गल्लीमा गुन्जिरहने सदावहार धुन - कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गल्लीमा गुन्जिरहने सदावहार धुन 

मनोजबाबु पन्त

गत मे महिनामा विश्व–सिनेमा जगत्ले सत्यजित रे (२ मे, १९२१–२३ अप्रिल, १९९२) को १ सय औं जन्म–जयन्ती मनायो । जान्नेहरु भन्छन्– ‘सत्यजित रेका सिनेमा नहेरी बाँच्नु भनेको घाम नहेरी बाँच्नुजस्तै हो, जून नहरी बाँच्नुजस्तै हो ।’ सत्यजितको ‘पथेर पाञ्चाली’ र त्यस फिल्मकी एक कलाकार चुनीबाला देवीमाथिको विमर्श :

‘पथेर पाञ्चाली’ र त्यस फिल्मकी एक कलाकार चुनीबाला देवीको पोट्रेट

देखो, दिल्ली देखो,

दिल्ली देखो

दिल्लीका कुतुर देखो

आगरेका ताज देखो

मद्रासका मन्दिर देखो

बम्बईका बन्दर देखो

हातमा डमरु बजाएर विज्ञानको चटक देखाउन भनी बाइस्कोप बोकेर गाउँ छिरेको छ एक चटके ।

– पानीको दहमा बगेका नीलकमलका पातहरू ।

– सानो पोखरीमा चिप्लिरहेका वाटर स्केर्ट्स ।

– अनि तालमा खसेको झरीको थोपाले बनाएको आकृति ।

अहो ! जगतको कति सूक्ष्म अवलोकन !

आजभन्दा ६० वर्षजति अघि, न्युयोर्क सहरको कला–संग्रहालयमा एउटा भारतीय सिनेमा हेर्न भनी गएका दर्शकको हूलमा कुनै उत्साह थिएन । जीवनभन्दा परको अतिरञ्जित कथनी गाँसिहिँड्ने भारतीय सिनेमाको खासै स्वाद थिएन । बिनाउम्मिद हलको कुर्सीमा बसेका सिनेफिलहरू, हलबाट निस्कँदा आँखामा दीप्ति बोकेर निस्किए । मनमा परम–सन्तोक बोकेर निस्किए । उनीहरूले श्रव्य–दृश्यको माध्यममा यति गहिरो जीवनको काव्य पहिलो पटक अनुभव गरेका थिए । उनीहरूले भारतमा बनेको यति सुन्दर सिनेमा पहिलो पटक हेरेका थिए । कलकत्ता सहरको एक रैथाने युवकले पहिलो पटक बनाएको सिनेमाले संसारैभरि तहल्का पिट्यो । सिनेमासँगै संसारले उनलाई सम्मानले हेर्न थाल्यो । जापानिज चर्चित दिग्दर्शक आकिरा कुरोसावाले भने, ‘सत्यजित रेका सिनेमा नहेरी बाँच्नु भनेको घाम नहेरी बाँच्नुजस्तै हो, जून नहरी बाँच्नुजस्तै हो ।’

सन् १९९२, अप्रिल २३ का दिन मुटुको व्यथाले मर्नुअघि सत्यजितले पूर्णकदका तीसवटा सिनेमा बनाए । गएको मे महिनामा विश्व–सिनेमा जगत्ले सत्यजित रेको १ सय औं जन्म–जयन्ती मनायो । रेको जन्म–जयन्तीको सन्दर्भमा यी युगीन मानव र उनको पहिलो सिनेमा ‘पथेर पाञ्चाली’ माथि केही लेख्न भनी बसेको छु ।

बितेको आधा शताब्दी, ‘पथेर पाञ्चाली’ माथि धेरै चर्चा–विमर्श भए सिनेफिलियाका मञ्चहरूमा । हामी सिनेमाका विद्यार्थीले कुनै तीर्थ–यात्राझैं यो सिनेमाको यात्रा गर्‍यौं । हाम्रा लागि मक्का–मदिना पनि यही, काशी–बनारस पनि यही । पण्डित रविशंकरले बजाएको थेम म्युजिक बजाउँछु र ‘पथेर पाञ्चाली’ का दृश्यहरूमा हराउन खोज्छु । पानीमा चिप्लिरहेको पानी कीराहरूझैं सिनेमाका दृश्यहरू चिप्लिरहन्छन् ।

...

अभाव बास बसेको एउटा जीर्ण घर ! कविता बेचेर धनी हुने हावादारी सपना देख्ने बबुरो हरिहर ! व्यवहारको सिउँडीले घोचेर सधैं चिड–चिडा भइरहेकी सर्वोजया ! अनि उनीहरूका निर्दोष उन्मुक्त बालकहरू, जो झरी–बतासमा दौडिरहेछन्, भिजिरहेछन् । म सम्झिरहेछु– तुलसीको मठछेउ खेलिरहेका बिरालाका पाठाहरू, पिँडीको खाँबोमा छेल पारेर दिदीको यातना हेरिरहेका अपुका तेजिला आँखाहरू ।

शरद यामको एक दिन ! सेतै फुलेको कासघारीछेउ पहिलो पटक रेल हेर्न कुरिरहेछन्– दुर्गा र अपु । एउटा भीमकाय मालगाडी कालो धूवाँ पुतपुताउँदै धामन सलबलाएझैँ आउँछ अनि जान्छ । बालकहरू पहिलो पटक सभ्यताको जादुमा सम्मोहित हुन्छन् । अपुमा म आफ्नो प्रतिच्छाया देख्छु र पुग्छु स्मृतिको चिहानमा धेरैपर । धेरै वर्षपहिले पारि–बाटोमा बुल्डोजर आउला र हेरौंला भन्दै मैले दिन बिताएथेँ । झमक्कै साँझ पर्‍यो, किन्तु बुल्डोजर आएन । त्यो सपनाको बुल्डोजर जिन्दगीमा कहिल्यै आएन । यतिबेला सितारको धुन सकिएर बाँसुरीको लामो आलाप बज्न लागेको छ ।

भोटबाट निको भएर मुनालाई भेट्न आएको मदनझैं, हरिहर ट्याङ्का बोकेर आफ्नो जीर्ण घरमा आइपुग्छ । छोरी दुर्गालाई ल्याइदिएको धोती ट्याङ्काबाट निकाल्न लाग्दा हरिहरले थाहा पाउँछ– उसकी छोरी यो संसार छाडेर परलोक गइसकी । त्यो बोधमा भत्किएर रोएको हरिहर अनि त्यति नै बेला रविशंकरले मुटु छेड्ने गरी बजाउन लगाएको सनाहीको धुन ! यो जत्तिको कारुणिक दृश्य विश्व सिनेमामा सायदै होलान् ।

दशाले खाएको घरमा बस्न हरिहरको मनले मानेन । टाँगाको टाङमुनि लाल्टिन झुन्ड्याउँदै यी दुःखी–आत्मा काशी–बनारसको यात्रा गर्दा भए । उजाड घरमा एउटा ठूलो साँप लस्किँदै अन्तर–कुन्तरबाट छिर्दै थियो । मानवीय अवस्थाको कति प्रगाढ दृष्टि ! भारतीय सिनेमाका स्ट्रिपहरूमा पहिलो पटक जीवन र जगत् अवतरण गरेको थियो । मन्दिरमा बज्ने नियमित आरतीको धुनझैं यो गल्लीको गीत सिनेफिलियाको मन्दिरमा एउटा पवित्र धुन बनेर गुन्जिरह्यो,गुन्जिरहनेछ । वाटर स्केटरहरूझैं दृश्यहरू चिप्लिरहन्छन् । तर, एउटा चरित्र चिरस्थायी भएर बसिरहन्छ– जीर्ण घरमा जीवनका अन्तिम दिन बाँचिरहेकी बूढी काकी इन्दिर ठाकरुन । वैकुण्ठ जान भनी एउटा खुट्टा उचालिसकेकी यी माताले इम्ब्रेस गरेको जीवन–लीला सडकको गीतको सुन्दर मुखडाझैं लाग्छ । खिइसकेको बूढो हड्डी अनि त्यसलाई मोडेको चमडाबाहेक केही छैन जीवनको किनारामा बाँचिरहेको देहमा । यति गहिरो जीवन–रस कसरी निचोरे होलान् सत्यजितले ? तिनै जरा–जीर्ण माताको केहीबेर चर्चा गर्ने अनुमति चाहन्छु । यतिबेला रविशंकर आफ्नो सृजनामा मदहोस भएर सितारमा औंलाहरू चलाइरहेछन् ।

...

टाढाको नाताले छोएकी काकी पिँडीको कुनामा बसेर आफ्नो बटुकोमा चुपचाप जाउलो डल्लो पारेर निलिरहेकी छन् । अभाव बास बसेको जीर्ण घरमा यी जीर्ण आत्मा बोझ बनेर बसेकी छन् । आफूलाई माया गर्ने हैसियतका सबै आफन्त बितिगए । आफ्नो बूढो ज्यानलाई एउटा ओत चाहिएको छ । सबै खस्रा वचन सहेर पनि यी माताको क्लान्त कलेबरमा जीवनको मदहोस मुस्कान खेलिरहेछ । उसलाई घरमा राख्न सर्वोजयालाई कुनै रहर छैन । जाने अन्त कुनै ठाउँ छैन । बाँकी छ त्यही बैकुण्ठलोक, तर त्यो दिन कहिले आउँछ केही ठेगान छैन ।

इन्दिर ठाकुरनलाई लाचार भएर त्यही जीर्ण घरमा जेमराजले उठाएर नलगुन्जेल बाँच्नु छ । छिमेकीको बगैंचाबाट उसका लागि दुर्गाले चोरेर ल्याएका फलहरूमा ऊ स्वर्णिम आनन्द भेट्छे । बूढी इन्दिर ठाकुरन त्यही मुहताज महलमा घोचपेच सहेर जीवनका अन्तिम दिनहरू घिसारिरहन्छे ।

...

विभूतिभूषण बन्धोपाध्यायले उपन्यासमा खिपेको इन्दिर ठाकुरनको चरित्र गर्ने कलाकरको खोजमा निक्लिए सत्यजित । त्यो अस्थिपञ्जर काय भेटिनु कहाँ ? कुनै कम उमेरकी महिलालाई शृङ्गार पोतेर वृद्ध बनाउने परम्पराप्रति सख्त नफरत थियो सत्यजितलाई । त्यही नाटकीय परम्पराबाट उम्केर यथार्थको नजिक पुग्न खोज्ने उडान जो थियो । उनले थुप्रै वृद्ध अनुहारमा ठाकुरनको प्रतिच्छाया खोजे अनि निराश भए । उनलाई थाहा थियो, जुन बेलासम्म यो जीर्ण जीवन बाँच्ने उपयुक्त चरित्र भेटिँदैन ‘पथेर पाञ्चाली’ बन्दैन । केही दृश्यको छायांकन सकीवरी फुर्सदमा झोक्रिरहेका बेला सिनेमाकी सह–कलाकारले एक नाम सुझाइन्– कलकता सहरको बेश्यालयको गल्लिमा दरिद्र जीवन गुजारिरहेकी– चुनीबाला देवी । अनि सत्यजित चुनीबाला देवीलाई खोज्दै कलकत्ता सहरको रेडलाइट एरियाका गल्लीहरू चहार्दा भए ।

कलकत्ता सहरको देहबजारछेउको सानो घर– आफ्नो जवान उमेरमा रङ्गमञ्चमा केही रङ्गरस गरेकी, एक–दुई सिनेमामा सानो भूमिका गर्न भ्याएकी चुनीबाला देवी । ८० पारिको उमेर, उमेरका सबै रसहरू जिन्दगीको कलमा पिसिएर सकिए, छोक्रा मात्रै बाँकी छन् । असी कुनामा बसी ! यो सपना देख्ने उमेर होइन । नदेखेको सपना ढोकासम्मै आइपुग्छ र आफ्नो जीवनका अन्तिम दिनहरूमा यस्तो उपहार दिएर जान्छ र उनलाई अजम्बरी बनाइदिन्छ– यो कुरा चुनीबाला देवीलाई के थाहा ? थुप्रै वर्ष कलकत्ता सहरको जिस्म–बजारको छिँडीमा बिताएकी माताको कायामा ऐंझेरु पलाइसकेको छ । जिन्दगी घर्किसकेको छ । जिस्म–बजारको सानो घरको ढोकामै जेमराज ढुकिरहेको छ । कुनै पनि दिन उसले ढोका ढकढक्याउन सक्छ । नभन्दै उनको ढोका ढकढक्यायो । तर, जेमराजले होइन, सत्यजितले । चुनीबालाले ढोका खोलिन्, बस्न अनुरोध गरिन् ।

‘के खोज्न आएको ?... केटी ?’

‘हैन, तपाईंलाई खोज्न आएको ।’

चुनीबाला देवीलाई उदेक लाग्यो– यो उमेरमा उनलाई खोज्न को आउँछ ? बूढो चमडामाथि भद्दा मजाकझैं ! चुनीबालालाई यो कुरा उति निको लागेन । सत्यजित सम्भावना देखिरहेका थिए । तर, यी मातासँग काम गर्नु उति व्यावहारिक देखिन्थेन । जब सत्यजितले आफ्ना योजना बेलिविस्तारमा सुनाए चुनीबालाको मस्तिष्कमा जुगौं पहिले आफूले गरेका कर्मका यादस्तहरू खेल्न थाले ।

कलकत्ता सहरबाट रेल चढेर जानु थियो प्रत्येक दिन– १५ माइल टाढा, बोरल गाउँ । छायांकन सकेर त्यसरी नै फर्कनु थियो । बदलामा उनले ज्याला पाउने भइन् हरेक दिन भारु– २० । चुनीबाला देवीले सहजै स्वीकार गरिन् । केवल एक माग थियो उनको– हरेक दिन खाजाका बेला दुइटा अफिमको डल्लो, सर्त मिल्यो । अन्ततः सत्यजितले इन्दिर ठाकुरन पाए । हामीले ‘पथेर पाञ्चाली’ पायौँ ।

बिहान मिर्मिरेमै रेल चढेर कलकत्ताको जिस्म– बजारबाट हरेक दिन १५ माइल यात्रा गर्दै बोरल गाउँसम्म पुग्न थालिन्, चुनीबाला । दशकौंअघि आफूले गरेको कर्म बिउँझिएको थियो । उनलाई

आफ्नो चरित्रमा यति लगाव भइदियो उध्रिएर, च्यात्तिएर, प्वाल पर्न थालेको धोती पनि नफेरी उनले ठाकुरनको जीवन बाँचिरहिन्– अभिनयमा लामो समयदेखि लागेको साधकझैं । उनको लगावदेखि सत्यजित पनि छक्क परे । चुनीबालाको केही गुनासो थिएन, केही माग थिएन । केवल प्रत्येक दिन अफिमका दुई डल्लाहरू, जेसँग उनको क्लान्त आत्मा गाँसिएको थियो । सायद नियतिले उनलाई थेगिरहेको थियो, एउटा कालजयी सिनेमाको अजर चरित्र बाँच्नका लागि ।

माछाको कत्लाझैं जर्खरिएको छालाले मोडेको अस्थिरपञ्जर प्रणाली । लगभग पचास डिग्रीमा भुइँतिर नुगिसकेको कुप्रो शरीर । चुनले पोतेझैं मुडुलो सेताम्मे शिर । आँखामा जाला पसेर तिनले जगत् धमिलो देख्न थालेका छन् । परलोक जान भनी सबै द्वारहरू खोलिसकेकी छन् उनले । बूढो घरमा अन्तिम सास फेर्ने, अन्तिम इच्छा मात्रै बाँकी छ । तर, सर्वोजयालाई यी बूढी माता घरमा बसेको त्यति रुचेको छैन । कटु–वचनका सुइरोले छेडिरहन्छिन् । गलेको बूढो मनमा ठेस पुग्छ । आत्मसम्मानको घाउ दुखेको रन्कोमा इन्दिर ठाकुरन सानो कुम्लो र थोत्रो काम्लो काखीमुनि च्यापेर टुकुटुकु घर छाडेर बिदा हुन्छिन् । घरको अलि पर्तिर, सानी दुर्गा जब ठाकुरनको काम्लो समाएर रोक्न खोज्छिन् त्यहीबेला पण्डित रविशंकर सितारको मधुर धुन बजाउँछन् । सायद तपाईंलाई पनि त्यसबेला सिनेमा टक्क रोकेर त्यो दृश्य निरन्तर हेरिरहन मन लाग्छ ।

सर्वोजयाले छोरो जन्माएको खबर पाएपछि खुसीले पुलकित हुँदै ठाकुरन काम्लो बोकेर त्यही घर फर्किन्छिन् । सर्वोजयाको छेउमा पल्टिरहेको नवजात शिशुको अनुहार हेर्दा परमआनन्द भेट्छिन् । भर्खर यो लोकमा आएको सानो बालकको मुहार हेरिरहँदा लोकबाट परलोक जाने बेलाकी ती वृद्ध माताको आँखा आँसुले भरिन्छ । उनी आफ्नो पुरानो धोतीले आँसु पुस्छिन् । मान्छेको मनमा बास बसेको करुणाको योभन्दा बलियो दस्ताबेज के होला ?

साँझपख पिँडीमा अढेस लगाएर सम्मोहक लयमा झलुङ्गो हल्लाउँदै लोरी गाइरहन्छिन्–

जुरेलीले खायो धान

कसरी तिर्नु अर्काको धन

सुत बाबु सुत

डुंगा चढी हाम्रो राजा नदी पार गरन

सुनारलाई भनिदिउँला

सुनको सिक्री बनाउन !

...

केही वर्षहरू बितेका छन् । अपु अब खेल्ने/दगुर्ने भएको छ । जुगौंदेखि नयाँ वस्त्र फेर्न नपाएकी ठाकुरनको च्यादरको भ्वाङ झन् ठूलो भएको छ । त्यही च्यादरले गुजारा गर्नुपरेको छ । बूढो ज्यानलाई रातको चिसो छल्न एउटा बाक्लो च्यादर चाहिएको छ । तर, उनको आङले तातो च्यादर भेट्दैन । पिँडीमा बालकहरूलाई डायनको कथा सुनाइरहन्छिन् । तातो च्यादरको चिसो आस पालिरहन्छिन् ।

रातको सिरेटोमा पिँडीको दिलमा थोत्रो खास्टो ओढेर एक्लै आफ्नै धुनमा गुनगुनाइरहन्छिन्–

मलाई पनि नदी पार गरिदेऊ न ए माझी दाइ

मेरा आफन्तहरू सबै नदी तरिगए

जो पहिले आए, ती सबै गइसके

म मात्रै बाँकी छु

म एउटा निर्धन भिखारी

मेरो नाममा फुटेको कौडी पनि छैन

हेर मेरो थैली खाली छ

दिन ढल्यो, रात पर्‍यो

मलाई पनि नदी पर गरिदेऊ न ए माझी दाइ...!

...

बूढो मन दुखाएर, बारम्बार घर छोडेर, गाउँलेको शरणमा पुगिरहन्छिन् ठाकुरन । सम्बन्धको तातो कतै छैन । उनलाई आफ्नो भनेर स्वीकार गर्ने आफन्तको अभाव छ । नाउमा चढाएर नदी–पार गराउने देवदूत नआउन्जेल बूढो हड्डीलाई आफैं सुमसुम्याउनु छ । बिरामीले गल्न थालेपछि ठाकुरनलाई लग्यो– अब म मर्छु । त्यही बूढो घरमा मर्ने इच्छाले बिन्तीभावमा उनी शरण परिन् । तर, दरिद्र घर त्यो रुग्ण वृद्धालाई माया गर्न अझै तयार छैन ।

शरदको एक साँझ, गाउँको अलि पर, बाँसको झ्याङमुनि उनले देह त्यागिन्, सुनसान पखेरोमा । अक्सर सामान्यकृत मृत्युभन्दा फरक उनी परलोक लाग्दा दुःखी भएर धुरिने आफन्त छैनन् । मृत्युमा कंकला शब्दले रुने नातेदार छैनन् । पानीको निरन्तर चापले नदी–किनारको बालुवाको ढिस्को बुङ्ग खसेर पानीमा विलीन भएजस्तो अथवा धमिराले खाएको बूढो रूख हावाको सानो झोकामा डङ्रङ्ग ढलेजस्तो एउटा दार्शनिक प्रश्न मनमा आउँछ– अमेजनको घना जंगलबीच एउटा बूढो रूख आफ्नो कालगतिले ढलेर मर्‍यो । मान्छेको बस्तीभन्दा धेरै पर त्यो रूख ढलेको कसैले देखेन, कसैले सुनेन भने त्यो रूख ढल्दा आवाज आयो कि आएन ? ठाकुरनहरूले जीवन बाँचे कि बाँचेनन् ? चुनीबालाहरूले जीवन बाँचे कि बाँचेनन् ?

...

‘पथेर पाञ्चाली’ को छायांकन किस्ता–किस्तामा भएको थियो । केही फुटेजहरू खिच्दै, निर्माता फकाउँदै जाँदा ३ वर्ष बित्यो, अझै छायांकन सकिएन । सुटिङ नसकिँदै चुनीबाला देवी सकिन्छिन् कि भन्ने डर थियो सत्यजितको मनमा । तर, उनी भाग्यमानी रहे, छायांकनको अन्तिम दिनसम्म चुनीबालाको शरीर र सत्यजितको सपना दुवै जिउँदै थिए । ठाकुरनको मृत्युको दृश्य अन्तिम दिन खिचिँदै थियो । चुनीबाला, जो आफैं कालको असाध्यै समीप थिइन्, उनले आफू मरेको बनिबनाउ विश्वास गर्नु थियो । मृत्युभन्दा केहीअघि एउटा अर्को मृत्यु मर्नु थियो । बाँसको खटमा बाँधेर मलामीहरूले बाटोको कुनैकुना खोला किनार लैजान थाले । सुटिङ सकेपछि मलामीहरूले जब बाँसको खट भुइँमा राखे, चुनीबाला देवी बिनाहलचल बाँसजस्तै स्थिर भएर खटमा लडिरहेकी थिइन् । सबैको मनमा चिसो शूल छिर्‍यो । सत्यजित हड्बडाए । जीवन र सिनेमा एकै विन्दुमा आएर पो गाँसियो कि ? चुनीबालाले मृत्युको अभिनय गर्दागर्दै साँच्चिकै देहत्याग पो गरिन् कि ?

सुटिङ मण्डली किंकर्तव्यविमूढ बाटोछेउ उभिइराखे । सत्यजितको सपनामा ऐंठन छिर्‍यो । त्यतिबेलै केहीबेरपछि बाँसको खटबाट चुनीबाला देवीले आँखा खोलिन्, सबैतिर हेरिन् । ‘सकियो ? मलाई किन नभनेको ? म त अहिलेसम्म मरेकै अभिनय गर्दै थिएँ ।’

अनि बल्ल सबैको होस ठेगानमा आयो । सिनेमाको सर्जक नै झुक्किने गरी मृत्युको जीवन्त अभिनय, त्यो चुनीबालाको अन्तिम अभिनय थियो ।

केही तनखा बटुलेर, रेल चढेर बोरलबाट अन्तिम पटक कलकत्ताको गल्लीमा फर्किइन् चुनीबाला देवी । केही महिना बाँचिन् । एक दिन कलकत्ताको जिस्म बजारको कुनामा अवस्थित आफ्नो सानो घरबाट उनले परलोकको यात्रा गरिन् । चुपचाप, बिनाहलचल एउटा नीरब यात्रा । सिनेमामा अपुले दहमा फालेको हार डुबेझैं उनी डुबिन् अनन्तको गहिराइमा । दहमाथिका लेउहरू केहीबेर फाटेर पुनः दहलाई ढाकिदिए ।

तीन वर्षमा निर्माण सम्पन्न गरेर ‘पथेर पाञ्चाली’ संसार विचरण गर्न भनी निस्कियो । संसारले पहिलो पटक भारतीय सिनेमामा भारतीय जीवन देख्यो । अभावको खिया लागेर मक्किएको जीवनको नाजुक अवस्था देख्यो । प्राची भूमिमा खेलिरहेका मान्छेहरूको सम्बन्धको काव्य पढ्यो, संगीत सुन्यो । सन् १९५६ को कान सिने महोत्सवले मानवताको उत्कृष्ट दस्ताबेज भनी सिनेमालाई विभूषित गर्‍यो । मनिला सिने महोत्सवले उत्कृष्ट अभिनयको पगरी चुनीबाला देवीको समाधिलाई ओढायो ।

जीवनभरि मूल्य हराएको जिन्दगी घिसारेर, रंगमञ्चको मञ्चबाट ढलेर कलकत्ताको कोठी पुगेकी चुनीबाला देवी यो जगत्का अर्बौं मान्छे अस्ताएझैं अस्ताइन् चुपचाप । लेउले छोपेको दहमा डुबेको हारझैं, अनन्तमा डुबिन चुपचाप । तर, अर्बौं मान्छेको नियतिभन्दा फरक चुनीबाला देवी आफ्नो मृत्युपछि जीवित भइन्– संसारभरिका सिनेफिलहरूको मनमा ।

रातको सन्नाटामा पण्डित रविशंकरको सितार प्रकट भएर सुनिँदै छ । यो आलेख बिट मार्ने सुर गरेको छु । १ सय औं जन्म–जयन्तीको छेकोमा सत्यजितबारे लेख्न थालेको यो लेख मोडिएर कहाँ पुग्यो– चुनीबाला देवी पो आलेखको मुख्य पात्र बन्न पुगिन् । सत्यजित रे यसैउसै कालजयी छन् । मान्छेको सभ्यता जिउँदो रहुन्जेल सिनेफिलिया पनि जिउँदो रहला । सिनेफिलिया जिउँदो रहुन्जेल सत्यजित रे पनि जिउँदै रहलान् । सिनेफिलियाले सत्यजितको १ सय औं मात्रै होइन, हजारौं जन्म–जयन्ती मनाउलान् र सत्यजित सँगसँगै चुनीबाला देवी पनि सिनेफिलियामाझ बाँचिरहलिन् ।

पश्चिम बंगालको कुनै अनजान पोथ्रामा एउटा गरिब घरमा जन्मिएकी चुनीबाला देवी बेखबर मरिन्, कलकत्ताको जिश्म–बजारको गल्लीमा । जन्म र मृत्युको तारिख दुवै नखिपिएको यी पीँधका मान्छेहरूको जन्मजयन्ती यो सभ्यताले कहिल्यै मनाएन । उमेर हिसाब गरिल्याउँदा सायद उनी १५० वर्ष पुगिन् । सत्यजितको १ सय औं जन्मजयन्तीकै दिन चुनीबाला देवीको १५० औं जन्मजयन्ती मनाउने प्रस्ताव यही आलेखमा टाँसी यहाँको समीप पठाएको छु । आगे यहाँको मर्जी !

प्रकाशित : जेष्ठ २९, २०७८ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्

चिसा सडकका स्वतन्त्र आत्मा 

‘नोम्याडल्यान्ड’ मा हामी झुत्रा–झ्याउरा अनुहारभित्र बाँचेका अच्छा–खासा मान्छेलाई नजिकबाट नियाल्दै जान्छौं । क्लोई जाओले भनेझैं मान्छे साँच्चै स्वभावैले सुन्दर छ, हामीले हेर्न मात्रै नजानेका ! अमेरिकन चिसा सडकमा यिनै यायाबरहरुसँग हामी एक नवीन यात्रा गरिरहन्छौं ।
बाटोमा पथिकहरू भेट भइरहन्छन्, छुट्टिइरहन्छन् । आफूजस्तै यायाबरका जीवन–कथासँग करुणा उमार्दै फर्न एउटा भ्यानगार्ड जीवन बाँचिरहन्छिन् ।
मनोजबाबु पन्त

म जब सानो थिएँ, बेइजिङ सहरको एक कुनामा हुर्कंदै थिएँ, मेरो बा र म एक खेल खेल्ने गर्थ्यौं । हामी पुराना चाइनिज कविताहरू सम्झँदै सँगै गुनगुनाउँथ्यौं । त्यहाँ एउटा हरफ थियो, जुन अहिले पनि म स्पष्ट सम्झन्छु— मानिसहरू जन्मजातै राम्रा छन् ।’

मेरो जिन्दगीमा यो हरफले ठूलो प्रभाव पारेको छ । म आज पनि त्यही विश्वास गर्छु । मैले राम्रा मान्छेहरू मात्रै भेटेको छु, संसारको जुन कुनामा पुग्दा पनि... ।’

डल्बी थिएटरको मञ्चमा उभिएर २४ क्यारेट सुनको जलपले आभूषित, साढे १३ इन्ची लामो, पौने ४ किलो प्रतिमा उचालेर, क्लोई जाओ बोल्दै थिइन् । उनको सिनेमा ‘नोम्याडल्यान्ड’ ले यस वर्षको उत्कृष्ट सिनेमासहित अन्य केही अवार्ड बाजी मारेको थियो । एक सिने–सर्जकले सपना देख्नका लागि, यो सबैभन्दा अग्लो पिक–पोइन्ट हो सायद । चिम्सा आँखा, थेप्चा नाक अनि गोल–गोल मंगोल अनुहार, तृप्तिको मखमली कान्तिले धपक्क थियो । ‘यो अवार्ड ती सबैका लागि, जसले आफ्ना मानवीय गुण बचाइरहेका छन् । तिनीहरूलाई, जसले एक–अर्कोको अच्छाइलाई अंकमाल गरेर बाँचिरहेका छन् ।’

व्यथित मान्छेहरूभित्रका सुन्दरता नियाल्दै काव्यिक उडान भरेको सिनेमा ‘नोम्याडल्यान्ड’ यतिबेला एउटा सेन्सेसन बनेर यत्र–तत्र सर्वत्र छाएको छ, सिनेमाको परख छिरेको संसारका सबै कुनातिर । नहोस् पनि किन ? यो अस्कर अवार्डको जातै यस्तो । तपाईं मान्नुस्/नमान्नुस, ठान्नुस्/नठान्नुस्, जब अस्करले पगरी गुथाइदिन्छ तब स्वयंसिद्ध रूपमा र वर्षको उत्कृस्ट सिनेमाको रूपमा त्यो सनसनी बोकेर संसार विचरण गरिदिन्छ ।

सानो टिम, साधारण झर्रा मान्छेहरू अनि कथा भन्न अल्छी मान्ने लोसे सिनेमा ! कसरी यस वर्षको एकेडेमी अवार्डका लागि काबिल–ए–तारिफ भइदियो ? धेरै सिने–गोरहरू भित्रभित्रै मुर्मुरिएका छन् ।

सिनेमामा लादिने परम्परागत सूत्रहरूले हामीलाई एकोहोरो बनाएका छन् । मूलधारे सिनेमाले सधैं एउटा मन्त्र जपिरहे कि सिनेमा मान्छेको मनसम्म पुग्नका लागि चरित्रको धेरै उतारचढाव चाहिन्छ । लक्ष्य प्राप्तिका लागि ठूलो संघर्ष चाहिन्छ । विस्मयकारी, ताजुबलाग्दा मोडहरू उभ्याएर, मानवीय संवेगलाई सधैं धारिलो कुनामा राखेर सिनेमाले सफलताको दुहाई दिइरह्यो । सिनेमा हेर्दा हामीले यावत् पूर्वसर्तसहित हेर्‍यौं ।

त्यसकारण ‘नोम्याडल्यान्ड’ जस्तो सिनेमा हामीलाई नीरस, खल्लो, अस्पष्ट लाग्न थाल्यो । जुनबेला पूर्वसर्तहरू फालेर हामी सिनेमा हेर्न खोज्छौं अनि भेट्छौं, जीवनको एउटा गहिरो काव्य, पुँजीवादले थिलोथिलो पारेको हाम्रो जीवन भोगाइबाट उन्मुक्त हुन खोजेको मानवीय स्वभावको परमार्थ यात्रा ! अनि भेट्छौं आफूजस्तै संवेग बोकेका मान्छेका व्यथाहरूको ध्यानातीत यात्रा ।

कथाका घम्साघम्सीबाट जोगाएर क्लोई जाओले जीवनका अति साधारण सिलसिलाहरू गाँसेकी छन् । झूटको खेती गर्ने बेसारे बानीबाट अभिशप्त सिनेमाको माध्यम जाओको सिर्जनामा आएर लामो सास फेरेको छ । केही मुख्य पात्रबाहेक सिनेमामा देखिने अधिकंश मान्छेले आफ्नै जीबन बाँचेका छन् । फिक्सन र डकुमेन्ट्री विधालाई सन्धि गराएर क्लोई जाओले समयको यति इमानदार वाचकी निर्माण गर्न सफल भएकी छन् कि धेरै मञ्चमा उत्कृष्टताको मापनमा यो सिनेमा अब्बल साबित भएको छ ।

...

सन् २००७–२००९, बृहत आर्थिक संकटले धनी देशहरूलाई दुखायो । अमेरिकामा संकटको सलह पसेर धेरै कम्पनी टाट पल्टिए । कारखानाहरू बन्द भए । कामदारहरूको बिल्लीबाठ भयो । अमेरिकन मध्यमवर्गले सास्ती भोग्यो, जागिर गुमायो, घर गुमायो । व्यवस्थाले बाँच्न सिकाएको निरन्तर जीवन बाँच्न नसकेर मध्यमवर्ग चिसो सडकमा आइपुग्यो । व्यबस्थाले उनीहरूको नियति धान्न सकेन अनि जीवन धान्ने तरिका खोज्दै गर्दा यस वर्गले एउटा उप–संस्कृतिको सृजना गर्‍यो– भ्यानडोएलिङ संस्कृति : एक यायाबर संस्कृति । ‘नोम्याडल्यान्ड’ मा हामी यही संस्कृति बाँचिरहेका केही थान यायाबरसँग मुलाकात गर्छौं ।

हामी ती झुत्रा–झ्याउरा अनुहारहरूभित्र बाँचेका अच्छा–खासा मान्छेलाई नजिकबाट नियाल्दै जान्छौं । साँच्चै क्लोई जाओले भनेझैं मान्छे स्वभावैले सुन्दर छ, हामीले हेर्न मात्रै नजानेका ! बाध्यता–रहर दुवैलाई घोलेर रम्ताजोगी बनेका यी पथिकको जीवनकथामा हामी अभिभूत हुँदै जान्छौं । अमेरिकन चिसा सडकमा यिनै ययाबरहरूसँग हामी एक नवीन यात्रा गरिरहन्छौं ।

जनवरी ३१, २०११– बजारको घट्दो मागका कारण स्थापनाको ८८ वर्षपछि जब जिप्सम कारखाना बन्द हुन्छ, जीवनका गुलाबी दिनहरू त्यही क्याम्पामा बिताएर बूढी हुँदै गएकी एकल महिल फर्न सडकमा आइपुग्छिन् । परिस्थितिले उनलाई एउटा फरक जीवन बाँच्ने काइदा सिकाउँछ । त्यही काइदासँगै उद्घाटन हुँदै जान्छन्– जीवनका सुन्दर काव्यहरू, गम्भीर दर्शनहरू । अमेरिकन चिसा सडकहरूमा फर्न एक स्वतन्त्र आत्मा बनेर आध्यात्मिक यात्रा गर्छिन् ।

दुब्लो ख्याउटे शरीर ! अनुहारका गोरा छाला चाउरिन थालेका छन् ! मुहारमा लामो एकान्तबासको विरह खिपिएको छ । जिन्दगीका धेरै वर्ष बिताएको घर, जुन उनको आफ्नो थिएन– कारखानाको थियो, त्यही घरबाट केही वर्षअघि उनको लोग्नेले महाप्रस्थान गरे । लोग्ने मरेपछि फर्नले घर छोडेको भए हुने । तर, लोग्नेसँगका सबै यादहरू गाँसिएको त्यो घर उनले छोड्न चाहिनन् । घर त कारखानाको थियो । कारखाना बन्द भयो । फर्नले घर छोड्नैपर्ने भयो ।

पोहोर साल माया फाट्दा त्यसलाई पनि मनले टालेँ,

यसपालि त मनै फाट्यो केले सिउने, केले टाल्ने हो ?’

कर्पोरेट संघर्षमा लागेको वैश्य व्यवस्थालाई फर्नको समवेदनाको के स्वाद ? आफैं भत्किएको तत्कालीन व्यवस्थाले फर्नलाई घर दिलाउने वाचा गर्न सकेन । आफ्ना पुराना सरसामानहरू, भाँडा–कुँडाहरू, मरेको लोग्नेको थोत्रो कोट अनि अरू केही खुद्राखाद्री सामल बोकेर फर्न हिउँले खाएको अमेरिकन चिसा सडकमा आइपुगिन् ।

फर्न आफ्नो खटारा भ्यानलाई बनाउँछिन्– आफ्नो नयाँ घर र घरबासको परम्परागत जीवन भोगाइ त्यागेर सुरु गर्छिन्– ‘बस–बास’ को नयाँ प्रयोगात्मक जीवन, माटोमा गढेको एउटा स्थिर घरभन्दा फरक, एउटा अस्थिर चलायमान घर अनि यो गतिशील घरले सृजना गरेको पथिक संस्कृति, आधुनिक सभ्यताले हामीमाथि थुपारेको बाँच्ने तरिकाको व्याख्याभन्दा फरक ।

...

आजको युगको उखरमाउलो पुँजीवादले हामीलाई बाँच्ने केही निश्चित मानक दिएको छ । उसले मानिसलाई खुसी हुन केही सर्तहरू दिएको छ र त्यसको खोजी गर्दै मान्छे दिन–प्रतिदिन दुःखी हुँदै छ । सफलताको भूत–सवार पोस्टमोडर्न मान्छे आफूलाई मान्छेबाट मेसिनमा मेटामर्फोसिस गर्न तल्लीन छ हरेक दिन ।

यो वैश्ययुगको नाइके अमेरिका बारम्बार अमेरिकन सपनाको कुरा गर्छ, स्वतन्त्रता र सम्पन्नताको झुसिलो बान्ता छादिरहन्छ्र । ऊ कामदारहरूलाई धनी बन्ने नारा फाल्छ र ऋणको साङ्लोले बाँधेर घिसार्छ्र । यो व्यवस्थाका भुक्तभोगीहरू जिन्दगीभरि ऋण तिर्ने इलमबाहेक अरू खास कर्म गर्दैनन् । अमेरिका निर्धा सहरहरूमा बम–बाडी गर्छ र युरेनिएम विच्छेदनले पग्लिएका, बाफ्फिएका मान्छेहरूको सोत्तरमा उभिएर शान्तिको शंखनाद गर्छ ।

सन् १९५० ताका चरम भौतिकवादको ढोँगी आदर्शलाई तिरस्कार गर्दै केही लेखकहरू जुर्मुराए । सभ्यताले भनेको आदर्श जीवनशैली परित्याग गर्दै उनीहरूले आत्मा–मुक्तिको बाटो खोज्न खोजे– स्वतन्त्र प्रेमिल जीवन र खुला यौनलाई जीवनशैली बनाउन खोजे । संसारलाई विस्मयमा राखेर प्रयोगशालाबाट निक्लेको साइकेडेलिक ड्रग्सको सहाराले जीवन–मुक्तिको बाटो खोजे । अमेरिकन ढोँगी संस्कृतिप्रतिको वैमनस्यतामा उम्रेको यो एउटा अराजक ह्वीम थियो । त्यो विद्रोही पुस्ताका चर्चित पात्र एलेन गिन्सवर्गले कवितामा लेखे–

अमेरिका ! मैले तँलाई सप्पै दिएँ र यतिबेला मसँग केही पनि छैन

अमेरिका ! दुई डलर, सत्ताइस सेन्ट, जनवरी १७, १९५७

मैले केही सोच्न सकेको छैन

अमेरिका ! हामीले मानव युद्ध कहिले अन्त्य गर्छौं ?

जा तँ आफैँसँग मैथुन गर, तेरा एटमबमको सहयोगले

मलाई अलि ठीक छैन, मसँग रेला नगर्...

मेरो मन ठीक ठाउँमा नआउन्जेल म कविता लेख्ने छैन

अमेरिका ! तँ कहिले दिब्य बन्लास् ?

अमेरिका ! तैंले आफ्नो आवरण कहिले फाल्लास् ?

तैँले चिहानघारीबाट आफैंलाई कहिले नियाल्लास् ?

...

सम्पन्नताले चरमोत्कर्षमा पुग्ने युटोपियन राज्यको सपना बाँड्ने त्यही अमेरिकाको चिसा सडकहरूमा फर्न आफ्नो साँघुरो भ्यानमा रात गुजरिरहन्छिन् । फर्नको अनुहारमा एकांकी–जीवनको पीडा लेपिएका छन् । घर खोज्ने, सहारा खोज्ने उमेरमा उनी घरबाट निक्लिइन् र बेघर भइन् । सुपरमार्केटमा एक किशोरी प्रश्न गर्छे, ‘तपाईं घरविहीन हो ?’ फर्न भन्छिन्, ‘म निवासविहीन हो, घरविहीन होइन । घर कुनै स्थिर कुरा होइन । घर त्यो हो, जुन मान्छेले आफूभित्र सधैं बोकेर हिँड्छ ।’ ६० नाघेको उमेर, मरेको लोग्ने र छुटेका घरका यादहरू बोकेर अमेरिकन सडकमा दौडिरहेकी फर्नका मार्मिक शृंखलाहरू सिनेमाभरि छरिएका छन् । तर, सिनेमा यी शृंखलामा शोक मनाएर बस्दैन । सिनेमा त निस्कन्छ फर्नसँगै आत्माको मुक्तिमार्गमा ।

फर्नलाई परिस्थितिले फकिर जिन्दगी बाँच्न स्वतन्त्रता दिएको छ । ६० वर्षको उमेरसम्म व्यवस्थाको साँघुरो दिवारभित्रको नियमित जीवन बाँचिरहेकी फर्न एउटा उन्मुक्त र स्वतन्त्र जीवन बाँच्न थाल्छिन्, जुन बचाइभित्र आउने विश्वासहरू हाम्रा नियमित जीवन विश्वाससँग उति मेल खाँदैनन् ।

फर्न आफूजस्तै घरबास त्यागेर ‘बस–बास’ सुरु गरेका यायाबरलाई सडकमा भेटिरहन्छिन् । कुनै एकोहोरो कथा बुन्न छाडेर सिनेमा यी यायाबरहरूका भावुक जीवन–कथाका फ्र्याग्मान्टेड शृंखलाहरू वाचन गर्दै जान्छ । फर्नको उन्मुक्त यायाबर जीवनजस्तै वाचकी पनि उन्मुक्त ययाबर भएर चरित्रहरूलाई बाटोमा समाउँदै/छोड्दै जान्छ ।

आफूभन्दा केही बूढी लिन्डासँग उनको दोस्ती भएको छ । लिन्डा चरम आर्थिक संकटमा सिगरेटले जलेर आत्महत्या गर्न खोजेको, तर आफ्ना निर्दोष कुकुरहरू पनि मर्ने डरले आत्महत्या गर्न नसकेको अनुभूति बाँड्छिन् । क्यान्सरले खाएर मृत्यु कुरिरहेकी बयोवृद्धा स्वानकीसँग उनको मन गाँसिन्छ, मरुभूमिको यायाबर यात्रामा ।

रोगले गलेकी स्वानकी आफ्ना भावना पोख्छिन् फर्नसँग, ‘मलाई बाँच्नु ७–८ महिना मात्रै छ । म अलास्काको यात्रामा जान्छु, त्यहाँका केही याद छन् । म जीवन कसरी अन्त्य गर्ने भन्ने किताब पढ्दै छु । म जिन्दगीको अन्तिम समय अस्पतालको कोठामा बिताउन चाहन्नँ ।’

मुडुलो टाउकोमा मसिना हिउँझैं सेतै कपाल, ठूलो रोगी ज्यान, बिस्तारै पितृ हुनथालेकी बूढी स्वानकी काँपेका आवाजमा सुस्त बोलिरहन्छिन्, ‘मलाई मर्दै छु भन्नेमा कुनै गुनासो छैन । मैले धेरैथोक देख्न पाएँ । आइडाहोको खोला किनारमा हरिणका बथान देखेँ । मैले कयाकिङ पनि गरेँ । कोलोराडोको तालमा ठूलठूला ६ फिटे चराहरू पनि देखें । विशाल पहरो, पहरोमा चराका गुँडहरू अनि बथानमा उडिरहेका चराहरू, जसको छाया पानीमा परिरहेको थियो । ओहो आफूभन्दा तल–माथि सबैतिर चराहरू नै उडिरहेका । पहरोमा चल्लाहरू फुल फुटेर निक्लँदै थिए । अण्डाका खोस्टाहरू पानीमा खस्दै थिए । कस्तो सपनाजस्तो ! म कत्ति खुसी भएँ । मलाई लाग्यो मेरो जीवन पूर्ण भएको छ । म त्यहीबेला मरेको भए पनि केही गुनासो हुने थिएन । मैले पूरा जीवन बाँचेँ । मलाई मर्न केही गाह्रो छैन ।’मृत्युको नजिकै जाँदै गरेकी यी निर्दोष फकिर वृद्धासँग एउटा सपना मात्रै बाँकी छ अब, ‘म मरेपछि मेरा साथीहरू आगोवरिपरि बस्लान् र आगोमा एउटा ढुंगा फल्लान् मलाई सम्झेर ।’

जीवन बाँच्न बाँकी थोरै दिनहरू छन् स्वानकीसँग । उनलाई स्याहार गर्ने आफ्नो परिवार छैन । कुनै स्थिर घर छैन, तर छ परिस्थितिले सिर्जना गरेको एउटा ठूलो कम्युन, भ्यानमा घर–बास गरेको एक वैकल्पिक र रुमानी संस्कृति ।

बाटोमा पथिकहरू भेट भइरहन्छन्, छुट्टिइरहन्छन् । आफूजस्तै यायाबरका जीवन–कथासँग करुणा उमार्दै फर्न एउटा भ्यानगार्ड जीवन बाँचिरहन्छिन् । अमेरिकन निर्जन मरुभूमिको यात्रा गर्छिन् उनी– जंगलको बीच झरनामुनि जमेको तालमा नग्न डुबुल्की मार्छिन् । स्वतन्त्र, उन्मुक्त जीवन बाँच्छिन् । जंगलमा कहिल्यै नदेखेका अद्भुत जन्तुहरू छन् । सृष्टिको खेला कति उदेकलाग्दो छ्र– कतै ढुंगाका बिशाल पहरा छन्, सहरबाट त केही देखिँदैन– कुनाकन्दरामा अनाकन्डाहरू छन्, अजंगका घोरलहरू छन् । कहिले अमेजनमा सामान प्याक गर्दै, कहिले शिविरमा, कहिले रेस्टुरेन्टमा काम गरेर आफ्नो न्यूनतम आवश्यकताको जोहो गर्दै फर्न निरन्तर यायाबर जिन्दगी बाँचिरहन्छिन् । उनले गरेको जीवन–उत्खनन लोभलाग्दो देखिन्छ ।

यायाबर जीवन भोगाइमा अभ्यस्त भएकी फर्न अचानक आफ्नी बहिनीको आलिसान घरमा पुग्छिन् । तर, खुला आकाश र विशाल धर्तीलाई घर मानेर विचरण गरिरहेकी फर्न बन्द पर्खालको सीमिततामा अटाउन सक्दिनन् । बिन्तीभाउ गर्दा पनि उनी घरमा बस्न मान्दिनन् । उनलाई फकिरगिरीको जो बानी परेको छ्र, उनको फकिर आत्मालाई उनका आफन्तहरूले बुझ्न सकेनन् । किन एउटा न्यानो, आलिसान, स्थिर घरलाई फर्न बारम्बार लत्याइरहन्छिन् ? किन साँघुरो भ्यानमा कुँजिएर उनी निस्फिक्री बाँचिदिन्छिन् ?

...

जब हामी आफ्नो भनेर केही टुक्रा जमिनलाई चार कुना बारेर राख्छौं बाहिरको बाँकी सारा–संसार पराई लाग्दोरहेछ– सबै बिरानो । हामी यस्तै–यस्तै विश्वासहरूले मानवीयताबाट टाढा–टाढा हुँदै छौं, दूरी बढाइरहेछौं, द्वेष पालिरहेछौं । यदि आफूले बारेको, थुपारेको निजी सम्पत्तिको पर्खाल नहुँदो हो सारा चराचर जगत् आफ्नो घर, सारा सृष्टि आफ्नो परिवार । सारा जगत्लाई आफ्नो घर मानेर फर्न निरन्तर जीवन उत्खनन गरिरहेकी छन्– कहिले हिउँले ढाकेका समथर फाँटहरूमा, कहिले समुद्र किनारका बतासे डाँडाहरूमा ।

हामीले एक–अर्काका सिमानामा मोटा–मोटा पर्खाल लगाउन सिकेका छौं र आफैंले लगाएको पर्खालभित्र निसास्सिएर बाँचेका छौं । सफल हुने लोभमा निर्धाहरूलाई कुल्चिएर अघि बढ्न अभिशप्त आजको मान्छे साह्रै बिचरो छ । मान्छेले आफूसँग निहित करुणालाई मेसिनहरूसँग सट्टा–बाजी गरेको छ ।

...

सन् १९६०, जुन बेला अमेरिका भियतनामसँग युद्ध गर्न गोली–गठ्ठा बोकेर सवार भयो, एउटा क्रान्तिकारी पुस्ता अमेरिकन युद्ध–नीति सहन नसकेर नयाँ संस्कृतिको खोजीमा निस्कियो । बिट जेनेरेसनका लेखकहरूले औंल्याएको स्वतन्त्र जीवनको बाटो खोज्दै झोली–झाम्टा कसेर संसार विचरण गर्न यो पुस्ता निक्लियो । भियतनाममा बम खसाल्न हिँडेको हवाइ–जहाजलाई ठाडो माझीऔंला देखाएर यिनीहरूले एक प्रयोगको जीवन सुरु गरे ।

अमेरिकन अति–भौतिक जीवन संस्कृति त्यागेर उनीहरूले मुक्ति–खोजमा संसार चहारे । सभ्यताले भनेका हरेक सुन्दर चीजलाई उनीहरूले तिरस्कार गरे । परिवार, प्रेम, यौन, सम्पत्ति, कला, युद्ध सबै परम्पराप्रति उनीहरूको वैमनस्यता थियो । उनीहरूले नयाँ विश्वास–पद्धतिको संस्कार गाड्न खोजे । इतिहासको डेढ दशक ठूलो वेगमा बगेर अन्ततः सुकेको यो अभियानलाई हामीहरू हिप्पीका कथाहरू भनेर दन्त्यकथाझैं सुन्छौं ।

मुक्ति–खोजमा हिप्पीहरू लामो सयर गर्दै भारतका अनेक बस्ती हुँदै नेपाल पनि छिरे । झोंछेका गल्लीमा गाँजा तान्दै उनीहरूले त्यो समयका उत्कृष्ट कबिता लेखे, संगीत बुने, चित्रहरू पोते । एउटा आदर्शको भावुकतामा बगेको हिप्पी संस्कृतिमा व्यावहारिकताको खडेरी थियो । आध्यात्मिक यात्रा अन्ततः अराजकताको ओरालो लाग्यो । चरम साइकेडेलिक नशा, उन्मुक्त प्रेम र यौन उनीहरूको जीवनशैली थियो । त्यही अराजक यात्राले उनीहरूलाई डुबायो । रोग, भोक, शोक सबथोकले उनीहरूलाई खायो । हिप्पीहरू आफैंले खनेको खाडलमा आफैं पुरिएर गए । आजभोलि हिप्पीको ओज छैन । हप्पीका कथाहरू मात्रै छन् । उनीहरूले लेखेका कविता, पोतेका पेन्टिङ र सृजेका धुनहरू छन् ।

पुँजी व्यवस्थाको काँडेतारले घेरेको उराठ संस्कृतिबाट उन्मुक्त हुन खोजेका हिप्पीहरू आफ्नै अराजकताले भासिएर गए पनि चरम भौतिकताले निसास्सिएको अमेरिका बेला–बेला कतैबाट उम्लिन, पोखिन, चुहिन खोजिरहन्छ केही फरक संस्कृतिका बहानामा । यो डिजिटल शताब्दीमा कहिले डिजिटल नोम्याड्सको रूपमा, कहिले भ्यानड्वेलरसको रूपमा यायाबर संस्कृतिले नवीन अमेरिकन न्यारेटिभ खिप्न खोजिरहेछ ।

...

भ्यानडोएलिङ संस्कृतिका सूत्रधार बब वेल्स सिनेमाका पनि सुत्रधारझैं छन् । आफ्नो छोरो २७ वर्षको उमेरमा आत्महत्या गरेर मरेपछि गहिरो विषादमा परेर जीवनको ध्येय गुमाएका बब त्यसबेला आफू बाँच्नुको अर्थ भेट्छन्, जब घर–बास गुमाएर सडकमा आइपुगेका बेसहाराहरूलाई उनी एउटा वैकल्पिक संस्कृतिसँग जोड्छन्, भ्यानभित्र गुजारा गरेर एक स्वतन्त्र जीवन बाँच्ने कम्युनको सूत्रपात गर्छन् । मानवताको गीत गाउँदै हिँड्ने लालोन फकिरझैं लाग्ने बब दुःखीहरूको सेवामा जीवन समर्पित गरेर छोरोको मृत्यु भुलाउन खोजिरहेका छन् ।

जब स्वानकीको मृत्यु हुन्छ सबै बस–बासी यायाबर एक रात आगोछेउ जम्मा हुन्छन् र उनको सम्झनामा पालैपालो आगोमा साना ढुंगाहरू फाल्न थाग्छन् । बब आगोको लप्कामा सानो पत्थर फाल्दै भन्छन्, ‘धेरै पछि, कुनै दिन, बाटोका मोडहरूमा भेटौंला स्वानकी ।’

एक साँझको शान्त गुफ्तगुमा बब एक गम्भीर फकिरी दर्शन ओकल्छन्, ‘भौतिक व्यवस्थाले लादेको विश्वासभन्दा हाम्रा विश्वासहरू फरक छन् । हाम्रो जीवनपद्धतिमा अलबिदा भन्ने शब्द छैन । एक पटक छुटी गएका मान्छेहरूलाई म फेरि कतै बाटोको छेउतिर भेटिरहन्छु– महिना, वर्षहरूमा । र, मलाई विश्वास छ, छुटी गएको मेरो छोरोलाई पनि बाटोको छेउ एक दिन भेट्नेछु । हाम्रो विश्वासमा अलविदा भन्ने शब्द छैन ।’

सिनेमाले बिट मार्न लाग्दा फर्न आफूले छोडेको कारखानाको घरमा पुग्छिन् । खण्डहरझैं भइसकेको धूलाम्य घरमा उनका लोग्नेसँगका रंगीन याद टाँस्सिएका छन् र फर्न विश्वास गर्छिन्, जुन कुरा सधैं यादमा बसिरहन्छ, त्यसको कहिल्यै मृत्यु हुँदैन । उनले आफ्नो लोग्ने भेट्नेछिन् सुदूर भविष्यमा, बाटोको कुनै मोडतिर । रित्तो घरको स्थिर ढोकाबाट निस्किएर फर्न पुनः लाग्छिन् आफ्नो अविच्छिन्न यायाबर यात्रामा, हिमाछन्न अमेरिकन बाटोहरूमा ।

...

हामी भने यता अव्यवस्थाहरू चाङ लगाएर कंक्रिटका बन्द कोठाहरूमा कुँजिएका छौं । मनभित्र यायाबर सपनाहरू भने जिउँदै छन् । व्यवस्थाले खनेको खाडलमा थुप्रिएका छौं । आफूमाथि लेउ पालेका छौं । सुखी हुने सपना पालेका छौं, तर, झन् दुःखी भएका छौं ।

यतिबेला कोरोना कहरले झन् ठूलो भँड्खालोमा पारिदियो । झ्यालखानामा परेका छौं आफ्नै घरभित्र । पुँजीवादको वायुपंखी घोडा चढेर कोरोना हाम्रो घरआँगनसम्मै आइपुग्यो । मुखमा कोक्रो बाँधेर हामीलाई बन्द कोठामा थुनिदियो । हाम्रो व्यवस्थाले हामीलाई ेउल्टो बाटो पो हिँडायो कि ? लाग्छ, कुनै दिन हामी पनि निस्कनु थिएछ, फर्नले जस्तै झोली–झाम्टा कसेर यायाबर सपनाको बाटो ।

प्रकाशित : वैशाख २५, २०७८ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×