हुमानसिं भुजेलको भैंसी–प्रेम- कोसेली - कान्तिपुर समाचार

हुमानसिं भुजेलको भैंसी–प्रेम

श्रवण मुकारूङ

घटना २०७८ असार–१ गतेको हो
मेलम्चीको बाढीले हेलम्बूको गोर्नागेसँगै
हुमानसिं भुजेलको भैंसी बगायो ।
बाइस किलोमिटर तल
देवदूतजस्तो कुनै युवाले
भैंसीको उद्धार गर्‍यो ।

संसारै लगेको बाढीले लगेको भैंसी

अचानक भेटियो भन्ने थाहा पाउनासाथ

हुमानसिं हामफाल्दै भैंसी भेट्न पुगे ।

हुमानसिंलाई देख्नासाथ भैंसी बर्बरी रोयो

आफ्नो प्राणप्यारी भैंसीको यस्तो हाल देखेर

हुमानसिंको कण्ठ अवरूद्ध भयो ।

मृत्युको मुखबाट भैंसी थुतेर ल्याउने त्यो देवदूतलाई

हुमानसिंले करूणामयी धन्यवाद दिए

त्यो देवदूतजस्तो युवाले सूर्यजस्तो उज्यालो मुस्कान फर्कायो ।

तब हुमानसिंलाई पछ्याउँदै भैंसी हेलम्बू फर्कियो

हुमानसिं र भैंसी

बाढीले बगाउन बाँकी आफ्ना साविक थातथलोमा बस्न थाले ।


माथि उल्लिखित घटना

कथा भइनसक्दै

गाउँमा एक दिन

हुमानसिं र भैंसीबीच यस्तो संवाद भएको खबर फैलियो :

हुमानसिंले दिएको मकैको खोले चाटचुट पारेर उग्राउँदै

भैंसीले भनी रे–

हुमानसिं !

यहाँ बाढी आउनु अघिल्लै दिन

माथि हिमालबाट हुर्रिंदै एउटा काग

ऊ त्यो चिलाउनेको रुखमा बिसाएको थियो

अत्तालिँदै

उतिबेलै त्यो कागले भनेको थियो–

बाढी आउँदै छ, भाग् भैंसी भाग्  !

त्यही साँझ

ऊ त्यो उन्यु, सालिम्मो र वनमारा हल्लाउँदै गएको सर्पले

भनेको थियो– बाढी आउँदै छ, भाग् भैंसी भाग्  !

त्यसपछि,

भ्यागुता, छेपारो, किथ्रा, जुरेली, ढुकुर, फिस्टा

सबै–सबैले नारा लाएका थिए– बाढी आउँदै छ ! बाढी आउँदै छ  !!

तब मैले

आकाशमा मडारिइरहेको बादललाई सोधेको थिएँ–

के साँच्चै बाढी आउँदै छ... ?

उसले निस्फिक्री भनेको थियो–

हो, पृथ्वीमा मनपरि गर्नेहरुविरूद्ध हामी एकजुट हुँदै छौं

बाढी अवश्य आउनेछ !


हुमानसिं  ! त्यसपछि मैले तिमीलाई रातरातभर कत्ति पुकारेँ हुँला  ?

के तिमी,

मृत्युबोधअघिको अन्तिम अनुनयको कल्पना गर्न सक्छौ... ?

जब बिहान घाँस दिन आयौ

मैले दाम्ला चुडाउँलाझैं गरी बेलिविस्तार लाएँ

तर, तिमीले मेरो पशु–बाक्के बुझेनौ

बार्दलीबाट आँगनको मगन्तेलाई भिख फ्याँकेझैं

पराल फ्याँकेर गइहाल्यौ ।


त्यही बेला मलाई महसुस भयो–

कि, हामी दुईको प्रेमबीच खास दूरी छ

हो, पशु र मानिसको प्रेमबीच दूरी छ ।

म तिम्रो भाषा बुझ्छु

र त युगौंदेखि,

म तिमीसित छु

तिमी मेरो भाषा बुझ्दैनौ

त्यसैले त तिमी मलाई यसरी अछुतसरह

गोठ, खेत, बारी, बगरमा छाड्छौ ।


जब मलाई त्यो दिन बाढीले बगायो

हजार मृत्युसित जुध्दै, तर म बाँचें

किनभने मेरो पेटमा बच्चा थियो ।

अफसोस  !

मैले तिमीलाई

तिम्रो हातमा मेरो जीवित बच्चा थमाउन सकिनँ ।

तर हुमानसिं  ! म भैंसी हुँ, मलाई विश्वास गर  !

तिम्रो दुःखमोचनका लागि म तिमीलाई

मेरा सारा सन्तानहरुको बलिदान दिन तयार छु ।

किनभने–

म तिमीलाई

पशु–प्रेम गर्छु ।

म मानिसलाई प्रेम गर्ने पशु हुँ

त्यसैले म तिमीसमक्ष

आफैंलाई भोग दिन तयार छु ।


...अहो !

एउटा विस्मयकारी मौनतापछि

चिच्याए हुमानसिं भुजेल–

ए मेरी काली भैंसी... !

म तेरो जीवनभित्र आफ्नो जीवन घिसार्दै

यहाँसम्म आइपुगेको बूढो हुमाने हुँ !

तँ मेरी प्रिया होस्, तर आमा समानकी

यो जुनीमा अब मलाई

तेरो प्रेमसिबाय अरु केही स्वीकार्य छैन ।

अब म मेरो जीवनलाई महायात्रा बनाउन चाहन्छु

तँ त बगिस् मात्रै बाइस किलोमिटर

म अनन्त बग्न चाहन्छु तेरो प्रेमको बाढीमा

त्यसैले त–

जीवनभर सोहोर्न तयार भएको छु तेरो गोबर

सुँघ्दै गन्ध प्रेमले यी औंलाहरुमा ।

प्रकाशित : श्रावण १६, २०७८ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

जो जीवनभर मातिरहे 

समीक्षकहरूले ईश्वर वल्लभलाई नौलो भाषा तर आम पाठकका लागि दुर्बोध्य कविता लेख्ने कवि देखे । तर, वल्लभसँग दुई दशक संगत गरेका कवि श्रवण मुकारूङ उनलाई ‘भित्रैदेखिका कोमल, पग्लिजाने हृदयका मानिस’ ठान्छन् । वल्लभको १२ औं स्मृति दिवसका सन्दर्भमा श्रवणले उनलाई यसरी सम्झिए :
श्रवण मुकारूङ

विसं १९९४ असार २८ गते, जैसीदेवल काठमाडौंमा पिता पं. मुरलीधर भट्टराई र माता राममायाको कोखबाट ज्येष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका प्रसिद्ध कवि ईश्वर वल्लभको निधन २०६४ चैत ९ गते काठमाडौंमा भएको थियो ।

कवितासंग्रह– ‘आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्’, ‘समानान्तर’, ‘कश्मै देवाय’, ‘एउटा सहरको किनारा, धूवाँको जंगल’ । निबन्धसंग्रह– ‘केही भूमिकाहरू’, ‘सोचको मायामठ’ । कथासंग्रह– ‘नीलो माटो’ । सम्पादन– ‘फूल पात पत्कर’, ‘टुकी’ आदिका स्रष्टा/सम्पादक वल्लभका बारेमा लेख्न खोज्दा उहाँसित जोडिएका कथा (मिथक) हरूको चर्चा नगरी उक्त लेखन पूर्ण हुनेछैन ।

मिथक सम्पूर्ण सत्य होइन तर सत्य पहिल्याउने भरपर्दो बाटो हो, विश्वास हो । तिनै विश्वासहरूको एकीकृत रूप नै फेरि जीवनको विशिष्ट परिभाषा हो । त्यसैले उहाँसित सम्बन्धित यी मिथकीय केही प्रसंगहरू यहाँ उल्लेख गरिएको छ :
कथा ‘क’
गोरखाबाट काठमाडौँ पसेका पं. मुरलीधर भट्टराई धुरन्धर पुराणवाचक थिए । तिनले यति प्रभावकारी ढंगले पुराण वाचन गर्थे कि एकचित्तले सुनिरहेका भक्तजनहरू धर्धरी रुन थाल्थे । तर, आधाजसो भक्तजन भने मुख छोपेर खिल्खिलाउँदै मरीमरी हाँसिरहेका हुन्थे । रोइरहेका भक्तजनहरू प्रायः वृद्धवृद्धा हुन्थे भने हाँसिरहेका भक्तजनहरू युवायुवती हुन्थे, यस्तो अवस्था सिर्जना हुनुको कारण के थियो भने बेसासनमा बसेर प्रवचन दिनथालेपछि पं. मुरलीधर भट्टराई आफ्नो शरीरमा बेरेको धोतीले ठाउँ छोडेको पत्तै पाउँदैनथे ।

कथा ‘ख’
पं. मुरलीधर भट्टराईले जब पुराणभित्र राणा शासनविरोधी कथ्यहरूको विनिर्माण गर्न थाले तब यो कुरा एक कान दुई कान मैदान हुँदै दरबार पुग्यो । उनीसहित थुप्रै प्रजातन्त्रप्रेमी जेल परे । चारजना त सहिद नै भए । भनिन्छ— ब्राह्मण नभएका भए उनी पनि पाँचौँ नम्बरका सहिद हुन्थे ।

पं. भट्टराईले आफूभन्दा तथाकथित सानो जात (नेवार समुदाय) की राममायासित विवाह गरेर सामाजिक जोखिम उठाएका थिए, जसको कोखबाट तीन भाइ छोरा जन्मिए । ती नाबालक छँदै पण्डित जेल परे । राममायाले समाज, गरिबी र बच्चाहरूको भोकसित ठूलो संघर्ष गर्नुपर्‍यो । यहीबखत पण्डितकी आमाको निधन भएकाले काजकिरिया गर्ने निहुँमा मुरलीधर जेलबाट छुटे तर उनले आफ्नी श्रीमती राममायाको संघर्ष, समर्पण र विश्वासलाई नजरअन्दाज गर्दै सौता पो हालिदिए ।

कथा ‘ग’
एक दिन काठमाडौंको सडकमा श्री ३ जुद्धशमसेर बग्गी चढेर सवार भइरहेका थिए, राममायाले त्यो देखिन् । उनले आफ्नो पिठ्युँ, काख र झुत्रो साडीमा झुन्डिरहेका असहाय नाबालक छोराहरूसहित हात जोड्दै न्यायको याचना गरिन् तर श्री ३ ले केहीबेर उनको शरीरभरि क्वारक्वार्ती हेरेपछि भने– ‘जवानै रैछेस्, पोइला जा !’ ‘राजा’ को यस्तो आपत्तिजनक आदेश र लोग्नेको धोका, अपमान र अन्याय सहन नसकी खुकुरीले सेरिएर राममायाले आत्महत्या गरिन् । भर्खर तेह्र वर्ष लागेका जेठा छोरा ईश्वर वल्लभले आफ्नी आमाको रगत लागेको खुकुरी पखाले । भुइँ र सँघार धोए । माइला भाइको पहिल्यै मृत्यु भइसकेको थियो । कान्छा भाइ विश्व वल्लभको कलिलो पाउलाई सुम्सुम्याइरहेको आमाको बाँकी रगत पनि उनले पुछे । त्यसपछि ईश्वर वल्लभ गोरखपुर, इलाहावाद, बनारस, पटना, सर्लाही मलंगवा हुँदै अन्ततः दार्जिलिङ पुगे, जहाँ उनको भेट इन्द्रबहादुर राई, बैरागी काइँला, अमर गुरुङ आदिसित भयो । अब उनले उतै साहित्यिक आन्दोलन चर्काए । उतैबाट मुक्ति, स्वतन्त्रता र प्रजातन्त्रको शंखघोष गरे । उतै घरजम बसाए । यसरी आफ्नो संघर्षमय जीवनको महत्त्वपूर्ण समय दार्जिलिङमा बिताएर २०२७ सालमा सपरिवार सधैँका लागि काठमाडौँ फर्किए ।
म एउटा कुरा सोच्न थालेको छु,
म आकाश सोच्न थालेको छु,
म बतास सोच्न थालेको छु,
म खोला सोच्न थालेको छु,
म बकैना सोच्न थालेको छु,
(म नेपाल सोच्न थालेको छु) बाट

मार्क सोरर भन्ने अमेरिकी विद्वान्ले मिथकलाई ‘सामान्य जीवनका तथ्यलाई दार्शनिक अर्थ दिने एउटा बृहत् नियन्त्रक विम्ब’ भनेका छन् । त्यसैगरी नित्सेले– ‘असीमतर्फको सार्वभौम भावना र सत्यको विलक्षण रूप’ भनेका छन् । त्यसैले माथि उल्लिखित कथा (मिथक) हरूको अध्ययनबिना कविवर ईश्वर वल्लभको सम्पूर्ण व्यक्तित्व थाहा हुन्छ भन्ने मलाई लाग्दैन ।

२०४५ सालको सेरोफेरोमा मैले उहाँलाई पहिलोपल्ट भेट्दा मसित माथि वर्णित कथाहरू थिएनन् । तर, त्यसबेला तीसको दशकमै लोकप्रियताले सीमा नाघेका उहाँद्वारा रचित दर्जनौँ गीत सुनेर मभित्र तयार भएको उहाँको विराट तर गम्भीर विम्ब भने थियो । ‘दुइटा फूल देउरालीमा सँगै राख्यौँ जस्तो लाग्छ’, ‘मेरो बेहोसी आज मेरो लागि पर्दा भो’, ‘हजार सपनाहरूको माया लागेर आउँछ’, ‘यो कस्तो व्यथा हो’, ‘यो जिन्दगीको के कुरा’, ‘मलाई यो जिन्दगी लाग्दछ’, ‘पहाडको उकालीलाई मैले माया गरेजस्तो’ आदि गीतहरू मलाई कण्ठस्तै आउँथे । अझ, नारायणगोपालले आफ्नै संगीतमा गाउनुभएको पूर्वेली लोकगीत संगिनीको लयमा आधारित ‘दुइटा फूल देउरालीमा...’ को जबर्जस्त प्रभावले नै होला मभित्र उहाँको विम्ब एक असफल तर भव्य प्रेमीको जस्तो तयार थियो । त्यही विम्ब बोकेर म त्यसबेला बबरमहलस्थित उहाँको निवासमा पुगेको थिएँ ।
यो जिन्दगीको के कुरा
यो सपना हो र के कुरा
मेरो गीतको पनि के कुरा
तिम्रो प्रीतको पनि के कुरा

पहिलोपल्ट जब मैले उहाँलाई भेटेँ, अहो ! अघिदेखि रिसाइरहेका जस्ता आँखा । कल्पनातीत साधु निधार तर चाउरी पर्दै गएका गाला । सेताम्मे फुलेका कपाल, सुक्खा ओठ तर बालसुलभ मुस्कान । मन र मस्तिष्क दुवैमा अनेकौँ विरोधाभास, विस्मय र उत्तेजनाहरू ओहोरदोहोर गरिरहेजस्तो । पीडाहरू भित्र कतै दबिइरहे जस्तो ! डराउँदै मैले नमस्कार गरेँ, उहाँले नजिकै बस्न इसारा गर्नु भो । मधुरो स्वरमा मैले आफ्नो परिचय दिएँ, उहाँले नमुस्कुराई मुन्टो हल्लाउनु भो । अड्की–अड्की मैले उहाँको गीतहरूको फ्यान भएको बताएँ, उहाँले फेरि मात्र मुन्टो हल्लाउनु भो । यत्तिकैमा चिया आइपुग्यो । तब, चियाको चुस्कीसँगै उहाँको अविराम प्रवचन सुरु भो । थाहै नपाई झन्डै एक घण्टा बितेछ तर मैले छेउ टुप्पो केही बुझिनँ । यद्यपि उहाँको प्रवचनमा एउटा गति थियो । एउटा रस थियो । एउटा लय थियो । एउटा नसा थियो, जसभित्र बजिरहेको बिनको धुनअघि सर्पझैँ म लठ्ठिरहेको थिएँ । त्योबेला मैले उहाँका ती कुरा नबुझे पनि अहिले सोच्छु— त्यहाँ सायद ब्रह्माण्डको तत्त्व मीमांसा भएको थियो होला अथवा तेस्रो आयामको बृहत् व्याख्या भएको थियो होला । कि कार्ल मार्क्स, बुद्ध, गान्धी, कामु, सार्त्र, फ्रायड वा पिकासो, डाली, टीएस इलियट, मोजार्ड, विथोवेन, शंकराचार्य, रिम्पोछे, जे. कृष्णमूर्ति, रोँलाबार्थ, ज्याक डेरिडा हुँदै स्टिफन हकिङसम्मका कुरा भएका थिए कि ? तर, त्यसदिन मलाई जीवनमै पहिलोपटक आफू अज्ञानताको ठूलै गुफाभित्र रहेछु भन्ने बोध भएको थियो । एकप्रकारको हीनता, छट्पटी वा पीडाले घेरिएँ म । मैले तत्काल हात जोडेर बिदा मागेँ । एउटा प्रतिष्ठित कविको अनौपचारिक भाषा पनि बुझ्न नसक्नेले किन कवि हुन खोज्नु ? धेरै दिन ग्लानीले रन्थनिएँ म । तर, मानिसलाई उसको अज्ञानताको बोधले नै पो खास बाटो देखाउने हो कि ? अब म ईश्वर वल्लभको भाषा कसरी बुझ्ने भन्ने उपाय खोज्न थालेँ । सहरका पुस्तक पसल, प्रकाशन गृह, पुस्तकालयहरू चहार्न थालेँ । उहाँको अप्राप्य कृतिहरू चार चौरास धुइँपताल खोजेर पढ्न थालेँ । कति बुझेँ, कति बुझिनँ ।

तेस्रो आयामअघिका ईश्वर वल्लभ, पछिका ईश्वर वल्लभ ! गीतकार ईश्वर वल्लभ, कथाकार ईश्वर वल्लभ, निबन्धकार ईश्वर वल्लभ, सम्पादक ईश्वर वल्लभ, प्रखर वक्ता र चिन्तक ईश्वर वल्लभ । थाहै नपाई आधा दशक बितिसकेछ । हाम्रो दोस्रो भेट कहिले भयो, हेक्का छैन । तर, यतिबेलासम्म म यो राजधानीमा अरू अनुज कवि लेखकले झैँ उहाँलाई लुम्रुङलुम्रुङ पछ्याउने पो भइसकेछु । यही बेला उहाँले मेरो पहिलो गीतीसंग्रह ‘हिउँको दरबार’ माथि गहकिलो भूमिका लेखिदिनुभयो, जुन भूमिका मेरो पुस्ताका साथीहरूमाझ चर्चित नै भयो । यो २०५२ सालतिरको घटना थियो ।

संगत गरेपछि मात्रै मानिसलाई सही ढंगले चिन्न सकिन्छ कि ? दाइसित संगत बाक्लिएपछि पो थाहा भो परबाट हेर्दा अहंकार र लघुताभास, प्रतिशोध र करुणाले क्षण–क्षण उद्वेलित भइरहेजस्ता देखिने उहाँ त भित्रैदेखि सार्‍है कोमल, पग्लिजाने हृदयको मानिस पो हुनुहुँदो रहेछ । युवा पुस्तालाई असाध्यै स्नेह गर्ने, तिनैसित उठबस गर्न मन पराउने दिलफेक प्रतिभा पो हुनुहुँदो रहेछ ।

एकदिनको कुरा हो, माइतीघर मण्डलाछेउ सँगै हिँड्दै गर्दा उहाँले मलाई अचानक सोध्नुभो, ‘भाइ ! तपाईंले मोती पुरस्कार पाउनुभो ?’ मैले– ‘छैन दाइ’ भनेँ । केहीबेरको मौन हिँडाइपछि फेरि उहाँले सोध्नुभो– ‘बायोडाटा बुझाउनुभएको छ कि छैन ?’ मैले उहाँको अनुहारमा हेर्दै भनेँ, ‘छैन त दाइ !’ त्यसपछि थोरै हाँस्दै उहाँले भन्नुभो, ‘घोडी घाँस से दोस्ती करेगी तो खाएगी क्या ?’ नबुझेर मैले उहाँलाई केहीबेर त्यसै हेरेँ । मेरो कुममा धाप मार्दै फेरि उहाँले भन्नुभो– ‘तपार्इं कतै जागिर खानुहुन्न । कुनै व्यापार व्यवसाय पनि छैन । तपाईंको सबथोक भनेको नै साहित्य हो, कविता हो भने यसबाट प्राप्त हुने कुरा मात्रै तपाईंको हो । अर्को क्षेत्रमा त तपाईंको हकदाबी लाग्दैन । त्यसैले यो क्षेत्रबाट प्राप्त गर्न सकिने राज्यका हरकुरा लडेर लिने प्रयत्न गर्नुपर्छ । यदि यसो गर्नुभएन भने तपाईं कुनै न कुनै दिन भोकै पर्नुहुनेछ । कुरो बुझ्नु भो भाइ ? तर, चाकरी चाप्लुसी गरेरचाहिँ लिनुहुन्न नि ! लडेर लिनुपर्छ ।’ म फेरि अवाक् भएँ । त्यही दिनदेखि मैले साहित्य स्वान्तसुखायःका लागि हो भन्ने धारणालाई अविश्वास गर्न थालेँ । पछि थाहा भो– उहाँ त्यो सालको मोती पुरस्कारका निर्णायक हुनुहुँदो रहेछ । सायद त्यसको तीन सालपछि मात्रै मैले सो पुरस्कार पाएँ ।

दार्जिलिङबाट प्रकाशित हुने ‘दियालो’ नामक पत्रिकामा विसं २०१२ सालमा ‘म के हुँ’ भन्ने कविता छपाएर आफ्नो काव्य यात्रा सुरु गर्नुभएका ईश्वर वल्लभका कविताहरू प्रारम्भमा स्वच्छन्दतावादी प्रवृत्तिका थिए । जब तेस्रो आयाम (२०२०) घोषणा भयो, तब उहाँका रचनाहरूलाई त्यही अवधारणाअन्तर्गत हेर्न, पर्गेल्न थालियो । तेस्रो आयाम मूलतः कसरी लेख्ने ? भन्ने प्रश्नको उत्तरको खोजीमा सुरु भएको साहित्यिक आन्दोलन थियो, जसले मिथकीय विम्बदेखि त्यतिबेला चित्रकलामा चलेका अमूर्त तथा घनवादी शैली अँगालेको थियो, जसका आधारमा इन्द्रबहादुर राईले कथा, ईश्वर वल्लभ र बैरागी काइँलाले कविता लेख्नुभएको थियो । आन्दोलनको उद्घोषणामै वल्लभले– ‘आयतन जिन्दगी’ र ‘बन्द कुहिरोमा नानीका पाइला’ कविता लेख्नुभएको थियो ।

कवितामा वल्लभ दाइले जीवनलाई परम्पराभन्दा भिन्न ढंगले व्याख्या गर्दै अमूर्तताभित्र वस्तुता र सम्पूर्णताको खोजी गर्नुभयो । मानवीय जीवनका जटिलता, विवशता, विषमता, अस्तव्यस्तता आदिलाई अभिव्यञ्जित गर्न इतिहास, पुराण, दन्त्यकथा आदिबाट तात्क्षणिकता बहन गर्ने खालका विम्ब, प्रतीकका साथै चित्रात्मक र विचलनयुक्त भाषिक विन्यासको प्रयोग गर्नुभयो, जसका कारण उहाँका कविताको भाषा नौलो तर आम पाठकका लागि दुर्बोध्य भइदियो । यति हुँदाहुँदै पनि आनुप्रासिक संयोजन एवम् समानान्तरताको बहुप्रयोगका कारण उहाँका कविताहरू अत्यन्तै लयात्मक र सांगीतिक गुणले अनुप्राणित भए ।

नेपाली काव्यजगत्मा स्वच्छन्दतावादी धारालाई पुरानो बनाउन कवितालाई नयाँ भाषा दिने ईश्वर वल्लभका कविताको अन्तर्ध्वनि भने उहाँकी आमाले गरेको आत्महत्याको परावर्तन नै हो जस्तो लाग्छ, जसको धङ्धङीले सायद उहाँ जीवनभर मातिरहनुभयो । त्यसैले यो देशलाई माया गर्दागर्दै पनि यहाँका खोलानाला, फूल, पहाड, हिमाल, मैदान र मानिस सबै उहाँका कविता र गीतमा सधैं आँसुले, विषादले रुझिरहे, भिजिरहे । सधैँ देशसित प्रेम, प्रतिप्रेम र घृणाका अन्तर्विरोधमा उहाँका शब्दहरू जुहारी खेलिरहे ।
आत्महत्या, कहिले फूलको कोपिला जस्तो
फूल भएर फक्रिन चाहन्छ
आत्महत्या, कहिले विशाल गगानचुम्बी
भवनहरू भएर उभिन चाहन्छ
आत्महत्या, कहिले ठूलो पहिरो भएर जान
चाहन्छ
आत्महत्या, कहिले सडकभरि ओच्छिन
चाहन्छ
आत्महत्या, कहिले क्यानभासमा रातो
भएर पोतिन चाहन्छ
आत्महत्या, महान् लहर भएर सागरमा
बहकिन चाहन्छ
आत्महत्या, यहाँ जसले पनि जहिले पनि
हुन चाहन्छ
आत्महत्या, तिम्रो बुइँगलको सिलिङमा
कहीँ सिउँरिएको छ
‘मेरी आमाले आत्महत्या गरेको देश’ बाट

माथिको लामो संरचनाको भव्य कविता उहाँलाई चिनाउने प्रतिनिधि कविता हो । यही कविता पर्गेल्न उहाँकी आमाले आत्महत्या गर्नुपरेको कथा (मिथक) बुझ्न जरुरी छ भनेको हुँ मैले । यही कविताको दंदङी गन्हाइरहने काँचो खुनको गन्ध उहाँका अन्य कविताहरूमा पनि पाइन्छ, जसले हामी पाठकलाई पनि सधैँ मताउँछ । यसरी मताउँछ कि गन्धको ओभरडोजले हामी पाठक स्वयम्– ‘साइकेडेलिक’ जस्तो भइसक्छौँ ।
जस्तै यहाँ केही छैन, खाली आँखा छ
जस्तै यहाँ केही छैन, बांगा–सोझा र
नमिल्दा रेखाहरू छन्
जस्तै यहाँ केही छैन, खाली चिसो स्पर्श छ
जस्तै टाँसिन्जेल उभिएर ती पैगोडाहरू
उँ छ, झोक्राउँछन्, सुत्छ
‘सानो नक्सा क्यानभासभरिको’ बाट
अरूले झैँ मैले वल्लभ दाइसित सघन रूपमा उठबस गर्न भने पाइनँ । जति गर्न पाएँ, त्यो मेरा लागि सधैँ प्रेरणादायक रह्यो । सभा समारोह र आक्कल–झुक्कलका आकस्मिक भेटहरू नै मेरा लागि उहाँसित साक्षात्कार गर्ने फलैँचा बने । यद्यपि दाइका बौद्धिक र आत्मिक कुराहरू सुन्ने, कहिलेकाहीँ संवेगले भरिपूर्ण हँसीमजाक र ख्यालठट्टाहरूको अंशियार हुने अवसर भने मलाई नजुरेको होइन । मैले मात्रै होइन, मेरा पुस्ताका धेरै साथीहरूले उहाँसित यस्तो संगत गर्ने अवसर पाए । त्यसैले होला एकपल्ट त हामीबिच यस्तो भनाइ नै चर्चित भएको थियो कि– ‘वल्लभ दाइसित भेटेपिछ गाँजाले मातेजस्तो भइन्छ’ । तर, खासमा गाँजाले मात्दा कस्तो हुन्छ ? अधिकांश मित्रहरूलाई थाहै दिएन । अचम्म लाग्छ ! वल्लभ दाइसितको भेट र गाँजाको मताइको त्यो रूपकको निर्माण कसले गर्‍यो होला ? तर, भन्न खोजिएको के थियो भने उहाँका विचारहरूले, अनुभवहरूले, रचनाहरूले हामी आफैं घेरिन्थ्यौँ । हामी उहाँको विराट व्यक्तित्वले थाहै नपाई प्रभावित हुन्थ्यौँ । उहाँको प्रतिभाको रापले सम्भवतः हामीलाई त्यस्तो महसुस गराउँथ्यो । अहिले, यतिखेर कुनै समयमा उहाँले भएको एउटा कुरा सम्झिन्छु म, ‘भाइ ! खोइ किन हो अचेल आफैँलाई आफूभन्दा ठूलो कोही छैनजस्तो लाग्छ, फेरि अहँ आफू कोही होइन, हुँदै होइनजस्तो लाग्छ ।’ दाइको त्यो अनुभूतिलाई ठीक ढंगले खुट्याउने मसित अहिले पनि सामर्थ्य छैन । अहो ! कि गाँजा लागेपछि त्यस्तो हुन्छ ? कि कुनै महान् लेखकप्रति पाठक वा नागरिकप्रति सरकार अनुत्तरदायी भएपछि त्यस्तो हुन्छ कि ? तर, म सम्झिछु— वल्लभ दाइमा एउटा असन्तुष्टि भने जहिल्यै थियो । विश्वविद्यालयले पनि उहाँका रचनाहरूलाई ठीक ढंगले सम्बोधन गरेन भन्ने असन्तुष्टिको व्यञ्जना पो थियो कि दाइको त्यो अभिव्यक्ति ? तर, संसारको इतिहास हेर्दा असामान्य प्रतिभाहरू सधैँ उपेक्षित नै भएको पाइन्छ ।
हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहरजस्तो फेरि भएर आउँछ
मैले बाँचेको परिवेश सानो त्यति थिएन
परदेशीजस्तो कोही एक्लो पनि थिएन
अल्झेँ कहीँ त के भो बाटो भुलेको छैन
भाँच्चिइसकेको विश्वास फेरि भएर आउँछ

वल्लभ दाइ ! तपाईंबारेमा लेख्न सक्ने उपयुक्त पात्र म होइन । तपाईंलाई बुझ्न, बुझाउन ठूलै पुराण लाउनुपर्छ । त्यस्तो पुराणवाचन गर्न तपाईंका पिता पं. मुरलीधर भट्टराई पनि उपयुक्त पात्र होइनन् । तर, यो तपाईंकी आमाले आत्महत्या गरेको देश हो । त्यसैले यहाँ यस्तो दुष्प्रयास भइरहन्छ ।

प्रकाशित : चैत्र ८, २०७६ १४:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×