भत्काऊ साहित्यका सीमा - कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बहस

भत्काऊ साहित्यका सीमा 

अग्रजले तोकिदिएको सीमा भन्नुको अर्थ के ? सीमा भत्काउनु के अग्रजको अपमान गर्नु हो ? एप्रोचमा कमजोरी रहे, उठान बिग्रन्छ र सत्यको नजिक निचोडलाई लैजान सकिँदैन । एप्रोच सही भएको कसरी थाहा पाउने ? निःसन्देह त्यो कठिनतम प्रश्न हो । 
कोही अग्रज हुँदैमा, लोकप्रिय हुँदैमा, केही पुस्तक निस्कँदैमा, ऊ सधैं सही हुँदैन । यो विन्दुमा हामीले विश्वास गर्ने समयमा हो, पात्रमा होइन ।
रोशन शेरचन

पृष्ठभूमिको कथा 
यो निबन्ध कसरी लेखियो ? किन लेख्न प्रेरित भएँ ? त्यसपछिल्तिर एउटा कथा छ । तपाईंलाई त्यतातिर लैजान्छु । साउन १६ गते शनिबार, ‘फरकधार’ अनलाइनमा पाका आख्यानकार नयनराज पाण्डेको एउटा अन्तरवार्ता छापिएको थियो । अन्तरवार्ताको शीर्षक थियो, ‘अग्रजलाई सम्मान गर्नुस्, तर तिनले तोकिदिएको सीमा भत्काउनुस् ।’

त्यस विचारमाथि सामाजिक सञ्जालमा पक्ष–विपक्षमा विभिन्न कोणबाट प्रतिक्रिया आए । अन्तरवार्तामा अधिकांश रुटिन प्रश्न सोधिएका छन् । जस्तो, नयाँ पुस्तालाई तपाईंको केही सल्लाह छ ? भन्ने प्रश्नको जवाफमा पाण्डेको जवाफ छ— सल्लाह अरूको सुने पनि आफ्नै विवेकमा भर पर्नुस् । अग्रजको सम्मान गर्नुहोस्, तर तिनले कोरेका सीमाहरू भत्काउनुस् ।

अन्तरवार्ता र व्यक्त प्रतिक्रिया पढेँ । मनमा लाग्यो, ‘यो विषयमा अलि लामै लेख्नुपर्ला । र, यस विषयमा विविध कोणबाट प्रशस्त तर्क–वितर्क भएको राम्रो । त्यस्ता तर्क–वितर्कले सुल्झेको धारणा बनाउन लेखक, पाठक दुवैलाई सघाउँछ । आफ्ना अनुभव र विचारहरू किन नलेख्ने ?’ यिनै तर्कना यस लेखको रचनागर्भ बन्न पुग्यो ।

एप्रोच

प्रश्नलाई कसरी लिने वा बुझ्ने ? त्यो जहिल्यै निर्णायक महत्त्वको हुन्छ । उदाहरणका रूपमा, यहाँ सीमालाई कसरी बुझ्ने ? अग्रजले तोकिदिएको सीमा भन्नुको अर्थ के ? के अग्रज लेखकले लेख्दा सीमा तोक्छ ? अग्रजको सीमा भत्काउनु भनेको के उसको अपमान गर्नु हो ? एप्रोचमा कमजोरी रहे, उठान बिग्रन्छ र सत्यको नजिक निचोडलाई लैजान सकिँदैन । एप्रोच सही भएको कसरी थाहा पाउने ? निःसन्देह त्यो कठिनतम प्रश्न हो । केही आधारको संपेक्षमा त्यो हेर्न नसकिने होइन । प्रथम, एप्रोच विज्ञानसम्मत् छ/छैन ? यौटा मापन यसलाई बनाउन सकिन्छ । त्यसको अर्थ कार्यकारणलाई आधार बनाउने । दोस्रो, इतिहासमा यी र यस्ता प्रश्नको निरूपण कसरी भएको थियो ? वा निरूपणको प्रयास के कस्ता थालिएका थिए ? यद्यपि इतिहास नियाल्ने क्रममा वस्तुनिष्ठतालाई कायम गर्नुपर्ने ठूलो चुनौती छ ।

प्रतिक्रिया हेर्दा एक कोणका लेखकले साहित्यलाई भौतिक पूर्वाधार जसरी बुझेको देखिन्छ । साहित्यको एउटा स्थिर र स्थूल संरचना हुन्छ, त्यसको सीमा घरको बान्नो जसरी प्रस्ट देखिन्छ । र, बारीको डिल वा त्यो बान्नो जसरी नै सीमा भत्काउने हो भनेर बुझेको देखिन्छ । सीमा भत्काएपछि, अग्रजलाई सम्मान गरेको कहाँ ठहरिन्छ ? कसैले कडा प्रतिक्रिया पनि लेखेका छन् ।

प्रस्तावना

साहित्य मानसिक निर्मिती (मेन्टल कन्स्ट्रक्ट) हो, भौतिक संरचना होइन भनेर स्विकार्दा बहसलाई तर्कसंगत हिसाबले अघि बढाउन मद्दत पुग्छ । नत्र बहस वादविवादमा फेरिन बेर लाग्दैन । यद्यपि पाठमा निहित विचारको भौतिक अस्तित्व (आयामेली वस्तुता भन्थे) नहुने होइन, तर ती पनि समयक्रममा बदलिरहन्छन् । तैपनि, पहिलो तहको (फस्ट अर्डर) वर्गीकरणमा, साहित्य मानसिक निर्मित हो ।

दोस्रो, साहित्य विचार र कलाको योग हो । संयुक्ति हो । कुन प्राथमिक, कुन परिधिको ? कुन परिवर्तनशील, कुन अपरिवर्तनीय ? कुन र कस्तो अनुपात र प्रवृत्तिमा विचार र कलाको संयुक्ति ? सौन्दर्यशास्त्रले निरूपण गर्ने विषय हो ? त्यो पर्गेल्ने हैसियत मेरो छैन । तर, यहाँ भन्न खोजेको साहित्य विचार र कलाको संयुक्ति हो भन्ने अवधारणालाई स्विकार्ने हो भने त्यसको अर्थ हुन्छ— साहित्यमा यी दुई पक्ष सर्वाधिक महत्त्वको हुन्छ । कुन विषयवस्तु, सन्दर्भ र सोच छनोट गर्ने ? विचारको पक्ष । कस्तो शैली, वाक्यसंरचना र शिल्पी बुनेर विचार अभिव्यक्त गर्ने ? कलाको पक्ष ।

पारिवारिक पृष्ठभूमि, स्कुल, स्कुलिङ, जीवन भोगाइ र अनुभवबाट प्राप्त सिकाइको आधारमा लेखकको विचार बन्दै जान्छ । लामो समय लिँदै विचार निर्माण हुने शृंखला निरन्तर चलिरहन्छ । त्यसैले लेखकका विचार र सोचहरू असमान हुनु स्वाभाविक हो । विपरीत हुनु पनि । साहित्यको एउटा अयवय विचार हो भनेर स्विकार्दा विचारको सीमा हुन्छ भन्ने पनि सँगै स्विकारिन्छ । ‘विचारको सीमा हुन्छ’, यो धारणा होइन, तथ्य (फ्याक्ट) हो । हामीलाई हेक्का होस्, नहोस्, त्यो बेग्लै पक्ष ।

विस्तार

के लेखकले सीमा तोक्दै लेख्छ ? लेखकले सीमा तोक्छु भनेर लेख्दैन । लेखकलाई मन वा मस्तिष्क उद्वेलित गर्ने विषयवस्तु वा विम्ब प्रस्फुटित भएपछि लेख्छ । सीमा तोक्छु भनेर नलेख्दा पनि उसले लेखसँगै लेखका सबलता, दुर्बलता, सामर्थ्य र सीमा पनि सँगै लेखिरहेको हुन्छ । लेखकको क्षमताको दायरा हुने, तर लेखनको दायरा नहुने, त्यस्तो सम्भव छैन । समर्थ समालोचकले पाठको सीमा देख्छ, इतिहासको सापेक्षमा । विज्ञानसम्मत छ छैन ? त्यसको सापेक्षमा !

वा समालोचनाका विधिपद्धतिको सापेक्षमा । लेखक स्वयम्ले आफ्नो सीमा नदेख्नु स्वाभाविक हो । उसले गर्ने सृजनात्मक लेखन (क्रियटिभ राइटिड) हो । वस्तुनिष्ठ समीक्षा चेतना नहुँदा सीमा देखिँदैन । लेखकको हकमा त्यो सुविधा छ । तर, समालोचकको हकमा उसले गर्ने समीक्षात्मक लेखन (क्रिटिकल राइटिङ) हो । त्यसले सीमा देख्छ, देख्नुपर्छ । सीमा मात्र किन, त्यसको शक्ति र सामर्थ्य पनि सँगै देख्नुपर्छ । क्रिटिकल राइटिङ त्यसैले दुष्कर कर्म हो । सीमा जुन रूपमा छ, त्यही रूपमा (एज इट इज्) देख्न सक्नु कठिनतम कार्य हो ।

नेपाली साहित्यले वस्तुनिष्ठ समालोचकको बलियो टेवा पाउन सकेन । समालोचनाको आधारभूत सिद्धान्त छ : गुण र दोषको आधारमा कृतिको निरूपण गर्ने । हाम्रामा उल्टो भयो । कोही समालोचक गुण मात्र देख्ने । मानौं समालोचना भनेको माया जताउने क्षेत्र हो । कोही दोषैदोष देख्ने । यस्तो एकांगी पद्धति साहित्यमा संस्थागत भएपछि साहित्य कसरी बलियो हुन्छ ? समीक्षकको यस्तो मन्द विष पिएर हुर्केपछि, लेखकको यात्रा पनि धेरै अगाडि बढ्दैन ।

अन्तरवार्तामा लेखक पाण्डेलाई सोधिएको छ, कस्तो देख्नुहुन्छ, अहिलेको नेपाली आख्यान ? उहाँको जवाफ छ— मैले आफ्नो ठाउँमा उभिएर हेर्दा स्थिति राम्रो देख्छु । तर, कुरा मेरो हेराइको हैन । हामीले लेखिरहेको साहित्यको समुचित समालोचना खासै भइरहेजस्तो लाग्दैन । जिम्मेवार समालोचनाले मात्रै हाम्रो लेखनको हैसियत बताउन सक्छ ।

उक्त जवाफमा म पूर्ण सहमत छु । लेखकलाई आफ्ना सृजना वा जनराको स्थिति राम्रो र सन्तोषजनक नै लाग्छ । तर, गम्भीर समालोचकहरू के भन्छन् ? त्यो पो महत्त्वको हो । नयनराज पाण्डेजस्ता पाका लेखकलाई समुचित समालोचनामा खट्किएको कुराले धेर थोक संकेत गर्छ ।

आफ्नै उदाहरण

विगतमा केही विचारहरूलाई निकै अन्धानुकरण गरिएछ । ठूलो विचारभन्दा पनि एउटा सन्दर्भको उदाहरण । २०४५–४७ सालतिर म आयामेली आन्दोलनका एक प्रवर्तक कवि ईश्वरवल्लभ दाइकहाँ पुगिरहन्थें । भेटमा धेरै प्रश्न सोध्थें । त्यसताका कम्प्युटर उदाउँदो मेसिन थियो । त्यसको प्रयोग आम भइसकेको थिएन । नाम मात्र सुनेको, तर प्रयोग गर्न नपाएकाले मभित्र त्यस मेसिनको एउटा कस्तो–कस्तो कल्पना मात्रै थियो । एक भेटमा दाइसँग मेसिन र मान्छेबीचको सम्बन्धबारे कुराकानी हुँदा दाइले चिन्ता प्रकट गर्नुभयो, ‘कम्प्युटरले कविता लेख्न थाल्यो भने कविको अवस्था कस्तो होला ?’ ‘कम्प्युटरले कविता लेख्ला, तर त्यसले मान्छेले जस्तो कविता लेख्न सक्दैन’, उहाँले थप्नुभयो । मान्छेको अस्मितामै ठूलै जोखिम आउने त्रासले म पनि दाइसँगै चिन्तित बनेँ । त्यही विषयमा ‘मस्तिष्कहरूको मृत्युमा’ निबन्ध पनि लेखेँ— कम्प्युटरले कविता लेखेको भन्दा कविले कम्प्युटरमा कविता लेखेको कति युगसुहाउँदो छ । कविहरूले मै हुँ राष्ट्रियता र संस्कृतिको जगेर्ना गर्ने भन्दै कागजमै कविता मात्र लेख्न थाले भने कुनै दिन प्रतिस्पर्धावश कम्प्युटर आफैंले लेख्छ अनि कविता पहिलो पटक प्रविधिसँग पराजित हुनेछ र त्यसको भागीदार कविहरू हुनेछन् । (पृष्ठ ३०, मस्तिष्कहरूको मृत्यु) ।

अहिले यी पंक्ति पढ्दा हाँसो उठ्छ । कस्तो अन्योलग्रस्त बनेछु । कम्प्युटरले आफ्नै बलमा कविता लेख्छ भनेर मैले कसरी सोचें ? वा कम्प्युटरजस्तो प्राविधिक विषयमा आधारभूत जानकारी नभएको मैले वल्लभ दाइको (प्राविधिक विषयमा उहाँको पनि आधारभूत ज्ञान थिएन) कुरालाई किन पत्याएछु ? उहाँका लेखबाट प्रभावित भएकाले जुनसुकै क्षेत्रमा उहाँका विचारलाई आँखै चिम्लेर पत्याएछु । र, पत्याएछु मात्र होइन, निबन्धकै रूप दिएछु । त्यस विचारको भत्किएको सीमाको साक्षी म स्वयम् हुँ । भत्कँदाका ध्वनिहरू भने यी पंक्तिसम्मै आइपुगेको छ । पक्कै त्यही कारण ईश्वरवल्लभ दाइप्रति मेरो आदरभावमा कमी आएको छैन । जीवनको एउटा मोडमा उहाँबाट प्राप्त स्नेह मेरो स्मृतिमा सदैव भेट्छु । तर, सिकाइ के भन्दा– कोही अग्रज हुँदैमा, लोकप्रिय हुँदैमा, केही पुस्तक उसका निस्कँदैमा, ऊ सधैं सही हुँदैन । अहिलेको विन्दुमा मलाई लागेको, हामीले विश्वास गर्ने समयमा हो । पात्रमा होइन ।

विचारहरू परिवर्तन भइराख्छन्, त्यसैले विचार सापेक्षिक हुन्छ भनिएको हो । अन्य कारण होइन । परिवर्तन नहुँदा विचारको मृत्यु हुन्छ । कारण त्यसले समसामयिकता गुमाउँछ । विचारले स्वयम्लाई पुनर्जन्म दिने नै परिष्कारबाट हो । जसरी नबग्दा खोला मृत बन्छ । त्यसकै समानान्तरमा विचार पनि गतिशील भएर मात्रै बाँच्छ । गतिशीलता त्यसको रोकिए कसैगरी त्यसलाई बचाउन सकिन्न । त्यसैले विज्ञानसम्मत चेतना अनिवार्य छ । कार्यकारण सम्बन्ध त्यसैले साहित्यको संकथनमा अन्तरनिहित हुनुपर्छ ।

अन्य अनुकरणीय अभ्यास

साहित्य, कला, संगीत, सिनेमा समीपवर्ती विधा हुन् । एउटा विधाले अर्कोबाट सिकेर आफ्नो विधालाई समृद्ध बनाउन सक्छ । यसै सन्दर्भमा सिनेमा क्षेत्रमा प्रचलनमा रहेको क्रिटिक च्वाइस अवार्डबाट साहित्यले केही सिक्न सक्छ । बढीभन्दा बढी दर्शकले हेरेको खण्डमा मात्रै त्यो सिनेमा राम्रो मान्ने प्रचलनलाई क्रिटिक च्वाइस अवार्डले चुनौती दिन्छ । बक्स अफिसको नापोले भन्दा फरक मापनले हेर्नुपर्ने यसका पक्षधरको आग्रह छ । हाम्रोमा साहित्य, तर यस्ता पद्धतिप्रति सधैं उदासीन रह्यो । पचासौं साहित्यिक संस्था छन् । तिनले दर्जनौं सम्मान–पुरस्कार बर्सेनि वितरण गर्दै आएका छन्, तर कस्तो मूल्यांकन पद्धति प्रयोग गर्छन् ? रहस्यमयी छ । साहित्यले क्रिटिक च्वाइस अवार्डजस्तो मूल्याङ्कन पद्धतिको सिको गरेको भए साहित्यमा व्याप्त एकरसता विगतमै भत्किने थियो । उही बासी अनुहारको साम्राज्य अघि नै विस्थापित भइसक्थ्यो । कतिपय पुस्तकहरू छापाका हेडलाइनबाट ओर्लिसकेका हुन्थे ।

प्राज्ञिक क्षेत्रको उदाहरण त अझै र्‍याडिकल छ । फरक क्षेत्रका प्रयोग र प्रचलन छन् । सिक्नलाई जहाँबाट पनि सकिन्छ । राम्रा दर्जाका अन्तर्राष्ट्रिय जर्नलमा अन्वेषण, अनुसन्धानसम्बन्धी लेख पठाएपछि सम्पादकले लेखकको पाण्डुलिपिलाई (म्यानुस्क्रिप्ट) रिभ्युअरकहाँ पठाउँछ । रिभ्युअरलाई लेखकबारे जानकारी दिइँदैन । लेखकलाई त रिभ्युअरबारे थाहा हुने सवालै भएन । दुवै पक्षलाई अनभिज्ञ बनाई गरिने यस समीक्षा पद्धतिलाई डबल ब्लाइन्ड भनिन्छ । मनोगत् मूल्याङ्कनलाई रत्तीभर ठाउँ नदिन यस्तो प्रबन्ध गरिएको हो । हाम्रा पुरस्कार गुठीले निर्णायकमण्डललाई लेखकबारे कुनै जानकारी नदिई पाठ मात्र वा अडियो दिएर मूल्यांकन गराउने हो भने निष्पक्षता आउने थियो । पाठको गुणवत्तामा सम्बन्धको बुई–चढी हट्ने थियो । समीक्षा कृतिगत हुनुपर्छ भनेको यही होइन र ? कहिले हामी यस्तो साहस जुटाउन सकौंला ?

रोडम्याप

समकालीन साहित्यमा कस्तो रोडम्याप आवश्यक हो ? अहिले कुनै रोडम्याप पनि छ वा छैन ? वा कुनै अनौपचारिक किन नहोस्, फ्रेमवर्क वा पद्धतिले काम गरिरहेको छ ? प्रश्न उभिन्छ । यी प्रश्नको जवाफ खोज्नुअगावै हामीले अहिलेसम्म प्रयोग गरेका रोडम्याप, फ्रेमवर्क, प्रवृत्ति वा पद्धति जे भनौं, त्यसले हामीलाई समग्रमा कहाँ पुर्‍यायो ? भन्ने प्रश्न बढी महत्त्वको छ । यसको विवेचना नगरी अगाडिको यात्रा कसरी थाल्ने ? भन्न कठिन छ । केही पक्षमा ध्यान दिँदा, त्यसले साहित्यलाई पक्कै टेवा दिनेछ ।

प्रथम, गुरुकुल स्कुलिङको धङधङी त्याग्ने । कुनै एक व्यक्तिलाई गुरु थापेर, त्यो परम्पराप्रति आज्ञाकारी बन्ने, अन्य ज्ञानपरम्परा (संकायहरू) प्रति अनदेखा गर्ने प्रवृत्तिलाई सच्याउने । नेपाल गज्जबको देश हो । यहाँ हिउँको मात्र होइन, विडम्बनाको पनि सगरमाथा छ । गुरुपूर्णिमामा सामाजिक सञ्जाल गुरुभक्तिले छपक्कै भरिन्छ । गुरुभक्तिमा हाम्रो शिर त्यसैत्यसै निहुरिन्छ । मेरो जीवनमा असलभन्दा खराब गुरु अधिक छन् । पढाउन मन नगर्ने, जवाफ गलत हुँदा झ्यापु लगाइहाल्ने, साहित्य पढेको थाहा पाउँदा विद्यार्थी बिग्रेको मान्ने, क्याम्पसकालमा परियोजनाको पछाडि दगुर्ने र जाँचअघि ह्यान्डआउट दिएर झारा टार्ने अनेकौं गुरु छन् । यस्ता खराब गुरु पनि गुरुपूर्णिमाको लहरमा हाम्रो उदारमनाको फाइदा लिँदै मिस्सिएकै छन् । खराब र असल छुट्याउन सक्नु पो उपलब्धि ! विद्याकी देवी सरस्वतीको भव्य पूजा यहीँ लाग्छ । तर विद्या, विज्ञान र प्रविधिमा हामी नै पछाडि ? केही पक्कै नमिलेको छ । भक्तिभाव र विज्ञान्विपरीत दिशाका यात्री हुन् । जति चाँडो यसमा हामी प्रस्ट हुन सक्यौं, त्यति नयाँ यात्रालाई बल पुग्छ ।

दोस्रो, स्वतन्त्र चिन्तनलाई सर्वोपरि मान्ने । भीडको सुरक्षा दीर्घकालीन हुँदैन भनेर बुझ्न अबेर नगर्ने । अप्रिय लागे पनि सत्य हो— बहस, परिमार्जन र उन्नत विचारको सोपान चढेर नै विचारको परिष्कार सम्भव हुन्छ । इतिहासको नजिर त्यस्तै छ । विज्ञानप्रविधिमा जस्तै सृजना क्षेत्रमा (सृजनामा झन् बढी कारण, यहाँ सृजनशीलता र नवीनताको अधिक अपेक्षा गरिन्छ) सृजनात्मक ध्वंसको (क्रियटिभ डिस्ट्रक्सन) नियम लागू हुन्छ । विचार र शैलीको नवीन गोरेटो जसले कोर्न सक्यो, हिँड्न सक्यो वा अग्रजको बाटोको सीमामा नबाँधिएर त्यसलाई फराकिलो बनाउन सक्यो, ट्रेन्ड उसैले बनाउने हो । प्रयोगधर्मिताको स्वीकार्यताले नै परम्परा बन्ने हो । तर, सफलताको जोखिम पनि छ । सफल भएपछि, लेखक उही विषयवस्तु वा शैलीलाई दोहोर्‍याउन खोज्छ । कन्फर्ट जोनबाट ऊ निस्कन सक्दैन वा चाहँदैन । कतिपय नाम चलेका लेखकमा पुनरावृत्तिदोष देख्न धामा गर्नु पर्दैन ।

स्वाभाविक मान्नुपर्छ, सचेत लेखकहरू आफ्नै सीमा र पूर्ववर्त्ती लेखकहरूले निर्माण गरेका सीमा नाघ्न चाहन्छन् । फरक पहिचानको खोजीमा लाग्छन् । अग्रजबाट धेरै प्रभावित नभई पृथक् बाटाको यात्री हुन चाहन्छन् । नवीन बाटो खन्न दुष्कर छ । कष्टसाध्य छ । तर, दुष्कर भएकैले सीमा भत्काउनु राम्रो होइन भन्ने निष्कर्ष सही ठहरिँदैन । हामीले अग्रज लेखकको घरको पर्खालमा घन बजार्ने भनेर कहाँ बुझेका छौं र ? बरु स्कुलमा कालोपाटीमा कोरिएको धर्कालाई नमेटीकन सानो कसरी बनाउने भन्ने प्रश्नमा छेवैमा त्यसभन्दा लामो धर्का कोर्ने अर्थमा सीमा भत्काउने संकथनलाई बुझौं ।

नयन दाइ ! अग्रजले कोरेको सीमा भत्काउनुस् भन्ने तपाईंको सुझावप्रति मेरो सहमति छ । आफ्ना सीमाहरू अनुज लेखकले सृजनात्मक ढंगले भत्काउँदा हर्षित बन्ने लेखकहरू नै वास्तवमा सम्मानका हकदार छन् । अघि जन्मेकैले, पुरस्कार पाएकैले, पुस्तक प्रकाशन गरेकैले र पाठ्यक्रममा रचना समाविष्ट भएकैले लेखकले सम्मान पाउनुपर्छ भन्नुको के अर्थ छ ? सम्मान् त आर्जन गर्ने कुरा हो । सम्मान कसैको अधिकार होइन । अपमान पो गर्नु भएन । म झन् एक कदम अघि गएर सोच्छु— कसैलाई म सम्मान गर्दिनँ, निरपेक्ष बस्छु भन्न पनि मिल्छ । त्यसले व्यक्तिको खराबपनबारे केही बताउँदैन । कसैलाई मन पराउने/नपराउने सन्दर्भमा, आफ्नो निर्णयलाई थाती राख्न मान्छे उत्तिकै स्वतन्त्र छ ।

प्रकाशित : भाद्र १२, २०७८ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्

बेयुल : एक कथास्था

रसुवाका तामाङ हिमाललाई ईश्वर मान्छन् । लाङटाङ लिरूङ उनीहरुका निम्ति लिरूङ गेङेन अर्थात् प्रेमालु ईश्वर हुन् । उनीहरु मान्छेका ग्रहदशा हिमालको अग्लो ठाउँबाट बहने हावा र खोच हुँदै बग्ने नदीले बगाएर लैजान्छ भन्ने विश्वास गर्छन् ।
पदयात्री सुन्दरताको खोजीमा मात्र हुँदैनन् । जसरी संस्कृति सभ्य/असभ्य हुँदैन, त्यसरी प्रकृति पनि सुन्दर/कुरूप हुँदैन, मात्र भिन्न हुन्छ, विविध हुन्छ ।
रोशन शेरचन

ख्वप : खुला विश्वविद्यालय२०७७ कात्तिक ६ । भक्तपुर (ख्वप) नगरपालिकाका मेयर सुनिल प्रजापतीसँग भेटेँ । उद्देश्य थियो– नगरपालिकाको जैविक विविधतासम्बन्धी कार्यक्रमबारे जानकारी लिनु । प्रतीक्षा–कक्षको ठूला बोर्डमा टाँसिएका फोटाहरूमा भक्तपुरको जात्रापर्वको तस्बिर, दरबार स्क्वायरको सांस्कृतिक भव्यता अनुभव गरेँ । चाड मनाइरहेको रैथाने नेवारी समुदायको अनुहारको भावमा बेग्लै आभा देख्न सकिन्थ्यो । त्यो भक्तपुरको मौलिक अनुहार थियो । सत्य भन्छु, प्रतीक्षा कक्षमै म प्रभावित भएँ ।

मेयर आएपछि भित्र पसेँ । सामान्य परिचय दिई आफ्ना प्रश्न राखेँ । मेयरका अनुसार, ख्वपःलाई सांस्कृतिक सहरका रूपमा विकास गर्न कार्यक्रम र बजेट बढी छुट्ट्याइएको रहेछ । वन–क्षेत्र यस पालिकामा न्यून रहेछ । प्राथमिकता प्राप्त कार्यक्रममा सांस्कृतिक सम्पदा संरक्षण, मौलिक शैलीको निर्माण र जीर्णोद्धार, सीप तालिम, फोहोर मैला व्यवस्थापन आदि छन् ।

ख्वपःको पुरानो क्षेत्र, जो सम्पदा–बस्तीका रूपमा चिनिन्छ, त्यसको चार किल्ला तोकेर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार, सांस्कृतिक क्षेत्र घोषणा गरिएको रहेछ । काठका कलात्मक झ्याल, टुँडालहरू राख्न नगरपालिकाले ३५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको बुझियो । सम्पदा क्षेत्रमा कसैले वातावरणसँग नमिल्दो कंक्रिट संरचना बनाउन पाउँदैन । ‘अगाडिको मोहडापाटाका घरहरूले जीर्णोद्वारमा मौलिक सामग्री र शैली प्रयोग गर्न अधिकतम् पाँच लाखसम्म अनुदान लिएका छन्,’ मेयर बताउँछन् ।

काठमाडौंको रानीपोखरीमा पानी अड्याउन परम्परागत ज्ञान र सीप भएका कर्मीहरू ख्वपःबाट नै गएको थाहा भयो । सांस्कृतिक पुरातात्त्विक सम्पदालाई नकारात्मक असर पार्ने विकासलाई निषेध गर्ने इच्छाशक्ति ख्वपःमा देखियो । ठाउँअनुसारको मौलिक वास्तुकला, स्थापत्य, जीवनशैली, स्थानीय चाडपर्व र रैथाने परिकारको स्वाद नभए सांस्कृतिक पर्यटनको महत्त्व नै के भयो र ?

मल्लकालीन पोखरीहरूको पुनर्निर्माण र व्यवस्थापन अर्को प्राथमिकता रहेछ । तर, यही उपत्यकामा काठमाडौं महानगरपालिका भने कमलपोखरीमा कंक्रिटको कमल फुलाउन उद्यत छ । कस्सो, सम्पदा अभियन्ताहरूले त्यसलाई रोके । चारै कुना स–साना पोखरी र बीचमा कंक्रिटको कमल राख्ने, यो भद्दा योजना थियो । त्यसमा त सजीव कमलका फूल पो फुलाउने हो । सम्पदा संरक्षणमा एउटा सिद्धान्त छ– कमभन्दा कम संरचना बनाउने (मिनिमम इन्टरभेन्सन प्रिन्सिपल) । विगतमा त्यहाँ कमल फूल फुलेकाले नै त्यसको नाम कमलपोखरी भएको बुझ्न निधारको मुजा गाँठो पारिरहनु पर्दैन । नामको नेपथ्यमा सदैव इतिहास हुन्छ । काठमाडौंको नेतृत्वले खुलामञ्चमा सटर बनाएर, रानीपोखरीको अघिल्लो डिजाइनमा र कमलपोखरीको जीर्णोद्धारमा पटक–पटक बदनियत देखाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयरलाई शैक्षिक भ्रमणका लागि भक्तपुर लैजानु उचित हुन्छ । शैक्षिक भ्रमण स्कुल र क्याम्पसमा मात्रै सीमित गर्नुहुन्न । सम्पदा संरक्षणका निम्ति ख्वपः खुला विश्वविद्यालय रहेछ ।

प्रकृति पूजा, खुवालुङ–कथा

इन्द्रधनु सादृश्य मान्छेका आस्थाका अनेकन् आयाम छन् । पुज्नु मान्छेको ऐतिहासिक उद्भवसम्म जोडिएको विषय होला । कोसौं पर कन्दमूल र सिकार खोज्न भौंतारिनुपर्ने कालमा (हन्टर ग्यादरर) मान्छेका दुई प्रमुख शत्रु थिए । हिंस्रक वन्यजन्तु र प्राकृतिक विपत्ति । हिंस्रक वन्यजन्तु रहस्यकै वृत्तमा थिए । मानवजातिले प्रकृतिको गति र नियमको भेउ पाउन सकेका थिएनन् । प्राकृतिक नियमबारे समझ नहुँदा विपत्तिमा स्वयंलाई सुरक्षित राख्ने हेतुले मानव पुर्खाले प्रकृतिलाई अनुष्ठानमार्फत मनाउनतिर लागे । प्रकृति अर्थात् खोलानाला, कुण्ड, गुफा, ओढार, डाडाँकाँडा, देउराली, वनजंगल, ढुंगा, भीरपहरा, रूखपात आदि । प्रकृतिको पूजा गरेर प्रकृति–पूजकले त्यसबाट बल र शक्ति प्राप्त गर्छन् । बोनपो (प्रिबुद्घिस्ट) पुरापुर प्रकृति पूजक हुन् ।

२०७६ मंसिरमा कुलपूजाका निम्ति म मुस्ताङ पुगेँ । झन्डै बाइस वर्षपछि कुलपूजा भएको थियो । बोन आधारित झाँक्री परम्परालाई (सामानिज्म्) नजिकैबाट नियालेँ । मेरो बाजेबराजु झाँक्री थिए । उनीहरूले वाचन गर्ने मन्त्र सुनेँ । दशकौं नखोलिएको सन्दुकबाट पूजासामग्री निकाली तीन बजे बिहान स्युउ–स्युउ गर्दै पाँच भाइले कालीगण्डकीको चिसो पानीले पखाल्यौं । कपडाले पुछेर पूजासामग्रीलाई तोरीको तेलले टल्कायौं । पूजासामग्री प्रकृतिजन्य थियो– शालिग्राम, धुपी र सल्लाको हाँगा–पात, जनावरको हाडखोर, काठका टुक्रा आदि । शालिग्राम केवल कालो–चिल्लो ढुंगा थिएन । धुपी केवल रूखको हाँगा थिएन । हाडखोर केवल जीवाश्म थिएन । कालीगण्डकी फगत नदी थिएन । त्यो अनुष्ठान परिवारका निम्ति आफ्ना पूर्वजसम्म जोडिने सेतु थियो ।

यही फागुन ८ गते विराटनगरबाट प्रधानमन्त्री केपी ओलीले खुवालुङ ढुंगा फुटाएर भए पनि पानी जहाज चलाउने विचार व्यक्त गरे र पालिकाले खुवालुङ फुटाउने बजेट छुट्ट्याएको खबर दियो । ओलीको विचार र पालिकको खबरले किराती समुदायमा स्वाभाविक आक्रोश उब्जाएको छ । भाषाविद् डा. तारामणि राईका अनुसार, भोट–बर्मेली वा टिबेटो वर्मन भाषाअन्तर्गत पर्ने किरात–राईहरूको दर्जनौं भाषा भए पनि ती सबैमा ‘खु’ र ‘वा’ ले पानी भन्ने अर्थ राख्छ भने ‘लुङ’ भन्नाले ढुंगा बुझिन्छ । तमोर, अरुण र दूधकोसीको संगमस्थलमा रहेको खुवालुङ, जुन किरातीहरूको आस्थाको केन्द्र रहेछ, त्यसलाई फुटाएर पानी जहाज चलाउने सपना खेदजनक छ । यस्तो ‘निरो सपना’ ले सम्पदा संरक्षणको मर्मलाई न्याय गर्दैन । खासमा गर्नुपर्ने थियो– किराती सभ्यता र मन्धुम मिथकसँग जोडिएको यो प्राकृतिक थलोलाई प्रवर्द्धन गर्दै सांस्कृतिक पर्यटनको विकास । युगौंसम्म समुदायको आद्यबिम्ब बन्न सकेकाले, सामूहिक सांस्कृतिक मानसलाई निर्देश गरेकैले त्यो लोकको कथा–आस्था (कथास्था) बनेको हो ।

नेपालमा अनगिन्ती मिथक छन् । रसुवाका तामाङहरू हिमाललाई ईश्वर मान्छन् । लाङटाङ लिरुङ उनीहरूका निम्ति लिरुङ गेङेन (प्रेमालु ईश्वर) हुन् । मान्छेका ग्रहदशा हिमालको अग्लो ठाउँबाट बहने हावा र खोच हुँदै बग्ने नदीले बगाएर लैजान्छ भन्ने विश्वास गर्छन् (पर्यटन विकासमा धर्मसंस्कृति, पूर्वा तामाङ) । त्यस्तै मगर समुदायमा बराह ताल महत्त्वपूर्ण छ । बराहमा कुण्ड, माछा र वरपर वन हुन्छ । म्याग्दीका मगरहरू पूजाका निम्ति पाउदारमाथिको खयरबराह जान्छन् । साथै उनीहरूका निम्ति रिदी खोलाको भिन्नै सांस्कृतिक र धार्मिक महत्त्व छ (संरक्षणविद् कमल थापासँग अन्तर्वार्ता) ।

खुवालुङ पूर्वी नेपालको एउटा प्रतिनिधि मिथक हो । प्रतिरोधी अभियानमा सहभागी आदिवासी जनजाति लेखक महासंघका संयोजक लेखक राजन मुकारुङ, कवि चन्द्रवीर तुम्बापोलगायतका लेखक, अभियन्ता र विभिन्न संस्थाका प्रतिनिधिले खुवालुङ बचाऊ अभियानलाई अघि बढाएका छन् । यस अभियान खुवालुङमा प्रकट हुन पुग्यो, कारण किरातीहरू प्रतिरोधी चेतनाले बढी सुसज्जित छन् तर सारमा यो प्रकृति पूजक समुदायकै अभियान हो । उनीहरूको संयुक्त उद्घोष हो– सांस्कृतिक अपनत्वको । र, सम्पदाविरोधी विकास सोचविरुद्धको । यस अभियानमा सम्पूर्ण प्रकृति पूजक समुदायको सहभागिता र ऐक्यबद्धता आवश्यक छ ।

पवित्र प्राकृतिक थलो, बेयुल कथा

पवित्र प्राकृतिक थलो (नेचरल साक्रेड साइट) बारे पछिल्ला वर्षमा संरक्षणविद्, अध्येता, अभियन्ता र अनुसन्धानकर्ताको चासो असाध्यै बढेको छ । परम्परागत ज्ञानप्रणाली र सीपबारे व्यवस्थित अध्ययन र अनुसन्धानले तीव्रता पाएको छ । आईयूसीएन, डब्लूडब्लूएफजस्ता संस्थाले पवित्र प्राकृतिक थलो र रैथाने समुदायले जैविक विविधता संरक्षणमा पुर्‍याएको योगदानको अन्तरसम्बन्धमा विशद् अध्ययन थालेका छन् । आईयूसीएनको संरक्षित क्षेत्रको सांस्कृतिक तथा आध्यात्मिक विषयमा अध्ययन गर्न बनेको कार्यदलले पवित्र प्राकृतिक थलोलाई परिभाषित गर्ने क्रममा भनेको छ, ‘जमिन वा पानी भएका त्यस्ता क्षेत्रसँग मानिस वा समुदायको विशिष्ट आध्यात्मिक सम्बन्ध छ ।’ संरक्षित क्षेत्रको जैविक विविधताका साथै सांस्कृतिक आध्यात्मिक महत्त्व छ भन्ने विषय अब नयाँ रहेन । बरु प्राकृतिक र सांस्कृतिक कुन हदसम्म र कस्ता कारणको अधीनमा रही अन्योन्याश्रित छन्, त्यो चासोको विषय बनेको छ । थोरै समाज निरीक्षण गर्ने हो र सहज ज्ञान नबिर्सने हो भने त्यो सम्बन्ध प्रस्ट देख्न मुस्किल छैन ।

पहिलो उदाहरण नेपालमा सामुदायिक वन, साझेदारी वन, राष्ट्रिय वन, धार्मिक वन, कबुलियती वन र मध्यवर्त्ती वनका मोडल कायान्वर्यनमा छन् । धार्मिक वनजति पूर्णतः संरक्षित वन सायदै अरू होला । स्थानीय वा आदिवासी समुदायसँग यसको सांस्कृतिक–आध्यात्मिक सम्बन्ध भएकाले यसको संरक्षण भएको हो । अन्य मोडलमा वन विनाशका घटना नौला छैनन् । झन्डै १५० वर्षअघि स्थापना भएको विश्वको पहिलो राष्ट्रिय निकुञ्ज अमेरिकाको एलो स्टोनभन्दा अघि कुनै क्षेत्र संरक्षित थियो भने त्यो पवित्र प्राकृतिक थलो नै थियो, जसलाई विश्वभरिकै तत्तत् स्थानका स्थानीय, रैथाने, कविला, रेडइन्डिएन वा आदिवासी जनजातिले संरक्षण गरेका थिए ।

डब्लूडब्लूएफमा काम गर्दा सन् २०१० मा भुटानमा प्रकृति र संस्कृति विषयको गोष्ठीमा सहभागी हुने मौका मिलेको थियो । गोष्ठीमा नेपाल, भारत, भुटान, स्विट्जरल्यान्डका सहभागी थिए । बौद्ध गुरु, रिम्पोचे र टुल्कुका साथै स्वतन्त्र अध्येता पनि थिए । मेरो निम्ति त्यो दुई दिन प्रकृति र संस्कृतिको सूक्ष्म सम्बन्ध बुझ्ने थलो बन्यो । धर्महरूले प्रकृतिलाई कसरी बुझ्छन् ? प्रकृति धार्मिक अनुष्ठान, मन्त्र र ईश्वरका वाहनहरूमा कसरी प्रकट (मेनिफेस्ट) हुन्छ ? आदि विषयमा विशद् छलफल भयो । तिब्बेतन बुद्धिज्मको आधारभूत ज्ञान नभएको मलाई धेरै विषय बुझ्न कठिन भयो । तर, के भेउ पाए भने त्यो विशाल संसार रहेछ ।

गोष्ठीमा बेयुलबारे पनि थाहा पाएँ । तिब्बेतियन बौद्धमार्गीबीच बेयुल वा पेमाकोको अवधारणा सदियौंदेखि प्रचलनमा छ । आठौं शताब्दीमा गुरु पद्मसम्भव (गुरु रिम्पोचे) पुगेका हिमालका दुर्गम ल्यान्डस्केपमा आदिवासी समुदायबीच के विश्वास रहेछ भने त्यस्ता भूमि पवित्र र जैविक विविधताले धनी हुन्छन् । त्यहाँ अनिकाल, रोगव्याधि लाग्दैन, अनिष्ट हुँदैन । खुम्बु क्षेत्र त्यस्तै बेयुल रहेछ । त्यसैले त्यहाँ अहिंसाको पालना गरिन्छ । सन् २००९ मा नाम्चे जाँदा प्रख्यात पर्यटकीय गन्तव्य भएर त्यहाँ मारकाट नगर्ने बरु लुक्लाबाटै डोकोमा मासु ओसोरेको देखेँ । रोल्वालिङ, नुब्री अन्य बेयुल रहेछ । बौद्ध, हिन्दु, बोन्पो र जैन धर्मावलम्बीकै सांस्कृतिक धरोहर कैलाश पर्वत त बेयुलकै पनि केन्द्र मानिन्छ ।

पर्यटनको बिर्सिइएको पाटो

अन्नपूर्ण संरक्षण आयोजनाको कर्मचारी हुँदा पर्यटकसँग निकै कुराकानी भइरहन्थ्यो । फिल्ड स्टेसन घोरेपानी थियो । एकपटक उपल्लो मुस्ताङको पदयात्रा गरेको फ्रेन्च पदयात्रीलाई सोधेँ– कस्तो लाग्यो उपल्लो मुस्ताङ ? उसले भन्यो, ‘इट इज डिफरेन्ट ।’ अमेजिङ, ब्युटिफुल त्यस्तो केही भनेन । फ्रेन्च टुरिस्ष्टको जवाफ सुनेपछि अचम्म लाग्यो । पदयात्री सुन्दरताको खोजीमा मात्र हुँदैनन् भन्ने थाहा पाएँ । जसरी संस्कृति सभ्य/असभ्य हुन्न, त्यसरी प्रकृति पनि सुन्दर/कुरूप हुन्न । मात्र भिन्न हुन्छ । विविध हुन्छ ।

खुवालुङ ढुंगा फोर्न यति बजेट छुट्ट्याइएको छ भन्नेले बरु त्यस थलोलाई सांस्कृतिक पर्यटकीय स्थलका रूपमा विकास र प्रवर्द्धन गर्नु बुद्धिमानी हुन्छ । धार्मिक–सांस्कृतिक पाटो पर्यटनमा प्रकृतिजत्तिकै महत्त्वपूर्ण छ । रह्यो पानीजहाजलाई ठाउँ पुगेन भन्ने कुरो । विज्ञान र प्रविधिको युगमा खुवालुङलाई यथास्थानमा रहन दिई पानीजहाजलाई आवतजावत गर्ने मार्गको खोजी गर्न सम्भव छैन भनेर कसरी पत्याउने ?

त्यस संगमस्थलमा पानीजहाजमा भरिभराउ यात्रुलाई तालिमप्राप्त सम्पदा गाइडले खुवालुङनजिकै आइपुग्दा त्यसको इतिहास र सांस्कृतिक महत्त्वबारे माइकबाट जानकारी गराइरहेको दृश्य ! पर्यटकहरू दंग परेर सुनिरहेको ! र, खुवालुङ आफ्नो नाम जसरी नै कालान्तरसम्म पानीको ढुंगो भइबसेको ! आहा, कति सुन्दर हुन्छ कल्पना !

प्रकाशित : चैत्र १४, २०७७ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×