काष्ठमण्डपको काष्ठ–कथा- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काष्ठमण्डपको काष्ठ–कथा

कल्पवृक्ष कति विशाल थियो भने त्यसको हाँगा एक किलोमिटरसम्म फैलिएको थियो ।
सुरेश किरण

२०७२ को भूकम्पमा यदि काष्ठमण्डप नढलेको भए त्यो उति सम्झनयोग्य भूकम्प नै हुने थिएन सायद । ठूला भूकम्पमा घर ढल्नु, मान्छे मर्नु स्वाभाविक हो । तर, काष्ठमण्डप नै ढल्नु बिर्सिनका लागि घटेको घटना होइन । काष्ठमण्डप ढलेकै कारण २०७२ को भूकम्प स्मरणीय रहने निश्चित छ ।

‘काष्ठमण्डप’ नामैले भन्छ– यो काठैकाठले बनेको मण्डप हो । त्यही ‘मण्डप’ शब्द अपभ्रंश हुँदै ‘मरु’ बन्न गयो । ‘मरु’ बाटै उक्त सत्तलको नाम मरु सतः, टोलको नाम मरु टोल, सँगैको गणेश मरु गणेश, अलि परको हिटी मरुहिटी, छेउकै बही मरुबही बन्न पुग्यो । ‘मरु’ शब्दको शक्ति यसले जनाउँछ । सिंगो ‘काष्ठमण्डप’ बाट ‘काठमाडौं’ बन्न गयो, जो देशकै राजधानी सहर बन्यो ।

भनिन्छ, काष्ठमण्डप पूरा एउटै रूखको काठबाट बनेको स्मारक हो । किंवदन्ती भन्छ– काष्ठमण्डप बनाउन जुन रूखको काठ प्रयोग भएको हो, त्यसलाई कल्पवृक्ष भनिन्छ । रूख यति विशाल थियो कि त्यसको हाँगा एक किलोमिटरसम्म फैलिएको थियो । तत्कालीन काठमाडौंमा हरिसिद्धिको जात्रा हेर्न कल्पवृक्ष पनि मान्छेको रूप धारण गरेर आएका रहेछन् । मान्छेको रूपमा आएका कल्पवृक्षलाई भीडले चिनेन, तर एक तान्त्रिकले चिने । त्यसपछि उनले कल्पवृक्षमाथि तारण लगाएर उनलाई हलचल गर्न नसक्ने बनाइदिए । आफ्नो वशमा आइसकेको कल्पवृक्षलाई तान्त्रिकले भने, ‘म यो ठाउँमा एउटा यस्तो स्मारक बनाउन चाहन्छु, जहाँ तेत्तिसकोटी देवताको बास होस्, त्यसका लागि आवश्यक काठ उपलब्ध गराइदिनुपर्‍यो ।’ कल्पवृक्ष उनको माग पूरा गर्न तयार भए । उनले आफ्नो एउटा बीउ छोडेर गए । त्यही बीउबाट उम्रेको वृक्ष काटेर तान्त्रिकले काष्ठमण्डप बनाए । काष्ठमण्डप बनाइसकेपछि तेत्तिसकोटी देवतालाई आह्वान गरी त्यहीं बास गराए । बासपछि उनले देवताहरूलाई काष्ठमण्डपको प्रतिष्ठा नसकुन्जेल फर्कन नपाइने वाचा गराए । काष्ठमण्डपको प्रतिष्ठाचाहिँ जुन दिन नुन र तेलको भाउ एउटै हुन्छ, त्यही दिन गर्ने भन्ने तय गरियो । तर, नुन र तेलको भाउ कहिल्यै समान भएन । त्यसैले अहिलेसम्म पनि काष्ठमण्डपको प्रतिष्ठा गरिएको छैन । र, तेत्तिसकोटी देवता पनि त्यहाँबाट फर्केका छैनन् भन्ने विश्वास गरिन्छ ।

...

२०७२ को भूकम्पमा काष्ठमण्डप ढलेपछि यसको पुनर्निर्माण सुरु गरियो । पुनर्निर्माण क्रममा परीक्षण गरियो– काष्ठमण्डपका काठहरू साँच्चै एउटै मात्र रूखबाट प्राप्त गरिएको थियो त ? तर, परीक्षणमा त्यस्तो देखिएन । काष्ठमण्डपमा साल, सल्ला, आँप र अग्राखका विभिन्न काठ प्रयोग भएको पाइयो ।

काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं वाग्मती प्रदेशसभाका सांसद राजेश शाक्यका अनुसार, काष्ठमण्डप निर्माणको सुरुमै यी विभिन्न जातका काठ प्रयोग गरिएका हुन् वा विभिन्न समयमा काष्ठमण्डपको जीर्णोद्धार हुँदा यी काठ घुसाइएका हुन्, यकिन भन्न सकिएको छैन । अहिलेसम्म थाहा भएअनुसार, काष्ठमण्डपको पुनर्निर्माण सत्रौं शताब्दीका राजा लक्ष्मीनरसिंह मल्ल अर्थात् प्रताप मल्लका बुबा (सन् १६२१–१६४१) बाट भएको थियो । अहिलेसम्म काष्ठमण्डपको तीन पटक जीर्णोद्धार गरिएको छ । काष्ठमण्डपमा विभिन्न कालखण्डका काठहरू प्रयोग गरिएको पनि परीक्षणबाट थाहा भएको छ ।

आश्चर्य के भने काष्ठमण्डपमा रहेका यी विभिन्न काठमध्ये पाँचौं शताब्दीको एक टुक्रा काठ पनि भेटिएको छ । बेलायतको डुराम विश्वविद्यालयले त्यसको परीक्षण गर्‍यो र त्यो पाँचौं शताब्दीको भएको पुष्टि गर्‍यो, तर त्यो कुन जातको काठ हो भन्ने अहिलेसम्म खुलेको छैन । वास्तुकलाविद् प्रा.डा. सुदर्शनराज तिवारीका अनुसार, काठको जात पत्ता नलागेर अहिले विदेशी पनि हैरान छन् । उक्त काठमा सिंहको जस्तो अनुहार कुँदिएको छ । परीक्षणबाट अझै काम लाग्ने प्रमाणित भएकाले पहिले जुन ठाउँमा त्यो काठ थियो, पुनः त्यही ठाउँमा मेथको रूपमा जडान गरिएको छ ।

यति मात्रै होइन, यो काठले एउटा अर्को पनि इतिहास रच्ने तयारी गरिरहेको छ । यो संसारकै सबैभन्दा पुरानो बुट्टा कुँदिएको काठ हुन सक्ने सम्भावना प्रबल छ । योभन्दा पुरानो बुट्टावाल काठ विश्वमा कहीं छ कि भनेर डुराम विश्वविद्यालय अहिले खोजी कार्यमा लागिरहेको पनि संयोजक शाक्यले बताए । तर, अहिलेसम्म योभन्दा पुरानो अर्को बुट्टावाल काठ भेटिएको छैन ।

अहिले काष्ठमण्डपलाई चाहिने काठ ल्याउने जिम्मेवारी पनि संयोजक शाक्यकै काँधमा आएको छ । काष्ठमण्डपको पूरा संरचनामा ९० प्रतिशत काठ मात्रै प्रयोग गरिएको छ भने १० प्रतिशत मात्रै विभिन्न आकार र नापका इँटाहरू प्रयोग गरिएको छ ।

एउटा सिंगो काष्ठमण्डप बनाउन १७ हजार ५०८ क्युफिट काठ चाहिने अनुमान छ । यसका लागि करिब १८०० देखि २००० वटा रूख काट्नुपर्ने देखिन्छ । एउटै काठ ३२ फिट अग्लो चाहिने भएकाले चिरानको समस्या आइरहने शाक्य बताउँछन् । काठका लागि सुरुमा टिम्बर कर्पोरेसनसँग सहमति भएको थियो । तर, अहिले कर्पोरेसनले काठ दिन नसकेकाले अनेक राजनीतिक तनाव आइपरेको बताउँछन् पुनर्निर्माण समितिका सचिव गौतम डंगोल ।

काष्ठमण्डपका लागि काठ ल्याउन गरिएका प्रपञ्च कम्ता रोचक छैनन् । काष्ठमण्डपलाई आवश्यक काठ काठमाडौं उपत्यकामा पाइँदैन, २ नम्बर प्रदेशका जंगलतिर जानुपर्ने हुन्छ । तर, नेपालको वनसम्बन्धी कानुनका कारण कसैलाई चाहियो भन्दैमा जंगलको रूख जथाभावी काट्न पाइँदैन । बुझ्दै जाँदा वन मन्त्रालयबाट के थाहा पाइयो भने भारतबाट बिजुली ल्याउन र भारतमा बिजुली पठाउन ४०० केभीको प्रसारण लाइन जोड्नका लागि रौतहटको जंगलमा केही रूख काट्ने तयारी हुँदै छ । तर, ४०० केभीको प्रसारण लाइन ल्याउने योजना मात्रै रहेछ, मन्त्रिपरिषद्बाट निर्णय भने हुन पाएको रहेनछ । काष्ठमण्डप पुनर्निर्माणका पदाधिकारीहरूले उक्त प्रसारण लाइनको फाइल नै मन्त्रिपरिषद् पुर्‍याएर त्यसलाई पारित गर्ने काम पनि गरायो । त्यो पारित भएपछि रूख काट्न सुरु भयो । त्यही रूख आवश्यक गोलाइमा कटान गरी काठमाडौं ल्याइयो । रूख कटानपछि त्यहाँ प्रसारण लाइनको पोल पनि गाड्न सुरु भयो ।

त्यस्तै भारतको रक्सौलबाट नेपालको अमलेखगन्जसम्म पेट्रोलको पाइप लाइन बिछ्याउन पनि नेपालको जंगलमा केही रूख काटिएको थियो । त्यो रूख पनि काष्ठमण्डपमै प्रयोग गर्न काठमाडौं ल्याइएको छ । त्यसरी नै धनगढीमा टनकपुरको पानी प्रयोग गर्न महाकाली नदीमा सिँचाइको काम पनि भइरहेको छ । त्यसका लागि पनि केही रूख काटिएको थियो । त्यो पनि काष्ठमण्डपमै जडान गरिएको छ । यसरी काष्ठमण्डप पुनर्निर्माणमा महोत्तरी, पर्सा, महाकाली, रौतहटको समेत काठ प्रयोग भएको छ । तर अहिलेसम्म काष्ठमण्डपकै लागि भनेरचाहिँ एउटै पनि रूख काटिएको छैन ।

संयोजक शाक्य भन्छन्, ‘काठ पाएर मात्र पनि के गर्नु, २ नम्बर प्रदेशको काठ ३ नम्बर प्रदेशलाई दिन मिल्छ कि मिल्दैन भनेर अर्को बखेडा पनि निस्क्यो । त्यसलाई पूर्वमन्त्री राजेन्द्र महतोले हल गरिदिनुभयो ।’ काठमाडौंका संयोजक शाक्य अक्सर जानुपर्ने त प्रदेश राजधानी हेटौंडा हो, तर उनी त्योभन्दा बढी पुगिरहेका हुन्छन् जनकपुर । ‘के गर्नु, काठको खातिर..,’ उनी भन्छन् । जनकपुर हुँदै ल्याइने मकवानपुरको सःमिलमा काठलाई नापअनुसार कटान गर्ने र काठमाडौं पठाउने उनको काम हो । काठमाडौंको कालभैरव अगाडिको पुरानो जिल्ला प्रहरी कार्यालय अहिले काष्ठमण्डपको काठमा बुट्टा कुँद्ने ‘वर्कशप’ बनिरहेको छ । बाहिरबाट आउने काठहरू जम्मै अहिले यहीं स्टोर गरिएको छ ।

सातौं शताब्दीमा काष्ठमण्डप निर्माण हुँदा त्यहाँ प्रयोग गर्न ल्याइएको काठ हाल कुमारी घर रहेको एउटा बहालमा स्टोर गरी राखिएको थियो । उक्त विहारको खास नाम श्रीखण्ड तरुमुल महाविहार हो । तर, काष्ठमण्डप बनाउन ल्याइएका काठमा मुढाहरू मात्र राख्दाराख्दै विहारको नामै परिवर्तन भई ‘सिंखंमू बहाः’ बन्न पुग्यो, ‘सिंखंमू’ अर्थात ‘काठको डंगुर’ । उक्त विहारका प्रमुख थिए, तान्त्रिक लीलावज्र वज्राचार्य । संस्कृतिविद् यज्ञमानपति वज्राचार्यका अनुसार, काष्ठमण्डप बनाउने तान्त्रिक पनि अरू कोही नभई उनै लीलावज्र वज्राचार्य थिए ।

हाल भइरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले नै सम्पूर्ण खर्च व्यहोर्दै आइरहेको छ । पुनर्निर्माणमा धेरै नयाँ काठ प्रयोग भए, परीक्षण गर्दा सद्दे देखिएका पुराना काठ पनि प्रयोग गरिएको छ । त्यसपछि पनि बाँकी भएका काठ संकलन गरी अब एउटा म्युजियम बनाउने सोच रहेको योजना सुनाउँछन् सचिव डंगोल । सातौं सदीमा काष्ठमण्डप निर्माण गर्दा बाँकी भएको काठबाट अर्को एउटा पनि सत्तल बनाइएको किंवदन्ती पाइन्छ, जसको नाम हो ‘सिंल्यं सतः’, अर्थात् ‘बाँकी बचेको काठको सत्तल’ । त्यसपछि पनि बाँकी रहेको काठका टुक्राटाक्री जम्मै गाडेर त्यसमाथि एउटा डबली बनाइएको थियो, जसलाई ‘मरु दबू’ भनिन्छ । यदि काष्ठमण्डप जीर्णोद्धार गरी त्यसमा कुनै काठ फेर्नुपर्‍यो भने नयाँ काठ नराखी त्यही डबली खनेर त्यहींबाट काठ झिकेर प्रयोग गर्नुपर्छ भन्ने पनि कथन रहेको छ ।

काष्ठमण्डप पुनर्निर्माणलाई काठको खोजीमा भौंतारिँदा–भौंतारिँदै हैरान खाएका संयोजक शाक्य अब सरकारसमक्ष एउटा प्रस्ताव राख्ने तयारीमा छन् – काष्ठमण्डपका लागि अहिले जति रूख काटिएको हो, त्यसको दस दोब्बर हुने गरी नयाँ रूख रोप्ने । त्यो रूख अन्त होइन, यही नेपाल मण्डल भू–भागकै छेउछाउमा रोप्ने । ताकि अर्को सय वर्षपछि पुनः काष्ठमण्डप जीर्णोद्धार गर्नुपर्‍यो भने काठका लागि टाढा भौंतारिनु नपरोस् र काष्ठमण्डपकै लागि रोपिएको रूख हो भनी सजिलै उपलब्ध होस् । भन्छन्, ‘यसले सम्पदा पनि बचाउँछ, पर्यावरण पनि बचाउँछ ।’

प्रकाशित : वैशाख ११, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्

आगोको कथा : लप्काको लामो यात्रा

आगो प्राप्तिपछि संसारकै कायाकल्प भयो । मान्छेको साथ लागेर आगोले संसार विचरण गर्‍यो । र, उसले आफ्नो चरित्र बदल्यो । मान्छेलाई मुक्ति दियो, मान्छेले आगोको आयाम बदल्यो । कालान्तरमा दुवै एक अविभाज्य शक्ति बने । अन्तत: मानवता र आगो एकअर्काका परिपूरक देखिए ।
विकास बस्नेत

भुइँचालोका देउता माफुईसँग पाताल लोकमा निरन्तर बलिरहने आगो थियो । यता मत्र्यलोकका प्राणी भने आगोविहीन थिए । किशोर टिइइटीका बाबु तालङ्गा र माफुई देउताको दोस्ती थियो ।

तालङ्गा प्रत्येक दिन घरबाट निस्केर पाताल लोकमा काम गर्न जान्थ्यो । एक दिन ऊ लुसुक्क पिताको पछि लाग्यो । पिता पाताल लोकमा माफुईको खेतबारीको काममा व्यस्त थियो । भित्रको वातावरण धूवाँले भरिएको थियो । छोरोले प्रश्न गर्‍यो, ‘बा, यो के हो ?’ अकस्मात् छोरोलाई पाताल लोकमा देखेर तालङ्गा डरायो । ‘यो धूवाँ हो, माफुईको आगोबाट निस्केको,’ पिताले भन्यो, ‘तँ यहाँबाट गइहाल्, देउता रिसाए भने तँलाई सर्लक्कै निल्छन् ।’

टिइइटीले मत्र्यलोकमा पनि आगो लिएर जाने प्रस्ताव राख्यो । तर, पिता डरायो । टिइइटी आफैं माफुईसामु उपस्थित भयो– आगो माग्न । माफुईले केटोलाई आगो दियो । त्यो आगोमा पिँडालु पोलेर खान खोज्दा भुइँचालो उत्पन्न गरी माफुईले चुलोको ढुङ्गो र पिँडालु छरपष्ट पारिदियो ।

त्यसपछि दुईबीच भयानक युद्ध भयो । अन्त्यमा टिइइटीले माफुईको हात भाँचिदियो । त्यसपछि माफी माग्दै माफुईले टिइईटीसामु आफ्नो देब्रे हातचाहिँ नभाँचिदिन आग्रह गर्‍यो । टिइइटीले माफी दिने, तर बदलामा आफूले मागेको चिज पाउनुपर्ने प्रस्ताव राख्यो । माफुईले टिइइटीलाई सयवटी श्रीमती दिन्छु भन्यो । टिइइटीले अस्वीकार गर्‍यो ।

हार खाएर माफुईले टिइइटीलाई मत्र्यलोकमा पनि आगो बाल्ने तरिका सिकाइदिने वाचा गर्‍यो । माफुईले भन्यो, ‘सृष्टिकर्ता ईश्वरले पृथ्वीको रचना गरेपछि आगोलाई विभिन्न रूखहरूमा लुकाएर राखेका छन् । तिनै रूखका काठहरू एक–आपसमा घोटेर आगो निकाल्न सकिन्छ ।’

र, माफुईले आगो लुकाइएका रूखहरूको नाम बतायो । त्यसउप्रान्त पृथ्वीमा सबैका लागि आगो प्राप्य भयो । (जेम्स जर्ज फ्रेजर, मिथ्स अफ द ओरिजिन अफ फायर) ।

माथि लेखिएको लोककथा सामोआ द्वीपका आदिवासीहरूमा निकै प्रचलित छ, जहाँ अझै पनि दाउराको घर्षणबाट आगो निकाल्ने परम्परागत तरिका फाट्टफुट्ट प्रचलनमा छ ।

०००

आरम्भदेखि नै आगोमा विनाशकारी–रचनात्मक शक्ति दुवै देखेको र यसको अपार शक्तिसामु निरीह बनेको मान्छेले मिथकहरूमा आगोको एकाधिकार ईश्वर वा अन्य अपराजेय शक्तिको जिम्मा लगाएको छ । जिम्बावेका बा इला, नाइजेरियाको इकोइ, प्राचीन ग्रीक, अमेरिकाका कारोक आदिवासी, युरोपको नर्मान्डीलगायत ठूलो समुदायमा प्रचलित मिथकहरूमा आगो ईश्वरको कब्जामा थियो । यस्ता थुप्रै संस्कृतिले ईश्वर वा त्यसका समकक्षी सत्ताहरूबाट आगो चोर्ने, खोस्ने, छक्याएर हात पार्ने सांस्कृतिक नायक वा चलाख पात्र जन्माएको छ । ग्रीक कथाका प्रमिथसदेखि न्युजिल्यान्डका माओरी जातिका माउवी आगो चोरेर/खोसेर मानवतालाई उन्मुक्त पार्ने त्यस्तै सांस्कृतिक नायक हुन् ।

त्यसैले आगोको तृष्णा शक्तिको तृष्णा हो । आगोको प्राप्ति शक्तिको प्राप्ति हो । प्रचलित मिथकहरू आगो–प्राप्ति र यसको नियन्त्रित प्रयोगको चरणबद्ध इतिहासलाई मानिसले आफ्नो कल्पनाशीलताले सजाएका मौखिक दस्तावेज हुन् ।

मिथकहरू भन्छन्– आरम्भमा आगो थिएन । मेक्सिकोका सिया, न्युगिनीका मासिङ्गारा, क्यारोलिन टापुका याप, बर्माका काचिललगायत सयौं आदिवासी समुदायका मिथकमा आरम्भमा दुनियाँ आगोविहीन थियो । पपुवा न्युगिनीनजिक रहेको टापुका आदिवासीहरूको मिथकअनुसार, एक बूढीआमाले सूर्य–चन्द्र र आगोलाई जन्म दिएकी हुन् ।

मानिसहरू भन्छन्, जीवन नै आगोको पूर्वसर्त हो । तर, जीवनचाहिँ आगोबिना पनि सम्भव छ । जलचरको विविधता हेरे त्यो पुष्टि हुन्छ । तर, जीवनबिना आगोचाहिँ सम्भव थिएन । मिथकको संकेतझैं यो धरतीमा जीवनले नै आगो जन्मायो र कालान्तरमा आगोले जीवनको गोरेटो बदल्यो ।

आगोको जन्म

आदिम धरती आगोविहीन थियो । आगो बल्न आवश्यक तीन सरजाम एकसाथ जुट्न जरुरी हुन्छ । पहिलो अक्सिजन, दोस्रो इन्धन र तेस्रो ताप । आगो अध्येताहरू यी तीन चिजलाई अग्नि–त्रिकोण भन्छन् । इन्धनका रूपमा रहेको हाइड्रोकार्बनसँग अक्सिजनको शृंखलाबद्ध रासायनिक प्रतिक्रिया नै आगो हो । यो प्रक्रियामा ताप, प्रकाश र अन्य रसायन उत्सर्जन हुन्छ । बलेको आगो निभाउन पानी वा कार्बनडाइअक्साइडको प्रयोग वा आगोलाई छोपेर अक्सिजनको आपूर्ति बन्द गराएर आगो निभाएका उदाहरणले आगो बल्ने रासायनिक प्रक्रियामा अक्सिजनको महत्त्व पुष्टि गर्छ ।

पृथ्वीमा यी तीन चिज एकसाथ जुट्न निकै लामो समय लाग्यो । अग्नि–त्रिकोणका आवश्यक तीन चिजमध्ये आरम्भमा चट्याङ, चट्टानहरूको घर्षण तथा ज्वालामुखीय गतिविधिबाट उत्पन्न हुने तापको स्रोत मात्रै पर्याप्त थियो । तर, रासायनिक प्रतिक्रियाका लागि आवश्यक अक्सिजन र इन्धनका रूपमा रहेको वनस्पति थिएनन् । आरम्भ र उद्विकासको लामो कालसम्म जीवहरूले ऊर्जा दोहनका लागि अक्सिजन प्रयोग गर्दैनथे । बरु अक्सिजन तिनका लागि विषाक्त वायु थियो ।

तर, दुई अर्ब वर्षअगाडि सायनोब्याक्टेरियाको उद्विकास भयो । यसले सूर्यको प्रकाशको उपस्थितिमा ऊर्जादोहन गर्न थाल्यो र ‘बाइप्रडक्ट’ का रूपमा अक्सिजन वायुमण्डलमा छाड्न थाल्यो । यसलाई ‘ग्रेट अक्सिडेसन इभेन्ट’ भनिन्छ । दुई अर्ब वर्षअघिदेखि वायुमण्डलमा जम्मा हुन थालेको अक्सिजनको पछिल्लो ४५ करोड वर्षअघि आएर मात्रै आगो बल्न सक्ने गरी पर्याप्त मात्रा पुग्यो । अहिले पृथ्वीको वायुमण्डलमा यसको २१ प्रतिशतको सन्तुलन विन्दुमा छ । वायुमण्डलमा १५ प्रतिशतभन्दा कम अक्सिजन भएमा पृथ्वीमा आगोको फिलिङ्गोसम्म जुर्ला तर त्यो टिक्न सक्दैन । अक्सिजनको तह ३५ प्रतिशतभन्दा ज्यादा भएमा आगोले आफू बल्न चाहिने इन्धन नै बाँकी नराखी सबै सोत्तर पार्न सक्छ ।

आगो बल्न आवश्यक इन्धन अर्थात् जमिनमा वनस्पतिको उद्विकास र विस्तार ४५ देखि ४२ करोड वर्षअघि मात्रै भएको हो(द इमरल्ड प्लानेट, डेभिड बियरलिङ) । यसअघि पानीको स्रोतको किनारमा परेर सुेकेको लेउ वा झ्याउ तापको संसर्गमा आउँदा यदाकदा आगोको झिल्को उठ्यो होला । तर, त्यो फिलिङ्गो हामीले बुझे–जानेको आगोको एकछेउ पनि थिएन ।

यसरी पानीबाट निस्किएर बिस्तारै किनारको जमिन ढाक्दै गरेको आदिम वनस्पतिबाट सिर्जित इन्धनको पहिलो लट, वायुमण्डलमा जीवनले नै सञ्चित गरेको पर्याप्त अक्सिजनको तह र ताप/झिल्को अर्थात् अग्नि–त्रिकोणका सामग्री करिब ४२ करोड वर्षपहिले एकैसाथ जुट्न पुग्यो । त्यही क्षण पहिलो पटक पृथ्वीमा आगोको ज्वाला दन्किएको हुनुपर्छ । पुरातात्त्विक अवशेष र अन्य प्रमाणले यसै भन्छन् । यही समयकालमा बनेको पत्रे चट्टानमा फेलापरेको अंगारको अवशेषले यसको पुष्टि गर्छ । (फायर : नेचर एन्ड कल्चर, स्टेफेन जे. पायने) । त्यसयता पृथ्वीमा आगोको सघनता, शक्ति र फैलावटमा प्रशस्तै उतारचढाव आए पनि आगो धरतीबाट पलायन भने भएन ।

धरती आगोमय भएको लामो समयपछि आफूखुसी आगो बाल्न र निभाउन सक्ने विशिष्ट प्राणीको रूपमा मान्छे आइपुग्यो । यससँगै ताप सिर्जना गरेर आगो बाल्न सक्ने प्रकृतिको एकाधिकार सकियो । अगुल्टो बोकेर मानिसले दुनियाँ कब्जा गर्‍यो । मान्छेको साथ लागेर आगोले दुनियाँ ढाक्यो ।


प्रमिथसहरू

वृहस्पतिमा चट्याङ चल्छ, मंगलमा फ्रि–अक्सिजनको अंश छ, शनिको चन्द्रमा टाइटानमा मिथेनमा आधारित इन्धन पनि छ । तर, यी तिनै चिजको अद्भुत संयोगचाहिँ पृथ्वीमा मात्रै छ । त्यसैले पृथ्वी आगो बल्ने विशिष्ट ग्रह हो । धरती आगोमय भएको लामो समयपछि आफूखुसी आगो बाल्न र निभाउन सक्ने एक्लो विशिष्ट प्राणीको रूपमा मान्छे आइपुग्यो । यससँगै ताप सिर्जना गरेर आगो बाल्न सक्ने प्रकृतिको एकाधिकार सकियो । धरतीको एक सामान्य रासायनिक प्रतिक्रिया मान्छेको बेचैन हातमा पुगेपछि धरतीकै स्वरूप बदल्ने शक्तिशाली औजार बन्यो । अगुल्टो बोकेर मानिसले दुनियाँ कब्जा गर्‍यो । मान्छेको साथ लागेर आगोले दुनियाँ ढाक्यो ।

तर, पृथ्वीमा आगोको आरम्भ ठ्याक्कै कहिले र कसरी भयो, ठोस प्रमाण छैन । आफूभन्दा निकै जेठो आगोबारे मान्छे पक्कै सचेत थियो । प्राकृतिक रूपमा सल्केको आगोबाट मान्छेले आफ्नो प्रजातिको शैशवकालदेखि नै फाइदा लिएको हुन सक्ने प्रमाण पर्याप्त छन् । तर, यसको नियन्त्रण र व्यवस्थित प्रयोग भने थुप्रै चरण पार गरेर आएको हुनुपर्छ ।

ज्ञान/विवेक, सामाजिक व्यवहार र शारीरिक संरचनाको निश्चित मात्राको संयोग मिलेपछि मात्रै आगोसँग मान्छेको सचेत सम्बन्धको आरम्भ भएको हुनुपर्छ (फ्रान्सेस डी बुर्टन, फायर : द स्पार्क द्याट इग्नाइटेड ह्युमन इभोलुसन) । आगोको महत्त्व बुझ्न सक्ने मानसिक क्षमता, यसलाई व्यवहारमा उतार्न सक्ने सीप, त्यो सीपलाई अर्काे पुस्तामा हस्तान्तरण गर्न सक्ने सांस्कृतिक–शारीरिक क्षमताको विकास (दुई खुट्टामा उभिएर हिँड्न सक्ने क्षमता) जस्ता आधारभूत सर्त पूरा नभई मानिसले आगोको सचेत र नियन्त्रित प्रयोग गर्न भने सकेन ।

फैलिँदो घाँसे मैदान, बदलिँदो भूगोल र पर्यावरणले करिब ७० लाख वर्षअघिदेखि अफ्रिकामा पर्याप्त डढेलो लाग्न थालेको थियो (बर्निङ प्लानेट, एन्ड्रयु सी स्कट) । यही समयदेखि नै मानव पुर्खा र आगोबीच बाक्लो सम्बन्धको आरम्भ भएको हुनुपर्छ । आरम्भमा डढेलोको आगोमा ‘मौका छोपेर’ मान्छेले आफ्नो भोक मेटेको हुनुपर्छ । डढेलोमा पोलिएका प्राणी, बाफिएका/पाकेका फल मात्रै होइन, आगोमा फसेका जनावरलाई घेरा हालेर सिकार गर्ने मौकाका रूपमा मानिस र आगोको सम्बन्ध आरम्भ भएको हुनुपर्छ । डढेलोलाई अझै पनि धेरैले प्राणी–सिकारको अवसरका रूपमा प्रयोग गर्छन् ।

२६ लाखदेखि पछिल्लो १० लाख वर्ष मानव उद्विकासको अर्काे महत्त्वपूर्ण संक्रमणकाल थियो । यही कालखण्डमा मान्छेले ढुङ्गाको औजार प्रयोग गर्न थाल्यो । होमो ‘जिनस’ भित्रको पहिलो प्रजातिको उद्विकास भयो । यो कालखण्डका पर्याप्त जीवाश्मा र पुरातात्त्विक प्रमाणले तिनको शारीरिक संरचना, व्यवहार र संस्कृतिको आकलन गर्न सक्ने बनायो । प्राप्त जीवाश्माको शारीरिक संरचना र पुरातात्त्विक प्रमाणले पनि यही समयमा मान्छेले आगोको नियन्त्रित प्रयोग गर्न थालेको देखाउँछ ।

नभन्दै दक्षिण अफ्रिकाको वन्डररेक गुफामा करिब १० लाख वर्षपहिलेको आगोको नियन्त्रित प्रयोगको पहिलो अकाट्य प्रमाण फेलापरेको छ (टाइम, जुन १, २०१८) । केन्याको स्वार्तक्रान्स गुफामा १५ लाख वर्षअघि नै आगोको नियन्त्रित प्रयोगको संकेत मिलेको छ । यहीकालका पुष्टि भएका अन्य छिटफुट प्रमाणमा मानव पुर्खाको शिविरको अँगेनो (वा यस्तै संरचना) मा डढेर रातो र कडा भएको माटो (चेसोवान्जा, केन्या) अँगेनोमा डढेको ढुङ्गो (इथियोपिया) तथा पकाउने क्रममा डढेको वनस्पतिको अवशेष (कोबी फोरा, केन्या) रहेका छन् । तर, यी प्रमाण आगोको नियन्त्रित प्रयोग नै हो भन्नेमा सबैको मतैक्यता भने छैन ।

त्यस समय अफ्रिकाबाट निस्किएर एसियाको ठूलो क्षेत्रमा विस्तार भएको होमो–इरेक्टस्को समय थियो । त्यसैले अधिकांश विज्ञहरू करिब १९ लाख वर्षअघि अफ्रिकामा उद्विकास भएको होमो–इरेक्टस्लाई नै आगोको प्रथम नियन्त्रित प्रयोगको जस दिन्छन् । अफ्रिकाको बृहत् भूगोल र बाटाका भौगोलिक कठिनाइ छिचोल्दै युरेसियाको उत्तरी क्षेत्रको विषम पर्यावरणमा फैलन उसलाई यही आगोले सघाएको हुनुपर्छ । चीनमा पनि होमो–इरेक्टस्ले आगोको प्रयोग गरेको प्रमाणले समेत आगोसँग उसको नियन्त्रित सम्बन्धको पुष्टि गर्छ ।

तर, आगो उसको एकल प्रयास भने थिएन । औजार निर्माणदेखि आगोको नियन्त्रित प्रयोगसम्मको ‘टुल किट’ निर्माण लाखौं वर्षको सामूहिक कर्म थियो । ज्ञानको संग्रह गर्ने, त्यसलाई सुधार्ने र त्यो विरासतलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने लामो सामाजिक–सामूहिक कदमको एक खुड्किलो थियो– इरेक्टस्ले प्राप्त गरेको आगोको नियन्त्रित प्रयोगको आरम्भ । त्यसैले मिथकहरूले प्रमिथसजस्ता एक्लो नायक मात्रै जन्माएको छैन । तिनले आगो प्राप्तिको सामूहिक कर्मलाई समेत इंगित गरेका छन् । अमेरिकाका चेरेके आदिवासीमा प्रचलित कथाअनुसार काग, उल्लु, मान्छे, सर्प र माकुरो मिलेर आगो ल्याएका हुन् । मेक्सिकोका कोरा आदिवासीका अनुसार, आकाशमा रहेको आगो मान्छे एक्लैले ल्याउन नसकेपछि उसले जंगलका सबै प्राणीलाई सहयोगका लागि आग्रह गर्‍यो । यसक्रममा कागलगायत धेरै प्राणीले शहादत प्राप्त गरे । कोलम्बिया, थाइल्यान्ड, न्युगिनी, अस्ट्रेलियालगायत मुलुकका धेरै समुदायमा आगो प्राप्तिको सामूहिक कर्मलाई देखाउने पर्याप्त मिथक छन् ।

मान्छेको कायाकल्प

धेरै मिथकमा आगो मानवताको सर्जक हो । यसले मान्छेको शारीरिक संरचनामा घन–छिनो चलायो र संस्कृति–व्यवहारलाई आकार दियो । सबैभन्दा पहिले आगोले अगुल्टो बोक्नेलाई नै बदल्यो । आगोले पकाउन सिकायो । पकाउने कर्मले दाउरा, ढुुङ्गा, धातु वा आगोको नियन्त्रित प्रयोगका लागि आवश्यक अन्य सरजाम जुटाउन लगायो । यसले मानिसको शारीरिक स्वरूपदेखि उसको सांस्कृतिक व्यवहार र सामाजिक जीवनमा अद्वितीय परिवर्तन आयो ।

अन्नपात पाक्नु भनेको असामान्य नतिजा दिने सामान्य प्रक्रिया हो । पाकेको अन्नपातले त्यसको पोषण र स्वाद बढाउँछ । यसले खाद्यान्नमा रहेको हाइड्रोकार्बनको थुप्रोलाई शारीरिक ऊर्जामा बदलिदिन्छ । अन्नमा भएको स्टार्चलाई पाचनयोग्य बनाउँछ । यसले खाद्यान्नमा रहेको हानिकारक तत्त्व नष्ट पार्छ, अखाद्य रसायन निस्तेज बनाउँछ, किटाणु र परजीवी नष्ट पार्छ र थुप्रै अखाद्य ‘बायोमास’लाई शरीरका लागि आवश्यक ऊर्जा दोहन गर्न योग्य बनाउँछ । काँचो मासुले भन्दा पोलेको कन्दमूलले पोषण बढी दिन्छ ।

आगोको प्रयोगसँगै खान्कीमा आएको यो आमूल परिवर्तन अनुकूल हुने गरी मानिसको शारीरिक संरचना र स्वरूपको उद्विकास भयो । पाकेको खाना टुक्र्याउन, चपाउन तथा पचाउन समय र ऊर्जाको खपत कम भएपछि मान्छेको थुतुनो, पेट र पाचन प्रणालीमा संलग्न अंगहरूको आकार सानो/छोटो भयो (अपुच्छ बाँदरहरूको तुलनामा मानिसमा ती अंग निकै साना हुन्छन्) । समयक्रममा आगोले नरम बनाइदिएको खाना चपाउन मान्छेको दाँत, बंगारा र च्यापुको आकार तथा स्वरूप भिन्न भयो । खाद्यान्नमा रहेको ऊर्जालाई आगोले सहजसँग टुक्र्याइदिएपछि यसको दोहनमा ऊर्जा बचत भयो । कालान्तरमा हाम्रो आन्द्रा र पेट सानो भयो । बचत ऊर्जाले हाम्रो मस्तिष्कको विकासमा सहयोग पुग्यो । नतिजास्वरूप हाम्रो मस्तिष्क ठूलो र आन्द्रा छोटो भयो । विज्ञहरू यसलाई इभोलुसनरी ‘ट्रेड अफ’ भन्छन् । यसरी हामीमा खाद्यान्न थोरै, तर विचार धेरै प्रशोधन तथा दोहन गर्न सक्ने प्राणी भयौं (रिचार्ड र्‍याङ्घम, क्याचिङ फायर : हाउ कुकिङ मेड अस ह्युमन) ।

मानिसको शरीर निष्क्रिय रहँदासमेत सम्पूर्ण ऊर्जाको २५ प्रतिशत मस्तिष्क एक्लैले खर्च गर्छ । आफ्नो तात्कालिक पूर्वज होमो ह्याबिलसभन्दा करिब पाँच लाख वर्षपछि मात्रै उद्विकास भएको होमो–इरेक्टसको मस्तिष्कको आकार करिब दोब्बर ठूलो थियो । करिब १८ लाख वर्षअघि भएको मस्तिष्कको यो हदको उद्विकासलाई पाकेको खानाले अतिरिक्त क्यालोरी प्रदान गरेर सघाएको थियो । रिचार्ड र्‍याङ्घमको यो ‘कुकिङ हाइपोथेसिस’ लाई पछिल्ला प्रमाणले समेत पुष्टि गर्दै छन् ।

आगोले रातमा आफू अन्य जनावरको सिकार हुन सक्ने खतराबाट मान्छेलाई जोगायो । खतरा टार्न राति रूख चढेर सुत्नुपरेन । लामो खुट्टा भएको होमो–इरेक्टस्लाई दौडिन र हिँड्न सहज थियो, तर रूख चढन गाह्रो थियो । आगोले यो बेफाइदा टार्‍यो । दुई खुट्टाले टेकेर हिँड्ने गुणले ‘इभोलुसनरी फेवर’ पायो । लाखौं वर्षसम्म मूलत: शाकाहारी रहेको मानिसका लागि बदलिँदो वातावरण र सांस्कृतिक व्यवहारले मासु पोषिलो साथै सरल, सहज रूपमा उपलब्ध खान्की बन्यो । इरेक्टस्को समयकालसम्म आइपुग्दा मानव पुर्खा बेजोड सिकारी र छरितो धावक भइसकेको थियो । मान्छेको कम्मर, मेरुदण्ड र नितम्ब यही जीवनशैलीका लागि अनुकूलन हुने गरी विकास भयो । दुई खुट्टे चाललाई सन्तुलित बनाउन हातको आकार सुधारियो । त्यसअलाबा मान्छेमा भाला वा ढुङ्गा लक्षित टार्गेटतर्फ हुर्‍याउन सक्ने विशिष्ट क्षमताको विकाससमेत भयो ।

आसामी नागा जाति सेमासमा प्रचलित लोककथाअनुसार, मान्छेले आगोको प्रयोग गर्नुअगाडि उसको शरीरभरि रौं थियो । आओस् भनिने अर्काे समूहमा प्रचलित लोककथाअनुसार, मानिस र बाँदरबीच आगो हत्याउने प्रतिस्पर्धा भयो, बाँदरले हार्‍यो । त्यसैले बाँदरको शरीरलाई आवश्यक न्यानो प्रदान भएन र उसको शरीरमा रौं कायम रह्यो । तर, आगो पाएको मानिसलाई तापका लागि रौं नचाहिएकाले यो झरेको भन्ने विश्वास छ ।

नभन्दै आगोको प्रयोग र त्यसले निम्त्याएका शृंखलाबद्ध परिणतिमध्ये एक थियो– मानिसले शरीरको रौं गुमाउनु । दुई खुट्टामा उभिएर हिँड्न थालेपछि मान्छेको शरीरको रौं गुम्यो र सट्टामा शरीरमा पसिना–ग्रन्थीको संख्या बढ्यो । अफ्रिकाको तातो घाममा दौडिँदा पसिनामार्फत गर्मी बाहिर फालेर शरीरको सन्तुलित तापक्रम मिलाउन यो सहयोगी सिद्ध भयो । यही समयकालमा सूर्यको पराबैजनी किरणबाट जोगाउन छालाको रंग श्यामल बनाउने जिन देखापर्‍यो । मान्छेको शारीरिक स्वरूप र संरचनामा देखिएको यो अनुकूलन वातावरणको ‘प्रेसर’ मात्रै थिएन । उत्परिवर्तनले निम्त्याएका गुणमध्ये आगो प्राप्तिले बदलिएको जीवनशैलीलाई सहयोग गर्ने गुणलाई प्राकृतिक छनोटले ‘फेवर’ गर्‍यो । यसरी हातमा मसाल बोकेको मान्छले कालान्तरमा आफ्नै कायाकल्प गरायो ।

संसारको कायाकल्प

आफ्नो इच्छाअनुकूल आगो सल्काउन सक्ने शक्ति मान्छेको हातमा पर्‍यो । अनेक संयोग जुरेपछि यदाकदा बल्ने आगो मान्छेको हातको सीप निखारिएपछि नियमित बल्न थाल्यो । यसपछि मान्छेले आफू मात्रै होइन आफ्नो परिवेशको दृश्यचित्र नै बदल्यो । यही क्रममा मान्छेको सामाजिक–सांस्कृतिक विकास साथ लागेर अगाडि बढ्यो ।

आगोले रात छोट्यायो, दिन लम्ब्यायो । दिन लम्बिएसँगै मान्छेको सक्रियता लम्बियो । लम्बिएको दिनले सामाजिक सम्बन्ध र अन्तक्र्रियाको समय लम्ब्यायो । सामाजिक अन्तरघुलन बलियो बनायो । आफ्नो अस्थायी मुकाममा साँझ बल्ने ‘क्याम्पफायर’ यो अन्तरघुलन र सामाजिक जीवनको मियो बन्यो । रातको चिसो सिरेटोबाट बच्न सबै मान्छे आगोवरिपरि झुम्मिन थाले । सायद भाषाको विकासमा समेत यो एउटा महत्त्वपूर्ण कदम थियो । कालान्तरमा यही आगो वरपर झुम्मिएर आगोका मिथकहरू बुनिए । आगो सल्काउनु, सल्केको आगोलाई टिकाउनु, त्यसलाई पुन: प्रयोगका लागि जोगाउनु एक्लो ज्यानका लागि असम्भव थियो । त्यसैले यो सामूहिक कर्म बन्यो । र, मान्छेका लागि सामाजिक अन्तरघुलन, सामाजिक अन्तक्र्रिया र सामूहिक सहकार्य अनिवार्य भयो ।

आगोको नियन्त्रित प्रयोगका थप परिणाम देखिए । काठको भाला तिखारेर दह्रो बनाउन, ढुङ्गा पर्गेल्न, हतियारमा साँध लगाउन आगोले सघायो । यसले सिकारको नयाँ आयाम खोलिदियो । यिनै औजारको सहायतामा मान्छेले आफू बाँच्ने परिवेशकै दृश्यचित्र बदलिदियो । अँगेनोमा अन्नपात र मासु पकाएर तिनमा अतिरिक्त गुण मात्रै थपेन, दुनियाँलाई नै आगोको भट्टीमा हालेर दुनियाँलाई आकार दिँदै हिँड्यो । खासमा सम्भावित नतिजाको आकलन गर्दै आगोको नियन्त्रित प्रयोग गर्न सक्नु सानो खुबी थिएन । प्रत्येक पटक आगो सल्काउँदा मान्छेले आगो खेलाउने आफ्नो सीप तिखार्‍यो । उता आगो आफैं पर्यावरणको अभिन्न अंग भएर समाहित हुने क्रम सुरु भयो ।

डढेलोले पोलेको घाँसे मैदानमा हुर्किएको नयाँ पालुवामा लोभिएको जनावर र पन्छीको हूल लोभी मान्छेले देख्यो । यो बुझेको मान्छले झाँडी फाँड्यो, नयाँ घाँस र पालुवाका लागि डढेलो लगाएर वातारण तयार पार्‍यो । आफूले चाहेको ठाउँमा आफूले इच्छाएका वन्यजन्तु र वनस्पतिको मात्रै अस्तित्व रहन/हुर्कन दिएर बाँकीलाई निषेधसमेत गर्न सक्ने भयो । आगोले मानिसलाई बन्चरो र घुयेत्रोले भन्दा अकल्पनीय ठूलो शक्ति दियो । मान्छेले आगोको सहयोगमा सिकार गर्‍यो, आगो लिएर कन्दमूल बटुल्यो, आगो लिएर खेती गर्‍यो, आगो लिएर पशुपालन गर्‍यो । यो लामो कालखण्डमा मान्छेले धरतीमा जे–जति रूपान्तरण गर्‍यो तिनमा आगो नजोडिएको कुनै कर्म थिएन ।

आगो लिएर सिकार गर्ने सक्ने पहिलो प्राणी भयो मानिस । अगुल्टोले मानिसलाई साँझमा पनि सिकार गर्न सक्ने बनायो । आगोको धूवाँले भालुलाई गुफाबाट निकाल्यो, मृगलाई लखेट्यो, माछा मार्नसमेत आगो प्रयोग भयो । दक्षिण अफ्रिकामा मृग धपाउन, सुडानमा हात्ती लखेट्न, भेनेजुयलामा कछुवा घेरा हाल्न, अस्ट्रेलियमा कंगारु सिकार गर्न र रुसको बैकाल तालवरपर बँदेल हात पार्न मान्छेले आगोको प्रयोग गर्‍यो ।

आगो हात पारेपछि मान्छे आफूभन्दा ठूला जनावरको सिकार गर्न सक्ने भयो । मान्छेले गरेको पहिलो सिकारको प्रमाण आजभन्दा २० लाख वर्ष पुरानो छ । मान्छेको शारीरिक संरचना र व्यवहारसमेत परिवर्तन गर्ने सांस्कृतिक विकासको यो प्रमाण एक कोसेढुङ्गा हो (टम हिगह्याम, द वल्र्ड विफोर अस) ।

सिकारले श्रम विभाजनलाई थप विशिष्टीकृत गरायो । सिकार सामूहिक कर्म बन्यो । एकभन्दा ज्यादा मानिसले आपसी समझदारीमा साझा लक्ष्य (सिकार) प्राप्तिका लागि सहकार्य गर्नुपर्‍यो । समूहका अन्य साथीको मनको कुरो, तिनको सम्भावित कदम र आफूलाई पर्न सक्ने खतराको सही आकलन गर्न सक्ने समूह नै सफल हुने भयो । यसका लागि पूर्वनिर्धारित योजना, धैर्य, मिहिन अवलोकन र रणनीति पनि चाहियो । सामाजिक–मानसिक रूपमा यो जटिल प्रक्रिया भए पनि श्रम लगानीभन्दा त्यसबाट प्राप्त हुने क्यालोरीको प्रतिफल ज्यादा हुने भएकाले सामाजिक जीवनको उद्विकासलाई यसले टेवा पुर्‍यायो ।

अन्य धेरै प्राइमेटजस्तै मान्छले आफ्ना लागि मात्रै सिकार गर्दैन । मान्छेले ल्याएको सिकार आफ्नो समूहको शिविरमा पनि पुर्‍याएको प्रमाण २० लाख वर्ष पुरानो छ । यसले सिकार सीपलाई विशिष्टीकृत गर्‍यो । सामूहिकता, साझेदारी र आहाराको समानुपातिक बाँडफाँटले समूहको शक्ति बढायो ।

आगो, यसको सहायताले बनाएको परिष्कृत औजार र सामाजिक संस्कृतिको सहयोगमा मान्छेले आफ्नो परिवेशमा नाटकीय प्रभाव पार्न सक्यो । करिब २० लाख वर्षपहिलेका १८ ठूला मांसाहारी प्राणीमध्ये पूर्वी अफ्रिकामा अहिले सिंह, चितुवालगायत ६ प्राणी मात्रै बाँकी छन् । तिनको संख्या घट्नु र हामीले सिकारको आरम्भ गर्नु संयोग मात्रै होइन । अन्यत्रको पनि अवस्था यस्तै हो । पछिल्लो हिमयुगको अन्त्यसम्ममा करिब ५० लाख मानिसले एक अर्बभन्दा ज्यादा प्राणीलाई नामेट बनाएका छन् । प्रत्यक्ष सिकार मात्रै तिनको विनाशको कारण होइन । तिनका बासस्थान, आहारा तथा पर्यावरणको विनाश गरेर मान्छे आफैं खाद्य शृंखलाको माथिल्लो तहमा पुग्नु प्रमुख कारण हो ।

आगोको सहायताले मान्छेले ‘फुड चेन’को माथिल्लो तप्कामा रहेका मांसाहारी जनावरहरूको उन्मूलन गर्‍यो । त्यसैले पूर्वी अफ्रिकाको पर्यावरण ‘ट्रफिक क्यास्केड’ बन्न पुग्यो, जहाँ केही ठूला मांसाहारी जनावरलाई मानिसले निर्मूल पारेपछि शाकाहारी साना स्तनधारी जनावरको व्यापक फैलावट र विस्तार भयो । यसले अफ्रिकाको जंगलमा रूखको ‘कभरेज’ झन् पातलो बनाइदियो । यो प्रतिनिधि उदाहरण मात्रै हो । यसरी मान्छेले प्राणी र वनस्पतिको उद्विकासको पथ मोडिदियो । साथमा आफ्नो पाखुरीबाहिर रहेको शक्तिको आडमा मान्छेले आफ्नो परिवेशको पूरै ‘रिइन्जिनियरिङ’ गर्‍यो ।

अविभाज्य सम्बन्ध

कोलम्बस कालअघि मेक्सिकोका याजटेकहरू २६० र ३६५ दिने पात्रो जुधेको हरेक ५२ वर्षमा आगो जात्रा मनाउँथे । जात्रा असाध्यै भव्य हुन्थ्यो । जात्राका दिन गाउँदेखि सहरभरिका हरेक चुलो, खोपी, मन्दिर, गुफा सबै स्थानमा मान्छेले सल्काएको पुरानो आगो निभाएर अन्धकार बनाइन्थ्यो । चकमन्न चुक घोप्टिएको रातमा आकाशमा ताराको टिलपिल उज्यालो मात्रै बाँकी रहन्थ्यो । पहाडको टुप्पोमा रहेको मन्दिरको बेदीमा पुजारीहरू कर्मकाण्ड सुरु गर्थे । त्यसपछि मूल पुजारीले बलि दिन तयार पारिएको मान्छेको छाती चिरेर धड्किरहेको मुटु निकाल्थ्यो । त्यसपछि उसको रित्तो छातीभित्र परम्परागत शैलीमा नयाँ आगो बालिन्थ्यो । यसरी नयाँ जीवन र नयाँ संसार आरम्भको संकेत गरिन्थ्यो । यो आगो चारै दिशा पुर्‍याएर हरेक चुलो, मन्दिर, खोपीतिर सल्काइन्थ्यो । मन्दिरको आगो अर्काे ५२ वर्षसम्म अविरल बल्थ्यो । आगो निभेमा संसारको अन्त्य हुन्छ भन्ने गहिरो विश्वास थियो । यसको निरन्तर प्रज्वलनको जिम्मा पुजारीहरूले लिन्थे । पछिल्लो पटक यो जात्रा सन् १५०७ मा मनाइएको थियो । (स्टेफेन जे पायने, फायर : अ व्रिफ हिस्ट्री) ।

आगो सृष्टि र अन्त्य दुवैको प्रतीक रहेको यस्ता सांस्कृतिक मान्यता र विश्वास पर्याप्त छन् । आगो हात पारेपछि मान्छेले आफू र आफ्नो परिवेशमा गरेको कायाकल्प एउटा नयाँ सृष्टि थियो । उता मान्छेको साथ लागेर आगोले संसार विचरण गर्‍यो । यसरी आगोले पनि आफ्नो चरित्र बदल्यो । आगोले मान्छेलाई मुक्ति दियो, मान्छेले आगोको आयाम बदल्यो । कालान्तरमा दुवै एक अविभाज्य शक्ति बने । मानवता र आगो एकअर्काका परिपूरक बने । अब त कुनै एकको निषेधमा अर्काेको वर्तमान स्वरूप र चरित्रको कल्पना पनि गर्न सकिन्न ।

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘कोसेली’बाट ।)

प्रकाशित : वैशाख १०, २०७८ १९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×