मलाई आकाशजस्तै छ्याङ्ङ खुल्न मन लागेको छ । धरतीजस्तो सहनशील होइन । समुद्रजस्तो गहिरो पनि होइन । मलाई खोलाजस्तो बग्न मन लागेको छ, ताकि म बाटो बनाउँदै सबै अप्ठ्यारा भत्काउँदै आफू बाँच्नुको अर्थ सार्थक बनाउन सकूँ । डराएर होइन, हवसका दृष्टिले हेर्ने आँखाहरूलाई थर्कमान बनाएर हिँड्न सकूँ । हिँड्न सकूँ त्यसरी, जसरी लालीमय बिहानीले कालो बादललाई सफा गरेर हिँड्छ ।
ओथारो बसेको पोथी परेवा अलि पर सरिरहेको थियो । वाक्वाकुम्...वाक्वाकुम् आवाज निकाल्दै बचेरालाई चुच्चोले चारो खुवाउँदै गरेको भाले परेवा निकै डराएको थियो । त्यतिखेर मेरा दायाँ हात परेवाको बचेरा समातिरहेको थियो । मैले बल्लतल्ल उड्न थालेको परेवाको बचेराको दुवै प्वाँख च्याप्प समातेँ । बचेराको जिउ थर्थराइरहेको थियो ।
अधबैंसे, सिकुटे, ख्याउटे, गाला भित्र धसिएको, कालो वर्णको ! कलेजी रङको कुर्ता र हरियो बुट्टेदार लुङ्गी । एक हातले मोबाइल समातेर कुरा गरिरहेको, अर्को हातले बसको रड समातिरहेको । काखीमा आएको पसिनाले उसको कुर्ता भिजेको थियो । ऊ अर्थात श्यामसुन्दर ।