कविता : मेरो बगैंचाको पारिजात
वर्षा यामको अन्त्यतिर
बिहान सबेरै
मेरो आँगनको डिलमा उभिएको
पारिजात फक्रिन्छ
र, खस्छ पृथ्वीमा
म त्यसको सुगन्धले लट्ठिन्छु
म लगातार हेरिरहन्छु
रातो पन्नाको युँजडित सेता फूलीहरु
अथवा स्वर्गको डिलबाट
पृथ्वीमा ओर्लिरहेका मुक्तियोद्धाहरु
हेर्नुहोस् त ! कसरी खसिरहेछन्
मुलायम हिमवर्षाझैं
फुसफुस–फुसफुस–फुसफुस
...
अँध्यारो भागिसकेको छ
जताततै उज्यालोका आँखा छन्
मानिसहरू ब्युँझदै छन्
समयको पुनर्जन्म हुँदै छ
...
सायद यसै साता मनाउँदै छ
सहरले इन्द्रजात्रा
मलाई चिन्ता छ
कतै फेरि इन्द्रले उखेलेर लाने त होइन
यो वृक्षलाई मेरो बगैंचाबाट ?
...
समुद्र मन्थनपछि उसैले लगेको थियो यो वृक्ष
पछि एउटा गोठालोले ल्यायो
आफ्नी पत्नीको लागि
तर फेरि उसले
इन्द्रकै राज्यमा फर्कायो यो फूललाई
त्यसपछि कसले ल्यायो
यो फूल
मानिसको बगैंचामा ?
सायद प्रमिथसजस्तै कोही थियो होला
ईश्वरको न्यायविरूद्ध औंला उठाउने
...
रातो डाँठ भएका सेता फूल
लगातार खसिरहेछन्
आज जो खस्दै छन्
ताजा र चहकिला छन्
मानौं जीवन भनेको एक उत्सव हो
र, जो हिजो खसेका थिए
ती चरम उदासीमा ओइलाउँदै छन्
मानौं मृत्यु भनेको एउटा शोककाव्य हो ।
प्रकाशित : भाद्र ५, २०७८ १०:४६