स्लम सुन्दरी


महाशय !!
लालकिल्लाको भव्य प्राचीरबाट
जब फहराउनुहुन्छ, तपाईं राष्ट्रको सम्मान
अनि उडाइदिनुहुन्छ मुक्त आकाशमा
दर्जनौं सेता परेवा
त्यो उभिएकी हुन्छे सधैं
निक्कै टाढा, पछिल्तिर अनि कुनामा ।

विडम्बना छ महाशय,
जहिले, जब अनि जहाँ त्यो उभिन्छे
त्यसलाई पानी–खेदो गरिबस्छ
गुलामीका माखेसाङ्लाहरुले ।
तपाईं र मभन्दा धेरै–धेरै–धेरै
व्यस्त छ, त्यसको दिनचर्या ।
नाम, धर्म अनि पहिचानभन्दा
केही तलका
धेरै–धेरै–धेरै प्रश्नहरु खोतल्नमा
व्यस्त रहन्छे त्यो ।
गर्मीभरि खटिरहन्छे
बर्खाभरि रूझिरहन्छे
हिउँदको कठ्याङ्ग्रिँदो कुनै बिहानीमा
जब तपाईं सयर गर्नुहुन्छ राजपथमा
त्यसअघि नै त्यसको लावारिस देह उठाइसकेको हुन्छ
नगर–निगमका कर्मचारीहरुले ।
त्यसैले हो महाशय यत्तिका दिनमा पनि
त्यसलाई तपाईंले देख्नै भएको छैन ।
दुःखी नहुनुहोस्,
खेद प्रकट नगर्नुहोस्
केही कुराहरु जन्मेका हुन्छन्
केवल मर्नकै लागि ।
तपाईंका सुधारवादी नीति होस् अथवा
मेरा इमानदार कविता
कसैले कसैगरी बचाउनै सक्दैनन्
यी भुइँफुट्टा फोहोरी सरिसृपहरुलाई ।
आउनुहोस्, तपाईं अनि म,
मिलेर गाऔँ
आफ्नो विवशताको शोकगीत ।
तपाईं एक दिनका निम्ति हटाइदिनुहोला राजपथबाट
योजनाहरुको राजकीय इस्तहार
एक दिनका लागि म्युट गरिदिनुहोला
च्यानलहरुबाट झूटो समाचार
ट्वीटरको चरालाई छोडिदिनुहोस् एकै दिन खुला आकाशमा
देखाइदिनुहोस् आफ्नो असली अनुहार एकै छिन फेसबुकमा
मचाहिँ यति नै गरूँला
फालिदिउँला अनि हालिदिउँला
नछापीकनै
आफ्ना साराका सारा लाचार बेकाम्मे कविताहरू
सडक किनारको डस्टबिनमा ।
प्रकाशित : जेष्ठ २२, २०७८ ११:३८