अनुस्मरण

एक थिए सितारा

तिनताक नायक–नायिकालाई वास्तविक ठानेर तिनको रोमान्सको चर्चा हुन्थ्यो, जुन आजसम्मै यथावत् छ । दिलीप कुमारको पनि लगभग सारा नायिकासँग प्रेम–सम्बन्धको चर्चा चल्यो– मधुबाला, नर्गिस, वैजयन्तीमाला आदि । तर, धेरैजसो नायिकासँग उनको बोलचालसमेत थिएन । दिलीप कुमार डेढ महिनाअघि बिते, तर आख्यानकार ध्रुवचन्द्र गौतमले उनको कथा सजीव बनाएका छन्
ध्रुवचन्द्र गौतम

सन् ५० को दशकमा एसियाका सिनेमाप्रेमीहरू तीन भागमा बाँडिएका थिए— दिलीप कुमार, राज कपूर र देवानन्द ! अरू पनि थिए, तर मूलतः यी तीन नायक थिए, जसले सम्पूर्ण उक्त जनसंख्यालाई थामेका थिए । 

मेरा दुई मित्रहरूमा केटाकेटीदेखि नै एउटा देवानन्द–भक्त थियो, अर्को थियो राजकपूर–भक्त । हामी त्यसबखत प्रशंसकलाई ‘भक्त’ भन्थ्यौं ।

त्यस अर्थमा केटाकेटी बेलादेखि नै मलाई दिलीप–भक्त भन्थे उनीहरू । म वास्तवमा त्यस बेलादेखि नै दिलीप कुमारको प्रशंसक थिएँ र सधैं भइरहें ।

त्यसबखतका पत्रिकाहरूमा अंग्रेजी भए, ‘थ्री बिग’ र हिन्दी भए ‘तीन बडे’ भनेर तिनका तस्बिर छापिन्थे । तैपनि मलाई यिनीहरूमा दिलीप कुमार नै श्रेष्ठ अझ सर्वश्रेष्ठ लाग्थे ।

दिलीप कुमारका भाइ नसीर खाँ (जो आफैं पनि कलाकार हुन्) मार्फत देवानन्द र दिलीपको चिनजान भएपछि देवानन्दले लेखेका छन्, ‘दिलीप कुमार, द बिगेस्ट, क्यारिस्म्याटिक एक्टर अफ इन्डियन स्क्रिन ।’

राज कपूरले स्वीकार गर्दै भनेका छन्, ‘तू सी ग्रेट एक्टर हो, लाले !’

दिलीप कुमार कसरी दिलीप बने ? ती त एक खानदानी फल व्यापारी थिए र चौध वर्षको उमेरसम्म उनले कुनै पनि फिल्म हेरेका थिएनन् । उनले १४ वर्षको उमेरमा हेरेको कुनै अंग्रेजी फिल्म थियो । त्यसबखत कसैले अनुमान पनि गर्न सक्दैनथ्यो, एकदिन तिनै दिलीप कुमार ‘मेथड एक्टिङ’ पहिलो पटक विश्वमा परिचित गराउने भारतीय सिनेमाका ‘द दिलीप कुमार’ बन्नेछन् र, अझ एकदिन भारतीय सिनेमाको ‘द लास्ट एम्परर’ भनेरै उनीमाथि ग्रन्थ लेखिन्छ !

प्राचीनकालमा एउटा ‘पुष्पपुर’ भन्ने जनपद थियो रे । त्यसै जनपदलाई कालान्तरमा, अगाडि आउने सहर भनेर पेसावर नाउँ दिए– मुगल बादशाह अकबरले । आज पनि त्यस सहरलाई ‘पेसावर’ भनिन्छ, अंग्रेजकालमा ‘फ्रन्टियर’ नाउँले पनि सम्बोधन गरिन्थ्यो ।

पेसावरको पुस महिनाको एउटा हाड कमाउने जाडो बिहान । कुहिरो वातावरणभरि थियो ।

त्यस्तो काम–छुट्ने जाडोमा, पेसावरको एक घरमा आयशा बेगम नामक एक महिला, लेबर–पेनले छट्पटाइरहेकी थिइन् । ११ डिसेम्बर १९२२ का दिन आयशाले आफ्नो तेस्रो सन्तानलाई जन्म दिइन् । तिनको नाउँ राखियो– युसुफ खान । पिता, जो फलका थोक व्यापारी थिए, उनको नाउँ सरवर खान थियो ।

केटाकेटीदेखि नै उनी प्रकृतिमा रमाउँथे । उनको परिवार पछि देवलाली भन्ने ठाउँमा सर्‍यो, त्यसपछि बम्बई । बम्बईको क्रफोर्ड मार्केटमा उनको फलफूल मण्डी थियो । क्रफोर्ड मार्केटमा पनि धेरैपटक पुगेको छु । त्यो एउटा ठूलो व्यापारिक केन्द्र थियो, धेरै वस्तुको ।

केटाकेटीदेखि नै युसुफ एक एकान्तप्रेमी बालक थिए, तैपनि उनी जीवनमा फुटबल खेलाडी बनेर नाउँ कमाउन चाहन्थे । पछि पनि खेलकुदप्रतिको त्यो रुचि यथावत् रह्यो । उनी ब्याडमिन्टन, क्रिकेट पनि राम्रो खेल्थे ।

स्टार बनेपछि एक पटक फिल्मका सानो दर्जाका कलाकारको सहायता गर्न एउटा क्रिकेट म्याचको आयोजना भएको थियो, जसको सानो टुक्रा मैले पनि पर्दामा हेर्न पाएको थिएँ । पछि पनि त्यो देखाउने गरिन्थ्यो । मैले खेलेकै बेलाको अंश हेरेको थिएँ । एकातिरको कप्तान दिलीप थिए भने अर्कातिरको राज कपूर ।

त्यो क्रिकेट म्याच दिलीप–टिमले नै जितेको थियो । त्यसैगरी दिलीप कुमारलाई चंगा उडाउने सोख थियो । उनका कैयौं बाकस भरीभरी रंगीविरंगी चंगाका चाङ हुन्थे । प्रायः चंगा पनि उनी नै अर्काको काटिदिन्थे, त्यति सिपालु थिए ।

दोस्रो विश्वयुद्धपछि सरवर खानको फलको व्यापारमा घाटा हुन थाल्यो । दिलीप अलि ठूला भएपछि उनी पनि व्यापार हेर्न थाले । राम्रो र ताजा फलका लागि उनी विभिन्न ठाउँ गइरहन्थे, जस्तो नैनीताल आदि । यसरी उनले ठाउँ र व्यक्तिसित किसिम किसिमका परिचय र अनुभव बटुल्न थाले ।

आमा आयशालाई उनी असाध्यै मान्थे । आयशा नरम बोल्थिन् र कैयौं दुःख निलेर बस्ने उनको शान्त स्वभाव थियो, अन्तर्मुखी । मलाई लाग्छ, आमाको स्वभावबाटै दिलीपको पनि अन्तर्मुखी स्वभाव बन्यो ।

बम्बई बस्न थालेपछि एकदिन उनी चर्चगेट स्टेसनतिर घुमिरहेका थिए । उनका परिचित डा. मसानी भेट भए (दिलीपले उनको नाउँ उल्लेख गरेका छैनन्) । तर, त्यस भेटअघि दिलीपको जीवनको एक ठूलो मोडबारे बताउनु जरुरी छ ।

पिता सरवर खानसँग त्यसो त उनी अलि डराउँथे नै । बहस गर्दैनथे । बीस वर्षको उमेरमा एकपटक पिताको कुनै कुरामा पहिलोचोटि उनको बहस भयो । पिताले गाली गरे । छोरालाई चित्त बुझेन र एकदिन घर छाडेर हिँडिदिए, पुना पुगे । त्यहाँ उनले रेस्टुरेन्टमा नोकरी पाए, सैनिक क्यान्टोनमेन्ट थियो ।

उनको अंग्रेजी र उर्दू दुवै भाषामा अद्भुत ‘कमान्ड’ थियो । त्यसले उनलाई नोकरी पाउन सजिलो भयो । त्यहाँ रेस्टुरेन्टमा खान आउने सैनिक अफिसर र तिनका श्रीमतीहरू उनको बोल्ने शैली र भाषाको ज्ञानबाट प्रभावित पनि हुन्थे । एक पटक त कुनै समारोहमा भाषण पनि दिए, अंग्रेज–राज्य भए पनि भाषण देशभक्तिपूर्ण दिएका थिए ।

निकै समय बितेपछि आमा कत्ति दुःखी होलिन् भन्ने सम्झेर उनी घर फर्के । आमा, दाजुभाइ, दिदीबहिनी सब खुसी भए । पिताले गाली गरेनन्, दिलीपलाई यही पर्याप्त थियो ।

सरवर खानको परिवार बम्बई आयो । खान त्यहींबाट फलको व्यापार गर्थे । तर, उनको व्यापारले गति नलिँदा परिवारको आर्थिक अवस्था कमजोर भइरहेको थियो ।

यस्तैमा एकदिन उनी चर्चगेट स्टेसन घुमिरहेका थिए । त्यही, अघि भनिएका डा. मसानी भेट भएका थिए । उनले दिलीपलाई भने, ‘युसुफ, म देविका रानीलाई भेट्न मलाड जाँदैछु । तिमी पनि हिँड, तिम्रा लागि केही काम भए कुरा गरिदिन्छु ।’

ती आशान्वित भएर मसानीसँगै गए ।

त्यसबखत ‘बम्बे टाकिज’ भन्ने फिल्म निर्माण कम्पनीको स्टुडियो मलाडमा थियो । हिमांशु राय र देविका रानी मिलेर स्टुडियो चलाउँथे । इस्मत चुगताई, नरेन्द्र शर्मा, किसन चन्दर, भगवतीचरण वर्माजस्ता ठूला लेखकसमेत ‘बम्बे टाकिज’ सँग जोडिएका थिए ।

डा. मसानी हिमांशु रायका चिकित्सक थिए । तर, त्यसबखतसम्म हिमांशु रायको मृत्यु भइसकेको थियो । र, अब ‘बम्बे टाकिज’ की एकछत्र मालिक्नी देविका रानी नै थिइन् । देविका रानी स्वयं एक प्रख्यात नायिका र कहलिएकी सुन्दरी थिइन् । उनको व्यक्तित्व पनि भव्य थियो ।

‘बम्बे टाकिज’ को देविका रानीको भव्य अफिसमा दिलीप कुमार बसेका थिए । डा. मसानीले भने, ‘यिनी कुनै कामको खोजीमा हिँडेका नवयुवक हुन्, यिनको नाउँ युसुफ हो ।’

देविका रानीले पारखी आँखासहित युवकलाई हेरिन् । उनीहरू बीचको प्रश्नोत्तर संक्षिप्त थियो ः

‘कहिल्यै फिल्ममा काम गरेका छौ ?’

‘छैन ।’

‘गर्न इच्छुक छौ ?’

‘छु ।’

‘तिमीलाई म १२५० दिन्छु, हुन्छ ?’

‘हस् ।’

‘त्यसो भए त्यससम्बन्धी करारपत्र आदि हेर र साइन गर, म पठाइदिन्छु ।’

त्यस संक्षिप्त कुराकानीपछि अभिनेता दिलीप कुमारको जन्म भयो । देविका रानीको पारखी नजरले के भविष्य देख्यो कुन्नि, उनले तत्काल ‘ज्वार–भाटा’ नामक फिल्मका लागि उनलाई साइन गराइहालिन् ।

यता, दिलीपले ‘हुन्छ’ त भनिहाले, बेरोजगारीको बेलामा, तर उनी त फुटबलर अझ क्रिकेटर बनेर भारतका लागि टेस्ट–म्याच खेल्ने सपना देख्थे । उनलाई कहाँ फसियोजस्तै लागिरहेको थियो ।

साइन गर्नुअघि घर पुगेपछि डा. मसानीलाई भने, ‘मलाई आउनु–जानुपर्छ, परिवारको खर्च छ, वर्षको १२५० मा कसरी पुग्ला ?’

मसानीले तत्काल देविका रानीलाई फोन गरे, ‘यो केटो त वर्षको १२५० ले पुग्दैन भन्छ नि !’

देविका रानीको हाँसोको आवाज आयो, ‘सोझो केटो रहेछ । वर्षको होइन, महिनाको १२५० भनेकी हुँ मैले ।’

त्यो रकम उनका लागि अकल्पनीय थियो । सम्भवतः उनीअघि त्यति धेरै रकम कसैले पहिलो फिल्मका लागि पाएको पनि नहुँदो हो ।

‘ज्वार–भाटा’ बनाउँदा एकदिन देविका रानीले भनिन्, ‘तिम्रो यो युसुफ नाउँ फिल्मका लागि सुटेबल हुँदैन । अर्को एउटा निरपेक्ष नाउँ राख्नुपर्छ ।’ उनलाई आपत्ति थिएन । कारण पनि थियो– उनी परिवारमा अहिल्यै फिल्म खेल्ने कुरा भन्न चाहन्नथे । उनका पिता सरवर खान, फिल्मका कडा विरोधी थिए । उनी फिल्म अभिनेताहरूलाई ‘भाँड’ भन्थे ।

राज कपूरका बाजे लाला बसेसर नाथ, सरवर खानका पारिवारिक मित्र थिए, उनका छोरा पृथ्वीराज फिल्मका प्रख्यात अभिनेता थिए । त्यसैगरी पछि राज कपूर र उनका भाइहरू पनि फिल्ममा आउन थाले ।

सरवर खान भन्थे, ‘आफ्ना सन्तानहरूलाई के यस्तो घटिया काममा लगाएको ?’

युसुफ खान, दिलीप कुमार नबनेर वासुदेव वा जहाँगिर पनि बन्न सक्थे, किनभने उनका अगाडि तीन नाउँमध्ये एक नाउँ छान्ने विकल्प थियो । दिलीपलाई जहाँगिर नाउँ मनपरेकै पनि थियो । तर, एकदिन भगवतीचरण वर्माले भने, ‘दिलीप कुमार राम्रो हुन्छ ।’ त्यसपछि देविका रानीले आफूले नै छानेका तीन नाउँमा दिलीप कुमार नै राखिदिइन् ।

यसमा दिलीपले पनि होलो माने । कम से कम परिवारले पनि दिलीप कुमारलाई चिन्ने छैनन्, जुन उनको चाहना पनि थियो ।

‘ज्वार–भाटा’ सन् १९४४ मा रिलिज हुँदा दिलीप जम्मा साढे उन्नाइस वर्षका थिए । पहिलो फिल्म फ्लप भयो । दिलीपको ‘भावहीन’ अनुहारको आलोचना भयो । ‘जोगन’ भन्ने फिल्म, जुन नर्गिसको साथ थियो, एकदम हिट भयो । ‘मेला’ पछि उनी झन् माथि पुगे । अनि ‘शहीद’ ले त उनलाई सुपरस्टार नै बनाइदियो । त्यसपछि दिलीप पछाडि फर्केनन् । अब उनको ‘भावहीन’ मानिएको अनुहार तिनै आलोचकका दृष्टिमा ‘संवेदनशील’ हुन थाल्यो । उनले साउतीमा बोलेकालाई नयाँ ‘मेथड एक्टिङ’ को थालनी भनियो । उनको मौनलाई प्रभावशाली ‘एक्सप्रेसन’ भनियो ।

उनी आँखाले अभिनय गर्ने अभिनेताका रूपमा चिनिए । उनलाई ‘मेथड एक्टिङ’ का जन्मदाता मानियो । दिलीपको भनाइअनुसार, ‘मेथड एक्टरभन्दा मलाई अलिक भ्रम पनि परेको थियो, तर पछि बुझें, यो भनेको नेचुरल एक्टिङ अर्थात् स्वाभाविक अभिनयलाई भनिन्छ ।’ दिलीप कुमारले आफ्नो शैली विकसित गरे– मौलिक । त्यो यस्तो भयो कि पछिका अभिनेता–पुस्तामा हरेक अभिनेतामा एक दिलीप कुमार हुन्छ भनेर अन्य नायक–नायिका भन्न थाले । यस्तो पनि भन्थे, ‘त्यसबखत सबै दिलीप कुमार बन्न चाहन्थे रे ।’

अरूको के कुरा गर्नु, मलाई नै एकपटक जब एक कविको अभिनय स्टेजमा गर्ने अवसर आयो, मैले दिलीप कुमारकै असफल भए पनि अनुकरण गरेको थिएँ । तर, त्यो असफल दिलीप कुमारले समेत तीन अन्य नायकलाई उछिनेर प्रथम पुरस्कार पाएको थियो, सर्वश्रेष्ठ अभिनयका लागि । अभिनयका लागि त्यो मेरो प्रथम र अन्तिम पुरस्कार थियो । त्यसपछि मैले फर्केर हरिनँ अर्थात् कहिल्यै अभिनय नै गरिनँ ।

एकदिन राज कपूरका बाजे बसेसर नाथ र दिलीपका पिता सरवर खाँ, बम्बईमा घुमिरहेका थिए । बसेसरले भने, ‘तिमी त मेरा सन्तान फिल्ममा लागे भनेर ‘भाँड’ काममा लागे भन्थ्यौ, ऊ त्यहाँ हेर त !’

बसेसरले परतिरको भित्ताको एउटा पोस्टर देखाए । त्यो ‘मेला’ फिल्मको पोस्टर थियो । सरवरले भने, ‘हाँ देखा, कोई दिलीप कुमार हिरो है, कौन है यह ?’

‘उसका चेहरा गौर से देखिए जनाब ! दिलीप कुमार कोई और नहीं आप ही के शाहजादें हैं ।’

सरवरले हेरे । छाँगाबाट खसेजस्ता भए ।

बसेसरले भने, ‘नाम बदला है सूरत नहीं ।’

बल्ल त्यहाँदेखि सारा परिवारले थाहा पायो– युसुफ फिल्ममा काम गर्न थालेछ । खलबल नै भयो त्यो पठान परिवारमा । तर, त्यतिन्जेलसम्म दिलीप आजको भाषामा सुपरस्टार बनिसकेका थिए । बाबु रिसाए पनि दिलीपले सारा हिन्दुस्तानलाई रिझाइसकेका थिए ।

‘शहीद’ रिलिज भएपछि त झन् सारा पूर्वआलोचक पनि उनको अभिनयको प्रशंसक बने । त्यो फिल्म हेर्न एक दिन सुटुक्क दिलीपका पिता गएछन् । फर्केर आएपछि उनले गम्भीर भएर दिलीपलाई बोलाइपठाए । दिलीप कुमार डराउँदै थिए, सरवर स्वयं दिलीपको कोठामा आए । उनको गम्भीर अनुहार देखेर दिलीप झन् झस्के । तर, केही नबोली उनले दिलीपको पिठ्युँमा धाप पो मारेर गए । त्यो स्याबासीको धाप थियो । त्यो क्षण दिलीपलाई लाग्यो, उनको एक अर्को फिल्म सुपर हिट भयो । त्यसपछि उनी निर्बाध फिल्म खेल्न थाले ।

उनी ‘बम्बे टाकिज’ मा थिए, पछि बम्बे टाकिजकै एस मुखर्जी अर्थात् शशधर मुखर्जीले छुट्टै फिल्मिस्तान कम्पनी खोले । दिलीप अशोक कुमारलाई ‘अशोक भैया’ भन्थे । ती अशोक भैया ‘फिल्मिस्तान’ मा गए । एस मुखर्जी उनको नाता पर्ने हुनाले यसरी दुई फ्याक भएपछि कम्पनीका लेखक, निर्देशक, क्यामेरा म्यान पनि बाँडिए ।

मलाई लाग्छ, कम्पनीहरूको यस्तो विभाजन पनि एउटा कारण थियो, जसले ‘स्टार सिस्टम’ लाई जन्म दियो । पहिले तलबमा बस्ने कलाकारहरू फ्रीलान्स हुँदै गए, आफ्नो ‘स्टार भ्यालु’ बढ्दै गएअनुसार उनीहरू आफ्नो पारिश्रमिक आफैं तोक्ने भए ।

त्यहीअन्तर्गत सन् ५० सम्ममा कम्पनीहरू खुल्ने, बन्द गर्ने हुन थाले । त्यसबखत पृथ्वीराज, मोतीलाल, वास्ती सहगल अनि अशोक कुमार ठूला र लोकप्रिय स्टार थिए । तर, भारतीय सिनेमामा स्टार सिस्टमको जन्म भएपछि यी ‘थ्री बिग’ को जन्म भयो र लगभग दुई–तीन दशकसम्म यिनकै राज्य चल्यो हिन्दी सिनेमामा ।

तिनताक नायक र नायिकालाई वास्तविक ठानेर तिनको रोमान्सको चर्चा पनि हुन्थ्यो, जुन आजसम्मै यथावत् छ । दिलीप कुमारको पनि लगभग सारा नायिकासँग प्रेम–सम्बन्धको चर्चा चल्यो– मधुबाला, नर्गिस, वैजयन्तीमाला आदि । ‘हलचल’ पछि नर्गिसले ‘दिलीपसँग कहिल्यै खेल्दिनँ’ भनिन् । वैजयन्तीमाला र दिलीप कुमारको बोलचाल नै बन्द थियो ‘संघर्ष’ फिल्म खेल्दा ।

‘मुगल–ए–आजम’ खेल्दा मुधबाला र दिलीप कुमार बोल्दैनथे । ‘फुटपाथ’ मा एक दृश्यमा दिलीपले मीनाकुमारीलाई थप्पड हान्नुपर्ने थियो । मीनाकुमारीको शब्दमै थाहा पाऊँ, ‘दिलीपले किन हो, अभिनय गर्नुपर्ने ठाउँमा साँच्चिकै रन्थनिने गरी थप्पड हाने, पठानको जोडदार थप्पडले मलाई रिँगटा नै लाग्यो र म रोएँ ।’

तर...तर, यी सबबाहेक पनि सबैजना मान्दथे– दिलीप कुमार एक महान् एक्टर हुन् । देवानन्दको प्रसंग आइसकेको छ । अमिताभ त आफ्नो कलेज–जमानादेखि नै कलेज बंक गरेर ‘गंगा–जमुना’ हेर्न जान्थे । सुनिन्छ, उनले ‘गंगा–जमुना’ एघारपटक हेरेका थिए । आज उनी भन्छन्, ‘फिल्मको इतिहास लेख्दा जहिले पनि दिलीप कुमारअघि र दिलीप कुमारपछि भनेर लेखिनेछ ।’

राज कपूर त दिलीप कुमारका पारिवारिक मित्र नै थिए । एकपटक ‘प्रेम–रोग’ को सुटिङ चलिरहेको थियो, नायक थिए उनैका छोरा ऋषि कपूर । एक दृश्यमा ऋषि कपूर ‘टेकमाथि टेक’ खाइरहेका थिए । एकाएक निर्देशक राज कपूर क्यामेरा पछिल्तिरबाट कराए, ‘मलाई युसुफ चाहिन्छ, युसुफ !’

यसरी दिलीप छाएका थिए हिन्दुस्तानमा, सारा कलाकारमा र दक्षिण एसियामै पनि । विश्वमै व्याप्त हुन्थे कि ? भन्न सकिन्न । एकपटक डेभिड लिनजस्ता विश्वप्रसिद्ध निर्देशकले ‘लरेन्स अफ अरेबिया’ फिल्ममा खेल्ने अफर दिए, दिलीपले खेलेनन् । पछि त्यो रोल उमर सरिफले गरे र तिनले साइड हिरोको अस्कर पाए रे ! ‘साइड रोल’ भएरै दिलीपले नगरेका हुन् कि ?

त्यसैगरी सत्यजित रेले पनि एउटा फिल्म दिन खोजेका थिए, ‘सगीना’ बंगालीमा बन्नु धेरैअघि । तर, दिलीपले सत्यजित रेको फिल्ममा पनि खेल्दिनँ भने । त्यसको कारण भने फेरि अर्कै छ ।

फिल्मका सबै क्षेत्रमा हस्तक्षेप गर्ने आरोपका विषयमा दिलीपको एउटै जवाफ थियो, उनी फिल्म ‘परफेक्ट’ होस् भनेरै सारा कुरा हेर्न चाहन्थे, अन्य कलाकारको अभिनय, स्क्रिप्ट सब ‘दमदार’ भए फिल्म उत्कृष्ट बन्छ, त्यसकारण उनी सबै क्षेत्रलाई विचार गर्दै फिल्म खेल्थे ।

दिलीप कुमारका प्रेमकथामा केही हदसम्म मात्रै यथार्थ होला, होइन भने त ‘यो हल्लैहल्लाको देश हो’ । त्यहाँ पनि वैजयन्तीमालाबारे दिलीपले लेखेका छन्, ‘गंगा–जमुना’ मा वैजयन्तीमालालाई लिनासाथ सधैंझैं अखबारमा उनको प्रेमका गफहरू छापिन थालिहाले ।’

‘गंगा–जमुना’ उनको सबैभन्दा महत्त्वाकांक्षी फिल्म थियो । त्यो फिल्म नीतिन बोसको निर्देशन भनिए पनि लेखनदेखि निर्देशनसम्मै दिलीपले गरेका थिए । ‘गंगा–जमुना’ हिन्दी फिल्मको एक ‘माइल स्टोन’ साबित भयो । मैले पनि त्यो फिल्म पाँच पटक हेरेको छु । पाए अझै हेर्छु ।

उनको प्रेम–सम्बन्धबारे धेरै हल्ला छन्, तर थोरै सत्य पनि छ । तैपनि रूपको परिभाषा मानिने मधुबालासँग उनको प्रेम सच्चा थियो— ती दुवैको । उनले अदालतमै पनि बयान दिँदा भने, ‘यो केटीसित मैले प्रेम गरेँ, गर्छु र नमरेसम्म गरिरहन्छु ।’

दिलीप कुमार र मधुबालाको विवाह किन हुन सकेन ? त्यसका लागि छुट्टै लेख चाहिन्छ । जे होस, त्यो सच्चा, तर असल प्रेम थियो ।

सायरा बानोसँग उनको विवाह भयो । सायराअनुसार, उनी १२ वर्षकै उमेरदेखि श्रीमती दिलीपकुमार बन्न चाहन्थिन् । उनीसँग फिल्म खेल्न खोज्दा दिलीपले आफ्नो केश देखाउँदै भनेका थिए, ‘यो देख्यौ, मेरो तिलचामले कपाल ? तिमी त बालिका छौ मेरा अगाडि ।’

सायरासँग दिलीपले फिल्म नखेलेपछि उनी खिन्न भइन् र आफ्नो ‘तुनुक मिजाजी’ देखाउँदै दिलीपतिर नहेर्ने, सामुन्ने पर्दा पनि मुन्टो घुमाएर हिँड्ने गर्न थालिन् । दिलीप कुमार त्यसलाई ‘बालहठ’ भनेर हाँस्थे ।

तर, परिस्थितिवश निकै समयपछि एकदिन दिलीप र सायरा संयोगले समुद्र किनारमा घुम्दै थिए । दुई जना मात्रै घुम्ने अवसर आउँदा दिलीपले भने, ‘सायरा, तिमी साँच्चिकै मैले सोचेजस्ती केटी होइनौ, म आजदेखि तिमीलाई गम्भीर रूपमा लिन्छु र अहिल्यै प्रस्ताव राख्छु– के तिमी मसित विवाह गर्छ्यौ ?’

यो एक्कासिको दिलीपको प्रस्तावमा सायरालाई विश्वासै भएन । तर, दिलीप अझै सायराको हत्केला समाएर गम्भीर मुद्रामा थिए । सायरा त उनकै शब्दमा ‘सातवाँ आसमान’ मा भइन् ।

यही क्षणपछि दिलीपको जीवनको अर्को मोड आयो । उनको विवाह हुँदा दिलीप ४४ र सायरा २२ वर्षकी थिइन् । दिलीप भन्छन्, ‘केटाकेटीमा ज्योतिषमा मेरो त्यति विश्वास थिएन । तैपनि आमाहरूको करमा ज्योतिषीलाई देखाइयो । चिना, हात सब हेरेर ज्योतिषीले भन्यो, ‘यो बालक असाधारण हुनेछ । सफलताको आकाशमा पुग्नेछ । यसको विवाह एक सफल कन्यासँग हुनेछ, तर यसको उमेरभन्दा त्यो आधाकी हुनेछ ।’

उनी भन्छन्, ‘म त्यही सम्झिरहें ।’ हुन पनि त्यसबखत सायरा ‘जंगली’ देखि चर्चित नायिका बनिसकेकी थिइन् । तर, ज्योतिषीले पनि त्यति ‘अक्युरेट’ सोचेको थियो कि थिएन, चटक्कै चिरेजस्तै उमेर थियो विवाह हुँदा दिलीप ४४, सायरा २२ वर्ष ।

ढिलो बिहे भए पनि धुमधामले भयो । दुई मिनेटको बाटोमा हिँड्न एक घण्टा लागेको थियो । सारा स्टारहरू त थिए नै, जनताको भीड उर्लेर झन् साँघुरो पारेको थियो, बान्द्राको त्यत्रो फराकिलो सडकलाई पनि ।

विवाहको एउटा रोचक घटना छ । उहिल्यै कुनैबखत दिलीपको चिर कुमारत्वलाई लिएर राज कपूरले कुनै पत्रिकामा अन्तर्वार्ता दिएका थिए, ‘दिलीप कुमारले जुन दिन बिहे गर्ला, त्यस दिन म बामे सरेर हिँड्छु ।’

बिहेमा जन्ती जाँदा कुनै ठाउँमा उनलाई झल्याँस्स यो कुराको सम्झना भएछ । राज कपूर तत्काल कारबाट ओर्ले । सबैले अचम्म मान्दा/नमान्दै उनी त एकाएक भुइँमा बामे सर्न थाले— सायराको घरबाहिर नै । सबैले अचम्म मानेर हेरे मात्र होइन, त्यत्रा महान् फिल्मकारको यो ‘हरकत’ मा बेस्सरी हाँस्न पनि थाले । दिलीप कुमार भने मुस्कुराइरहेका थिए । उनलाई थाहा थियो, यसलाई आफ्नो प्रतिज्ञा याद आएछ ।

कलकत्तामा एक पटक सायरा र दिलीप भएको कारले भीडले गर्दा बाटो पाएन । प्रशंसकहरूले घेरे मात्रै होइन, उनीहरू भएको कारलाई जुरुक्कै बोकेर सडकसम्मै पुर्‍याइदिए ।

दिलीप र सायराको वैवाहिक जीवन आदर्श रह्यो । एक पटक सायरा निकै बिरामी परिन्, लामै । त्यसबखत दिलीम सुटिङ मात्रै होइन, निद्रासमेत त्यागेर रातभरि सायराको स्याहार–सुसार गर्थे । तर, फेरि सायरा झन् असल पत्नी साबित भइन् । उनले दिलीपको अन्तिम समयसम्म पनि आफैं सेवा–शुश्रूषा गरिन् । त यी वास्तवमा आदर्श नै पति–पत्नी थिए, जीवनभरि ।

यसमा खलल एकपटक तब पर्‍यो, जब एकाएक एकदिन दिलीपले अस्मा भन्ने एउटी आधुनिक केटीसँग विवाह गरेको खबर आयो । केही समयसम्म त दिलीप कुमारले पनि यो खबरलाई टारे, तर पछि वास्तविकता स्विकार्नैपर्‍यो ।

त्यसबखत सायरा बानोको एक अन्तर्वार्ता ‘फिल्मफेयर’ मा छापिएको थियो । त्यो पढ्दा यति मार्मिक र करुण लाग्यो कि म सायराप्रति सहानुभूतिपूर्ण भएँ । त्यही एक पटक हो, मलाईसमेत दिलीपसँग वितृष्णा भएको, यद्यपि त्यो उनको निजी विषय थियो । तर, उनको ‘फिल्मी छवि’ सित पनि मेल खाएको थिएन त्यो घटना ।

पछि ‘मेहर’ को तीन लाख रकम तिरेर उनले अस्माबाट छुटकारा पाए बल्ल । त्यो समयदेखि आजसम्म सायराको ग्ल्यामरस रूप फिल्ममा देखे पनि उनलाई एक आदर्श पत्नीको आदर्श उदाहरणकै रूपमा मैले ठानेको छु– फिल्मी जगत्मा मात्रै होइन, निजी जीवनमा पनि ।

हालै दिलीप कुमारको निधन भएको छ । ‘सुपुर्दे–खाक’ भएका छन् दिलीप । दिलीपको प्रस्थानपछि सायराबारे मलाई केही थाहा छैन । आधा शतकजतिको वैवाहिक जीवनपछि उनी कति एक्ली भएकी होलिन् ! उनीप्रति सहानुभूति जाग्रित हुन्छ ।

दिलीपबारे म कति जान्दछु र ? तर, जति जान्दछु यतिमा अटाउँदैन । मेरा लागि उनी सधैंका प्रशंसनीय एक मात्र अभिनेता थिए । मेरा दृष्टिमा उनको हिन्दी फिल्मलाई जुन देन छ, त्यो उनैले मात्र दिएका छन्, त्यो देनमा अब अरू सामेल हुन सक्दैनन् । उनी एक अभूतपूर्व कलाकार हुन् । न भूतो भविष्यचाहिँ भन्दिनँ, तर भारतीय अभिनय परम्परामा पहिलो पटक उनले जति ल्याए, त्यसमा त ‘भविष्यति’ पनि भन्न सकिन्छ ।

दिलीपप्रति अहिले श्रद्धाञ्जलीका यी शब्द लेख्दालेख्दै उनको एक प्रिय शेर याद आयो, जुन उनी धेरै ठाउँमा, समारोहमा पढ्थे । आफ्नो ‘बायोग्राफी’ थालनी उनले त्यही शेरबाट गरेका छन् :

सकूने दिल के लिए कुछ तो एहतमाम करूँ,

जरा नजर जो मिले फिर उन्हें सलाम करूँ

मुझे तो होश नहीं आप मशविरा दीजिए

कहाँ से छेडुँ फसाना कहाँ तमाम करूँ

दिलीप कुमारजस्ता अभिनेता जन्मिन धेरै समय लाग्छ । उनका लागि श्रद्धाञ्जली दिँदा के लेखूँ ? आफ्नै शब्दमा लेख्छु :

आँखो से बोलता था

चुप्पी से लपटें उगलता था

भीड में मुस्कुराता था

तनहाई में जलता था ।


अपनी आहों में जीता था

देर तक दूर तकता था

यूँ तो वह एक सितारा था

चाँद वन कर चमकता था ।

प्रकाशित : भाद्र १२, २०७८ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्

काजीदाइले छाडेको दूरबिन 

काजीदाइको जीवनचर्या चराकै संसारमा बित्यो । चरा विषयको ज्ञान–विज्ञानका सागरै थिए– काजीदाइ । चराहरु पछ्याउँदै नेपालका कुनाकन्दराको पैदलयात्रामा महिनौं बिताउँथे, आफ्नै निजी खाना र खानकीको भरमा प्रकृतिको प्रेम–वाणी पछ्याउँदै हिँड्थे र नेपालका चराका विषयमा आधारभूत वैज्ञानिक ज्ञानको संकलन/सञ्चय गर्थे ! 
तीर्थबहादुर श्रेष्ठ

काजीदाइको उडेर गएको प्राणपखेरु र चरासँग उहाँको आत्मीय सम्बन्ध मेरो मथिंगलमा मडारिरहँदा मेरी १०३ वर्षीया आमाले स्वर्गीय हुनु दुई दिनअघिसम्म पनि हामीलाई सुनाउने श्लोक कानमा गुन्जन थाल्यो-



रामजीकी मैना तू रामनाम कहना,

यहाँ नहीं तो वहाँ रहना,

छोटा सा मैना बडा सा पिँजडा

उड गई मैना कुछ, लेना न देना

छातीभित्रको ढुकढुके प्राणलाई आमा रामजी (भगवान्) को मैनाचरी भन्नुहुन्थ्यो । शरीरलाई पिँजडा सम्झनुहुन्थ्यो । प्राणरूपी मैनाचरी उडेर गएपछि लेनादेना केही रहँदैन भन्ने व्याख्या थियो आमाको । काजीदाइको त्यही मैनाचरीलाई चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलीका शब्दहरू कोर्ने जमर्कोमा छु ।

कोरोना महाव्याधिको दोस्रो छालभित्र लपेटिएर त्रास र सन्त्रासको जीवन बाँचिरहेका हामीलाई घरमा बज्ने टेलिफोनको प्रत्येक घन्टीले पटकेपिच्छे झस्काउँछ । यसैबीच २०७८, जेठ ५ को तापिलो अपराह्नमा भैरव दाइ (भैरव रिसाल) को टेलिफोन आयो । तुरुन्त सोध्नुभयो, ‘काजीदाइ बितेको हो ?’ म अवाक भएँ । भनें, ‘सोधपुछ गर्छु ।’ चरा विशेषज्ञ राजेन्द्र सुवाललाई टेलिफोन लगाएँ । सुन्नुपर्‍यो, ‘आजकै बिहानी सखारीमा आफ्नै घरको ओछ्यानमा काजीदाइ स्वर्गे हुनुभयो ।’ कोभिडको कोपमा धन्य पर्नुभएको रहेनछ । अन्तिम संस्कार सेनाको सलामीमा होइन, परिवारजनको मलामीमा सम्पन्न भएको ज्ञात भयो । त्यही पनि धन्य लाग्ने यो कस्तो बेला आयो ?

काजीदाइको जीवनचर्या चराकै संसारमा बित्यो । चरा विषयको ज्ञान–विज्ञानका सागरै थिए– काजीदाइ । चराहरू पछ्याउँदै नेपालका कुनाकन्दराको पैदलयात्रामा महिनौं बिताउनुहुन्थ्यो, आफ्नै निजी खाना र खानकीको भरमा । न कुनै शैक्षिक प्रमाणपत्रको धोको थियो । न कुनै आर्थिक आयको चाहना । प्रकृतिको प्रेम वाणी पछ्याउँदै हिँड्थे र नेपालका चराहरूका विषयमा आधारभूत वैज्ञानिक ज्ञानको संकलन/सञ्चय गर्थे काजीदाइ ।

जैविक विविधताको नेपाली वैभवमा प्रशस्त नौला, मौलिक ज्ञान–विज्ञानमा काजीदाइको योगदान छ । कुनै पनि स्वदेशी वा विदेशी आयोजनामा वा प्रायोजनमा उहाँका अन्वेषणहरू प्रारम्भ भएका थिएनन् । कतिपय स्वदेशी–विदेशी अन्वेषक–अनुसन्धाता आफ्नो शोधपत्र तथा पुस्तक–पुस्तिका वा प्रतिवेदनहरू तयार गर्न काजीदाइको निजी संग्रहालय अर्थात् शयनकक्षमा घण्टौं बिताउनुहुन्थ्यो । र, उहाँको बुद्धि–विवेकबाट लाभान्वित हुन्थे । काजीदाइको घरको आतिथ्य पनि सामान्य नभई विशेष प्रकारको हुनेगर्थ्यो ।

काजीदाइ (हरिशरण नेपाली) सँग भेट्ने अवसर मलाई २०३८ सालको कात्तिकताका मिल्यो । पूर्वी नेपालको वरुण उपत्यकामा एउटा नौलो रूख–भालुको अनुसन्धान गर्ने कार्यक्रम थियो । अमेरिकाको उडल्यान्ड इन्स्टिच्युटबाट राजा वीरेन्द्रकहाँ सीधै दरखास्त परेको रहेछ । त्यसको नेतृत्वमा थिए डा. डानियल टेलरआइड । डानियल राजा वीरेन्द्रका नजिकका मित्रका रूपमा हार्वड विश्वविद्यालयदेखि नै स्थापित थिए । त्यस अन्वेषण टोलीमा वन–वनस्पतिको अध्ययनमा मेरो नाम र पशुपन्छीको अध्ययनमा काजीदाइको नाम सिफारिस भएको रहेछ ।

काजीदाइसँग वरुण उपत्यकामा करिब एक महिना बिताएपछि मेरो मनमा एउटा पछुतोले जन्म लियो– मैले काजीदाइलाई किन यसभन्दा पहिले भेटिनँ ? प्रकृति अध्ययन र अवलोकनको क्षितिजमा वन–वनस्पतिको साथमा पशुपन्छी, कीराफट्यांग्रा, माछा–भ्यागुता वा सर्प र छेपारा अनि गँड्यौला र जुकालगायत सबै प्राणीजगत्लाई भुल्न मिल्दैन भन्ने सन्देश मैले काजीदाइको संगतबाटै पाएँ । चरा–विशेषको कुरा गर्ने हो भने काजीदाइ चराहरूका पहाडै हुनुहुन्थ्यो । कवि रमेश श्रेष्ठको ‘चराहरूको पहाड’ कवितासंग्रहमा भनेझैं आज यादहरू सलबलाउँदो छ-

चराहरू थुप्रै–थुप्रै सपनाहरू देख्छन्...

र, आफूभित्रको आकाश ओढेर

पहाडमुनि निदाइरहन्छन् ।

समयहरू बित्दै जाँदा वर्षहरू पल भएर

सम्झनामा बाँचिरहन्छन्,

कहिलेकाहीँ त सम्झना चुहिएर समयको याद मात्र बाँचिरहन्छ छातीमा,

तिनै यादका अस्पष्ट गुफाबाट...

तिनै चराहरुको यादमा म पनि केही लेखिरहेको हुँ ।

काजीदाइको चरा संकलन विधि–प्रविधि

वरुण उपत्यकामा करिब ४ हप्ता बित्यो । प्रत्येक बिहानी आफ्नो पालबाट बाहिर निस्कँदा काजीदाइ पूरै सजधज भएर निस्कनुहुन्थ्यो । खुट्टामा टल्कने बुट, टाउकोमा घामपानी छेक्ने आर्मी–ह्याट, खल्ती नै खल्तीजडित इस्टकोट, पाइन्टमा पनि ४/५ वटा खल्ती, काँधमा बन्दुक, गलामा दूरबिन (बाइनोकुलर), कम्मरतिर झुन्डिएको पानीको टुम्लेट ! झट्ट हेर्दा आर्मी कम्ब्याट कमान्डोजस्तो लाग्ने काजीदाइ । उहाँसँग हिँड्दा बिरालाले चाल मारेझैं गरी हिँड्नुपर्ने । बोल्न, सुसेल्न र खोक्न पनि नपाइने । सानोभन्दा सानो चरालाई पनि टाढैबाट ठम्याइहाल्नुहुन्थ्यो ।

वैज्ञानिक महत्त्वको चरा रहेछ भने त्यसको पछिपछि लाग्नुहुन्थ्यो । बन्दुक पड्क्यो भने त्यो चरा उहाँको सिकारमा पर्‍यो भन्ने बुझे हुन्थ्यो । उहाँ अचुक निसानेबाज सिकारी हुनुहुन्थ्यो । उहाँका प्रत्येक सिकारले ज्ञानको नयाँ क्षितिज उजागर गर्न मद्दत पुग्थ्यो । एउटाको ज्यान लिएर हजारौंको ज्यानलाई संरक्षण गर्ने उहाँको सिकारको उद्देश्य हुन्थ्यो ।

चरा संकलन गर्न उहाँसँग अदृश्य कोहरा जाल ‘मिस्ट नेट’ पनि साथमै हुन्थ्यो । नाका छानेर साँझमा जाल थाप्ने काम हुन्थ्यो । बिहान सबेरै जालमा परेका विभिन्न चराको टिपोट लेख्नुहुन्थ्यो । उहाँको संकलनभित्र नपरेका केही चरालाई संकलनमा राखेर अरूलाई पालैपालो छोड्नुहुन्थ्यो ।

उहाँको चरा संकलनमा सहयोग पुर्‍याउँदा एउटा चाँचर चरीले मलाई निकै दुख्नेगरी टोकिदिएको सम्झना हुन्छ । साह्रोसँग टोक्ने चराको कोटीमा चाँचर पर्दोरहेछ । यिनीहरूको बगाल साइबेरियादेखि जाडो छल्न नेपाल आएर वैशाखतिरबाट उतै फर्कंदो रहेछ । विसं २००८/९ सालतिर काठमाडौंको इन्द्रचोकमा चाँचर जिउँदै बेच्ने गरिन्थ्यो । टुकुचा, विष्णुमती, मनोहरातिरबाट जाल थापेर ल्याएको भन्थे मानिसहरू । टाइफाइड ज्वरोबाट तंग्रिन चाँचरको सुरुवा खुवाउनु उत्तम हुन्छ भन्ने वैद्यको सल्लाहअनुसार मलाई पनि चाँचरको सुरुवा खुवाइएको सम्झना वरुणमा चाँचरको टोकाइले ब्युँताइदियो ।

वरुणको त्यस अध्ययन टोलीमा अर्का चरा विशेषज्ञ डा. रोबर्ट फ्लेमिङ (पुत्र) पनि थिए । फ्लेमिङ पिता–पुत्रद्वय तथा लैनसिंह बाङ्देलद्वारा लिखित प्रख्यात पुस्तक ‘वर्डस् अफ नेपाल’ नामक पुस्तक निर्माणमा काजीदाइको योगदान अद्वितीय थियो भन्ने चर्चा हामीमाझ चल्थ्यो । रोबर्टलाई बब् भन्ने चलन थियो । बब् भने बन्दुक बोक्दैनथे । क्यामेरा सुटिङमा माहिर थिए । उनको अध्ययन तरिका बेग्लै थियो ।

उनी जंगलमाझ बसेर लाटोकोसेरोको आवाज सुसेल्थे । आवाज सुनेर थुप्रै चरा चिरबिर चिरबिर गर्दै वरपर बहुरिन आइपुग्थे । काजीदाइ र बब् मिलेर ती चराको अभिलेख राख्ने काम हुन्थ्यो । एक महिनाभित्र मात्रै बीस वर्गकिलोमिटरको क्षेत्रमा ३३१ विभिन्न प्रजातिका चराहरूको अभिलेख राखियो । त्यो भनेको सम्पूर्ण फ्रान्स वा बेलायतको पन्छी–धनभन्दा अधिक हो ।

विचित्र चरा–संसारको रहस्य पहिल्याउन सकियो भने अनेकौं जीवनोपयोगी तथ्य भेटिन्छन् । प्रदूषित वातावरणमा चराहरू बाँच्न सक्दैनन् । चराहरू लोप भएर वसन्त ऋतुले सन्नाटा बेहोर्नुपर्‍यो भने यो संसार कस्तो होला ?

नेपालको आफ्नै अभिलेखमा नयाँ फिस्टे चराहरू पनि वरुणमा भेटिए । प्रकृति संरक्षणका लागि राष्ट्रिय निकुन्जको स्थापनामा त्यही पन्छी–धनले भरपर्दो टेवा पुर्‍याएको थियो ।

वरुण–अध्ययनका प्राय: प्रत्येक साँझदेखि मध्यरातसम्मै काजीदाइ आफ्ना संकलित चराका नमुना तयार गर्न व्यस्त रहनुहुन्थ्यो । चराको छाला टाँगेर मांसपिण्ड सबै निखारेपछि बोराक्स पाउडरले प्रशोधन गरी शरीरभरि कपास कोचेपछि चरा दुरुस्तै आफ्नै आकृतिमा आउँथ्यो ।

त्यस प्रविधिभित्र हातको सफाइ कति हुनुपर्छ भन्ने अनुमान प्रत्येक नमुनाबाटै प्रस्ट हुन्छ । एक साँझ काजीदाइ आफ्नै कामदेखि दिक्क हुनुभयो । एउटा दुर्लभ फिस्टे चराको चुच्चो नै बुच्चो भएछ । उहाँले हानेको छर्राले त्यस सिमेटर ब्याब्लरको चुच्चो नै उडाइदिएछ । सिमेटरले भारतमा पन्जाबीहरूको विशेष सांस्कृतिक हुरीलाई जनाउँछ । चराको विशेष पहिचानको चुच्चो नै बुच्चो भएपछि काजीदाइ निराश हुनुभयो ।

सहयात्राका रोचक दिन

विसं २०४० मा राष्ट्रिय निकुन्ज विभागका वरिष्ठ संरक्षणकर्मीहरूसँग लाङटाङ राष्ट्रिय निकुन्जतिर लाग्यौं । वार्डेन सेमिनारको प्रसंग थियो । धुन्चे पुग्दा–नपुग्दै काजीदाइले एउटा रूख देखाउनुभयो । रूखभरि ऐंजेरु लागेको थियो । ऐंजेरु एउटा परजीवी बिरुवा हो । यस बिरुवाले अरू बिरुवाको हाँगामा जरा हालेर आफ्नो खाद्य पदार्थ प्राप्त गर्छ । ऐंजेरुमा राम्रा फूल र रसिला गेडाहरू लागेको थियो ।

ती गेडाका गुदी ज्यादै लस्सादार र च्याप्च्यापे हुन्छ । ती गेडा खान पल्कने विशेष चरा हुँदोरहेछ । हामीले केहीबेर त्यस रूखमा चराहरूका चर्तिकला हेर्‍यौं । चराले पाकेका गेडाहरू खाएको त रमाइलो लाग्ने नै भयो, तर केही चराले बिस्टाउने बेलाको दृश्य भने निकै रोमाञ्चक र अनौठो हुँदोरहेछ । रातो रङको त्यस चरालाई बिस्टा झार्न निकै कठिन पर्दोरहेछ । विशेष लस्सादार फल खाएको हुनाले बिस्टा पनि लस्सादार बनेर मलद्वारमै टाँस्सिएर हत्तपत्त नझर्ने रहेछ ।

तसर्थ विभिन्न रूखका हाँगामा चाक रगडेर बिस्टा झार्नुपर्ने त्यस चराको बाध्यता बन्दोरहेछ । त्यो चर्तिकलाले ऐंजेरुको नयाँ बिरुवा नयाँ हाँगामा कसरी मौलाउँछ, भन्ने पुष्टि गरिदियो । ऐंजेरुको जीवनचक्रमा त्यस चराको भूमिका कति महत्त्वपूर्ण हुन्छ त्यहाँ प्रस्ट भयो । ‘फायर ब्रेस्टेड फ्लावर पेकर’ नामक त्यस चरालाई पछि काजीदाइको छेत्रपाटी घरमा नमुनाको रूपमा देख्न पाइयो । धन्य काजीदाइ !

काजीदाइको शयनकक्ष एउटा संग्रहालय थियो । र, उहाँ एउटा संस्था हुनुहुन्थ्यो । सयौं प्रकारका चराका नमुना टिनका ठूला बाकसभित्र बन्द रहन्थ्यो भने केही ठूला काँटका चराहरू बाहिर सजाएर राखिएका हुन्थे । अर्नाको विशाल सिङ, केही हाँसहरू, न्याउरीमुसा, हरिणका सिङहरू कोठाभित्र सजाइएको हुन्थ्यो । चराचुरुंगी एवं पशुपन्छीका थुप्रै आधारभूत पुस्तकले खचिखचाउ थियो उनको शयनकक्ष ।

विसं २०३२ तिर काजीदाइको संकलनबाट लगभग एक हजार चराका नमुनाहरू प्राकृतिक विज्ञान संग्रहालय, स्वयम्भूलाई हस्तान्तरण भएको थियो । तिनताका नेपालभित्र सायद ८५० को हाराहारीमा चरा प्रजातिको संख्या कायम रहेको अवस्थामा काजीदाइले ५०० प्रजातिका १००० थान चरा उपलब्ध गराउनु भनेको एउटा कीर्तिमानी योगदान थियो ।

सहयात्राका कुरा कोट्याउँदा सन् १९९४ को मे महिनामा मनास्लु हिमालतिरको भ्रमण विभिन्न कारणले अविस्मरणीय रह्यो । त्यस वर्ष चराका विभिन्न बोली सुन्ने र तिनलाई पहिचान गर्ने चाहना जागेर आयो । मीठो बोल्ने सयौं चरामध्ये कलचौंडे (कालचौंरे) को बिहानी सुसेली निकै मन पर्न थाल्यो ।

गोर्खाको आरुघाटदेखि नै प्रत्येक बिहानी त्यस चराको बोली सँगसँगै उठ्थ्यौं र दिनभरि बुढीगण्डकीलाई पछ्याउँदा सोही चरा नदीवरपर चारो खोज्न हिँडेको देख्थ्यौं । त्यो देख्दा मनमा आनन्द लाग्थ्यो । तर, मे महिनाको १६ तारिख ल्हो गाउँको प्रांगणमा बिहानी बेग्लै खलबली मच्चियो । मध्यरातदेखि नै काजीदाइ छाती दुखेर छटपटाउन थाल्नुभएको थियो । अँगेना नजिकै पुर्‍याएर डा. कमल बाँस्कोटा, डा. केशवराज राजभण्डारीले जीउ सुम्सुम्याउने र पानी भरेको तातो रबरको तुम्बाले सेक्ने गर्न थाल्नुभयो । त्यहाँ हामीमध्ये कोही पनि चिकित्सक थिएनौं ।

छिटो फर्काउनुबाहेक विकल्प थिएन । काजीदाइ स्वयंले छातीमा केही प्लास्टर टाँस्नुभयो । मुटुसम्बन्धी औषधि रहेछ सो प्लास्टर । डा. राजभण्डारीले काजीदाइलाई साथमा लिएर सकुशल घर फर्काउनुभयो । काठमाडौं फर्केपछिको भेटघाटमा काजीदाइले भन्नुभयो, ‘दुर्गम यात्रामा यस्ता बिरामी परिरहन्छ । औषधि बोक्न बिर्सन हुँदैन ।’ काजीदाइको यात्रा विवरण सुन्दा यस्तो लाग्थ्यो कि ज्यान बाजीमा थापेर चराको पछि लाग्नु नै उहाँको जीवनको खास जोस थियो ।

चरा हेर्नु र तिनलाई चिन्नु मात्रै चरा अवलोकनको हेतु हुँदैन । तिनका बानी व्यवहार र चर्तिकला पनि बुझ्न सक्नु उत्तिकै महत्त्वपूर्ण हुन्छ । तिनका प्रकृतिको रहस्य बुझिनसक्नु र अपरम्पार हुन्छ । हाम्रा दुई हात र दस नङ्ग्राले गर्न नसक्ने काम तोपचराको एउटै चुच्चाले कसरी गर्छ ? तोपचराले कसरी कलात्मक गुँड बनाउँछ ? हामी सोच्न बाध्य हुन्छौं ।

ललितपुरको नागदहमा काजीदाइले अचम्मको दृश्य देखाउनुभयो– एउटा तोपचरा आफ्नो गुँड आफैं भत्काउँदै थियो । लुछाचुँडी गरेर गुँडको निर्माणसामग्री, घाँस–पराल आदि लुछ्दै थियो । गुँड बनाउने काम भाले चराको हुँदोरहेछ । उसले तयार पारेको गुँडमा पोथी बस्न मानेन भने हप्तौंको मिहिनेतले बनाएको गुँड तोपचरा आफैं भत्काउँदो रहेछ । पोथी प्रेमिकाबाट वञ्चित हुन गएको भाले तोपचराको रिस र आवेग हेर्नलायकको थियो । काजीदाइ नभएको भए त्यो दृश्य म बुझ्न सक्दिनथेँ ।

अर्को रोमाञ्चक दृश्य लुम्बिनीको एउटा सिमसारमा देखियो । एउटा सानो माटीकोरे चरा टाढाबाट उडेर आयो । कालो जीउको त्यो चरामा सेता बुट्टाहरू थिए । पानीको सतहभन्दा करिब एक मिटर माथि आएर त्यो चरा हेलिकोप्टरझैं हावामा स्थिर बस्यो । पँखेटाहरू चालु थिए । एकै छिनपछि त्यसले वाणको चालमा पानीभित्र डुबुल्की मार्‍यो । चुच्चोमा माछा झुन्ड्याएर बाहिर उडेर गयो । बेपत्तै भयो ।

यस्ता दृश्यहरू हेर्न, देख्न र बुझ्न भने काजीदाइकै जस्तो धैर्य–साधना आवश्यक हुन्छ ।

मकालु–वरुण राष्ट्रिय निकुञ्जको एउटा अर्को संयोग पनि यहाँ उल्लेख गर्न चाहन्छु । करिब ३००० मिटरको उचाइमा पुगेपछि एउटा चराको सुरिलो आवाजले घना जंगलको सन्नाटालाई चिरेर अझ गहिरो बनाइदिन्थ्यो । एकातिरबाट भाले चराको स्वर घन्किन्थ्यो । अर्कातिर पोथीले प्रत्युत्तर घन्काउँथी । त्यो दोहोरी गाउने चरा हेर्न मन लाग्यो । काजीदाइले पनि त्यो चरा देखाउन सक्नुभएन । तर, केही दिनपछि एक साँझ सोही चरा हातमा लिएर सुम्सुम्याउँदै क्याम्प आइपुग्नुभयो । त्यसलाई राम्रोसँग टाक्सोडर्मी गरेर मलाई उपहार दिनुभयो । त्यो कालो–टाउके सिविया चरा विगत ३५ वर्षदेखि मेरो सानेपा घरमा सुरक्षित छ ।

विगत ३/४ वर्षदेखि म पुन: मकालु–वरुण उपत्यकामा जलवायु परिवर्तन विषयलाई लिएर फ्युचर जेनरेसन युनिभर्सिटी अमेरिका र नेपालको राष्ट्रिय निकुन्ज विभागको संयुक्त अनुसन्धानमा संलग्न थिएँ । विभिन्न ठाउँमा आधुनिक उपकरणहरू जडेर चराको आवाज टिप्ने कार्यक्रमअनुरूप पहिलो खेपमै सोही कालो–टाउके सिवियाको बोली टिप्ने काम भयो । त्यो कुरा मैले सहर्ष काजीदाइलाई सुनाएँ । भेटेरै सविस्तार कुरा गर्ने निधो भयो । दुर्भाग्यवश कोभिडको प्रकोपले भेट्ने अवसर मिलेन । उहाँ स्वयं भने हामीलाई छाडेर लामो यात्रामा चलिदिनुभयो । दैवको विडम्बना !

अन्त्यमा

चराहरूको संसार विचित्रको हुन्छ । त्यसभित्रका रहस्य पहिल्याउन सकियो भने अनेकौं जीवनोपयोगी तथ्यहरू हाम्रा हात लाग्छन् । जुन पर्यावरणमा हामी बाँच्छौं, त्यही पर्यावरणमा ती चरा पनि बाँच्ने हुन् । प्रदूषित वातावरणमा चराहरू बाँच्न सक्दैनन् । चराहरू लोप भएर वसन्त ऋतुले सन्नाटा बेहोर्नुपर्‍यो भने हाम्रो संसार कस्तो होला ? यस यथार्थ चित्रण गरेर लेखिएको रासेल कार्सनको ‘सन्नाटा वसन्त’ (स्लाइन्ट स्प्रिङ) नामक पुस्तकले वातावरण संरक्षणको क्षेत्रमा अमेरिकाभरि तहल्का मच्चाइदियो ।

र, वातावरण संरक्षणका निम्ति एउटा छुट्टै संस्था (इन्भायरोमेन्ट प्रोटेक्सन एजेन्सी) खोल्न सरकार बाध्य भयो । कीटनाशक विषादीको प्रयोगमा विश्वभरका देशलाई चनाखो हुन बाध्य बनाइदियो । प्रदूषणको विरोधमा लाग्ने वातावरण अभियन्ताहरू सुश्री कार्सनलाई वातावरण अभियन्ताका माता मान्छन् । र, तिनलाई उक्त चेतना जगाउने काम चराहरूबाट भएको मान्न सकिन्छ ।

कुनै पनि देशको जैविक सम्पदाको वैभवमा त्यहाँका चरा र तिनको संख्याले ठूलो भूमिका खेल्छ । चराहरूको वैभवले त्यस देशको सम्पन्नता र स्वच्छतालाई इंगित गर्छ । विश्व भूतलको मात्र ०.१ प्रतिशत ओगट्ने हाम्रो देशले विश्व वैभवको ९ प्रतिशत पन्छी–धनको अभिलेख कायम गरेको छ । त्यस अर्थमा क्यानडा, संयुक्त राज्य अमेरिका, जापान, फ्रान्स, जर्मनी र संयुक्त अधिराज्यभन्दा पनि हाम्रो देश विशाल साबित हुन्छ ।

विशालताको त्यस अंक र तथ्यांक कायम गर्ने श्रमका अग्रजभागीका रूपमा हरिशरण नेपाली अर्थात् काजीदाइलाई लिन सकिन्छ । उहाँले लगभग १५ प्रजातिका नयाँ चराहरू नेपाली अभिलेखमा थप्नुभएको थियो । त्यसकार्यको निरन्तरता दिन उहाँको सक्रियतामा ‘नेपाल पन्छी संरक्षण संघ’ स्थापना भएको थियो । उक्त संघका सयौं सदस्य पन्छी–धनलाई उजागर गर्ने र तिनको संरक्षण गर्ने कार्यमा सक्रिय छन् । आज नयाँ चराको खोजी, अनुसन्धान र तिनका बासस्थानको संरक्षणमा लाग्नुपरेको अवस्था छ ।

हाम्रो वर्तमान अभिलेखमा ८८६ प्रजातिका चराहरू स्थापित भए पनि ४२ प्रजातिका चरा विश्वभरिमै संकटापन्न अवस्थामा पुगेको विश्लेषण छ । अन्य ३५ प्रजातिका चरा पनि झन्डै त्यही दिशा र दशामा पुगेको विश्व मान्यता छ । नेपाल सरकारले ९ प्रजातिलाई संरक्षित पन्छी घोषणा गरेको छ ।

तिनमा नेपालबाहिर अन्यत्र नपाइने काँडे भ्याकुर, हिमाली क्षेत्रका डाँफे, मुनाल र तराईका खरमयूर, धनेस, सारस उल्लेखनीय छन् । नेपाललगायत दक्षिण एसियाली क्षेत्रबाटै लोप हुने आशंकामा पुगेका ८ वटा चरा प्रजातिमध्ये पूर्वी नेपालमा सन् १८४८ ताका अन्वेषक हुकरले प्रचुर देखेको होइग्रा धनेस हाल नेपालबाट लोप भइसकेको छ । तथापि वैज्ञानिकहरूले नेपालेन्स नाम दिएको त्यो चरा सिक्किम र भुटानमा मौजुद छन् । यस्तै कोटीमा पुगेका अरू चरामध्ये रातोटाउके पानी हाँस, सेतो बकुल्ला तथा वन बट्टाई उल्लेखनीय छन् ।

नेपाली चराको यस संसारमा आज हरिशरण नेपालीको अभाव सबै प्रकृतिप्रेमी र संरक्षणधर्मीका मनमा खड्कँदो छ । र, चराको चिरबिरयुक्त संसार भविष्यका सन्ततिलाई छाडेर जानुपर्छ भन्ने सन्देश छाढी काजीदाइले हामीबाट बिदा लिनुभएको छ ।

काजीदाइको टल्कने बुट, घामपानी छेक्ने आर्मी–ह्याट, खल्ती जडित इस्टकोट, काँधमा बोकिहिँड्ने बन्दुक, गलामा झुन्डिरहने दूरबिन (बाइनोकुलर), कम्मरतिर झुन्डिरहने पानीको टुम्लेट ! आर्मी कम्ब्याट कमान्डोजस्तो लाग्ने काजीदाइको उल्का सम्झना आइरहेको छ । श्रद्धाञ्जली काजीदाइ !

प्रकाशित : भाद्र ५, २०७८ १२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×