कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘म नै भविष्य हुँ’

अन्ततः म ट्रली बस चढें । सगरमाथा चढ्दा तेन्जिङ नोर्गेलाई कस्तो अनुभव भएको थियो होला भन्ने म बुझ्न सक्थें । ट्रली बस बिनाआवाज अघि बढ्यो ।
यातायात कार्यालय पछाडि कुनामा फालिएको जीर्ण ट्रली बसको साइडमा लेखिएको थियो, ‘म नै भविष्य हुँ ।’ भविष्यको दुर्गति देख्दा नरमाइलो लाग्यो ।
ब्रजेश

केही समयअघिको यातायात व्यवस्था विभागको मीनभवनस्थित कार्यालय भवनको पछाडि लामो लाइनमा उभिनुपर्दा अलि पर कुनामा उपेक्षित रूपमा मिल्काएर राखिएको एउटा ट्रली बसको भग्नावशेषमा मेरा आँखा अडिए । ट्रली बसको त्यो नीलो लासलाई देखेर बाल्यकालको पुरानो सम्झना हरियो भएर आयो ।

‘म नै भविष्य हुँ’

हाम्रो घर त्रिपुरेश्वरको मूल सडकमा दुवैतिर निकै गहिरागहिरा खाल्टाहरू खनिन थालेका थिए । बराबर दूरीमा त्यति धेरै खाल्टाहरू किन खन्न थालेको होला ? गम्भीर मुद्रामा चिउँडो कन्याउँदै मेरो एक साथीले भन्यो, ‘मेरो विचारमा त इनार खनेको हुनुपर्छ !’

मैले केही सोचेर भनें, ‘होइन होला । यतिका धेरै इनारको के काम ? त्यो पनि मूल बाटोमा ?’ हुन पनि त्यतिबेला घरघरमा धारामा निर्बाध रूपमा पानी आउँथ्यो । तीन तलामाथि राखेको टंकीमा पनि बिनामोटर पानी आफैं चढ्थ्यो । त्यसैले इनारको कुनै औचित्य थिएन । हामीले हेर्दाहेर्दै केही दिनमै त्रिपुरेश्वरबाट थापाथली हुँदै माइतीघरको मोडसम्मै लहरै खाल्टाहरू खनिन थाले । अनि केही समयपछि तिनमा बडेबडेमानका र निकै चौडा खम्बाहरू गाडिन थाले ।

आज सहर र जीवन व्यस्त छ । तर, पनि बाटोमा खम्बा गाडेको देख्दा हामी रमाइलो मानेर हेरेर बस्छौं । आजभन्दा चार दशक पहिले सानातिना होइन, अजंगका खम्बाहरू गाड्न थालेको देख्दा मानिसहरूलाई कस्तो भयो होला ? त्यतिबेला काठमाडौंमा कसैले कतै पनि त्यति ठूला खम्बा देखेको थिएन । बिजुली अड्डा, टेलिफोनका केही काठ र टिनका खम्बाहरू हुन्थे । ती पनि तथाकथित सुपरमोडलजस्ता लुरा, खिरिला र टिंग्रिङ्ग परेका । ती धेरै अग्ला पनि कहाँ हुन्थे र ? त्यस्ता खम्बाहरू देख्ने बानी परिरहेकाहरूलाई खली पहलवान्जस्ता विशाल, अग्ला, चौडा सिमेन्ट र कंक्रिटका खम्बाहरू देख्दा उदेक लाग्ने नै भयो ।

केका लागि गाडिएका होलान् त्यति धेरै खम्बाहरू ? कहाँसम्म पुग्ला त्यो खम्बाको लाइन ? कसैले सुनायो, ती खम्बाहरू त्रिपुरेश्वरदेखि भक्तपुरको सल्लाघारी हुँदै सूर्यविनायक भन्ने ठाउँसम्म पुग्छ रे ! हामी केटाकेटीहरू मात्र होइन, त्यतिबेला त्यो ठूलाबडाहरूका लागि पनि निकै ठूलै चर्चाको विषय बन्यो । किनभने बानेश्वरलाई काँठ भनिने बेला थियो त्यो । माइतीघरदेखि कोटेश्वरसम्म दुवैतिर अहिले घरहरू फलेको ठाउँमा त्यतिबेला खेत थियो । त्यहाँ धान फल्थ्यो, तरकारी फल्थ्यो । त्योभन्दा पर गठ्ठाघर, सल्लाघारी, ठिमी भनेको त कहाँ हो कहाँ ? कति मानिस त त्यहाँसम्म पुगेका पनि हुँदैनथे । तर, ती खम्बाहरू सूर्यविनायकसम्म पुग्छन् रे ! त्यो खम्बामा ढाड अड्याएर पछाडिबाट अँगालो हालेर आफ्नो दुवै हातले छुन सक्यो भने चिताएको कुरा पुग्छ रे ! हामी जाँचमा नपढीकनै पास हुन पाइयोस् भनेर मरीमरी त्यसलाई अँगालो मारेर दुवै हात तन्क्याउँथ्यौं । तर, हाम्रो हातले त्यो भ्याउँदैनथ्यो । अनि हामी अँध्यारो अनुहार लगाएर घर गएर किताब पल्टाएर बस्थ्यौं ।

केही समयपछि नै अर्को नयाँ कुरा सुन्न थाल्यौं, चाइनाको सहयोगमा ट्रली बस आउन लागेको छ रे ! खम्बा गाड्ने काम त्यसैका लागि भइरहेको हो । तयारी जतिजति अघि बढ्यो, कुराहरू पनि त्यही अनुपातमा सुन्न थालियो । ट्रली बस भनेको त बिजुलीले चल्छ रे, त्यसमा पेट्रोल वा डिजेल चाहिन्न रे ! त्यसको त आवाज पनि आउँदैन रे ! त्यसले त धूवाँ पनि फ्याल्दैन रे ! ओहो कस्तो अचम्म, कसरी चल्छ होला बिजुलीले ? हामी कल्पना गर्थ्यौं । (वातावरणका लागि त्यो कति ठूलो कुरा हो भन्ने अहिलेसम्म पढेलेखेका ठूलाबडा, सरकार र पहुँचमा भएका कसैलाई थाहा छैन भने त्यतिबेला हामी बल्ल स्कुल जान थालेका भुरा केटाकेटीहरूलाई त झन् के थाहा हुनु र ?) हाम्रो लागि त बिजुलीबाट चल्ने ट्रली बस नामको एउटा मायावी जिनिस आउन लागेको उत्साह नै पर्याप्त थियो ।

अन्ततः दुई वर्षमा ट्रलीबसका लागि आवश्यक संरचना तयार भयो । सन् १९७५ को डिसेम्बर २८ तारिखमा त्यसको औपचारिक सुरुवात हुने भयो । हो तपाईंले ठीक पढ्नुभयो । दुई वर्ष लगाएर तेह्र किलोमिटरको त्यो संरचना तयार भएको थियो । त्यति बेलासम्म हामी अहिलेको जस्तो विकसित थिएनौं, जसले कोटेश्वर–कलंकीको नौ किलोमिटर सडक विस्तारलाई मात्र पाँच वर्ष लगाओस् । त्रिपुरेश्वरमा गणेशस्थान अगाडि ट्रली बसको टिकट किन्ने अफिस भवन पनि निर्माण भएको थियो । सार्वजनिक यातायात त्यति व्यवस्थित नभएको हाम्रो देशमा चिनियाँहरूले बनाइदिएको त्यो चिल्लो र भव्य अफिस आफैँमा गज्जबको आकर्षणको केन्द्रविन्दु थियो । मानिसहरूले पहिले नै आफ्नो गन्तव्यसम्मको टिकट किन्न सक्ने, हरेक बीस मिनेटमा नियमित रूपमा बस चल्ने भनिएको व्यवस्था नौलो थियो ।

उद्घाटनको दिनभर ट्रली बसले त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्म मानिसहरूलाई निःशुल्क यात्रा गराउने भनिएको थियो । त्यस दिन सारा सहरका लागि ठूलो उत्सवको समय थियो । मलाई स्कुल जान पटक्कै मन थिएन । तर, ट्रली बस चढ्नका लागि स्कुल ठग्न घरका मानिसहरूले कहाँ दिनू ! मन नलागीनलागी जानै पर्‍यो । दिनभर स्कुलमा कहिले छुट्टी होला र ट्रली बसको तमासा हेर्न जान पाइएला भनेर मन अधीर भइरह्यो । त्यस दिन कुनै पनि कक्षामा के पढाइयो भन्ने कुराको केही ध्यानै भएन । निःशुल्क चढ्न पाइने ट्रलीबस चढेर सूर्यविनायकसम्म गएर फर्किने भन्ने कल्पना नै रोमाञ्चक थियो ।

स्कुल सकिएर घर पुग्नासाथ ब्याग फ्यालेर म ट्रलीबसको स्टेसनतिर हान्निएँ । त्यतिबेला साँझको ५ बजिसकेको हुनुपर्छ । काठमाडौंका कुनाकाप्चाबाट मानिसहरू अरिंगालको गोलाजसरी त्रिपुरेश्वरमा भेला भएका थिए । निकै पहिलेदेखि ट्रलीबसको यात्रा गर्न लाइनमा बसेका मानिसका कारण मेरो पालो कुन ट्रिपमा आउँछ भन्ने कुनै ठेगान नै थिएन । तर पनि धैर्य गरेर त्यो हूलमूलमा म अडिग भएर बसिरहें । मानिसहरू खम्बामा भएको तारमा आँखा गाडेर बस्थे । थापाथलीनिर एउटा बस आइपुगेर त्रिपुरेश्वरतिर मोडिनुअघि नै तारमा कम्पन हुन्थ्यो अनि सबै करतल ध्वनिका साथ ‘आयो......’ भनेर कराउँथे । नभन्दै केही क्षणमा मोडिएको नीलो र सेतो रंगको टिलिक्क परेको ट्रली बस देखा पर्थ्यो । उता थापाथली मोडबाट ट्रली बस देखिनासाथ यता मानिसहरूको हूलमूल र ठेलमठेल सुरु हुन्थ्यो । ट्रली बसको छानाबाट आकाशतिर उल्टोपट्टि फर्किएका दुइवटा सिङजस्ता लठ्ठीहरू खम्बामा तानिएको बिजुलीको तारसँग जोडिएका हुन्थे । त्यो टुप्पो घोडाको टापजस्तो हुन्थ्यो ।

बिनाआवाजको त्यो विद्युतीय वाहन सललल गर्दै पानी बगेजसरी आएर त्रिभुवनको सालिक मोडिने बेला कहिलेकाहीं तारमा जोडिएको त्यसको एउटा लठ्ठी फुस्कन्थ्यो । त्यसो हुँदा कन्डक्टरले ओर्लेर त्यसमा बाँधिएको डोरी तानेर फेरि मिलाएर तारमा जोड्थे । ट्रलीबस बिसौनीमा आएर अडिएपछि चालकले भित्रैबाट एउटा स्विच थिच्थे । अनि छुस्स.... गर्ने आवाजका साथ त्यसका ढोकाहरू खुल्थे । ओर्लने र चढ्ने मानिसहरूको बीचमा ठूलै द्वन्द्व हुन्थ्यो । कोचिन र खाँदिन मिल्ने जति मानिसहरू चढिसकेपछि फेरि छुस्स... गरेर स्वचालित ढोका बन्द हुन्थ्यो अनि ट्रलीबस फेरि सललल अघि बढ्थ्यो, बिनाआवाज । मानिसहरू फेरि कुन बेला उताको तार हल्लिन्छ भनेर आँखा गाडेर कुर्न थाल्थे ।

यही क्रममा साँझ गाढा हुँदै अँध्यारो पनि हुन लागिसकेको थियो । मेरो पालो अझै आएको थिएन । मेरै उमेरका अरू तीन/चार दौंतरी पनि मसँगै थिए । हामी पुलुपुलु एकअर्कालाई हेर्थ्यौं । नरुले निराश अनुहार लगाएर भन्यो, ‘हाम्रो पालो त आउँदैन जस्तो छ ।’

मैले हतास भएर चारैतिर आँखा डुलाएँ । टोलका केही ठूला दाइहरूमध्ये एकले ट्रली बसमा कन्डक्टरको जागिर पाएका थिए । उनी केहीबेर पहिले कुनै बसबाट ओर्लिएका रहेछन्, हूललाई व्यवस्थापन गर्न बडो महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै रहेछन् । उनी त्यस दिन ठूलो भीआईपी थिए । म उनैलाई गुहार्न पुगें ।

‘दाइ, हेर्नु न हाम्रो त पालै नआउलाजस्तो भो,’ रुँलारुँलाजस्तो गरी मैले आर्तनाद गरें ।

उनी मेरा एक काकाको साँझ–साँझ टिन्चु पानी पार्टनर हुन् भन्ने सुनेको थिएँ । कसो सहयोग नगर्लान् त ? नभन्दै उनले सहानुभूतिपूर्वक मलाई ढाडस दिए, ‘पख् पख्, म हुँदाहुँदै किन पीर गर्छस् ? म चढाउँछु ।’ म ढुक्क भएँ । त्यसपछि पनि ट्रली बसहरू आउने र जाने क्रम चली नै रह्यो । अब त साँझको साढे सात पनि नाघिसकेको थियो । कुन बेला घरबाट बा अथवा आमाले आएर कान समातेर लैजाने हुन् भन्ने पनि डर लाग्न थालेको थियो । तै त्यसपछि आएको ट्रलीबसमा उनले घच्याक र घुचुक गर्दै हामीलाई हुल्न भ्याए । अन्ततः म ट्रली बस चढें । सगरमाथा चढ्दा तेन्जिङ नोर्गेलाई कस्तो अनुभव भएको थियो होला भन्ने म बुझ्न सक्थें ।

ट्रलीबस बिनाआवाज अघि बढ्यो । सिट पाइएको थिएन । माथि छतमा भएको समाउने डन्डी हामीले भेट्टाउने कुनै सम्भावना थिएन । अलिअलि डर र अलि धेरै रोमाञ्चले भरिएर म सिटको छेउ अँठ्याएर अभिएको थिएँ । मेरा दौंतरीहरू पनि कान रातो पारेर, आँखा ठूलो पारेर चारैतिर हेरिरहेका थिए । म कल्पना गर्दै थिएँ, १३ किलोमिटरको हाराहारीको त्यो ‘लामो दूरीको यात्रा’ मा नयाँ ठाउँहरू हेर्दै सूर्यविनायक पुगेर फर्कंदा कति रमाइलो हुने होला ! उज्यालोमै चढ्न पाएको भए झनै कति मजा हुन्थ्यो होला ! ट्रलीबस सलल बग्दै थापाथली, बबरमहल, नयाँबानेश्वर हुँदै मीनभवनको ओरालोतिर पुग्यो । अनि कोटेश्वरतिर नलागी मीनभवनमा देब्रे मोडियो र एउटा नयाँ बनेको भवनको प्रांगणमा अडियो । मैले देखें, त्यहाँ अरू पनि थुप्रै ट्रलीबस रोकिएका थिए । अनि छुस्स...गरेर ढोका खुल्यो । हामी जिल्ल परेर हेर्दै थियौं, बसका चालक ठूलो स्वरमा कराए, ‘ल ल सबै जना ओर्लनुस् । आजलाई यत्ति हो । आठ बजेपछि ट्रली चल्दैन ।’

त्यो भवन ट्रलीबसहरूलाई राति थन्क्याउने स्थान रहेछ । कोही मानिस खुरुखुरु ओर्ले, कोही गनगन गर्न थाले, कोही प्रतिवादमा कराउन थाले । धन्य त्यतिबेला प्रजातन्त्र आइसकेको थिएन, नत्र कसैले बसको ऐना फुटाउँथ्यो वा बसै जलाउँथ्यो होला ! म र मेरा दौंतरीहरू पनि निराश भयौं । स्कुलबाट घर आएर खाजासमेत नखाई त्यत्रोबेर भोक–प्यासले सेल्टिएर कन्डक्टर दाइको सोर्सफोर्स लगाएर चढेको ट्रलीबसले हामीलाई एक चौथाइ पनि यात्रा गर्न नपाई ओरालिदियो । तर, हामी के गर्न सक्थ्यौं र ? हामी सबै लोप्रे कान लगाएर ओर्लियौं । मीनभवनदेखि त्रिपुरेश्वरसम्म एघार नम्बरको ट्याक्सीमा लुखुरलुखुर फर्किने बेला कोही केही बोलेन । घर जाने गल्लीमा छिर्ने बेला मात्र नरुले मुसोको स्वरमा भन्यो, ‘अरूलाई भन्न हुन्न बुझिस् केटा हो, बेइज्जत हुन्छ । सूर्यविनायकसम्मै पुगेर आएको भन्नुपर्छ ।’ हामी सबैले मौन सम्मति जनायौं । त्यस राति सपनामा पनि ट्रलीबस नै देखियो ।

भोलिपल्ट स्कुलमा गएर मैले साथीहरूलाई बढाइचढाई यात्रा विवरण सुनाएँ । उद्घाटनको दिनै ट्रली बस चढेर सूर्यविनायकसम्मको यात्रा गर्न पाउने भाग्यमानीको रूपमा उनीहरूले डाहाको आँखाले मलाई हेरे । म उनीहरूका लागि त्यस दिन अमेरिका पत्ता लगाएर फर्केको कोलम्बसभन्दा खासै कम थिइनँ । तर, सूर्यविनायकसम्मै ट्रली बसमा चढेर जाने सौभाग्य त केही महिनापछि मात्र मलाई प्राप्त भएको थियो । घरका ठूला मानिसहरूले सूर्यविनायक गणेशको दर्शन गर्ने धार्मिक पर्यटनको योजना बनाएका थिए । मेरा लागि त्यो गज्जबको अनुभव थियो ।

मेरा लागि मात्र नभई, त्यतिबेला चिनियाँहरूको सौजन्यबाट चलेका २२ ट्रली बस काठमाडौंका लागि नै गर्वको विषय थियो । ट्रली बसले भक्तपुर र काठमाडौंलाई नजिक बनाएको थियो । धेरै मानिसको जीवन सहज बनाएको थियो । उताका तरकारी, दूध, दहीजस्ता स्थानीय उत्पादनलाई सहज बजार उपलब्ध गराउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । सूर्यविनायक गणेश मन्दिरलाई पनि लोकप्रिय बनाएको थियो । त्रिपुरेश्वर गणेशस्थानसँगै एउटा पुरानो मिठाई पसल थियो– चन्दासको पसल । त्यहाँको प्रख्यात जेरी खानै मात्र मानिस सूर्यविनायकबाट त्रिपुरेश्वरसम्म आउँथे रे भन्ने सुनिन्थ्यो । केही मानिसहरू बिजुलीले चल्ने हुँदा करेन्ट लाग्छ कि भनेर निकै पछिसम्म पनि ट्रली बस चढ्न डराउँथे । समग्रमा ट्रली बस त्यतिबेला एउटा क्रान्ति थियो । त्यो क्रमलाई विस्तार गर्न सकिन्थ्यो, गर्नै पर्थ्यो । किनभने त्यो वातावरणमैत्री, डिजेल पेट्रोल किन्न पैसा बाहिर नजाने विद्युतीय सवारीसाधन थियो । अहिले सारा संसार विद्युतीय सवारीसाधनको विस्तार गर्ने क्रममा लागेको छ । हामीले त उहिल्यै नै त्यो क्रममा पाइला चालिसकका थियौं । तर, त्यसलाई दिगो बनाउन सकेनौं ।

अफसोसको कुरा के भने, दूरदर्शिता नभएकाहरूले चलाएको यो देशमा ट्रलीबसको बिस्तारको त कुरा छोडौं, भएका जति ट्रलीबसलाई समेत हामीले निरन्तरता दिन सकेनौं । २००१ देखि त राजनीतिक तथा अन्य कारणहरूले ट्रली बस बन्द नै भयो । देशप्रेमी नेपालीहरूले खम्बाबाट बिजुलीका तारहरू पनि चोरेर सिध्याए । कनीकुथी २००३ मा आंशिक रूपमा पुनः सञ्चालन गर्ने भनेर त्रिपुरेश्वरदेखि कोटेश्वरसम्म चलाउन थालिएको सेवा पनि अनेकौं खिचलोका कारण दिगो हुन सकेन र ट्रली बस अन्ततः सधैंका लागि इतिहास बनेर बन्द भयो । सडक बिस्तारका क्रममा ती खम्बाहरू पनि उखेलिए । तिनको कुनै अवशेष पनि बाँकी छैन । कहाँ गए होला हामीलाई चमत्कृत पार्ने त्यतिका धेरै खम्बाहरू ? ‘हामीले बाँदरको हातमा नरिवल’ भन्ने उखानलाई चरितार्थ गर्‍यौं । कत्रो बिडम्बना !

त्यही सोच्दासोच्दै मलाई केही वर्षअघि इस्तानबुलको ट्राम चढेको सम्झना आयो । त्यसको आफ्नै इतिहास छ । त्यहाँ सन् १८६० मा घोडाले तान्ने ट्रामको सुरुवात भएको थियो, जुन सन् १९१२ मा विद्युतीय प्रणालीमा परिणत भयो । सन् १९६५ सम्म विस्तारित हुँदै ५६ वटा लाइनमा चल्ने २७० वटा ट्रामले त्यहाँ १० करोड यात्रुहरू ओसारपसार गर्थ्यो । तर, तीव्र सहरीकरण र निर्माण अनि पेट्रोल डिजेलका बाहनहरूको बढ्दो वर्चस्वका कारण बिस्तारै ट्राम ओझेलमा पर्न थाल्यो र सन् १९५६ मा बन्द नै भयो । हाम्रो ट्रली बसजस्तै । त्यहाँका मानिसलाई लागेको थियो– बढ्दो बस, ट्याक्सी र निजी सवारीसाधनका कारण यातायात र जनजीवन झनै सहज हुनेछ । तर, उनीहरूलाई आफ्नो गल्ती बिस्तारै थाहा हुन थाल्यो, जब वायु तथा ध्वनि प्रदूषण तथा जामको समस्याले इस्तानबुललाई आकुलव्याकुल पार्न थाल्यो– हामीलाई अहिले यहाँ पारेजस्तै । सन् ८० को मध्यतिर त इस्तानबुल युरेसियन क्षेत्रको सबभन्दा प्रदूषित सहर बन्न पुग्यो– अहिलेको हाम्रो काठमाडौंजस्तै ।

तर, उनीहरूले आफ्नो गल्तीबाट सिके । इस्तानबुलको छवि सुधार गर्न र प्रदूषण नियन्त्रण गर्न ट्रामलाई पुनर्जीवन दिने क्रममा उनीहरूले पुरानो ऐतिहासिक रुटलाई केही हदसम्म पुनःस्थापित गरे । सहरीकरण र निर्माणका कारण पुरिइसकेका कतिपय लाइनहरूलाई खोतलखातल पारेर छोटो दूरीमा भए पनि ऐतिहासिक ट्रामलाई पुनर्जीवन दिए । त्यस्ता एकएक ऐतिहासिक रुटहरू आज पनि एसियाली र युरोपेली भागमा चल्छन् । ताक्सिम स्क्वायरबाट चल्ने २.६ किलोमिटरको ट्राम त त्यहाँको प्रमुख पर्यटकीय आकर्षण बनेको छ । त्यसका साथै उनीहरूले नयाँ, आधुनिक र द्रुत ट्राम लाइन बनाउन पनि सुरु गरे । अहिले पनि त्यहाँ ट्रामका नयाँ रुटहरू बनिरहेका छन्, जसले इस्तानबुलको एसियाली र युरोपेली भागहरूलाई जोडिरहेको छ । यो क्रम आउँदा वर्षहरूमा पनि प्रमुख प्राथमिकताका साथ चालु रहने छ । त्यसबाट हामीले सिक्न सक्ने कुरा धेरै थियो होला । तर, हाम्रो प्राथमिकतामा यस्ता झिनामसिना कुराहरू कहाँ पर्छन् र ? हामी त राजनीतिक शक्ति सन्तुलन, सत्ताप्राप्ति र कुर्सी टिकाउबाहेक अरू विषयलाई महत्त्व नै दिँदैनौं ।

यातायात कार्यालयको पछाडि अजिंगरे लाइनमा बसेर कुनामा फालिएको ट्रली बस हेर्दा मलाई नरमाइलो लाग्यो । जीर्ण ट्रली बसको साइडमा केही लेखिएको थियो, जसको रंग खुइलिएर उडिसकेको थियो– ‘म नै भविष्य हुँ ।’ भविष्यको त्यो दुर्गति देख्दा मलाई नरमाइलो लाग्यो ।

‘ओ दाइ, बढ्नुस् न अघि,’ पछाडिको मान्छे मलाई घुच्च्याउँदै रहेछ ।

म लामो सास फेरेर दुई पाइला ‘अघि’ सरें । हामी अघि सरिरहेका छौं ।

प्रकाशित : वैशाख ११, २०७८ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?