नगरकोटीको गन्तव्य- कोसेली - कान्तिपुर समाचार

नगरकोटीको गन्तव्य

कल्प–ग्रन्थमा कोलाहल छ । तर, गन्तव्यमा शान्ति छ, बुद्धले देखेको मध्यमार्गी शान्ति !
अभि सुवेदी

एउटा अत्यन्त वाचाल घटनाको सम्झना हुन्छ । सन्दर्भअनुसार, म त्यो भनिबस्छु । सन् १९९६ को मार्च महिनाको अमुक दिन इटालीको विशाल कोमो तलाउ यताको पहाडी खण्डमा पन्ध्रौं शताब्दीको एउटा दरबार छ । त्यहाँ रकफेलर फाउन्डेसनको बेलाजियो अध्ययन केन्द्र छ । त्यो दुईमहिने कार्यक्रममा म गएको थिएँ । वर्षैभरि धेरैतिरबाट मजस्तै गएका मानिसहरू त्यहाँ आफ्ना काम गर्छन्– किताब लेख्छन्, संगीत गर्छन्, चित्र बनाउँछन् अनि संवाद र छलफल गर्छन् । अनि आफूले गरेका कामको तिनीहरूले सबैसामु प्रस्तुति गर्नुपर्छ ।

एक दिन एउटा नबिर्सिने प्रस्तुति थियो, एक कलाकारको । तिनको नाम गुनार कल्देवी थियो । पछि ती मेरा मित्र भएपछि तिनका कामबारे थाहा पाएँ । तिनको प्रस्तुतिको विषय थियो, किताब बनाउने । अनि तिनलाई कलाकार भनेर चिनाइएको थियो । किताब बनाउने साधारण कुरा हो, यी कसरी कलाकार हुन्छन् ? मैले सोचें । गुनार अमुक किताबलाई त्यसको विषय र त्यसको कलाअनुसार आकार दिँदा रहेछन् । आयरल्याण्डका नोबेल पुरस्कार विजेता कवि सिमस हिनीको कवितासंग्रहको किताबमाथि तिनको कलाको प्रस्तुति थियो । किताबको कथा, त्यसको काव्यिक विषय अनि त्यसको पाठकसँगको सम्बन्धका अनेकौं विषय किताब–कलामा खुल्ने रहेछन् । गुनारले किताबको आदिम स्पन्दन, त्यसको केही कुराले पनि ध्वस्त गर्न नसक्ने शाश्वत कथा, त्यसमा पाठकका मन र दृष्टिलाई आफ्नो किताब–कलामा राख्न खोजेको कुरा बुझाए । सीमित कपी मात्रै बनेको त्यस्तो किताब बिक्री पनि हुनेरहेछ, कलाजस्तै ।

किताबको पाँच हजार वर्षपूर्व मेसोपोटामियादेखिको कथा अत्यन्त सुन्दर छ । किताब पहिला लेखिन्थ्यो, त्यसपछि मुद्रण गरियो । पन्ध्रौं शताब्दीमा गटेनबर्गले प्रेस बनाउनुअघिसम्म लेखिएका किताबहरू नै चल्थे । तर, त्यसपछि लेखिने किताब कला भएर बसे । मुद्रण हाम्रोमा धेरै पछि आएको हो । बंगलादेशका ठूला प्रकाशक र लेखक मित्र मफिदुल हकले ढाकामा मलाई एउटा पुरानो विज्ञापन देखाएका थिए । हातले लेखेका किताब पढ्ने आस्था र झन्डै आध्यात्मिक विश्वास भएका पाठकले छापिएका किताब नपढ्लान् भनेर त्यो विज्ञापन बनाइएको थियो । कतै टिपेको छु, तर सम्झना छ । ‘पवित्र गंगाजलसे धोइ हुइ मेसिन से छपी हुइ किताब’ भनेर विज्ञापन गरिएको छ । यो द्वन्द्वजस्तो पश्चिमी मुलुकमा आस्थाको समस्या थिएन, तर छापिएको किताबले त्यो धेरै कालसम्मको किताबको भयानक प्रभावलाई कम होइन अझ बलियो पार्ने जिम्माचाहिँ थियो ।

मलाई मन पर्ने विषयमा किताबभन्दा ठूलो अरू केही छैन । सन्त अगस्तिनले भने– पाठ दुई किसिमका हुन्छन्, एउटा हुन्छ मनमा देखिने अर्को हुन्छ उच्चारण गरिने । छुने र देख्ने पाठ पनि हुन्छन् । पाठका अनेकौं प्रयोग गरेर बनाएको एउटा ‘कल्प–ग्रन्थ’ शीर्षक किताब मलाई दिन केही दिनपहिले यसका लेखक नेपाली उपन्यासकार, लेखक कुमार नगरकोटी यसका प्रकाशक भूपेन्द्र खड्कासँग आए । कुमारको त्यही कालहीन पहिरन थियो । कालका सीमा तोड्न कुनै कुनै नाटकमा हामी कालो र खुकुलो पहिरनको प्रयोगलाई बुझ्छौं र प्रयोग गर्छौं । यो किताब साधारणतया अहिलेसम्म बजारमा आउने शैलीमा छापिएको पनि रहेनछ । ग्रन्थ बनाउन लेखक–प्रकाशकको निकै ठूलो मिहिनेत लागेको कुरा बुझ्दै जान्छु । नगरकोटी किताब राखेको बक्स खोल्छन् जहाँबाट कालो रङको कडा जिल्द भएको मोटो किताब निस्किन्छ । पृष्ठ ८०० को यो किताब सर्सर्ती लेखिएको उपन्यास वा कथासंग्रह होइन । यसभित्र पाठ मात्रै छैनन् आकार र विम्बहरू, ‘सेमियोटिक्स’ वा लक्षणा पनि छन् । कुमार अपेराको गायकजस्तो गाउथे भने भूपेन्द्र कन्डक्टरजस्तो छेस्का चलाएर यसको कम्पोजिसनको कुन खण्डका बाजा बजाउने भनेर देखाउँथे ।

नगरकोटी प्रायः उनका सबै उपन्यासमा समयसँग खेल्छन् । ती पात्रहरूलाई रचनाभित्र राख्छन्, तर त्यस्तो संरचनामा राख्ने कर्म अकिञ्चन हो भन्ने विश्वासले काम गर्छन् । उपन्यास र जीवनको सधैं द्वन्द्व हुन्छ । विश्वकै लेखकले त्यसको समाधान एउटा रूप–रचना बनाएर गरेका छन्, तोडेका पनि छन् । तोड्नेमा एक जना आयरल्यान्डका उपन्यासकार जेम्स ज्वायस हुन् । भाषासँग त ती यसरी खेल्छन् कि सोध्छौं, त्यसो भए यिनले किन पो लेखेका हुन् । यी कुमार भाइ भाषासँग खेल्छन्, ओल्टाइपल्टाइ गर्छन् । यी प्रयोगवादीहरूजस्तै बाठा छन् । संरचना र भाषाभित्रैबाट आफ्नो काम पनि पट्याउँछन् ।

मन पर्छ मलाई कुमारको प्रयोग गर्ने क्षमता । पहिलो खण्डको शीर्षक कविताजस्तो छ, ‘अलजाइमर्सग्रस्त एक अधबैंसे जगेडा आर्टिस्टको सृजनशील दिमाग अर्थात् मायावी भँवरजाल, कुहिरोको ल्यान्डस्केप र अन्सेन्सर्ड विचारहरूको आकाशगङ्गा ।’ यसरी लेखिएको पाठलाई अनेकौं पाठकले सुधारेका छन् । सबै हातले लेखेका छन् ती । कथानक हो जीवनको जुन बग्छ वा बग्दैन, तर छ । कुरा अप्ठ्यारो पनि छ । त्यो यथार्थ हो फिक्सनको, जीवनको । अहिलेको काललाई जोड्न खोज्दा मिल्छ पनि मिल्दैन पनि । यो किताब मलाई ‘कालो पोथी’ र अरू फिल्मका निर्माता मीन भामले किनेर पठाएका रहेछन् । मीन पनि कथा भएका छन् एउटा छुट्टै कार्डमा । तिनका काफ्काको कथाजस्ता ‘मेटामोर्फोसिस्’ हरू भएका छन् ।

कथाहरू एउटा लामो प्रयोगशील दृष्टिगोचर रचना भएका छन् ‘कल्प–ग्रन्थ’ मा । साहित्यमा शब्द र पाठका आकारहरूका प्रयोग गर्नेहरूको कथा पश्चिमी साहित्यबाट बढी आएको देखेका छौं हामी अध्येताले । सन् साठी र सत्तरीका सुरुका वर्षमा अंग्रेजीमा ‘कङ्क्रिट पोइट्री’ नामले पाठमा अक्षरका आयोजनाका चित्ररूप राखेर प्रयोग गरिए । राजनीतिको धेरै चिन्ता र प्रयोग मात्र भइरहेको बेला यी नगरकोटी वामपन्थी, क्रान्तिकारी र भिन्न विचार राख्ने राजनेताहरूकोमा यो किताब लिएर सरासर कसरी गए, छक्कै लाग्या छ । तर, यी एक सृजनशील लेखक र उपन्यासकार भएर गए किनभने तिनीहरू पनि उनका पात्र भएका छन् । समय उपन्यास भएको छ जीवनको, जीवन अनेकौं रूपमा छरिएको छ । कुमारको ‘कल्प–ग्रन्थ’ मा कोलाहल छ, तर गन्तव्यमा शान्ति छ, बुद्धले देखेको मध्यमार्गी शान्ति ! यस पोकाबाट ‘खर्बुजा’ अलग कथा र मीन भामका कथा–कार्ड निस्किन्छन् बाहिर । हुलाक जीवन्त हुन्छ । नेपालका साहित्य र अरू क्षेत्रका नाम चलेका निकै जना नारीहरूका नाममा पोस्टकार्ड पृष्ठ भएर बसेका छन् । विम्बहरू र अकारहरू, कालो भूमिमा सेता अक्षर, जुरक्क उठ्छन् ।

यो रचना स्वस्थानी व्रतकथाजस्तो गरी बनिएको छ एक अर्थमा । अमुक अगस्त्यमुनिलाई तहाँउप्रान्त भनेर कथा सुनाउने यी कुमार नगरकोटीको यो उनको ‘स्व’ वा आफ्नै ‘स्थानी’ वा ठाउँको वैश्विक चेतना हो । सूत्रधार पनि राखेका छन् कुमारले । पुछारमा आउँछ जो, कथा भन्छ र भन्दैन । अक्षर र किताबको मञ्चमा अभिनय गर्छ । ‘अगस्त्यमुनि’ हरूलाई अर्को सूत्रधारले पठाएका किताब दिने क्रममा कुमारजी कफी हाउसमा आउँछन् । तिनको ‘कल्प–ग्रन्थ’ एउटा कालिक प्रयोग हो । कुमारजीको आज्ञाअनुसार, किताब यसरी बनाउने प्रकाशक दुवै उत्कर्षका भारी उचालेर छुटे । मैले पाउने शब्दसंख्या पुग्यो । भेटौंला ।

प्रकाशित : श्रावण १६, २०७८ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्

साहित्यमा  ‘तिमी’, राजनीतिमा ‘तपाईं’

राजा वीरेन्द्रले नेता गणेशमान सिंहलाई ‘तिमी’ सम्बोधन गरे । सिंहले राजालाई सिकाउँदै भने, ‘यसरी आफ्ना हजुरबासँग काम गरेका राजनेतालाई सरकारले तिमी भन्नुहुँदैन, सम्मान गरेर बोल्नुपर्छ ।’ भनिन्छ, वीरेन्द्रले त्यही दिनदेखि ‘तिमी’ आदरार्थी कोड प्रयोग गरेनन् ।
राजनीतिक परिवर्तनपछि, अझ नेपाल गणतन्त्र भएपछि, राजनेता र शक्तिमा आसीनहरू बदलिए । राजनीतिक परिवर्तनले स्वाभाविक रूपमा राजनेताहरू धेरै निकाल्ने नै भयो । 
अभि सुवेदी

साहित्य र राजनीतिमा आदरार्थीको प्रयोग विषयमा भर्खरै एउटा छलफल भयो । साहित्यिक समालोचना र सृजनशील साहित्य लेख्ने व्यक्तिको नाताले केही दायित्व पूरा गर्न सानै भए पनि यो लेख लेखिएको छ । 

नेपाली भाषामा ‘तिमी’ र ‘तपाईं’ को प्रयोग विषयमा हामीले साहित्यका फाँटमा धेरै छलफल गरेनौं । तर, नेपाली साहित्यकारले साधारण छलफल गरेर वा नगरेरै पनि समालोचनाको भाषामा आदरार्थी, खासगरी ‘तिमी’ को प्रयोगमा धेरै ठूलो काम गरेका रहेछन् भन्ने पछि बोध भयो । तर साहित्यकार, अझ समालोचना लेख्नेले, जसमा आफैं पनि पर्छु, यस विषयमा खासै केही नलेखेको देख्दा केही असजिलो लागेको हो । व्याकरण र हिज्जेका छलफलमा निकै काम भए, हुँदै छन् । तर, नेपाली समालोचनामा नेपाली लेखकले कसरी

‘तिमी’ आदरार्थीको सहज प्रयोग गरे र त्यसलाई मानक बनाए, त्यस विषयमा लेखिनुपर्थ्यो, खासै लेखिएनछ । यो लेख त्यसै जानकारीको एउटा आरम्भसम्म हो ।

नेपालमा ‘तिमी’, ‘तपाईं’ वा ‘हजुर’ जस्ता आदरार्थीका प्रयोग राजनीतिक परिवर्तनसँग जोडिएका छन् । दुई प्रसङ्ग वाचाल छन्, जुन ठीक विपरीत छन् । छयालीस/सत्चालीस सालको राजनीतिक परिवर्तनपछिको पहिलो प्रसङ्ग छ । संवैधानिक राजा भएका वीरेन्द्रलाई भाषा प्रयोगमा केही असहजपना भएको थियो त्यसबेला । तर, उनले त्यसमा तुरुन्तै बानी बसाए, आफूलाई । घटना यस्तो थियो :

नारायणहिटी राजदरबारमा गणेशमान सिंहसँग कुरा गरिरहँदा राजा वीरेन्द्रले उनले सिकेको राजाले प्रयोग गर्ने आदरार्थी कोडअन्तर्गत गणेशमानलाई ‘तिमी’ भनेर सम्बोधन गरे । नेता गणेशमानले राजालाई सिकाउँदै भने– यसरी आफ्ना हजुरबासँग काम गरेका र अरू राजनेताहरूलाई सरकारले ‘तिमी’ भन्नुहुँदैन, सम्मान गरेर बोल्नुपर्छ । सिंहले हामीलाई सुनाएको कुराबाट मैले सार राखेको हुँ । भनिन्छ, राजा वीरेन्द्रले त्यही दिनदेखि लगभग ‘तिमी’ भन्ने आदरार्थी कोडको प्रयोग गरेनन् । राजालाई जनताका नेताले ‘तपाईं’ भन्नु भनेर सिकाएपछि परिवर्तन भएको उदाहरण हो यो ।

दोस्रो उदाहरण धेरै वाचाल छ । राजनीतिक परिवर्तनपछि, अझ नेपाल गणतन्त्र भएपछि, राजनेता र शक्तिमा आसीनहरू बदलिए । राजनीतिक परिवर्तनले स्वाभाविक रूपमा राजनेताहरू धेरै निकाल्ने नै भयो । त्यसमा कमिनिस्ट नेताहरूको बाहुल्य रह्यो । त्यसो त नेपाली कांग्रेसका नेता पनि थिए । तर, राजनीतिक परिवर्तन भएर दलका नेता सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेपछि उनीहरूमा एउटा ‘हाइरार्की’ को चेतना पलायो । नेपालको ठूलो मिडिया हाउस र त्यसबाट निस्केको अखबार ‘कान्तिपुर’ सबैभन्दा चर्चामा आयो । कारण उही आदरार्थी ‘तिमी’ र ‘तपाईं’ को प्रयोग थियो । लामो छलफल नगरौं । त्यो २०७४ सालतिरको कुरा हो । ‘कान्तिपुर’ ले सबैलाई ‘तिमी’ कोड प्रयोग गर्ने सम्पादकीय भाषिक नीति नै बनाएको रहेछ । यो विषय त्यसबेलाका भाषा सम्पादक अखण्ड भण्डारीले लेखेको ‘कान्तिपुरले किन सबैलाई तिमी भन्छ ?’ (फागुन ७, २०७४) भन्ने लेखमा छ । तर, त्यति मात्र होइन, राष्ट्र प्रमुख वीरेन्द्रलाई नेता गणेशमान सिंहले भनेको ठीक उल्टो सरकार प्रमुख अथवा प्रधानमन्त्री केपी ओलीले ‘कान्तिपुर’ लाई ‘तिमी’ कोड प्रयोग गरेकोमा गुनासो गरेछन् । अखण्डले लेखेका छन्, ‘ओलीले गुनासो गरे, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र अन्य विशिष्ट व्यक्तिहरूलाई तिमी भन्ने अधिकार कान्तिपुरलाई कसले दियो ? कान्तिपुरले चाहिं अरूलाई आदर गर्नुपर्दैन ? सबैभन्दा ठूलो हो कान्तिपुर ?’

यो विषय निकै चल्दै छ भन्ने देखिन्छ किनभने ९ माघ २०७७ मा ‘कान्तिपुर अनलाइन’ ले त्यही लेख फेरि छाप्यो । कुरा चाखलाग्दो हो । राजा वीरेन्द्रले ‘तिमी’ छोडेर ‘तपाईं’ प्रयोग गरे, तर ‘कान्तिपुर’ ले ‘तपाईं’ प्रयोग नगरेर ‘तिमी’ कोडलाई नै मानक बनायो, जुन लोकतन्त्रसम्मत थियो । एउटा भाषाकर्मी, साहित्यकार र प्राज्ञिक कर्म गर्ने मानिसको नाताले भन्छु, सबै स्वतन्त्र मिडियामा ‘तिमी’ प्रयोगको विषय सहज, स्वाभाविक र प्रजातान्त्रिक चेतनाजनिन थियो र छ । यस विषयलाई शक्ति र प्रतिष्ठासँग जोडेर सरकारका नेता र तिनका सल्लाहकारले लिएको कुरा सही छैन । गणेशमानले राजालाई ‘तपाईं’ भन्न सिकाउनु र अर्का नेता ओलीले पत्रकारलाई ‘तपाईं’ भन्न सिकाउनुजस्ता उदाहरणले भित्री कुरा बोल्छन् । लोकतान्त्रिक नेताहरूले खुला मनले सिक्नुपर्छ ।

शक्तिमा आसीनले ‘तिमी’ को स्वाभाविक प्रयोगलाई यसरी संवेदनशील भएर लिनुको प्रस्ट कारण यस्तो हुन सक्छ । भाषा प्रयोगका स्वाभाविक विषयलाई शक्ति, प्रतिष्ठा र राजनीतिसँग जोडिनुको पछि एउटा शक्ति–मनोविज्ञानको ग्रन्थिले काम गरेको हुन सक्छ । त्यो गम्भीर विषय हो । ‘तिमी’ को प्रयोग नेपाली भाषामा सहज, सृजनशील, सम्मानजनक र प्रजातान्त्रिक रूपमा आएको देखिन्छ । त्यस विषयमा शक्तिमा आसीन र तिनका सल्लाहकारलाई ज्ञान भएको देखिएन । त्यसो त साहित्यमा यो कसरी एउटा सम्मानजनक र स्वाभाविक प्रयोग भएर आएको छ भन्ने विषय साहित्यकारले पनि छलफल–जानकारीमा ल्याएनौं । साहित्यमा ‘तिमी’ को कसरी स्वाभाविक, स्वतन्त्र अनि सम्मानजनक प्रयोग र थोरै भए पनि छलफल भएको छ, हेर्नुपर्छ । एउटा संस्मरणबाट विषयमा पस्न चाहन्छु ।

नेपाल भाषाशास्त्र समाजको २६ नोभेम्बर १९९१ मा भएको बाह्रौं वार्षिक सम्मेलनमा अध्यक्षको भाषणमा मैले सन् १९९० को भर्खरै भएको राजनीतिक परिवर्तनपछि पनि राजनेताहरूमा पञ्चायतकालको शक्ति र ‘हाइरार्की’ को भाषाको मोहले काम गरिरहेका उदाहरण राखेर यसलाई प्रजातन्त्रसँगै परिवर्तन हुन नसकेको मनोग्रन्थि भनेको थिएँ । सोआसका प्राध्यापक माइकल हट्ले उनको किताब ‘नेपाल इन् द नाइन्टिज्’ (१९९४:८८) मा त्यही परिवर्तन हुन नसकेको मनोग्रन्थिबारे मेरो कुरालाई उद्धरण गरेका छन् । आज आएर हेर्दा प्रजातान्त्रिक संस्कारका निम्ति शक्तिका सपना बाधक भएको विषय प्रस्ट हुँदै गएको देखिन्छ ।

अर्को विस्तृत लेखको विषय हो, तर यहाँ केही शब्दमा भन्दा नेपाली साहित्यकारले ‘तिमी’ को प्रयोग अत्यन्त सहज र सृजनशील किसिमले गरे । समालोचकले मविवि शाह नामधारी राजा महेन्द्रका कविता, खासगरी ‘उसैको लागि’ का छलफलमा ‘तिमी’ प्रयोग गरेका उदाहरण छन् । समालोचकले ‘तिमी’ कोडलाई सहज बनाउनुपर्छ र प्रयोग गर्नुपर्छ भन्ने मौन सिद्धान्त बनाए । उनीहरू पाका र सम्मानजनक लेखकलाई पनि ‘तिमी’ कोड प्रयोग गरेर लेख्छन् । प्रायजसो समालोचनामा मैले ‘तिमी’ कोड प्रयोग गरेर लेखें, अहिले पनि लेख्छु । यदुनाथ खनाल, कृष्णचन्द्रसिंह प्रधान, तारानाथ शर्मा, इन्द्रबहादुर राई, खगेन्द्र संग्रौला, ताराकान्त पाण्डे आदि हिजो र आजका समालोचकले ‘तिमी’ कोडको प्रयोग गरेर लेखेका छन् । त्रिवि नेपाली विभागका प्राध्यापक समालोचकहरू ‘तिमी’ कोड प्रयोग गरेर लेख्छन् । एकाध अपवाद छन् । ‘तपाईं’ लेखिएका केही समालोचना पनि छन् । तर, ती अब पुराना भइसके । साहित्यिक समालोचनामा नितान्त ‘तिमी’ कोड प्रयोग गर्ने पद्धति बसेको छ । त्यो मानक भएको छ र सहज अभिव्यक्तिको आधार भएको छ ।

हामी साहित्य लेख्नेले कुनै राजनेतालाई ‘तिमी’ कोड प्रयोग गरेर लेख्यौं भने त्यसमा हाम्रो राजनीतिक सरकोर छ कि भनेर हेर्ने आवश्यकतै हुँदैन । ‘तिमी’ कोड प्रयोग नगरी अब नेपाली समालोचना लेखिँदैन । नेपाली साहित्य लेखन, खासगरी समालोचनाले जसरी ‘तिमी’ कोड प्रयोग सहज रूपले गर्छ, त्यो अहिलेका राजनीतिकर्मी र नेताका निम्ति अनुकरणीय विषय हो । ‘तपाईं’ लेख्ने भाषिक ‘रजिस्टर’ हरूमा त्यो आदरार्थीको प्रयोग भइहाल्छ । साहित्य र मिडियाले ‘तिमी’ प्रयोग गर्नु सहज र समयसम्मत प्रक्रिया हो ।

आदरार्थी वा ‘हाइरार्की’ मनोग्रन्थिले चिन्तित राजनीतिज्ञ र सरकारी नेताले यो पिरोलोबाट सिक्नुपर्छ र आफैंलाई प्रश्न गर्नुपर्छ, कतै म वा हामीभित्र शक्तिलोलुपताको जन्म भएको त होइन ? साहित्यमा हामीलाई चिन्ता छैन किनभने हामी समान, सृजनशील र स्वतन्त्र छौं । हामी ‘तिमी’ बाट सम्मानित छौं र त्यसैबाट सम्मान गर्छौं ।

प्रकाशित : असार १९, २०७८ १०:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×