इजरायली युद्धको विरूद्धमा- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इजरायली युद्धको विरूद्धमा

प्रगति राई

जब फक्रिनेबित्तिकै 
फूलको बलि चढाइन्छ ढुङ्गाको तस्बिरमा
तब म फूल रोप्न छोडिदिन्छु

गाजा क्षेत्रमा २०२१ मे ११ मा प्यालेस्टाइन–इजरायलबीचको दोहोरो आक्रमणपछि देखिएको दृश्य । तस्बिर : रोयटर्स

किनकि

फुल्नै नपाई टिपिनुभन्दा

फूल नरोप्नु कम अपराध लाग्छ मलाई ।

जब कलिला रहर बोकेर

दौडिरहेका बच्चाहरु भुटिन्छन् बारूदमा

तब त्यागिदिन्छु संसर्गको मोह


किनकि

मान्छे मारिनुभन्दा

मान्छे नजन्माउनु कम अपराध लाग्छ मलाई

फूलको शिर बोकेर मन्दिर धाउने भक्तहरु

मानिसका सुन्दर बस्ती ताकेर बम फाल्ने खेलाडीहरु

यी दुवैका विरूद्धमा म

सुकाइदिन्छु आफ्नै रजस्वला

भत्काइदिन्छु आफ्नै पाठेघर

र, यो संसारलाई यहीं रोकिदिन्छु


किनकि,

मन्दिरमा ओइलाएको फूल देख्नुभन्दा

युद्धमा रोइरहेका नानीहरु देख्नुभन्दा

यो चलिरहेको संसार ठप्प रोक्नु

कम अपराध लाग्छ मलाई ।

प्रकाशित : जेष्ठ १५, २०७८ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्

थालीमा तरकारी कि मासु ?

म शाकाहारी हुँ । तर, केही खाना नपाएर जीवन कि मृत्यु भन्ने अवस्था आयो भने म मासु नखाएरै मर्छु भन्दिनँ । र, सामान्य अवस्थामा मांसाहारीलाई अपमानित गर्नुपर्ने कारण पनि छैन ।
अरुणा उप्रेती

वैशाख १८ को कान्तिपुर ‘कोसेली’ मा शिक्षा रिसालको अनुभूति–लेख ‘एक शाकाहारीको एकालाप’ पढेपछि यो लेख लेखिएको छ । लेखक रिसालको आग्रह छ, ‘शाकाहारीलाई अपराधीजस्तो व्यवहार नगरियोस् । उनीहरूको मुखमा जबरजस्ती मासु नकोचियोस् !’ मेरो अनुभवमा शाकाहारीलाई अपराधीजस्तो व्यवहार गरिएको छैन, न त शाकाहारीको मुखमा जबरजस्ती मासु नै कोचिएको छ ।

म पनि एक शाकाहारी हुँ । म सुरुमा आफ्नै एउटा अनुभूति पाठकलाई सेयर गर्न चाहन्छु । १४ वर्षअघि । इरानको ‘वाम’ सहरमा म जनस्वास्थ्य विज्ञ भएर काम गरिरहेकी थिएँ, भूकम्प गएको क्षेत्रमा । एक दिन त्यस सहरबाट केही टाढा एउटा सानो सहरमा खाना खान गयौं । सानो चमेनागृहको मालिकलाई मैले भनें, ‘म शाकाहारी हुँ, मासु नहालेको परिकार दिनू है ।’ तिनले ‘हुन्छ’ भने र मेरा लागि नान, रोटी, सुप ल्याइदिए । म दंग परें । मुखमा सुप हाल्नेबित्तिकै मलाई थाहा भयो, त्यसमा मासु छ ।

‘मैले मासु खान्नँ भनेको, किन मासु हालेको ?’ मैले तिनलाई सोधें ।

‘यो त मासुको रस मात्रै हो, मासु त मैले झिकिसकेँ । यहाँ मासु नखाने मानिस आउँछन्, तिनीहरूका लागि हामी यसैगरी सुप पकाउँछौं,’ तिनले भने ।

३ महिना इरान बस्दा होटलमा मैले तरकारी, दाल कहिल्यै खाइनँ, फलफूल, दही–भात र भान्टा मात्र खाएँ । त्यसबेला मलाई अनुभव भयो, ‘मासुको टुक्रा नखाने मानिसहरू’ त्यहाँ शाकाहारी हुँदारहेछन् ।

अफगानिस्तान, पाकिस्तान बस्दा म आफैंलाई एउटै प्रश्न गर्थें, ‘मासु नखाए पनि मान्छे बाँच्न सक्छ ?’ खासमा ठाउँ र समयअनुसार गरिन्छ– मासु खाने कि नखाने भन्ने बहस ।

मेरा केही साथी ५ वर्षअघिसम्म मासु पाएपछि छाकमा आधा किलोसम्म खान्थे । अहिले मासु–खपत कम गरेका छन् । हाल उनीहरू सातामा ३ दिन ‘बिनामासुको’ खाना खान्छन् । र, त्यो कुरा बडो गर्वसाथ सुनाउँछन् ।

‘शाकाहारी कि मांसाहारी’ भन्ने बहस चल्दै गर्दा म भन्छु– ‘शाकाहारी हुँ । तर, अरू खाना केही नपाएर जीवन कि मृत्यु भन्ने अवस्था आयो भने म मासु नखाएरै मर्छु भन्दिनँ । तर, सामान्य अवस्थामा मांसाहारीलाई अपमानित गर्नुपर्ने र पापी नै भन्नुपर्ने जरुरी म देख्दिनँ ।’

मासु खानु स्वास्थ्यकर हो कि होइन ? शाकाहारी भन्लान्, ‘स्वास्थ्यकर होइन ।’ मांसाहारी भन्लान्, ‘शाकाहारीलाई प्रोटिन नै पुग्दैन ।’ शाकाहारीलाई लिएर मांसाहारीले राख्ने यो विचारप्रति मेरो तीव्र असहमति छ जति शाकाहारीले मांसाहारीप्रति राख्ने यस्तो विचारसँग– ‘मांसाहारीहरू सबै अस्वस्थ हुन्छन् ।’

मेरी ८४ वर्षीय आमा माछा–मासु त के लसुन–प्याजसमेत खान्नन् । तर, उनको शरीरमा रगतको कमी छैन, क्याल्सियम र अन्य सूक्ष्म पोषक तत्त्वको कमी पनि छैन । समय समयमा म आमाको रगत जँचाइरहन्छु । आमा अहिले पनि मीठो खाना पकाउँछिन् । उनलाई अन्य स्वास्थ्य समस्या त छ, तर माछा–मासु नखाएर हुने ‘स्वास्थ्य समस्या’ छैन ।

मेरी एक साथी छिन् । उनी पनि माछा–मासु खान्निन्, तर मिठाई भनेपछि हुरुक्कै हुन्छिन् । भन्छिन्, ‘मिठाई खान आजकल छाडेकी छु । तर, देखेपछि मन थाम्न सक्दिनँ । खान त एक किलो मिठाई पनि खान सक्छु ।’ उनको तौल ८५ केजी छ । दुवै घुँडामा समस्या छ । हिँड्न गाह्रो हुन्छ । भन्नुको अर्थ शाकाहारीहरू स्वस्थ हुन पनि सक्छन्/अस्वस्थ पनि ।

साताको दुई दिन मासु नखाने ‘बर्त’ लिएकी साथीचाहिँ चाडपर्वका बेला त्यो ‘बर्त’ लाई बाईबाई गर्छिन् र मज्जासँग मासु खान्छिन् अनि पश्चात्ताप गर्छिन् । उनलाई कब्जियतको समस्या परेपछि त्रिफला र इसबगोल खान्छिन् । खाना जे खाए पनि सन्तुलित र आफ्नो शरीरलाई विचार गरेर खाने हो भने सायद स्वास्थ्यमा कमै समस्या आउँछन् ।

‘सुत्केरीलाई खुट्टीको रस ख्वाएपछि मात्रै उनी तंग्रिन्छिन् र उनको दूध आउँछ’ भन्नेहरू के बिर्सन्छन् भने शाकाहारीले खाने दाल, सुप, ज्वानोको झोल, कोदो, फापर आदिले शरीरलाई पर्याप्त प्रोटिन दिन्छन् । ‘२५ वर्ष भयो मैले मासु नखाएको, तर मलाई न रगत कम छ, न सूक्ष्म पोषक तत्त्वको कमीले क्याप्सुल खानुपरेको छ,’ म आफ्नो अनुभव सुनाउँदा प्रायः भन्छु, ‘तर, मासु खाने मानिसले पनि विभिन्न तरकारी, दाल खाएपछि मात्रै उसको शरीरमा रेसादार पदार्थ पुग्छ । र, कब्जियत भएर अनेकथरी औषधि खानुपर्दैन ।’

सायद पहिले–पहिले मासु धेरै खान नपाइने भएकाले होला हामीकहाँ कुनै तरकारी स्वादिष्ट भए यस्तो भन्ने चलन छ, ‘मासु जत्तिकै मीठो !’

५० वर्षअघि हाम्रो घरमा दसैंमा बाहेक, शनिबार त्यो पनि पाहुना आउने दिनमा मात्रै मासु पाक्थ्यो । बुबासँग मासु किन्न को जाने भनेर घरमा म र दाइबीच सानोतिनो युद्ध नै हुन्थ्यो । किनभने ६ रुपैयाँको आधा धार्नी मासु किनेर/बोकेर ल्याउँदा ‘बक्सिस’ स्वरूप ‘मोहनभोग र स्वारी’ खान पाइन्थ्यो । मासु पकाएको भाँडा पनि लुछाचुँडी हुन्थ्यो, त्यसमा भात दलेर सोहोरेर खानका लागि ।

त्यसबेला यस्ता कुरा सुनिन्थे, ‘विदेशमा मानिसहरू बिहान–बेलुकै मासु खान्छन् । थोरै पैसामा मासु किन्न पाइन्छ, त्यहाँ तरकारी महँगो, मासु सस्तो हुन्छ ।’ यस्ता कुरा सुन्दा सोच्थें, ‘आहा ! त्यहाँ जान पाए त म कत्ति मासु खान्थें ।’

समय बदलिँदै गयो । दैनिक मासु खाने देश पुग्दा पनि हरियो तरकारी, भात, सुप, फलफूल नै खाएँ । फलफूल त जीवनको अभिन्न अंग बन्यो । तर, अहिले कसैले मलाई ‘मासु खाने कि नखाने ?’ भन्ने प्रश्न गरे मेरो उत्तर हुन्छ, ‘मन लागे खाने ।’ मासु खानेलाई ‘पापी’, ‘नर्क जान्छौ’ भनी प्रयोग गरिएका शब्दले मेरो मनमा पनि चसक्क बिझ्छ । तिब्बतको अनकण्टार कुना, जहाँ मासु मुख्य भोजन हो, त्यहाँ पुगेर ‘तरकारी खाऊ, मासु नखाऊ’ भन्न सकिन्छ होला ?

गंगटो, भ्यागुतो, मुसा, अनेकथरीका माछा खाने विश्वका भिन्न–भिन्न समुदायमा पुगेर ‘मासु खाए देवी रिसाउँछन्’ भन्ने तर्क गर्दा बुद्धिमत्ता होला ? खाना/भोजन मान्छेको संस्कृति, भौगोलिक अवस्थासँग गाँसिएको हुन्छ । जहाँ जे पाइन्छ, त्यसैलाई प्रयोग गर्ने हो । र, त्यसैबाट स्वस्थ बन्ने हो । शाकाहारीले मांसाहारीलाई र मांसाहारीले शाकाहारीलाई होच्याउनुको कुनै तुक छैन ।

मेरो घरमा पाहुना आउँदा उनीहरूका लागि मासु पाक्छ । म कसैको घरमा गए, उनीहरूले थालीमा पस्किएको तरकारी मीठो मानेर खान्छु । मासु पकाएकै भान्छामा पकाएको तरकारी भनेर म अपमान गर्दिनँ । म सोच्छु– हरेकले आफ्नो इच्छा, संस्कृति र आत्माले मागेअनुसार खान्छ । जे होस् मेरो मुखमा मासु कोचाइएको छैन ।

अमेरिकाको अलस्का, पश्चिम बंगाल र बंगलादेशका मानिसलाई ‘माछा नखाऊ पाप लाग्छ’ भन्दा कति नसुहाउँदो सुनिएला ? विश्वका कतिपय कुनाका मान्छे हजारौं वर्षदेखि चिप्लेकिरा, फट्याङ्ग्रा, सर्प आदि खाइरहेका छन् । उनीहरू ‘नर्क’ पुगेर ‘दुःख’ पाएको अनुभव कुनै पृथ्वीवासीले सुनेको छ ? खासमा ‘पाप’–‘धर्म’ को बहस बेकार छ । कृषि युग सुरु हुनुअघि हाम्रा पुर्खा मासु नै खान्थे । के उनीहरूलाई ‘पापी’ भनेर गाली गरिरहने ? कुनै धर्मले ‘मासु नखाऊ’ भन्छ । कत्तिको धार्मिक संस्कारमा मासु–अण्डा अनिवार्य हुन्छ ।

म ‘शाकाहारीले शाकाहारी खाना खाने, स्वस्थ रहने र मांसाहारीले मन लागुन्जेल मासु खाने र स्वास्थ्य समस्या परेपछि छोडिदिने’ सल्लाह दिन्छु ।

तर, धेरैले भनेझैं मासु खाने कि नखाने भन्ने विषयको बहसको कुनै टुंगो छैन ।

प्रकाशित : जेष्ठ १५, २०७८ ११:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×