श्यामसुन्दरका उदास आँखा- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्यामसुन्दरका उदास आँखा

मुना चौधरी

अधबैंसे, सिकुटे, ख्याउटे, गाला भित्र धसिएको, कालो वर्णको ! कलेजी रङको कुर्ता र हरियो बुट्टेदार लुङ्गी । एक हातले मोबाइल समातेर कुरा गरिरहेको, अर्को हातले बसको रड समातिरहेको । काखीमा आएको पसिनाले उसको कुर्ता भिजेको थियो । ऊ अर्थात श्यामसुन्दर ।

ढोकाअगाडि दायाँतिरको १ र २ नम्बर सिटछेउको भुँइमा एक जना स्वास्नीमान्छे थपक्क बसेकी थिई । सारी लगाएकी उसको सिउँदोमा लामो पहेंलो सिन्दुर थियो । टाउको छोप्ने गरी ओढ्ने ओढेकी थिई । निधारमा भिक्स दलिरहेकी थिई ।

...

०६५ को दसैं । गाडी पाउनै सकस, पाइहाले सिट पाउनै सकस । साँझ अफिस बिदा हुनासाथ सुन्धारा र कोटेश्वरका टिकट काउन्टर पुग्थें, तर टिकट नपाएर फिर्थें । फूलपातीको दिन, दिउँसो ३ बजे । डेराबाट निस्किएकी थिएँ तर टिकट थिएन । बस पाए घर जान्छु, नपाए डेरै फर्किन्छु सोचेर कोटेश्वर चोक पुगेकी थिएँ ।

साँझ ६ बजिसकेको थियो । बस बिसौनीमा उभिइरहेकी थिएँ । धरान जाने बस अचानक रोकियो । रोकिएको बसको झ्यालबाट आवाज आयो, ‘बैनी कुन बस हो ?’ झ्यालमा हेरें, गाउँका दाजु–भाउजू रहेछन् । हातले इसारा गर्दै भनें, ‘मेरो बस छैन । टिकट पाइनँ ।’ इसारापछि दाइ बसबाट ओर्लेर मेरो नजिक आए । दाइले भन्नुभयो, ‘मेरो सिटमा बसेर हिँड । म उभिएर जान्छु ।’

‘हजुरलाई गाह्रो हुन्छ, म जान्नँ । बाटो लामो छ । आज नपाए भोलि पाउला नि !’

‘अहिले टिकट पाउन समस्या छ । यसैमा हिँड ।’

झ्यालमा हेरें, भाउजू पनि ‘जाऔं’ को इसारा गरिरहहेकी थिइन्, बस चढें । दाइले कन्डक्टरसँग मुढामा बसेर जाने टिकट लिनुभयो । दाइकी ७ वर्षकी छोरी पनि थिई । दाइको सिटमा बस्दै भदैनीलाई काखमा लिएँ । करिब एक घण्टापछि बस खचाखच भरियो । सिटको दुवै बुइँगलबीच राखिएका चारओटा मुढामा दाइसँगै तीन जना मान्छे थिए । कोटेश्वरबाट कलंकी पुग्दा झनै मान्छे थपिए । मेरो सिटछेउ उभिएको मान्छे फोनमा कुरा गरिरहेको थियो, ‘हम श्यामसुन्दर बोलै छि । हम जहानके साथ घर चल आबै छि ।’ उसको छेउमा रहेको बच्चा भीडभाडको अत्यासले रोइरहेको थियो ।

...

निधारमा भिक्स दलिरहेकी श्रीमतीको अगाडि फोनमा कुरा गर्दै श्यामसुन्दरले बच्चालाई बोक्यो । कन्डक्टर भाडा उठाउँदै आयो । मुढामा बसेकालाई पाँच सय र उभिएकालाई चार सय माग्दै थियो । श्यामसुन्दरले आठ सय दिँदै भुइँमा बसेकी स्वास्नीमान्छेलाई देखाउँदै भन्यो, ‘उसको र मेरो दुई जनाको ।’

ऊ ८ सय तिरेर २० रुपैयाँ फिर्ता माग्दै बोलिरहेथ्यो, ‘हमनी के तरकारी बेच्छ हजुर । बीस रुपैयाँ दिनुस् फिर्ता । छोराको रास्ता खर्च आउँछ ।’

कन्डक्टरले जवाफ दियो, ‘ओ भैया, रेट त्यति नै हो । फिर्ता आउँदैन ।’ उसले विनम्र स्वरमा भन्यो, ‘२० रुपैयाँ फिर्ता दिनुस् न हजुर ।’ कन्डक्टर झोकिँदै बोल्यो, ‘एकपटकमा कुरा बुझ्दैनस् ?’

कन्डक्टरको रिसले उसको अनुहार उदास भयो । ऊ केही बोलेन । उसको अनुहार रातो, नीलो भयो ।

भाउजूले उसलाई सोधिन्, ‘तिम्रो जहानलाई सन्चो छैन ?’ ‘कल रातदेखि ज्वरो लागेर तबियत खराब छ हजुर । दबाई खाइरहेछ ।’

‘ज्वरो आएको मान्छेलाई लिएर किन घर हिँडेको ? सन्चो भएपछि जाँदा हुन्थ्यो नि ।’

‘चाड परवमा घरमा बाआमाले आस लगाएको हुन्छ हजुर ।’ बिरामी मान्छेका लागि आफ्नो सिट छाड्न कोही तयार थिएनन् । झन्डै १४ घण्टाको बाटो जो थियो । थानकोटको घुम्तीमा थियौं ।

बसको बत्ती निभाइएको थियो । भाउजू बान्ता गर्न थालिन् । भाउजूबाहेक गाडीमा बसेका अरू छ–सात जना पनि वाकवाक गरिरहेका थिए । कन्डक्टर प्लास्टिकको झोला दिइरहेको थियो । वान्ताको नुनिलो, अमिलो, नमीठो गन्ध बसभरि फैलिरहेको थियो । वान्ता नगर्ने मान्छे पनि वान्ता गर्न थालेका थिए । भाउजू शिथिल भइसकेकी थिइन् । आँखा बन्द गरिरहेकी थिइन् ।

यत्तिकैमा म निदाएछु । गाडी रोकिँदा आँखा खुल्यो । मुग्लिन पुगिसकेका थियौं । खाना खुवाउन रोकिएको थियो गाडी । सबै ओर्ले । शौचालय गएर हातमुख धोएर खाना खान बसे । श्यामसुन्दर भने होटेलअघि भुइँमा बदामको खोस्टा छोडाउँदै छोरोलाई खुवाउँदै थियो । आफू पनि खाइरहेको थियो । उसको बिरामी जहानले केही खाएको देखिनँ ।बसमा छिरेपछि एउटा स्याउ झोलाबाट झिकेर उसको छोरोलाई दिएँ । छोरो आमाछेउ बसेर स्याउ खान थाल्यो । आमा ओढ्नासँग बसको भित्तामा अडेसिएर सुतिरहेकी थिई ।

२ बजे राति, हेटौंडा । उपद्रो गर्मी । सबैले ज्याकेट, स्वेटर धमाधम फुकाले । बस रोकिँदा पसिना ह्वास्सै गनाउँथ्यो । सबैले धमाधम झ्याल खोले ।

नारायणगढमा एक नम्बर सिटको यात्रु ओर्लियो । खाली सिट देखेर श्यामसुन्दर कन्डक्टरतिर हेर्दै भन्यो, ‘यी खाली सिटमा मेरो जहानलाई बस्न दिनुस् न हजुर ।’

‘त्यहाँ अर्को यात्रु आउँदै छ । जहाँको पैसा तिरेको छस् त्यहाँ बस् ।’ उसको अनुहार फेरि उदास भयो । आफ्नो जहानतिर हेर्‍यो । घोसेमुन्टो लाएर सुतिरहेकी थिई । ऊ घरिघरि पछाडि फर्केर बसको सिटहरूमा आँखा डुलाउँथ्यो । नारायणगढमा एउटी स्वास्नीमान्छे चढी । खाली सिटमा बसी । मोटी थिई । लिपिस्टिक र शृंगार गरेकी थिई । कन्डक्टरले नसुनिदिएपछि श्यामसुन्दरले त्यो स्वास्नीमान्छेलाई भन्यो, ‘साउनी, मेरो जहान बेराम छ । उसलाई सिटमा बस्न दिनुस् न ।’

स्वास्नीमान्छे रिसाउँदै बोली, ‘मैले पैसा तिरेको छु सिटको । कत्ति बाठो मधिसे मोरो ।’

श्यामसुन्दरको आँखा फेरि पनि उदास भए ।

म फेरि निदाएछु । आँखा खुल्दा बिहानको ७ः३० बजेको थियो । ढल्केवर पुगिसकेका थियौं । उभिएका मान्छे पूरै गलेका देखिन्थे । एक घण्टापछि हाम्रो गाउँ भोटियाटोल चोकमा बस रोकियो, ओर्लियौं ।

श्यामसुन्दर राजविराज जाने मान्छे । धरान जाने बस राजविराज जाँदैन । रुपनी चोकमा ओर्लेर राजविराज जाने बस चढ्नुपर्छ । त्यहाँबाट आधा घण्टामा राजविराज पुग्छ । उसले रुपनी चोकबाट बस पायो कि पाएन ? बस पायो भने सिट पायो कि पाएन ? उसको स्वास्नीलाई सन्चो भयो कि भएन ? भीडभाड गाडी चढ्दा यही दृश्य सम्झिन्छु, निरीह र मधेसी देखेर मान्छेहरू अझैसम्म श्यामसुन्दरलाई हेपिरहेकै छन् ?

प्रकाशित : श्रावण ९, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

बच्चुकैलाश, वाईएस मुल्की, पाबुङ

बच्चुकैलाशको तीन मिनेट पन्ध्र सेकेन्डको त्यो एउटा गीतले कत्ति धेरै कथा बोकेको रहेछ ⁄ कसले भन्छ, उत्खनन जमिनमा मात्रै हुन्छ ? कसले भन्छ, पुरातात्त्विक महत्त्वका विषय जमिनमा मात्रै फेला पर्छन् ?
ब्रजेश

म बच्चुकैलाशको ठूलो प्रशंसक हुँ । त्यसैले उनीप्रति आदर र सम्मानको रूपमा म कार्यक्रममा उनको एउटा गीत गाउन चाहन्छु । कसो होला ?’ उनले शालीन स्वरमा विनम्रतापूर्वक प्रश्न गरे । उनी दुब्ला पातला थिए । उनको कपाल फुलिसकेको थियो । चाउरीका केही मुजाहरूले उनको अनुहारमा अधिकार जमाउन थालिसकेका थिए । तर, उनी तेजिला थिए । फुर्तिला थिए । उनको खास नाम त त शान्तनुकुमार लिम्बू हो । मणिपुरका नेपालीभाषी गायक । तर, उनी पाबुङ भनेर बढी चिनिन्थे । पाबुङ त्यहाँको भाषामा माया र आदरको शव्द रहेछ । त्यसैले सबैले उनलाई पाबुङ भनेर बोलाउँदा रहेछन् ।

केही वर्षअघि गायक तथा सङ्गीतकार आभासले उत्तरपूर्वी भारतका नेपालीभाषी गायकगायिका खोज्ने क्रममा शान्तनुकुमार लिम्बूलाई भेटेका थिए । त्यसै सन्दर्भमा नेपालयले हरेक महिनाको अन्त्यमा आयोजना गर्ने गरेको ‘पलेंटी’ नामक गायन कार्यक्रममा गाउनका लागि उनै शान्तनुकुमार लिम्बू, अर्थात् पाबुङ काठमाडौं आएका थिए । बाहिरबाट आउने पाहुना कलाकारलाई आफ्नै कार्यालय परिसरमा भएको अतिथिगृहमा राख्ने नेपालयको व्यवस्था थियो । पाबुङ पनि सोहीअनुसार त्यहीं बसेका थिए ।

वाद्यवादकसँग उनको दैनिक अभ्यास सुरु भएको केही दिन भइसकेको थियो । केही दिनमै उनी सबै जनासँग राम्ररी घुलमिल भइसकेका थिए । त्यसैले छोटो समयमै हामी सबैले उनलाई पाबुङ भन्न थालिसकेका थियौं । साधारणतया कार्यक्रमभन्दा अघि हप्ता/दस दिनको तयारी हुने चलन हुन्थ्यो । तर, पाबुङका गीतहरू यता नसुनिएका हुनाले अनि उनको गायन जीवनकै त्यो पहिलो एकल गायन कार्यक्रम भएकाले अलि बढी अभ्यास गर्ने सहमति भएको थियो । अभ्यासको क्रममा उनले एक दिन गरेको प्रश्न थियो त्यो ।

पाबुङको प्रस्ताव सुनेर हामीले एकार्कामा मुखामुख गर्‍यौं । सबैको आँखामा सकारात्मक भाव थियो । सबै जना खुसी भयौं । किनभने एक त अघि भनेझैं उनका गीत यहाँका श्रोताका लागि अपरिचित थिए । त्यस्तोमा उनले बच्चुकैलाशको एउटा गीत गाउँदा रमाइलो पनि हुन्थ्यो । ‘उसो भए किन नारायणगोपालको एउटा पनि नगाउने त ?’ हामीमध्ये कोही एकले प्रस्ताव राख्यो । ‘लौ, यो त अझै बढी मजाको कुरा भइहाल्यो नि !’ पाबुङ पनि दंग परे । मूल कुरोचाहिँ नारायणगोपाल र बच्चुकैलाशका असंख्य सुन्दर गीतबाट उनका लागि एक–एकवटा गीत छान्नु भनेको फलामको चिउरा चपाउनुजत्तिकै कठिन काम थियो । तर, निकैबेरको माथापच्चीपश्चात् हामी सबै मिलेर उनले सुनेका अनि उनको रेन्ज र स्वरलाई सुहाउँदो दुईवटा गीत छान्यौं । ती दुई गीत थिए, बच्चुकैलाशको ‘माया मैले बोलाए हुन्छ कि हुँदैन’ र नारायणगोपालको ‘आँखा छोपी नरोऊ’ । पाबुङका आफ्ना गीतसँगै अब यी दुई गीत पनि उनको अभ्यास–सूचीमा परे ।

कुनै पनि गीतलाई त्यसको धुन, लय र त्यसअनुसारको विभिन्न वाद्ययन्त्रले सिंगारेको हुन्छ भन्ने कसैलाई भनिरहनुपर्ने कुरा होइन । गीतहरूमा बीचबीचमा कुनै एउटा विशेष वाद्ययन्त्रको एउटा सानो टुक्रा प्रयोग गरिएको हुन्छ । कुनैकुनै गीतको त्यस्तो सानो टुक्रा यति सशक्त र कर्णप्रिय बनिदिन्छ, जसले गर्दा त्यो गीत र त्यो टुक्रालाई एकार्काको परिपूरक र परिचायक नै बनाइदिन्छ । त्यस्ता गीतहरू आम मानिसले गुन्गुनाउँदा पनि ती वाद्ययन्त्रको टुक्रा मुखैले कराएर गाउने गर्छ । गीतसंग त्यो धुनको सम्बन्ध नङ र मासुको जस्तो बनेको हुन्छ । उदाहरणका लागि ‘मनको रहर.....’ पछि मुखैले ‘टुङ’ ‘टुङ’ नगरी ‘कान्छीलाई घुमाउने काठमाडौं सहर’ गाउन सकिन्न । बच्चुकैलाशको गीत ‘माया मैले बोलाए हुन्छ कि हुँदैन’ मा पनि अन्तराको अन्त्यबाट स्थायीको लयमा फर्कने ठाउँमा एउटा त्यस्तै विशिष्ट टुक्रा धुन प्रयोग भएको छ । ‘बादलपारि संसार छ रे मैले त भेटिनँ, फुलेको यौवन ओइली नझर्ने ठाउँ नै देखिनँ’ पछि ‘संसार यहीं बसाए हुन्छ कि हुँदैन’ को बीचमा प्रयोग भएको त्यो धुनको टुक्रा अचम्मको छ । त्यो धुनबिना लौ त भनौं भने गीतको अन्तरा नै अधुरो लाग्छ । त्यो टुक्रा धुनलाई अकर्डियन भन्ने वाद्ययन्त्रमा बजाइएको छ ।

त्यस गीतको अभ्यास सुरु भएपछि हाम्रोसामु एउटा समस्या टड्कारो रूपमा तेर्सिन आइपुग्यो । किनभने अकर्डियन हामीकहाँ त्यति धेरै प्रयोग नहुने हुनाले त्यो बाजा र त्यसलाई बजाउने वाद्यवादकको हामीकहाँ खडेरी नै छ । झन् त्यतिबेला पलेंटीको समूहमा त त्यो छँदै थिएन । तर, त्यो धुन नबजाई गीत अधुरो हुनेभयो । त्यसैले वैकल्पिक रूपमा अरू कुनै वाद्ययन्त्रबाट त्यसलाई बजाउने प्रयास गरियो । किबोर्ड, भ्वायलिन वा बाँसुरीले त्यो बजाउन सकिन्छ कि भनेर हाम्रा वाद्यवादक साथीहरूले निकै कसरत गरे । तर, त्यसक्रममा एउटा अर्को कुरा पनि थाहा भयो । सुन्दा सरल सुनिने त्यो धुन बजाउन भने एकदमै कठिन रहेछ । छोटो समयमा द्रुत गतिमा थुप्रै सुर छोएर सक्नुपर्ने त्यो टुक्रा हामीसँग उपलव्ध कुनै वाद्ययन्त्रमा खोजेअनुसार बजाउन सकिएन । पटकौं पटक प्रयास गर्दा पनि गीतमा बजेको त्यो अकर्डियनको धुनलाई अरू कुनै वाद्ययन्त्रले न्याय गर्न सकेन । त्यो धुनलाई न्याय नगरी गीतलाई न्याय हुँदैन भनेर पलेंटीका संयोजक आभाषले भनेपछि अन्त्यमा पाबुङले गाउनका लागि बच्चुकैलाशको अर्कै गीत छान्नुपर्ने अवस्था आयो । त्यसैले अन्ततः कार्यक्रममा पाबुङले ‘बिर्सेको भए बितेका कुरा पापीको मनले’ भन्ने गीत गाए ।

अकर्डियनको त्यो छोटो, सुन्दर तर त्यति जटिल धुन कसले बजाएको थियो होला त भन्ने खुलदुली मेरो मनमा रही नै रह्यो । निकै दिनपछि एक पटक बच्चु अंकलसंग (पिताका मित्र हुनाले उहाँलाई म सानैदेखि बच्चु अंकल भन्छु) उहाँकै घरमा भेटघाट र भलाकुसारी हुँदा अचानक मेरो मगजमा पलेंटीको बेलाको त्यो घटना झिलिक्क चम्क्यो । त्यो गीत उहाँले कलकत्तामा गएर रेकर्ड गराउनुभएको हो भन्ने मलाई थाहा थियो । तर, त्यो निकै नै पुरानो कुरा हुनाले त्यसबारे उहाँलाई सम्झना नहुन पनि सक्थ्यो । तैपनि मैले आफ्नो खुलदुली रोक्न सकिनँ । पलेंटीको अभ्यासमा भएको कुरा सुनाएर मैले उहाँसँग त्यो अकर्डियनको टुक्राबारे जिज्ञासा राखें । बच्चुअंकल

आफ्नो विशिष्ट शैलीमा मुस्काउनुभयो र मीठो मधुरो स्वरमा (हो, उहाँ बोल्दा पनि गाएजत्तिकै मीठो र मधुरो सुनिन्छ) भन्नुभयो, ‘त्यो अकर्डियनको टुक्रा बजाउने वाईएस मुल्की भन्ने एक जना बंगाली थिए । पियानो अकर्डियन बनाउने उनीजस्तो दक्ष मानिस भारतमै छैन भनिदिए हुन्छ ।’ म बच्चु अंकलको स्मरणशक्ति देखेर प्रभावित भएँ ।

त्यहाँबाट फर्किँदा पनि मेरो मनमा त्यही धुन बजिरहेको थियो । मलाई वाईएस मुल्कीबारे थप खुल्दुली भयो । त्यसैले मैले गुगलमा उनीबारे केही खोजीनिती गरें । नभन्दै वाईएस मुल्कीलाई भारतको विशिष्ट र प्रतिष्ठित पियानोवादकका रूपमा सम्मान गरिँदोरहेछ । जीवनको पछिल्लो समय मुम्बईमा बिताएका मुल्कीलाई खासगरी बंगाली सङ्गीतको त खम्बा नै मानिँदो रहेछ । युट्युबमा उनले बजाएका रवस्न्द्र सङ्गीत र अरू बंगाली गीतका केही धुन फेला परे । मुल्कीबारेचाहिँ मैले खोजेको जति धेरै जानकारी त्यहाँ पनि भेट्न सकिएन । जे होस्, त्यति प्रतिष्ठित र कुशल वाद्यवादकले कुनै बेला नेपाली गीतमा पनि सहकार्य गरेका रहेछन् भन्ने हामीलाई थाहा छैन ।

मलाई थाहा छ, यो पढेपछि त्यो गीत नसुनेकाले पनि र सुनेकाले पनि एक पटक त युट्युबमा ‘माया मैले... बच्चुकैलाश’ भनेर पक्कै पनि औंलाहरू नचाउनुहुनेछ । नभए पनि अर्को पटक बच्चुकैलाशको ‘माया मैले बोलाए हुन्छ कि हुँदैन’ भन्ने गीत कतै बजेको सुनियो भने मलाई थाहा छ, तपार्इंहरूका पाइला पनि एकैछिन टक्क अडिनेछन् । कान र ध्यान त्यही गीततिर जानेछ अनि अकर्डियनको त्यो धुन सुन्दा तपाईंलाई त्यो गीत नै पनि नौलो लाग्नेछ । किनभने बच्चुकैलाशको त्यस गीतमा वाईएस मुल्कीले बजाएको अकर्डियनको त्यो सानो धुन आफैमा एक विशिष्ट सृजना बनेको छ ।

गीत–सङ्गीतलाई किन ईश्वरीय भनिन्छ भन्ने पनि सायद यस्तै कारण हुनुपर्छ । तिनको कुनै देश हुँदैन, कुनै जात हुँदैन, ती कहिल्यै मर्दैनन् । सृजना भएको दशक, शतक र त्योभन्दा लामो समयसम्म मानिसका बीच ती अमर रहन्छन् । सबैभन्दा मुख्य विषय त हरेक पटक सुन्दा तिनमा केही नयाँ आयाम फेला पार्न सकिँदोरहेछ । अनि तिनीहरूले आफैंमा एउटा इतिहास बोकेका हुन्छन् । बच्चुकैलाशको त्यो तीन मिनेट पन्ध्र सेकेन्डको गीतले पनि कति धेरै कथा बोकेको रहेछ । कसले भन्छ, उत्खनन जमिनमा मात्रै हुन्छ ? कसले भन्छ, पुरातात्त्विक महत्त्वका विषय जमिनमा मात्रै फेला पर्छन् ? गीत–सङ्गीतको उत्खनन गर्ने हो भने त्यहाँ पनि बहुमूल्य खजाना फेला पार्न सकिन्छ । कलाको खजाना, सृजनाको खजाना अनि सिंगो इतिहास !

प्रकाशित : श्रावण ९, २०७८ १०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×