कोसेली

कसको जित ? कसको हार ?

भन्न त भन्छन् मान्छेहरू– आमा बन्नु एक महिलाका लागि दिग्विजय हो । तर, गर्भवति हुँदा म साँच्चै हेरकपल्ट खुम्चिएको थिएँ । किन ?
रेजिना पाण्डे

हरे आइमाईको जात ! बिहेको दुई महिनामै नछुनु रोकिएछ नि फलानोकी बुहारीको !’ 
मेरो बिहे हुनुअघि घरमा, मन्दिरमा, केही अनौपचारिक जमघटमा टोलकी नयाँ बुहारीबारे माथिका खासखुस सुनिरहन्थेँ । तर, कहिल्यै सोचेकी थिइनँ– बिहेपछि मैमाथि संकेत गरेर कसैले एकदिन यस्तै भन्नेछ ! 


अब मेरो बिहेपछिको कुरा सम्झना गरौं । म बाटोमा हिँडिरहँदा एक महिलाले अर्कीलाई मैतिर देखाउँदै एकदिन भनिन्, ‘हेर हेर, उसको बिहे भएको एक वर्ष पनि भएको छैन, कत्रो पेट बनाएर हिँडेकी ! जति नै प्रगति गरे’नि, पढे’नि आईमाई भनेको आईमाई नै हो !’

भन्नेले त्यति भनिसकेपछि सुन्ने श्रोताको टाउको मतिर फरक्क फर्किएको थियो । दैनिकजसो कोही न कोही नयाँ–नयाँ मान्छेले मतिर फर्केर यस्तै–यस्तै भनेको सुन्थें । वचनहरूले कहिलेकाहीं त फतक्कै गल्थें । कहिलेकाहीं असाध्यै दिक्क लाग्थ्यो । खासमा त्यसबेला भित्रैदेखि लाज पनि लागेर आउँथ्यो । र, ठूलै गल्ती वा अपराधै गरेझैं लाजले रातै भएकी हुन्थें । आफ्नै घरको पिँढीमा त वचन सुन्थें–सुन्थें । काम गर्ने कार्यालयमा पनि महिलाहरू नै मेरो खिल्ली उडाउँथे । मानौं म मजाक गरिनुपर्ने मानिस हुँ, एउटा हास्यको विषय हुँ ।

गर्भवती भएका बेला म एउटा प्राइभेट बैंकमा काम गर्थें । बैंकका स्टाफहरू पनि मतिर फर्केर यस्तै खासखुस गरिरहन्थे, ‘कति चाँडै पेट बोकेकी ! एक वर्ष कुरेको भए हुन्थ्यो नि !’ सँगै चिया खाइरहेकी साथी क्यान्टिनमा भन्थी, ‘केको हतार हो यस्तो ? तँलाई लाज लागेन ?’

हो त्यसबेला म एउटा ‘विषय’ भएकी थिएँ । के महिला गर्भवती हुनु सार्वजनिक चासोको विषय हो र ? बिस्तारै म मान्छेहरूमाझ असाध्यै डराउन थालें, लजाउन थालें । र, महिनौंसम्म घरबाट निस्किइनँ ।

तर, अहिले ? कत्ति छिट्टै समाज परिर्वतन भइसक्यो । अहिलेका नयाँ बुहारीहरू गर्भवती हुनुलाई गर्वको विषय सोच्छन्् । उनीहरू मजस्तो लजाउँदैनन्, मस्तो डराउँदैनन्, ठूलो पेट देखाएरै घरबाहिर निस्किन सक्छन् । ठूलो पेटको फोटो फेसबुकमा पोस्ट गर्छन् ।

भन्न त भन्छन् मान्छेहरू– आमा बन्नु एक महिलाका लागि दिग्विजय हो । तर, गर्भवती हुँदा म साँच्चै हेरकपल्ट खुम्चिएको थिएँ । किन ?

साथीेहरू सुझाव दिन्थे, ‘यार ! बिदा लिएर घर बस् । तँलाई देखेर हामीलाई नै अप्ठ्यारो भइसक्यो ।’ अरे यार ! मेरो ठूलो पेट देखेर राजधानीमा बस्ने ‘लेखेपढेका’, महिलालाई लाज किन लाग्छ ? मैले कहिल्यै बुझिनँ ।

बस चढ्थें, मेरो पेटतिर हेर्दै खुइय्य गर्दै सिटमा बसेका महिलाहरू खासखुस गर्थे, ‘के गर्नु आइमाईको जुनी ! कति गाह्रो हगि !’ तर, उनीहरू आफू बसेको सिट छोड्दैनथे । आँखा जुधिहाले उनीहरू झ्यालबाहिर सडकमा गुडिरहेका गाडितिर नजर पुर्‍याउँथे ।

बिहेलगत्तै गर्भवती भएका महिलालाई गसिप बनाइन्छ, जसरी म बनें । अनि बिहे गरेको ४–५ वर्षसम्म पनि कोही महिला गर्भवती भइनन् भने के हुन्छ ? छेउछाउका महिलालाई फेरि शान्ति हुँदैन । चाँडो गर्भवती भए पनि तनाव, ढिलो भए पनि तनाव ! चाँडो भए प्रश्न सुन्नुपर्छ, ‘यत्ति चाँडो किन ?’ ढिलो भए सुन्नुपर्छ, ‘चाँडो गर । ढिला भएन र ?’

गल्तीबिनै तिखा बाणजस्ता बोली सुनिरहनुपर्छ सधैं । अरूलाई, अरूको जिन्दगीलाई, विचारलाई, बुझाइलाई सम्मान गर्नुपर्छ भनेर हामीलाई अब पनि कसैले भनिरहनुपर्छ ? कसैले सिकाइरहनुपर्छ र ?

अब म र मजस्तै महिलाले दैनिकजसो भोग्ने केही असाध्यै पीडा र तनावका कुरा गरौं । डेलिभरी गराउन सिनामंगलको एक अस्पताल पुगेकी मेरी एक साथी सुत्केरी व्यथाले चिच्याइरहेकी थिइन् । उनलाई एउटी नर्सले बेस्कन हकारिन्, ‘दुख्छ भन्ने थाहा पाउँदा–पाउँदै किन पेट बोकिस् ?’ अहो ! कस्तो प्रश्न, कस्तो कटाक्ष ! ‘पढे–लेखेको’, अस्पतालमा काम गने ‘सभ्य मान्छे’ को प्रश्न ! सम्झेरै नौनाडी गल्छ ।

केही दिनअघि, एक जना दिदी नुहाएर भर्खरै बार्दलीमा निस्केकी थिइन् । उनको हातमा चुरा र घाँटीमा पोते नदेखेपछि दिदीकी सासू निकै आक्रोशित भइन् । ‘लौ न के अचम्म देख्नुपर्‍यो यो ?’ भन्दै हल्ला सुरु गरिन् । उनले एउटै कुरा दोहोर्‍याइरहिन्, ‘यसले त हाम्रो नाकै काट्ने भई । अब मेरो छोरालाई के पो हुने हो ! निधार पनि रित्तै

छ ! हातमा चुरा पनि छैन ! बाउ–आमाले बानी पनि नसिकाएका...!’ डरले दिदीले हत्तपत्त भुुइँमा खसेको मखमलको टीका लगाइन् । बिहे गरेको केही वर्ष बितिसकेपछि पनि नाति/नातिना नभएको तनाव सासूलाई थियो । सायद गालीमा त्यो तनाव पनि मिसिएको थियो ।

चुरा–सिन्दूर एक महिला विवाहित भएको कुपन–ट्याग हो, एउटा भयानक बन्धन हो । विवाहित महिला बाहिरफेर हिँड्दा पनि एउटै प्रश्नको सामना गरिरहनुपर्छ (चुरा र सिन्दूर लगाएको छैन भने)– कति फुस्रो भएर हिँडेको ? साँच्चै मैले नबुझेको कुरो– के चुरा र सिन्दूरमै अडिएको छ श्रीमान्को आयु ? प्रथा सम्झेरै विरक्त लाग्छ ।

महिलालाई पर्ने पीडाको अर्को एउटा डरलाग्दो घटना सम्झिन्छु । केही दिनअघि नेपाल यातायातमा सवार एउटी युवती सिटबाट उठ्दा उसको कपडामा रगत देखियो । रगतले सिट पनि भिजेको थियो । हत्तपत्त सिटमा बस्न खोजेकी अर्की महिला कराइन्, ‘के गरेर हिँडेको ए बेइजती !’ युवतीलाई सबैले फर्केर हेरे । लाजले उनी बसबाट निस्किइन् । यस्तो त सधैं हुँदैन, कहिलेकाहीं हुन्छ, हुन सक्छ ।

दुई महिलाबीचको यो घटनामा कसको जित ? कसको हार ? भन्न त मान्छेहरू भन्छन्- समय फेरियो । तर, साँच्चै हामीचाहिँ फेरिन किन नसकेका ?

प्रकाशित : भाद्र ५, २०७८ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्

समुद्र किनारमा एक कुटी

समुद्रको तिर्खाले विकास, मनोरञ्जन, चहलपहलका हाम्रा सपना कुँजिएजस्ता लाग्छन् । तर, समुद्र किनारमा पनि जीवन ऐतिहासिक रुपमै सजिलो थिएन । र, अहिले पनि छैन ।  हुँदाखाँदाको यथार्थ नहेरेर कागको पछि लाग्नुजस्तै हो– समुद्रतिरको दौड । समुद्र ! समुद्र !! भन्दै किन दौडन्छन् मानिसहरु ? लेखक सोध्छन् :
सौरभ

शीर्षक परिचयथेग्नै गाह्रो हुनेगरी सामान लादिएका अजंगका मालवाहक पानीजहाजहरू बगालै यात्रा गरिरहेको देखिने, तर चौडाभन्दा चौडा बगरको वारि नै ताड र नरिवलका रूखहरू तल ठिंग उभिएको कुटीलाई ‘नेपाल’ भनेर बुझियो भने यो लेख निष्चय नै स्पष्ट हुनेछ । 


लेखोट मूलतः समकालीन राजनीति र कूटनीतिसँग सम्बन्ध राख्दैन । सुरुमा ‘समुद्री किनार’ उपशीर्षक अन्तर्गत दिइएको एउटा प्रसंग राजनीतिकजस्तो लागे पनि त्यो सन् १९४७ भन्दा अघिको अर्थात् इन्डिया बन्नुपूर्वको हो, प्राज्ञिक भइसकेको । यति बेलालाई रोचक होला, तर अन्य सन्दर्भका निम्ति अर्थहीन । र, समुद्रको अर्थ समुद्र मात्रै होइन, त्यहाँको पानीको अजस्र स्रोत हिमाल पनि हो । कुरा सुरु गरौं ।

समुद्री किनार

ब्रिटिसहरूले इन्डिया छोड्ने कुरा नेपाललाई थाहा थियो, इन्डियनहरूलाई भन्दा पहिला– पुरुषोत्तमशमशेर राणाले उहिल्यै एकदिन गफका सिलसिलामा भनेको सम्झना हुन्छ, ‘हामी इन्डियालाई सबैतिरबाट खुला पनि छोड्न चाहँदैनौं, यसैले पूर्वी भाग (अहिलेको बंगलादेश) तिरको भू–भाग तिमीहरू चाहन्छौ भने भन हामी सकारात्मक छौं भनेका थिए अनौपचारिक रूपमा अंग्रेजहरूले नेपालका शासकहरूलाई । त्यसो भन्न उनीहरू प्रतिनिधिमण्डल नै बनेर आएका थिए, तर हाम्रा शासकहरूले आँट गरेनन् ।’

आँटका दुई अर्थ लाग्छ । पहिलो- मोहम्मद अली जिन्नाले मुसलमान–बहुल इलाकामा पाकिस्तान हुनुपर्छ भनेकाले त्यो भूभाग नेपालको हुनु सम्भव थिएन । दोस्रो- धर्मभीरु राणाशासकहरू सनातनधर्मी नेपाललाई मुसलमान–बहुल इलाकासँग जोडेर यसको परम्परालाई अबरुद्ध गर्न तयार थिएनन् ।

समुद्रसँग जोडिने एउटा अपूर्व अवसरलाई गुमायो नेपालले- बहुसंख्यकले बुझ्ने कुरा यही नै हो यतिबेला । द्रुतगतिमा विकास हुने, विश्वसँग सम्पर्क गर्न सकिने एउटा बाटो बनेन- विकासवेत्ता र अर्थशास्त्रीहरूले भन्ने कुरा यही नै हो यतिबेला ।

तर- सन् १८५४ मा अमेरिकाका म्याथ्यु पेरीले आक्रमण गरेर आफूसँग व्यापार गर्न बाध्य गराएका थिए जापानलाई ।

टमस रोय समुद्रकै बाटो उत्रेका थिए इन्डिया । उनले सन् १६१२ मा मुगल बादशाह जाहँगिरसँग गरेको वाणिज्य सन्धी नै इन्डियालाई उपनिवेश बनाउने कार्यको थालनी थियो ।

भास्को द गामा समुद्रबाटै गोवा उत्रेका थिए, इन्डियालाई पोर्चुगिज उपनिवेश बनाउने अभियानको थालनीमा । क्याप्टेन कोलम्बस अमेरिकालाई स्पेनिस उपनिवेश बनाउन समुद्री बाटोबाटै गएका थिए दोस्रोपल्ट । संसारमा जति पनि उपनिवेश बने ती शतप्रतिशत भनेजस्तो समुद्री बाटोबाट बने ।

प्रश्न पहिलो- समुद्रसँग जोडिएको भए तिमीले आफ्नो सार्वभौमसत्ता हजारौं वर्षदेखि अक्षुण्ण राख्न सक्थ्यौ ?

सम्पदा

नेपालमा सुन पाउनु आयरल्यान्डमा सर्प फेला पार्नुजस्तै हो- कर्क पेट्रिक, हेमिल्टन, ओल्डफिल्ड कसले लेखेको हो ? यतिबेला ठीक सम्झना छैन, तर सन् १९५० भन्दा अगाडि नै अंग्रेजले लेखेको चाहिँ हो ।

सन् १९७० को दशकमा क्याम्बोडियामा २० लाखको ज्यान लिने खमेररुजको शासन चल्यो । त्यसको मुख्य इलाका थियो ‘पालिन’ । पालिन विशेषगरी सूर्यास्त माणिकका निम्ति संसारको आँखी बनेको ठाउँ हो । यही सूर्यास्त माणिक खमेररुजको आम्दानीको मुख्य स्रोत थियो । र, नै त्यसलाई उसले सबैभन्दा बलियो पकडमा राख्यो । र, पश्चिमा व्यापारीका निम्ति सबैभन्दा बलियो बिचौलिया पनि उही रह्यो अर्थात् खमेररुज पालिनमा पश्चिमा व्यापारीहरूको मुख्य एजेन्ट थियो ।

१९७० कै दशकमा कंगो विश्वको सबैभन्दा ठूलो तामा उत्पादक देश थियो (यति बेला चिले छ), राष्ट्रपति थिए– मोबुतु सेसे सेको । र, तामा उत्पादन हुने इलाका कटांगामा दर्जनौं पटक ठूलाठूला विद्रोह भए । तामा निर्यात हुने मुख्य देश थियो पूर्वमालिक फ्रान्स ।

विद्रोह गराएर मोबुतुलाई भाउ मिलाउन दबाब दिनु, कुरा मिलेपछि फेरि पदमा थामेर लाभ बाँडफाँड गर्नु आयातकर्ताहरूको संस्कृति नै थियो, मारमा थिए त कंगोका जनता ।

सियरालियोनमा हीरा टिप्न हिँडेका हजारौं हातहरू काटिनुको कारण यही थियो । स्पेनिस पिज्जारो र उसका अनुयायीहरूले एजटेक र माया सभ्यता सिध्याएकै सुन लुट्नका निम्ति हो । सेसिल रोड्स र उनका अनुयायीहरूले दक्षिण अफ्रिकी भूभागहरूमा अश्वेत शासन लादेकै सुन, क्रोमियम, प्लेटिनियम र हीराका निम्ति हो । मध्यपश्चिममा संसारको पकडको कारण नै त्यहाँको पेट्रोलका निम्ति हो ।

निश्चय नै सुन पाइन्छ नेपालमा, तर दक्षिण अफ्रिकाको प्रतिटन ढुंगा १५ ग्राम वा इन्डोनेसियाको इरियन जायाको प्रतिटन ढुंगा ३० ग्रामको अनुपातमा चाहिँ होइन, इन्डियाको कोलारको प्रतिटन ढुंगा ०.३ ग्रामभन्दा पनि धेरै तल ।

प्रश्न दोस्रो- तराईमा सर्पजस्तै सुन छ्याप्छ्याप्ती पाइने भए के तिमी यति सुरक्षित रहन सक्थ्यौ ?

सैपाल–सगरमाथा

यो देशमा छ नै के ? सधैं भिरालोबाट माटो बगिरहन्छ । परियोजना मागेर ल्याउनुपर्छ । त्यो हरिसिद्धि इँटा–टायल कारखाना, बाँसबारी छाला जुत्ता कारखाना पनि वीरेन्द्रको चीन यात्रामा उपहारको रूपमा मागेर ल्याएको हो- दरबारका एक अवकाशप्राप्त सचिवले एक गफमा भने । वीरेन्द्रका सचिव थिए उनी । गफको समय वीरेन्द्रका अन्तिम दिनहरू थिए ।

आफ्नो देशको क्षमताप्रति विश्वास नभएकाहरूलाई कर्मचारी बनाएपछि बन्छ पनि के ? लाग्यो पंक्तिकारलाई । (‘यो देशमा के छ र ?’- भनेर २०१५ सालका मन्त्री सूर्यप्रसाद उपाध्यायले दिएको अभिव्यक्ति, आज सम्झना नभएको कुनै पुस्तकमा पढेर पंक्तिकारलाई उहिल्यै पनि लागेको थियो- आफ्नो देशप्रति विश्वास नभएको व्यक्ति मन्त्री भएपछि हुन्छ पनि के ?)

यो ‘सधैं माटो बगिरहने भिरालो’ भनेको विश्वको कान्छो पर्वतशृंखला अर्थात् हिमालय हो । गण्डकी नदीभन्दा कान्छो मानिएको यो हिमालय पनि उठ्दा उठ्दा ३० हजार फिट पुग्न लागिसक्यो । सगरमाथाको टुप्पोमा पुग्नेहरू भन्छन्- बेग्लै संसार देखिन्छ त्यहाँबाट, चारैतिर हिउँले पुरिएका शिखरहरूको विशाल फैलावटबाहेक केही देखिँदैन- कति हिमाल कति !- एकताका खुबै नाम कमाएका सगरमाथा आरोही सुङदरे शेर्पाले यस्तै भनेका थिए पंक्तिकारलाई । त्यसपछि पनि भेटिए कैयन सगरमाथा आरोही ।

तर, चंगेज खाँ र कुब्लाई खाँहरू पसेनन् नेपाल आक्रमण गर्न किनभने उनका सबैभन्दा महत्त्वपूर्ण युद्ध उपकरण घोडानिम्ति अनुकूल थिएन, त्यत्रो विशालकाय हिमालयको लस्कर । आएको भए चंगेज र कुब्लाई खाँको हातपर्ने थिए यहाँका त्यतिबेलाका लगभग २५–३० लाख नागरिकहरू, जसलाई दास बनाएर बेच्न सकिने थियो मंगोलिया, मध्यएसिया र दक्षिण एसियामा । उनीहरूले अनगिन्ती पटक दोहोर्‍याएर हत्या नगरेको अवस्थामा पनि चंगेज खाँले आक्रमण गरेको इलाकाका कुनै नागरिकलाई बाँच्न पाउने अधिकार दिएनन् ।

अशोकले देखेनन् मगधबाट हेरेको ‘दूरबिन’ले नेपाल तराईको घना जंगलभित्र मानिसहरू नै । त्यहाँबाट चिसो उत्तर लाग्न उत्साह भएन प्रचण्ड गर्मीमा बसेका उनलाई । र, चिसो उकालोले नरोकेको भए अर्को भीषण रक्तपात नहुने थिएन । आखिर उडिसाको कलिंगमा उनले रगतको खोलो बगाएकै हो- त्यो देखेर विरक्तिँदै बौद्ध धर्मावलम्बी हुनलाई । पंक्तिकारले त्यो ढिस्कोमा उभिएर उनको आँखा कहाँसम्म पुग्यो होला ? एउटा काल्पनिक आकलन गरेको पनि हो ।

तिमीलाई अझै पनि लाग्छ, समुद्र किनार भइदिएको भए म सम्पन्न र सुखी हुन्थेँ ? किनारमा भएको भए तिमीलाई सयौं माछाका स्वाद थाहा हुने थियो । तर, पुर्खाले बेहोरेका सुनामीका अनगिन्ती कथा सुनाइरहन्थ्यौ । अनि आफू भने समुद्री आँधी र सुनामीको एउटा समाचार बनिरहन्थ्यौ ।

यद्यपि पाँच फिट हिउँमा डुबेरै बाटो तय गरेका हुन् चंगेज खाँका सेनापति सुबुताई र मुखलाईले, तर त्यो अपवाद हो । बेलाबेला हिउँ पर्ने फ्रान्सका नेपोलियन पनि हिउँले कठांग्रिएर रुसविरुद्धको आक्रमणबाट फिर्ता भएका हुन् । यद्यपि सिमोन बोलिभारले हिजो मात्रै एन्डिजमा पर्ने पिस्बाको हिउँ नछिचोलेका होइनन्, स्वाधीनताका निम्ति भएको युद्धकालमा । त्यो पनि अपवाद हो ।

रेवती

दासप्रथा थियो- चन्द्रशमशेरले उन्मूलन गरे, इतिहासले साबित गरेको कुरा हो । कमैया थिए, हलिया थिए, बालीघरे थिए- अहिलेकाहरूले निरन्तर भनिरहने कुरा हो ।

रेवती- कमारी, दास हुन् पंक्तिकार स्वयंले देखेको । डल्ली–डल्ली थिइन्, गोरी थिइन्, निरन्तर हाँसिरहने, लज्जालु स्वभावकी थिइन्, ७० वर्षमाथि पुगिसक्दा पनि २०३५ तिर दास युगकी अन्तिम अवशेषजस्तै थिइन् तिनी । मानौं त्यो युगकी क्युरिओ थिइन् । आँखामा गाजल कहिल्यै छुट्दैनथ्यो ।

तराईतिर दिएकी छोरी र त्यस छोरीबाट उत्पन्न सन्तान पछि लगाएर बुवाको मावलीघर कालिकास्थानबाट ओर्लिएकी थिइन् ती हाम्रो घरसम्म । यो दृश्य पंक्तिकारले सम्झेको मध्ये सबैभन्दा पछिल्लो हो । ती छोरीका बाबु उनी त चिन्दी हुन् तर खोलिनन् यस्तो कहिल्यै । कुनै सन्तानका बाबुको हुलिया खोलिँदैनथ्यो पनि त्यस्तो दासका । पंक्तिकारकी आमाको भनाइ थियो- दास प्रथा उन्मूलनपछि पनि पुरानो मालिकको घर छोड्न नचाहेकीले रहेकी हुन् उनी ।

प्रश्न तेस्रो- सधैं भिरालोबाट माटो बगिरहने हिमाल नउभिइदिएको भए र समुद्रबाट पनि धेरै पर नभइदिएको भए हाम्रै कुनै वंशावली हुन्थ्यो ? हामी स्वयं रेवतीहरू भइसक्थ्यौं ।

साम्राज्य

सामागाउँ (उत्तरी गोरखा) का एक वृद्धले भने- रुई भोटमा थियो हाम्रो घर । उतिबेला चीनले तिब्बत लिँदा ‘यस्तो कम्युनिस्ट शासनमा बस्न हुँदैन’ भनेर यता नेपाल आइयो । अहिले उता सुखैसुख छ, यता दुःखैदुःख छ । दक्षिणका माम्लामा पनि यस्तै टिप्पणीहरू बेलाबेलामा सुनिन्छन् ।

नाम लिँदा होच्याएजस्तो हुनेछ, यसैले कुनै पनि नाम नलिईकन यति भन्न बाध्य छु- हाम्रा सयौं राजदूतहरू यतिबेला डेढ अर्ब जनसंख्या पुग्न लागेको चीनका नागरिक भएका भए- ती सामान्य निजी कम्पनीको क्लर्क हुनका निम्ति पनि पसिना चुहाइरहेका हुन्थे ।

नाम नलिईकन यति मात्र भन्न बाध्य छु, सयौं मन्त्रीहरू हाम्रा यतिबेला सवा अर्ब जनसंख्या पुग्न लागेको इन्डियाका नागरिक भएका भए, होच्याएको आरोप नलागोस् ती अत्यन्तै तल्लो पदमा बहाल हुनका निम्ति बिन्ती भाउ गरिरहेका हुन्थे ।

नाम नलिईकन यति मात्र भन्न बाध्य छु- सरकारी छात्रवृत्तिमा विदेशबाट पढेर आएका आजका कैयनले त्यो छात्रवृत्ति पाउन सम्भव हुन्थ्यो होला ? आज विशेषज्ञ हुनलाई !

न नाम चलेको लेखक, न चिनिने चित्रकार, कलाकार, न संगीतकार, न गायक, न ठूलो व्यापारी, न योजनाकार, न अर्थशास्त्री, फगत चना पसले, मादले र गोफ्ले मात्र हुन्थे ती अनुहारहरू ।

प्रश्न चौथो- तिमी ठूलो साम्राज्यको नागरिक भएको भए के तिमीले प्रतिस्पर्धा गर्नुपर्ने नागरिक यति नै हुन्थ्यो ? र, आज तिमीलाई मिलिरहेको ठूलो भाग पाउन सम्भव थियो ?

ईर्ष्याको सीमा

तपाईंहरू त उतिबेलै काठमाडौंवासी हुनुभएछ नि ! हामीचाहिँ किन अक्करे भीर खोज्दै पहाडतिर लागेछौं ?- एक जनाले प्रश्न गरे ।

एकाएक आएको प्रश्नले बरु पढ्नेलाई तिरिमिरि होला पंक्तिकारलाई भने अलमल्याएन ।

सबैभन्दा पहिला कोही शत्रुले कतैबाट फेला पार्ने सम्भावना थिएन, त्यो मानिसले मानिससँगै लुकेर हिँड्नुपर्ने युगमा । मुस्ताङका गुफाहरू यसैका प्रमाण हुन् । चेपाङहरू आज पनि कतिपय ओढारमा बसिरहेका समाचार आउँछन् । उनले पनि त्यस्ता कैयन् समाचार बनाएका होलान् ।

प्रशस्त चरा, जनावर, कन्दमूल, फलफूल थिए खानलाई । खेती गर्नुपर्ने दरकारै थिएन । र, औलो, टाइफाइड जस्ता रोगहरूको न डर थियो, न यस्तो छ भन्ने नै थाहा थियो । पानीको मूल त्यहीं नै भएकाले रोगव्याधिको त्रास भएन कहिल्यै । सर्प, बिच्छी, बाघ, हात्ती आदिको पनि डर थिएन । डर थियो त एउटै कुराको- अत्यन्त एकलासको । त्यही एकलासको नाम हो भूतप्रेत, त्यही एकलास कारण हो ‘सामानिज्म’ को ।

मीठो भाषामा भन्दा- जीवन शान्त थियो, अलि नपच्ने भाषामा भन्दा- जीवन गतिहीन थियो ।

प्रश्न पाँचौं- आफू गतिहीन भएपछि तिमीले गर्दा मचाहिँ अविकसित भएँ भन्न कसरी मिल्छ ?

यो लेखको एउटा विशेष अर्थ यही प्रश्नमा पनि निहित छ- ऊ मात्रै होइन हामी सबै सुरक्षित थियौं, तर गतिहीन । हिजो त्यो शान्त जीवन सुन्दरतम कुरा थियो । आज गतिशील विश्वसँग तुलना गर्दा आफैंलाई विगत र वर्तमान बोझजस्तो भएको छ । बाँकी विश्व अशान्त थियो निश्चय नै, त्यसैले गतिशील थियो । र, जब हिलोमा उम्रेको कमलजस्तै अशान्तिमा फुलेको उसको गतिशीलता आफ्नो आँगनसम्म आइपुग्यो- हामी प्रतिक्रियात्मक भयौं, प्रतिक्रियात्मक छौं र प्रतिक्रियात्मकता नै हाम्रो नियति भएको छ ।

कालपात्र

२०२८ को वर्षबाट तीन चरण देखेको छु- नेपालको गृह निर्माणको । काँचो इँटले बनेका र छ्वालीको छाना हालेका घरहरूका लस्करहरू ढले र तिनका ठाउँ पाको इँटले बनेका मुन्डन घरहरूले लिए ।

२०४० को दशक लाग्दा/नलाग्दै ती घरहरू पनि लडे र तिनका ठाउँ कंक्रिटका पिलर र ढलानले बनेका घरहरूले लिए । २८ देखि आज ७८ भन्नाले ५० वर्षदेखि निरन्तर घर, घर र घर बनिरहेको छ पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्म । हामीलाई एउटा पक्की घरको भयानक अभाव रहेछ, पक्की घरको भयानक तिर्सना रहेछ । हामी औताएका, रन्थनिएका र काकाकुल भएका रहेछौं एउटा पक्की घरका निम्ति । यो क्रम अझै मत्थर हुने देखिँदैन ।

एउटा राजनीतिक पार्टीले ५० को दशकको सुरुतिर ल्याएको ‘आफ्नो गाउँ आफैं बनाऊँ’ भन्ने नारापछि धमाधम सडकहरू बने । र, अब ठूलाठूला पक्की राजमार्गहरू बन्न थालेका छन् । हामीलाई सडक पनि उत्तिकै चाहिएको रहेछ । लगभग २० वर्षदेखि त्यो कायम छ । र, त्यसको क्रम पनि कम हुने देखिँदैन ।

यी दुवैको गति मत्थर भइसक्दा शिक्षा र स्वास्थ्यको तिर्खा उकालो लागिरहेको हुनेछ- बोल्नलाई धेरै नै हतार गर्ने तिम्रो चुच्चो बिजुलीको गतिमा चलायमान हुनेछ भन्ने म जान्दछु ।

प्रश्न छैटौं- तिमी आफ्नो उत्पादन कहिले र कुन शताब्दीमा पुगेर गर्छौ ? त्यसमा, अनुसन्धानमा आधारित विकास कुन शताब्दीमा पुगेर जोड्न थाल्छौ ? जसलाई देखाउन चाहन्छौ, ती सबै अर्को ग्रहमा बसाइँ सरिसकेपछि ?

हिमाली चिसा मानिसहरू

जति पनि छ नुनपानी हालेर गोडा डुबाउने बाटा । आखिर हामी यहाँ के सेवाका निम्ति बसेका ?- होटल सञ्चालिकाले भनिन् टुकुचेमा । झन्डै बाह्र घण्टा हिँडेर पुगेको ठाउँमा त्यो अप्रत्याशित उत्तरले दिएको खुसी अपार थियो ।

मोजा लगाएको गोडाचाहिँ ओछ्यानमा नराखिदिनोस् है ?- भोजपुरका होटल सञ्चालकले भने । नभन्दै उनले दिएको शयनकक्ष कतै छुँदा पनि दाग लाग्ला जस्तो थियो ।

महिला थकाली हुन्, पुरुष नेवार हुन् । यी दुवै यायावर व्यापारीका उत्तराधिकारी हुन् । उनीहरूलाई भित्रैदेखि थाहा छ- यात्रुका कठिनाइहरू कस्ता हुन्छन् ? कस्तो अत्यन्त सानो सुविधाले हृदयदेखिको खुसी दिन्छ ?

यो त्यो बेलाको कुरा हो, जतिबेला होटल होइन, व्यक्तिका घरमा बास माग्नुपर्थ्यो यावत् पहाडभरि । यस्तै एक–दुई फाटफुट होटल भेटिए मात्रै हो । ब्राह्मण वा अन्य जातिका होटल भेटिए कालो ध्वाँसोको यस्तो संसार हुन्थ्यो- कुनै घर हो या अन्धमुस्ठी गुफा हो ? पत्तै नहुने । खानै दिगमिग, सुत्नै दिगमिग । त्यसको विपरीत पश्चिमा ट्याभर्न र इन पाइला–पाइलामा हुने संस्कृतिको सुरुआत भएको सदियौं सदियौं भइसक्यो । अहिले होस्टल, बी एन्ड बी, मोटलको मारामार छ उतातिर । यो उदाहरण मात्रै हो होटेलको, मूल सन्दर्भ कुनै पनि व्यवसायको हो ।

प्रश्न सातौं- आफ्नो उत्पादनको निम्ति धनी हुनुपर्‍यो । तर, धनी हुनलाई मुद्रामैत्री, बजारमैत्री, ग्राहकमैत्री आचरण छ तिम्रो ? त्यसले ‘न्यानोपन बोध’ गर्छ कहिल्यै तिम्रो व्यवहारले ? किनभने तिमी यायावर नै होइनौ । तिमी त पहाडमा जमेको जडभरत न हौ ।

नतिजा फेरि ईर्ष्या

चंगेज र अशोकले ‘दूरबिन’ ले हेरे, तर देखेनन् पहाडका जंगलभित्र कोही मानिस । सुन लुट्न सकिने, कुत बुझ्न सकिने, दास बनाउन सकिने केही सम्भावना रहेन, ती फर्किए ।

तर, दुई हजार वर्षपछि जब गुफामा लुकेको मानिस जंगलको किनारमा पुगेर हेर्‍यो- मानिसहरूले धान, गहुँ, नजाने अनेक नामका घाँसको खेती गरिरहेका रहेछन् । अन्न उब्जाइरहेका रहेछन् । अनेक घाँस फुलिरहेका रहेछन् । सुबिस्ताको जीवन रहेछ, दूध दिन छोडिसकेका अनेक पशु खोजेर हिँड्नै नपर्ने । त्यो जीवनप्रति लोभ लाग्यो, चौंचौं लाग्यो ।

तर, सधैं आकाशबाट फल झारेर खाइरहेको बानी, निहुरिएर माटो कोतर्न मन लाग्ने कुरै भएन । यता धान काटेर फसल भित्र्याइदिन आएको विहारीलाई चाहिँ भन्यौ- शरणार्थी ! तर, जब विदेशी धान खेतको मालिकले भन्यो- पसलबाट धान किनेर खान सकिने पैसा दिन्छु सोझै, कोकाकोलामा मुछेर भात खा ! बियरमा साँधेर घोटेको चन्दन खा ! तिमी ‘आशे’ भएर कुबेत र कतार लाग्यौ, कफनमा बाँधिएर फर्कनलाई !

यहाँ मानिस जेटी र जेटीए हुन्छ आफ्नो खेतीमा त्यो ज्ञान लगाउनलाई होइन, जागिर खानलाई । कृषिमा पीएचडी गर्छ आफ्नै खेती गर्नलाई होइन, जागिर खानलाई । अर्थशास्त्र र वाणिज्य पढ्छ आफ्नो व्यवसाय सफल बनाउनलाई होइन, जागिर खानलाई । इतिहास पढिहाल्यो भने आफूलाई चिन्न होइन, जागिर खानलाई । भूगोल पढ्यो भने धरातल चिन्न होइन जागिर खानलाई । जागिर अर्थात् कसै न कसैको नोकर, नोकर र नोकर नै हुनलाई । कतारोमा तलब थाप्नलाई ।

प्रश्न आठौं- तिमीले आफ्नो सीपको उपयोग आफ्नै लागि गरेर बाँच्ने कोसिस कहिले गर्‍यौ ? र, तिमीले टेकेको भार थाम्न नसकेर समयको हाँगा निहुरिने हो ? अर्थात् तिमी धनी भएको तिम्रो जीवनकालले देख्न के जरुरी छ ?

आँधी र हुरी

चीनले विगत २० वर्षदेखि भित्र्याइरहेको रद्दी प्लास्टिकमा एक्कासि प्रतिबन्ध लगायो, तर कराँची र बंगलादेशमा रद्दी जहाजहरू किनारा लाग्ने र त्यसलाई भत्काउने काम भइरहेकै छ । मलेसिया र इन्डोनेसियाका किनारमा रद्दी प्लास्टिक र आणविक फोहोरहरू फाल्ने काम भइरहेकै छ । यावत् अफ्रिकी समुद्री किनारका देशहरूमा फोहोरहरू छोड्ने काम भइरहेकै छ ।

प्रश्न नवौं- हो दुईपल्ट महामारीको वेग आयो आफूले नचाहँदा नचाहँदै पनि । यसको वेगलाई नियन्त्रण गर्न सकिएन । पूरै रोक्नु त धेरै परको कुरा । तर, खुला समुद्र किनार भएको भए वर्षको ३६५ होइन ३६७ दिन बलियो देशले फालेर जाने दुसाध्य व्याधि तल तिम्रो हालत के हुने थियो ?

बिहान र साँझ

समुद्र किनारमा उभिएर जब छाल र लहरहरू हेरिन्छ, जब सूर्य डुब्छ असाध्यै सुन्दर देखिन्छ, मनले अव्यक्त आनन्द बोध गर्छ । बगरमा मानिसहरूको चहलपहल भइरहन्छ, सुगम पनि हुन्छ आउन जान- मानिसहरू भन्छन् ।

प्रश्न दसौं- तर, जौ जस्तै लाग्दैनथ्यो होला तिमीलाई समुद्र किनार, ऋषिमुनिदेखि आधुनिक विज्ञानले समेत निरन्तर प्रशंसा गरिरहने, तर ५–७ दिन खाएपछि अमन हुने ? त्योसँग तुलना गर्दा जति खाए पनि अमन नहुने चामल र गहुँ होइन र हिमालय, त्यसतलका थुम्काहरू, जसमा प्रत्येक नागीले, प्रत्येक थुम्काले चारैतर्फ बेग्लै दृश्यहरू निरन्तर उब्जाइरहन्छ ?

पुछारमा

तिमीलाई अझै पनि लाग्छ, समुद्र किनार भइदिएको भए म सम्पन्न र सुखी हुन्थेँ ? तिम्रो प्रकृतिले त्यस्तो सम्भावना देखाउँदैन । तिमी हदै सुखी भए फिलिपिन्स र इन्डोनेसियाका टापुहरूबीच देखिने डुंगामा किराना पसल र चमेनागृह राखेर भौंतारिइरहने स–साना पसलेमा परिणत हुने थियौ । तिमीलाई सयौं माछाका स्वाद थाहा हुने थियो । तर, पुर्खाले बेहोरेका सुनामीका अनगिन्ती कथाहरू सुनाइरहन्थ्यौ । अनि आफू भने समुद्री आँधी र सुनामीको एउटा समाचार बनिरहन्थ्यौ ।

आज तिमीलाई जब म हेर्छु- तिमी कुनै ‘सिपिङ म्याग्नेट’ हुने सम्भावना परपरसम्म देख्दिनँ । म तिमीले समुद्रको पीँधबाट सुन ओसारिरहेको स्वैरकाल्पनिक दृश्य पनि देख्दिनँ । म तिमीले समुद्री छालबाट बिजुली निकालिरहेको तिलस्मी रेखाचित्रसम्म पनि कोर्न सक्दिनँ ।

किनारमा समुद्र भइदिएको भए तिमी हुने थिएनौ । किनभने तिम्रो अहिलेको जे कुटी छ, त्यही नै सम्भवतः हुने थिएन । तिमीलाई फुत्केको माछो ठूलो भएको मात्रै हो ।

प्रकाशित : भाद्र ५, २०७८ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×