कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक मुठी सास

यो समय हामीले अक्सिजन–विमर्श गर्नु छ । सास फेर्ने वायुमण्डलमाथि गम्भीर चिन्तन गर्नु छ ।
सुशील बीके

कतिखेर जान्छ, कुनबेला जान्छ,
निरुमाया,
आफ्नो भन्नु एक मुठी परान छ,
रिवन छोटो छ, जीवन... !

एक मुठी सास

‘एक मुठी सास’, एकछिन फेर्न नपाए मानिसको ‘एक मुठी प्राण’ को के हुन्छ ? अक्सिजन अभावमा कोरोनासँग संघर्ष गरिरहेका तमाम बिरामीसँग सायद यसको जवाफ होला । ‘सास’ को अभावमा प्राणी जगत्को अस्तित्व कल्पना गर्न सकिँदैन । तर, यो ध्रुवसत्यलाई गम्भीरतापूर्वक आत्मसात् गर्न र यसमाथि विमर्श पनि कि महामारी आउनुपर्‍यो कि हाम्रो आकाश तुवाँलोले ढाक्नुपर्‍यो !

गत महिना युरोपका एक वृद्ध एक रात अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए । निको भएर बिल तिर्ने बेला उनी भक्कानिएर रोए । अस्पतालले भन्यो, ‘उपचारको पैसा लिँदैनौं, निःशुल्क गरिदिन्छौं ।’ त्यसबेला वृद्धको भनाइ सामाजिक सञ्जालमा चर्चित छ । भनेका थिए, ‘म पैसा तिर्न नसकेर रोएको होइन । एक रात भेन्टिलेटरबाट अक्सिजन लिँदा यति धेरै पैसा तिर्नुपर्ने रहेछ । मैले जीवनभर प्रकृतिबाट सित्तैंमा अक्सिजन पाएँ, तर त्यसको मूल्यबोध कहिल्यै गरिनँ । आज प्रकृति–बोध भएर, प्रकृति सम्झेर रोएको हुँ ।’

ती वृद्धको प्रकृति–बोध र लडाइँको लाहुरेको भाव व्यक्त गर्ने सुरुको गीतले भनेझैं अहिले मानिसलाई ‘एक मुठी परान’ जोगाउन कठिन–कठिन छ । सायद अस्पतालमा प्राणवायु अक्सिजनको उपलब्धता सहज र पर्याप्त हुँदो हो त ‘एक मुठी सास’ को अभावमा ‘एक मुठी प्राण’ जाने थिएन । भर्खर बितेको समयले प्राणवायुको स्रोतको महत्त्व बुझ्न र प्रकृति संरक्षण गर्न मानिसलाई पढाएर गएको छ । अहिले पनि नभए प्रकृति–बोध, हामीलाई कहिले होला ?

...

कोभिड–१९ प्रवेशपछि मानिसमा श्वासप्रश्वाससम्बन्धी व्यथा बढ्यो । र, उपचारमा अक्सिजन प्रमुख बन्यो । विश्वव्यापी रूपमा भाइरसले ताण्डव मच्चाइरहँदा देखिएको अक्सिजन अभाव पछिल्लो पटक कोरोनाको दोस्रो लहरपछि झन् तीव्र बनेको छ । अक्सिजन अभावमा केही समयअघि भारतमा देखिएका हृदयविदारक दृश्य हामीले नेपालकै विभिन्न अस्पतालमा भोग्यौं ।

एउटा बेड र अक्सिजन पाउन मानिसले पालो पर्खेको, पर्खंदा–पर्खंदा वा अक्सिजनसहितको बेडको खोजीमा एम्बुलेन्समा डुल्दा–डुल्दा उसले सास फेर्न छोडेको घटना सम्पूर्ण मानिसका लागि ‘आधुनिक’ शताब्दीको एक भयानक बज्रपात हो । एक मुठी सासका लागि बिरामी र आफन्तहरूले गरेको हार–गुहार, अनुनय–विनय, संघर्ष र बिरामीको चीत्कारले हामीले सास फेरिरहेको एउटा डरलाग्दो समय बयान गर्छ ।

अक्सिजन उत्पादन, भण्डारण र आपूर्ति व्यवस्थापन प्रणाली चुस्त नहुँदा हामीमाथि झन् गम्भीर स्वास्थ्य संकट आइपरेको छ । न हामीले गत वर्ष संघ, प्रदेश र स्थानीय सरकारले प्रभावकारी रूपमा गरेको कामलाई निरन्तरता दिन सक्यौं न दोस्रो लहरबाट तीव्र गतिमा आक्रान्त देशको उदाहरणबाटै केही सिक्यौं !

जनताले यस्तै जटिल समयमा राज्यको अनुहारतिर हेर्ने हो । विलम्ब नगरी तत्काल पर्याप्त अक्सिजन, भेन्टिलेटर व्यवस्था गर्नु र सर्वसुलभ, गुणस्तरीय स्वस्थ्य प्रणालीलाई व्यवस्थित गर्नु राज्यको पहिलो कर्तव्य हो । रोगले थलिएका र भोकले गलेका नागरिकको अनुहारमा खुसी फर्काउने काम राज्यकै हो ।

...

कोरोनाबाट मानव जाति, मानव सभ्यताको रक्षा गर्न विश्व समुदाय नै लागिरहँदा कतिपय मानिस कमिसन र कालोबजारीको जाल बिछ्याइरहेका छन् । अक्सिजन अभावको यो समयमा पनि मानिसको लासमाथि टेकेर नाफा खोज्ने मानवताविरोधी मानिसको भद्दा इतिहास आउने पुस्ताले पढ्ने नै छ । र, भावी पुस्ताले त्यसबेला हामीलाई खराब समयको खराब मानिसका रूपमा स्मरण गर्नेछ ।

मर्ने/बाँच्ने ठेगाना नभएको महामारीमा समेत कालोबजारी गर्नेलाई भन्न मन छ, ‘महासंकटका बेलासमेत कालोबजारी गर्ने मानवहरू, एक मुठी सासका लागि मानिसले अहिले निकालेजस्तो चीत्कार तिमीहरूले कहिल्यै निकाल्नु नपरोस्, तिमीहरूलाई शुभकामना !’

...

यो समय हामीले अक्सिजन–विमर्श गर्नु छ । हामीले सास फेर्ने वायुमण्डलमाथि चिन्तन गर्नु छ । गत महिना मात्रै संसारकै सबैभन्दा प्रदूषित सहरको रेकर्ड राख्यो काठमाडौंले । औद्योगिक विकासका नाममा संसारभर हुने व्यापक कार्वन उत्सर्जनले वायुमण्डल प्रदूषित मात्रै भएको छैन, प्रत्येक वर्ष पृथ्वीको तापक्रमसमेत बढ्दै गएको छ, जसका कारण पृथ्वी र मानव नै जोखिममा पर्न थालेको संकेत जलवायु परिवर्तनका असरहरूबाट देखिएकै छ ।

पर्यावरण नास गरी भइरहेको ‘विकास’ ले आजकाल रूखबिरुवा कम, ग्रिलले छोपिएका भवन ज्यादा देखिन्छन् । हरियाली किन बनाउनुपर्छ ? हामीले रूख किन रोप्नुपर्छ ? प्रकृति–बोध गरेका बूढापाका भनिरहन्छन्, ‘हामीले व्यापक रूख रोप्नुपर्छ । एक मुठी सासका लागि !’ पुरानो समयका मानिस प्रकृति–समीप रहे र रूखको महत्त्व बुझे । तर, के हामी उनीहरूलाई सुनिरहेका छौं ?

प्रकाशित : असार ५, २०७८ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?