लोककविज्यू, आकाशमा बादलु डम्मै छ !- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोककविज्यू, आकाशमा बादलु डम्मै छ !

अली मियाँ एक चरम दुःखको कथाको नायकजस्तो लाग्छ, जहाँ नायकले आत्महत्याको कायरतापूर्ण बाटो नरोजेर सङ्घर्ष र सिर्जनापूर्ण वीरताको बाटो रोज्छन् !
सरुभक्त

लोककवि अली मियाँ (विसं १९७५ फागुन १५–२०६३ साउन १८) ले जीवनका दुःखहरुको गीत रचे, प्रकृतिको गीत रचे, संस्कृतिको गीत रचे, क्रान्तिको गीत रचे । अली मियाँसँग असल संगतमा रहेका कवि सरूभक्त भन्छन्, ‘उनका गीतहरु कविता थिए, कविताहरु गीत थिए ।’ अली मियाँ स्मृति दिवस (साउन १८) को सन्दर्भमा उनको सम्झना :

जन्मेको हुन्छ नेपाली भिजेर आफ्नै माटोमा

नाचेको हुन्छ नेपाली गाउँ र ब्याँसी फाँटैमा

खाँटी नेपालीत्वको महिमायुक्त गीत गायन गर्ने लोककवि अली मियाँले यो धर्तीमा जन्मेर, लामो सिर्जनात्मक जीवन बाँचेर नश्वर देह त्याग गरेको पनि चौध पन्ध्र वर्ष बितिसकेछ । यो डेढ दशकको समयावधिमा उनको अनुपस्थितिलाई हामीले कति अनुभूत गरेका छौं, अनुपस्थितिमा उपस्थितिको कति आभास सिर्जना गरेका छौं, सायद यो एक अमूर्तजस्तो कुरा हुन सक्छ । तर, सत्यको अर्को पाटो पनि छ, जहाँ उनी हामी पोखरेली र समग्रमा नेपाली साहित्य–वाङ्मय प्रेमीहरूका स्मृतिविम्बमा विस्मृन भएका छैनन् ।

अली मियाँ स्मृतिहरूमा जीवित छन् । र, सायद आफ्नो जीवनकालमा भन्दा बढी जीवित र अमर हुने एउटा शाश्वत् ब्रह्माण्डीय यात्रामा छन् । अनायास मलाई स्मरण हुन्छ उनको मृत्युको । उनी लामो समयदेखि मृत्युशय्यामा थिए । हामी पोखरेली वाङ्मय सेवकहरू बेलाबेला उनको अवस्था बुझ्न मियाँपाटनस्थित उनको निवास गइरहन्थ्यौं, जान नसकिएको अवस्थामा पनि खबर लिइरहन्थ्यौं । उनको अवश्यम्भावी मृत्युको खबर कुनै पनि निकटका दिनमा सुन्नुपर्ने अप्रिय अवस्थामा हामी गुज्रिरहेका थियौं । जब मृत्युको खबर आयो, हामीले सम्पर्कमा रहेका साहित्यकार, कलाकार र अन्य व्यक्तिलाई सूचना–प्रवाह गर्‍यौं । बिहानै मियाँपाटनतर्फ सोझियौं ।

पोखराको मुख्य बजार क्षेत्रबाट पैदलयात्रा गर्दा एक–डेढ घण्टा परको दूरीमा पर्ने कुँडहर–मियाँपाटन पुग्दा स्थानीय बासिन्दाहरू भेला भइरहेका थिए । निवासभित्र परिवारजन र मियाँहरूको उपस्थिति थियो । मुसलमान धर्म र परम्पराअनुसार मृत्युपछि गरिने संस्कारका क्रम चलिरहेका थिए । हामीले घरबाहिरै बसेर प्रतीक्षा गरिरह्यौं । मलामी जान पोखराका साहित्यकार, कलाकार, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक जीवनका गन्यमान्य व्यक्तिहरू र सर्वसाधारणको उपस्थिति भइरहेको थियो । अन्ततः शवयात्रा आरम्भ भयो । हजारौं पोखरेली शवयात्रामा सामेल भए ।

मियाँपाटनबाट केही समयको सन्निकट दूरीमा अवस्थित डाँडोमा मियाँहरूको चिहानस्थल रहेछ । चिहानस्थलमा खाल्डो खनेर धरतीमा समाधिस्थ गराउने मियाँहरूको परम्परा रहेछ । केही समयको प्रतीक्षापछि मुसलमान धर्म–परम्पराअनुसार, लोककविलाई समाधिस्थ गर्ने प्रक्रिया आरम्भ भयो । विभिन्न जात, धर्म, सम्प्रदाय र परम्पराका हजारौं पोखरेलीले भावपूर्वक श्रद्धाञ्जली चढाए । मेरो स्मृतिविम्बमा अनेक तस्बिर नाचे–चल्मलाए ।

लोककविप्रति पोखरेलीहरूको अपार श्रद्धा देखेर, लोकसाहित्य वाङ्मयमा भएको अपूरणीय क्षतिलाई महसुस गरेर मेरा आँखा रसाए । अनायास मलाई दशकौं पहिले ‘पोखरेली युवा सांस्कृतिक परिवार’ (पोयुसांप) को आयोजनामा उनीसित वागलुङमा कविता यात्रा गरेको सम्झना भयो । कविता यात्रामा परिवारसित सम्बद्ध कविहरूको एउटा ठूलो डफ्फै थियो । अली मियाँ परिवारका सम्मानित आजीवन सदस्य र अग्रजन्य कवि थिए ।

त्यसताका पोखरा–वागलुङ राजमार्ग पिच भइसकेको थिएन । ‘बाइरोडको बाटोमा धूलो उडाउँदै’ भनी कुनै गीतले भनेझैं कतै ग्राभेलिङ गरिएको, कतै धूलाम्मे राजमार्गमा अधिकांश स्थानमा धूलो उडाउँदै केही साना सवारी साधन चल्थे । हामी त्यस्तै सवारीमा सवार भई पोखराबाट वागलुङतर्फ लाग्यौं । नौडाँडा, काँडे, लुम्ले हुँदै गाडी धेरै पर पुगेपछि एक अज्ञात स्थलमा (हाम्रो लागि) घ्याच्च रोकियो । चालकले गाडी अगाडि जान नसक्ने घोषणा गरे । हामी कविहरू निरुपाय भई पैदल हिँड्न थाल्यौं ।

अली मियाँ ढल्केको उमेरमा पनि फटाफट अघि लागे । हामी युवाहरू पछि लाग्यौं । आधाभन्दा बढी दिनको पैदलयात्रापछि वागलुङ बजार पुग्यौं । रात परिसकेको थियो । होटलमा भोजन गरेर विश्राम गर्नुको कुनै विकल्प थिएन । सुत्ने बेला लोककवि र हामीमध्ये केही एउटा ठूलो कोठामा पुग्यौं, उनका कुराहरू सुन्न थाल्यौं, निरन्तर कुरा गराइको ऊर्जाले उनी थाकेको आभास हुन्थेन । मलाई लाग्यो, लोकगीत गाउँदै जवानीका दिनहरूमा अनेक डाँडाकाँडा हिँडेका लोककविका अभ्यस्त गोडाहरू यत्ति छोटो यात्राले किन थाक्न मान्थे र !

लोककवि कुरा गर्दागर्दै गीत गाउँथे, गीत गाउँगाउँदै कुरा गर्थे । कति बेला कुरा गर्दै छन् कि गीत गाउँदै छन्, छुट्याउन गाह्रो पर्थ्यो । आधारातसम्म हामी उनका कुरामा बगिरह्यौं । कुरा गर्दा चुरोट सल्काउँथे, बीचतिर पुगेपछि ठुटो पार्थे, फेरि त्यही ठुटो चुरोट सल्काइहाल्थे । चुरोट तानेपछि चुरोटको धूवाँ फाल्ने क्रममा ख्वाई–ख्वाई खोक्थे । कहिले त एक सर्को चुरोट तानेपछि अर्को सर्को तान्न नसकेर लामो समयसम्म खोकिरहन्थे । त्यसले कुराकानीमा बाधा उत्पन्न गर्थ्यो ।

‘लोककविजी, अब चुरोट पिउन कम गर्नुहोला, पछि नराम्रो गर्छ,’ एकपल्ट मैले सम्झाउने आँट गरेँ ।

‘मर्न सकिन्छ, चुरोट छोड्न सकिँदैन बाबु !’ उनले भने ।

स्मृतिविम्बमा सुरक्षित पछिल्लो एक स्मृति । लोककवि ओछ्यान परेका छन् भन्ने खबर आएपछि– उनको मृत्युभन्दा केही साता पहिले– कवि तीर्थ श्रेष्ठ र म उनलाई भेट्न गएका थियौं । हामीभन्दा पाका उनका जेठा पुत्र हनिफ मियाँले हामीलाई उनी सुतिरहेको कोठामा लिई गए । कोठा अपेक्षाकृत अँध्यारो थियो । उनी कोठाको एउटा कुनोको खाटमा भित्तातिर फर्केर सुतेका थिए । खाटछेउको कुर्सीमा उनले छोरीसरह मान्ने लोकगायिका हरिदेवी कोइराला बसिरहेकी थिइन् ।

‘नमस्कार लोककविज्यू !’ हामीले ध्यानाकृष्ट गर्ने कोसिस गर्‍यौं । उनले अभिवादन फर्काएनन् । जीउ फर्काएर पनि हेरेनन् । सधैं हामीलाई देखी कुरा गर्न ऊर्जाप्रेरित हुने उनको यो व्यवहार सामान्य थिएन, तर हामीले सम्झ्यौ– बूढेसकालको रोगले शिथिल भएको शरीरको अवस्था यस्तै हो ।

हनिफ दाइ र हरिदेवीबाट उनको स्वास्थ्यसम्बन्धी जानकारी लियौं । अकस्मात् हनिफ दाइले रहस्योद्घाटन गरे– ‘के गर्ने बाबुहरू, बुबालाई यस्तो बेला चुरोट पिउनुहुन्न भनेर प्रतिबन्ध लाएको, रिसाइराख्नुभएको छ । बोल्नु नै हुन्न ।’

बूढो मानिसले तलतलको वशवर्ती भई केटाकेटी स्वभाव देखाइरहेका थिए । हामीले चुरोटको विपक्षमा सानोतिनो वक्तव्य दियौं । उनी यथावत् भित्तातिर मुख फर्काई सुतिरहे । हार खाएर हनिफ दाइले भने– ‘बुबा, तपाई चुरोट खाने जिद्दी गर्नुहुन्छ भने ल एक प्याकेट ल्याएर राखिदिन्छु, तर यसरी नरिसाउनुहोस् । सरु बाबु र तीर्थ बाबु आउनुभएको थाहा पाउनुभएन ?’

प्रत्युत्तरविहीन । प्रतिक्रियाविहीन । महाकविको चुरोट प्रेमझैं अली मियाँको चुरोटप्रेमले जीउमा क्यान्सर ननिम्त्याए पनि उनको श्वासप्रश्वाससम्बन्धी समस्या बाथ र स्नायुसम्बन्धी समस्यामा त्यसले निर्णायक असर पारेन होला भन्न सकिन्न । चुरोटमोह समयमै त्याग गर्न सकेका भए सायद उनले सहजै शतायु उमेर पार गर्थे ।

इतिहास विम्ब

अली मियाँले शतायु उमेर पार गर्न पाएनन्, तर दीर्घजीवन बाँच्ने सौभाग्य भने प्राप्त गरे । जीवनका अनेक दुर्भाग्य भोगेर ८८ वर्षको दीर्घजीवन बाँच्ने सौभाग्य प्राप्त गर्नु, पछिल्ला केही वर्ष रोगहरूले ओछ्यान परे पनि अधिकांश जीवन क्रियात्मक रूपले बिताउन सक्नुलाई कम आँक्न मिल्दैन । म कल्पना गर्छु, सय वर्षपूर्व विसं १९७५ मा अली मियाँको जन्म हुँदा सुन्दर हिमाली उपत्यका पोखरा कति सुन्दर, कति प्राकृत र कति अल्प बसोबासयुक्त स्थल थियो होला । कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले काठमाडौं उपत्यका–भक्तपुरबाट छब्बीस कुरिया नेवारहरूलाई पोखरामा ल्याई बजार बसाएपछि र ती नेवार परिवारहरूले हटिया टाइप बजार स्थापनाका साथै अनेक सांस्कृतिक कर्म गर्न थालेपछि पोखराको विशुद्ध ग्रामीण इतिहासले आधुनिकतातर्फ पाइला बढायो होला । भीमसेनथानको भीमसेनको अग्रपूजामा विश्वास गर्ने नेवारहरूले त्यही थानवरपर केही टोलमा बजारको विकास गरे पनि पोखराको सुदूरपूर्व दक्षिण भागको कुँडहर फाँट, मौलाको पाटनपछि मियाँ पाटनमा जन्मेका अली मियाँको घरपरिवेश ग्रामीण नै थियो । उनी जन्मँदा मौलाको पाटनमा कति मुसलमान परिवार थिए थाहा छैन । भारतबाट नेपालमा मुसलमानहरूको आगमन बाइसे–चौबीसे राजाहरूको पालादेखि नै भएको मानिन्छ ।

पृथ्वीनारायण शाहले युद्धकालीन हतियार निर्माण गरिदिने कालिगडको रूपमा पनि मुसलमानलाई झिकाएका थिए । अवश्य त्यस समयको आवश्यकताअनुसार, झिकाइएका मुसलमानहरू हतियार बनाउने दक्ष कालिगड थिए होलान् । सायद बाइसे–चौबीसे राजाहरूको समयदेखि नै दरबारका महिलाहरूको शृङ्गारका लागि पनि मुसलमानहरू झिकाइएका थिए । भारतमा मुसलमानहरू कालिगडका रूपमा मात्र होइन, शृङ्गार–प्रशाधन बेच्ने व्यापारीका रूपमा पनि चर्चित थिए । यसरी विभिन्न प्रयोजनमा आएका मुसलमानहरू नेपालमै बस्न र व्यवसायमा संलग्न हुन थाले । पोखरामा विभिन्न टोलमा बसोबास गर्ने मुसलमानहरूले मुख्य रूपले चुराको व्यापार गर्थे । त्यसैले अरूले उनीहरूलाई ‘चुरेटा’ भन्ने चलन थियो ।

अली मियाँको पारिवारिक स्रोतअनुसार, उनीहरू कास्कीका राजा कुलमण्डल शाहले भारतको लखनउबाट अङ्गरक्षकको रूपमा लिई आएका मोहमद हुसेनका सन्तान हुन् । लखनउका बादशाहले कुलमण्डल शाहको सुरक्षाका लागि मोहमद हुसेनलाई खटाएको भनिन्छ । पछि उनी विश्वासप्राप्त भएपछि र सम्भवतः उनको बहादुरीबाट प्रभावित भई कुलमण्डल शाहले उनलाई कास्की लिई आएका थिए र बहादुर अली नाम दिएका थिए । यस अर्थमा अली मियाँ सैनिक वंशमा जन्मेका थिए । आफ्नो युवावस्थामा उनी भारतीय सेनामा भर्ती पनि भएका थिए । दोस्रो महासमरमा उनी बर्मा फ्रन्टमा जापानीहरूसित लड्न पुगेका थिए । छुट्टीमा घर आएपछि फेरि फर्केनन्, नाम कटनी गरी यसै बसे । अनि धेरै कालपछि उनले यस्तो लेखे :

त्यो मायाले जाउँ लाहुर भन्थ्यो

दुःख पाउने करिमै के मान्थ्यो

नेपालीहरूको विदेश जानुपर्ने बाध्यतालाई मात्र होइन, अनुभवजन्य तिक्तता र राष्ट्रियतालाई उनले यसरी पनि अभिव्यक्ति दिएका छन् :

विदेशको मीठोभन्दा आफ्नै देशको पिठो

जान्न म त विदेशमा बरु खाउँला गिठो

नजाउ न कान्छा दाइ विदेश, बनाउनु छ आफ्नै यो देश

परिवेश विम्ब

‘घर पनि छैन दाइ मेरो, डर पनि लाग्दैन कसैको’ भनी ठान्ने अली मियाँ ‘यो दुःखी रोएको किन कहिल्यै पनि फर्केन सुदिन’ भनी कारुणिक स्वर लहरीमा हृदय खोलेर गीत गाउँदै हिँड्थे । कवि बन्न दुःखै पाउनुपर्ने पुर्पुरोमा लेखिएको हुनुपर्ने रहेछ कि, थाहा भएन, तर अली मियाँले जीवनमा असंख्य दुःख पाए । दीन मोहम्मद र जाहुरा मियाँको तेह्रौं तथा कान्छो सन्तानका रूपमा जन्मेका अली मियाँले दोस्रो वर्ष नटेक्दै आमाको निधन भयो । त्यसको अर्को वर्ष नै बुबाको निधन भयो । तीन वर्षको उमेरमा पूरै टुहुरा बनेका उनी दाजु–भाउजूको संरक्षणमा हुर्के । त्यति धेरै भाइ–बहिनीहरू र आफ्नै सन्तानहरूलाई हुर्काउनुपर्ने जिम्मेवारीबीच दाजु–भाउजूको हैसियतको पनि एउटा निश्चित सीमा भयो होला । त्यही सीमाका अभाव र अप्रियताबाट सामयिक रूपले टाढा हुनका लागि पनि अली मियाँ बाल्यजीवनभर कुँडहरका फाँटहरू, वनहरूतिर रमाउन थाले । अरूले गाएका मीठा गीतहरू सुन्न र टिप्न थाले । गाउने अभ्यास गर्न थाले ।

लोकगीत, लोकसंगीत र लोकसाहित्यको पाठशालामा उनको स्वअध्ययन, स्वप्रशिक्षण, स्वअभ्यास आरम्भ भयो । किशोरावस्थामा पदार्पण गरेपछि मेलापात जाने, खेताला जाने र गीत गाउने क्रम चल्यो । यही क्रम अघि बढ्दै गएपछि युवावस्थामा टाढा टाढासम्म यात्रा गरी रात–रातभर दोहोरी गीत गाउने क्रम चल्यो । वृद्धावस्थामा सुरिलो भाखामा मीठो गाउने उनी जवानीका दिनमा कति रन्केर गाउँथे होलान् । गीत गाएरै उनले उनानब्बे सालमा पहिलो श्रीमती ल्याए । उनको मृत्युपछि चार सालमा दोस्रो श्रीमती ल्याए । अठार सालमा दोस्रो श्रीमतीको पनि मृत्यु भएपछि बीस सालमा तेस्रो श्रीमतीसित विवाह गरे । तीस सालमा तेस्रो श्रीमतीको पनि दुर्भाग्यपूर्ण मृत्यु भयो । तीन जना श्रीमतीबाट चौध सन्तानका पिता बनेका उनका सात सन्तानको पनि अकालैमा मृत्यु भयो ।

यति धेरै पारिवारिक दुःख अली मियाँले कसरी सहे होलान् ? बाँचेका सन्तानलाई उनले कति सङ्घर्ष गरी हुर्काए होलान् ? अनि कनीकुथी अक्षर चिनेर, आफैं लेख्न सिकेर पनि धेरै मार्मिक गीतहरू उनले कसरी लेखे होलान् ? मलाई अली मियाँ एक चरम दुःखको कथाको नायकजस्तो लाग्छ, जहाँ नायकले आत्महत्याको कायरतापूर्ण बाटो नरोजेर सङ्घर्ष र सिर्जनापूर्ण वीरताको बाटो रोज्छन् !

सिर्जना विम्ब

अली मियाँको पहिलो कृति ‘विरक्त लहरी’ विक्रमाब्द ६ सालमा प्रकाशित भएको अभिलेख छ । त्यसपछि उनको ‘नेपाली झ्याउरे गीत संग्रह’ एघार सालमा, ‘न्याउलीको पुकार’ बाह्र सालमा, ‘पहाडको उद्गार’ पन्ध्र सालमा, ‘सेतीको सुस्केरा’ उनन्तीस सालमा, ‘उज्यालो भैसक्यो’ उनन्चालीस सालमा, ‘सम्झनाको दियो (पूर्वप्रकाशित रचनाहरूसहित) एकाउन्न सालमा प्रकाशित भएको देखिन्छ ।

अड्तीस सालमा ‘अली मियाँ’ नामक उनको आत्मकथन पनि प्रकाशित भएको थियो । उनको आवाजमा केही गीत पनि रेकर्ड भएका थिए ।

आफ्नो पहिलो कृति प्रकाशित हुँदा उनी एकतीस वर्षका थिए । कहिले ‘सुन्न पाए मुरली रन्को, पीर पनि हराउँथ्यो यो मन्को’ भन्दै, कहिले ‘यो वनमा छैन कि चरी, चरी भए बोल्दो हो क्यै गरी’ भनी पोखरा र आसपासका गाउँघर, रनवनमा डुल्दै, गीत गाउँदै हिँड्ने अली मियाँले वीस–बाइस वर्षको उमेरमा अक्षर चिनी कनीकुथी लेख्दा उनलाई कति भाषिक समस्या पर्‍यो होला ! तर, भाषासित जुध्दै सिर्जनाको बाटोमा अग्रसर भइरहने अभीप्सा देखाए । भनिन्छ, पहिलेपहिले उनलाई भाषिक अशुद्धि सच्याइदिने र कविताहरू साफी गरिदिने काममा साहित्यानुरागी ठाकुर सिग्देल र कवि तारा पाखेले सघाउने गर्थे । बीसको दशकसम्म पोखरामा न्यून संख्यामा साहित्यिक कार्यक्रम हुन्थे, साहित्य पठन गर्नेको सङ्ख्या पनि न्यून थियो, त्यसैले अली मियाँको प्रतिभा सानो स्थानीय घेरामा मात्रै सीमित हुन अभिशप्त थियो । पोखराकै बाटुलेचौर निवासी जनकविकेशरी धर्मराज थापा राष्ट्रिय स्तरमा देशभित्र र बाहिर चर्चित भइसकेको अवस्थामा पनि उनी राष्ट्रिय स्तरमा, नेपाली साहित्यको मूल प्रवाहमा अपरिचित थिए । यो अपरिचयको पर्खाल भत्काउन र उनलाई राष्ट्रिय स्तरमा ‘लोककवि’ भनी स्थापित गराउन पोयुसांपले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

विक्रमाब्द चौंतीस सालमा हामी साहित्य/संगीतप्रेमी केही युवाले मिलेर ‘पोयुसांप’ स्थापना गरेका थियौं । पैंतीस सालबाट टिकटमा मुक्तक कार्यक्रम, सामूहिक साहित्यिक जयन्ती, अन्य स्थानीय र राष्ट्रिय स्तरका कवि गोष्ठीहरू गर्न थालेपछि हामीले पुराना अनुज कविहरू खोज्न थाल्यौं । मुकुन्दशरण उपाध्याय, भोलानाथ पराजुली, किञ्जल्क, तेजनाथ घिमिरे आदि अग्रज कविहरू भेटिए । त्यहीक्रममा अली मियाँ भेटिए । जनकविकेशरी धर्मराज थापा कहिलेकाहीँ काठमाडौंबाट पोखरा आएको अवस्थामा मात्रै भेटिन्थे ।

हाम्रा कार्यक्रमहरू पोखराको बीचबाट बग्ने सेती खोलावारिका मुख्य बजार क्षेत्रमा हुन्थे । अली मियाँ सेती खोलापारि टाढै बस्थे । उनलाई कार्यक्रमको निम्ता दिन कि एक–डेढ घन्टा तड्केर पैदल हिँड्नुपर्थ्यो, कि साइकलमा हुइँकिनुपर्थ्यो । त्यसताका अली मियाँ प्रायः मियाँपाटन निकटको रामबजारस्थित भारतीय पेन्सन क्याम्पअगाडितिर पेटीमा एउटा सानो कपडा ओछ्याई त्यसमाथि चुरा, धागो, पोते, काइँयो, अन्य शृङ्गारका थोरै सामान राखेर पलेँटी कसिरहेका हुन्थे । हामीलाई देख्नासाथ खुसीले पुलकित हुन्थे । व्यापार गर्न बिर्सेर अनेक कुरा सुनाउँथे । कुरामा गीतका गेडीहरू मिसिहाल्थे ।

पोयुसांपका हामी सबै नवराज कार्की, उषा शेरचन, तीर्थ श्रेष्ठ, विनोद गौचन, प्रकट पगेनी शिव, बद्रीविनोद प्रतीक, विजय बजिमय आदि गद्य कवि थियौं, तर साहित्यमा अग्रजहरूको सम्मान हुनुपर्छ, छन्द र लोकगीति परम्परालाई जीवित राख्न हामीले पनि भूमिका खेल्नुपर्छ भन्ने विश्वास राख्थ्यौं । त्यहीकारण हामी अली मियाँलाई कुनै पनि कार्यक्रममा नछुटाएर अग्रासनमा राख्थ्यौं र उनलाई ‘लोककवि’ भनी सम्बोधन गर्थ्यौं । अली मियाँ मुक्तक रच्दैनथे, तर हामी उनलाई ‘टिकटमा मुक्तक कार्यक्रम’ मा पनि सहभागी गराउँथ्यौ । उनी आफ्नै खालका मुक्तक रचेर सुनाउँथे ।

वर्षको एक–दुईपल्ट हुने राष्ट्रियस्तरका साहित्यिक कार्यक्रममा देशका विभिन्न भागबाट वरिष्ठ साहित्यकारहरू र समकालीन साहित्यकारहरूलाई हामी आमन्त्रण गर्थ्यौं । ती सबैले अली मियाँलाई पोखराका लोककवि भनी चिन्न र सम्बोधन गर्न थालेका थिए ।

पोयुसांपले अली मियाँलाई लोक–कविताधाराको प्रतिनिधि कवि मानेर सुरुदेखि नै सम्मानित आजीवन सदस्यता प्रदान गरेको थियो । त्यसैले उनी पोयुसांपलाई आफ्नो घर भन्थे, थकाइ मार्ने चौतारी भन्थे । जुनसुकै कार्यक्रममा पनि आउन, जहाँ पनि जान तत्पर रहन्थे ।

अठतीस सालमा म स्नातकोत्तर तहमा अध्ययन गर्न कीर्तिपुर क्याम्पस पुगेको थिएँ । एक दिन पाटनतिर घुम्न जाँदा पाटनढोकातिरको मदन पुरस्कार गुठीको गेटभित्र छिरेँ । नजिकै एउटा राणाकालीन भवनमा गुठीको कार्यालय रहेछ । म यताउति हेर्दै, संकोची पाइला चाल्दै एउटा कोठामा पसेँ । त्यो कार्यालय सचिव वासुदेव लुइँटेलको कार्यकक्ष रहेछ । मैले वासुदेव लुइँटेललाई कौवा प्रकाशन, भूतको भिनाजु, हास्यव्यङ्ग्य साहित्य आदिबाट अलिअलि चिनिराखेको थिएँ ।

‘कहाँबाट पाल्नुभयो ?’ एउटा अतिशिष्ट भाषा र सोधाइ एक वरिष्ठ साहित्यकारबाट ।

‘हजुर, म पोखराबाट,’ मैले हात जोडेर आफूलाई चिनाएँ ।

‘ए, बस्नुहोस् ।’

मैले संकोच मानेर आफूलाई एउटा कुर्सीमा बसाएँ ।

‘पोखराका अली मियाँलाई चिन्नुहुन्छ ?’

‘चिन्छु हजुर, हामी एउटै संस्थामा छौं ।’

‘ल, ढुंगा खोज्दा देवता मिल्यो । उहाँको एउटा किताब प्रकाशित भएको छ, लगिदिनुहुन्छ ?’

‘सक्छु हजुर, मेरो सौभाग्य,’ मैले खुसीसाथ भने ।

वासुदेव लुइँटेलले कसैलाई किताब ल्याउन अह्राए । केही समयपछि एउटा पातलो डोरीले बाँधिएको अवस्थामा पचास–साठी थान ‘अली मियाँ’ नामक राखिएको किताब आइपुग्यो । आत्मकथात्मक किताब रहेछ । किताब पातलो भएकाले बोक्न गाह्रो परेन ।

संजोगले भोलिपल्टै मलाई पोखरा आउनु थियो, आएँ । अली मियाँलाई पूरै किताब टक्र्याएँ । उनी असाध्यै खुसी भए । त्यसबेला मलाई लाग्यो, जीवनमा असङ्ख्य दुःख भोगेका अली मियाँको एउटा मात्रै दुःख वर्णन गर्न पनि यो किताब पर्याप्त नहोला, तब आत्मकथा कसरी हुन सक्छ ? तर, पछि मलाई महसुस भयो, यो सानो पुस्तिकाकार किताब प्रकाशित गरिदिएर हास्यव्यङ्ग्य साहित्यका भीष्मपितामह वासुदेव लुइँटेलले अली मियाँलाई चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका रहेछन् । आत्मकथालाई जति शब्दमा लेखे पनि अनात्मकथा हुँदैन ।

चालीसको दशक लागेपछि अली मियाँ धेरैका परिचित लोककवि भइसकेका थिए । दिन–परदिन उनको ख्याति चुलिँदै थियो । उनलाई पोखरा बाहिरबाट पनि सम्मानित/पुरस्कृत गर्न थालिसकिएको थियो ।

विक्रमाब्द २०५८ मा अली मियाँ चौरासी वर्षमा पदार्पण गरे । पोयुसांपको बैठक बसी लोककविको रथारोहणसहित भव्यतापूर्वक सार्वजनिक अभिनन्दन गर्ने निर्णय गर्‍यौं । लोककवि मुसलमान धर्मका अनुयायी भएको र चौरासी पूजा गर्ने संस्कार हिन्दु भए पनि उनलाई चिनेका हामीले अन्यथा सोचिएला भनी सोचेनौं । हाम्रो विश्वासअनुरूप अली मियाँ र उनको परिवारजनले हाम्रो प्रस्तावलाई सहर्ष स्वीकार गरे ।

पोयुसांपको अध्यक्ष आनन्द श्रेष्ठको नेतृत्वमा अन्य सङ्घसंस्थाको सहभागिता हुनेगरी एक कार्य सम्पादन समिति गठन भयो ।

२०५८, फागुन १५ गते अली मियाँको चौरासीऔं वर्ष प्रवेशको उपलक्ष्यमा पोखराको मुख्य बजार क्षेत्र गेह्रापाटन, महेन्द्रपुलबाट विशाल जनसहभागितामा शोभा–यात्रासहितको रथारोहण सम्पन्न भयो । उनलाई प्राचीन–रथको आभास हुने गरी सिँगारिएको एउटा खुला गाडीमा विराजमान गराइएको थियो । उनी अबीर र फूलका मालाहरूले शोभायमान भई बाटोमा, टोलटोलमा श्रद्धापूर्वक अभिवादन चढाउनेलाई विनयपूर्वक हात जोडिरहेका थिए । शोभायात्रा–रथारोहण महेन्द्रपुलबाट रानीपौवा, माटेपानी, कुँडहर हुँदै मियाँपाटनमा पुगेपछि एउटा चउरमा अभिनन्दनसभामा परिणत भयो । स्वागत मन्तव्यमा मैले अली मियाँको सम्मानमा ‘अली मियाँ लोक वाङ्मय प्रतिष्ठान गठन गरिने’ घोषणा गरेँ । उनको रथारोहणसम्बन्धी प्रस्ताव लिएर जाने क्रममै हामीले रथारोहणपछि प्रतिष्ठान स्थापना गरी सञ्चालन गर्ने सूचना दिएका थियौं । अली मियाँ र उनको परिवारजन यो सूचनाबाट प्रसन्न थिए । अभिनन्दन समारोहमा सबै वाङ्मयिक संस्था र अन्यले लोककविलाई अभिनन्दन–पत्र चढाए । सैयौ मानिसले फूलमाला, खादा र अबीरले अभिनन्दन गरे । उनको आशीर्वचन र केही विशिष्ट व्यक्तिका मन्तव्यसहित यो वाङ्मयिक संघटना अविस्मरणीय इतिहासमा परिणत भयो ।

केही दिन थकाइ मारेर बिते । एक बिहान पोयुसांपका तर्फबाट कवि तीर्थ श्रेष्ठ र म ‘अली मियाँ लोकवाङ्मय प्रतिष्ठान’ गठन गर्ने सम्बन्धमा कुरा गर्न अली मियाँ निवास पुग्यौं । निवासमा हनिफ मियाँका साथ एक–दुई अन्य व्यक्ति उपस्थित थिए । हामीले कुरा निकाल्यौं । अन्य व्यक्तिले अनपेक्षित रूपले विवाद निकाले । हामीलाई आश्चर्य र दुःख लाग्यो । विवादबीच अली मियाँले मलाई छतमा बोलाए ।

‘नमस्कार हजुर !’ अभिवादन गरेँ ।

‘आउनुहोस् बाबु, नजिक बस्नुस्,’ बसेर घाम तापिरहेका उनले मसिनु स्वरमा भने । म नजिकै बसेँ ।

‘के भयो लोककविज्यू, यहाँ त अर्कै तमासा रहेछ । हामी पहिले हजुरसित कुरा भएअनुसार प्रतिष्ठान गठन गर्नेबारे सल्लाह गर्न आएका थियौं,’ मैले आवेग नपोखी भनेँ ।

‘बाबुलाई थाहा छ मेरो घर, मेरो मनको चौतारी कुन हो भनेर । म कहिल्यै बिर्सन सक्दिनँ । तर, अहिले म ठूलो दबाबमा परेको छु !’ उनले मेरो हात समाते अनि बरबर्ती आँसु झारे ।

‘लोककविज्यू, दुःख नमान्नुहोस् । हामीले हजुरको सम्मान मात्र गर्न चाहेका हौं । हजुरको नाममा विवाद गरिबस्नु राम्रो होइन । हामी दृश्यबाट हटिदिन्छौं । हामीलाई पहिले नै सूचना दिइएको भए विवाद हुन्थेन,’ मैले यत्ति भनेँ । तीर्थ र म अनावश्यक विवादमा धकेलिनुपर्दा तीतो महसुस गर्दै अली मियाँ–निवासबाट फर्कियौं । केही दिनपछि हनिफ मियाँको अध्यक्षतामा संस्था गठन भएको खबर पायौं । हामीले नजाती मानेनौं ।

अली मियाँको नाममा संस्था गठन भएपछि उनी जुन समारोहमा भेटिन्थे, क्षमाप्रार्थी भावले कुरा गर्न थाल्थे । हामी उनलाई सम्झाइबुझाइ गर्थ्यौं । अली मियाँपुत्र हनिफले कार्यक्रम पर्दा हामीलाई बोलाइरहन्थे । सुरुसुरुमा हामी असजिलो मानी गएनौं, तर पछिपछि अली मियाँप्रति सम्मान दर्साउन र अरूप्रति सद्भाव व्यक्त गर्न कार्यक्रममा जान थाल्यौं । बीचमा विवाद मच्चाउन चाहनेहरू आफैं पाखा लागे ।

चरित्र–दर्शन विम्ब

अली मियाँले आफ्नो जीवनकालमा कति गीत गाए, कति गीत–कविता रचे समयले अनुसन्धान गर्दै जानेछ । उनी लोकलय टिपेर सिर्जना गर्ने स्वभावका भएकाले उनका कति सिर्जना आफ्ना हुन्– होइनन्, सायद आफैं पनि भन्न सक्दैनथे । उनको सिर्जनाधर्मिता लोकसमर्पित थियो । उनले जीवनका दुःखहरूको गीत रचे, गरिबी–अभावहरूको गीत रचे, प्रकृतिको गीत रचे, संस्कृतिको गीत रचे, बिदेसिनुपर्ने बाध्यताको गीत रचे, राष्ट्रियताको गीत रचे, शोषित–पीडित जनताका गीत रचे, क्रान्तिका गीत रचे, जातीय विभेदविरुद्धका गीत रचे, राजाहरूका गीत रचे, भगवान्हरूका गीत रचे, शान्ति र मानवताका गीत रचे । उनले समयको आवश्यकतामा गीतहरू रच्दै गए । उनका गीतहरू कविता थिए, कविताहरू गीत थिए । उनको यो सिर्जनात्मक लोककवित्व समालोचनाहरूले मूल्याङ्कन गर्दै जालान् । लोककविहरू/जनकविहरूको उर्वर भूमिमा उनीभन्दा बढ्ता सिर्जनशीलता र श्रेष्ठता भएका लोककविहरू/जनकविहरू पहिले पनि जन्मेका थिए, पछि पनि जन्मेलान् । तर, उनी आफ्नो चरित्रले सबैभन्दा अलग र अद्वितीय थिए । एक गरीब मुसलमान परिवारमा जन्मेको व्यक्ति नेपाली लोकजीवनका भाखाहरूलाई टिपेर लोकसाहित्यलाई धनी बनाउने कर्ममा आजीवन समर्पित हुनु, साथमा राम र रहिमलाई सधैं एक ठाउँमा राखेर सर्वधर्म समभावको जीवन बाँच्नु उनको अप्रतिम चारित्रिक वैशिष्ट्य थियो । सर्वधर्म समभाव उनको विचारमा मात्रै थिएन, जीवन बाँच्ने कलामै थियो । विश्वशान्तिका लागि उनले धार्मिक समन्वयको बाटो रोजेका थिए । उनी धार्मिक आतङ्क र विश्व आतङ्कवादले हुर्हुर्ती जलिरहेको विश्वका लागि एक सन्देश थिए । त्यही भएर मैले पत्रकार अमृत भादगाउँलेद्वारा लिखित उनको जीवनीमूलक पुस्तकमा ‘बुझ्न सके उनी अन्तर्राष्ट्रिय स्तरका व्यक्ति हुन्’ भनेको थिएँ । तर, मेरो उक्त भनाइलाई बुझ्न सक्नुपर्नेहरूले बुझेनन्, अति प्रशंसा ठहर्‍याए ।

आखिर अन्तर्राष्ट्रिय स्तरका व्यक्ति भनेका को हुन् ? के जिजस, बुद्ध, मोहम्मद, कृष्ण हुन् ? तिनलाई पनि बुझ्नेहरूले बुझेर प्रचार नगरिदिएका भए कसरी यो स्तरका पूजनीय देवता हुन्थे ? हामी त्यस विश्वमा छौं, जहाँ पाकिस्तानकी एक शिक्षाप्रेमी बालिकालाई आतङ्ककारीहरूले गोली प्रहार गर्दा उनी अन्तर्राष्ट्रिय स्तरकी मानिइन् । उनको सङ्घर्षलाई मेरो पनि सलाम छ । ‘बुद्ध नेपालमा जन्मेका होइनन्’ भन्ने बौद्ध भिक्षु अन्तर्राष्ट्रिय स्तरका मानिन्छन् । विश्वमा ठूल्ठूला हिंसा गर्ने र आतङ्क मच्चाउने आतङ्ककारीहरू अन्तर्राष्ट्रिय स्तरका मानिन्छन् । तब आफ्नो सम्पूर्ण जीवन धार्मिक समन्वयमा बाँचेर कलमले मात्र होइन, जीवनले सन्देश दिने एक लोककवि किन अन्तर्राष्ट्रिय स्तरका मानिन सक्दैनन् ?

लाग्छ, हाम्रो तन–मनमा बादल लागेको छ । बादल यति बाक्लो छ कि त्यसले घामलाई पनि छेकेको छ, जूनलाई पनि छेकेको छ, ताराहरूलाई पनि छेकेको छ । अनि स्वच्छ आकाशको नीलाम्यता र प्रशान्तिलाई पनि छेकेको छ । लोककवि अली मियाँ यो विषमतापूर्ण अवस्थादेखि परिचित थिए, त्यसैले कसैबाट राष्ट्रियता र अन्तर्राष्ट्रियताको मान–पदवीको आशा नराखी निरन्तर सुमधुर ध्वनिमा गीत गाइरहन्थे :

आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ...

मेरो माया फिजाऊँ भने संसारभरि पुग्छ

मेरो आँसु पोखौं भने सगरमाथा डुब्छ

छाती खोली देखाऊँ भने माछापुच्छ्रे झुक्छ

मनको तिर्खा मेटाऊँ भने फेवाताल सुक्छ

आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ !

प्रकाशित : श्रावण १६, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्

इन्द्रचोकको मायावी कथा

नेपाली प्राचीन इतिहासका अनेक किंवदन्ती बोकेर बाँचिरहेको छ– इन्द्रचोक । काठमाडौंको मायावी चरित्रलाई इन्द्रचोकसँग जोडिएका पुरातात्त्विक कथाहरूले अझै रहस्यमय बनाइदिएका छन् ।
सुरेश किरण

भनिन्छ– ‘काठमाडौं’ नाम ‘काष्ठमण्डप’ बाट अपभ्रंस भएर बनेको हो । यसको स्रोत काष्ठमण्डप जीवितै छ । ०७२ को भूकम्पमा यो सम्पदा ढल्यो, अहिले ठड्याइएको छ । तर, ‘काठमाडौं’ हुनुअघि यस सहरको नाम ‘कान्तिपुर’ थियो । ‘कान्तिपुर’ नै सहरको पहिचान थियो ।

त्यसो त यस सहरलाई ‘कान्तिपुर’ अघि ‘पूर्णवती’, ‘गांगुलापत्तन’, ‘सुवर्ण प्रणाली नगर’ आदि नामले पुकारिन्थ्यो । तथापि मध्यकालमा सबैभन्दा धेरै प्रचलित नाम ‘कान्तिपुर’ थियो । भाषा वंशावलीअनुसार, ‘कान्तिपुर’ नाम ‘कान्तीश्वर महादेव’ बाट आएको हो । र, ऐतिहासिक कान्तीश्वर महादेव भएकै एक चोक हो– इन्द्रचोक ।

इन्द्रचोकमा धेरैले देखेकै मन्दिर हो– श्री आकाश भैरव, जसलाई स्थानीय नेवाः समुदाय ‘आजुद्यः’ भन्छन् । त्यही आकाश भैरवको भव्य मन्दिरसामुन्ने बीच सडकमा एउटा सानो खाल्डो छ । सामान्यतया कसैको ध्यान नजाने खाल्डोलाई हाल सानो रेलिङको बारले घेरिएको छ । खाल्डोभित्रको एउटा ढुंगा नै कान्तीश्वर महादेव हो । हेर्दा केवल ढुंगा हो, तर ढुंगा यति शक्तिशाली छ कि त्यसैको नाम सापटी लिई यस ऐतिहासिक महानगरको नामाकरण गरिएको छ । र, विडम्बना यो सहरको नाम जुन स्रोतबाट निःसृत छ, आज त्यो सडकबीचको एक ढुंगामै सीमित छ ।

वंशावलीमा लेखिएको छ– विसं ७८१ मा राजा गुणकामदेवले कान्तिपुर नगर बसाएका हुन् । त्यसो त यो तथ्यमा समयकाल र राजाको नाम नमिलेको भन्ने पनि इतिहासकारहरूको कथन छ । तैपनि धेरैको सहमति छ– कान्तिपुर नगर बनाउँदा सहरको सुरक्षार्थ आठ दिशामा आठवटै मातृका (अष्टमातृका) खडा गरी तिनै मातृकाले बोक्ने खड्ग आकारमा यो नगर निर्माण गरिएको थियो । आठ कोणवाला त्यो खड्गाकार सहरबीचमा रहेको भूभागचाहिँ इन्द्रचोक रहेछ । त्यसैले इन्द्रचोकलाई मध्यकालीन कान्तिपुर सहरको ‘सेन्टर’ मान्न सकिन्छ ।

इन्द्रचोकलाई ‘इन्द्रचोक’ नामबाटै चिनिन्छ । तर, यहाँ इन्द्रदेवको अस्तित्व छैन । यहाँ न इन्द्रको मूर्ति छ, न छ मन्दिर । तैपनि यो चोकलाई ‘इन्द्रचोक’ भनिनु अनौठो विषय हो । इन्द्रजात्राका बेला बर्सेनि काठमाडौंका विभिन्न चार स्थानमा काठका लामा खम्बाहरू उठाएर आसन बनाई इन्द्रको मूर्ति प्रदर्शन गर्ने चलन छ । ती चार स्थानमध्ये एक इन्द्रचोक हो । तर, इन्द्र–मूर्ति प्रदर्शनकै आधारमा यसलाई इन्द्रचोक भनियो भन्नु तर्कसंगत छैन । किनभने इन्द्रको मूर्ति प्रदर्शन गरिने अन्य स्थानलाई इन्द्रचोक भनिँदैन । बरु एउटा कथा छ, भन्छु है त– इन्द्रचोकमा कुनै बेला एउटा पोखरी थियो– कालमोचन पोखरी । जसले गुँला पर्वमा (भदौ–असोज महिनातिर) उक्त पोखरीमा स्नान गरी सँगैको जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को दर्शन गर्छ, उसले मृत्युपछि यमलोक जानुपर्दैन, सीधै सुखावती भुवनमा बास पाउँछ भने विश्वास गरिन्थ्यो । किंवदन्ती भन्छ– एक दिन उक्त कालमोचन पोखरीमा स्वयम् देवराज इन्द्र आई स्नान गरे र यस स्थानको नामै ‘इन्द्रचोक’ राखियो । तर, यो किंवदन्तीको तर्कमाथि पनि सन्देह गर्न सकिन्छ । किनभने कान्तिपुरका लागि ‘इन्द्रचोक’ पूरै नयाँ र आयातित शब्द हो । यसले यहाँको स्थान–नामसम्बन्धी दर्शनलाई बोकेको देखिँदैन ।

बरु वंशावलीहरूमा इन्द्रचोकबारे एउटा महत्त्वपूर्ण कुरा लेखिएको छ । कुनै बेला काठमाडौंमा बहने वाग्मती र विष्णुमती खोला एकापसमा जोडिने दोभान नै इन्द्रचोक हो । वाग्मती र विष्णुमती काठमाडौंको सभ्यता विकाससँग जोडिएका दुई महत्त्वपूर्ण नदीहरू हुन् । यी दुई नदी इन्द्रचोकमा आएर जोडिने र त्यसपछि एउटै नदी भएर बग्ने कुरा विभिन्न वंशावलीमा लेखिएको छ । त्यसैले यसलाई ‘ह्वंगः’ भनिन्थ्यो । स्थानीय नेपालभाषामा ‘ह्वंगः’ को अर्थ दोभान हुन्छ । विश्वास गरिन्छ– ‘ह्वंगः’ शब्द अपभ्रंस हुँदै ‘वंगः’ बन्न गएको हो । इन्द्रचोकको स्थानीय नेवाः नाम अहिले पनि ‘वंगः’ नै हो । कालान्तरमा त्यो दोभान सर्दै गएर अहिलेको टेकुसम्म पुगेको मानिन्छ ।

तर, वंशावलीले यसो भने पनि पुरातत्त्वले त्यो तथ्य मानेको छैन । किनभने इन्द्रचोकमा नदी हुनुको कुनै पनि अवशेष अहिलेसम्म भेटिएको छैन । बरु अहिले चुरा–पोते बेच्ने इन्द्रचोककै ‘राखी बजार’ मा ढुंगाका घडाहरू राखिएका छन् । घडालाई नेपालभाषामा ‘घः’ भनिन्छ । घडाहरूमा सधैंभरि लेउ लागिरहन्छ । लेउ लाग्नुलाई नेपालभाषामा ‘वथं गयेगु’ भनिन्छ । त्यसरी सधैं ‘वथं गयेगु’ भइरहने ‘घः’ भएकै कारण त्यसलाई ‘वंघः’ भनिएको र ‘वंघः’ नै कालान्तरमा ‘वंगः’ बन्न गएको कथन पनि छ । ढुंगाले बनाइएका घडाहरूकै आधारमा काठमाडौंका धेरै टोलको नाम रहन गएको छ । जस्तो : न्हूघः (जैशीदेवल क्षेत्र), नःघः (बांगेमुढा क्षेत्र), सीघः (त्यहीं सँगै), त्यंघः (नरदेवी क्षेत्र) आदि । वंघः तिनैमध्ये एउटा हो ।

इन्द्रचोकको सबैभन्दा आकर्षक र महत्त्वपूर्ण सम्पदा त्यहाँ अवस्थित आकाश भैरव (आजुद्यः) को मन्दिर हो । मन्दिरभित्र आकाश भैरवको शिर मात्रै भएको मूर्ति छ । यो शिरलाई पहिलो किराती राजा यलम्बरको शिर पनि भनिन्छ । नेपालको इतिहासमै सबैभन्दा लामो समय शासन गर्ने किरातवंश हो । उनीहरूले करिब आठ सय वर्ष राज गरे । पहिलो किराती राजा यलम्बरको नामबाटै ‘येँ’ शब्द उत्पत्ति भएको कथन छ । काठमाडौंको सबैभन्दा पुरानो नाम ‘येँ’ हो । उपत्यकावासीहरू अहिले पनि काठमाडौंलाई ‘येँ देय्’ भन्ने गर्छन् । यसरी काठमाडौंको नामकरणमै इन्द्रचोकको महत्त्वपूर्ण भूमिका छ ।

माथि भनिएझैं इन्द्रचोकमा इन्द्रको अस्तित्व देखिँदैन, तर भौगोलिक रूपले यो काठमाडौंको पुरानोमध्येकै एउटा महत्त्वपूर्ण चोक हो । विभिन्न ठाउँ आउ–जाउ गर्ने ६ वटा बाटो एकै ठाउँमा आएर मिसिएको छ– इन्द्रचोकमा । इन्द्रचोकले मखन टोल, असन टोल, वटु टोल, किलागल टोल, न्युरोड र च्वखाछेँ गल्लीसमेत गरी ६ वटा बाटालाई जोडेको छ । तीमध्ये मखनटोलबाट असन जाने सीधा बाटो लिच्छविकालीन ‘ट्रेड रुट’ हो । यो बाटाले प्राचीनकालीन काठमाडौंको माथिल्लो क्षेत्र यम्बु (कोलिग्राम) र तल्लो क्षेत्र याग्ल (दक्षिण कोलिग्राम) लाई जोडेको छ ।

इन्द्रचोकबाट न्युरोड जाने फराकिलो बाटोचाहिँ विसं १९९० को भूकम्पपछि मात्रै खोलिएको हो । भूकम्पपछि तत्कालीन श्री ३ महाराज जुद्धशमशेरले नयाँसडक बनाउँदा न्युरोड–इन्द्रचोक जोड्ने नयाँ बाटो खोलेका हुन् । नब्बे सालअघि त्यहाँ बाटो थिएन, स्थानीय जनताको घर–बारी थियो । हनुमानढोका दरबारको एउटा भाग पनि त्यहींसम्मै फैलिएको थियो । नयाँ बाटो खोल्न जुद्धशमशेरले आकाश भैरव मन्दिरसामुन्नेको एउटा सांस्कृतिक दबू (डबली) पनि हटाएका थिए । त्यस डबलीमा हरेक इन्द्रजात्रा पर्वमा कुमारीको रथयात्रा गर्दा देवीनाच (दीप्याखं) देखाउने चलन थियो । अहिले डबली रहेको त्यहि ठाउँमा भुइँमै दीप्याखं देखाउने गरिन्छ । यो बाटो बनाउन हनुमानढोका दरबार क्षेत्रको एउटा ठूलो भूभागलाई पनि प्रयोग गरिएको थियो । अहिले यो बाटोको नाम शुक्रपथ हो ।

न्युरोड निर्माणका बेला इन्द्रचोकको कान्तीश्वर महादेव पनि झन्डै पुर्न लागिएको थियो । स्थानीयवासीको पहलमा महादेव पुरिएनन्, तर पिचको सतह बढ्दा महादेव बास बसेको खाल्डो भने भुइँबाट निकै तल पुग्यो ।

राजा गुणकामदेवलाई देवी लक्ष्मीले सपनामा आएर इन्द्रचोकलाई बीचमा पारी नयाँ देश बनाउन आदेश दिएको प्रसंग वंशावलीमा छ । वंशावली भन्छ– आफू सदैव बास बस्ने भएकाले इन्द्रचोकमा दैनिक धेरै धन–पैसाको कारोबार हुन्छ भनेकी थिइन् रे लक्ष्मीले गुणकामदेवलाई । तर, इन्द्रचोक असनजस्तो विशुद्ध बजार होइन । यहाँ असनमाझैं नुनदेखि सुनसम्म किन्न पाइने बजार संरचना पनि छैन ।

इन्द्रचोकबाट पश्चिमतिर बढ्दा केल टोल पुगिन्छ । ‘केल टोल’ लाई ‘कोलिग्राम’ को अपभ्रंस शब्द मानिन्छ । भारतबाट आएका कोलीयहरू बसोबास गरेको ठाउँ भएकाले उक्त स्थानलाई कोलिग्राम भनिएको थियो । कोलिग्राम नै अहिलेको ‘केल टोल’ हो । अतः यो लिच्छविकालीन क्षेत्र हो ।

केल टोलकै नजिक किलागल टोल छ । किलागल टोलमा अझै नेवाः समुदायका ‘सापू’ र ‘म्येय्पू’ जातिका मानिसको बसोबास छ । सापू गाई पाल्ने र म्येय्पू भैंसी पाल्ने समुदाय हो । नेपालमा किरात वंशभन्दा अघि गाईपालक ‘गोपालवंशी’ र भैंसीपालक ‘महिषपालवंशी’ को शासन थियो । नेपालको प्राचीन इतिहासमा महिषपाल–वंश हटाएर किरात–वंश सुरु भएको र किरात–वंश हटाएर लिच्छवि–वंशको शासन सुरु भएको वर्णन छ ।

नेपाली प्राचीन इतिहासको प्रारम्भकालीन गोपाल, महिषपाल, किरात र लिच्छविकालको सजीव किंवदन्ती बोकेर बाँचिरहेको छ– इन्द्रचोक । यो चोकमाथि कुनै पुरातात्त्विक खोज त गरिएको छैन । तर, काठमाडौं सहरको मायावी चरित्रलाई इन्द्रचोकसँग जोडिएका पुरातात्त्विक कथाहरूले अझै रहस्यमय बनाइदिएका छन् ।

प्रकाशित : श्रावण १६, २०७८ १०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×