लोकप्रियताको सूत्र- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकप्रियताको सूत्र

असली सिर्जनाले निःसर्त लोकप्रियतामाथि सन्देह गर्छ । उसले पुरातन मान्यतालाई च्यातचुत पारिदिन्छ र विचारको जड पोखरीलाई बगाउन बल लगाउँछ ।
अभय श्रेष्ठ

कुनै दिन कालम समुदायको गाउँ केशपुत्तमा देशना गरिरहँदा बुद्धलाई एक जिज्ञासु युवकले सोधे, ‘यहाँ थुप्रै धार्मिक समूह आउँछन् । सबैले आफ्नै धर्मलाई सर्वश्रेष्ठ भन्छन् । हामी कसको कुरा पत्याऊँ भिक्षु ?’ शान्त स्वरमा बुद्धले भने, ‘हे युवक, कसैले राम्ररी भन्दैमा नमान । कुनै पावन ग्रन्थमा लेखिँदैमा नमान । कुनै सम्मानित गुरु वा नेताका कुरा र मेरै वचन पनि नमान । कुनै पनि कुरा मान्नुअघि आफैँ जान ।’ झन्डै २६ सय वर्ष अघिका बुद्धले जस्तै दुई सय वर्षअघिका कार्ल मार्क्सले पनि उही कुरा भने । अर्थात्, हरेक कुरामा सन्देह गर । दुवैको ‘सन्देह’ को निहितार्थ नकारसूचक ‘अविश्वास’ वा ‘आशङ्का’ थिएन, बरु तिनमा ‘परीक्षण’ र ‘पुनः परीक्षण’ मा जोड थियो । 

पूर्वमान्यतामा सन्देह

विश्वासले आत्मसमर्पण गर्छ । सन्देहले ज्ञान र आविष्कारको नयाँ ढोका खोल्छ । हामी नेपाली आफूलाई धार्मिक, दयालु, शान्तिप्रिय, सहनशील, ज्ञानी, मिलनसार, स्वाभिमानी, मिहिनेती, राष्ट्रवादी र उदार हृदयी ठान्छौँ । अतः हामीलाई हिमाल, पहाड, हरियाली र महान् आमाको महिमा गाइएका कविता प्रिय लाग्छन् । तर, हामीलाई ‘पोथी बासेको’ मन पर्दैन । अनि त ‘वधूशिक्षा’ र राजा, महाराजाको कर्खा गाइएका कविता लेखिन्छन्, पुजिन्छन् । हामीलाई नयाँ मूल्य, मान्यता र विचार मन पर्दैन । त्यसैले त हामी अन्धविश्वासकै पछि लागिरहन्छौं । श्रमप्रति हाम्रो सम्मान छैन । त्यसैले त हामी भरिया दाइ र तरकारी बेच्ने मधेसी दाजुभाइलाई हेप्छौं, तर मारवाडी साहूजीको चाकरी बजाउँछौं । आफ्नै मिहिनेतले उन्नति गर्न हामीलाई जाँगर छैन । अनि त अरूको बर्बादीमा हामी आफ्नो उन्नति देख्छौं । हामी जानी, नजानी जातिवादी र अन्धराष्ट्रवादी छौं । त्यसैले त आफू र आफ्ना मान्छेको जुनसुकै व्यवहारलाई उँचा ठान्छौं ।

रिमाल, देवकोटा, भूपी, पारिजातलगायत कविले त्यही पुराना मान्यतामाथि सन्देह गरे । ‘यात्री’ कवितामा देवकोटाले आर्तहरूको चहराइरहेको घाउमा मलम लगाउनुलाई नै ‘ईश्वरको पूजा’ भनी मूर्तिपूजाको पुरातन धार्मिक मान्यतामाथि सन्देह गरे । ‘मानुषी’ कवितामा पारिजातले नारी अस्मिताको तिखो आवाज उठाउँदै पुरुष सत्तामाथि सन्देह गरिन् । ‘तिमी को ?’ शीर्षक कवितामा व्यङ्ग्य गर्दै रिमालले भने, ‘हामीलाई हाम्रो अज्ञान नै प्रिय छ, त्यसो नगर, यसो गर भन्ने तिमी को ?’ भूपीले भने, ‘यो हल्लैहल्लाको देश हो ।’ रिमाल र भूपी दुवैले हाम्रो राष्ट्रिय चरित्रमाथि सन्देह गर्दै आत्मभर्त्सनाका धनुकाण खैंचिए ।

भक्तिमार्गमा सन्देह

कृष्ण भन्छन्, ‘म नै ईश्वर हुँ । तिमीले जे गर्‍यौ, जे गर्दै छौ, जे गर्नेवाला छौ, ती सब मेरो लीला हो । म नै तिम्रो मुक्तिदाता ।’ राम पुरोहित वर्गलाई देवता र ‘ब्राह्मण धर्म’लाई मुक्तिको मार्ग ठान्छन् । धर्मको उल्लङ्घन गरी वेद, पुराण पढ्ने, तपस्या गर्ने ‘शूद्र’ लाई उनी पापी र मृत्युदण्डका भागीदार ठान्छन् । त्यही मान्यताले प्रेरित भएर उनले तपस्यारत शम्बुकको हत्या गरे । तर,

‘ब्राह्मण धर्म’कै कारण भाइ लक्ष्मणसहित उनले सरयु नदीमा फाल हालेर आत्महत्या गर्नुपर्‍यो । क्राइस्ट भन्छन्, ‘मान्छे जन्मँदै पाप बोकेर आउँछ । पिता प्रभुको प्रार्थना गर र मुक्त होऊ ।’ बुद्ध यी थोत्रा मान्यतामाथि सन्देह गर्दै ज्ञानले मात्र मान्छेलाई मुक्ति अर्थात् निर्वाण प्राप्त हुन्छ भन्छन् । मूर्तिपूजा, यज्ञ, प्रार्थना, भाग्यवाद, अन्धविश्वास, जातिवाद, पुरोहितवादको प्रतिरोधमै उनी ज्ञानको खोजीमा हिँडेका थिए । आफ्नै दर्शनलाई समेत उनी सत्य खोजीको मार्गमा हिँड्ने डुङ्गा मात्र भन्छन् । संसारका अरू धर्म प्रवर्तकले जस्तो आफूलाई उनी मोक्षदाता होइन, मार्गदर्शक मात्र ठान्छन् । उनी कुनै पनि कुरालाई अन्तिम सत्य मान्दैनन् । आखिर, यही सन्देह र निरन्तर खोज नै ज्ञानको जननी साबित भयो ।

परम्परामाथि प्रश्न

महाभारतमा जुवाडे पति युधिष्ठिरको बदमासीले गर्दा रजश्वला भएर एकवस्त्रा रहेकी द्रौपदीलाई खुला सभामा नाङ्गेझार पार्न खोजिन्छ । ‘जुवामा आफैँलाई हारिसकेका युधिष्ठिरले मलाई दाउमा राख्ने अधिकार कहाँबाट पाए ?’ भन्दै द्रौपदी प्रश्न गर्छिन् । ‘द्रौपदी जितिएकी हुन् कि होइनन् म भन्न सक्दिन’ भनेर कुरु राज्यका संरक्षक भीष्म गाँजेमाजे कुरा गर्छन् र विषम परिस्थितिबाट पन्छिन्छन् । स्वयं द्रौपदीकै पतिहरू कसैले यसको जवाफ दिन सक्दैनन् । कोही उनको सुरक्षाका लागि अघि सर्दैनन् । बरु दुर्योधनकै साइँला भाइ विकर्ण दरबारको कथित मान्यता र परम्परामाथि प्रश्न गर्दै द्रौपदीको समर्थनमा उभिन्छन् । द्रौपदीको बेइज्जत कुरुकुलकै सारा महिलाको बेइज्जत हो, त्यसले कुरुकुलकै विनाश गर्ने चेतावनी दिन्छन् । आखिर उनकै कुरा सत्य साबित भयो ।

रङ्गभूमिमा अर्जुनले देखाएजति सबै वीरता कर्णले पनि देखाए । तर, राजकुलको नभएकै कारण अर्जुनसँग प्रतिस्पर्धा गर्न उनलाई अयोग्य ठहर्‍याइयो । हस्तिनापुरका कुलगुरु कृपाचार्यले ‘सूतपुत्रलाई राजकुमारसँग प्रतिस्पर्धा गर्न अधिकार नहुने’ अविवेकी घोषणा गर्दा पितातुल्य गुरु द्रोणाचार्य, हस्तिनापुरका महारथि र भारदारहरूले ल्याप्चे लगाइदिए । भीमले त ‘सूतपुत्रले राजकुमारलाई ललकार्ने के हैसियत’ भनेर बातैपिच्छे उनको कुलको अपमान गरे । यसप्रति असहमति प्रकट गर्दै ज्येष्ठ कौरव दुर्योधनले भने, ‘वीरता कुनै जाति वा नस्लको पेवा होइन । ऋषि, नदी र शूरवीरहरूको उत्पत्तिको कथा सबैलाई थाहा हुँदैन । पाण्डवहरू हो, जन्म वा कुलको होइन, वीरताको सम्मान गर्न सिक । होइन भने तिमीहरूको जन्मका हाल हामीलाई पनि थाहा छ ।’

कुलगुरुले राजकुमारसँग युद्ध गर्न राजकुमार नै हुनुपर्ने नियम बताएपछि दुर्योधनले तत्काल कर्णलाई अंगदेशको राजा बनाए । त्यो उपकारको प्रतिदानमा कर्ण आजीवन दुर्योधनप्रति इमानदार भइरहे । तर, जबजब दुर्योधन पाण्डवहरूको गोप्य हत्या गर्ने योजना सुनाउँथे, कर्णले सदैव त्यसको निन्दा गरे र युद्ध गरेर जित्न आह्वान गरे ।

जातिवादमाथि प्रश्न

पुराण युगमा शक्तिशाली व्यक्तिको आलोचना गर्नेहरू मृत्युदण्डका भागिदार हुन्थे । अयोध्याका महाराज रामबाट शम्बूक किन मारिए ? किनभने शम्बूकले ‘शूद्र भएर पनि’ वेद, पुराण पढेका र तपस्या गरेका थिए । शिशुपाल किन मारिए ? किनभने उनले कुनै धार्मिक अनुष्ठानमा पाण्डवले गरेको कृष्णको खुसामद विरुद्ध खुलेर आलोचना गरेका थिए । विन्द्याचलमा सुदाम किन मारिए ? फलामका हतियार आविष्कार गर्ने लोहासुर किन मारिए ? किनभने श्रमिक वर्ग र असुर जातिका यी दुई अगुवाले तत्कालीन उच्चजातीय शासकलाई अटेर गर्ने दुस्साहस गरे । आज विवेकको तराजुमा जोखेर हेर्दा राम, कृष्णलगायतको धर्मको दुहाइभन्दा शम्बूक, शिशुपाल, सुदाम, लोहासुरहरूकै तर्क जायज लाग्छ ।

सूतपुत्र भएको आरोपमा कर्णलाई रङ्गभूमिमा अर्जुनसँग प्रतिस्पर्धा गर्न मात्र नदिइएको होइन, द्रौपदीको स्वयंवरका लागि राखिएको मत्स्यवेद प्रतियोगिताबाट समेत वञ्चित गरिन्छ । शूद्र भएकैले एकलव्यलाई धनुर्विद्या सिकाउन गुरु द्रोण अस्वीकार गर्छन् । महात्मा बुद्ध यही जड मान्यतामाथि सन्देह गर्दै भन्छन्, ‘जन्मैले कोही महान् वा निकृष्ट हुँदैन ।’ नभन्दै उनले ब्राह्मण धर्मको जगजगी रहेको युगमा सुनीत, उपाली, स्वास्तीजस्ता तत्कालीन समाजका ‘अछूत’ लाई तिनको क्षमताको भरमा भिक्षु सङ्घको उच्च सम्मानित पदमा पुर्‍याए । विगतमा ‘अछूत’ भएकामा तिनको आत्मसम्मानमा कहिल्यै आँच आएन ।

सत्ताको भाषा

व्यवस्थाले समाजको भाषा र संस्कृति निर्माण गर्छ । सिर्जनकर्मीको काम त्यसलाई उल्ट्याउनु हो । राणाकालमा शासकको चाकरीमा नधाउने मान्छे देशद्रोही एवं राजद्रोही ठहर्थ्यो । समाजमा ती तिरस्कारका भागीदार हुन्थे । विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘दोषी चस्मा’ त्यही मनोविज्ञानको राम्रो कथा हो । त्यसबेला शासकले मन परेका कुनै पनि युवतीलाई अपहरण र बलात्कार गर्नु वा जबर्जस्ती पत्नी बनाउनु सामान्य मानिन्थ्यो ।

जङ्गबहादुर राणाका ३९ जना विवाहिता रानी थिए । तीमध्ये एक जनालाई त उनले पतिसँग राति सुतिरहेको अवस्थामा हात्तीमा चढी डकैती शैलीमा झ्याल फोडेर जबर्जस्ती उठाएर लगेका थिए । त्यस्तो अत्याचारलाई पनि महाराजको असीम वीरताका रूपमा गुनगान गर्नु त्यतिखेरको जीवन संस्कृति थियो ।

त्यतिखेर, राजनीतिक चेत हुनु कति ‘खतरनाक’ कुरा थियो ! बीपी, पुष्पलाल, गणेशमानहरूले समाजको त्यही मान्यता र भाष्यलाई उल्ट्याउने जोखिम मोले । रिमालले कवितामा त्यसैलाई वाणी दिए । त्यसैबापत धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ र दसरथ चन्दलाई फाँसी दिइयो । लखन थापालगायत अरू कैयन् मारिए । मारिँदाको समय ती आतङ्ककारी मानिन्थे ।

अलोकप्रियताको जोखिम

पञ्चायतकालमा राजालाई भगवान् विष्णुको अवतार मानिन्थ्यो । उनको दर्शन पाउनुलाई अहोभाग्य ठानिन्थ्यो । राजा संविधानभन्दा माथि थिए । देशैभरि उनीहरूको जन्मोत्सव र जन्मजयन्ती धुमधाम मनाइन्थ्यो । पञ्चायत र राजतन्त्रविरुद्ध बोल्नु अनि कांग्रेस, कम्युनिस्ट हुनु त्यतिखेर कति दुष्कर कुरा थियो ! पञ्चायती सत्ताले बहुदल पक्षधरलाई आतङ्कको पर्याय बनाइदिएको थियो । कांग्रेसको छवि कस्तो बनाइदिएको थियो भने कसैलाई सत्तोसराप गर्नुपर्दा मानिसहरू ‘तेरो घरमा कांग्रेस पसोस्’ भन्थे । कांग्रेस, कम्युनिस्ट ‘अराष्ट्रिय तत्त्व’ (अ.त.) थिए । तिनले बूढाबूढीलाई एकै ठाउँ राखेर गोली ठोक्छन् भनिन्थ्यो ।

समाजको त्यही मान्यतालाई उल्ट्याउन समयक्रममा तिनै ‘राष्ट्रदोही’ र ‘अराष्ट्रिय तत्त्व’ ले भूमिका खेले । पुराना मान्यतामा अडेका राणाशाही र पञ्चायत धूलिसात भए । प्रजातन्त्र पुनःस्थापनापछि गणतन्त्रको कुरा त धेरै पर, संविधानसभाको चर्चा गर्नेलाई तिनकै दलले कारबाही गरेका थिए । समयको गतिलाई रोक्ने ताकत कसैको हुँदैन । आखिर, संविधानसभाको चुनाव भयो । त्यसले हिन्दु अधिराज्य र राजतन्त्रकै अन्त्य गरिदियो । हो, नयाँ विचारले तत्काल अलोकप्रिय हुने जोखिम उठाउनुपर्छ । कुनै दिन त्यसले नै मानिसहरूका दिमागको फोहोर सफा गरिदिन्छ र पुराना मान्यता विघटित हुन्छ ।

मार्क्स भन्छन्, ‘समाज सत्ताले स्थापित गरेको भाषा बोल्छ । त्यसलाई बदल्नु नै क्रान्तिको सुरुआत हो ।’ यथार्थमा, संसारभरि नै अधिकांश मान्छे परम्परागत मान्यताका पक्षपाती हुन्छन् । तिनलाई चलिआएको मूल्य, मान्यता, परम्परा, चालचलन अकाट्य, अपरिवर्तनीय र अनिन्द्य लाग्छ । त्यसमाथि उठाइने प्रश्न उनीहरूलाई सह्य हुँदैन । लोकप्रिय हुने सहज सूत्र तिनै मान्यताको खास्टोमा आफूलाई बेर्नु हो ।

असली सिर्जनाले निःसर्त लोकप्रियतामाथि सन्देह गर्छ । उसले पुरातन मान्यतालाई च्यातचुत पारिदिन्छ र विचारको जड पोखरीलाई बगाउन बल लगाउँछ ।

हो, लोकप्रियता लेखक, कलाकार, कविलाई जरुरी कुरा हो । हरेक सिर्जनकर्मी लोकप्रिय हुन चाहन्छ । तर, जब कुनै कविको ध्याउन्ना कुनै पनि मूल्यमा लोकप्रिय बन्नु हुन्छ, त्यहाँ धेरै कुरा गडबड भइसकेको हुन्छ । जनसाधारणलाई जे मन पर्छ, बजारमा जे बिक्छ, उनीहरू त्यही गर्न तयार हुन्छन् । यो, हावा जतातिर लाग्छ, त्यतै बहने वा कुलो जता खुला छ, त्यतै बग्ने अथवा जनसाधारणले जे चाहन्छ, त्यही गरिदिने तरिका हो । खासमा, यो घुमाउरो शैलीको खुसामद नै हो । यस्तो सिर्जनाको आयु अल्पकालीन हुन्छ । सिर्जनकर्मीले त आफूले चाहेको ठाउँतिर कुलो सोझ्याएर पानी डोर्‍याउने हो । यो तत्कालका लागि अलोकप्रिय बाटो हो । तर, दीर्घायु त्यसैको हुन्छ । जब समाज एक दिन तपाईंको फरक विचारमा सत्यबोध गर्ने तहमा पुग्छ, त्यसपछि त्यही विचार लोकप्रिय हुन थाल्छ । बिस्तारै, पुराना मान्यताको दिन सकिन्छ । यो फेसन र कलाबीचको भिन्नताजस्तै हो । फ्रान्सेली कवि एवं फिल्म निर्देशक जा कक्टो भन्छन्, ‘कलाले कुरूप चीज ओकल्छ, तर दीर्घकालमा त्यो अत्यन्त सुन्दर र सान्दर्भिक ठहर्छ । फेसन सुन्दर देखिन्छ, तर सधैं कुरूप र असान्दर्भिक हुन्छ ।’

हेर्दा सुन्दर, सुन्दा श्रुतिमधुर र लोकप्रिय कुरा, भलाद्मी, पण्डित, पुरोहितको गुणगान अनि ‘वेश्या’ र अपहेलितको निन्दाप्रति विचारवान् कविताले सदैव सन्देह गर्छ । यथार्थमा, सतहमा शान्त र सुन्दर देखिने संसारमा भित्रभित्रै भुसको आगो सल्किरहेको हुन्छ । विद्रोही कविताले पाठकलाई यही तत्त्वबोध गराउँछ, अनि हरेक पाइलामा सन्देह गर्न प्रेरित गर्छ ।

प्रकाशित : वैशाख १८, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

सुश्री आमा सुन्दरी

अभय श्रेष्ठ

१.मैले आफ्नो सौन्दर्यमा त्यतिखेरै पाएकी हुँ निखारजब गुराँसजस्तो निख्खर मेरो प्रेमको नासोसंगीत भएर ओर्लियो सुनौलो धरतीमा ।

उसले मच्चाएको थियो

एउटा खतरनाक भूकम्प मेरो शरीरभित्र

जब धरती चिहाउन गरिरहेको थियो ऊ संघर्ष

निस्कँदा निमेषभर ऊ शान्त थियो ध्यानमग्न बुद्धजस्तै

र, छिनमै उसले मच्चाएको कोकोहोलो

कुनै निपुण संगीतकारले दिएको

संगीतजस्तै सुमधुर थियो ।

ऊ जन्मिएपछि नै

नित्य उसकै आँखामा हेर्न थालेकी हुँ

मैले आफ्नो अनुहार ।

फक्रेको सूर्यमुखीझैं

मैले आफूलाई संसार सुन्दरी पाएको

त्यतिखेरै हो

जब सम्पूर्ण फूलबारीझैं

भएँ म सम्पूर्ण नारी ।

२.

केवल एउटा ताज पहिरिँदा

अर्बौं मानिसहरुले भन्न थाले मलाई

संसार–सुन्दरी

तिनीहरुलाई थाहा थिएन–

धेरैअघि नै म भइसकेकी थिएँ

सम्पूर्ण सुन्दरी

जसको सामु यो ताज थियो निष्तेज–निष्तेज ।

जब खोलिदिएँ

मैले एउटा शान्त र सुन्दर सत्य

कि म गर्वोन्नत आमा हुँ

संसार आश्चर्यचकित भयो तब

मानौं भर्खरै एउटा महाभूकम्प गयो

बलात्कार माफ र प्रेम पाप हुने

यो झिलीमिली अन्धकारमा

मुनाफाखोरहरू एक्कासि राख्न थाले पुर्पुरोमा हात

बन्द भयो प्रेम र बलात्कारबीच भेदहरुजस्तो

निरन्तर गुन्जिरहेको संगीत

मानौं यो संसार एउटा भव्य चिहानघारी हो

जहाँ ज्युँदा आवाजहरूको हुन्छ अन्त्येष्टि

र, एक्कासि खोसियो

संसार–सुन्दरीको मेरो ताज ।

सृष्टिको बगैंचामा एउटा अर्को फूल फुलेको

खबर दिँदा

विश्व–सुन्दरीबाट एकाएक

म कसरी कुरुप भएँ, महाजन ?

वसन्तको बतासमा झुल्ने हरियालीजस्तो

यो मुलायम मातृत्वको मूल्यमा

त्याग्न सक्छु म संसारको जुनसुकै ताज ।

म नदीझैं बगूँ वा पहराझैं गीत गाऊँ

म चराझैं उडूँ वा आफ्नै रफ्तारमा दौडूँ

म अप्सराझैं नाचूँ वा भिक्षुणी भई बाँचूँ

म कसैलाई प्यार गरुँ वा अस्वीकार गरुँ

म कसैसँग सुतूँ वा उसैसँग उठूँ

म अक्षत कन्या बसूँ वा अविवाहित आमा बनूँ

हो, मेरै मर्जी

मनमग्न छु,

म स्वाधीन छु ।

३.

आन्दोलनमा उठ्ने ज्युँदा हातहरुजस्तो

मेरो मातृत्व यदि कसुर हो भने

संसारमा जुनसुकै कुनाका

जुनसुकै प्राणी किन ओर्लिन्छन् धरतीमा

आमाकै देह र चित्तको अंश भएर ?

एकपल्ट आमाको आँखाको ऐनामा

आफ्नै आँखालाई नियालेर हेर !

हेर, अझै राम्ररी हेर !

मुहारका अवयवलाई हेर

प्याजजस्तो मनको पत्रपत्र केलाएर

चेतनाका आँखाले हेर

बैंसको लहरमा बगिरहेको देहको वासनालाई

एकछिन बिसाएर हेर

पातमा हरियाली मिसिएझैं

तिम्रो देह र चित्तको कुन–कुनामा

मिसिएको छैन आमाको अंश ?

बायाँतिर छातीको ढुकढुकीलाई

स्पर्श गरेर हेर

देहका हरेक अंगलाई हृदयका आँखाले

नियालेर हेर ।

(मिस वर्ल्ड–१९७४ हेलेन मोर्गनको जीवन–प्रसंगबाट प्रेरित, जसको ताज अविवाहित आमा भएको खुलेपछि खोसिएको थियो ।)

प्रकाशित : फाल्गुन २२, २०७७ १३:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×