नागबेली उपनिवेश
तिमीले मलाई दिएको पहिलो शिक्षा थियो—
कदापि नघस्रिनू जिन्दगीमा
बग्नू, कहिले मतापमा
आफ्नै पिरतीलोकमा मग्न मायालुझैं
बग्नू, कहिले गडगडाएर
दुनियाँ फेर्न व्यग्र बागीझैं
धन्यवाद नदी !
तिमीले मलाई
गतिहीनताले
सुपारी दिएर निम्तो गर्ने
मृत्युबाट जोगाइदियौ
आमा बितेकौ चौधौं दिनमा
किनारको एउटा ढुंगामा बसेर
म तिम्रो बगिरहेको अनुहार हेर्दै रोइरहें
भन्थिन् आमा—
फोहोर नगर्नु नदीमा
उसको आत्मा रून्छ
फोहोरी नियतका मान्छेहरुले
बसाएका छन् नागबेली उपनिवेश एउटा
घातीहरुलाई के हेक्का रहन्थ्यो—
माछा, गिट्टी र बालुवा कसैका सन्तान हुन्
एक–एक गरी
कहिले अनिकालमा
कहिले युद्धमा
छोराछोरी गुमाएकी आमाझैं
तिमी छातीमा अनन्त शोकगाथा
र, गलामा हिक्काको नुनिलो धुन बोकेर
बेसुर, बेसुर भौंतारिरहेकी छौ
सपनामा म अखबार पढिरहेको हुन्छु
अखबारमा एक्कासि औरही खोला पस्छ
बगरमा
नदीप्रेमी ओमप्रकाश उर्फ दिलीपकुमार महतोको
रगताम्य शव टिपरको चक्कामुनि अड्किरहेको हुन्छ
प्रेमीहरुको कत्लेआम गर्न पल्केको देशमा
यो खुद्रा समाचार हो
(अथवा, समाचारै होइन...)
तर, कहिलेकाहीं
एउटै काँटीले पनि तपाईंको निद्राको जगत्
भस्म पारिदिन सक्छ
र, त्यसपछि तपाईं रुखलाई, नदीलाई, बादललाई,
चरालाई, माछालाई, केटाकेटीलाई, दिलीपहरुलाई
पहिले कहिल्यै नगरेको
चोखो प्रेम गर्न थाल्नुहुनेछ
यो एउटा कविको विश्वास हो
कृपया, मिथ्या साबित नगराइदिनुहोला
यस घडीमा
मैले साबित गर्नुपर्ने कुरा धेरै छन्...
म नदीलाई
प्लेकार्डमा, या ब्यानरमा,
या फेसबुकमा, या ट्वीटरमा मात्र
बास दिने मान्छे होइन
मेरा सारा धमनीहरु
नदीका आफ्नै घर हुन्
नदीको आखेट गरेर फर्केकाहरुको काँधको बन्दुकसँग
म डराउँदिनँ
खुंखारहरुको हातबाट नदीको बागडोर खोसेर
उसैका हातमा थमाइदिन
मेरो हृदयबाट
आगोको एउटा नदी त बग्छ, बग्छ ।
प्रकाशित : श्रावण २३, २०७८ १०:२४