घुरको प्रेम अनुभव गरेर मधेश थाक्दैन । घुर तापेर मधेश कहिल्यै अल्छी मान्दैन । भोकभन्दा पनि प्यारो, निद्राभन्दा पनि सुन्दर, तिर्खाभन्दा पनि प्रेममय छ– घुरको न्यानो ।
काठमाडौँ — खलखली पसिना बगाउने गर्मी मात्रै झेलेका छैनन् मधेशवासीले, घमौराले पाकेको पिठ्युँ कन्याउँदै दिन पनि बिताएका छन् । वसन्तमा रमाएका मात्रै छैनन्, वर्षामा छुपुछुपु घान रोप्दै छाना चुहिरहेको घरमा मिठो निद्रामा थकाइ बिर्सेका पनि छन् ।
मधेशवासीलाई जे पनि प्यारो– घाम, छाया, शीतलहर जे पनि । शिशिरको कथा पनि कम छैन । शिशिरमा हात, खुट्टा ठिहिर्याउँदा पनि खेतको काम गरेर कहिल्यै थाक्दैनन् ती ।
मधेश कहिल्यै सुत्दैन, आराम गर्दैन । शीतलहरमा तुवाँलोले ढाकिएको आकाश महिनौंसम्म देखिँदैन । घाम महिनौं लाग्दैन । मुटु कमाउने चिसो हावा चलिरहेका बेला होस् वा शीतलहरले तलुवा चरचरी फुटेका बेला, जाडोलाई चुनौती दिँदै मधेशवासीहरू दैनिक काम गरिरहन्छन् ।
शीतलहर होस् वा अमरसाको (वसन्त ऋतुमा आँप पाक्ने बेला लाग्ने निद्रा) निद्रा मधेशवासी कहिले निदाउँदैनन् । आराम गर्छन् त्यतिबेला मात्रै, जतिबेला उनीहरू घुर ताप्छन् । घुरको आगो तापेर सुकुन र पुलकित अनुभव गर्छन् । घुर तापेर साँच्चै आराम, खुसी र न्यानो अनुभव गर्छन् । घुरको न्यानोले खेतमा काम गर्दा लागेको थकाइ बिर्सिन्छन् । चिसोले न्याकेको जिउलाई घुरको न्यानोले तन्दुरुस्त पार्छ ।
म घुर मात्र सयर गरिरहेकी छैन, पस्किरहेकी छु– घुरको मन्द न्यानो, जसले तपाईंलाई पनि यो चिसोमा न्यानो दिनेछ । आँखा मिच्दै हराइरहेकी छु, घुरको पिरो धूवाँमा । पुत्ताइरहेको घुरको धूवाँको डोरी समाउँदै म कतै लड्छु त्यतिबेला मलाई जाडो अनुभव हुन्छ । पुत्ताइरहेको धूवाँलाई म वास्ता गर्दिनँ । आँखा मिच्दै घुर फुफु गर्दै फुक्छु । मलाई धूवाँ होइन, घुरको आगो चाहिन्छ, न्यानो चाहिन्छ । घुरको आगोजति प्रिय यो जाडोमा केही छैन ।
म बिहान उठ्छु र ताप्छु घुर । घुर तापेर स्वर्गीय अनुभव गर्छु किनकि घुर स्वर्ग हो । योभन्दा कम वर्णन गर्न सक्दिनँ । जुन वस्तुले संसारमा सबैभन्दा सुन्दर अनुभव गराउँछ, त्यही त स्वर्ग हो, जसबारे सोचिराख्न मनपर्छ त्यही त प्रेम हो । हो घुर मधेशवासीका लागि जाडो भगाउने र न्यानो अनुभव गराउने स्वर्ग हो । घुरको आगो प्रेम हो । घुरको आगोले सबैलाई लठ्याउँछ, मोहित पार्छ, आफूतिर तान्छ, थकान बिर्साउँछ । घुर नतापी बस्न सकिन्न, त्यसैले यो प्रेम हो ।
अर्को अर्थमा भन्दा घुरसित मधेशवासीलाई जाडोमा प्रेम बस्छ । यो प्रेम बर्सेनि बसिरहेको छ, बसिरहनेछ । घुरको सामीप्य अनुभव गरेर मधेश कहिल्यै थाक्दैन । घुर तापेर मधेश कहिल्यै अल्छी मान्दैन । भोकभन्दा पनि प्यारो, निद्राभन्दा पनि सुन्दर, तिर्खाभन्दा पनि प्रेममय छ घुरको सामीप्यता र न्यानो ।
म गाती बाँधेर घुर तापिरहेकी छु । म मात्रै होइन, घरका सबै सदस्य (हजुरबा, हजुरआमा, बा, दाइ, दिदी) पनि घुर तापिरहेका छन् । अझ छिमेकी काका, काकी, ठूलाबा–आमा, उनका छोराछोरी पनि मेरै खलियानमा घुर ताप्न आएका छन् । तर, जेठाजु र ससुराको अनुहार नहेर्ने, घुम्टो ओढ्ने परम्परा रहेकाले मेरी आमा, भाउजू, ठूलीआमा र काकी आँगनको बोरैसमा घुर तप्दै छन् । बोरैसको घुरमा ठूलो आगो छैन ।
खेतबाट धान काटेर फर्किएपछि बेलुकी हात, खुट्टा धोएर सबै घुर ताप्न बसिरहेका छन् । यो सगोलको घुर होइन । तैपनि घुरको कुनै थर, नाम, ठेगाना र समूह हुँदैन । घुरले मानिसलाई न्यानो जीवन दिन्छ । छिमेकीहरूको घरमा पनि घुर थियो, तर सानो । एकछिन तापेर घुर सेलायो अनि उनीहरू घुर ताप्न मेरो खलियानमा आए । मेरो घरमा जहिल्यै तीन वटा घुर बल्छ– पहिलो खलियानमा, दोस्रो गुहालीमा, तेस्रो आँगनको बोरैसमा (आगो ताप्न बनाइएको माटोको भाँडा) ।
खलियानको घुर सबै मिलेर ताप्छौं, रातको खाना खानुअगाडि । यो घुर सुक्खा लार (धानको निन), पुवार (पराल), धानको खखरी, गहुँको भुस (छ्वाली), धानको बुट्टी, सुकेको बाँसको पात र झिँजाहरूले लगाइन्छ । सबैभन्दा तल लार, पुवार राखिन्छ । त्यसमाथि खखरी वा छ्वाली, धानको बुट्टी (जरा) माथि राखेर घुर लगाइन्छ । यो घुर धेरै आगो बल्ने खालको हुन्छ । रातैभरि यो घुर बालिँदैन । किनकि रातिको खानापछि मानिसहरू आराम गर्छन् ।
गुहालीको घुर गाई, गोरुलाई न्यानो दिन लगाइएको हुन्छ । गुहालीमा लगाइएको घुरमा सुक्खा लार, पुवारसहित धेरै काँचो लार, पुवार हालिएको हुन्छ । लार, पुवारमाथि गहुँको भुस, खखरी र गाईगोरुले गोब्य्राएको लार, पुवारले गुहालीको घुर लगाइएको हुन्छ । जसले गर्दा बेसी धूवाँ निस्किन्छ । धूवाँले गाईगोरुको गुहालीमा मच्छर प्रवेश गर्दैन र ती आरामले रातभरि निदाउँछन् । रातभरि यो घुर बल्ने भएकाले गुहाली न्यानो भइरहन्छ ।
तेस्रो घुर घर वा आँगनमा ताप्ने घुर हो । यो घुर बोरैसमा तापिन्छ । घरभित्र ताप्ने भएकाले यो घुर गुइँठा, चिपरी वा सन्ठीको (सनपाटको गुद्दी) हुन्छ । यो घुर घरभित्र तापिने हुनाले यसमा धूवाँ काम हुन्छ । सन्ठी सल्काएर वा गुइँठामा आगो सल्काएर यो घुर तापिन्छ । गुइँठाको आगो टिकाउ हुने भएकाले घरभित्र बोरैसमा यो घुर रातभरि राखिन्छ, जसले गर्दा कोठा न्यानो भइरहन्छ ।
मेरो खलियानमा बसेर सबैजना घुर ताप्दै आ–आफ्ना खेतीबारी, छिमेक, गाउँघर, आफन्तको दुःखसुखको कुरा गरिरहेका छन् । उता आँगनमा बोरैसको आगो ताप्दै आमा, काकी, ठूलीआमा, भाउजू र दिदीहरू के–के कुरा गर्दै थिए कुन्नि थाहा भएन, तर यहाँ खेतीबारी, जनयुद्धदेखि छोराछोरीको बिहेसम्मका कुरा भइरहेको थियो ।
रातको खाना कसैले खाएका थिएनन् । मानौं खानाभन्दा घुर न्यानो थियो । भोकभन्दा घुरको आगो मिठो थियो । घुर नसेलाओस् भनेर छेउमै बा पुवार लिएर बसेका छन् । घुरमा आगो कम हुनेबित्तिकै बा पुवार हाल्छन् । पुवार हाल्दा घुरको आगो ज्वालाजसरी बल्छ । त्यतिबेला सबै पछाडि सर्छन् । आगो कम हुन थालेपछि फेरि सबै घुर नजिक–नजिक सर्छन् ।
अगाडिबाट घुर न्यानो लागे पनि पछाडि पिठ्युँमा जाडो लागिराख्ने । हामी केटाकेटी अगाडि पनि घुर ताप्छौं । पिठ्युँ घुरतिर फर्काएर पनि ताप्छौं । घण्टौं भइसकेको छ– ताप्दै बसेको तर, घुर छोड्ने नाम कसैले लिएका छैनन् । घण्टौं घुर तापेपछि सबैजना रातको खाना खाने सुरसारमा लागे । बाले घुरमा पुवार हाल्न बन्द गरे । आगो सेलाउन थाल्यो ।
बाले घुर लगाउँदा टोलभरिका छिमेकी जम्मा हुन्छन्, बिहान र बेलुका घुर ताप्न । घुरमा घण्टौं बिताउँदा धेरै लार, पुवार जलाएर सकिन्छ । त्यसैले बेलाबेला आमा बासँग रिसाउनुहुन्छ, ‘अखैन लार पुवार सैब घुरताइपके नै ओरा (अहिले घुर तापेर सबै लार, पुवार नसकाउनुस् ।)’ घाँस नपाइने वर्षामा गाईगोरुलाई खुवाउन लार, पुवार जोगाएर राख्नुपर्छ भनेर सम्झाउँदा बा बेलाबेला घुर सल्काउन बारीबाट ढाकीमा छ्वाली, धानको बुट्टी र खखरी लिएर आउँछन् ।
राति खाना खाएर फेरि बाले एकछिन अघिजस्तै खलियानको घुरमा लार थपे, आगो बाले । म पनि बासित घुर ताप्न बसें । अब घुर तापेर बा र हजुरबा सुत्ने तरखरमा थिए । सुत्नुभन्दा अगाडि घुर तापेर हात, खुट्टा र जिउ न्यानो बनाए । त्यसपछि घुर सेलाउन दिए । रातभरि घुरको आगो यत्तिकै छोडे आगो लाग्ने भय हुन्छ ।
अब मेरो पालो आमासित घुर ताप्नु थियो । आँगनमा हजुरआमा, आमा, दिदी र दाइभाउजू बोरैसमा सन्ठीको घुर ताप्दै छन् । सबैजनाले टाउको र कान छोपिने गरी ओढ्ना ओढेका छन् । आमा र भाउजूले चाहिँ घुम्टोमाथि ओढ्ना ओढेका छन् । सन्ठीसँगै गुइँठाको घुर बलिरहेको छ । यता पनि सबैजना सुत्न जाने तरखरमा लागे । आमाले बोरैस घरभित्रै लिएर आइन् । गुइँठाको घुर रातभरि घरभित्र बलिरहन्छ । त्यो घुरले रातभरि कोठा न्यानो बनाइराख्न मद्दत गर्छ ।
घुर तापेर सुत्दा जिउको तातोले चाँडै सिरक न्यानो हुन्छ । जति छिटो सिरक न्यानो हुन्छ त्यति छिटो निद्रा लाग्छ । बिहान उठ्दा पनि कोठा न्यानै थियो । आगो अझै बाँकी थियो । यस्तो चिसोमा सलाई र लाइटर पनि बलिरहेको हुँदैन । त्यही भएर रातकै आगोले बिहानको घुर बाल्ने गर्छिन् आमा । उठ्नेबित्तिकै फेरि खलियानमा घुर बालिन् । रातिको बोरैसको आगो डाडुमा ल्याइन् । आगो लारमा राखेर फुक्दै गुहाली र खलियानमा घुर सल्काइन् ।
घुर देख्नेबित्तिकै बा र हजुरबा गुहालीबाट उठेर ताप्न आए । काका र ठूलो बा पनि आए । ठूलोबा र हजुरबालाई देखेर आमा घुर छोडेर आँगनतिर गइन् । त्यसैले मलाई बेलाबेला हाम्रो संस्कार मन पर्दैन । जेठाजु र ससुरासित बसेर घुर ताप्नै हुँदैन भनिन्छ । आमाले फेरि आँगनको बोरैसमा घुर सल्काइन् । मेरो गातीमा चिनी, चिउरा बिहानको जलखै हालिदिएकी छन् आमाले । म जलखै खाँदै घुर ताप्दै छु ।
घुर ताप्नकै लागि ६ महिना अगाडिदेखि घुर बाल्ने वस्तुको जोगार आमाले गर्छिन् । धानको खकरी, धानको बुट्टी, सन्ठी, छ्वाली घर पछाडिको बारीमा जम्मा गरेर जोगाएर राख्छिन् । शीतलहर बढेपछि प्रत्येक दिन यी वस्तुहरू लार र पुवारसँग मिसाउँदै घुर बाल्ने गरिन्छ ।
घुरले सामाजिक एकता कायम गरेको छ । समाजमा मेलमिलाप बढाएको छ । घुरको न्यानो जस्तै छिमेकीसित पनि न्यानो सम्बन्ध बनाइराख्न घुरले मद्दत गरेको छ । तर, सासू, बुहारी र जेठाजु, बुहारी सँगै बसेर घुर ताप्न नपाउँदा एक प्रकारको खल्लो अनुभव हुन्छ ।
घरका सबै सदस्य सँगै बसेर घुर ताप्न मिल्छ, तर बुहारी र जेठाजुको सम्बन्धले सँगै बसेर घुर ताप्ने अनुमति दिँदैन । त्यही भएर घुर ताप्ने बेला बासित घुर तापे पनि आमा र भाउजूको अभाव खड्किन्छ । उता आँगनमा आमासित घुर तापे हजुरबा, बा र काका, ठूलोबाको अनुभव खड्किरहन्छ ।
गाउँका प्रत्येक छिमेकीको गुहाली, खलियान र बोरैसमा घुर बलिरहेको छ । सबैजना परिवारसित घुर तापेर जाडो छलिरहेका छन् । घुर ताप्न कसैलाई कसैको अनुमति लिनुपर्दैन । जहाँ घुर बलेको छ, त्यहाँ छिमेकीहरू घुर ताप्न जम्मा भइहाल्छन् । घुरले सामाजिक, पारिवारिक एकता कायम गरेको छ । घुर ताप्दै एकअर्काको दुःख, सुखका कुरा साटासाट गर्छन् । यसले छिमेकी टाढिनबाट रोकिएको छ । गाउँ टुक्रिनबाट बचेको छ ।
त्यसैले त सहरभन्दा गाउँमा मानवता र सहयोगको भावना छ । सहरभन्दा गाउँमा संयुक्त परिवार सँगै मिलेर बसेका छन् । घुरले न्यानो मात्र दिने काम गरेको छैन । पारिवारिक र सामाजिक जीवनमा सुमधुर सम्बन्ध स्थापना गर्न न्यानो सहयोग गरेको छ । सुख, दुःख बाँड्न प्रेरित गरेको छ । सगोलमा बस्न प्रेमिल सुवास छरेको छ । छरछिमेक र गाउँलेहरूलाई एकै ठाउँमा एकै घुरको आगो सँगै बसाएर तपाएको छ । घुरले आपसी मित्रता, नैतिकता, भाइचारा, स्नेह, मेलमिलाप र सहयोगको भावनालाई बढाएको छ ।
...
घुरको धेरै फाइदा छ । घुरले चिसोबाट बचाउँछ । हाड, जोर्नी दुख्नेले घुर तापेर दुखाइ कम गर्छ । जाडो छल्न घुर सुरक्षा कवच हो । थोरै लुगा हुँदा घुर तापेर जाडो छल्न सकिन्छ । महँगो बाक्लो लुगा किन्न पैसा खर्चिनु पर्दैन । घुर ताप्दै दुई सरो न्यानो लुगाले गाउँलेले शीतलहर छल्छन् । तर घुर धेरै ताप्दा लुगा धूवाँ गनाउँछ ।
सधैं लुगा परिवर्तन नगर्दा र ननुहाउँदा घुर ताप्ने मान्छेको छेउमा बस्नै मन लाग्दैन । किनकि घुर ताप्नेको लुगा गनाइरहेको हुन्छ । राम्ररी आगो सेलाएर सुतेन भने घर र गुहालीमा आगो लाग्ने डर हुन्छ । बच्चा भएको घरमा बोरैसमा रातभरि घुर राख्नु हुँदैन । आमा सुतिराखेका बेला बच्चाहरूले आगो छोएर दुर्घटना निम्त्याउन सक्छ ।
घुर बाल्ने काम दीपावलीबाट सुरु हुन्छ । वसन्त ऋतुको सुरुवातसँगै घुर ताप्न बन्द हुन्छ तर गाईगोरुको गुहालीमा बाह्रैमास घुर बालिन्छ । तराईमा गर्मीमा मच्छर धेरै लाग्ने भएकाले घुरको धूवाँले गाईगोरुहरूलाई मच्छरको टोकाइबाट जोगाउँछ । त्यति मात्र होइन । वर्षा ऋतुमा वर्षाको पानीका कारण खेतको आलीको प्वालमा लुकेर बसेका सर्प, बिच्छी जस्ता कीरा–फट्याङ्ग्राहरूको प्वालमा पानी पस्छ ।
ती विषालु कीरा आलीको प्वालबाट निस्केर गाउँघरमा प्रवेश गर्छन् । गर्मी र वर्षा ऋतुमा कीरा फट्याङ्ग्राको टोकाइले मानिसको मृत्यु हुने गरेको पाइन्छ । यी विषालु कीराहरूबाट बच्नका लागि गर्मी महिना र वर्षा ऋतुका बेलामा घुर गुहाली, खलियान र बोरैसमा लगाइन्छ । घुरमा खैर (पिना) हाल्ने गर्छन् । खैरको वास्नाले सर्प र बिच्छीजस्ता विषालु कीरा–फट्याङ्ग्रा घर छोडेर भाग्छन् । घुर जाडोमा मात्र हैन । वर्षभरि नै मधेशमा बल्छ । जाडोमा मात्र घुर तापिन्छ तर घुर बाह्रै महिना बालिन्छ यसले न्यानो मात्र दिँदैन मच्छर, बिच्छी, सर्पजस्ता विषालु जीवहरूलाई घर र गुहालीबाट भगाउँछ ।
...
घुरको इतिहास जति नै लामो भए पनि मानव बसोबास रहुन्जेल घुर बलिरहन्छ । घुरले मानिसलाई मात्र नभई अन्य घरपालुवा प्राणी गाईगोरु, बाख्रा र भैंसी, कुकुरलाई न्यानो दिएको छ । मानिसलाई मात्र होइन घरपालुवा जन्तुहरूका लागि पनि घुर अति प्रिय छ । जाडोमा न्यानो सबैलाई प्रिय लाग्छ ।
त्यही प्रिय वस्तु हो घुर, यसको न्यानोलाई अँगाल्न मधेशवासी हरदम तम्तयार छन् । घुर नभइदिएको भए शीतलहरले कैयौं मानिसले कठ्याङ्ग्रिएर जीवन गुमाउनुपर्थ्यो । यही घुरले लाखौंको ज्यानमा न्यानो प्राण भरेको छ ।
शीतलहरको कठ्याङ्ग्रिँदो मौसममा घुरले न्यानो माधुर्य छरेको छ । न्यानो संगीतमय लयले जादु छरेको छ । मधेशवासीलाई स्वर्गीय, स्नेहपूर्ण प्रेमले भरिएको जीवन घुरले दिएको छ । मानौं घुर आमा हुन् । आमाको न्यानो काखबिना बच्चा बस्न सक्दैन । त्यसरी नै घुरको न्यानोबिना मधेशवासी बस्न सक्दनैन् ।
जसरी एउटा प्रेमी प्रियसीको छातीमा टाउको राखेर निदाउँदा संसार बिर्सिन्छ, त्यसरी नै घुरको न्यानो अनुभव गर्न पाउँदा शीतलहरले दिइरहेका सबै पीडा मधेशवासी बिर्सिन्छन् । मधेशवासीहरू प्रेमी हुन् र घुर उनीहरूका प्रियसी ।
