मन्त्रीको विदेश भ्रमण : उनकै मुखबाट- कोसेली - कान्तिपुर समाचार

मन्त्रीको विदेश भ्रमण : उनकै मुखबाट

हामी प्रत्यक्ष वैदेशिक लगानीमा गुन्द्रुक उद्योग स्थापना गर्दैछौं । अब देशमा एक त्यान्द्रो साग पनि खेर जानेछैन ।
शरच्चन्द्र वस्ती

त्यस दिन प्रधानमन्त्रीले फोन गर्दा म कुखुरालाई चारो हाल्दैथिएँ । ‘तुरुन्त आइहाल’ भनेपछि हतारहतार एउटा कुखुरो झोलामा हालें र लगाएको ट्राउजर, टीशर्ट पनि नफेरी रात्रिबस चढेर भोलिपल्ट बिहानै उहाँको निवासमा पुगें । भन्नुभयो, ‘मन्त्रिपरिषद पुनर्गठन हुँदैछ, तिमीलाई उद्योगमन्त्री बनाइदिएको छु । दश बजे शपथ ग्रहण छ, वेलैमा हाजिर हुनू ।’

मन्त्री त हुने भएँ । तर दौरा–सुरुवाल थिएन, कसरी शपथ ग्रहण गर्नु ? अनि पुगें सालोको डेरामा । ऊ एउटा राम्रै होटलमा वेटर थियो । उसको ड्रेस नै दौरा–सुरुवाल थियो । ड्रेस लगाएर काममा जान ठिक्क परेको रहेछ । मैले आफ्नो समस्या बताएँ र उसको दौरा–सुरुवाल मागें । बिचरासँग जगेडा दौरा–सुरुवाल रहेनछ । दौरा–सुरुवालको अभावले भिनाजुको मन्त्री पद नै धरापमा पर्ने बुझेपछि उसले त्यस दिन विदा लियो र आफ्नो दौरा–सुरुवाल फुकालेर मलाई दियो । मैले त्यही लगाएर ठाँटसँग शपथ ग्रहण गरें ।

झोलामा हालेको कुखुरो के गरिस् भनेर सोध्नुहोला । मलाई थाहा थियो, तपाईं यस्तै झिनामसिना कुरामा अल्झिनुहुन्छ । मान्छे मन्त्री भैसक्यो, तपाईंलाई भने कुखुराको चिन्ता ! तैपनि सोधिहाल्नुभो, भनिदिन्छु । कुखुरा भएको झोला मैले प्रधानमन्त्रीलाई टक्र्याएँ । कृष्णलाई भेट्न जाँदा सुदामाले कनिका लगेका थिए, म खाली हात कसरी जान सक्थें ? आफूसँग जे छ, त्यही लिएर गएँ । सुदामालाई जस्तै मलाई पनि केही त होला भन्ने आस थियो नि ! हामी पनि केटाकेटीदेखिकै मिल्ने साथी थियौं । मैले ल्याएको कुखुरो उहाँलाई सानैदेखि मन पर्थ्यो । त्यसवेला कुखुराधनीले थाहा नपाउने गरी लुकाएर ल्याउँथें र जंगलमा पोलपाल गरेर खान्थ्यौं । उहाँ भूमिगत हुँदा भूमिगत रूपमै कुखुरा पुर्‍याउँथें । उहाँ खुला राजनीतिमा आएपछि मैले पनि खुला रूपमै कुखुरा पाल्न थालेको थिएँ । राष्ट्रिय कुखुरापालक संघको संस्थापक अध्यक्ष थिएँ, जसमा गाउँका समग्र सातवटै कुखुरापालकहरू आबद्ध थिए । सातै जनाले राष्ट्रिय पत्रिकामा संयुक्त विज्ञापन छपाएर मलाई बधाई दिएका थिए । मन्त्री भएपछि एक हप्ता माला र खादामै बित्यो । अर्को हप्ता सचिव एउटा फाइल बोकेर आइपुगे । ‘के ल्याउनुभो ?’ मैले सोधें । ‘लेसोथोबाट एउटा सेमिनारको निम्ता आएको छ’ उनले भने । ‘कुन जिल्लामा पर्छ यो ?’ मैले फेरि प्रश्न गरें । उनले बताए, ‘स्वदेश होइन, विदेश हो । अफ्रिकामा पर्छ ।’ विदेश भनेपछि मन त्यसै त्यसै दंग भयो । अनि दमदार आवाजमा भनें, ‘ठीक छ । गइदिउँला । कहिले जानुपर्ने हो ?’

सचिव अनकनाए । भने, ‘सहसचिव स्तरको सेमिनार हो...’कर्मचारीले थाङ्नामा सुताउँछन् भन्ने मलाई थाहा थियो । सतर्क भएँ र स्वर बढाएर सोधें, ‘सेमिनारको उद्घाटन कसले गर्छ ?’

‘अन्तर्राष्ट्रिय सेमिनार हो,’ फाइल पल्टाउँदै उनले भने, ‘उद्घाटन त्यहींको मन्त्रीले गर्ने रहेछ ।’

‘तपाईंहरूको यस्तै बुद्धिले देश पिछडिएको हो । मन्त्री आउने ठाउँमा कर्मचारी गएर हुन्छ ?’ मैले कडा स्वरमा आदेश दिएँ, ‘अरू कुरा छोड्नोस्, म जाने तयारी गर्नोस् ।’

सचिव लुत्रुक्क परे । मलाई थाहा थियो, कर्मचारीलाई यसैगरी लुत्रुक्क पार्नुपर्छ । नत्र क्रान्तिको उपलब्धि खतरामा पर्छ । उनले सोधे, ‘कति जनाको टोली बनाउनुपर्ला ?’

‘म भैहालें । श्रीमती जिल्लामै छिन् । कुखुरा उद्योग उनकै जिम्मामा छ । उनको ठाउँमा साली जान्छिन् । मेरो सल्लाहकार एक जना, अनि पीए । जम्मा चार जना ।’

‘एक जना उपसचिव पनि राख्नुपर्ला कि ?’ उनले सुझाव दिए । फेरि कर्मचारी घुसाउने षडयन्त्र ? मेरो कन्पारो तात्यो । भनें, ‘यो उच्चस्तरीय राजनीतिक भ्रमण हो । यसमा कर्मचारीको के काम ? जाँदा विदाइ गर्न र फर्कंदा स्वागत गर्न तपाईंहरू एयरपोर्टमा आइहाल्नुहुन्छ । हवाइजहाज चढेपछि उता पुर्‍याइहाल्छ । त्यहाँको व्यवस्था गर्न सम्बन्धित दूतावासलाई भन्नोस् ।’

‘सेमिनारमा प्रस्तुत गर्ने कार्यपत्र सहसचिवज्यूले तयार पारिसक्नुभएको छ । त्यो आजै हजूरलाई टक्र्याउँला,’ सचिवले भने । कर्मचारीको घेराबन्दीमा कुनै हालतमा पर्न हुँदैन भन्ने मैले राम्ररी बुझेको थिएँ । तिनले तयार पारेको कार्यपत्र लिएर आफ्नो स्तर घटाउने कुरै थिएन । भनें, ‘त्यसको काम छैन । म आफैं तयार गर्छु ।’

सचिवका आँखा ठूला भए । छक्क परेछन् क्यार । ‘हजूरले जस्तो मर्जी हुन्छ’ भनेर हात जोडे र लुरुक्क फर्केर गए । मेरो छाती ठूलो भयो । सल्लाहकार आफ्नै सालो थियो । होटलमा काम गरेकाले टाक्कटुक्क अंग्रेजी पनि बोल्थ्यो । अब दौरा–सुरुवाल छोडेर सूट–टाई लगाउन थालेको थियो । उसलाई भनें, ‘अर्को हप्ता विदेश जानुपर्ने भो । सेमिनारका लागि एउटा कार्यपत्र तयार गर्ने व्यवस्था गर ।’ त्यसपछि म सेमिनारको महत्त्वपूर्ण तयारीमा व्यस्त भएँ । दुई जोर सूट सिलाएँ । एक जोर ट्र्याकसूट किनें । चश्मा थोत्रिएको थियो, नयाँ बनाएँ । जुत्ता ठीकै थिए, नयाँ उतै किनेर लगाउने निर्णय गरें । एउटा राम्रो सूटकेस किनें । सालीलाई दुई जोर नयाँ लुगा हालिदिएँ । श्रीमतीलाई फोन गरेर विदेशबाट ल्याउनुपर्ने सामानको सूची बनाएँ । एक हप्ता यसैमा बित्यो ।

निश्चित दिनमा आफ्नो दलबल सहित विदेश प्रस्थान गरें । राजदूत आफ्नै पार्टीका थिए । दूतावासले राम्रै व्यवस्था गरेको रहेछ । सेमिनारको उद्घाटनमा शानसँग उपस्थित भएँ । आफ्नो परिचय दिंदै सहभागी चौबीसै जनासँग हात मिलाएँ । सेमिनारमा भाग लिन मन्त्री नै आएको भनेपछि मेरो ठूलो इज्जत भयो । सबैले ‘मिनिस्टर’ भनेर सम्बोधन गर्न थाले । खाना निकै मीठो रहेछ । आठथरी त मासु मात्रै !

भोलिपल्ट मैले कार्यपत्र पढ्ने पालो थियो । बिहान ब्रेकफास्टपछि सालोसँग मागेर हेरेको, १८ पृष्ठको रहेछ । के–के लेखेको हो, बुझे त मरिजाऊँ । ‘कसलाई लेख्न लगाएको ?’ भनेर सोधेको, लेख्ने मान्छे उसले पनि चिनेको रहेनछ । उसले आफ्नो होटलको म्यानेजरलाई भनेछ, म्यानेजरले बेलुका बेलुका जाँड खान आउने रिटायर्ड प्राध्यापकलाई भनेछ, उसले आफ्नो पुरानो विद्यार्थीलाई अह्राएछ र त्यसले कम्प्युटरमा कताकताबाट कट–पेस्ट गरेर भोलिपल्टै तयार पारिदिएको रहेछ ।

त्यत्रो कार्यपत्र पढ्न सम्भव थिएन । मैले अक्किल लगाएँ र ‘समयको कमीले पूरा कार्यपत्र पढ्न असमर्थ भएँ, त्यो तपाईंहरूलाई ईमेलबाट उपलब्ध गराउँछु’ भनेर शुरू र अन्तिमका एक–एक प्याराग्राफ पढेर काम सकें । त्यही पढ्न पनि सारै गाह्रो भयो । बीचबीचका शब्द उच्चारण गर्न नसकेर पसीना छुट्यो । धन्न, मैले कार्यपत्र सुनाउने बेलामा सात–आठ जना मात्र उपस्थित थिए । तीमध्ये पनि एउटा झुपुझुपु उँघिरहेको थियो र चार जना आपसमा गफ गरिरहेका थिए । त्यसले मलाई निकै राहत भयो ।

त्यही दिन सालाले खोजेर ल्याइदिएको एउटा यूट्युबरलाई कार्यक्रमको ब्यानरसामु उभिएर घच्चीको अन्तर्वार्ता दिएँ । सेमिनारमा नेपालको प्रस्तुति प्रभावकारी भएको र नेपालको प्रगतिबारे थाहा पाएर दुनियाँ चकित भएको बयान गरें । अन्तर्वार्तालाई सामाजिक सञ्जाल र आफ्नो पार्टीका अनलाइनहरूमा राख्न लगाएँ । साथीहरूले भाइरल बनाए । देशमा प्रधानमन्त्री पछि मेरै चर्चा हुन थाल्यो । त्यसपछि हामी शपिङतिर लाग्यौं । बजारमा खासै केही पाइँदो रहेनछ । साली निराश भई । अनि मैले फर्कने कार्यक्रम फेरबदल गरें । सीधै स्वदेश नफर्केर युरोपतिर लागें । युरोपमा सालीले धक फुकाएर शपिङ गरी । त्यहीं उसको भूतपूर्व ब्वाइफ्रेन्ड फेला पर्‍यो, जो एउटा पेट्रोल पम्पमा काम गर्दो रहेछ । एक दिन बियरले रमरम भएपछि उसले एउटा बुलन्द आइडिया निकाल्यो ।

उसले भन्यो, ‘हजूर त उद्योगमन्त्री । देशमा अब गुन्द्रुक उद्योग खोल्नुपर्‍यो । हामीकहाँ वर्षेनि लाखौं टन साग खेर गइरहेको छ । त्यसलाई जम्मा गरेर गुन्द्रुक बनाउने हो भने संसारभर गुन्द्रुकको निर्यात गर्न सकिन्छ । वर्षेनि करोडौंको आम्दानी हुन्छ ।’ ‘देशभरिबाट साग कसरी संकलन गर्ने नि ?’ मैले समस्यातिर ध्यानाकर्षण गराएँ ।

‘त्यसका लागि एउटा एप लन्च गर्नुपर्छ,’ उसले जुक्ति सिकायो । ‘लगानी कसले गर्छ ?’ मैले मूल प्रश्न उठाएँ ।

उसले भन्यो, ‘शुरूमा तीन करोड जति लाग्छ । त्यो भनेको दुई लाख युरो हो । पेट्रोल पम्पको मालिक पेट्रो मेरो साथी जस्तै छ । म उसलाई लगानी गर्न मनाउँछु । एप पनि उसैले बनाइदिन्छ ।’

मलाई तालुमा आलु फलेजस्तो लाग्यो । स्वदेश फर्केकै दिन दुइटा कुखुरा लिएर प्रधानमन्त्रीलाई भेटें र सबै कुरा बताएँ । उहाँ दंग पर्नुभयो । त्यसै दिन बेलुका टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै भन्नुभयो, ‘हाम्रो सरकार आएपछि विश्वमा देशको प्रतिष्ठा बढेको छ । लेसोथोमा उद्योगमन्त्रीले पाएको अभूतपूर्व सम्मान त्यसैको प्रमाण हो ।’ उहाँले घोषणा गर्नुभयो, ‘अब हामी प्रत्यक्ष वैदेशिक लगानीमा गुन्द्रुक उद्योग स्थापना गर्दैछौं । यो दुनियाँकै पहिलो गुन्द्रुक उद्योग हुनेछ । त्यसका लागि ‘मेरो साग’ नाउँको एप लन्च गरिनेछ, जसबाट देशभरिको साग संकलन गर्न सकिनेछ । अब देशमा एक त्यान्द्रो साग पनि खेर जानेछैन ।’

गुन्द्रुक उद्योग र ‘मेरो साग’ एपको चर्चा चुलिइरहेकै वेला सालीको भूतपूर्व ब्वाइफ्रेन्डले फोन गरेर भन्यो, ‘पेट्रोले त लगानी गर्न मानेन । अब के गर्ने ?’ मैले भनें ‘चूप लागेर बस । अरू केही गर्नुपर्दैन । घोषणा गर्नु थियो, गरिहाल्यौं । त्यसको पुच्छर लाग्न कसलाई फुर्सत ?’

यसैबीच, वैदेशिक लगानी भित्र्याएर राष्ट्रको समृद्धिमा योगदान पुर्‍याएको भनेर चारवटा टेलिभिजन र आठवटा अनलाइनमा मेरो अन्तर्वार्ता प्रसारित भइसकेको थियो । राष्ट्रपतिबाट पदक पनि पाइसकेको थिएँ ।

यसप्रकार, मन्त्रीका रूपमा मेरो पहिलो विदेश भ्रमण सफल रह्यो । अर्को विदेश भ्रमणको दाउ हेर्दै थिएँ, कोरोना आयो र लकडाउन भैहाल्यो । त्यसपछि एक वर्ष भइसक्यो, देशको इज्जत बढाउन कतै जान पाएको छैन । हेरौं, अब कहिले मौका पर्ने हो ?

प्रकाशित : वैशाख ४, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्

उद्घाटनको युग

‘पहिले सडकको उद्घाटन गरिहालौं । त्यसपछि कहाँ बनाउने, कहिले बनाउनेजस्ता कुरामा विचार गरौंला ।’
शरच्चन्द्र वस्ती

कानै खाने आवाजका साथ स्कूलको चउरमा अकस्मात् हेलिकप्टर अवतरित भयो । विद्यार्थीहरू कक्षा छोडेर बाहिर निस्के, र हेलिकप्टरबाट निस्क्यो— प्रदेशको एउटा मन्त्री । उसका पछाडि तीन जना थिए— पीए, अंगरक्षक र पत्रकार ।

प्रधान अध्यापक मन्त्रीको स्वागतका लागि अघि बढ्न नभ्याउँदै गाउँपालिका अध्यक्ष झंकमणिले उसलाई खादा लगाइदिइसकेको थियो । जति बोलाउँदा पनि कहिल्यै स्कूलमा पाइला हाल्न नभ्याउने झंके हेलिकप्टरले भुइँ टेक्न नभ्याउँदै त्यहाँ कसरी हाजिर भयो, उनले भेउ पाएनन् । मन्त्री भने ऊसँगै उसको घरतिर लम्किसकेको थियो । विद्यार्थीहरू तिनको पछि लागेपछि स्कूल बन्द गरेर उनी पनि त्यतै लागे ।

झंकमणिले एक हप्ताअघि नयाँ मोटरसाइकल किनेर ल्याएको थियो । उनले देखे, त्यसलाई धोई–पखाली गरेर पालीमुनि सिकुवामा राखिएको छ र सिकुवाका दुई खम्बाबीच रातो रिबन बाँधिएको छ ।

मन्त्रीले पीएतिर हेर्‍यो । उसले कोटको दाहिने गोजीबाट कैंची निकाल्यो र मन्त्रीलाई दियो । मन्त्रीले रिबन काटेर मोटरसाइकलको उद्घाटन गर्‍यो । झंकमणिले ताली बजायो । सबैले ताली बजाए । मन्त्रीले भाषण दियो :

‘आज हामीले अध्यक्षज्यूको मोटरसाइकल उद्घाटन गरेका छौं । यो यस गाउँको ऐतिहासिक घटना हो । महाराजको गौरवशाली नेतृत्वमा हामी देशभरि निरन्तर ऐतिहासिक काम गरिरहेका छौं । अध्यक्षज्यूले मोटरसाइकल चढ्नु भनेको सिंगो गाउँले मोटरसाइकल चढ्नु हो । हामी सिंगो देशलाई समृद्ध र सुखी बनाउने अभियानमा छौं । यो त्यसैको प्रतीक हो ।’

भाषणपछि ऊ झंकमणिले चलाएको मोटरसाइकलमा बसेर अर्को वडातर्फ लाग्यो । सबै जना पछि लागे । खादा समातेर बाटोमा उभिएको वडा अध्यक्षले मन्त्रीलाई स्वागत गर्‍यो र आफ्नो घरको बार्दलीतिर देखाउँदै ङिच्च गर्‍यो, ‘हिजो मात्र बनाइसकेको ।’

मन्त्री त्यसको पनि उद्घाटन गर्न भनेर आएको थियो । भन्यो, ‘कैंची त मसँग छ । तर रिबन खोइ ? के काटेर उद्घाटन गर्नु ?’

वडा अध्यक्ष एकछिन अलमलियो । अनि, स्कूल छोडेर मन्त्रीका पछिपछि आएकी आफ्नी छोरीलाई बोलायो र उसले लगाएको रिबन खोल्न लगायो । एकातिर बाबु र अर्कातिर छोरी रिबन तन्काएर उभिएपछि मन्त्रीले रिबन काटेर बार्दली उद्घाटन गर्‍यो । सबैले ताली बजाए । ‘बधाई छ तपाईंहरूलाई । आज यो गाउँमा दुइटा ऐतिहासिक घटना भए’ भन्दै ऊ हेलिकप्टर भएतिर फर्क्यो र अर्को जिल्लातिर उड्यो । पुरानो झोलुंगे पुलको मुखमा रातो रिबन बाँधेर गाउँपालिका अध्यक्ष सहित केही मानिसले बाटो छेकेका थिए । सय जना जति यात्रु बाटो नपाएर मुर्मुरिंदैथिए । यसैबीच मन्त्रीको हेलिकप्टर आइपुग्यो । सबै जना आफ्नै स्वागतका लागि आएका भन्ठानेर दंग पर्दै मन्त्रीले रिबन काटेर पुलको उद्घाटन गर्‍यो । यात्रुहरू भुतभुताउँदै बाटो लागे ।

नजीकैको छाप्रोमा चियाको व्यवस्था थियो । छेउमा घाम तापिरहेको एउटा बूढो मानिसले सोध्यो, ‘यो त पुरानै पुल हो । १२ वटा जति फल्याक भाँचिएकाले तिनै फल्याक मात्र फेर्‍या हो । यसको पनि हेलिकप्टरबाट आएर उद्घाटन गर्नुपर्छ र बाबु ?’

मन्त्रीले भन्यो, ‘कुनै पनि कुरालाई मामूली ठानेर उद्घाटन नगर्नु अथवा निर्माण भएपछि एकचोटि मात्र उद्घाटन गर्नु सामन्ती परम्परा हो । हामीले त्यसको उन्मूलन गरेका छौं । हामी पाइला पाइलामा उद्घाटन गर्छौं र शोषक, सामन्तले महत्त्व नदिएका कुराको पनि उद्घाटन गर्छौं । मुलुकको समृद्धि यसैमा निर्भर छ भन्ने महाराजको निष्कर्ष छ । हामी त्यसै अनुसार अघि बढेका छौं । महाराजको प्रतापले सिंगो देश अब उद्घाटनको युगमा प्रवेश गरिसकेको छ ।’

उसले ठीक भनेको थियो । महाराजको प्रतापले देश उद्घाटनमय हुँदै गएको थियो । वडाध्यक्षको भान्साघरको उद्घाटन झंकमणि स्वयंले गरेको थियो भने उसको कुखुरा–खोरको उद्घाटन वडाध्यक्षको हातबाट भएको थियो । डल्लीमायाले ठेलागाडामा थापेको चटपटे पसलको उद्घाटन गर्न विधायक लम्बोदर आएको थियो, जसलाई सुन्तली र सुन्दरेको प्रगतिशील बिहामा प्रमुख अतिथि बनाइयो । उसले बेलुका उनीहरूको सुहागरात कक्षको उद्घाटन गर्नु थियो । यसबीच ऊ अर्को गाउँमा शौचालय उद्घाटन गर्न गयो । गाउँभरिका शौचालय पालैपालो उद्घाटन गर्दै जाँदा रात पूरै छिप्पिइसकेको थियो । ऊ फर्कंदा बेहुला बेहुली सुहागरात कक्षबाहिर सुकुलमै निदाइसकेका थिए— उद्घाटनको प्रतीक्षामा ।

उद्घाटन भनेपछि मन्त्रीहरू हिरिक्कै हुन्थे । गाउँको स्वास्थ्य चौकीमा एउटा कोठा थपिएपछि स्वास्थ्यमन्त्री आठ घण्टा गाडी कुदाएर उद्घाटन गर्न पुगेको थियो भने पर्यटनमन्त्रीले डेढ घण्टा हेलिकप्टर चढेर आफ्नो गाउँमा बर्थडे केकको उद्घाटन गरेको थियो । ३२ वर्ष पुरानो एउटा नहर मर्मत भएपछि त्यसको उद्घाटन गर्न दुई पूर्वमन्त्री सहित तीन बहालवाला मन्त्रीको जत्था पुगेको थियो, ५५ वटा गाडीको लश्कर थिएर । पाँचै जनाले एकमाथि अर्को खप्टिएजस्तो गरेर, बत्तीसदन्त देखाउँदै नहरको गेट खोल्ने बटन त थिचे तर पानीको कमी थियो । नहरमा बगेको पानी सय मीटर पर पुग्दा नपुग्दै भुइँमा सोसिएर हरायो । करीब तीन सय जनाको त्यो जत्था नहरको बजेटमा पिकनिक मनाएर फर्कियो ।

देशमा चार दशक अघि एउटा राजमार्ग बनेको थियो, जो सातै प्रदेश भएर गुज्रन्थ्यो । त्यो उद्घाटनको खानी सिद्ध भयो । सर्वप्रथम हरेक प्रदेशका मुख्यमन्त्रीले मर्मत–कार्यको प्रारम्भिक उद्घाटन गरे । अलिक दिनपछि खाल्डाखुल्डीमा गिट्टी हाल्ने कार्यको उद्घाटन भयो । त्यसपछि विभिन्न मितिमा जिल्लैपिच्छे कालोपत्रे ओछ्याउने कामको उद्घाटन गरियो । मर्मत सम्पन्न भएपछि साइत जुराएर केन्द्रमा महाराजले र प्रदेशहरूमा मुख्यमन्त्रीले राजमार्गको उद्घाटन गरे । एक मुख्यमन्त्रीको भनाइ थियो, ‘आफूले राजमार्ग बनाउन सकिंदैन । अरूले बनाएकोलाई नै यसो मौका छोपेर बीचबीचमा उद्घाटन गर्दै जाने हो । अग्रगमन भनेकै यही हो ।’

महाराज अद्वितीय विकासप्रेमी थिए । शिलान्यास र उद्घाटनको घोषणा गर्नु नै विकास हो भन्ने उनको मान्यता थियो । त्यही घोषणा पनि कार्यस्थलमा गएर गर्न उनलाई रुचि थिएन, किनभने कार्यस्थल नै कहाँ हो भन्ने अत्तोपत्तो हुँदैनथ्यो । ‘सुनारको सय चोट, लोहारको एकै चोट’ भनेझैं यस्तो घोषणा घर बसी बसी चिया खाँदाखाँदै थोकको भाउमा गर्न सकिन्छ भन्ने उनले बुझेका थिए । यसमा कम्प्युटरले उनलाई साथ दिएको थियो । उनी कम्प्युटरमै शिलान्यास गर्थे र उद्घाटन पनि ।

एक दिन ठूलो तामझामका बीच महाराजले कम्प्युटरको बटन थिचे र प्रोजेक्टर मार्फत भित्तामा एउटा वाक्य प्रकट भयो, ‘श्री ८ महाराजका वरद बाहुलीबाट देशभर ३३० सडकको एकसाथ शिलान्यास सम्पन्न ।’ भाइभारदारहरूले तालीको गडगडाहट लगाए र नियमानुसार तीन पटक महाराजको जयजयकार गरे । विदूषकीय आत्मविश्वासका साथ महाराजले भाषण दिए, ‘शिला र न्यास दुवैबाट मुक्त यो वैज्ञानिक शिलान्यास हो । हामी कुनै पनि काम समयमै पूरा गर्छौं । अर्को महीना यही ठाउँबाट यसैगरी ३३० वटै सडकको उद्घाटन हुनेछ ।’

कार्यक्रम पछि चियापान गरिरहेका सडक मन्त्रीलाई २० जना सांसदले घेरे र प्रश्न गरे, ‘यी कहाँका सडक हुन् ? हाम्रो क्षेत्रमा त कुनै नयाँ सडक बनाउने योजना छैन ।’

अप्रत्याशित प्रश्नले मन्त्रीको चिया सर्कियो । उसले भन्यो, ‘त्यो त मलाई पनि थाहा छैन । भर्खर शिलान्यास भयो । अब उद्घाटन हुन दिनोस् । हाम्रो सरकार रहिरह्यो भने त्यसपछि कहाँ सडक बनाउने, कहिले बनाउने जस्ता खुद्रा–मसिना कुरामा विचार गरौंला ।’

‘बजेट त हाम्रै खातामा आउँछ नि, होइन ?’ सांसदहरूले मूल चासो व्यक्त गरे । ‘तपाईंहरूकै खातामा आउने हो । चिन्तै नगर्नोस्,’ मन्त्रीले आश्वस्त पार्‍यो । ‘त्यसो भए ठीक छ । हामी पनि सडकको चिन्ता गर्दैनौं,’ सांसदहरू चिया थप्नतिर लागे ।

त्यही हप्ता महाराजले चार सय अस्पतालको शिलान्यास र तीन सय पुलको उद्घाटन भएको घोषणा गरे । सबै कम्प्युटरको पर्दामा । ‘यी कहिले बन्लान् ?’ भन्ने महारानीको जिज्ञासामा उनको जवाफ थियो, ‘मैले उद्घाटन गरिहालें । कुनै न कुनै दिन त अवश्य बन्लान् । जहिले बने पनि मेरै नाम रहने हो ।’

तर, यतिले महाराजलाई चित्त बुझिरहेको थिएन । उनलाई अलौकिक काम गर्न मन लागेको थियो । यस्तो काम, जसलाई यो लोकमा कसैले गर्न नसकोस् । त्यो शुभ घडी पनि चाँडै उपस्थित भयो । हिजो छाडी अस्ति सिंहदरवारमा आयोजित अति विशिष्ट समारोहमा महाराजले कम्प्युटरको बटन थिचेर सिंहदरवारको शिलान्यास गरे । र, आफैं दंग परे ।

‘सिंहदरवारमै बसेर सिंहदरवारको शिलान्यास ?’ तपाईं भन्नुहोला, ‘यो कस्तो ठट्टा हो ?’

तपाईंले कुरा बुझ्नुभएन मित्र ! यो पृथ्वीलोकको होइन, मंगल ग्रहमा बन्ने सिंहदरवारको शिलान्यास थियो । कुनै दिन मंगल ग्रहमा मानव बस्ती बस्न सक्ने परिकल्पना त तपाईंले पनि सुन्नुभएकै होला । हाम्रा दूरदर्शी महाराजका अनुसार, त्यसवेला त्यहाँ पनि चुच्चे नक्शा भएको नेपाल देश हुनेछ । नेपाल भएपछि सिंहदरवार चाहियो नै । हो, त्यही सिंहदरवारको शिलान्यास गरेका रे, उनले । अब त कुरा छर्लंग बुझ्नुभो नि ?

अन्त्यमा, तपाईंलाई खुसुक्क अर्को सूचना पनि दिऊँ । शिलान्यास त भइहाल्यो, उद्घाटन चाहिं नयाँ वर्षको प्रारम्भमा गर्ने योजना रहेछ । त्यसका लागि कालो ग्रेनाइटमा सुनौला अक्षरले लेखिएको भव्य शिलालेख तयार भइसकेको रहेछ, जसमा भनिएको छ, ‘श्री ८ महाराजका करकमलबाट मंगल ग्रहमा निर्मित हुने सिंहदरवार भवनको उद्घाटन आज सम्पन्न भयो । मिति : २०७८ वैशाख १ गते बुधवार ।’

नयाँ वर्षको शुभकामना !

प्रकाशित : चैत्र २८, २०७७ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×