उज्वल दाइ सुन्नु न !- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उज्वल दाइ सुन्नु न !

एक मानेमा के सन्तोष मनमा छ भने ढिलो–चाँडो सबैले देह–त्याग गरेर जानै छ । तर, अब मैले जुनै दिन देह–त्याग गरेँ भने पनि म एक्लो हुनु पर्दैन किनभने यताको काम सकेर जाँदा उज्वल दाइले मलाई उता कुरिरहनुभएको हुनेछ ।
रञ्‍जु दर्शना

चप्पल–कारखाना अफिसबाट घर फर्कंने बेला उज्वल दाइलाई जोड लगाएर भनेँ, ‘दाइ सुन्नु न ! कान्तिपुर टीभीमा एउटा प्रोग्राम आउँछ नि, त्यसमा सधैं अरू पार्टीका ठूला नेतालाई मात्रै बोलाउँछन्, कुनै दिन विवेकशीलबाट तपाईं र गोविन्द दाइलाई पनि बोलायो भने कस्तो राम्रो हुन्थ्यो के !,’ एक्साइटमेन्टमा थिएँ सायद । एउटै प्रश्नभित्र दाइले उत्तर पनि दिनुभयो, ‘रञ्जु, त्यो प्रोग्राममा तिमी किन हुन सक्दैनौ ?’

यस्तो थियो उज्वल दाइको तरिका ! नेतृत्व सिकाउने एउटा सरल तरिका ! दाइ खासमा कडा स्वभावकै मान्छे हुनुहुन्थ्यो– एकदम जिद्दी ! चाहेको काम जसरी पनि हुनैपर्छ भन्ने ! तर, हामीलाई फेल हुन भने कहिल्यै रोक्नुभएन । मैले कत्ति काम बिगारेकी छु ! तर, रमाइलो के भने काम बिगार्दा उहाँ एकदमै रिसाउनुहुन्थ्यो अनि फेरि अर्को काम गर्न लगाइहाल्नुहुन्थ्यो, सिकाइहाल्नुहुन्थ्यो । फेल हुन पाएर पनि मलाई कुनै काम गर्न डर लाग्दैन । र, मजस्ता धेरै साथी छौं, जसको अनुभव यस्तै छ ।

हामी दाइकै अघि भन्ने गर्थ्यौं, ‘फलानो–फलानो बेला बूढा तपाईंले लास्टै चेताउनुभएको थियो !’ फेरि दाइलाई ‘बूढा’ भन्या पटक्कै मन नपर्ने ! ‘पख न तिमीहरू पनि मेरो एजमा आइपुग्छौ अनि चेत्छौ’ भन्नुहुन्थ्यो ।

एक पटक ज्ञानेश्वरको ‘गली–गली’ भन्ने अफिसको कार्यक्रममा २ बजे पुग्नुपर्ने थियो । ‘सडक सन्देश’ कार्यक्रमको तयारीले म अन्य साथीहरूसँगै जान पाइनँ । त्यो अफिस पुग्ने बाटो अलिअलि थाहा थियो, त्यसैले ‘पुगिहाल्छु नि’ भन्ने लाग्यो । तर, म १:४५ बजे ज्ञानेश्वरबीच पुगेर अड्किएँ । साथीहरूलाई धेरै फोन गरेँ । त्योबेला म्याप हेर्न न मसँग स्मार्टफोन थियो, न अरू केही उपाय ! फसाद पर्‍यो ! दाइको फोन आयो, तर मलाई बाटो बताउनुको सट्टा गाली गर्नुभयो, ‘कस्तो सिल्ली, इडियट ! पहिल्यै गुगल म्याप हेरेर आउनुपर्दैन ?’ म बीच बाटोमै चित्त फुटेर रोएँ । सोचेँ, ‘म किन काम गर्दै छु यो मान्छेसँग ?’ एक मनले सोचेँ– ‘भोलिदेखि आउँदिनँ ।’ अनि लामो सास फेरेँ ।

घडीले ३:३० भएको बतायो । टिचिङ अस्पतालअघि पुग्नुथियो– ४ बजे, डा.केसीको अभियानमा । आँसु पुछेँ र माइक्रो चढेर पुगेँ– जिम्मेवारी निर्वाह गर्न । दाइहरू १५ मिनेटपछि आइपुग्नु’भो । मैले त दाइतिर हेर्दा पनि हेरिनँ, चित्त जो दुखेको थियो । एकछिनपछि दाइ मेरो नजिक आउनुभो र भन्नुभो, ‘के छ रञ्जु ? आज निकै मान्छे आएछन् है ! उताको प्रोग्राम पनि राम्रो भयो नि ! इन्ट्रेस्टिङ थियो !’ उहाँले यसरी भन्नुभो, मानौं अघि केही भएकै थिएन । त्यसदिन १७ जना थियौं कार्यक्रममा । ‘उम्’ गर्दै टाउको हल्लाएँ । दाइले फेरि भन्नुभो, ‘सरी है ! आज तिमीलाई फोनमा कराएँ ।’ बल्ल मेरो मनको आगोमा फायर ब्रिगेडले पानी हाल्देझैं भयो ।

खासमा दाइ सधैं उत्कृष्टतामा विश्वास गर्ने मान्छे ! सिक्दै जानुपर्छ भन्ने मान्छे ! उहाँले ‘हरेक कामको पूर्वतयारी हुनैपर्छ’ भन्ने सिकाउनुभयो हामीलाई ।

दाइसँगको यात्राभरि उहाँले मलाई ‘सरी’ भन्नुभएको त्यही एक पटक हो । सोच्छु– मेरा अरू साथीले एक पटकै सही दाइबाट ‘सरी’ पाए कि पाएनन् ? वास्तवमा दाइसँग काम गर्दा ‘सरी’ को आवश्यकतै पर्दैनथ्यो । उहाँ किन रिसाउनुभयो भन्ने प्रश्न आफैंलाई सोधे हामी उल्टै नयाँ ‘ज्ञान’ सिक्थ्यौं । दाइ ‘सरी’ र ‘थ्याङ्क–यु’ भन्नचाहिँ एक प्रतिशत पनि कन्जुस्याइँ गर्ने मान्छे होइन फेरि । ‘मैले यो बुझिनँ नि, के हो ?’, ‘सरी मैले गल्ती पो भनेछु है’ भन्न उहाँले कहिल्यै छाड्नुभएन !

अति सामान्य विषय नबुझे पनि सोध्ने र आफूले गल्ती भनेको थाहा भएपछि स्विकार्ने दाइको बानी थियो ।

हरेक सानोदेखि ठूलो कामसम्म आफैं जान्नी–सुन्नी हुने दाइको बानी थिएन । दाइ जसलाई पनि, सानो होस् या ठूलो, जे विषयमा पनि मान्छेको रुचिअनुसार केही न केही काम गर्न लगाइहाल्नुहुन्थ्यो, ‘केही पर्‍यो भने भन न है’ भनिहाल्नुहुन्थ्यो र आफूले काम जिम्मा लगाएको मान्छेलाई सधैं भन्नुहुन्थ्यो, ‘थ्याङ्क–यु फर योर लिडिरसिप !’ त्यसले गर्दा कामको जिम्मा पाएको व्यक्तिलाई सुरुदेखि नै सकारात्मक दबाब सृजना हुन्थ्यो । काम गर्ने वा प्रयास गर्नेजत्ति सबैलाई ‘धन्यवाद’ भन्नुहुन्थ्यो । तर, व्यक्तिगत तारिफचाहिँ बिरलै गर्नुहुन्थ्यो ।

दाइले कहिल्यै कुनै पनि युवालाई ‘म तिमीप्रति गर्व गर्छॅ’ भन्नुभएन, तर यसको अर्थ दाइ ‘गौरन्वान्वित’ हुनुभएन भन्ने होइन । उहाँको उद्देश्य थियो– २१ औँ शताब्दीको नेतृत्व बनाउने । र, म त्यस उद्देश्यको हजारौं बीउमध्येको एक हुँ । दाइ हामीलाई देखेर ‘प्राउड’ फिल त पक्कै गर्नुहुन्छ, जहाँ भए पनि । तर, यसमा पनि दाइको कडा मान्यता छ मेरिटोक्रेसीमा । कोही व्यक्ति जति नै निकट किन नहोस, उसमा क्षमता छैन भने ऊ दाइको टिममा पर्दैनथ्यो । यसमा भावनात्मक हुनु जरुरी नै छैन किनभने उहाँ स्पष्ट हुनुहुन्थ्यो– देश निर्माणको यात्रा हो, कसैको व्यक्तिगत कुरो होइन ।

...

मेरो नेतृत्व–विकास र उज्वल दाइसँगको यात्रा २०७० देखि सुरु भएको हो । दोस्रो संविधानसभा निर्वाचनमा दाइ काठमाडौं क्षेत्र न. ५ बाट उठ्नुभएको रहेछ । त्यसबेलासम्म ‘विवेकशील नेपाली’ भन्ने सुनेकी पनि थिइनँ । त्यसबारे थाहा पाएको बाटोमा खसेको स्माइली लोगो कार्डबाट हो, जसबारे थप जानकारी फेसबुकबाट पाएँ । र, उहाँहरूले गरेको ‘नेपाल खुल्ला छ’ अभियानमा गएँ लुरुलुरु । अझै याद छ, नारायणगोपाल चोकमा कार्यक्रम भइरहेको थियो । म दक्षिणतर्फबाट गइरहेको थिएँ ।

नेपालको ठूलो झन्डा देखेपछि मैले हात हल्लाएँ, उताबाट पनि कसैले हात हल्लायो । र, ‘नेपाल खुल्ला छ’ अभियान त्यही हो भन्ने पक्का भएर गएँ । कसैलाई चिनेकी थिइनँ । तर, मैले चिनेकी थिएँ– नेपालको झन्डा, त्यसैले त्यहाँ सबै ‘आफ्ना’ लागे । एक जनाले हात मिलाएर परिचय गरे र मेरो हातमा नेपालको झन्डा थमाइदिए । मेरो जीवनमै सबैभन्दा गर्व लाग्ने विषय त्यही हो– मैले मेरै गाउँ–टोलमा ‘नेपाल खुल्ला छ’ भन्दै नेपालको झन्डा हल्लाएँ ।

कार्यक्रमपछि कसैले ‘लौ जाऊँ पार्टी अफिस’ भने । मलाई ‘जाऊँ न त हेरौं, कस्तो रैछ’ भन्ने लाग्यो । चप्पल कारखाना अफिस पुग्नेबित्तिकै मिटिङ रुममा सबैलाई राखेर आइडिया मागियो– के कसो गर्ने ? निर्वाचन कसरी जित्ने ? म वाल्ल परिरहेँ, मजस्तो ‘नयाँ भर्खर आएको’ सँग विचार मागेको !

के मेरो विचार पनि महत्त्वपूर्ण छ ? म बोलिनँ, अरूले बोलेको सुनिरहेँ । एक छिनमा क्षेत्र नं ५ को प्रचारप्रसार भइरहेको थाहा पाएँ र एकदमै एक्साइटेड भएँ, ‘अहो नेपाल खुल्ला अभियान गर्ने मान्छे उठेको रहेछ मेरो क्षेत्रबाट !’ अनि प्रण गरेँ, ‘जसरी पनि त्यो मान्छेलाई जिताउने हो !’

एक छिनमा थाहा भयो– बिहान हात मिलाएको, मलाई झन्डा थमाएको मान्छे नै पार्टी अध्यक्ष र उम्मेदवार हुनुहुन्थ्यो– उज्वल थापा । हो त्यही दिनदेखि म कम्मर कसेर लागिपरेँ, सक्ने खटेँ ! ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘पहाड झुक्नुपर्छ आँधी रुक्नुपर्छ हामी युवा जुटेपछि काँडा फुल्नुपर्छ’, ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ’ जस्ता गीत स्पिकरमा घन्काउँदै दाइको निर्वाचन प्रसार प्रसारमा हामी हरेक दिन ५–७ जना मान्छे हुन्थ्यौँ । कहिले त उम्मेदवारसमेत गरी ५ जना हुन्थ्यौं । प्रचार–प्रसारमा दाइ धेरै कहिल्यै नबोल्ने ! धेरै बोल्ने दाइको नेचर नै होइन ! काम नै हो– दाइको नेचर

...

दाइको चिन्तन थियो– ‘नेपाली भनेर होइन, बनेर देखाउनुपर्छ !’ ‘विकल्प कुर्दै बस्ने होइन, आफैँ बन्ने हो !’ समानुभूति मूल्यमान्यताको एक सशक्त कर्ता हुनुहुन्थ्यो दाइ । जीवनको अन्तिम समयतिर दाइले भाउजूलाई भन्नुभएको र सामाजिक सञ्जालमा लेख्नुभएको कुराले उहाँको चिन्तन, मूल्यमान्यताप्रतिको स्पष्टता जाहेर गर्छ । आईसीयूमै भाउजूलाई भन्नुभएछ, ‘हेर न ! यी नर्स बहिनीहरू रातोदिन काम गर्छन्, तर अन्डरपेड छन् धेरै ठाउँमा । चिकित्सा शिक्षा, स्वास्थ्य क्षेत्र सुधारमा त काम गरेको हो, तर नर्सहरूको उचित तलबको विषयमा स्पेसल्ली अस्पतालबाट फर्किएपछि क्याम्पेन गर्नेछु ।’

दाइ एकदम प्रगतिशील मान्छे हुनुहुन्थ्यो । उहाँमा वैज्ञानिक–आध्यात्मिक चिन्तन बढी थियो, बुद्धको बाटो उहाँले छानेको बाटो थियो ।बुद्ध जयन्तीका दिन इन्स्टाग्राममा दाइले लेख्नुभएको छ–

– ‘आज म आफूभित्र एक नयाँ जागरण महसुस गर्दै छु । मेरो जीवनमा एक शुद्ध हावा (अक्सिजन) को महत्त्व कति धेरै छ !’

– ‘सायद बुद्ध हामीलाई अन्यथरि कुराको पछाडि दौडिनुभन्दा दैनिक जीवनका सूक्ष्म कुराहरूप्रति कृतज्ञ भाव व्यक्त गरून् भन्ने चाहन्छन् ।’

– ‘मेरा सबै प्रियहरू, बुद्धले तपाईंहरू सबैको हरेक दिनको सास गाइड गरून् । तपार्इंहरू सबै आफ्नो जीवनमा नयाँ–नयाँ कुराहरू गर्ने एक्सपेरिमेन्टर बन्ने बाटोमा हिँड्न सक्नुहोस् ।’

– ‘र, तपाईंको जोसले जति नै कुदाए पनि, तपाईं आफ्नो वर्तमानमा जरा गाढेर बस्न सक्नुहोस् ।’

दाइ आफैँले लेख्नुभएका माथिका यी अन्तिम शब्द हुन् । उहाँले आफ्नो वेबसाइटमा कैयौं महत्त्वपूर्ण विचार लेख्नुभएको छ, जुन अनुसरणयोग्य छन् । तर, उज्वल दाइ ‘देवता’ होइन । दाइका भएभरका सबै बानी–व्यवहार अत्यन्त सुन्दर थिए/असल थिए भनेर जसरी अहिले मानिसहरू श्रद्धाञ्जलीमा लेखिरहेका छन्, खासमा त्यस्तो होइन । प्रशस्त कमी–कमजोरीसहितको मान्छे हुनुहुन्थ्यो उहाँ, जो बेलाबेला बिनाठोस कारण रिसाउनुहुन्थ्यो, हामीलाई अति दबाब दिनुहुन्थ्यो, खासै सामाजिक (सोसियल) हुनुहुन्नथ्यो, हामीले भनेको सुन्नुहुन्नथ्यो, झगडा गर्नुहुन्थ्यो, इगो राख्नुहुन्थ्यो । तर, कसैलाई पनि ‘हार्म’ गर्नुहुन्नथ्यो । दाइ दूरदर्शीचाहिँ हुनुहुन्थ्यो । उहाँका कुराकानी, विचार–तथ्य र कारणसहित उपस्थित हुन्थे । र, सबैभन्दा महत्त्वपूर्ण त ती विचार मध्यममार्गी, अहिंसात्मक र समयसापेक्ष हुन्थे ।

२–३ जनाबीच लेख्ने–बोल्ने कुरा होस् कि समूहमा, दाइका सबै विषय अध्ययनबाटै आएका हुन्थे, ती हावादारी हुँदैनथे । तर, उहाँले व्यक्त गर्ने भावनात्मक व्यवहार फरक हुन्थे । जस्तै उहाँले ‘आई लभ यु’ भनेर हामी भाइबहिनीलाई कहिल्यै भन्नुभएन । तर, सधैं भन्नुहुन्थ्यो, ‘यो गर न म साथ छु !’

उहाँलाई हामी युवाको चिन्ता हुन्थ्यो– ‘के छ’ भनेर बेलाबेला मेसेज, फोन गर्नुहुन्थ्यो । तर, फोनसम्बन्धी खतरनाक कुराचाहिँ के भने एक पटक फोन गरेपछि उहाँ कम्तीमा पनि एक–डेढ घण्टै कुरा गर्नुहुन्थ्यो । दाइको फोन उठाउनुअघि हामी लामो सास फेर्थ्यौं । यस्तो अजिबको हुनुहुन्थ्यो– हाम्रा दाइ, जो एक नेता हुनुहुन्थ्यो । तर, अरूलाई अघि सार्ने र सिकाउने गर्नुहुन्थ्यो । उहाँलाई यही गर्न मन पर्थ्यो । अनि उहाँलाई मन पर्थ्यो बेथितिविरुद्ध लड्न र सबै मिलेर यथास्थितिलाई परिवर्तन गर्न ।

कामपछि तीव्र थकान हुन्छ । थकानपछि आराम गर्नुपर्छ भन्ने दाइको विश्वास थियो । वैशाख २ गतेको भेटमा (त्यो भेट नै दाइसँगको अन्तिम हुनुरहेछ) दाइले केही कुरा भन्नुभएको थियो । जस्तो– ‘काममा धेरै जोड नगर्नू’, ‘आराम गर्दै आफूलाई तयार पार्दै अघि बढ्नू’, ‘आफूलाई गर्न मन भएका व्यक्तिगत काम पनि गर्नू’ ! छुट्टिने बेला दाइ भन्नुहुन्थ्यो, ‘सधैं पावरमा हुँदा एक किसिमको घमण्डजस्तो आउँदो रहेछ, बुझ्यौ बहिनी ? मैले पार्टीको पोजिसन हस्तान्तरण गरेपछि धेरै सोच्ने, अध्ययन, आराम गर्ने समय पाइरहेको छु । अब आफ्नो जीविकोपार्जनमा पनि ध्यान केन्द्रित गर्छॅ । अनि फेरि सक्रिय भइहाल्छु नि ! गर्नुपर्ने काम धेरै छन् !’

दाइका यी प्रत्येक शब्द अहिले झन् जीवन्त भएर म छेउछाउ गुन्जिरहेका छन् । दाइको भौतिक शरीरलाई बिदा गर्न निकै गाह्रो भयो किनभने मलाई थाहै भएन, मैले मेरो गुरुलाई बिदा गर्दै छु कि ? दाइलाई कि ? साथीलाई कि ? बुबासमान एक भद्र मानिसलाई ? कसलाई ?

खासमा दाइ धेरै ‘आफ्ना’ हरूको मिश्रण हुनुहुन्थ्यो, जसले मेरो जीवनमा गहिरो प्रभाव र शिक्षण दिनुभएको छ । दाइ सधैं एक सन्देश टाढा हुनुहुन्थ्यो । गाह्रो भइरा’छ भन्ने थाहा पाएपछि जे–जस्तो अवस्थामा पनि मद्दत गर्नुहुन्थ्यो– घर आइपुग्नुहुन्थ्यो, फोन कलमा आइपुग्नुहुन्थ्यो । दाइले मलाई, मजस्तै धेरै युवालाई सुसंस्कृत राजनीति, सरल–सहज, मध्यममार्गी जीवनको कुरा सिकाएर जानुभएको छ । एउटा थलो निर्माण गरेर जानुभएको छ ।

एकमानेमा के सन्तोष मनमा छ भने ढिलो–चाँडो सबैले देह–त्याग गरेर जानै छ । तर, अब मैले जुनै दिन देह–त्याग गरेँ भने पनि म एक्लो हुनुपर्दैन किनभने यताको काम सकेर जाँदा उज्वल दाइ मलाई उता कुरिरहनुभएको हुनेछ । र, त्यो पटक ज्ञानेश्वरमा बाटो बिर्सिंदा उहाँले हकारेको जस्तो हुनेछैन बरु दाइले हग गर्नुहुनेछ ‘बहिनी गुड्–गुड्, निकै राम्रा कामहरू गर्‍यौ, अब रेस्ट गरौं’ भन्दै ।

प्रकाशित : जेष्ठ २२, २०७८ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्

स्लम सुन्दरी 

पवित्रा लामा

महाशय !!लालकिल्लाको भव्य प्राचीरबाटजब फहराउनुहुन्छ, तपाईं राष्ट्रको सम्मानअनि उडाइदिनुहुन्छ मुक्त आकाशमादर्जनौं सेता परेवात्यो उभिएकी हुन्छे सधैं निक्कै टाढा, पछिल्तिर अनि कुनामा ।

विडम्बना छ महाशय,

जहिले, जब अनि जहाँ त्यो उभिन्छे

त्यसलाई पानी–खेदो गरिबस्छ

गुलामीका माखेसाङ्लाहरुले ।


तपाईं र मभन्दा धेरै–धेरै–धेरै

व्यस्त छ, त्यसको दिनचर्या ।


नाम, धर्म अनि पहिचानभन्दा

केही तलका

धेरै–धेरै–धेरै प्रश्नहरु खोतल्नमा

व्यस्त रहन्छे त्यो ।


गर्मीभरि खटिरहन्छे

बर्खाभरि रूझिरहन्छे

हिउँदको कठ्याङ्ग्रिँदो कुनै बिहानीमा

जब तपाईं सयर गर्नुहुन्छ राजपथमा

त्यसअघि नै त्यसको लावारिस देह उठाइसकेको हुन्छ

नगर–निगमका कर्मचारीहरुले ।


त्यसैले हो महाशय यत्तिका दिनमा पनि

त्यसलाई तपाईंले देख्नै भएको छैन ।


दुःखी नहुनुहोस्,

खेद प्रकट नगर्नुहोस्

केही कुराहरु जन्मेका हुन्छन्

केवल मर्नकै लागि ।


तपाईंका सुधारवादी नीति होस् अथवा

मेरा इमानदार कविता

कसैले कसैगरी बचाउनै सक्दैनन्

यी भुइँफुट्टा फोहोरी सरिसृपहरुलाई ।


आउनुहोस्, तपाईं अनि म,

मिलेर गाऔँ

आफ्नो विवशताको शोकगीत ।


तपाईं एक दिनका निम्ति हटाइदिनुहोला राजपथबाट

योजनाहरुको राजकीय इस्तहार

एक दिनका लागि म्युट गरिदिनुहोला

च्यानलहरुबाट झूटो समाचार

ट्वीटरको चरालाई छोडिदिनुहोस् एकै दिन खुला आकाशमा

देखाइदिनुहोस् आफ्नो असली अनुहार एकै छिन फेसबुकमा


मचाहिँ यति नै गरूँला

फालिदिउँला अनि हालिदिउँला

नछापीकनै

आफ्ना साराका सारा लाचार बेकाम्मे कविताहरू

सडक किनारको डस्टबिनमा ।

प्रकाशित : जेष्ठ २२, २०७८ ११:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×