ‘ढुंगा पुजेर देउता पाइने भए म पहाडको पूजा गर्छु, त्योभन्दा त जाँतो बेस, आँटा पिसेर दुनियाँले खान्छ ।’ उनी मुसलमानलाई पनि बाँकी राख्दैनन् :

कांकर पाथर जोरि कै, मस्जिद लई बनाय ।

ता चढि मुल्ला बांग दे क्या बहरा हुआ खुदाय ।।

ढुंगा–माटो जोडेर ठड्याइएको मस्जिदबाट चिच्याएर सुनाउनलाई के ‘खुदा’ बहिरा भएका हुन र ! त्यो प्रश्न लाउडिस्पिकरबाट भजन गाउने र बजाउनेहरूलाई अहिले पनि तेर्स्याउन सकिन्छ । त्यसपछि उनी जन्मँदै श्रेष्ठ भएको दाबी गर्ने ब्राह्मणमाथि खनिन्छन् :

ब्राह्मण गुरु जगत का, साधू का गुरु नाहीं ।

उरझि–पुरझि कर मरि रह्या, चारिउं वेदा माहीं ।।

चार वेदमा अल्झेर मर्न आतुर ब्राह्मण दुनियाँको गुरु होला, तर ‘साधु’ को गुरु ऊ होइन । किनभने :

एक बूंद एक मल मूतर, एक चाम इक गूदा ।

एक जोत से सब उत्पन्ना, को ब्राह्मण को सूदा ।।

उस्तै वीर्य, एकै किसिमको मलमूत्र, एकसमान छाला र हाड अनि एउटै ज्योतिबाट सिर्जिएपछि कोही ब्राह्मण र कोही शूद्र कसरी हुन सक्छ ! त्यसपछि उनी झन् कडा प्रश्न गर्छन् :

जो तू वामन वमनीं जाया, तो आने बाट हवे काहे न आया ।

जो तू तुरक तुरकनीं जाया तो भीतरि खतना क्यूनें करवाया ।।

ब्राह्मण भएर जन्मिने भिन्नै बाटो भएर आमाको कोखबाट किन आएन ! तुरकको ‘खतना’ गर्भ मै किन भएन ! कबीर मुसलमान सम्भ्रान्तका लागि ‘तुरक’ शब्द प्रयोग गर्छन् । आजभोलिको भाषामा ‘अशराफ’ भनिने मुसलमानहरू आफ्नो मूल टर्की, अरब, इरान र अफगानिस्तानसँग जोड्छन् । धर्मान्तरबाट मुसलमान भएकालाई ‘पसमन्दा’ भनेर हेला गर्छन् । काशीका श्रमजीवी पसमन्दा थिए भने सम्भ्रान्तलाई उनी ‘तुरक’ भन्छन् । हिन्दु सोपानतन्त्रको ब्राह्मणबाहेकलाई केही भन्दैनन् । र, अन्ततः निश्छल भएर घोषणा गर्छन् :

कबीरा खडा बाजार में, मांगे सबकी खैर ।

ना काहू से दोस्ती, न काहू से बैर ।।

दोस्ती र दुस्मनीको विपरीतार्थक भावबाट मुक्त र बीच बजारमा उभिएर सबैको भलो चाहने कबीर समसामयिक विश्वका कम बुझिने चिन्तकहरूमध्ये एक हुन् । तर, कबीरलाई नसुनेसम्म गान्धी बुझिँदैन, अम्बेडकरलाई अर्थ्याउन सकिँदैन र सूफी इस्लामको मर्म ठम्याउन सकिँदैन । एकातिर हिन्दुत्वको उग्रता एवं अर्कोतिर इस्लामको अतिवादले कबीरको प्रासंगिकतालाई झन् बढाइदिएको छ । उनलाई ‘सुन्ने’ आवश्यकता भने सबै ‘साधो’ लाई सधैं भइरहनेछ ।

प्रकाशित : भाद्र १९, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

धरहरा 

भूपिन

रात स्वयम् छ गहिरो निद्रामानसुतेको तिमी छौ र म छु पुलिस दाइ !म केही छिन आँखाको पिरो मार्न चाहन्छु म केही छिन आँखाको ढक्कन बन्द गर्न चाहन्छु नयाँ बनेको यो धरहरामा आज एकरात बास बस्न चाहन्छु !

अनुरोध त

सिधै प्रधानमन्त्रीसँग गर्न मन थियो

सुनेको छु, परमादेशको स्लिपिङ ट्याबलेट सेवन गरेपछि

अनिद्राले सताइएका उनी गहिरो लम्पसारमा छन्,

हकिन्सले पत्ता लगाउन नसकेको ‘सम्पूर्णताको सिद्धान्त’

आफूसँग भएको दाबी गर्ने

सत्ताका कम्फर्टेबल क्याप्टेनलाई सोध्न मन थियो

सुनेको छु– उनी पद बाँडफाँडको सूत्र थाहा नपाएर आतंकित छन्,

सोध्न मन थियो प्रतिपक्ष दलका नेतालाई

सुनेको छु– उनी यही धरहराको उचाइबाट खसेपछि

घाइते भएको अहम्को बार्दलीमा बसेर

गालीशास्त्रको नयाँ पाना रच्न व्यस्त छन्

एक आफन्त थिए

जो भन्थे, ‘म नेता हुँ नेता’

सुनेको छु,

उनी आफ्नै घर जलाएर निस्केको खरानीको व्यापारबारे सोच्दै छन्

नगरपिताको के कुरा गर्नु ?

पर्खालबाहिर फोहोर थुप्रिएको कुनै होटलभित्र

उनी स्वच्छ काठमाण्डूको गौरवगाथा गाउने हतारमा छन्

छिप्पिइसकेको छ रात

र, यो धरहराछेउमा तपाईं भेटिनुभयो

आज एक रात बास दिनुस् न !


होचो जिन्दगी बाँच्दा बाँच्दा दिक्क लागिसक्यो

कहिलेकाहीँ त हामीलाई पनि

उचाइमा बसेर बादल उडेको हेर्न मन लाग्छ

साँघुरो जिन्दगी बाँच्दा बाँच्दा वाक्क लागिसक्यो

कहिलेकाहीँ त हामीलाई पनि

टाकुरामा बसेर फराकिलो धरती हेर्न मन लाग्छ ।


पुलिस दाइ

सहरमा डेरा किन नखोजेको भन्नुहोला

खोजेको छु

दिनभरि घरका गेटहरु ढक्ढकाएर खोजेको छु,

बिजुली घण्टीहरु थिचेर खोजेको छु,

केहीले मेरो जागिर सोधे र डेरा दिन इन्कार गरे

केहीले मेरो पोसाक हेरे र डेरा दिन इन्कार गरे

केहीले मेरो जात सोधे र डेरा दिन इन्कार गरे ।


पुलिस दाइ

‘सत्य सेवा सुरक्षणम्’

यो बेला म केवल खोजिरहेछु सुरक्षा,

जीवन खोज्न गाउँबाट राजधानी छिरेको थिएँ

तर, यो सहरमा जीवनको नटबोल्ट हराएँ,

सुरक्षा हराएँ,

खाडीको भिसा लागेको पासपोर्ट पर्खिंदा पर्खिंदा

अचानक कोभिडबाट खेदिएँ

जब मजदुरी गरेको पैसा ओखतीमा सकियो

डेराबाट खेदिएँ

दिउँसोको पसिना र सााझको झरीले

अहिले चिसोबाट खेदिएको छु ।

म कहाँ जाऊँ पुलिस दाइ ?

यो धरहरामा

आज एक रात बास दिनुस् न !


किन रिसाउनुभएको पुलिस दाइ ?

किन यसरी मलाई घुरेर हेर्नुभएको ?

किन सोध्नुभएको

‘रक्सी पिएर पागलझैं किन बर्बराउँछस् ?’ भनेर ।


हो सायद बर्बराइरहेछु म, बर्बराइरहेछु.

नेताहरु यहाँ

मानिसको रगत पिएर बर्बराउँछन्

म मजदुरी गरेको पैसाले

भ्रमवस केही क्षण दुःख बिर्सन

जाबो सस्तो रक्सी पिएर बर्बराउन पाउँदिन ?


(यसै पनि मानिसको रगत पिउनुभन्दा

रक्सी पिउनु धेरै सुन्दर कुरा हो ।)


बरू सुन्नुस् न

हिजो पशुपतिको चिसो पाटीमा सुत्दा

अचानक प्रकट भएका थिए राजा महिन्द्र मल्ल ।

तपाईंले पनि कतै भेट्नुभयो कि उनलाई ?

उनले सोधेका थिए,

‘किन रोएको यसरी ?’

भक्कानिँदै भनेको थिएँ,

‘महामारीको पीडा त जसोतसो सहो

भोकको पीडा सहन गाह्रो भयो हजुर ।’

त्यसपछि सोधेका थिए उनले,

‘के तिम्रो देशमा अहिले

जनताको घरमा चुलो बलेको हेर्न सकिने

कुनै नौतले दरबार छैन ?

किन भोको छौ तिमी ?

के तिम्रो देशमा अहिले

तिमीले खाएपछि मात्र खाने कुनै अभिभावक छैन ?’


के जवाफ दिऊँ म उनलाई ?

छन त छन् नी आफैंले चुनी पठाएका अभिभावकहरु !

तर, के गर्नु ?

सन्तानलाई भोकै राखेर उनीहरु आफू मात्र खान्छन्

नदी खान्छन्, जंगल खान्छन्

श्रमिकहरुका पसिना र आँसु खान्छन्

गरिबीका हर सूचकहरुमा सबैभन्दा पछि छ देश

यही मुद्दामा उनीहरुले राजनीतिको पसल धान्छन्

म धरहराबाट हेर्न चाहन्छु

अहिले कहाँ छ त्यो नयाा नौतले दरबार

जहााबाट नागरिकका चुलाहरु देखिन्छन्,

म हेर्न चाहन्छु

अहिले कहाँ बस्छन् वर्तमानका महिन्द्र मल्ल ?


पुलिस दाइ

नयाँ बनेको धरहरामा

आज एक रात बास दिनुस् न !

प्रकाशित : भाद्र १९, २०७८ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×