कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

एक जम्काभेट पाटेबाघसँग 

दृष्टान्त बिडारी

वर्षौं भएको थियो, मैले पाटेबाघ हेर्न खोजेको । करिब तीन वर्षयता पाटेबाघलाई आफ्नो क्यामरामा समेट्ने सपना बुनिरहेको थिएँ । निकै पटक चितवन राष्ट्रिय निकुन्ज र पर्सा राष्ट्रिय निकुन्जमा बाघ हेर्ने मेरो असफल प्रयास जारी थियो । 

एक जम्काभेट पाटेबाघसँग 

हाल सालैको तथ्यांक बोल्छ- नेपालमा २ सय ३५ वटाभन्दा बढी पाटेबाघको बसोबास छ । यो संख्या गत एक दशकमा झन्डै दुई गुणा बढेको हो । पाटेबाघबारे अध्ययन गर्ने मान्छेहरूले मलाई मेरो बाघ हेर्ने सपना पूरा गर्न बर्दिया राष्ट्रिय निकुन्ज जाने सल्लाह दिए ।

र, सल्लाह शिरोपर गर्दै म त्यहाँ पुगें । त्यतिबेला बर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रमा बाघले थुप्रै मान्छेलाई आक्रमण गरेका समाचार आइरहेका थिए । त्यसैले एकातिर उत्साहित र अर्कातिर डराएको पनि थिएँ । बाघको आक्रमण ज्यादा बढेकाले जंगलभित्र पैदल जान मनाही गरिएको थियो ।

जिपमा जानु उचित हुने सोचेर म जिपमा नै जंगल पसें । दिउँसो तीन बजेदेखि बेलुका अबेरसम्म गरिएको सफारीमा हामीले केही चित्तल, बाह्रसिंगे र एउटा भाले जंगली हात्ती देख्यौं । मचानमा चढेर हेर्दा माटीकोरे, मयूर, विभिन्न प्रजातिका परेवा र ढुकुर देख्यौं । त्यो दिन पनि मेरो पाटेबाघ हेर्ने सपना अधुरै रह्यो ।

अर्को बिहान भने राम्रोसँग घाम लागेको थियो । एकाबिहानै म फेरि जिप चढेर निकुन्जतर्फ लागें । अघिल्लो दिन गएकोतर्फ नभएर निकुन्जको अर्को भागतर्फ गयौं । तीन–चार घण्टाको सफारीसम्म पनि हामीले स–साना चराहरू, हरिणबाहेक केही देखेनौं । निराश भएर निकुन्जबाट बाहिर निस्कँदै थियौं ।

अचानक हामी चढेको जिपबाट करिब २५ मिटरको दूरीमा पाटेबाघ देखा पर्‍यो । मैलेभन्दा अगाडि नै जिपका चालकले बाघ देखिसकेका रहेछन् । उनले हत्तपत्त गाडी रोकिहाले । बाघ मैदानको एकातर्फबाट अर्कोतर्फ जाँदै रहेछ । गाडी हिँड्न बनाएको ट्र्याकमा हिँड्दै गरेको बाघ हेर्दै आकर्षक थियो । करिब दुई–तीन मिनेटको अवधिमा पाटेबाघले मलाई दुई–चारवटा राम्रो फोटो खिच्ने मौका दियो ।

मैले पाटेबाघलाई निकै नजिकबाट नियाल्ने अनि उसको शक्ति र सौन्दर्यको स्वाद लिने मौका पाएँ । त्यो मेरो जीवनको उत्कृष्ट क्षण थियो ।

प्रकाशित : भाद्र ५, २०७८ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?