एक शाकाहारीको एकालाप- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक शाकाहारीको एकालाप

कहिल्यै देख्नुभएको छ, बाघलाई ‘रोस्ट’ खाँदै नाचेको ? वा सर्पले चाडपर्व मनाउन भ्यागुता निलेको ? सायद मानिस मात्रै यस्तो प्राणी हो, जो यौन र मांसाहारी भोजन मनोरञ्जनका लागि गर्छ । मांसाहारी भोजन गर्न नपाएर मान्छे मरेको कतै सुन्नुभएको छ ?
एउटा यस्तो संसारको कल्पना गरौं, जहाँ शाकाहारीहरू अल्पमतमा नहोऊन् । उनीहरू कटुव्यंग्य र मानसिक पीडाको सिकार नहोऊन् । उनीहरूको मुखमा जबरजस्ती मासु नकोचियोस् !
शिक्षा रिसाल

‘म शाकाहारी हुँ । मासु खान्नँ ।’
यत्ति लेखेर बिट मारेको भए पनि हुन्थ्यो । न पढ्नेलाई झन्झट, न वनमारा भइने चिन्ता । न सम्पादकलाई घण्टौं लगाएर सम्पादन गर्नुपर्ने झमेला । (वनमारा अर्थात् ताइँ न तुइँका किताब लेखेर वन मार्ने र मास्ने लेखकहरूलाई कटाक्षस्वरूप भनिने शब्द ।)

‘म शाकाहारी हुँ । मासु खान्नँ, अण्डा खान्छु ।’

यत्ति लेखेर ट्वीटरमा पोस्ट गरेको भए पनि हुन्थ्यो । वा इन्स्टाग्राममा एउटा चिटिक्कको भेज डिजाइन गरेर ‘आई हेट ननभेज’ ठेल्दिएको भए पनि हुन्थ्यो । पढ्नेहरूले पढ्थे, अटेन्सन सिकर भन्थे, म गम खाएझैं गर्थें । सकिन्थ्यो ।

तर, वर्षौंदेखि भोगिआएका ती हरेक दुर्वचन र कटाक्षको आज एक–एक हिसाब लिनु छ ।

...

एउटा भनाइ छ, ‘दुनियाँमा सबैको विश्वास गर्नु, तर अण्डा खाने शाकाहारीको विश्वास नगर्नू ।’

हो, म अण्डा खाने शाकाहारी (भेज) हुँ । खासै मरिहत्ते त गर्दिनँ, तर कहिलेकाहीँ खानैपर्ने हुन्छ र खाइदिन्छु ।

म बाल्यकालदेखि नै मासुबाट टाढा बसेँ । मेरो मुखमा अहिलेसम्म जानीजानी परेको छैन । यसमा मेरो कुनै दोष छैन । तर, शाकाहारी भएकै कारण मैले यति धेरै व्यंग्य सामना गरिसकें कि नकुरा गर्नुस् !

यो संसारमा मांसाहारीको दबदबा छ । जहाँतहीँ उनीहरूकै बहुमत छ । उनीहरूका लागि शाकाहारीहरू मान्छे नै होइनन् । कदाचित मान्छेको रूपमा स्वीकार गरिहाले पनि शाकाहारीहरूका लागि यो धर्ती बनेकै होइनझैं गर्छन् (यो मेरो निजी बुझाइ हो । सबैसँग लागू नहुन पनि सक्छ ।)

पुनश्चः यो लेख मांसाहारीहरूको विरोधमा होइन । न त शाकाहारी बन्ने प्रेरणाको एउटा दस्ताबेज नै हो । यी त मेरा अनुभव मात्र हुन् । तर, शाकाहारीले मांसाहारी समाजमा गर्नुपरेको संघर्षको दस्ताबेज भने हो ।

शाकाहारीको आधाभन्दा बढी जिन्दगी त ‘किन शाकाहारी भएको ?’ प्रश्नको उत्तर दिँदैमा जान्छ ।

‘तपाईं कृष्ण प्रणामी हो ?’

‘तपाईंले पापको डरले मासु नखाएको हो ?’

‘तपाईं भगवान्मा विश्वास गर्नुहुन्छ है ? मासु खानुहुन्न नि त ?’

‘व्रत बस्नुहुन्छ ?’

‘ओम शान्तिमा लाग्नुभएको हो ?’

होइन । यीमध्ये म केही होइन ।

यस्ता प्रश्न शाकाहारीले मात्रै हो सामना गर्ने । मानौं उनीहरूले अक्षम्य गल्ती गरिरहेका छन् । हरेक शाकाहारीले जीवनका धेरै मोडमा आफूलाई कठघरामा उभिएको पाउँछ ।

यस्तै प्रश्न मांसाहारीलाई पनि उठे चित्त बुझाउन सकिन्थ्यो—

‘अहो ! किन मासु खाएको ?’

‘ऊ हेर हेर । त्यो मान्छे त मांसाहारी हो नि !’

‘तपाईंका लागि सोयाबिन वा कटहरको तरकारी बनाइदिऊँ ?’

म कहिलेकाहीँ यस्तो संसारको कल्पना गर्छु, जहाँ ९० प्रतिशत जति मानिस शाकाहारी छन् र बाँकी मांसाहारी । मांसाहारीहरू अल्पमत भएको त्यो संसार सम्झिँदा रमाइलो लाग्छ । मासु पनि लुकीलुकी खानुपरेको, कक्षामा पनि मासु खानेलाई सबैले गिज्याएको, मासु खानेलाई जबरजस्ती साग–पात खुवाएको । मासु किन्न पनि लुकी–लुकी जानुपरेको । आहा ! मलाई त सम्झिँदा पनि आनन्द लाग्छ ।

मानिस प्राकृतिक रूपमा शाकाहारी कि मांसाहारी भन्ने विषयमा धेरै बहस भइसकेको छ । यो बहसका पाटाहरू धेरै छन्, जसमध्ये शाकाहारीका तर्क यस्ता हुन्छन्—

— मानिस प्राकृतिक रूपमा शाकाहारी हो । मानिसका शारीरिक अंगहरूबाटै यो कुरा प्रमाणित हुन्छ । प्राकृतिक मांसाहारीहरूको दाँत चुच्चो र तिखो हुन्छ, तर मानिसको दाँत समथर नै हुन्छन् । शाकाहारीहरूले पानी मुखबाट लिन्छन् र निल्छन् भने मांसाहारीहरूले जिब्रोले चाट्छन् (उदाहरण बाघ, सिंह आदि) । शाकाहारीहरू जन्मनासाथ आँखाबाट देख्न सक्छन् भने मांसाहारीहरू जन्मँदा आँखा नदेख्ने हुन्छन् । उदाहरण— मानिसहरू जन्मँदै आँखा देख्ने हुन्छन् । मांसाहारीको नङ तिखो र चुच्चो हुन्छ भने शाकाहारीहरूको समथर । मानिसको नङ चुच्चो हुँदैन ।

— मांसाहारीको पाचन प्रक्रिया अर्को उदाहरण हो । शाकाहारीहरूको आन्द्रा लामो हुन्छ भने मांसाहारीहरूको छोटो । मानिसको आन्द्राको लम्बाइ लामै हुन्छ । शाकाहारीहरूलाई दिनमा दुई–तीन पटक खाना चाहिन्छ भने मांसाहारीहरूले राम्रो आहारा पाए हप्तौंसम्म नखाई बस्न सक्छन् । मानिसलाई खाना दुई तीन पटक चाहिन्छ ।

— शाकाहारीहरूमा शरीरको तापक्रम सन्तुलित गर्ने प्राकृतिक प्रक्रिया हुन्छ । चाहिनेभन्दा धेरै ताप पसिनाजस्ता कुराबाट निकाल्छन् । तर, मांसाहारीहरूमा यो सुविधा हुँदैन । उनीहरूले शरीरको तापक्रम सन्तुलित गर्न जिब्रो बाहिर निकाल्ने गर्छन् । मानिसको पसिना आउँछ ।

— मांसाहारीहरू एक्लै बस्न रुचाउँछन् । शाकाहारीहरू समूहमा बस्न रुचाउँछन् । मानिस सामाजिक प्राणी हो ।

मांसाहारीका पनि आफ्नै अलौकिक तर्क छन्—

— मानिस सर्वहारी हो । शरीरका प्रणालीहरू हेर्दा मानिस शाकाहारीजस्तो लागे पनि क्रमिक विकासले मानिसलाई दुवै चीज खान मिल्ने बनाएको छ । यदि शाकाहारी हुन्थ्यो भने मानिस यहाँसम्म आइपुग्दैनथ्यो । मानव विकासक्रमको सुरुआती कालमा उसले अधिकतम मांसाहारी खाना नै खायो । मांसाहारी खानामा पाइने उच्च पोषणले नै दिमागको आकार बढ्दै गएर अहिलेसम्म आइपुगेको हो । मानिस सर्वश्रेष्ठ हुनुमा दिमाग नै प्रमुख कारक हो । मानिस शाकाहारी खानामै ध्यान दिन्थ्यो त यति बुद्धिमान हुँदैनथ्यो ।

— ‘सर्भाइभल अफ द फिटेस्ट’ सिद्धान्तले पनि यही भन्छ । जसरी हुन्छ, यो संसारमा टिक्नुपर्‍यो । कुकुर प्राकृतिक रूपमा मांसाहारी हो । तर, उसले बाँच्नका लागि सबै खान्छ ।

— शाकाहारी खानामा सबै पोषणतत्त्व पाइँदैनन् । भिटामिन ‘बी–१२’, क्रियाटिन, ओमेगा–३ जस्ता पोषक पदार्थ मासुमा मात्र पाइन्छन् । मिहिनेत धेरै गर्नेलाई शाकाहारी खानाले मात्र पुग्दैन ।

— मासुजस्तो स्वादिलो अरू खाना हुँदैन । मासुले स्वादका साथसाथै ऊर्जा पनि त्यत्तिकै दिन्छ ।

यस्ता तर्क, बाझाबाझ, बहसहरू भइरहन्छन् । हुनु पनि पर्छ ।

तर, सुन्नुपर्छ यस्ता कुराहरू—

‘झोल झोल खा न त !’

‘आइल्यान्डमा १० दिन हराइस् अनि मासुबाहेक केही छैन भने के गर्छेस् ?’

‘साग–पातचाहिँ खान हुने । उनीहरूको चाहिँ जीवन होइन ? त्यसो भए साग–पात पनि नखा !’

‘अनि अण्डा खाएपछि मासुचाहिँ किन खान नहुने ? अण्डा पनि त जीवन हो !’

‘मासु नखाएरै हो यस्तो बिरामी परेकी । तिमीलाई भिटामिन बी–१२ नपुगेको हो !’

‘जिन्दगीमा कति ठूलो कुरा मिस गरिरा’छौ तिमीहरूजस्ता शाकाहारीले !’

यसो बुझ्दा शाकाहारी पनि धेरै किसिमका हुने रहेछन् ।

१) मासु नखाने तर अण्डा खाने– यो संख्या अलि बढी नै होला । यसमा म पनि पर्छु ।

२) मासु, अण्डा, माछा, दूध, दही केही नखाने अर्थात् भेगन– संसारमा हालसालै सुरु भएको यो चलनले पशुबाट निकालिएको कुनै चीज खाँदैन वा लाउँदैन ।

३) मासु, अण्डा केही नखाने तर ननभेज चाउचाउ खाने– यो नयाँ पुस्ता बिस्तारै आफ्नो पकड जमाउँदै छ ।

४) धार्मिक या आध्यात्मिक कारणले मासु, अण्डा, च्याउ, लसुन, प्याज केही नखाने– यो समूहका मानिस धार्मिक वा आध्यात्मिक कारणले ‘शुद्ध शाकाहारी’ बनेका हुन्छन् । आफ्नो खानालाई सात्त्विक भन्न रुचाउँछन् ।

५) अरू केही नखाने तर माछा खाने– यी बुझ्न नसकिने हुन्छन् । माछाचाहिँ मासु हुँदै होइन भन्ने सिद्धान्त बोकेका हुन्छन् । यसमा शारीरिक कारणले बाध्य भएर खान थालेका शाकाहारीहरू पनि हुन्छन् ।

६) न्युली टर्न भेज अर्थात् नयाँ शाकाहारीहरू– अचानक चेतना खुलेर वा पशु प्रेमका कारण मासु छोडेका हुन्छन् । तर, अरूले मासु खाएको देख्दा भित्रभित्र थुक पनि निलिरहेका हुन्छन् । यो समूहमा शारीरिक कारणले मासु छोडेका पनि हुन्छन्, जस्तैः कोलेस्ट्रोल बढेका, कलेजोमा बोसो जमेका आदि । यो समूहमा पर्नेहरूमध्ये कोहीकोही १–२ वर्षको संघर्षपछि पुनः मांसाहारी संसारमा फर्किने पनि हुन्छन् । कोही जीवनभर शाकाहारी पनि हुन्छन् । मांसाहारीलाई शाकाहारी शिक्षा दिनेहरूमा यी अग्रणी हुन्छन् ।

मांसाहारीहरू पनि अनेकथरी छन्—

१) हार्डकोर मांसाहारी– चलमलाउने लगभग सबथोक खाने । चीनतिर फर्किएपछि आफैं बुझिन्छ ।

२) सफ्टकोर मांसाहारी– सबै मासु नखाने । कोही खसी–कुखुरा खाने, भैसी–राँगा नखाने । राँगाको मासु देख्यो कि वाकवाकी आउने ।

३) कुखुरा वा सुँगुर नखाने तर अरू खाने– कुखुरा वा सुँगुरहरूले बिष्टा खान्छन् भनेर घीन मान्ने ।

४) बफ र पोर्कमा प्राण हाल्नेहरू– यो संख्या बढ्दो छ । बफ र पोर्कका फ्यानहरूमा प्रायः नयाँ पुस्ता छन् ।

५) पशु हिंसाको विरोध गर्ने, तर हिंसारहित मासुचाहिँ खाने । लोल– शाकाहारी हुनुको दुःख यहाँ बयान गरी नसक्नु छ ।

दस जनाको पार्टी गर्नुपर्नेछ र त्यहाँ एक जना शाकाहारी छ भने उसले पार्टीभर आफू सीमान्तकृत भएको महसुस गर्छ । बाँकीले पनि उसलाई बोझ ठान्छन् । ठूलो समूहमा आफू एक्लो शाकाहारी परियो भने संसार त्यहीँ सकिएझैं हुन्छ ।

म किन मासु खान्नँ भन्ने विषयमा प्रस्ट छु । म मानव शरीरजस्तै मासु र रगत बग्ने चीज खान सक्दिनँ । त्यसभित्र पनि मेरो शरीरजस्तै रगत बग्छ । त्यो चोक्टाभित्र पनि केही क्षणअघि मेरोजस्तै जीवन दौडिरहेको थियो । बिरुवा खाँदाचाहिँ त्यस्तो लाग्दैन । कहिलेकाहीँ च्याउ खाँदा पनि मासुकै झल्को आउँछ ।

धेरैले भन्छन्, ‘बिरुवामा पनि त जीवन हुन्छ । त्योचाहिँ खान हुने ?’

बिरुवामा जीवन हुन्छ– हो । तर, खान सकिने चीजहरूमा बिरुवा सबैभन्दा कम अप्ठ्यारो लाग्ने चीज हो । अब केही त खानैपर्‍यो, मर्नुभएन ।

अरू थप्छन्, ‘बिरुवाको पनि मन होला । परिवार होला । छोराछोरी होलान् । उनीहरूको मृत्युमा पनि त शोक मनाउने हुन्छन् होला । बिरुवाको पनि प्रेम जोडीहरू होलान् । उनीहरूका पनि सपना होलान् । अरूको सपना निमोठ्ने ? आदर्श फ्याँक्ने, तर आफैं आदर्श नपछ्याउने शाकाहारीहरू वास्तवमा हिप्पोक्र्याट हुन् ।’

यदि यसै हो भने हो— हामी आडम्बरी हौं । हामीजस्ताकै शरीर खान नखोज्नु हाम्रो दोष हो । पशुहरूप्रति दयाभाव राख्नु हाम्रो कमजोरी हो । हामी नालायक हौं । पुग्यो ?

सुनेअनुसार, संसारको सबैभन्दा धेरै मासु खाने देश हो चीन (रिसर्च र डाटातिर अल्झिनँ) । यता हेर्‍यो मासु, उता हेर्‍यो मासु ! चीनमा मैले एक महिना गुजारें । लाग्यो, उनीहरू मासुका सर्वाधिक ठूला खपतकर्ता हुन् । चिनियाँहरूबारे तुक्का नै प्रसिद्ध छ, ‘उनीहरू हिँड्नेमा मान्छे र उड्नेमा जहाजबाहेक सबथोक खान्छन् ।’

चीनमा मैले खाने चीजहरू थिए— साग, काँचो गोलभेंडा, कफी, कोक, पानी । कहिलेकाहीँ पानीमा पनि मासु छ कि भनेर आँखा फट्टाएर हेर्थें । ‘मासु खान्नँ’ भन्दा मलाई यसरी हेर्थे, मानौं म अर्कै लोकबाट आएको प्राणी हुँ । एलियन हुँ ।

घुमफिर गर्ने शाकाहारीलाई धेरै सकस छ । यता मासु, उता मासु ! ‘सी फुड’ रे अझ ! एउटा युद्ध मैदानमा छिरेजस्तो हुन्छ शाकाहारीको जीवन । हरेक खाना ओल्टाई–पल्टाई हेर्नुपर्ने– कतै मासुको टुक्रा त परेको छैन ?

शाकाहारीहरू पछि मांसाहारी बनेका उदाहरण पनि धेरै छन् । तर, त्यो संख्या कम छ । यसो बुझ्दा शाकाहारीबाट मांसाहारी बन्नेहरूभन्दा मांसाहारीबाट शाकाहारी बन्ने नै धेरै हुन्छन् । केही त कारण होला ।

कति शाकाहारीले त मासु पकाएको भाँडामा पकाएको सम्म खाँदैनन् । ती शाकाहारीलाई होटल वा रेस्टुराँमा जाँदा कति सकस होला ? झन् चीनजस्तो देश त सजाय भोग्न गएजस्तो हुन्छ ।

चीनमा हुँदा एक दिन एउटा बेकरीभित्र छिरें । एउटा स्यान्डविच कुकी उठाएँ । रुममा गएँ । चिया बनाएँ । कुकी खान्छु भनेर हेर्नै लागेकी थिएँ, त्यसमा त ह्याम रहेछ । ल खत्तम !

बिस्कुटको बीचमा पनि मासु ! केही न केही त पाइएला नि भन्यो— जताततै मासु । धन्न आलुले मेरो ज्यान धेरै पटक बचाएको छ । त्यसैले आलु मेरो प्रिय तरकारी हो ।

अब भन्नुहोला— आलुको पनि त जीवन हुन्छ !

यस्ता आलु जीवन !

कतै पाहुना भएर जाँदा वा भोजमा मासु नखानेका लागि भनेर बनाइएका पनिर र च्याउको टन्टा फेरि अर्कै छ । अरूले मासु खाँदा शाकाहारीहरूलाई केही ‘स्पेसल’ त खुवाउनैपर्‍यो । च्याउ र पनिर त्यस्तै ‘स्पेसल’ हुन् ।

आज म सम्पूर्ण शाकाहारीहरूको प्रतिनिधित्व गर्दै भन्छु– हामीलाई पनिर खुवाउनु पर्दैन । हामीलाई च्याउ खुवाउनु पर्दैन । हामीलाई सामान्य खाना खुवाए पुग्छ ।

मेरो एउटा शाकाहारी साथी भन्छ, ‘शाकाहारी हुनु भनेको अल्पमत होला । तर, म जहाँ पुग्छु एउटा न एउटा शाकाहारी हुन्छ नै । प्रकृतिले पनि साथी छ्ट्युाइदिएको जस्तो लाग्छ । म एक्लै पर्दिनँ । तर, कहिलेकाहीँ एक्लै पर्दाचाहिँ धेरै सकस हुन्छ । मांसाहारीहरू हिप्पोक्र्याट हुन् । कुकुर र बिरालोको चाहिँ खूब माया गर्ने, सँगै सुताउने गर्छन् । तर खसी, कुखुरा, भैसी, सुँगुरचाहिँ खाने रे ! जीवन त जीवन नै हो नि । उनीहरू पशुप्रेमी हैनन्, मात्र कुकुर र बिरालो प्रेमी हुन् ।’

यो पशु हिंसाको कुरा फेरि हरेक वर्ष दसैंताका सुरु हुन्छ । दसैं आउनै लाग्दा एउटा हूल आवाज उठाउँछ, ‘पशु हिंसा बन्द गर् !’

यो आवाज छठ वरपरसम्म आइपुग्दा हराइसकेको हुन्छ । फेरि गढीमाई मेला आउँछ । सारा देश बीभत्स तस्बिर देखेर दुःखमा डुब्छ । अनि अर्को हप्तादेखि फेरि तन्दुरी र सेकुवामा हराउँछ ।

कतिले पशु हिंसाको पक्षमा तर्क पनि गर्छन्, ‘हिंसा भन्ने कुरा यो चराचर जगत्मा सबैतिर छ । बाघ र सिंहले हिंसा गरेनन् भने शाकाहारी भएरै मर्छन् । गिद्धले मासु खाएन भने यत्तिकै नास भएर जान्छ । हिंसा भन्ने कुरा प्रकृतिले नै दिएको छ ।’

हो, तर उनीहरूका लागि मासु खानु वा सिकार गर्नु बाध्यता हो । उनीहरू केही कुराको सेलिब्रेसन गर्न मासु खाँदैनन् । वा भनौं मनोरञ्जनका लागि मासु खाँदैनन् ।

कहिल्यै देख्नुभएको छ, बाघलाई ‘रोस्ट’ खाँदै नाचेको ?

कहिल्यै देख्नुभएको छ, बाजले न्यु इयर इभमा ‘बीबीक्यू’ गरेको ?

वा, सर्पले आफ्नो चाडपर्व मनाउन भ्यागुता निलेको ?

सायद मानिस मात्रै यस्तो प्राणी हो, जो यौन र मांसाहारी भोजन मनोरञ्जनका लागि गर्छ । मांसाहारी भोजन गर्न नपाएर मान्छे मरेको कतै सुन्नुभएको छ ?

प्रायः धर्ममा बलि चढाउने कुराको बहस पनि यहाँ धेरै नै हुने गर्छ । म सोच्छु— के साँच्चै ‘भगवान्’ ले बलि खोज्छन् होला ? बलिको रगत पिउँदा खुसी र सुखी हुन्छन् होला ?

यो बहसको कुनै टुंगो छैन । तर, यस्तो संसारको कल्पना त गर्न सकिन्छ नि, जहाँ शाकाहारीहरू अल्पमतमा नहोऊन् । उनीहरू कटुव्यंग्य र मानसिक पीडाको सिकार नहोऊन् । शाकाहारीहरूलाई अपराधीजस्तो व्यवहार नगरियोस् । उनीहरूको मुखमा जबरजस्ती मासु नकोचियोस् !

प्रकाशित : वैशाख १८, २०७८ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्

मखुन्डो कारखाना

जीवनको उद्‍गम नै यौनबाट हुन्छ भने यौनलाई गलत भन्ने कुचेष्टा म कदापि गर्न सक्दिनँ । यो घर्षण नै रहेछ– जसले जीवन अघि बढाइरहेको छ । यौन गलत हुनै सक्दैन । त्यसैगरी यौनको चाहना पनि गलत हुन सक्दैन । तर, प्राकृतिक यौन चाहनामा जब अस्वाभाविक आकांक्षाको जग बस्न थाल्छ, तब कुण्ठाको घर ठडिन थाल्छ । म त्यो घरमा आगो झोस्न चाहन्छु ।
शिक्षा रिसाल

माफ गर्नुहोला ! यो मैले देखेको समाजको एउटा ऐना मात्र हो । त्यो ऐना, जहाँ म हरेक अनुहारमा दाग देख्छु । हुन सक्छ— ऐना होइन, मेरै आँखा धमिला होऊन् ।

तपाईं पनि एकपटक त्यो ऐनामा आफ्नो अनुहार हेर्नुस् त ! १ देखि १० को स्केलमा तपाईं कुण्ठामा कहाँ पर्नुहुन्छ ? तपाईंमा यौनकुण्ठा कति छ ?

जीवनको उद्गम नै यौनबाट हुन्छ भने यौनलाई गलत भन्ने कुचेष्टा म कदापि गर्न सक्दिनँ । यो घर्षण नै रहेछ– जसले जीवन अघि बढाइरहेको छ । यौन गलत हुनै सक्दैन । त्यसैगरी यौनको चाहना पनि गलत हुन सक्दैन । तर, प्राकृतिक यौन चाहनामा जब अस्वाभाविक आकांक्षाको जग बस्न थाल्छ, तब कुण्ठाको घर ठडिन थाल्छ । म त्यो घरमा आगो झोस्न चाहन्छु ।

चाहना र कुण्ठा फरक कुरा हुन् । चाहना दिन हो, कुण्ठा रात ! कुण्ठा त्यो विष हो, जसले आफूसँगै अरूलाई पनि विषाक्त बनाउँछ ।

साँच्चि तपाईंले अहिलेसम्म कति जनासँग शारीरिक सम्बन्ध राख्नुभयो ? कतिलाई चुम्बनसम्म गर्नुभयो ? कतिको वक्षस्थलसम्म हात लैजानुभयो ? एक जवान हँसिली केटी देख्दा तपाईंलाई के हुन्छ ? उसका शरीरहरू छोएको कल्पना आउँछ ? तपाईंले अहिलेसम्म मनमनै कति जनासँग शारीरिक सम्बन्ध राख्नुभयो ? कोही बाँकी छन् ? फेसबुक र टिकटक हेर्दै आफ्ना अंगहरू त चलाउनुहुन्न नि ? यी प्रश्नका उत्तर अरूलाई भन्नु पर्दैन, आफैंसँग राख्नुस् !

मलाई केही साथीले सम्झाउँछन्, ‘हेर मानिसहरू त्यति खराब पनि छैनन् । जेमा पनि समस्या देख्ने बानी ठीक हैन । एक्सप्लोर गर् । जिन्दगीको मजा ले ।’

तर, म जति जति केटाहरूको मनोविज्ञान बुझ्दै जान्छु, यो दुनियाँ उति नै धेरै घीनलाग्दो र उच्चाटपूर्ण लाग्न थाल्छ । अनि सम्बन्ध, प्रेम, माया भन्ने भावनाबाट त्यसै त्यसै विश्वास उठ्दै जान्छ । मेरो यत्तिका वर्षको अनुभवबाट एउटा निष्कर्ष निकालेकी छु । दुनियाँका बहुसंख्यक मानिसहरू मूलतः दुई कुराका लागि मरिरहेका छन्– एक पैसा, अर्को यौन !

म सोच्छु– के पुरुष सधैं महिलामाथि शक्ति चाहन्छ ? के कसैको शरीरमाथि हक जमाउन पाउँदा उसको पुरुष दम्भ पूरा हुन्छ ? उसले आफूलाई किन शक्तिशाली सोच्छ ? महिलामाथि पूर्ण रूपमा आफ्नो अधिकार छ भन्ने उसको मस्तिष्कमा किन गडेर बसेको छ ? कि म गलत सोच्छु ?

अहिले विश्वव्यापी रूपमा चलिआएको ‘मी टु’ अभियानमा आदर्श फ्याँक्ने पुरुषहरूले कति महिलालाई आफ्नो पासोमा पारेका छन्, यो उनीहरूलाई नै थाहा होला । यहाँ मखुन्डोको कारखाना छ ।

म ६–७ वर्षकी थिएँ सायद । घरको मझेरीसँगैको कोठामा एक युवक बस्थ्यो । उसले मलाई धेरैपटक अजीव नजरले हेर्थ्यो । मलाई चकलेट दिन्छु भनेर आफ्नो कोठामा बोलाउँथ्यो । म पनि चकलेट र चाउचाउको लोभले उसको कोठातिर सोझिन्थेँ । उसले हतार–हतार ढोका बन्द गर्थ्यो । घरी–घरी हात शरीरका अनेक भागमा लगेर मुसार्न खोज्थ्यो । अनि भन्थ्यो, ‘मैले तिमीलाई माया गरेको है !’ म निस्सासिन्थें ।

यस्ता कुराहरू सानी बालिकालाई थाहा हुने कुरा थिएन, तर पनि उसको आत्माले थाहा पाउँथ्यो– यो गलत हो ।

‘नगर्नू यस्तो’ भन्दै म कोठाबाट निस्किन्थें । दौडिएर आफ्नो कोठामा जान्थें । मलाई कति रात निद्रा पर्दैनथ्यो । यस्तो घटना धेरैपटक दोहोरियो । त्यसो गरिरहँदा कसैले देख्ला कि भनेर ऊ होसियार हुन्थ्यो । म उसको अनुहारको भाव बुझ्थें । पछि बिस्तारै बुझ्न थालेँ– त्यो यौनपिपासु रहेछ । मैले कसैलाई भन्न पनि सकिनँ ।

कोपिलाजस्ता कोमल बालिकाहरूमाथि यस्तो दुर्व्यवहार हुँदा त्यसले जिन्दगीभर आघात र ‘ट्रमा’ छोडेर जाँदोरहेछ । कतिपय कोपिलाहरू फूल बन्न नपाउँदै ओइलाएर मर्ने रहेछन् । चर्को घाम र अप्ठेरो मौसम सहेर पनि फुल्न आँट गर्ने केही फूलहरू भने सधैँ त्रासमा बाँच्ने रहेछन् ।

एक दिन त्यो मान्छे यत्तिकै बिलायो । भाग्यो या कोठा छोडेर गयो, मैले चासो दिइनँ । अहिले त्यो मान्छे इतिहास भइसक्यो । तर, आज पनि त्यो ट्रमाले मलाई छोडेको छैन ।

वर्षौंपछि मेरो पहिलो प्रेमीले मलाई पहिलोपटक छुन खोज्दा म झसंग भएकी थिएँ । कताकता उसमा पनि मैले त्यही यौनपिपासु देखें ।

प्रेममा छुनु, स्पर्श गर्नु आवश्यक हो । स्पर्श एउटा पुल हो दुई प्रेमीबीचको । तर, यो स्पर्श थाहै नहुने गरी ‘निमोठ्याइ’ मा परिणत भइसकेको हुन्छ ।

प्रेम सम्बन्धमा रहँदा कसैको आँखामा पनि आफ्ना लागि प्रेम देखिनँ मैले । प्यास मात्र देखें, जुन मलाई छुन पाएपछि मेटिन्थ्यो । जसले हेर्थ्यो, उसको ध्येय त्यही हुन्थ्यो । मलाई छुन मात्र चाहनेहरूसँग मेरा आँखाहरू प्रश्न गर्थे, ‘अनि प्रेम कता छ ?’ सायद त्यसैले म कहिल्यै पनि कुनै सम्बन्धमा लामो समय टिक्न सकिनँ ।

मेरा उमेरका महिलाले आफ्नो बालापनमा भोगेको हुनुपर्छ । मेरो एक जना मिल्ने साथीले नै धेरै वर्षपछि आफ्नो मन खोलेर भनी । बच्चा बेलामा भाँडाकुटी खेल्दा बा–आमा बनेर खेल्थ्यौं । बा–आमा, परिवार भएपछि राति सुत्नुपर्ने बेला पनि आउने । अनि अलि ठूला केटाहरूले चर्तिकला देखाउने ! यौन चाहना मेट्न खोज्ने अनि भन्ने ‘यो त खेल हो ।’ त्यतिबेला हामीलाई किन केही थाहा भएन ? मेरी साथी सायद ७–८ वर्षकी हुनुपर्छ, केटा १२ वर्षको । ऊ त्यतिबेला परालको कुन्युमा बलात्कृत भइरहेकी थिई । तर, उसलाई त्यसबारे केही थाहा थिएन ।

कोरोनाअघि मैले केही ठाउँ घुम्न पाएँ । यात्रा गर्दा जहाँ पनि यस्तै कुण्ठित नजरहरूबाट आफूलाई बचाउन मुस्किल पर्छ । यो संसारमा महिला किन मन खोलेर ढुक्कले एक्लै हिँड्न पाउँदैनन् ? किन डराई–डराई निहुरेर हिँड्छन् ? किन कोही न कोही पुरुष उसको साथमा हुनुपर्छ ?

कुण्ठा ‘ध्रुवीय’ कुरा हो । र, यस्ता अनुभवहरू मैले देशभित्र र बाहिर सबैतिर भोगेकी छु । देश फरक होस्, जाति फरक होस्– कुण्ठा समान हुने रहेछ ।

सन् २०१९ मा मलेसियामा भेट भएका इरानी केटी देखेर म चकित परेकी थिएँ । मलाई लागेको थियो– सायद संसारका सबैभन्दा राम्रा केटी इरानका हुन्छन् । उनीहरू दाइ र बहिनी थिए । एक छिन कुरा गरिरहँदा त्यो इरानी केटाले मलाई घुरेको घुर्‍यै थियो । मलाई घरीघरी कर्के नजरले हेर्थ्यो । उसकी बहिनीसँग मेरो फोटो खिचिदिन्थ्यो ।

इरानी केटाले मलाई ‘फोटो पठाइदिन्छु’ भन्दै नम्बर माग्यो । मैले इन्स्टाग्राम आईडी दिएँ । ऊ चाहन्थ्यो– म उनीहरूसँग घुमौं, उसकै परिवारसँग । मैले मेरा अरू नै योजना भएको बताएँ । उसले आफ्नो अपार्टमेन्टमा लन्च गरौँ भन्ने प्रस्ताव पनि राख्यो । तर, म एक भियतनामकी केटी ब्याम्बोसँग बटु केभमा घुमिरहेकी थिएँ । हुन त ब्याम्बोलाई पनि यात्राकै क्रममा भेटेकी थिएँ, तर उसलाई देखेर केटाले सोध्यो, ‘तिमीहरू लेस्बियन हो ? ऊ तिम्री गर्लफ्रेन्ड हो ?’

केटोले मसँग समय बिताउन हरसम्भव प्रयास गर्‍यो । भन्दै गयो– ऊ फिलिपिन्समा बस्छ, सफ्टवेयर इन्जिनियर हो । फ्यामिली ट्रिपमा मलेसिया आएको हो । ऊ मसँग रात बिताउन चाहन्थ्यो । आफ्ना कुण्ठा मेटाउन चाहन्थ्यो ।

यसको साक्षी थिई ब्याम्बो । उसले मेरो कानमा आएर खितखिताउँदै भनी, ‘ऊ तँसँग वान नाइट स्ट्यान्ड चाहन्छ । मान्छे त राम्रै छ । तेरो विचार के छ ? विथ स्ट्रेन्जर इन स्ट्रेन्ज सिटी ।’उसलाई मैले हप्काएँ ।

त्यतिबेला दिमागमा आयो– के पुरुषहरू चौबीसै घण्टा कुण्ठित हुन्छन् ? यो यौन चाहना किन यति धेरै हुन्छ ? के हरेक स्त्रीलाई उनीहरू त्यही नजरले हेर्छन् ? के यौन नै उनीहरूको स्वर्गद्वार हो ? के स्तनहरू उनीहरूका लागि पुरुष दम्भको प्रमाण हो ?

मलाई घुम्दा रमाइलो लाग्छ । तर, एक्लै यात्रा गर्दा जहाँको भए पनि एकदम सतर्क हुनुपर्ने रहेछ । मानसिक रूपमा एकदम बलियो हुनुपर्छ । एक्लै यात्रा गर्दा केही समस्या आइपर्‍यो भने आत्तिने विकल्प हुँदैन । सबै कुरा आफैंले सामना गर्नुपर्छ । आफैं जुध्नुपर्छ ।

ब्याम्बोले ड्राइभरसँगको भ्वाइस रेकर्ड सुनाउँदै भनी, ‘एक दिनअघि मात्र मलेसियामा ट्याक्सी ड्राइभरले मलाई एक्लै देखेर मेरो रेट सोध्यो । आफूसँगै रात बिताउन आग्रह गर्‍यो । मैले नो थ्यांक्स भनें ।’

केही समयअघि लबिम मलमा फिल्म हेर्न जाँदा मलाई देखेको एक जना केटाले बाटोमा पिछा नै गरेर फोन नम्बर माग्यो । जसले फोन नम्बर माग्दा पनि इन्स्टाग्राम आईडी थमाउने मेरो बानी अचम्मको छ । उसले मलाई म्यासेज गरिरहन्थ्यो । कहिलेकाहीँ म रिप्लाई गरिदिन्थें । एकपटक उसले म्यासेजमा लेख्यो, ‘मेरो केही महिनामा बिहे हुँदै छ । मलाई तिमी एकदम मन पर्‍यो । म जिन्दगी बाँच्न चाहन्छु । क्यान वी डेट ? लाइक नो स्ट्रिंग्स अट्याच्ड ?’ उसको प्रस्ताव गज्जबकै हो । तर, जिन्दगी करण जोहर र इम्तियाज अलीको फिल्म होइन भन्ने उसले बुझेनछ ।

‘नो स्ट्रिंग्स अट्याच्ड’ अर्थात् डेट, शारीरिक सम्बन्ध तर नो भावनात्मक सम्बन्ध ।

कहाँ छ अहिले भावनात्मक सम्बन्ध ? मलाई हातले लेखेको प्रेमपत्र मन पर्छ तर दुनियाँ अहिले सेक्स च्याटमा रमाउँछ । यस्तो लाग्छ— अहिले विश्वभरबाटै भावनात्मक सम्बन्धको महत्त्व घट्दै गएको छ । अहिले भावनात्मक सम्बन्धको कुरा गर्नेहरूलाई देखेर मान्छे हाँस्छन् अनि भन्छन्, ‘ह्वाट एन इमोसनल फुल ।’

हो हामी फुल हौं ।

के एउटा शरीरलाई अर्को शरीर भए पुग्छ ? यो कुराले मेरो दिमाग तिलमिलाउँछ ।

यौन कुण्ठित ‘गिद्धे’ आँखाहरू अहिले दोब्बर तेब्बर भएका छन् । पहिला लुकीलुकी परालको कुन्यूभित्र कुण्ठा पोखिन्थे भने अहिले खुलेआम छन् । एक विदेशी साथीले ‘नेपाल केटी मान्छेका लागि सुरक्षित छ है ?’ भन्दा म मनमनै हाँसेकी थिएँ ।

यो कुण्ठित स्पर्शको खोजीमा पुरुषहरू के–केसम्म गर्दैनन् ! केही कुरा सिकाउने बहानामा गालानजिक ल्याउने होस् कि कुइना वा हात वक्षस्थलसम्म पुर्‍याउने चेष्टा ! गाडीमा भीडको बहाना गर्दै आफ्नो गोप्य स्थलमा घर्षण गराउने चाहना ! कुण्ठा भकभकी उम्लिएको पानीजस्तो न हो ! यसले फ्रस्ट्रेसन अनि हिंसा निम्त्याउँछ । जाबो एउटा स्खलनका लागि ‘जिन्दगीभर साथ दिन्छु । तिम्रो धेरै माया लाग्छ’ भन्नेजस्तो अर्थहीन तर्क दिन पनि पछि पर्दैनन् ।

नारीलाई जन्मेदेखि नमर्दासम्म कुण्ठित आँखाको नजरबाट बच्न असम्भव छ । तीरैतीरको प्रहारबाट बच्न मुस्किल छ । यस्तो लाग्छ— युद्धको माइन्डफिल्ड हो स्त्रीको जीवन । शिशुदेखि वृद्धसम्म बलात्कृत भएका घटना सबैले सुनेकै छौं । विद्यालयमा शिक्षकले दाह्रीले गाला घोचेका हामीले देखेकै छौं । होमवर्क नबुझाउँदा ढाडमा कुट्ने निहुँमा जताततै छुने शिक्षक चिनेकै छौं । विक्षिप्त भएर एक महिला रोइरहँदा हात समाएर कपाल मुसार्दै सहानुभूति दिने बहानामा चुम्बन गर्न ओठ तेर्स्याउनेहरू पनि देखेकै छौं । कोही महिलालाई प्यानिक अट्याक आउँदा बोकेर अस्पताल लैजाने निहुँमा जताजतै हात निमोठ्नेहरू पनि कतिपयले भोगेकै छौं ।

अर्को एउटा पुरुष साथीले एक दिन खुलेरै भन्यो, ‘यो यौनचाह अद्भुत हुने रहेछ । यसको प्यास कहिल्यै मेटिँदैन । तृप्ति कहिल्यै सकिँदैन । मैले थुप्रैसँग यौनसम्पर्क राखेको छु तर पनि हरेक दिन उठ्नासाथ ममा नयाँ प्यास जन्मिसकेको हुन्छ, जुन मेटाउन सम्भव हुँदैन । त्यसैले पुरुष अनेक विकल्पहरू खोजेर आफ्नो चाहना पूरा गर्नतिर लाग्छ । हस्तमैथुन, गाडीमा र अफिसमा ‘टच’, सेक्स च्याट, यौनकल्पना आदि । म पनि एउटा कुण्ठित मानिस हुँ । तर, मैले कसैलाई दुर्व्यवहार गरेको छैन । त्यस्तो गर्ने म कल्पना पनि गर्न सक्दिनँ । झन् खुलेरै विरोध गर्छु । बरु म कुण्ठामा घुट्घुटिएर मर्छु तर कसैलाई जीवनभरलाई ट्रमा दिन सक्दिनँ ।’

उसका यी कुराहरू मैले थोपै पत्याइनँ । मलाई पुरुषहरू देखेर दया लाग्छ । उनीहरू आफ्नै ‘हर्मोन’ को सिकार भएका दयालाग्दा प्राणी हुन् । आफ्नो शरीरलाई जित्न नसक्नेहरूको आत्मसम्मान झन् कति कमजोर होला ?

एकपल्ट चर्चित टेलिभिजन प्रस्तोतासँग मेरो कुरा हुन पायो । म त्यतिबेला ब्याचलर्स पढ्थें । मलाई सबै जना एकदमै ठूला लाग्थे । केहीबेरको कुराकानीमै उनले भनिहाले, ‘यु आर हट । ह्वाट डु यु थिंक अबाउट सेक्स ? यौनका बारे तपाईंको के धारणा छ ?’

‘म यो विषयमा कुरा गर्न चाहन्नँ,’ मैले भनेकी थिएँ ।

उनले तत्काल जवाफ फर्काए, ‘अहिलेको युवा भएर पनि कस्तो कन्जरभेटिभ ?’

मलाई थाहा छैन यो संसार धेरै अघि बढेको हो वा म पछि परेकी हुँ ! केही बोलें भने फरवार्ड, यौनका बारेमा कुरा नगरे पुरातन ?

म उनीसँग त्यसपछि बोलिनँ । त्यो संवाद त्यहीँ हरायो । उनको कार्यक्रम आजभोलि पनि आइरहेकै हुन्छ । उनी आदर्श फ्याँकिरहेका हुन्छन् । तर, मेरा लागि उनी यौन बासनालिप्त एक पुरुष मात्र हुन् ।

के एउटा मान्छे र अर्को मान्छे मानिस–मानिस भएर संवाद गर्न सक्दैनन् ? किन उनीहरू मन जित्न चाहँदैनन् ? किन उनीहरूको मायाको यात्रा पेन्टको जिपभित्र गएर सकिन्छ ? आज प्रेम फ्रेमभित्र कतै हरायो । मन र मन जोडिनुको सट्टा जननेन्द्रिय मात्र जोडिइन्छन् । पहिले आँखाहरू आँखामा गएर ठोक्किन्थे, अहिले तिनै आँखा वक्षस्थल र नितम्बमा गएर ठोकिन्छन् । लामा–लामा प्रेमपत्रहरू अहिले ‘सेक्स च्याट’ मा परिणत भएका छन् ।

गीतका शब्दहरू पठाएर ‘डेडिकेट’ गर्नेहरू अहिले ‘न्युड्स’ को खोजीमा व्याकुल देखिन्छन् । शब्दहरूको ओज घटेको छ । माया पिरतीका सुन्दर भावहरू धमिलिएका छन् । प्रेम र बासनामा बासनाको जित भएको छ । शारीरिक सम्बन्धले भावनात्मक सम्बन्धलाई धेरै पछि छाडिसकेको छ ।

मलाई लाग्छ— लगभग ८५ प्रतिशत जोडीहरू एकआपसमा बफादार छैनन् । सबै ‘अफेयर’ मा झुमेका छन् । किनकि मसँग जिस्किन खोज्नेमध्ये ६० प्रतिशत पुरुष त विवाहित नै छन् ।

(यो कुनै सर्वेक्षणको नतिजा होइन । आवेग पोख्दा फुटनोटमा सर्वेक्षणको तथ्यांक राखिँदैन ।)

‘एउटै तरकारी खाँदा–खाँदा वाक्क लागिहाल्छ नि !’

‘कहिलेकाहीँ दाल बदल्नुपर्छ !’

‘घरमा भैंसी छ भन्दैमा प्याकेटको दूध खान नमिल्ने हैन क्यार !’

‘नयाँ माल खान मन लाइरहेको छ यार !’

यस्ता कुराहरू सुन्नमा आइरहन्छन् । पुरुषहरूका लागि महिला तरकारी हुन्, दाल हुन्, भैंसी हुन् । हुन त यो मामिलामा महिलाहरू पनि अछुतो छैनन् । परपुरुषसँगको अफेयरमा झुम्ने धेरै महिला देखेकी छु ।

उनीहरू भन्छन्, ‘लोग्ने मान्छे मात्रै एक्स्ट्रा म्यारेटल अफेयरमा रमाउने, हामीले चाहिँ नहुने ?’

हो ! इट्स हर चोइस ।

वी लिभ इन अ सेक्स स्टारभिङ वर्ल्ड । यो संसार भोकमरीमा हराएका अफ्रिकी देशहरूजस्तै भएको छ । तर, भोक अन्नको होइन घर्षणको ।

भौतिक विज्ञान पढाउने सरले भन्थे, ‘घर्षणले ताप पैदा गर्छ । घर्षण नहुने भए हाम्रो दैनिक जीवन लथालिंग हुनेछ । सारा चीजहरू घर्षणको बलमा अडिएका छन् ।’

हो रहेछ । म बुझ्दै छु ।

सायद जीवविकासको क्रमले नै मानिसलाई यौन कुण्ठित बनाइरहेको छ । नयाँ पुस्ता झन्पछि झन् यौन आसक्त हुँदै गइरहेको छ । हरेक पुस्ताले अर्को पुस्तालाई ‘कुण्ठित जिन’ छोड्दै गइरहेको छ । पृथ्वीबाट मानव प्रजाति लोप भयो भने यौनकुण्ठा प्रमुख कारण हुनेछ । यत्रो ४ बिलियन वर्षको यात्रा जाबो एउटा हर्मोनका कारण सकिँदा कति विडम्बना होला ?

मेरी एक बहिनीका साथीहरूले उसलाई सुनाउँछन् रे– उनीहरूका बोयफ्रेन्डले ‘न्युड्स पठाऊ’ भन्छन् रे !

‘पठाएनौ भने ब्रेक अप दिन्छु’ भन्ने धम्की त कतिपटक हो कतिपटक !

केटीहरू पनि आफ्नो नग्न तस्बिर पठाएर बोयफ्रेन्डको यौन कुण्ठा मेटाइरहन्छन् । हातहातमा स्मार्टफोन बोकेका नयाँ पुस्तालाई सुरक्षित यौनशिक्षाको बारेमा कसले सिकाउन सक्छ ? कसरी यौन कुण्ठारहित समाज बनाउन सकिन्छ ? यसको समाधान के हो ? उनीहरूलाई कसले सम्झाउने ?

अहिले कुण्ठा पोखिने माध्यम छ्यापछ्याप्ती छन् । ९० को दशकमा हिरोइन रम्भा र सलमान खानको ‘तेरे नैना मेरे नैनो से क्या भाषा बोले बोले’ गीतमा रम्भाका स्कर्टभित्रका तीघ्रा हेरेर हस्तमैथुन गर्नेहरू आज विभिन्न पोर्न साइटमा धरी रमाउन सक्दैनन् । अहिले १६–१७ वर्षे ठिटाठिटीहरूले शरीरको प्यास मेटाउनुलाई नै असली आनन्द बुझिरहेका छन् ।

केही वर्षअघि मलेसियामा हुँदा डोर्मको परिसरमा बसेर कफी पिइरहेकी थिएँ । एउटा ५०–५५ वर्ष जतिको भारतीय मान्छे आयो । कुर्सी तानेर बस्यो र आफ्नो परिचय दिन थाल्यो । उसको केरलामा हीराको व्यापार छ रे ! ऊ एक्लै घुम्न आएको हो रे ! श्रीमतीसँग त वाक्कै लागिसक्यो रे घुम्दाघुम्दा । मैले उसलाई हेरेँ मात्र, केही प्रतिक्रिया दिइनँ ।

‘मसँग लन्च खान जानुहुन्छ ?’ हात अघि सार्दै मलाई प्रस्ताव गर्न आयो, ‘अलि पर मेरो साथीको अपार्टमेन्ट छ । राम्रो छ ।’

‘म जाँदिनँ,’ मैले हात हटाएँ ।

‘कस्तो एटिटिउड हो ? मैले यत्रो समय मेरो आफ्नो बारेमा भनेर समय बर्बाद किन गरें त ? आई लाइक्ड यु ।’

म केही नबोली त्यहाँबाट उठेँ । ऊ मुर्मुरिँदै कता गयो, थाहा छैन ।

यसो सोचें– म किन डराएर भागें त्यहाँबाट ? मैले प्रस्ताव अस्वीकार गरेपछि जानुपर्ने त ऊ थियो । न मैले उसलाई नाम सोधेकी थिएँ न ठेगाना । न बिजनेसमा मेरो चासो थियो । उसको गलत नजर मैले चिनिसकेकी थिएँ ।

हरेक मानिसमा केही न केही कुण्ठा हुन्छन् । म पनि कुण्ठैकुण्ठाले ग्रस्त छु । प्रश्नै प्रश्नले घेरिएकी छु । केही अचम्म, केही रिस उठ्दा, केही हाँसो लाग्ने, केही मरौँ मरौँ लाग्ने खालका प्रश्नले मेरो दिमागमा ताण्डव मच्चाइरहन्छन् । त्यसैले यस्ता कुरा पोखिइरहन्छन् ।

र, मलाई थाहा छ— यस्ता कुरा कहिल्यै सकिँदैनन् । किनभने प्रकृतिले यो कुण्ठा कहिल्यै नरित्तिने बनाइदिएको छ । परालको कुन्युमा, होलीमा रङ लगाउने बहानामा, बसमा, अफिसमा यस्ता घटनाहरू भइरहन्छन् । मखुन्डोधारी हुँडारका गिद्धे नजरहरू डुलिरहन्छन् । उनीहरूका लागि पटक–पटक स्खलित हुनु नै जिन्दगीको सबैभन्दा ठूलो प्राप्ति हो । निर्वाण हो । यिनीहरू हरेक पल यो निर्वाणको चाहनामा स्खलित हुन चाहन्छन् ।

प्रकाशित : माघ २४, २०७७ १०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×