२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९
प्रधानमन्त्रीलाई चिठी

प्राज्ञिक अपराधको विपक्षमा

सयौं स्थानमा हुन सक्छन् महान् प्रतिभाका संग्रहालय, तर तिनका घर कैयौं स्थानमा हुँदैनन् भन्ने तथ्य प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको ‘कविकुञ्ज भत्काउ दल’ लाई कसले बुझाउने ? कविकुञ्ज समाप्त पारेपछि अब महाकविको अर्को भावनात्मक–कविकुञ्ज खोज्ने कहाँ ?
सरुभक्त

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू,यतिखेर प्रधानमन्त्रीको हैसियतमा तपाईंका अधिकार र कर्तव्यको व्याख्यान छाट्ने कथित विद्वान् वा बुद्धिजीवी भएको स्वाङ नपारी समस्त नेपाली साहित्य वाङ्मयप्रेमी र विशेष महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि अपार श्रद्धा राख्ने उनैका एक अनुयायी भएको नाताले अत्यन्त जरुरी मानी यो सार्वजनिक पत्र लेख्ने दृढता गरेको छु ।

प्राज्ञिक अपराधको विपक्षमा

सन्दर्भ महाकवि देवकोटाको काठमाडौं मैतिदेवीस्थित घरको हो, जसलाई महाकविले ‘कविकुञ्ज’ नामकरण गरेका थिए— जसलाई नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्वले कुबुद्धिपूर्वक भत्काएर त्यसको स्थानमा फरक संरचनायुक्त घर बनाई संग्रहालय स्थापना गर्ने तयारी गर्दै छ । यो सन्दर्भले महाकविप्रति श्रद्धाभाव राख्ने हामी सबैले आहत् महसुस गरिरहेका छौं । तपाईंलाई स्मरण गराउन चाहन्छु, विसं २०६१ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू चयन हुँदा तपाईं प्रधानमन्त्री हुनुहुन्थ्यो । तपाईंको र मेरो व्यक्तिगत परिचय नभए पनि (अहिले पनि छैन), तपाईंले मलाई परिषद् सदस्यमा मनोनयन गर्नुभएको थियो । त्यतिबेला प्रधानमन्त्री नै प्रज्ञा प्रतिष्ठानको पदेन कुलपति हुने व्यवस्था थियो । उपकुलपति वासुदेव त्रिपाठीको नेतृत्वमा करिब दुई वर्ष तत्कालीन प्रज्ञा प्रतिष्ठानमा कार्यरत रहँदा महाकविको कविकुञ्जलाई जीर्णोद्वार गर्ने र संग्रहालय स्थापना गर्नेबारे विचार विमर्श हुनेगर्थ्यो ।

म कविकुञ्ज छेउको एउटा घरमा डेरा बस्थें । महाकविका सुपुत्र प्रा.डा. पद्मप्रसाद देवकोटा मलाई कविकुञ्जबारे सरकारसित भइरहेका वार्ताबारे जानकारी दिने गर्थे । अहिले सरकारको सहयोगमा देवकोटा परिवारमा मोहियानी रहेको घर र घरले चर्चेको १२ आना १ दाम जग्गा नेपाल प्रज्ञा प्रतिष्ठानले हकभोगमा लिन सफल भएको कुराले अनि महाकविको कविकुञ्जले नयाँ जीवन पाउने भयो भन्ने सूचनाले सबै साहित्यप्रेमीझैं म पनि हर्षित भएको थिएँ । नेपाल प्रज्ञा प्रतिष्ठानको माउसंस्था तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको अन्तिम कार्यकालको सदस्य भएको नाताले मलाई विशेष हर्ष लाग्नु स्वाभाविक थियो । तर, केही दिनमा महाकविको कविकुञ्जलाई निर्ममतापूर्वक भत्काइएका तस्बिरहरू सार्वजनिक भए । कविकुञ्जको ठाउँमा नयाँ बन्ने घरको स्केच–तस्बिर पनि सार्वजनिक भयो ।

स्वाभाविक थियो कविकुञ्ज भत्काइएकामा साहित्य वाङ्मयप्रेमीहरूले चर्को विरोध गरे । धेरैको विरोधपछि नेपाल प्रज्ञा प्रतिष्ठानले विज्ञप्ति जारी गर्‍यो । विज्ञप्तिमा कविकुञ्जलाई भत्काउनु बाध्यात्मक अवस्था भएको, सवलीकरण गर्न नसकिने प्राविधिक ठहर भएको, साविकको बाहिरी स्वरूप आउने गरी सुविधाको दृष्टिले आधुनिक र कलाको दृष्टिले नेपाली मौलिकता कायम हुनेगरी घर बनाइनेजस्ता हास्यास्पद तर्क थिए । के देवकोटाको घरको बाहिरी स्वरूप मात्रै आउने गरी निर्माण गरेर त्यो कविकुञ्ज बन्छ ? के सुविधाका दृष्टिले आधुनिक, नेपाली मौलिकता कायम हुने र दर्शकलाई सुविधा हुनेगरी निर्माण गरेर त्यो महाकविको वास्तविक कविकुञ्ज बन्छ ? यी विषयबाट नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलगायत त्यस काममा लाग्नेहरू कति भावनाशून्य र इतिहासप्रति गैरजिम्मेवार मानिस रहेछन् भन्ने तथ्य खुल्छ । र, म असाध्यै चिन्तित छु— तिनीहरूका यस कर्मले भोलिका दिनमा सच्याउनै नसकिने कत्रो भयानक गल्ती हुँदै छ भन्ने कुराले । प्रधानमन्त्रीज्यू, त्यसैले म यी शब्द लेख्न बाध्य छु । र, तपाईंको ध्यानाकृष्ट गर्न बाध्य छु ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले विसं २००० मा कविकुञ्जको निर्माण गरेका थिए । उनी जन्मेको धोबीधारास्थित घर यथावत् छ । त्यसलाई पनि सरकारी स्तरबाट संरक्षण गर्नु आवश्यक छ । तर, देवकोटा आफैंले निर्माण गरेको, धेरै महत्त्वपूर्ण रचना सृजना गरिएको र उनको भावनासित जोडिएको घर कविकुञ्ज नै हो । विकसित देशहरूमा पनि स्रष्टाका जन्मघर, कर्मघर या उनीहरूका व्यक्तित्वसित सम्बद्ध सामग्रीहरू संरक्षण गर्ने प्रचलन छ । कविकुञ्जमा देवकोटा परिवारका सदस्यहरू नबसे पनि केही वर्षअघिसम्म त्यहाँ भाडामा मानिसहरू बस्थे । सानो इँटले बनेका गारोहरू पक्की थिए । घरभित्रका काठहरू, झ्यालढोकाहरू कुहिएका, लच्किएका भए पनि तिनलाई वैज्ञानिक प्रविधिअनुरूप जीर्णोद्वार गर्न नसकिने कुरा थिएन ।

सयौं/हजारौं वर्ष पहिले बनेका मठमन्दिर, भवनहरू जीर्णोद्वार भएका कैयौं उदाहरण छन् भने ७८ वर्ष पुरानो कविकुञ्जलाई जीर्णोद्वार गरी पहिलेको स्वरूपमा ल्याउने र संग्रहालयसमेत स्थापना गर्न नसकिने कुनै कुरै थिएन । नेपाल प्रज्ञा प्रतिष्ठानले महाकविको घर भत्काउनु ‘बाध्यात्मक अवस्था’ भन्नु र जीर्णोद्वार गर्न नसकिने प्राविधिक ठहर भन्नुका पछाडि तपाईं कुन प्राज्ञिक बुद्धिमता देख्नुहुन्छ ? ती कस्ता ‘होनहार’ प्राविधिक हुन्, जसले ७८ वर्ष पुरानो घरलाई जीर्णोद्वार गर्न नसकिने ठहर गरे ? के प्राविधिकका योग्यतामाथि यहाँ शंका गर्न सकिँदैन ? यदि प्राविधिकका राय ‘भत्काउनू’ भन्ने नै थियो भने पनि गंगाप्रसाद उप्रेतीको प्राज्ञिक दलले असहमति जनाई अरू उपाय खोजी गर्नुपर्थ्यो । अरू प्राविधिकसित सरसल्लाह गर्न सकिन्थ्यो । तर, कुलपति उप्रेतीको दलको नियत कविकुञ्जलाई पुनर्जीवन दिनु थिएन भन्ने कुरा प्रतिष्ठानको विज्ञप्तिबाटै स्पष्ट हुन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले साबिकको बाहिरी स्वरूप आउने, सुविधाका दृष्टिले आधुनिक र नेपाली मौलिकता कायम हुने, साथमा त्यहाँ आउने मानिसहरूका सुविधालाई पनि ध्यानमा राखी भवन निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । त्यस योजनाबाट थाहा हुन्छ— कुलपति उप्रेतीको कविकुञ्ज भत्काउ दलको दृष्टिमा देवकोटा–घरको कुनै महत्त्व छैन ।

प्रधानमन्त्रीज्यू, महाकविको कविकुञ्ज भत्काउनु एउटा अपराध हो । भक्तपुरमा नमुना–घरलगायतका मौलिकता समेटिएका घरहरू निर्माण गरी प्रख्याति कमाएका रवीन्द्र पुरीले भनेका थिए, ‘कविकुञ्ज भत्काउनुपर्दैन, कविकुञ्ज नमुना घरभन्दा बलियो छ । पहिलेकै स्वरूपमा मर्मत गर्न सकिन्छ ।’ विज्ञहरूका यस्ता राय आउँदा–आउँदै पनि घर भत्काउनुलाई सामान्य रूपमा लिन सकिँदैन । पुरीले पनि भनेका छन्— कविकुञ्ज भत्काउनु अपराध हो ।

अन्तर्राष्ट्रिय प्रचलनअनुसार, महान् साहित्यकारका घरलाई जस्ताको तस्तै जोगाएर राख्नुपर्छ । र, उनीहरूसित सम्बन्धित प्रत्येक सामग्रीलाई सकेसम्म उही वातावरण दिएर जोगाउनुपर्छ । तब नै साहित्य अनुरागीले यथार्थबोध गर्न सक्छन्— ती प्रतिभाका घर कस्ता थिए, उनीहरू कस्ता वातावरणमा बस्थे र कसरी अमर साहित्य–सृजना गर्थे भन्ने ! महान् प्रतिभाका संग्रहालयहरू देश–विदेशमा सयौं स्थानमा हुन सक्छन्, तर तिनका घरहरू कैयौं स्थानमा हुँदैनन् भन्ने तथ्य कुलपति उप्रेतीको कविकुञ्ज भत्काउ दललाई कसले बुझाउने ? कविकुञ्ज समाप्त पारेपछि अब महाकविको अर्को भावनात्मक कविकुञ्ज कहाँ खोज्ने ? अनि जीर्णोद्वार गर्ने भनेकै मक्किएका, भत्किएका, चर्किएका, प्रयोगहीन भएका, भुइँचालो आदिले क्षतिग्रस्त भई धरापजस्ता भएका पुराना घर र अन्य संरचनालाई वैज्ञानिक प्रविधिले पुनर्निर्माण गरी पहिलेको अवस्थामा ल्याउनु हो । प्राज्ञहरूलाई जीर्णोद्वारको अर्थ कसले बताइदिने ? अहिले केही पत्रकार र कविकुञ्ज छेउछाउका केही मानिसका हवाला दिएर वाहियात् प्रचारबाजी गर्ने गरिएको छ– कविकुञ्ज भत्काएकामा विरोध गर्नेहरू नयाँ घर र संग्रहालय नबनोस् भनी षड्यन्त्र गर्नेहरू हुन् ।

प्रधानमन्त्रीज्यू, हाम्रो देशमा पनि कवि शिरोमणि लेखनाथ पौडेलको घरलाई पोखरावासीहरूले संरक्षण गरिराखेका छन् । विश्वभरिका अन्तर्राष्ट्रिय प्रचलनका म केही उदाहरण दिन चाहन्छु । विलियम सेक्सपियर अङ्ग्रेजी साहित्यका सर्वकालीन महान् साहित्यकार र विशेष महान् नाटककार मानिन्छन् । उनी संयुक्त अधिराज्य बेलायतको राजधानी लन्डनभन्दा करिब १०५ माइल परको एउटा सानो गाउँ स्ट्राडफोर्ड अपन एभोनमा सन् १५६४ मा जन्मिएका थिए । सोहौं शताब्दीमा आधाजत्ति काठैकाठले निर्मित सेक्सपियरको उक्त घरलाई जस्ताको तस्तै संरक्षण गरी राखिएको छ । घरभित्र संग्रहालय पनि छ, तर सम्पूर्ण रूपले सेक्सपियरको पारिवारिक जीवन पुनर्सृजन गरिएको छ । जन्मघरभन्दा केही पर सेक्सपियरले आफैं कमाएर बनाएको नयाँ घर पनि यथावत् राखिएको छ । अहिले सेक्सपियरकै कारण स्ट्राटफोर्ड अपन एभोन चिटिक्कको सुन्दर नगरमा परिणत भएको छ, जहाँ सेक्सपियरसम्बन्धी अनुसन्धान केन्द्रसहित अनेक पसल छन्, जहाँ कुनै न कुनै रूपमा सेक्सपियरका सम्झना अंकित छन् ।

सेक्सपियरले अध्ययन गरेको ‘राजा एडवर्ड छैटौं ग्रामर स्कुल’ अहिलेसम्म विद्यमान छ । स्कुलको प्रवेशद्वारभित्र सेक्सपियरका कृतिसहित सोभिनियरको सानो पसल छ । भित्रीभागमा विद्यार्थीहरू अहिले पनि अध्ययन गर्छन् ।सेक्सपियर गाउँमा जन्मेका भए पनि उनले राजधानी लन्डनस्थित ग्लोब थिएटरमा काम गरी विख्यात नाटकहरू रचेका थिए । सन् १५९९ मा निर्मित ग्लोब थिएटर सन् १६१३ मा आगो लागेर नष्ट भएको थियो । सन् १६१४ मा त्यसको पुनर्निर्माण गरिएको थियो । प्युरिटनहरूले नाटक घरहरू बन्द गराउँदा ग्लोब थिएटर पनि बन्द गरिएको थियो । धेरैपछि सन् १९९७ मा पहिलेका संरचनालाई राम्ररी अध्ययन गरी सकभर त्यही रूपमा २३० मिटर परको सुरक्षित दूरीमा थिएटर निर्माण गरिएको थियो । हिजो–आज त्यसलाई सेक्सपियरको सम्मानमा ‘सेक्सपियर ग्लोब’ भनिन्छ । गोल आकारको, तीन तले दर्शकदीर्घा भएको र पन्ध्र सय दर्शक अटाउने त्यस विशाल थिएटरलाई पहिलेको ग्लोब थिएटरको अनुकृतिमा निर्माण गरिएको थियो ।

प्रधानमन्त्रीज्यू, हाम्रा पुर्खाहरूले युद्ध लडेका फिरंगी अङ्ग्रेजहरू आफ्ना ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक महत्त्वका संरचनालाई भविष्यसम्मै जोगाएर राख्न र सन्ततिका लागि प्रेरक स्थलको रूपमा विकास गर्न जान्दथे । अरू देशमा पनि यस्ता घटना भएका छन्, जस्तो संयुक्त राज्य अमेरिकाका महान् कवि वाल्ट ह्विटम्यानको ३२८ मिकेल स्ट्रिम, क्याम्डेनस्थित ६ कोठे घरलाई पनि उही समयको वातावरणअनुरूप सुरक्षित राखिएको छ । ह्विटम्यान न्युयोर्कमा जन्मेका थिए, तर उनी न्युजर्सी राज्यस्थित त्यस घरमा बसेका थिए । सन् १८६२ मा ह्विटम्यानको निधनपछि पनि त्यस घरका अधिकांश वस्तुहरूलाई उही स्वरूपमा उस्तै जोगाएर राखिएको थियो । सन् १९२१ मा क्याम्डेन सहरले त्यसलाई आफ्नो जिम्मामा लियो । र, पछि न्युजर्सी राज्यले वातावरणीय संरक्षण ऐतिहासिक सुरक्षण कार्यालयअन्तर्गत त्यसलाई सूचीकृत गर्‍यो । अमेरिकीहरूले आफ्ना महान् कवि ह्विटम्यानको घरलाई मात्र सुरक्षित राखेका छैनन्, त्यस घरवरपरको वातावरणलाई पनि ‘वाल्ट ह्विटम्यान नेवरहुड’ भनी विकास गरेका छन् ।

अब जर्मनीका महान् साहित्यकार गोथेको घर र उनको संग्रहालयको चर्चा गरौं । गोथे सन् १७४९ मा फ्याङ्कफर्टमा जन्मेका थिए । इनेनस्टाड फ्याङ्कफर्टस्थित त्यस घरमा उनले युवाकाल बिताएका थिए र विश्वप्रसिद्ध नाटक ‘फाउस्ट’ सहित अनेक कृति त्यसै घरमा बसेर लेखेका थिए । सन् १७९५ मा गोथेको परिवारले त्यो घर छोडेपछि धेरैले त्यसलाई ‘आफ्नो’ बनाए । पछि सन् १९६३ मा भू–वैज्ञानिक अटो भोल्गरले त्यो घरलाई किनेपछि उनले त्यसलाई गोथेको परिवार त्यहाँ बस्दाको अवस्थामा पुनःस्थापित गरे । दोस्रो विश्वयुद्धको समय सन् १९४४ मे २२ का दिन मित्रराष्ट्रहरूले फ्याङ्कफर्टमा हवाई हमला गर्दा त्यो घर नष्ट भयो । तर, विश्वयुद्धको समाप्तिपछि सन् १९४७–१९५१ को समयावधिमा त्यस घरलाई सकेसम्म गोथेको परिवार त्यहाँ बस्दाको अवस्थाअनुरूप पुनर्निर्माण गरियो । गोथेको घर पुनर्निर्माण भएपछि सँगै गोथे संग्रहालय पनि स्थापना गरियो ।

कुलपति उप्रेती समय–समयमा चीन भ्रमणमा गएको मलाई सम्झना छ । चीन जाँदा उनले राजधानी बेइजिङको मुटुमा रहेको फोरविडन सिटी र चीनको ठूलो पर्खाल अवश्य भ्रमण गरेका होलान् । मिङ र क्विन वंशका शासकले चौधौं शताब्दीमा निर्माण गरेका, बहत्तर हेक्टरमा फैलिएको, ८८० घरहरू भएको त्यस विशाल सिटीलाई युनोस्कोले ‘प्राचीन काठे संरचनाको संरक्षित सबैभन्दा विशाल संग्रह’ भनी विश्वसम्पदा सूचमा सूचीकृत गरेको छ ।

चीनको अर्को महान् विश्वसम्पदा ‘चीनको ठूलो पर्खाल’ हो भन्ने सबैमा विदित छ । सातौं–आठौं शताब्दीदेखि तेह्रौं–सोह्रौं शताब्दीसम्म शासन गर्ने झ्याउ, क्विन, हान र मिङ वंशका शासकहरूले मुख्य रूपले बाहिरी आक्रमणबाट बच्न र रेशम बाटाको व्यापारलाई सुरक्षित पार्न त्यो पर्खाल निर्माण गराएका थिए । बेइजिङमा हाम्रै महान कलाकार अरनिकोले निर्माण गरेको सेतो पेगोडा पनि उही रूपमा संरक्षण गरिएको छ । यसबाहेक पनि आधुनिक चीनले हजारौं प्राचीन संरचना सुरक्षित राखेका छन्, जहाँ बर्सेनि लाखौं पर्यटक अध्ययन र भ्रमण गर्छन् । सयौं वर्षको समयावधिमा के चीनमा भैंचालो वा विपत्ति आउँदै आएनन् ? र, ती संरचना लच्केनन्, मक्किएनन्, काठहरू कुहिएनन् ? अहिलेका शक्तिशाली चिनियाँ शासकले ‘प्राविधिक ठहर’ र आधुनिकताको जलप लगाउने नाममा ती युगौं पुराना संरचना भत्काउने तारतम्य मिलाएका छैनन् त !

प्रधानमन्त्रीज्यू, यी सबै ऐतिहासिक पृष्ठभूमिमा तपाईंले महाकवि देवकोटाको ‘कविकुञ्ज’ ध्वस्त पार्ने आपराधिक क्रियाको निन्दा गर्नुहुनेछ भन्नेमा म अत्यन्त विश्वस्त छु । ध्वस्त पारिएको कविकुञ्जलाई पहिलेको संरचनाअनुरूप पुनर्निर्माण गर्न सकिने सम्भावना अहिले पनि छ । यसका लागि तपाईंले प्रमुख संरक्षकको हैसियतले हस्तक्षेप गर्नुपर्ने आवश्यकता म देख्छु । अन्यथा ऐतिहासिक कविकुञ्जमा महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय त बन्नेछ, तर भविष्यमा सन्ततिहरूले महाकवि देवकोटाको भावनाको कविकुञ्ज देख्नेछैनन् ।

भविष्यमा हाम्रा सन्तति भन्न बाध्य हुनेछन्, जसरी हामी भन्न बाध्य भएका छौं, ‘एक समय यहाँ महाकविको प्यारो कविकुञ्ज थियो, जसलाई प्राज्ञिक अपराधीहरूले भत्काइदिए ।’

२०७८।४।२५

प्रकाशित : श्रावण ३०, २०७८ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?