कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक झिल्को सपना

अरब गएकालाई फिर्ता बोलाएर कृषिमा रोजगार दिन्छु र ती उत्पादन अरब देशहरूमै निर्यात गरेर रेमिट्यान्सभन्दा बढी पैसा भित्र्याउँछु । अनि २० वर्षमा त नेपाल स्विजरल्यान्ड ! मनमा हलुवा पाकिरह्यो, मैले खाइरहें !
खगेन्द्र लामिछाने

कलाकार दर्शकको संवेदनशीलता बुझेर अभिनयमार्फत यश र ऐश्वर्य कमाउने मान्छे मात्रै होइन । ऊ मुलुकको सचेत नागरिक पनि हो । र, त्यसकै उदाहरण हुन्– खगेन्द्र लामिछाने । घर कमजोर छ भने त्यसलाई मजबुत पार्न एउटा कुनोबाट निर्माण सुुरु गर्नुपर्छ । खगेन्द्रले झैं नेपालका प्रत्येक युवाले आ–आफ्नो मेलो पाए देशले आफ्नो मुहार फेर्न कुनै ‘मसिहा’ लाई पर्खेर समय नष्ट गर्नु पर्दैन । तर, मानिसको जीवनमा परिवर्तन जगाउन कुनै घटनाको आवश्यकता पर्दोरहेछ । कस्तो घटना थियो, जसले खगेन्द्रलाई आफ्नो बगैंचा सिँगार्न र विस्तार गर्न प्रेरित गर्‍यो ? प्रस्तुत छ दस वर्षअघि उनले देखेको एक झिल्को सपना, उनकै लेखनीबाट :

एक झिल्को सपना

टुरिस्ट भिसामा तीन महिना जापान बसेर बाध्यताले गाउँ फर्केका भरत लामिछाने दाइको सपनाको सहर थियो– लन्डन ! म सानै छँदा गाउँका जमघटमा दाइ भनिरहन्थे, ‘एकपल्ट लन्डन छिर्न पाको भए म मुन्छे बन्तें ।’धेरै वर्षसम्म दाइले काठमाडौं बस्ने दलालका दैला चहारे । भुरेटाकुरे नेतालाई पनि भेटे ।

‘उताबाट भिसा पठाइसक्यो, एक हप्तापछि उड्न तयार हुनुस् ।’

‘थोरै गडबड भएछ, पन्ध्र दिनपछि कन्फर्म, नभए पैसा फिर्ता ।’

दलालका मुखबाट दाइले यस्ता कुरा धेरै वर्षसम्म सुनिरहे । सबै दलालले आफ्नो धर्म राम्ररी निर्वाह गरे । दाइको सपनासँगै ऋण–धन गरेर जम्मा पारेको पैसा पनि उनीहरूले खाइदिए । तर, उनको लन्डन जाने सपना कहिल्यै पूरा भएन ।

अहिले भरत दाइ गाउँमै बस्छन् । उनी हाम्रो बीचमै छन् । मेरो मात्र होइन, सबै गाउँलेको नजरमा उनी असल मान्छेको कोटीमा पर्छन् । तर, लन्डन जान नपाएकाले ऊनी आफैं आफूलाई मान्छेको कोटीमा राख्दैनन् ।म गाउँ जाँदा कहिलेकाहीं दाइसँग भेट हुन्छ । सधैंझैं खिस्स हाँस्छन् । बाटोमाथिको सानो कान्लोमा एउटा खुट्टो अड्याएर रस सुकेको सुर्ती थुक्दै अहिले पनि भन्छन्, ‘एकपल्ट लन्डन पस्न मत्रै पा’ भए म यो गाम्का मुन्छेले भेट्न नसक्नी मुुन्छे हुन्तें ।’

मलाई थाहा छैन, कस्ता खालका मान्छेलाई ‘मान्छे’ भन्छन् उनी । गोराहरूलाई मान्छे भन्ने हुन् भने उनी आफैं कुनै अमेरिकन वा युरोपियनभन्दा कम गोरा छैनन् । कतिपय युरोपियनको भन्दा खाँटी युरोपियन लाग्छ उनको कपाल पनि ।

०००

सन् २०११ फेब्रुअरीमा यूकेको भिसा लाग्नेबित्तिकै मैले भरत दाइ सम्झें । सानैदेखि उनको मुखबाट धेरैपल्ट सुनेको लन्डन उनीभन्दा म पो पहिला जाने भएँ । भरत दाइको आँखामा म पनि ‘मान्छे’ हुने भएँ । मिल्ने भए त दाइलाई सुटकेसभित्र प्याक गरेर लन्डन लगिदिन मन थियो । तर, त्यो त केवल भावुकता मिसिएको एक असम्भव कुरा न थियो । सन् २०११ मार्च ५ का दिन बीबीसी मिडिया एक्सनद्वारा लन्डनस्थित साउथ ब्याङ्कमा आयोजना हुने इग्नाइट सिर्जनात्मक कार्यशालामा भाग लिन म लन्डन उडें । साथमा थिए सहकर्मी फियोना लेज्जर र शिवानीसिंह थारू ।

कार्यशालामा सहभागी हुन झन्डै एघार देशस्थित बीबीसी मिडिया एक्सनमा काम गर्ने सहकर्मी आएका थिए । ६ दिनको कार्यशाला छ घण्टामा सकिएजस्तो भयो । जब लन्डन सहर घुम्ने दिन सुरु भए, तब मेरो मन तातो हाँडीमा पड्किएका मकैजस्तै भयो । मनले बुर्कुसी मारेपछि जीउ अड्याउन गाह्रै पर्दो’रैछ । बीस दिन बस्ने भनेर लन्डन गएको म नौ दिन बिताएर काठमाडौं फर्किएँ ।

‘यार, फिरीमा लन्डन घुम्न पाउँदा किन हुर्रिएर आको !’, धेरै साथीले मलाई बेवकुफ ठाने । तर, के म बेवकुफ थिएँ ?

०००

५ मार्च २०११ को दिन । नीलो ज्याकेट, आकाशे रङको जिन्स पाइन्ट र एकपत्रो धूलो जमेका खैरा डक्टर मार्टिन जुत्ता लागाएर म सहकर्मी फियोना र शिवानीसँग एअरपोर्ट पुगें । म गमन पत्र (एक्जिट पर्मिट) भर्दै थिएँ । ‘ये फारम भरदिजिए न,’ पछाडिबाट आवाज आयो । मैले पछाडि हेरें ।

दाह्री कपाल फुलेका दुब्ला मानिस आफ्नो मुस्कानमा आग्रह मिसाएर मलाई नै हेरिरहेका थिए । ‘तपाईंलाईं लेख्न आउँदैन ?’ उनको हल्का मुस्कानको उत्तर मैले पनि मुस्कानले नै दिएँ ।

‘आउँदैन’ भन्ने भावमा उनले टाउको हल्लाए । ओठमा च्यापेको सुर्ती रसाएछ क्यारे, काँधमा भिरेको गम्छाले ओठ पुछ्दै उनले आफ्नो पासपोर्ट र टिकट मलाई दिए । ‘कहाँ काम गर्नुहुन्छ ?’ ‘साउदी अरब ।’

‘कति वर्ष भयो साउदीमा काम गर्न थालेको ?’

‘छ वर्ष ।’

मैले उनका लागि गमनपत्र भरिदिँदै उनीसँगको कुराकानी जारी राखें । ‘मुम्बईमा छ त ट्रान्जिट ?’

‘खै कम्पनीले सधैं यस्तै टिकट दिन्छ !’

बीचबीचमा टुटेफुटेका नेपाली शब्द मिसाए पनि उनले हिन्दीमा जवाफ फर्काइरहेका थिए । उनी र मबीचको कुराकानीलाई शिवानीले फियोनाका लागि अंग्रेजीमा उल्था गर्दै थिइन् । मैले अहमदलाई गमनपत्र भरेर दिएँ ।

‘गुड लक !’ फियोनाले अहमदसँग हात मिलाइन् । गुट्काले खिएका दाँत देखाएर अहमद हाँसे । शिवानी र म दुवैले अहमदसँग हात मिलायौं । उनी परै पुगिसक्दा पनि हाम्रा आँखा अहमदबाट हटेनन् । उनी पनि घरिघरि हामीतिर हेर्दै मुस्कुराउँदै गए । ‘तिमी माहुरी हौ अहमद,’ मेरो मन निमोठियो, ‘टाढा टाढा गएर रस ल्याउँछौ, चाका भर्छौ, तिनै चाका निचोरेर देश चलेको छ ।’

कतार एअरवेजको जहाजको फ्लाइट अनाउन्समेन्ट आएपछि हामी लाइनमा बस्यौं । निधारमा रातो, सेतो टीका लगाएका र कतिपय नलगाएका युवायुवतीको अनुहारमा उत्साह जति थियो, त्यति नै थियो परिवारसँग विछोडिएर परदेश जानुको पीडा । कतार एअरवेजको जहाज दोहाका लागि उड्यो ।

एकैछिनमा हामी चराजस्तै आकाशियौं ।

समुद्रसँग जोडिएको खैरो रङको कतार देश जहाजबाट देखियो । हजारौं नेपालीले आफ्ना बलिया पाखुरा बजारेर चोला फेराएको त्यो खैरो जर्जर भूमिमा टेक्दा मलाई आफ्नै भूमि टेकेजस्तो लाग्यो । मैले अहमदलाई सम्भेंm । उनी अलि अघि नै मुम्बई पुगे होलान् । म लन्डन पुग्दा उनी साउदी अरब पुग्नेछन् सायद । काठमाडौंमा साटेको पाउन्ड मैले लन्डनमा खर्च गर्नेछु । उनले रियाल कमाएर नेपाल पठाउनेछन् । यो अर्थको चक्र पनि गज्जबकै छ । साँझपख दोहाबाट लन्डनका लागि जहाज उड्यो । क्षितिजबाट उज्यालो हराउँदै गयो । जहाजको झ्यालमा टाउको अड्याएर तल हेरें । आकाशमुनि देखिएका सहरहरू रातमा पनि हलका पहेंलो जलप लगाइएको हीराजस्तै चम्किला थिए । रातको धेरैजसो समय अँध्यारैमा बिताउने आफ्नो देशलाई सम्झें । लाज मिसिएको हल्का हाँसो ओठबाट निस्कन गाह्रो मान्यो । मध्यरातमा बादल फाटेको आकाशबाट झलमल्ल लन्डन सहर देखियो । एकैछिनमा जहाजका पांग्राले भुइँ छोए ।

‘अब भरत दाइका आँखाले मलाई पनि मान्छेजस्तै देख्नेछन्,’ एअरपोर्टको बाहिर भूइँमा खुट्टाले टेकेपछि मैले दाइलाई सम्झें ।

०००

उदाउँदो मार्च महिनाको जाडो । फियोनाले उठ्ने जाँगर नदेखाएपछि शिवानी सिस्टर र म बिहानै होटलबाट निस्कियौं । बाहिर मुटु छेड्ने चिसो थियो । भर्खरै पिच गरेजस्ता काला सडक ! पुराना, तर सुन्दर भवनहरू ! सफा गल्ली ! व्यस्त मान्छेहरू ! नाङ्गा आँखाले र नाकले थाहा नपाउने धूलो र धूवाँलाई त के गन्नु र !

छक्क परेर यताउता हेरिरहँदा मैले एक झल्को काठमाडौंलाई सम्झें । धूलो र फोहोरले मक्किएका खाल्टे सडक ! तीन–चार आनामा बनेका गगनचुम्बी रङ्गबिरङ्गी भवनहरू ! फोहोरका डङ्गुरले बाटो छेकेका गल्लीहरू ! फागुमा उड्ने रङजस्तो धूलो ! वृद्ध बसले उडाउने कालो धूवाँ ! आफ्नै देशको बखान गर्नका लागि माथिका वाक्य प्रयोग गर्दा मेरो मन खिन्न भयो ।

‘हामी मान्छे हौं सिस्टर ?’ शिवानीसँग सोधें । उनी हाँसिन मात्र । ‘यो ठाउँ त भगवान्ले छु–मन्तर गरेर बनाएजस्तो छ त,’ उत्तर नपाएपछि मैले फेरि भनें ।‘यु आर किडिङ योर सेल्फ ब्रदर !’ आँखा चिम्सा पारेर सधैंझैं शिवानी हाँसिन् ।

‘यदि हामी मान्छे हौं भने बेलायतीहरू भगवान् हुन्,’ मैले भनें, ‘यदि यिनीहरू मान्छे हुन् भने हामीचाहिँ के हौं ?’सडक पार गरेपछि शिवानी टक्क रोकिइन् । ‘संसारमा एउटै सोच भएका मान्छे हुन्नन्,’ उनी कड्किइन्, ‘हुन्थे भने संसार कि स्वर्ग हुन्थ्यो कि त नर्क ब्रदर !’

कुरो ठीकै हो । खाजा खाएर होटल फर्कंदा अचानक हामीले दीपेन्द्र गौचन दाइलाई भेट्यौं । बीबीसीको जागिरका लागि सन् २००७ मा अन्तर्वार्तामा दिने क्रममा दीपेन्द्र दाइसँग मेरो भेट भएको थियो ।

बीबीसीको व्यवस्थापन टिम आएर हामीलाई उक्त होटलबाट सारेर डुरिलेनस्थित ट्राभल लजमा लग्यो ।

साउथ बैंकमा इग्नाइट सृजनात्मक कार्यशाला सुरु भयो । कार्यक्रमका सभापति, विशिष्ट अतिथि, प्रमुख अतिथि, समाजसेवी, सम्बन्धित क्षेत्रका विज्ञ, भुरेटाकुरे नेता कोही पनि थिएनन । एकदमै अनौपचारिक तरिकाले कार्यशाला सुरु भयो । को सानो, को ठूलो ? को कनिष्ठ, को वरिष्ठ ? को सामान्य कर्मचारी, को हाकिम ? कसैलाई केही मतलब थिएन ।

नजान्नेलाई जान्नेले सिकाइरहेका थिए । सिक्नेहरू सिनियर पनि थिए, जुनियर पनि थिए । न कसैका गलामा माला र खादा थिए, न कसैका छातीमा ब्याच ! न कोही गजक्क परेर संसारकै ठूलो मान्छे मै हुँ भन्ने भावमा आकाशतिर टाउको फर्काएरै बसेका थिए !

कार्यशाला सकिएपछि शिवानी सिस्टर म्यानचेस्टरस्थित आफ्ना श्रीमान्को घर जाने भइन् । मैलेचाहिँ दुई दिन फियोनासँग लन्डनका थप ठाउँ घुमेर म्यानचेस्टर जाने निधो गरें । त्यसैअनुसार, शिवानी र मैले म्यानचेस्टर जाने रेलको टिकट लियौं ।

दिनभरको कार्यशाला सकिएपछि म, दीपेन्द्र दाइ, भारतीय साथी आशिष र नाइजेरियाली साथी इडु बेलुका घुम्न निस्कन्थ्यौं । पबमा बियर खाँदै गर्दा बेलायती विकास र व्यवस्थाबारे पनि गफ गथ्र्यौं हामी । मेरो मुखबाट बेलायती विकासको कुरा निस्कनेबित्तिकै भारतीय साथी हिन्दीमा जंगिइहाल्थे, ‘भारतबाट लुटेर ल्याएको सम्पत्तिले आफ्नो देश विकास गरेका हुन् यी फिरङ्गीले ।’ दिनहरू बित्दै थिए ।

काठमाडौंबाट लन्डन जाँदा मैले लगाएका एक पत्र धूलो जमेका खैरा जुत्ता ब्रस नलगाईकनै चम्किँदै थिए । मनमा भने हाम्रो देश किन चम्केन भन्ने कुराको पत्र–पत्र थपिँदै गएको थियो ।

काठमाडौं मानिसले बनाएको सहर हो ! लन्डन पनि मानिसले नै बनाएको सहर हो !

लन्डनस्थित मानवनिर्मित थेम्स नदी सुन्दर छ । तर, हाम्रो प्राकृतिक नदी वाग्मती, विष्णुमतीलगायत अरू नदी ? लन्डनको सार्वजनिक यातायात र सडक ! अनि हाम्रो काठमाडौंको सार्वजनिक यातायात र सडक ? बेलायतीहरूले गर्ने सार्वजनिक सम्पत्तिको माया ! सरकारी भनेपछि त्यसलाई सिध्याइहाल्नुपर्छ भन्ने हाम्रो भावना ! त्यहाँको शिक्षा स्वास्थ्य ! अनि यहाँको शिक्षा–स्वास्थ्य !

इतिहास त हाम्रो पनि धेरै लामो छ । त्यही बेलायतसँग हाम्रो दौत्य सम्वन्ध स्थापित भएको दुई सय वर्षभन्दा बढी भइसक्यो । उनीहरूको देश त्यस्तो कसरी भयो र हाम्रो देश यस्तो कसरी छ ?

सुन्दर देश अनि हाम्रा दु:ख र विवशता सम्झेर हरेक साँझ पिएको बियर आँसु बनेर सिरानी भिज्यो । रातको धेरैजसो समय मैले आँखा नजोरी बिताएँ ।

देश फर्किएपछि कुन विन्दुबाट देश निर्माण सुरु गर्ने ?

‘एक नम्बरमा छँदाखाँदाको बीबीसीको जागिरबाट राजीनामा दिने !’

एकदमै सजिलो ! काठमाडौं पुगेको भोलिपल्टै दिइहाल्छु ।

‘राजनीति गर्न विचार चाहिन्छ ।’

विचार त मसँग गज्जबकै छ !

‘विचारलाई संप्रेसण गर्न पैसा पनि चाहिन्छ ।’

म एकछिन रोकियो ।

‘भूमिगत भएर बैंकहरूमा लुटपाट मच्चाउने ।’

आफैंदेखि घृणा लाग्न थाल्यो, ‘यस्तो राम्रो विचार लिएर राजनीति सुरु गर्छु भन्नेको यस्तो काइते सोचाइ ! हैट !’

कसरी जुटाउने त पैसा ? कि त व्यापारीहरूलाई मेरो पार्टीमा लगानी गर पछि प्रतिफल पाउँछौ भन्नुपर्‍यो । त्यसको बदलामा आफू सत्तामा पुगेपछि व्यापारीहरूलाई राजस्व र भ्याटमा लुटपाट गर्न दिनैपर्छ । यसरी राजनीति गरें भने म र अहिलेका नेताहरूमा के फरक भयो र ?

यसरी हुँदैन !

‘माउ पार्टीमध्येको कुनै एउटा पार्टीमा प्रवेश गरेर नयाँ विचारको शंखघोष गर्ने !’

सबै माउ पार्टीमा भएका निष्कपट नेताका अनुहार आँखामा नाचे । जनताको साथ पाएर त तिनले माखो मार्न सकेका छैनन् । म नाथेले के पो गर्न सकुँला र ? हरेक पार्टीमा स्वार्थी र हरामहरूको वर्चस्व छ । बहुमतीय पद्धतिमा एक्लो बृहस्पतिको के काम ?

यो तरिका पनि काम लागेन ।संविधानसभाले ढिलो–चाँडो संविधान त बनाउँछ नै । प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा उठिरहेको छ । राजनीतिक दलबाट जनता वाक्कदिक्क छन् । कार्यान्वयन गर्न सकिने देश विकासको खाका बनाएर चुनावमा स्वतन्त्र उम्मेदवारी दिएपछि त कसो नजितिएला ? स्वतन्त्र भएपछि पार्टीको फेरो समातेका हुक्के–चिलिमेहरूलाई पनि मन्त्री बनाउनु नपर्ने ! विज्ञ समूहको मन्त्रिमण्डल बनाएर काम गर्न सकिने ! यस्तो राम्रो विचार भएको नेताले देशको मुहार फेर्न नसक्ला ? म शान्त भएँ ।

कार्यशालाको अन्तिम दिन शिवानी सिस्टर म्यानचेस्टर गइन् । फियोना आफ्नो घरतिर लागिन् । दीपेन्द्र दाइ र म लजमै बसेर बियर पिउन थाल्यौं ।

‘मेरो गाउँमा एक जना दाइ छन्,’ मैले भनें, ‘लन्डन पस्न पाएको भए म मान्छे बन्ने थिएँ भन्छन् उनी । किन होला ?’

मेरो कुरा सुनेर दीपेन्द्र दाइ हाँसे । केही उत्तर आउँछ कि भनेर एकछिन मैले कुरें । तर, उनी केही बोलेनन् ।

‘यी बेलायतीहरू मानिस हुन् भने हामीले आफूलाई मान्छे भन्न मिल्छ कि मिल्दैन ?’ बिहानको मधुरो उज्यालोमा पहिलो झुल्को लन्डन देख्नेबित्तिकै शिवानी सिस्टरसँग राखेको जिज्ञासा दीपेन्द्र दाइसँग पनि राखें ।

‘मानिस त हामी सबै मानिस नै हौं,’ दीपेन्द्र दाइले भने, ‘तर, यिनीहरूभित्र भएको मसिन र हामीभित्र भएको मसिन अलि फरक छ ।’

कुराले गहिराइ पहिल्याउँदै गयो । हाम्रो गफ बिस्तारै हाम्रै देशको राजनीतितिर मोडियो । मैले नेताहरूलाई सत्तोसराप गरें ।

‘हाम्रो देशको इतिहासभन्दा धेरै छोटो इतिहास भएका देशहरू कहाँ पुगिसके,’ मैले भनें, ‘हामी कहाँ छौं ?’

आफ्नो प्रश्नको उत्तर आफैं दिँदै मैले फेरि नेताहरूमाथि नै गाली बर्साएँ । चुक अमिलो परेजस्तो मुख बनाएर दीपेन्द्र दाइले पनि नेताहरूलाई नै दोष दिन्छन् भन्ठानेको, उनको भनाइ उल्टो आयो । उनले करोडौं नेपालीको थाप्लोमा दोष थुपारेर भने, ‘त्योमध्ये एक जना म पनि हुँ र तिमी पनि हौ ।’

बाटो देखाउने नेतृत्वले हो भनेर एकछिन मैले तर्क गरें । हामीले एकछिन आ–आफ्ना तर्क लडायौं । अन्त्यमा बियरको गिलास रित्याउँदै दीपेन्द्र दाइले भने, ‘खगेन्द्र, तिम्रो विचारमा नेताहरू खराब हुन् भने, तिमी नेपाल फर्केर राजनीति गर ।’

‘मैले राजनीति गर्ने निर्णय गरिसकें दाइ,’ दृढताका जवाफ दिएर मैले पनि बियरको गिलास रित्याएँ ।

भोलिपल्ट दिउसो फियोनाले मलाई लन्डन घुमाइन् । भिक्टोरियो अल्बर्ट म्युजियम, ग्लोब थिएटर, थेम्स नदीको किनारमा मानिसहरूले बनाएका एकैछिनमा हराइजाने बालुवाको मूर्ति हामीले हेर्‍यौं । साँझमा फियोनाको घर पुग्यौं । खाना बनाउँदै फियोनाले भोलिपल्ट घुम्ने ठाउँहरूको लिस्ट बनाएर मलाई सुनाइन् ।

‘फियोना म भोलि नै घर जान्छु,’ मैले भनें ।

एकछिन त फियोना अवाक् भइन् । मलाई हेर्दै मज्जाले हाँसेर भनिन्, ‘ह्वाट ?’

‘म भोलि नै घर गइनँ भने मलाई डिप्रेसन हुन सक्छ,’ गम्भीर भावमा मैले भनें ।

‘यु आर सो फनी खक्स् !’ भन्दै फियोना निकैबेर हाँसिन् ।

उनलाई के थाहा अब म नेपाल गएर के गर्दै छु ।

फियोनालाई मनाएपछि मैले शिवानी सिस्टरलाई फोन गरें । फियोनालाई भनेकै कुरा शिवानीलाई भनेपछि उनी पनि छक्क परिन् । मलाई मनाउन पवन दाइलाई फोन दिइन् । पवन दाइले म्यानचेस्टर जसरी पनि आउनुपर्छ भनेर अंग्रेजीमा निकै जोड गरे । तर, मेरो मन भड्किइसकेको थियो । भड्केको मनलाई आफंैले सम्हाल्न गाह्रो हुन्छ, अरूले कसरी सम्हाल्न सक्नु !

नेपाल फर्किने टिकट अगाडि सार्दा १७ हजार रुपैयाँ खर्च लाग्ने भयो । त्यो पैसा अफिसले तिर्न सक्दिनँ भन्यो । आफैं तिर्छु भनेर टिकट अगाडि सार्न लगाएँ । देश परिवर्तनको अभियानमा समर्पित मानिसलाई जाबो १७ हजार रुपैयाँ के हो र ?

खाना खाएर हामी सुत्यौं । मनमा देश निर्माणको योजना खेल्न थाल्यो । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति भएपछि पाँच वर्षमा कम्तीमा पाँच हजार मेगावाट बिजुली उत्पादन गरेर देश उज्यालो बनाउँछु । अलिकति बिजुली निर्यात पनि गर्छु । स्तरीय शिक्षा र स्वास्थ्य नि:शुल्क गराउँछु । कृषि र पर्यटनलाई उच्च प्राथमिकता दिएपछि डलर पनि भित्रिन्छ । काठमाडौंसँग अन्य ठूला सहरलाई दु्रत रेलमार्गले जोड्ने योजना बनाएर काम सुरु गर्छु । नेपालका लागि चाहिने सवारीसाधन देशमै उत्पादन गर्ने व्यवस्था मिलाउँछु । पेट्रोल र विलासिताका वस्तुमा भारी कर लगाएर त्यो पैसा गाउँको विकासमा लगाउँछु । ग्रामीण क्षेत्रमा एकीकृत बस्ती विकास सुरु गर्छु । अरब देशमा काम गर्न गएका दाजुभाइलाई फिर्ता बोलाउँछु र कृषि कार्यमा लगाउँछु । तिनीहरूले उत्पादन गरेका कृषिउपज अरब देशहरूमा नै निर्यात गरेर रेमिट्यान्सभन्दा बढी पैसा भित्र्याउँछु । २० वर्षमा त नेपाल स्विजरल्यान्ड !मनमा हलुवा पाकिरह्यो । मैले खाइरहें ।

संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रावधानमा सहमत होलान् नेताहरू ? गाह्रो छ ! प्राणपखेरु नउड्ने बेलासम्म कुर्सीमै टाँसिइरहने यिनीहरूको चरित्र त सबैले देखेकै छन् । सबै नेतालाई थाहा छ, प्रत्यक्ष निर्वाचित कार्यकारीको सिस्टममा गयौं भने आफ्ना दोकान बन्द हुन्छन् । जनताको साथ र बलमा भन्दा ज्योतिषको भविष्यवाणी र तान्त्रिकहरूको मन्त्रमा विश्वास गर्ने नेताहरूले जानीबुझी आफ्नो दोकान किन बन्द गर्थे र !

‘हे भगवान, अब के गरौं म ?’, ट्वाइलेट गएँ । सुकर्म सकेर फर्कंदा अर्को तरिका फुर्‍यो ।

देश संघीयतामा जाँदै छ । आफ्नो प्रदेशबाट राजनीति सुरु गरियो भने त अलि सजिलो होला । भारतको गुजरात प्रदेशका मुख्यमन्त्री नरेन्द्र मोदीलाई सम्झें । आफ्नो राज्यको आर्थिक स्थिति उकासेर उनी आफू पनि प्रधानमन्त्रीको पदमा उकासिने सम्भावना बलियो हुँदै गएको थियो । भारतमा सम्भव भएको कुरा हाम्रो देशमा असम्भव कसरी होला ?

सम्भावित हाम्रो प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरूका अनुहार मेरा आँखामा नाच्न थाले । धेरैजसो नेताहरू त एउटै तालमा नाङ्गै नाचेको दृश्य मेरा आँखामा आयो । भोटो–कछाड लगाएका केही नेताहरूका भोटो–कछाडमा पनि ठूला–ठूला भ्वाङ परेका थिए । फोहोरको डंगुरबीच उभिएर कसरी फोहोर सफा गर्न सकिन्छ ? केन्द्रीय राज्यमा जस्तो शासन पद्धति हुन्छ प्रदेशमा पनि त्यस्तै हुन्छ । त्यसैले प्रत्यक्ष कार्यकारी मुख्यमन्त्रीको प्रावधान हुने सम्भावना त हुने भएन नै ।

त्यसपछि म नगरपालिकामा झरें । केन्द्रीय र प्रदेश स्तरीय नेताहरूलाई भन्दा मैले अझै बढी बुझेको थिएँ हाम्रो नगरपालिकाका दाबेदार नेताहरूलाई । वरिपरिका तत्कालीन पाँचवटा गाविस मिलाएर बनाएको नगरपालिका हो, पुतलीबजार नगरपालिका । हाम्रो नगरपालिका तीस वर्षको पुग्न लाग्यो । अरू धेरै कुरा त नगरौं, अहिलेसम्म नगरपालिकामा भएका घरहरूको घर नम्बर पनि छैन । माखो नमारी वर्षौंदेखि रजाइँ गरिरहेका पार्टी र नेताहरूले नै भारी बहुमत ल्याएर जित्छन् । दोष तिनको होइन, दोष नगरवासीको हो । आफ्नो नगरपालिका विकास नभएकामा नेताहरूलाई दोषी मान्दै आफू उत्कृष्ट प्राणी भएको आत्मरतिमा डुबिरहेका छन् हाम्रो नगरपालिकाका नगरवासीहरू । यस्ता मनुवाहरूबाट के अपेक्षा गर्ने ?

नगरपालिकामा पनि नसक्ने छाँट देखेपछि म आफ्नै वडामा झरें । वडाको विकास गरेर बिस्तारै बिस्तारै फड्को मार्छु भन्ने सोचें । अनि ठण्डा दिमागले वडा र वडानिवासीको समीक्षा गरें । त्यहाँ त झनै असम्भव देखियो ।

उफ्ऽऽऽ !

०००

मार्च १४ का दिन म हिथ्रो विमानस्थलबाट दोहाका लागि उडें । दोहा उत्रिएपछि तीन घण्टाको ट्रान्जिटमा म झोक्राएँ । मेरो अनुहारको आभा युरोपको विकसित देश बेलायत घुमेर फर्केजस्तो पटक्कै थिएन । निराशा मिसिएको बतासले मेरो अनुहारको चमक उडाएको थियो । दोहा–काठमाडौं उडानको अनाउन्समेन्ट आयो । भारी मन लिएर जहाजतिर लम्किएँ । दोहालाई छोडेर मेरो मनमा छाएको निराशाजस्तै जहाज पनि आकाशियो । काठमाडौं उत्रिएपछि मेरो दिमागमा सलबलाएका देश विकासका सबै परियोजनालाई काठामाडौंको चिसो बतासले उडाएर लग्यो । मैले बीबीसीको जागिरबाट राजीनामा नदिने निधो गरें । काठमाडौं उत्रेको भोलिपल्टदेखि मेरो जिन्दगी पुरानै लयमा फर्कियो । तर, देशलाई कसरी विकासको बाटोमा लैजाने भन्ने विषयले मेरो दिमागलाई बेलाबेलामा झट्का दिइरह्यो ।०००अचानक एक बिहान दिमागमा धप्प बत्ती बल्यो । झ्यालबाट छिरेको कलिलो घामलाई हेरेर म फिस्स हाँसें । अफिस गएर दुई हप्ताको बिदा लिएर हान्निएँ पुवनपा–११, स्याङ्जा । बगालथोकमा बा–आमाको सानो घर थियो । घरवरिपरि तीन–चार रोपनी जग्गा थियो । त्यो जमिनमा सा–साना सुन्तलाका रूख हुर्कंदै थिए । मेरा बा–आमा किसान हुन् । परम्परागत तरिकाले किसानी गरेर दु:ख–सुख उनीहरूको जीवन चलिरहेकै थियो ।

घर पुगेपछि बाआमासँग सल्लाह गरें । बाआमा मेरो कुरामा सहमत हुनुभयो । अनि मैले धन्सारको आँटीबाट कोदालो निकालेर अठोट गरें, ‘अब म मेरा बा–आमाको यो जमिनलाई युरोपजस्तो बनाउँछु । कोही माइकालालको नलीहाडमा मासी छ भने आएर मलाई रोक !’

र, मेरो अठोट त्यही दिनदेखि काममा परिणत भयो ।

०००

माथिको कुरा थियो एक दशक अगाडिको । र, आज बा–आमाको त्यही तीन रोपनीभन्दा अलि बढी जग्गामा फैलिएको सुन्तलाको बँगैचा हेर्नलायक छ । सिताके च्याउ पनि फलेको छ । सुन्तलालाई डिस्टर्ब नगर्नेगरी छेउछाउमा हामीले एभोकाडोका केही बिरुवा पनि हुर्काएका छौं । चिटिक्क परेको घर छ । गार्डेनमा फूल फुलिरहेका छन् । आवश्यकताअनुसार, वृद्ध बा–आमालाई तातो–चिसो पानी उपलब्ध छ । केही वर्षअघिसम्म काल्ना समात्दै जानुपर्ने मेरो घरमा आफ्नै बलबुताले बनाएको गाडी जाने राम्रो बाटो पनि छ । योभन्दा ठूलो कुरा दस वर्षअघि घरवरिपरिको बगैंचाबाट बीस–पच्चीस हजार रुपैयाँ मुस्किलले आम्दानी हुन्थ्यो । अहिले त्यही बगैंचामा सुन्तलाबाट मात्रै चार लाखभन्दा बढी आम्दानी हुन्छ । सिताके च्याउलगायत अन्य उत्पादनबाट पनि थप आम्दानी छ । हाम्रो जीवन चलाउन घरमा जति रकमको विभिन्न वस्तुहरू बाहिरबाट आयात हुन्छ त्योभन्दा बढी रकमको वस्तु हामी घरबाट निर्यात गर्छौं । हाम्रो घरबाट निर्यात हुने वस्तु बर्सेनि बढ्दो छ । हामी विश्वस्त छौं, भविष्यमा हाम्रो घरमा जन्म लिने बच्चाले त्यही आम्दानीबाट शिक्षा–दीक्षा र स्वास्थ्य सुविधा पाउनेछन् । जीवनमा कुनै उथलपुथल भएन भने तिनीहरू बिस्तारै समृद्धितर्फ लम्कनेछन् । र, घरवरिपरिबाहेक अन्य ठाउँमा भएका जग्गामा पनि हामीले बगैंचा बनाइसकेका छौं । यो फुल्दै छ अनि फल्दै पनि छ ।

कुनै पनि सरकारी सहयोग मैले लिइनँ । न मैले सरकारी जागिर खाएँ । न नेतागिरी नै गरें । जे कुरामा मेरो क्षमता थियो, त्यसैमा पसिना बगाएँ । बरु आफ्नो सपना पूरा गर्न बैंकबाट ऋण लिएँ, तिरें, फेरि लिएँ । अर्थको चक्र त निरन्तर घुमिरहन्छ । कहिले छर्लंग घाम लाग्छ त कहिले कालो बादलले ढाक्छ । कालो बादलमा पनि म सधैं चाँदीको घेरा देख्छु । देश बनाउने भोक मैले आफ्नै घरपरिवार बनाएर मेटें । सोचेभन्दा अलि बढी समय त लाग्यो हामीलाई, तर हाम्रो अठोट कहिल्यै थाकेन, न हाम्रो अठोटले हरेस नै खायो ।

अलि ठूलो मनले हेर्ने हो भने, हाम्रो देश हाम्रो आफ्नै घर हो नि !

गाउँमा भरत दाइको पनि प्रगति राम्रो छ । भेट हुँदा अहिले पनि मुसुक्क हाँसेर उनी पुरानै कुरा दोहोर्‍याउँछन्, ‘भाइ, लन्डन छिर्न पाको पाए म मुन्छे बन्नी थिएँ ।’

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : असार ११, २०७८ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?