नबोलाइएको भेला, मृगस्थलीमा- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नबोलाइएको भेला, मृगस्थलीमा

हनुमान बाहेक तीनै जनामा हिजोदेखि कोरोना देखिएछ । त्यति लामो बाटो मास्क विनै हिंडाएपछि के हुन्छ ?
शरच्चन्द्र वस्ती

आहा ! क्या दिनुभएछ आज । व्यंग्य भन्या त यस्तो पो हुनुपर्छ । तात्तातो जेरी खाएजस्तो !’

शान्तिमणि मलाई देखेर गद्गद भएका थिए । त्यस दिन मेरो व्यंग्यलेख छापिएको अखबार उनको हातमा थियो । जोशिलो नमस्कारसँगै आग्रह गरे, ‘आज त साँच्चै जेरी खानैपर्छ ।’

शनिवारको दिन थियो । म डाक्टर कृतान्तसँग मर्निङ वाकमा मृगस्थली पुगेको थिएँ । घाम झुल्कँदै थियो । शान्तिमणिको आग्रह यति स्नेहिल थियो, मैले नाइँ भन्नै सकिनँ । मुस्कुराएँ मात्र ।

हामी एकछिन सँगै घुम्यौं । उनले लेखको प्रशंसा गरिरहे । केही वेर पछि चिन्ता जाहेर गरे, ‘नेताहरूलाई पूरै नांगेझार पार्नुभाको छ । योभन्दा बढी के लेख्नु ? तर के गर्ने, जति लेखे पनि सुध्रिने होइनन् ।’ मैले भनें, ‘उहाँहरू पढाइलेखाइ भन्दा माथि उठिसक्नुभाको छ । यस्ता तुच्छ कामबाट टाढै बस्नुहुन्छ । तपाईं चिन्ता नलिनोस् । म लेख्छु, तपाईं पढ्नुहुन्छ । भैगो नि ।’

त्यतिन्जेल घाम अलिक माथि आइसकेको थियो । ‘अब त शीत पनि सुक्यो । चउरमा बसौं,’ डाक्टरले भने । हामी बस्तै मात्र थियौं, भ्रान्तिमणि कराउँदै आइपुग्यो, ‘क्या हो पासा, के लेखेको त्यस्तो ? लेख्न पाएँ भन्दैमा जे पनि लेख्ने ? अब तिम्रो लेख कसैले पढ्दैन । के बुझ्यौ ?’

‘तिमीले पढिहालेछौ । मलाई पुगिहाल्यो नि,’ म मुस्कुराएँ । ऊ चिढियो, ‘होइन, मैले तिम्रो के बिगार्‍या छु र अरू कोही नपाएर मलाई नै छेड हान्नुपर्‍यो ?’

म जिल्ल परें, ‘तिमीलाई के छेड हानें र मैले ?’

‘कुखुराचोर भन्या के त ?’

‘त्यो तिमीलाई भन्या हो र पासा ? अरूलाई नै भन्या नि ।’

‘मलाई बेकूफ नबनाऊ न । मेरो टोलमा कसलाई कुखुराचोर भन्छन्, मलाई थाहा छैन र ?’

हामी जोडले हाँस्यौं । यतिन्जेल अरू १०–१२ जना भेला भइसकेका थिए । अरू दिन मर्निङ वाक सकेर सोझै घर फर्के पनि शनिवार एक–डेढ घण्टा हामी चउरमा बसेर गफिन्थ्यौं, चियाको चुस्की लिंदै ।

त्यस दिन शान्तिमणिलाई के घत परेको रहेछ कुन्नि, जेरी मात्र मगाएनन्, अखबार खोलेर मेरो व्यंग्यलेख वाचन पनि गरे । सुनुन्जेल सबै एकाग्र थिए । त्यसपछि पनि एकछिन मौन कायम रह्यो । दुई जनाले ‘आहा !’ भनेर प्रशंसा गरे । भ्रान्तिमणिले पुनः आफ्नो राग अलाप्यो, ‘अरू त ठीक छ, त्यो कुखुराचोर भनेको चाहिं मिलेन ।’ के मिलेन, पत्तो नपाएर अरू अलमल्ल परे ।

रघुनाथ, भोला, पासाङ, रुक्मिणी र विनयले क्रमशः टिप्पणी गरे :

‘लेख छोटो भयो, पढ्दापढ्दै सकिन्छ ।’

‘अन्त्य अझ धारिलो बनाउनुपर्थ्यो ।’

‘आम जनजीवनको पीरमर्का समेटिएन ।’

‘कता कता पुरुष मानसिकताको गन्ध आउँछ ।’

‘कस्तो व्यंग्य हो यो ? मलाई एकचोटि पनि हाँस उठेन ।’

भर्खरै वनकालीको स्कूलमा नेपाली पढाउन थालेको चन्द्रेशले भन्यो, ‘मलाई त भाषा, शैली, विषयवस्तु र प्रस्तुति पनि असाध्यै मन पर्‍यो ।’

झुस्स दारी पालेका, माकलटोपी मुनि गोलो चश्मा भिरेका प्राडा भुजंगपाणिलाई खपिनसक्नु भएछ । उनले चन्द्रेशलाई टिप्पा ख्वाए, ‘के ज्ञान छ तपाईंलाई साहित्यका बारेमा ? यस्तो पनि साहित्य हुन्छ ? रस खोइ ? भाव खोइ ? अलंकार खोइ ? कलात्मकता खोइ ? शब्दको गहनता खोइ ? यसको उद्देश्य के ? प्रयोजन के ? समाजलाई सन्देश के ? यसमा न भरतमुनिको रस सिद्धान्त र आनन्दवर्धनको ध्वनि सिद्धान्तले काम गरेको छ, न त प्लेटोको अनुकरण सिद्धान्त अथवा अरस्तूको विरेचन सिद्धान्तकै प्रयोग भएको छ । कुन्तकको वक्रोक्ति सिद्धान्त र भामहको अलंकार सिद्धान्तले यसलाई स्वीकार गर्दैन । क्रोचेको अभिव्यञ्जनावाद अथवा डेरिडाको विनिर्माणवादसँग पनि यसको कुनै सम्बन्ध देखिंदैन । यसबाट रसनिष्पत्ति कसरी गर्ने ? यसलाई कुन सिद्धान्तका आधारमा राम्रो भन्ने ? व्यंग्य भन्ने कि हास्य भन्ने ? व्यंग्य भए हास्य खोइ ? हास्य भए व्यंग्य खोइ ? दुवै भए किन दुवै हुनुपरेको ?’

उनको वमन–विद्वत्ता थाम्न नसकेर सबै जना आकाशतिर हेर्न थालेका थिए । चन्द्रेशले भर्खरै खाएको जेरी समेत चिया हुलुक्क गर्‍यो र लल्याकलुलुक भएर एकातिर ढल्यो । प्राडा भुजंगपाणि ऊतिर पुलुक्क हेरेर गर्वसाथ जुरुक्क उठे र ‘शम्भो... हर’ भन्दै बाटो लागे । अनुहारमा पानी छम्केपछि, एक छिनपछि चन्द्रेशले आँखा खोल्यो ।

‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ प्राडा भुजंगपाणिबारे कसैले टिप्पणी गर्‍यो । डाक्टर कृतान्तले मुख खोले, ‘गुरुबा त ठिमी जान्छु भनेरै ठिमीतिर लागेका हुन् । हामीकहाँ त एकातिर हिंडेको मान्छे अर्कातिर पुग्छ र पो आपत । सबैलाई अल्जाइमर भएजस्तो !’

डाक्टरको कुराले सबैलाई गम्भीर बनायो । ‘त्यो स्मृति–विभ्रम हो । यस्तो वेला मान्छेको दिमागले काम गर्दैन । अहिले नेताहरूलाई लागेको रोग नै यही हो । सम्मोहात् स्मृतिविभ्रमः,’ कालो–दारीवाल जोगीले शास्त्र–प्रमाण प्रस्तुत गरे । ‘त्यही भएर होला, यस्तो गाईजात्रा भएको,’ पत्रकार हरिबाबु बोल्यो, ‘के हुन लाग्या हो, हामीले बुझ्नै छोडिसक्यौं ।’

‘के भयो हौ त्यस्तो ? भन न,’ कसैले उक्सायो ।

‘के भन्नु अब ?’ हरिबाबुले सुनायो, ‘कोरोनाले मान्छे सोत्तर हुने भए, अस्पताल जान्छु भनेर हिंडेको मन्त्री भ्यूटावरको निरीक्षण गर्न पुग्यो । अविश्वासको प्रस्तावमा सही गर्न गएका विधायक मन्त्रीको शपथ ग्रहण गरेर आए ।’

‘अल्जाइमर भएरै त होला नि,’ अर्को पत्रकार गिरिबाबु चूप लाग्न सकेन, ‘आफ्नो अध्यक्षलाई भेट्न हिंडेका नेताहरू विपक्षीकहाँ पुग्छन् र तपाईं नै हाम्रो नेता हो, लौ न हाम्रो सरकार गिराइदिनुपर्‍यो भनेर भजन–कीर्तन गर्न थाल्छन् । विपक्षको नेता चाहिं तिनीहरूको सरकार गिर्ला कि भन्ने चिन्ताले रातभरि निदाउँदैन ।’

कालो–दारीवाल जोगी मुस्कुराए, ‘ठीक भन्नुभो । त्यही भएर त, यो देशबाट धर्म सिध्याउँछु भनेर हिंडेको एउटा नेता आजभोलि रामनामी ओढेर राम मन्दिरको पुजारी भएको छ । ईश्वरको नाम लिए जिभ्रो काटेर फ्यालिदिन्छु भनी हिंड्ने अर्को नेता रामनाम जप्न थालेको छ । यो अल्जाइमर पनि काइदाकै रोग रहेछ...’

सेतो–दारीवाल जोगीले उसलाई रोके, ‘तर अहिले त अर्कै समस्या खडा भएको छ ।’

‘के बाबा ?’ सबै जना उनको मुखमा हेर्न थाले । ‘अस्ति यहाँबाट त्यत्रो धूमधामसँग राम–सीता, लक्ष्मण, हनुमान सबैलाई माडी लगेको, हनुमान बाहेक तीनै जनामा हिजो बेलुकादेखि कोरोना देखिएछ । त्यस्तो भीडभाडमा त्यति लामो बाटो मास्क विनै हिंडाएपछि के हुन्छ ? उनीहरूको पुरानो फेमिली डाक्टर सुषेणलाई श्रीलंकामा फोन गरेर सोध्दा एउटा हिमाली जडीबुटीको नाम लिएछ र हनुमान राति नै हिमालतर्फ उडेछन् । अलिअलि अल्जाइमरले त उनलाई पनि छोएकै थियो, हिमालको सट्टा डोल्पाको डाँडामा झरेछन् र टर्च बालेर जडीबुटी खोज्न थालेछन् । डोल्पालीहरूले यार्चागुम्बा चोर्न आएको भनेर लखेटेछन् र हनुमान ठाडो पुच्छर लगाएर रित्तो हात फर्केछन् । अलिक तलसम्म त ह्याङ ग्लाइडरबाट आकाशमा पनि पीछा गर्दैथिए अरे । अहिले चारै जना क्वारेन्टाइनमा छन् ।’

‘जय श्रीराम !’ सेतो–दारीवालले आकाशतिर फर्केर हात जोड्यो । ‘यसबारे तपाईंले लेख्नुपर्छ,’ शान्तिमणिले मलाई सम्बोधन गरे ।

‘हुँदैन,’ म बोल्नु अघि नै डाक्टर कृतान्त बोले, ‘यो कोरोनाको केस हो । यसको केस–स्टडी हामीले गर्ने हो ।’

‘म के गर्नु त ?’

‘तपाईं त्यतिन्जेल आराम गर्नोस् । नत्र तपाईंलाई पनि अल्जाइमरले छोला,’ डाक्टर हाँसे ।

एकातिर कोरोनाको त्रास, अर्कातिर अल्जाइमरको डर । अब डाक्टरका कुरा कसरी नमान्नु ? मैले भनें, ‘हुन्छ नि त । म केही दिन थकाइ मार्छु ।’

‘साँच्चै कि ठट्टा गरेको ?’ उनले पत्याएनन् ।

‘कस्तो नपत्याएको ?’ मैले भनें, ‘बोलिसकें त, म अब केही दिन थकाइ मार्छु भनेर ।’

उनले नपत्याए पनि तपाईं चाहिं पत्याउनोस् है !

प्रकाशित : वैशाख ११, २०७८ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्

काष्ठमण्डपको काष्ठ–कथा

कल्पवृक्ष कति विशाल थियो भने त्यसको हाँगा एक किलोमिटरसम्म फैलिएको थियो ।
सुरेश किरण

२०७२ को भूकम्पमा यदि काष्ठमण्डप नढलेको भए त्यो उति सम्झनयोग्य भूकम्प नै हुने थिएन सायद । ठूला भूकम्पमा घर ढल्नु, मान्छे मर्नु स्वाभाविक हो । तर, काष्ठमण्डप नै ढल्नु बिर्सिनका लागि घटेको घटना होइन । काष्ठमण्डप ढलेकै कारण २०७२ को भूकम्प स्मरणीय रहने निश्चित छ ।

‘काष्ठमण्डप’ नामैले भन्छ– यो काठैकाठले बनेको मण्डप हो । त्यही ‘मण्डप’ शब्द अपभ्रंश हुँदै ‘मरु’ बन्न गयो । ‘मरु’ बाटै उक्त सत्तलको नाम मरु सतः, टोलको नाम मरु टोल, सँगैको गणेश मरु गणेश, अलि परको हिटी मरुहिटी, छेउकै बही मरुबही बन्न पुग्यो । ‘मरु’ शब्दको शक्ति यसले जनाउँछ । सिंगो ‘काष्ठमण्डप’ बाट ‘काठमाडौं’ बन्न गयो, जो देशकै राजधानी सहर बन्यो ।

भनिन्छ, काष्ठमण्डप पूरा एउटै रूखको काठबाट बनेको स्मारक हो । किंवदन्ती भन्छ– काष्ठमण्डप बनाउन जुन रूखको काठ प्रयोग भएको हो, त्यसलाई कल्पवृक्ष भनिन्छ । रूख यति विशाल थियो कि त्यसको हाँगा एक किलोमिटरसम्म फैलिएको थियो । तत्कालीन काठमाडौंमा हरिसिद्धिको जात्रा हेर्न कल्पवृक्ष पनि मान्छेको रूप धारण गरेर आएका रहेछन् । मान्छेको रूपमा आएका कल्पवृक्षलाई भीडले चिनेन, तर एक तान्त्रिकले चिने । त्यसपछि उनले कल्पवृक्षमाथि तारण लगाएर उनलाई हलचल गर्न नसक्ने बनाइदिए । आफ्नो वशमा आइसकेको कल्पवृक्षलाई तान्त्रिकले भने, ‘म यो ठाउँमा एउटा यस्तो स्मारक बनाउन चाहन्छु, जहाँ तेत्तिसकोटी देवताको बास होस्, त्यसका लागि आवश्यक काठ उपलब्ध गराइदिनुपर्‍यो ।’ कल्पवृक्ष उनको माग पूरा गर्न तयार भए । उनले आफ्नो एउटा बीउ छोडेर गए । त्यही बीउबाट उम्रेको वृक्ष काटेर तान्त्रिकले काष्ठमण्डप बनाए । काष्ठमण्डप बनाइसकेपछि तेत्तिसकोटी देवतालाई आह्वान गरी त्यहीं बास गराए । बासपछि उनले देवताहरूलाई काष्ठमण्डपको प्रतिष्ठा नसकुन्जेल फर्कन नपाइने वाचा गराए । काष्ठमण्डपको प्रतिष्ठाचाहिँ जुन दिन नुन र तेलको भाउ एउटै हुन्छ, त्यही दिन गर्ने भन्ने तय गरियो । तर, नुन र तेलको भाउ कहिल्यै समान भएन । त्यसैले अहिलेसम्म पनि काष्ठमण्डपको प्रतिष्ठा गरिएको छैन । र, तेत्तिसकोटी देवता पनि त्यहाँबाट फर्केका छैनन् भन्ने विश्वास गरिन्छ ।

...

२०७२ को भूकम्पमा काष्ठमण्डप ढलेपछि यसको पुनर्निर्माण सुरु गरियो । पुनर्निर्माण क्रममा परीक्षण गरियो– काष्ठमण्डपका काठहरू साँच्चै एउटै मात्र रूखबाट प्राप्त गरिएको थियो त ? तर, परीक्षणमा त्यस्तो देखिएन । काष्ठमण्डपमा साल, सल्ला, आँप र अग्राखका विभिन्न काठ प्रयोग भएको पाइयो ।

काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं वाग्मती प्रदेशसभाका सांसद राजेश शाक्यका अनुसार, काष्ठमण्डप निर्माणको सुरुमै यी विभिन्न जातका काठ प्रयोग गरिएका हुन् वा विभिन्न समयमा काष्ठमण्डपको जीर्णोद्धार हुँदा यी काठ घुसाइएका हुन्, यकिन भन्न सकिएको छैन । अहिलेसम्म थाहा भएअनुसार, काष्ठमण्डपको पुनर्निर्माण सत्रौं शताब्दीका राजा लक्ष्मीनरसिंह मल्ल अर्थात् प्रताप मल्लका बुबा (सन् १६२१–१६४१) बाट भएको थियो । अहिलेसम्म काष्ठमण्डपको तीन पटक जीर्णोद्धार गरिएको छ । काष्ठमण्डपमा विभिन्न कालखण्डका काठहरू प्रयोग गरिएको पनि परीक्षणबाट थाहा भएको छ ।

आश्चर्य के भने काष्ठमण्डपमा रहेका यी विभिन्न काठमध्ये पाँचौं शताब्दीको एक टुक्रा काठ पनि भेटिएको छ । बेलायतको डुराम विश्वविद्यालयले त्यसको परीक्षण गर्‍यो र त्यो पाँचौं शताब्दीको भएको पुष्टि गर्‍यो, तर त्यो कुन जातको काठ हो भन्ने अहिलेसम्म खुलेको छैन । वास्तुकलाविद् प्रा.डा. सुदर्शनराज तिवारीका अनुसार, काठको जात पत्ता नलागेर अहिले विदेशी पनि हैरान छन् । उक्त काठमा सिंहको जस्तो अनुहार कुँदिएको छ । परीक्षणबाट अझै काम लाग्ने प्रमाणित भएकाले पहिले जुन ठाउँमा त्यो काठ थियो, पुनः त्यही ठाउँमा मेथको रूपमा जडान गरिएको छ ।

यति मात्रै होइन, यो काठले एउटा अर्को पनि इतिहास रच्ने तयारी गरिरहेको छ । यो संसारकै सबैभन्दा पुरानो बुट्टा कुँदिएको काठ हुन सक्ने सम्भावना प्रबल छ । योभन्दा पुरानो बुट्टावाल काठ विश्वमा कहीं छ कि भनेर डुराम विश्वविद्यालय अहिले खोजी कार्यमा लागिरहेको पनि संयोजक शाक्यले बताए । तर, अहिलेसम्म योभन्दा पुरानो अर्को बुट्टावाल काठ भेटिएको छैन ।

अहिले काष्ठमण्डपलाई चाहिने काठ ल्याउने जिम्मेवारी पनि संयोजक शाक्यकै काँधमा आएको छ । काष्ठमण्डपको पूरा संरचनामा ९० प्रतिशत काठ मात्रै प्रयोग गरिएको छ भने १० प्रतिशत मात्रै विभिन्न आकार र नापका इँटाहरू प्रयोग गरिएको छ ।

एउटा सिंगो काष्ठमण्डप बनाउन १७ हजार ५०८ क्युफिट काठ चाहिने अनुमान छ । यसका लागि करिब १८०० देखि २००० वटा रूख काट्नुपर्ने देखिन्छ । एउटै काठ ३२ फिट अग्लो चाहिने भएकाले चिरानको समस्या आइरहने शाक्य बताउँछन् । काठका लागि सुरुमा टिम्बर कर्पोरेसनसँग सहमति भएको थियो । तर, अहिले कर्पोरेसनले काठ दिन नसकेकाले अनेक राजनीतिक तनाव आइपरेको बताउँछन् पुनर्निर्माण समितिका सचिव गौतम डंगोल ।

काष्ठमण्डपका लागि काठ ल्याउन गरिएका प्रपञ्च कम्ता रोचक छैनन् । काष्ठमण्डपलाई आवश्यक काठ काठमाडौं उपत्यकामा पाइँदैन, २ नम्बर प्रदेशका जंगलतिर जानुपर्ने हुन्छ । तर, नेपालको वनसम्बन्धी कानुनका कारण कसैलाई चाहियो भन्दैमा जंगलको रूख जथाभावी काट्न पाइँदैन । बुझ्दै जाँदा वन मन्त्रालयबाट के थाहा पाइयो भने भारतबाट बिजुली ल्याउन र भारतमा बिजुली पठाउन ४०० केभीको प्रसारण लाइन जोड्नका लागि रौतहटको जंगलमा केही रूख काट्ने तयारी हुँदै छ । तर, ४०० केभीको प्रसारण लाइन ल्याउने योजना मात्रै रहेछ, मन्त्रिपरिषद्बाट निर्णय भने हुन पाएको रहेनछ । काष्ठमण्डप पुनर्निर्माणका पदाधिकारीहरूले उक्त प्रसारण लाइनको फाइल नै मन्त्रिपरिषद् पुर्‍याएर त्यसलाई पारित गर्ने काम पनि गरायो । त्यो पारित भएपछि रूख काट्न सुरु भयो । त्यही रूख आवश्यक गोलाइमा कटान गरी काठमाडौं ल्याइयो । रूख कटानपछि त्यहाँ प्रसारण लाइनको पोल पनि गाड्न सुरु भयो ।

त्यस्तै भारतको रक्सौलबाट नेपालको अमलेखगन्जसम्म पेट्रोलको पाइप लाइन बिछ्याउन पनि नेपालको जंगलमा केही रूख काटिएको थियो । त्यो रूख पनि काष्ठमण्डपमै प्रयोग गर्न काठमाडौं ल्याइएको छ । त्यसरी नै धनगढीमा टनकपुरको पानी प्रयोग गर्न महाकाली नदीमा सिँचाइको काम पनि भइरहेको छ । त्यसका लागि पनि केही रूख काटिएको थियो । त्यो पनि काष्ठमण्डपमै जडान गरिएको छ । यसरी काष्ठमण्डप पुनर्निर्माणमा महोत्तरी, पर्सा, महाकाली, रौतहटको समेत काठ प्रयोग भएको छ । तर अहिलेसम्म काष्ठमण्डपकै लागि भनेरचाहिँ एउटै पनि रूख काटिएको छैन ।

संयोजक शाक्य भन्छन्, ‘काठ पाएर मात्र पनि के गर्नु, २ नम्बर प्रदेशको काठ ३ नम्बर प्रदेशलाई दिन मिल्छ कि मिल्दैन भनेर अर्को बखेडा पनि निस्क्यो । त्यसलाई पूर्वमन्त्री राजेन्द्र महतोले हल गरिदिनुभयो ।’ काठमाडौंका संयोजक शाक्य अक्सर जानुपर्ने त प्रदेश राजधानी हेटौंडा हो, तर उनी त्योभन्दा बढी पुगिरहेका हुन्छन् जनकपुर । ‘के गर्नु, काठको खातिर..,’ उनी भन्छन् । जनकपुर हुँदै ल्याइने मकवानपुरको सःमिलमा काठलाई नापअनुसार कटान गर्ने र काठमाडौं पठाउने उनको काम हो । काठमाडौंको कालभैरव अगाडिको पुरानो जिल्ला प्रहरी कार्यालय अहिले काष्ठमण्डपको काठमा बुट्टा कुँद्ने ‘वर्कशप’ बनिरहेको छ । बाहिरबाट आउने काठहरू जम्मै अहिले यहीं स्टोर गरिएको छ ।

सातौं शताब्दीमा काष्ठमण्डप निर्माण हुँदा त्यहाँ प्रयोग गर्न ल्याइएको काठ हाल कुमारी घर रहेको एउटा बहालमा स्टोर गरी राखिएको थियो । उक्त विहारको खास नाम श्रीखण्ड तरुमुल महाविहार हो । तर, काष्ठमण्डप बनाउन ल्याइएका काठमा मुढाहरू मात्र राख्दाराख्दै विहारको नामै परिवर्तन भई ‘सिंखंमू बहाः’ बन्न पुग्यो, ‘सिंखंमू’ अर्थात ‘काठको डंगुर’ । उक्त विहारका प्रमुख थिए, तान्त्रिक लीलावज्र वज्राचार्य । संस्कृतिविद् यज्ञमानपति वज्राचार्यका अनुसार, काष्ठमण्डप बनाउने तान्त्रिक पनि अरू कोही नभई उनै लीलावज्र वज्राचार्य थिए ।

हाल भइरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले नै सम्पूर्ण खर्च व्यहोर्दै आइरहेको छ । पुनर्निर्माणमा धेरै नयाँ काठ प्रयोग भए, परीक्षण गर्दा सद्दे देखिएका पुराना काठ पनि प्रयोग गरिएको छ । त्यसपछि पनि बाँकी भएका काठ संकलन गरी अब एउटा म्युजियम बनाउने सोच रहेको योजना सुनाउँछन् सचिव डंगोल । सातौं सदीमा काष्ठमण्डप निर्माण गर्दा बाँकी भएको काठबाट अर्को एउटा पनि सत्तल बनाइएको किंवदन्ती पाइन्छ, जसको नाम हो ‘सिंल्यं सतः’, अर्थात् ‘बाँकी बचेको काठको सत्तल’ । त्यसपछि पनि बाँकी रहेको काठका टुक्राटाक्री जम्मै गाडेर त्यसमाथि एउटा डबली बनाइएको थियो, जसलाई ‘मरु दबू’ भनिन्छ । यदि काष्ठमण्डप जीर्णोद्धार गरी त्यसमा कुनै काठ फेर्नुपर्‍यो भने नयाँ काठ नराखी त्यही डबली खनेर त्यहींबाट काठ झिकेर प्रयोग गर्नुपर्छ भन्ने पनि कथन रहेको छ ।

काष्ठमण्डप पुनर्निर्माणलाई काठको खोजीमा भौंतारिँदा–भौंतारिँदै हैरान खाएका संयोजक शाक्य अब सरकारसमक्ष एउटा प्रस्ताव राख्ने तयारीमा छन् – काष्ठमण्डपका लागि अहिले जति रूख काटिएको हो, त्यसको दस दोब्बर हुने गरी नयाँ रूख रोप्ने । त्यो रूख अन्त होइन, यही नेपाल मण्डल भू–भागकै छेउछाउमा रोप्ने । ताकि अर्को सय वर्षपछि पुनः काष्ठमण्डप जीर्णोद्धार गर्नुपर्‍यो भने काठका लागि टाढा भौंतारिनु नपरोस् र काष्ठमण्डपकै लागि रोपिएको रूख हो भनी सजिलै उपलब्ध होस् । भन्छन्, ‘यसले सम्पदा पनि बचाउँछ, पर्यावरण पनि बचाउँछ ।’

प्रकाशित : वैशाख ११, २०७८ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×