कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसा सडकका स्वतन्त्र आत्मा 

‘नोम्याडल्यान्ड’ मा हामी झुत्रा–झ्याउरा अनुहारभित्र बाँचेका अच्छा–खासा मान्छेलाई नजिकबाट नियाल्दै जान्छौं । क्लोई जाओले भनेझैं मान्छे साँच्चै स्वभावैले सुन्दर छ, हामीले हेर्न मात्रै नजानेका ! अमेरिकन चिसा सडकमा यिनै यायाबरहरुसँग हामी एक नवीन यात्रा गरिरहन्छौं ।
बाटोमा पथिकहरू भेट भइरहन्छन्, छुट्टिइरहन्छन् । आफूजस्तै यायाबरका जीवन–कथासँग करुणा उमार्दै फर्न एउटा भ्यानगार्ड जीवन बाँचिरहन्छिन् ।
मनोजबाबु पन्त

म जब सानो थिएँ, बेइजिङ सहरको एक कुनामा हुर्कंदै थिएँ, मेरो बा र म एक खेल खेल्ने गर्थ्यौं । हामी पुराना चाइनिज कविताहरू सम्झँदै सँगै गुनगुनाउँथ्यौं । त्यहाँ एउटा हरफ थियो, जुन अहिले पनि म स्पष्ट सम्झन्छु— मानिसहरू जन्मजातै राम्रा छन् ।’

चिसा सडकका स्वतन्त्र आत्मा 

मेरो जिन्दगीमा यो हरफले ठूलो प्रभाव पारेको छ । म आज पनि त्यही विश्वास गर्छु । मैले राम्रा मान्छेहरू मात्रै भेटेको छु, संसारको जुन कुनामा पुग्दा पनि... ।’

डल्बी थिएटरको मञ्चमा उभिएर २४ क्यारेट सुनको जलपले आभूषित, साढे १३ इन्ची लामो, पौने ४ किलो प्रतिमा उचालेर, क्लोई जाओ बोल्दै थिइन् । उनको सिनेमा ‘नोम्याडल्यान्ड’ ले यस वर्षको उत्कृष्ट सिनेमासहित अन्य केही अवार्ड बाजी मारेको थियो । एक सिने–सर्जकले सपना देख्नका लागि, यो सबैभन्दा अग्लो पिक–पोइन्ट हो सायद । चिम्सा आँखा, थेप्चा नाक अनि गोल–गोल मंगोल अनुहार, तृप्तिको मखमली कान्तिले धपक्क थियो । ‘यो अवार्ड ती सबैका लागि, जसले आफ्ना मानवीय गुण बचाइरहेका छन् । तिनीहरूलाई, जसले एक–अर्कोको अच्छाइलाई अंकमाल गरेर बाँचिरहेका छन् ।’

व्यथित मान्छेहरूभित्रका सुन्दरता नियाल्दै काव्यिक उडान भरेको सिनेमा ‘नोम्याडल्यान्ड’ यतिबेला एउटा सेन्सेसन बनेर यत्र–तत्र सर्वत्र छाएको छ, सिनेमाको परख छिरेको संसारका सबै कुनातिर । नहोस् पनि किन ? यो अस्कर अवार्डको जातै यस्तो । तपाईं मान्नुस्/नमान्नुस, ठान्नुस्/नठान्नुस्, जब अस्करले पगरी गुथाइदिन्छ तब स्वयंसिद्ध रूपमा र वर्षको उत्कृस्ट सिनेमाको रूपमा त्यो सनसनी बोकेर संसार विचरण गरिदिन्छ ।

सानो टिम, साधारण झर्रा मान्छेहरू अनि कथा भन्न अल्छी मान्ने लोसे सिनेमा ! कसरी यस वर्षको एकेडेमी अवार्डका लागि काबिल–ए–तारिफ भइदियो ? धेरै सिने–गोरहरू भित्रभित्रै मुर्मुरिएका छन् ।

सिनेमामा लादिने परम्परागत सूत्रहरूले हामीलाई एकोहोरो बनाएका छन् । मूलधारे सिनेमाले सधैं एउटा मन्त्र जपिरहे कि सिनेमा मान्छेको मनसम्म पुग्नका लागि चरित्रको धेरै उतारचढाव चाहिन्छ । लक्ष्य प्राप्तिका लागि ठूलो संघर्ष चाहिन्छ । विस्मयकारी, ताजुबलाग्दा मोडहरू उभ्याएर, मानवीय संवेगलाई सधैं धारिलो कुनामा राखेर सिनेमाले सफलताको दुहाई दिइरह्यो । सिनेमा हेर्दा हामीले यावत् पूर्वसर्तसहित हेर्‍यौं ।

त्यसकारण ‘नोम्याडल्यान्ड’ जस्तो सिनेमा हामीलाई नीरस, खल्लो, अस्पष्ट लाग्न थाल्यो । जुनबेला पूर्वसर्तहरू फालेर हामी सिनेमा हेर्न खोज्छौं अनि भेट्छौं, जीवनको एउटा गहिरो काव्य, पुँजीवादले थिलोथिलो पारेको हाम्रो जीवन भोगाइबाट उन्मुक्त हुन खोजेको मानवीय स्वभावको परमार्थ यात्रा ! अनि भेट्छौं आफूजस्तै संवेग बोकेका मान्छेका व्यथाहरूको ध्यानातीत यात्रा ।

कथाका घम्साघम्सीबाट जोगाएर क्लोई जाओले जीवनका अति साधारण सिलसिलाहरू गाँसेकी छन् । झूटको खेती गर्ने बेसारे बानीबाट अभिशप्त सिनेमाको माध्यम जाओको सिर्जनामा आएर लामो सास फेरेको छ । केही मुख्य पात्रबाहेक सिनेमामा देखिने अधिकंश मान्छेले आफ्नै जीबन बाँचेका छन् । फिक्सन र डकुमेन्ट्री विधालाई सन्धि गराएर क्लोई जाओले समयको यति इमानदार वाचकी निर्माण गर्न सफल भएकी छन् कि धेरै मञ्चमा उत्कृष्टताको मापनमा यो सिनेमा अब्बल साबित भएको छ ।

...

सन् २००७–२००९, बृहत आर्थिक संकटले धनी देशहरूलाई दुखायो । अमेरिकामा संकटको सलह पसेर धेरै कम्पनी टाट पल्टिए । कारखानाहरू बन्द भए । कामदारहरूको बिल्लीबाठ भयो । अमेरिकन मध्यमवर्गले सास्ती भोग्यो, जागिर गुमायो, घर गुमायो । व्यवस्थाले बाँच्न सिकाएको निरन्तर जीवन बाँच्न नसकेर मध्यमवर्ग चिसो सडकमा आइपुग्यो । व्यबस्थाले उनीहरूको नियति धान्न सकेन अनि जीवन धान्ने तरिका खोज्दै गर्दा यस वर्गले एउटा उप–संस्कृतिको सृजना गर्‍यो– भ्यानडोएलिङ संस्कृति : एक यायाबर संस्कृति । ‘नोम्याडल्यान्ड’ मा हामी यही संस्कृति बाँचिरहेका केही थान यायाबरसँग मुलाकात गर्छौं ।

हामी ती झुत्रा–झ्याउरा अनुहारहरूभित्र बाँचेका अच्छा–खासा मान्छेलाई नजिकबाट नियाल्दै जान्छौं । साँच्चै क्लोई जाओले भनेझैं मान्छे स्वभावैले सुन्दर छ, हामीले हेर्न मात्रै नजानेका ! बाध्यता–रहर दुवैलाई घोलेर रम्ताजोगी बनेका यी पथिकको जीवनकथामा हामी अभिभूत हुँदै जान्छौं । अमेरिकन चिसा सडकमा यिनै ययाबरहरूसँग हामी एक नवीन यात्रा गरिरहन्छौं ।

जनवरी ३१, २०११– बजारको घट्दो मागका कारण स्थापनाको ८८ वर्षपछि जब जिप्सम कारखाना बन्द हुन्छ, जीवनका गुलाबी दिनहरू त्यही क्याम्पामा बिताएर बूढी हुँदै गएकी एकल महिल फर्न सडकमा आइपुग्छिन् । परिस्थितिले उनलाई एउटा फरक जीवन बाँच्ने काइदा सिकाउँछ । त्यही काइदासँगै उद्घाटन हुँदै जान्छन्– जीवनका सुन्दर काव्यहरू, गम्भीर दर्शनहरू । अमेरिकन चिसा सडकहरूमा फर्न एक स्वतन्त्र आत्मा बनेर आध्यात्मिक यात्रा गर्छिन् ।

दुब्लो ख्याउटे शरीर ! अनुहारका गोरा छाला चाउरिन थालेका छन् ! मुहारमा लामो एकान्तबासको विरह खिपिएको छ । जिन्दगीका धेरै वर्ष बिताएको घर, जुन उनको आफ्नो थिएन– कारखानाको थियो, त्यही घरबाट केही वर्षअघि उनको लोग्नेले महाप्रस्थान गरे । लोग्ने मरेपछि फर्नले घर छोडेको भए हुने । तर, लोग्नेसँगका सबै यादहरू गाँसिएको त्यो घर उनले छोड्न चाहिनन् । घर त कारखानाको थियो । कारखाना बन्द भयो । फर्नले घर छोड्नैपर्ने भयो ।

पोहोर साल माया फाट्दा त्यसलाई पनि मनले टालेँ,

यसपालि त मनै फाट्यो केले सिउने, केले टाल्ने हो ?’

कर्पोरेट संघर्षमा लागेको वैश्य व्यवस्थालाई फर्नको समवेदनाको के स्वाद ? आफैं भत्किएको तत्कालीन व्यवस्थाले फर्नलाई घर दिलाउने वाचा गर्न सकेन । आफ्ना पुराना सरसामानहरू, भाँडा–कुँडाहरू, मरेको लोग्नेको थोत्रो कोट अनि अरू केही खुद्राखाद्री सामल बोकेर फर्न हिउँले खाएको अमेरिकन चिसा सडकमा आइपुगिन् ।

फर्न आफ्नो खटारा भ्यानलाई बनाउँछिन्– आफ्नो नयाँ घर र घरबासको परम्परागत जीवन भोगाइ त्यागेर सुरु गर्छिन्– ‘बस–बास’ को नयाँ प्रयोगात्मक जीवन, माटोमा गढेको एउटा स्थिर घरभन्दा फरक, एउटा अस्थिर चलायमान घर अनि यो गतिशील घरले सृजना गरेको पथिक संस्कृति, आधुनिक सभ्यताले हामीमाथि थुपारेको बाँच्ने तरिकाको व्याख्याभन्दा फरक ।

...

आजको युगको उखरमाउलो पुँजीवादले हामीलाई बाँच्ने केही निश्चित मानक दिएको छ । उसले मानिसलाई खुसी हुन केही सर्तहरू दिएको छ र त्यसको खोजी गर्दै मान्छे दिन–प्रतिदिन दुःखी हुँदै छ । सफलताको भूत–सवार पोस्टमोडर्न मान्छे आफूलाई मान्छेबाट मेसिनमा मेटामर्फोसिस गर्न तल्लीन छ हरेक दिन ।

यो वैश्ययुगको नाइके अमेरिका बारम्बार अमेरिकन सपनाको कुरा गर्छ, स्वतन्त्रता र सम्पन्नताको झुसिलो बान्ता छादिरहन्छ्र । ऊ कामदारहरूलाई धनी बन्ने नारा फाल्छ र ऋणको साङ्लोले बाँधेर घिसार्छ्र । यो व्यवस्थाका भुक्तभोगीहरू जिन्दगीभरि ऋण तिर्ने इलमबाहेक अरू खास कर्म गर्दैनन् । अमेरिका निर्धा सहरहरूमा बम–बाडी गर्छ र युरेनिएम विच्छेदनले पग्लिएका, बाफ्फिएका मान्छेहरूको सोत्तरमा उभिएर शान्तिको शंखनाद गर्छ ।

सन् १९५० ताका चरम भौतिकवादको ढोँगी आदर्शलाई तिरस्कार गर्दै केही लेखकहरू जुर्मुराए । सभ्यताले भनेको आदर्श जीवनशैली परित्याग गर्दै उनीहरूले आत्मा–मुक्तिको बाटो खोज्न खोजे– स्वतन्त्र प्रेमिल जीवन र खुला यौनलाई जीवनशैली बनाउन खोजे । संसारलाई विस्मयमा राखेर प्रयोगशालाबाट निक्लेको साइकेडेलिक ड्रग्सको सहाराले जीवन–मुक्तिको बाटो खोजे । अमेरिकन ढोँगी संस्कृतिप्रतिको वैमनस्यतामा उम्रेको यो एउटा अराजक ह्वीम थियो । त्यो विद्रोही पुस्ताका चर्चित पात्र एलेन गिन्सवर्गले कवितामा लेखे–

अमेरिका ! मैले तँलाई सप्पै दिएँ र यतिबेला मसँग केही पनि छैन

अमेरिका ! दुई डलर, सत्ताइस सेन्ट, जनवरी १७, १९५७

मैले केही सोच्न सकेको छैन

अमेरिका ! हामीले मानव युद्ध कहिले अन्त्य गर्छौं ?

जा तँ आफैँसँग मैथुन गर, तेरा एटमबमको सहयोगले

मलाई अलि ठीक छैन, मसँग रेला नगर्...

मेरो मन ठीक ठाउँमा नआउन्जेल म कविता लेख्ने छैन

अमेरिका ! तँ कहिले दिब्य बन्लास् ?

अमेरिका ! तैंले आफ्नो आवरण कहिले फाल्लास् ?

तैँले चिहानघारीबाट आफैंलाई कहिले नियाल्लास् ?

...

सम्पन्नताले चरमोत्कर्षमा पुग्ने युटोपियन राज्यको सपना बाँड्ने त्यही अमेरिकाको चिसा सडकहरूमा फर्न आफ्नो साँघुरो भ्यानमा रात गुजरिरहन्छिन् । फर्नको अनुहारमा एकांकी–जीवनको पीडा लेपिएका छन् । घर खोज्ने, सहारा खोज्ने उमेरमा उनी घरबाट निक्लिइन् र बेघर भइन् । सुपरमार्केटमा एक किशोरी प्रश्न गर्छे, ‘तपाईं घरविहीन हो ?’ फर्न भन्छिन्, ‘म निवासविहीन हो, घरविहीन होइन । घर कुनै स्थिर कुरा होइन । घर त्यो हो, जुन मान्छेले आफूभित्र सधैं बोकेर हिँड्छ ।’ ६० नाघेको उमेर, मरेको लोग्ने र छुटेका घरका यादहरू बोकेर अमेरिकन सडकमा दौडिरहेकी फर्नका मार्मिक शृंखलाहरू सिनेमाभरि छरिएका छन् । तर, सिनेमा यी शृंखलामा शोक मनाएर बस्दैन । सिनेमा त निस्कन्छ फर्नसँगै आत्माको मुक्तिमार्गमा ।

फर्नलाई परिस्थितिले फकिर जिन्दगी बाँच्न स्वतन्त्रता दिएको छ । ६० वर्षको उमेरसम्म व्यवस्थाको साँघुरो दिवारभित्रको नियमित जीवन बाँचिरहेकी फर्न एउटा उन्मुक्त र स्वतन्त्र जीवन बाँच्न थाल्छिन्, जुन बचाइभित्र आउने विश्वासहरू हाम्रा नियमित जीवन विश्वाससँग उति मेल खाँदैनन् ।

फर्न आफूजस्तै घरबास त्यागेर ‘बस–बास’ सुरु गरेका यायाबरलाई सडकमा भेटिरहन्छिन् । कुनै एकोहोरो कथा बुन्न छाडेर सिनेमा यी यायाबरहरूका भावुक जीवन–कथाका फ्र्याग्मान्टेड शृंखलाहरू वाचन गर्दै जान्छ । फर्नको उन्मुक्त यायाबर जीवनजस्तै वाचकी पनि उन्मुक्त ययाबर भएर चरित्रहरूलाई बाटोमा समाउँदै/छोड्दै जान्छ ।

आफूभन्दा केही बूढी लिन्डासँग उनको दोस्ती भएको छ । लिन्डा चरम आर्थिक संकटमा सिगरेटले जलेर आत्महत्या गर्न खोजेको, तर आफ्ना निर्दोष कुकुरहरू पनि मर्ने डरले आत्महत्या गर्न नसकेको अनुभूति बाँड्छिन् । क्यान्सरले खाएर मृत्यु कुरिरहेकी बयोवृद्धा स्वानकीसँग उनको मन गाँसिन्छ, मरुभूमिको यायाबर यात्रामा ।

रोगले गलेकी स्वानकी आफ्ना भावना पोख्छिन् फर्नसँग, ‘मलाई बाँच्नु ७–८ महिना मात्रै छ । म अलास्काको यात्रामा जान्छु, त्यहाँका केही याद छन् । म जीवन कसरी अन्त्य गर्ने भन्ने किताब पढ्दै छु । म जिन्दगीको अन्तिम समय अस्पतालको कोठामा बिताउन चाहन्नँ ।’

मुडुलो टाउकोमा मसिना हिउँझैं सेतै कपाल, ठूलो रोगी ज्यान, बिस्तारै पितृ हुनथालेकी बूढी स्वानकी काँपेका आवाजमा सुस्त बोलिरहन्छिन्, ‘मलाई मर्दै छु भन्नेमा कुनै गुनासो छैन । मैले धेरैथोक देख्न पाएँ । आइडाहोको खोला किनारमा हरिणका बथान देखेँ । मैले कयाकिङ पनि गरेँ । कोलोराडोको तालमा ठूलठूला ६ फिटे चराहरू पनि देखें । विशाल पहरो, पहरोमा चराका गुँडहरू अनि बथानमा उडिरहेका चराहरू, जसको छाया पानीमा परिरहेको थियो । ओहो आफूभन्दा तल–माथि सबैतिर चराहरू नै उडिरहेका । पहरोमा चल्लाहरू फुल फुटेर निक्लँदै थिए । अण्डाका खोस्टाहरू पानीमा खस्दै थिए । कस्तो सपनाजस्तो ! म कत्ति खुसी भएँ । मलाई लाग्यो मेरो जीवन पूर्ण भएको छ । म त्यहीबेला मरेको भए पनि केही गुनासो हुने थिएन । मैले पूरा जीवन बाँचेँ । मलाई मर्न केही गाह्रो छैन ।’मृत्युको नजिकै जाँदै गरेकी यी निर्दोष फकिर वृद्धासँग एउटा सपना मात्रै बाँकी छ अब, ‘म मरेपछि मेरा साथीहरू आगोवरिपरि बस्लान् र आगोमा एउटा ढुंगा फल्लान् मलाई सम्झेर ।’

जीवन बाँच्न बाँकी थोरै दिनहरू छन् स्वानकीसँग । उनलाई स्याहार गर्ने आफ्नो परिवार छैन । कुनै स्थिर घर छैन, तर छ परिस्थितिले सिर्जना गरेको एउटा ठूलो कम्युन, भ्यानमा घर–बास गरेको एक वैकल्पिक र रुमानी संस्कृति ।

बाटोमा पथिकहरू भेट भइरहन्छन्, छुट्टिइरहन्छन् । आफूजस्तै यायाबरका जीवन–कथासँग करुणा उमार्दै फर्न एउटा भ्यानगार्ड जीवन बाँचिरहन्छिन् । अमेरिकन निर्जन मरुभूमिको यात्रा गर्छिन् उनी– जंगलको बीच झरनामुनि जमेको तालमा नग्न डुबुल्की मार्छिन् । स्वतन्त्र, उन्मुक्त जीवन बाँच्छिन् । जंगलमा कहिल्यै नदेखेका अद्भुत जन्तुहरू छन् । सृष्टिको खेला कति उदेकलाग्दो छ्र– कतै ढुंगाका बिशाल पहरा छन्, सहरबाट त केही देखिँदैन– कुनाकन्दरामा अनाकन्डाहरू छन्, अजंगका घोरलहरू छन् । कहिले अमेजनमा सामान प्याक गर्दै, कहिले शिविरमा, कहिले रेस्टुरेन्टमा काम गरेर आफ्नो न्यूनतम आवश्यकताको जोहो गर्दै फर्न निरन्तर यायाबर जिन्दगी बाँचिरहन्छिन् । उनले गरेको जीवन–उत्खनन लोभलाग्दो देखिन्छ ।

यायाबर जीवन भोगाइमा अभ्यस्त भएकी फर्न अचानक आफ्नी बहिनीको आलिसान घरमा पुग्छिन् । तर, खुला आकाश र विशाल धर्तीलाई घर मानेर विचरण गरिरहेकी फर्न बन्द पर्खालको सीमिततामा अटाउन सक्दिनन् । बिन्तीभाउ गर्दा पनि उनी घरमा बस्न मान्दिनन् । उनलाई फकिरगिरीको जो बानी परेको छ्र, उनको फकिर आत्मालाई उनका आफन्तहरूले बुझ्न सकेनन् । किन एउटा न्यानो, आलिसान, स्थिर घरलाई फर्न बारम्बार लत्याइरहन्छिन् ? किन साँघुरो भ्यानमा कुँजिएर उनी निस्फिक्री बाँचिदिन्छिन् ?

...

जब हामी आफ्नो भनेर केही टुक्रा जमिनलाई चार कुना बारेर राख्छौं बाहिरको बाँकी सारा–संसार पराई लाग्दोरहेछ– सबै बिरानो । हामी यस्तै–यस्तै विश्वासहरूले मानवीयताबाट टाढा–टाढा हुँदै छौं, दूरी बढाइरहेछौं, द्वेष पालिरहेछौं । यदि आफूले बारेको, थुपारेको निजी सम्पत्तिको पर्खाल नहुँदो हो सारा चराचर जगत् आफ्नो घर, सारा सृष्टि आफ्नो परिवार । सारा जगत्लाई आफ्नो घर मानेर फर्न निरन्तर जीवन उत्खनन गरिरहेकी छन्– कहिले हिउँले ढाकेका समथर फाँटहरूमा, कहिले समुद्र किनारका बतासे डाँडाहरूमा ।

हामीले एक–अर्काका सिमानामा मोटा–मोटा पर्खाल लगाउन सिकेका छौं र आफैंले लगाएको पर्खालभित्र निसास्सिएर बाँचेका छौं । सफल हुने लोभमा निर्धाहरूलाई कुल्चिएर अघि बढ्न अभिशप्त आजको मान्छे साह्रै बिचरो छ । मान्छेले आफूसँग निहित करुणालाई मेसिनहरूसँग सट्टा–बाजी गरेको छ ।

...

सन् १९६०, जुन बेला अमेरिका भियतनामसँग युद्ध गर्न गोली–गठ्ठा बोकेर सवार भयो, एउटा क्रान्तिकारी पुस्ता अमेरिकन युद्ध–नीति सहन नसकेर नयाँ संस्कृतिको खोजीमा निस्कियो । बिट जेनेरेसनका लेखकहरूले औंल्याएको स्वतन्त्र जीवनको बाटो खोज्दै झोली–झाम्टा कसेर संसार विचरण गर्न यो पुस्ता निक्लियो । भियतनाममा बम खसाल्न हिँडेको हवाइ–जहाजलाई ठाडो माझीऔंला देखाएर यिनीहरूले एक प्रयोगको जीवन सुरु गरे ।

अमेरिकन अति–भौतिक जीवन संस्कृति त्यागेर उनीहरूले मुक्ति–खोजमा संसार चहारे । सभ्यताले भनेका हरेक सुन्दर चीजलाई उनीहरूले तिरस्कार गरे । परिवार, प्रेम, यौन, सम्पत्ति, कला, युद्ध सबै परम्पराप्रति उनीहरूको वैमनस्यता थियो । उनीहरूले नयाँ विश्वास–पद्धतिको संस्कार गाड्न खोजे । इतिहासको डेढ दशक ठूलो वेगमा बगेर अन्ततः सुकेको यो अभियानलाई हामीहरू हिप्पीका कथाहरू भनेर दन्त्यकथाझैं सुन्छौं ।

मुक्ति–खोजमा हिप्पीहरू लामो सयर गर्दै भारतका अनेक बस्ती हुँदै नेपाल पनि छिरे । झोंछेका गल्लीमा गाँजा तान्दै उनीहरूले त्यो समयका उत्कृष्ट कबिता लेखे, संगीत बुने, चित्रहरू पोते । एउटा आदर्शको भावुकतामा बगेको हिप्पी संस्कृतिमा व्यावहारिकताको खडेरी थियो । आध्यात्मिक यात्रा अन्ततः अराजकताको ओरालो लाग्यो । चरम साइकेडेलिक नशा, उन्मुक्त प्रेम र यौन उनीहरूको जीवनशैली थियो । त्यही अराजक यात्राले उनीहरूलाई डुबायो । रोग, भोक, शोक सबथोकले उनीहरूलाई खायो । हिप्पीहरू आफैंले खनेको खाडलमा आफैं पुरिएर गए । आजभोलि हिप्पीको ओज छैन । हप्पीका कथाहरू मात्रै छन् । उनीहरूले लेखेका कविता, पोतेका पेन्टिङ र सृजेका धुनहरू छन् ।

पुँजी व्यवस्थाको काँडेतारले घेरेको उराठ संस्कृतिबाट उन्मुक्त हुन खोजेका हिप्पीहरू आफ्नै अराजकताले भासिएर गए पनि चरम भौतिकताले निसास्सिएको अमेरिका बेला–बेला कतैबाट उम्लिन, पोखिन, चुहिन खोजिरहन्छ केही फरक संस्कृतिका बहानामा । यो डिजिटल शताब्दीमा कहिले डिजिटल नोम्याड्सको रूपमा, कहिले भ्यानड्वेलरसको रूपमा यायाबर संस्कृतिले नवीन अमेरिकन न्यारेटिभ खिप्न खोजिरहेछ ।

...

भ्यानडोएलिङ संस्कृतिका सूत्रधार बब वेल्स सिनेमाका पनि सुत्रधारझैं छन् । आफ्नो छोरो २७ वर्षको उमेरमा आत्महत्या गरेर मरेपछि गहिरो विषादमा परेर जीवनको ध्येय गुमाएका बब त्यसबेला आफू बाँच्नुको अर्थ भेट्छन्, जब घर–बास गुमाएर सडकमा आइपुगेका बेसहाराहरूलाई उनी एउटा वैकल्पिक संस्कृतिसँग जोड्छन्, भ्यानभित्र गुजारा गरेर एक स्वतन्त्र जीवन बाँच्ने कम्युनको सूत्रपात गर्छन् । मानवताको गीत गाउँदै हिँड्ने लालोन फकिरझैं लाग्ने बब दुःखीहरूको सेवामा जीवन समर्पित गरेर छोरोको मृत्यु भुलाउन खोजिरहेका छन् ।

जब स्वानकीको मृत्यु हुन्छ सबै बस–बासी यायाबर एक रात आगोछेउ जम्मा हुन्छन् र उनको सम्झनामा पालैपालो आगोमा साना ढुंगाहरू फाल्न थाग्छन् । बब आगोको लप्कामा सानो पत्थर फाल्दै भन्छन्, ‘धेरै पछि, कुनै दिन, बाटोका मोडहरूमा भेटौंला स्वानकी ।’

एक साँझको शान्त गुफ्तगुमा बब एक गम्भीर फकिरी दर्शन ओकल्छन्, ‘भौतिक व्यवस्थाले लादेको विश्वासभन्दा हाम्रा विश्वासहरू फरक छन् । हाम्रो जीवनपद्धतिमा अलबिदा भन्ने शब्द छैन । एक पटक छुटी गएका मान्छेहरूलाई म फेरि कतै बाटोको छेउतिर भेटिरहन्छु– महिना, वर्षहरूमा । र, मलाई विश्वास छ, छुटी गएको मेरो छोरोलाई पनि बाटोको छेउ एक दिन भेट्नेछु । हाम्रो विश्वासमा अलविदा भन्ने शब्द छैन ।’

सिनेमाले बिट मार्न लाग्दा फर्न आफूले छोडेको कारखानाको घरमा पुग्छिन् । खण्डहरझैं भइसकेको धूलाम्य घरमा उनका लोग्नेसँगका रंगीन याद टाँस्सिएका छन् र फर्न विश्वास गर्छिन्, जुन कुरा सधैं यादमा बसिरहन्छ, त्यसको कहिल्यै मृत्यु हुँदैन । उनले आफ्नो लोग्ने भेट्नेछिन् सुदूर भविष्यमा, बाटोको कुनै मोडतिर । रित्तो घरको स्थिर ढोकाबाट निस्किएर फर्न पुनः लाग्छिन् आफ्नो अविच्छिन्न यायाबर यात्रामा, हिमाछन्न अमेरिकन बाटोहरूमा ।

...

हामी भने यता अव्यवस्थाहरू चाङ लगाएर कंक्रिटका बन्द कोठाहरूमा कुँजिएका छौं । मनभित्र यायाबर सपनाहरू भने जिउँदै छन् । व्यवस्थाले खनेको खाडलमा थुप्रिएका छौं । आफूमाथि लेउ पालेका छौं । सुखी हुने सपना पालेका छौं, तर, झन् दुःखी भएका छौं ।

यतिबेला कोरोना कहरले झन् ठूलो भँड्खालोमा पारिदियो । झ्यालखानामा परेका छौं आफ्नै घरभित्र । पुँजीवादको वायुपंखी घोडा चढेर कोरोना हाम्रो घरआँगनसम्मै आइपुग्यो । मुखमा कोक्रो बाँधेर हामीलाई बन्द कोठामा थुनिदियो । हाम्रो व्यवस्थाले हामीलाई ेउल्टो बाटो पो हिँडायो कि ? लाग्छ, कुनै दिन हामी पनि निस्कनु थिएछ, फर्नले जस्तै झोली–झाम्टा कसेर यायाबर सपनाको बाटो ।

प्रकाशित : वैशाख २५, २०७८ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?