कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बाबाको लोकतान्त्रिक आँगन

बाबा किताबमा बाँचिरहने सदाबहार मान्छे होइनन् । न इतिहासको मूलसडकमा बाटो छेकिबसेको सालिक नै हुन् । चौहत्तर वर्षसम्म ‘असल मान्छे’ भएर बाँच्नु नै उनको यो जगत्‌लाई एक मात्र योगदान थियो ।
विनोदविक्रम केसी

झन्डै–झन्डै लोकतन्त्रको ‘अबिच्युअरी’ लेख्ने खण्ड आइलागेको थियो । निर्ग जैसी, सङ्घर्ष दाहालहरूले टाउको र ढाडमा निर्मम बुट खाएर; रीता परियार, मोहना अन्सारी, अनुभव अजित, नारायण वाग्ले, युग पाठक, सङ्गीतहरूले पानीको फोहोरा खाएर लोकतन्त्रलाई दिवंगत हुनबाट जोगाइदिए । यो कसको लोकतन्त्र हो, कसले गरिखाने लोकतन्त्र हो, कसले मरिजानुपर्ने लोकतन्त्र हो, यस्ता सवालहरूले ‘लाल सिनिक’ भएका नाताले मथिङ्गल रिङाइरहे पनि म यो लोकतन्त्रको मृत्युको कामना गर्न सक्दिनँ । यसको दीर्घायुको कामना पनि गर्न सक्दिनँ । 

बाबाको लोकतान्त्रिक आँगन

दीर्घायुको कामना त मैले दमको दीर्घरोगी बाबाका निम्ति गरेको थिएँ । तर, बाबा रहेनन् । बस्, एउटा इमानदार र असल मान्छेका स–साना एवं साधारण स्मृतिहरू शेष छन् ।

र, शेष छ, बाबाको लोकतान्त्रिक आँगन । त्यस आँगनमा बितेका मेरा बाल्यकाल र किशोरवयका मामुली, नितान्त मामुली सम्झनाहरू । मामुली त्यतिखेर अमूल्य बनिदिंदोरहेछ, जतिखेर त्यसमा जोडिएको कुनै पात्र अनुपस्थित भइदिन्छ, अचानक गायब भइदिन्छ ।

मैले कवि राजु स्याङ्तानलाई सोधेको थिएँ— साधारण मान्छेको अबिच्युअरी कत्तिको पढिन्छ होला ? उसले निश्छल र अकृत्रिम भाकामा भनेको थियो, ‘कत्तिको पढिन्छ, मलाई थाहा छैन । तर, धेरैभन्दा धेरै लेखिनुपर्छ भन्ने चाहिं मलाई थाहा छ । अबिच्युअरी ठूला र महान् मान्छेहरूको बिर्ता होइन ।’ आफ्नो बुलन्द कविता ‘गुमनाम ताराहरू’ मा राजु गरिखाने दुःखीजनको एउटा दुनियाँ कल्पिन्छ, जहाँ आदिकवि जुठबहादुर दमै, महाकवि आइतेसिं तामाङ, राष्ट्रकवि नथ्थुराम चमार, कविशिरोमणि वीरबहादुर लिम्बू, स्वरसम्राट पदमबहादुर माझी, स्वरसाम्राज्ञी लक्ष्मी बुढाहरू ‘किताबको पानामा सदाबहार बाँचिरहने मान्छे अनि इतिहासको मूलसडकमा बाटो छेकिबसेको सालिक’लाई ललकारिरहेका हुन्छन् ।

बाबा किताबमा बाँचिरहने सदाबहार मान्छे होइनन् । न इतिहासको मूलसडकमा बाटो छेकिबसेको सालिक नै हुन् । चौहत्तर वर्षसम्म ‘असल मान्छे’ भएर बाँच्नु नै उनको यो जगत्लाई एक मात्र योगदान थियो । तसर्थ कवि राजुको अनुमोदनप्राप्त अबिच्युअरीका उनी हकदार छन् ।

काठमाडौंको दक्षिणी पाखो चाल्नाखेलमा ब्राह्मण परिवारमा जन्मेका माधवप्रसाद नेपाल खासमा मेरो बालसखा रघुका बाउ थिए, बाबा थिए । हामी सबै उनलाई बाबा भन्थ्यौं । हामी केटाकेटीका उनी प्रिय मान्छे थिए । यसका दुईतीन कारण थिए । एक, बालबालिकासँग संवाद नै नगर्ने काँठे वयस्कहरूको परिपाटीमा उनी अपवाद थिए । उनीसँग हामी मन खोलेर मनका कुरा गर्न सक्थ्यौं, सबैभन्दा ठूलो कुरो— प्रश्न गर्न सक्थ्यौं । ‘बाउभन्दा छोरा जान्ने, खुकुरीभन्दा कर्द लाग्ने’ उखान फलाकेर बालजिज्ञासा निमोठ्ने अरट्ठा र कठोर मानिसहरू झेल्न अभिशप्त हामी उनीबाट हाम्रा कोमल सवालप्रति सांघातिक हमला भेट्दैनथ्यौं । त्यही हाम्रा लागि लाख हुन्थ्यो । अनि, हाम्रा प्रश्नमा उनी बालबालिका चकित भएजसरी हाँस्थे । उनका ओठमा त्यो हाँसो जीवनपर्यन्त टाँस्सिरह्यो । उनी हामीलाई प्यारो लाग्नुको दोस्रो कारण थियो, आँगन । बाबाको लोकतान्त्रिक आँगन । त्यो हाम्रा निम्ति सदा खुला थियो । हामी त्यो आँगनमा खेल्न सक्थ्यौं, उफ्रिन सक्थ्यौं । टोलका अरू आँगनमा हामीलाई त्यो स्वतन्त्रता र सुविधा उपलब्ध थिएन । उनीहरू सीधै भन्दिन्थे– ‘खेल्ने भए टुँडीखेल जाओ !’

उनीहरूले ‘टुँडीखेल जाओ’ भनेको युगौंपछि, गत फागुन ७ गते बृहत् नागरिक आन्दोलनमा सहभागी भएर म टुँडीखेल (बाहिर) पुगेको थिएँ । जहाँबाट सात सालमा प्रजातन्त्र घोषणा भएको थियो, देशको यो लोकतान्त्रिक आँगन, सेनाले कब्जा गरिरहेको, भूमाफियाले भक्षण गरिरहेको काठमान्डूको आँगनअगाडि उभिएर उसको मुक्तिहेतु हामी नारा लगाइरहेका थियौं । टुँडीखेल पुनप्र्राप्तिको आन्दोलनमा हामी जोड–जोडले भनिरहेका थियौं— ‘टुँडीखेल नागरिकको हो, नागरिककै स्वामित्वमा आउनुपर्छ... टुँडीखेल अब बन्दुकको मौजा हुनु हुँदैन, शासकीय कर्मकाण्डको किल्ला हुुनु हुँदैन... टुँडीखेल अब मुक्त हुनुपर्छ ।’

यता म टुँडीखेलहन्ता शासनविरुद्ध नारा लगाइरहेको थिएँ, उता लोकतान्त्रिक आँगनवाला बाबा अल्का अस्पतालको श®यामा स्याँ–स्याँ गरिरहेका थिए । दमले झन्झन् च्यापिरहेको थियो । रघु बाबालाई बचाउन पृथ्वीभरिका प्रयत्न गरिरहेको थियो, ब्रह्माण्डभरिका विधि लगाइरहेको थियो । म सबै कुराको साक्षी छु । बाबालाई पाँच–छ वर्षदेखि उपचार गरिरहेका एक जना डाक्टरले उसलाई भनेका थिए, ‘तपाईंले कैयौं पटक बुबालाई मृत्युको मुखबाट खोसेर लानुभयो, तर यो पालि गाह्रो छ ।’ त्यो ‘गाह्रो’ फागुन २४ गते ‘अन्तिम गाह्रो’मा परिणत भयो । बाबा बिते । रघुका सुन्निएका आँखाका डिलमा भने जीवित छन् ।

बाबा बितेको भोलिपल्ट उनको पुरानो घरको आँगनमा पुगें म । तर, अडिन सकिनँ । वेदनाले फनफनी रिङाएर बाल्यकालमा पु¥यायो । त्यो आँगनसँग मेरा बालसँगातीहरूको पनि साइनो छ । उमेरले मभन्दा कान्छा विश्व, दिवाकर अनि करिब समवय शोभा, शिवहरूबाट घेरिएर बाबा पौराणिक कथा सुनाउँथे । हरेक साल हिउँदे बिदा (मीनपचास) मा कथाशृङ्खला चल्थे । दुइटा कथा अहिले पनि मेरो स्मृतिबाकसमा पट्टिएर बसेका छन् । बाबा कथा भन्दा स्थानीय मान्छेलाई पात्र बनाइदिन्थे । पौराणिक कथा यसरी विनिर्मित हुन्थ्योः कलियुग सुरु हुनुभन्दा ठ्याक्कै एक दिनअघिको कुरो हो । आत्मारामले केशव माड्साबको बारी किनेछ । बारी जोत्दै जाँदा गाडधन फेला पर्‍यो । आत्माराम गाडधन बुझाउन माड्साबकहाँ गयो । माड्साबले लिन मानेन । आत्माराम ‘मैले बारी मात्रै किनेको हुँ, गाडधन किनेको होइन, त्यसैले यो तपाईंकै हो’ भन्ने अनि माड्साब चाहिं ‘मैले बारी बेचेपछि त्यसमा भएका सबै चिज तपाईंकै हुन्’ भन्ने ! घनघोर विवाद पर्‍यो । गलफती गर्दागर्दै कलियुग सुरु भइहाल्यो । त्यसपछि त आत्माराम र केशवका चित्तमा किरा परिहाल्यो । दुवै जना गाडधन आफ्नो हो भन्न थाले । आत्माराम ‘बारी मैले किनेपछि, त्यसमा भएका रूखबिरुवा, गाडधन सबै मेरो हो’ भन्छ । उता, माड्साब ‘मैले बारी पो बेचेको, गाडधन बेच्या हो र’ भनेर बम्किन्छ ।

बाबा अत्यन्त स्वादिलो पाराले कथा भन्थे । हाम्रा प्रतिक्रिया बुझ्न हाम्रा नाकमा नाक जोड्न खोजेर आँखामा गढेर हेर्थे । हामीलाई उनको वाचनको बान्कीले वशीभूत बनाएको हुन्थ्यो ।

अर्काे कथा पनि उनकै शैलीले भनेको सम्झन्छु : एक दिन राजा वीरेन्द्रले ठूलो इनार खनाए । सबै जनतालाई एक घरबाट एक बाल्टिन दूध ल्याएर इनारमा हाल्नू भन्ने हुकुम भयो । गाउँ–गाउँबाट मान्छेहरू बाल्टिन बोकेर गए । हाम्रो लाटो (रघु), भुन्टुरा (छोरी शोभा), यो विनोदविक्रम (उनी मलाई सधैं विनोदविक्रम भन्थे), श्याममदन, दिवाकर सबै इनार भर्न गए । तर, भोलिपल्ट त इनारमा पानी मात्रै छ, एक थोप्पो दूध छैन । भयो के भने सबैले सोचे, अरूले दूध लगिहाल्छन्, मैले एक बाल्टिन पानी हाल्दा के नै पो होला र ? सबैले त्यस्तो सोच्दिनाले इनारमा दूधको नामोनिसान भएन । फटाहाहरू !

बालबच्चासँग यति मित्रवत् व्यवहार गर्न बाबालाई केले सिकाएको थियो होला ? उनको यो उदारता र फराकिलो व्यवहारका कारण हुन सक्छ— उनी देश–दुनियाँ देखे–भोगे–घुमेका मान्छे थिए । पचहत्तर जिल्लामा दुई जिल्ला रोल्पा र रुकुम टेक्न बाँकी थियो । यो विद्रोही भूगोल पनि टेकेका भए, तिनका कथाव्यथा पनि बुझेका भए सायद बाबासँग माओवादी जनयुद्धलाई हेर्ने फरक खालको ‘प्रिज्म’ उपलब्ध हुन्थ्यो । अनि, मैले राजनीतिक ‘गफगाफ’मा उनलाई अनेकौं पटक ‘तपाईं कुरा बुझ्नुहुन्न’ भन्नुपर्दैनथ्यो ।

बाबा कांग्रेस थिए, मन–मुटुदेखि कांग्रेस थिए । सफा कांग्रेस, सोझो कांग्रेस । र, सायद अबोध कांग्रेस । बीपी कोइराला उनका आदर्श थिए, महान् आदर्श । बीपीको नाम लिँदा अगाडि महामानव नजोडी उनले बोलेको मलाई याद छैन । बीपी मैले उनैको मुखबाट पहिलो पटक सुनेको थिएँ । उनी महान् राजनीतिज्ञ मात्र होइनन्, ठूला कथाकार पनि हुन्ः मलाई उनले घोकाएका थिए । ‘दोषी चस्मा’को कथासार उनैले सुनाएका थिए । ममा साहित्यप्रति बीज–अनुराग बाबाले नै पैदा गरिदिएका थिए ।

२०४८ सालमा बहुदलीय व्यवस्थापछिको पहिलो आम निर्वाचन हुने भयो । बाबाको घर कांग्रेसको अखडा बन्यो । काठमाडौं क्षेत्र नम्बर ५ बाट उठेका थिए, एमालेका भर्भराउँदा नेता मदन भण्डारी । उनका प्रतिद्वन्द्वी थिए, कांग्रेसका हरिबोल भट्टराई । ‘क्यारिज्म्याटिक’ मदन भण्डारीका अगाडि उनको कुनै तुलना थिएन । मदन भण्डारी युग सुरु भइसकेको थियो ।

हामी तेह्र–चौध वर्षका किशोरहरूलाई चुनाव ठूलो रमिता थियो । दिनैपिच्छेका चुनावी सभा, नेता–कार्यकर्ताका लावालस्कर, लाउडस्पिकरधारी गाडीहरूले घन्काउने पार्टीका प्यारोडी गीत...हामी तमासामग्न हुन्थ्यौं । राजनीति शीतनिद्राबाट त ब्युँझिएको थियो, तर जागृत थिएन । कांग्रेस–एमालेका स्थानीय नेताहरू अरू त अरू गाईभैंसीलाई पनि आफ्ना पार्टीमा तान्न खोजिरहेका हुन्थे । बीपीको समाजवाद र माक्र्सको साम्यवाद तिनको जानकारीको दुनियाँमा कतै थिएन । चुनावचिह्नका रूपमा सूर्य र रूख नै तिनका जम्माजम्मी राजनीतिक दर्शन थिए ।

हाम्रो टोल कांग्रेसी टोल थियो । हामी कांग्रेसको चुनाव प्रचारमा खटेका थियौं । मैदाको खोलेले पोस्टर टाँसिन्थ्यो । रघु र मलाई चुनाव लागेको थियो । यो ‘लगाइ’मा चना–अन्डा र चिया–पाउरोटीलगायत खाजाको अनन्त प्रेरणा थियो । सबै ठीकठाक चलिरहेको थियो । तर, एक्कासि एक दिन बाबाले एउटा मिटिङमा भने– ‘यी केटाकेटीलाई यसरी चुनावमा प्रयोग गर्नु भएन । नैतिकताको कुरा छ !’ सायद बाबाको शिरमा उनका महामानव बीपी चढेका थिए । र, यसरी हाम्रो रमाइलो हरण भएको थियो । त्यतिबेला हाम्रो चित्त दुखेको थियो । अहिले उनको चित्तको सफापनले भावुक भएका छौं ।

बाबा असल कार्यकर्ता थिए । राजनीति बुझ्थे, तर राजनीति गर्न जान्दैनथे । म अरुन्धती रोयले ‘द डक्टर एन्ड द सेन्ट’मा व्यंग्यपूर्वक बाबासाहेब अम्बेडकरको चित्र उतारेको सम्झन्छु । उनी भन्छिन्, ‘अम्बेडकर प्रकाण्ड विद्वान् थिए, तर राम्रो राजनीतिज्ञमा हुनुपर्ने गुण उनीसँग थिएन । उनी कुन बेला के निर्णय गर्नुपर्छ भन्ने बठ्याइँ जान्दैनथे । द्वैधता, धूर्तता, अनैतिकता र सिद्धान्तहीनताजस्ता नेतामा हुनुपर्ने चारित्रिक विशेषता उनीसँग थिएनन् ।’ बाबा अपरिमेय असल त थिए, तर नेतामा हुनुपर्ने ‘चारित्रिक विशेषता’ उनीसँग थिएनन् । अझ ग्रामीण राजनीतिका तुच्छता र क्षुद्रतासँग व्यवहार गर्ने उनको ल्याकत थिएन । यति हुँदाहुँदै पनि २०५४ सालको गाविस निर्वाचनमा उनी उठे । त्यतिखेर वैचारिक हिसाबले म कट्मिरो नै सही कम्युनिस्ट भइसकेको थिएँ । शहरका केही कम्युनिस्ट लेखकहरूसँग मेरो उठबस सुरू भइसकेको थियो । बाबासँग विनिमय गर्नलाई मसँग उनले चुनाव जितून् भन्ने सदिच्छासमेत थिएन । त्यसो गर्नु मेरा निम्ति आफूप्रति ठूलो बेइमानी हुन्थ्यो । बालिग त थिएँ, तर मतदाता नामावलीमा मेरो नाम थिएन । मैले भोट हाल्न पाइनँ । पाएको भए पनि म मैले रूखमा स्वस्तिकछापको ठप्पा हान्ने कुनै सम्भावना थिएन । पछि मैले उनलाई इमानदारीपूर्वक यो कुरा बताएको थिएँ । उनको कुनै चित्त दुखाइ थिएन । ‘झुट बोलिनस्, ठीक गरिस् !’ बस्, यत्ति भनेका थिए ।

बाबाले सम्मानजनक ढङ्गले हारे । बाबाजत्तिकै असल एमाले उम्मेदवार मानध्वज थापामगरले जिते ।

बाबाले जेजति भोट प्राप्त गरे, डाक्टर बाजेको हैसियतले प्राप्त गरे । उनी भेटेरिनरी जेटीए थिए । कृत्रिम गर्भाधानलाई देशभरि फिँजाउने जनशक्तिको सायद पहिलो ब्याचका सदस्य थिए । काठमाडौंको दक्षिणी भेग टौदह, चाल्नाखेल, बाँसबारी, भञ्ज्याङ, सतिखेल, फर्पिङ र छैमलेमा उनले नटेकेका पशुपालक किसानका घर बिरलै थिए । पेशाको बाध्यताले होइन, मनैदेखि उनी पशुप्रेमी थिए । कसैले भुस्याहा कुकुरलाई लात्ती हानेको देखे भने उसलाई साफ हपार्थे । गाईभैंसीको भँडालो फर्किंदा (पाठेघर बाहिर निस्कँदा) उनी जुन तन्मयका साथ त्यसलाई भित्र पसाल्थे, त्यो दृश्य विस्मयकारी हुन्थ्यो । त्यसपछि उनी चुरोट सल्काउँथे र सन्तोषसाथ लामो कस लिन्थे ।

बाबा मलाई प्रिय लाग्नुको अर्काे कारण दलितप्रतिको उनको व्यवहार थियो, जो आम बाहुनको जस्तो हुँदैनथ्यो । जात व्यवस्थाको विषाक्त अभ्यासमा अभ्यस्त समाजकै अंश थिए उनी । उनीबाट क्रान्तिकारिता सम्भव थिएन । तर, कम्तीमा म अरू ब्राह्मणका आँखामा (र, व्यवहारमा) दलितप्रति जस्ता तिरस्कार, उपेक्षा र अपमानको विष देख्थें, उनका आँखामा देख्दिनथें, व्यवहारमा पाउन्नथें ।

बाबाको घर पनि लोकतान्त्रिक थियो । अठचालिस सालतिर भर्खर–भर्खर काँठ क्षेत्रमा टेलिभिजनको प्रवेश हुन थालेको थियो । बाबाको घरमा श्यामश्वेत पानासोनिक टीभी थियो । शनिबार त त्यो घर फिल्म हलजस्तो हुन्थ्यो । हामी केटाकेटी पलेटी कसेर टीभीका पर्दामा आँखा टाँग्थ्यौं । मेरो स्मृति शृंखला टुटेको छैन भने हरेक शनिबार बाह्र बजे नेपाल टेलिभिजनले हिन्दी फिल्म दिन्थ्यो । फिल्म सकिएपछि हामी फिल्मी भावुकतामा रसाएका आँखा पुछ्दै बाहिर निस्कन्थ्यौं ।

त्यो घरमा टेलिफोन पनि थियो, जसलाई बाबाले हाम्रो प्रयोगका लागि उदारतापूर्वक उपलब्ध गराएका थिए । म साथीहरूलाई सानसित भन्थें– नम्बर लिऊ न, ३३०७२७ । मानौं, त्यो मेरो निजी फोन थियो । राति बाह्र बजे पनि कसैको फोन आयो भने टोलै ब्युँझाएर बाबा बोलाइदिन्थे । त्यति सहयोगी थिए, बाबा र जया काकी ।

कहलिएका पुरोहित नारायणहरि पण्डितको छोरो भए पनि बाबालाई पुरेत्याइँमा कहिल्यै अभिरुचि भएन । सरकारी जागिरे भएर पनि होला, उनले संस्कार–श्रमिक हुने अनिच्छा देखाएका । काँठतिर अंशबन्डामा जजमान भाग लगाउँदा बाहुन दाजुभाइमा मारामार हुन्छ । बाबाले दाजुभाइले गरिखाऊन् भनेर पुस्तैनी जजमानीमा हकदाबी छोडिदिएका थिए ।

अंग्रेजी दार्शनिक तथा निबन्धकार बट्र्रेन्ड रसेलको एउटा निबन्ध छ, ‘इमिनेन्ट मेन आई ह्याभ नोन’ । उनी भन्छन्- ‘व्यक्तिगत रूपमा मलाई ज–जसले गहिरो प्रभाव पारेका छन्, जो–जो मेरा निम्ति अविस्मरणीय छन्, ती इतिहासमा महानतम योगदान पुर्‍याउने महानतम व्यक्ति होइनन् ।’ उनले ब्रिटेनका सात जना प्रधानमन्त्रीसँग संगत गरेका थिए । लेनिनलाई भेटेका थिए । आइन्सटाइनलाई भेटेका थिए, जसलाई उनले आफूले भेटेकामध्ये प्रभाव पार्ने एक मात्र प्रसिद्ध र महानतम व्यक्ति उल्लेख गरेका छन् । र, उनलाई महान् बौद्धिकता र बालसुलभ सरलताको दोबिल्ला भनेका छन् । रसेलले संसारप्रसिद्ध कवि, दार्शनिक, राजनेता आदि–आदिसँग संगत गरेका थिए । तर, उनी प्रभावित थिए, साधारण क्लर्क ईडी मोरेलबाट । मोरेल लिभरपुलमा सिपिङ क्लर्क थिए । बेल्जियमका राजा लिओपोल्डले कंगोमा गरेका अमानवीय अत्याचार र शोषणको उनले भन्डाफोर गरेका थिए । उनका बारेमा रसेलको यत्ति भन्नु छ— ‘यस्ता मान्छेले सांसारिक सफलता बिरलै पाउँछन् । तर, तिनले मान्छेहरूमा प्रेम र प्रेरणा भरिदिन्छन् ।’

पक्का हो, बाबा मोरेल थिएनन् । तर, एउटा इमानदार, असल र अहानिकारक मान्छे जस्तो हुन्छ, उनी त्यस्तै थिए । उनको जीवनको सफलता यति नै थियो ।

आज म दुःखीका पक्षमा दुईचार वटा कविता लेख्न सक्षम भएको छु । त्यसमा बाबाको लोकतान्त्रिक आँगनको धेरथोर प्रेरणा र भूमिका छ ।

मेरो गणतन्त्र (किनभने, यो मैले लडेर ल्याएको गणतन्त्र हो, सडकमा गोली खान तयार हुँदै कविता भनेर ल्याएको गणतन्त्र हो, तथापि यसलाई मजस्ता गरिखानेको असली गणतन्त्र बनाउन तोप नै पनि खानुपर्ने हुन सक्छ) को बाल्यकालले पनि टुँडीखेल भोगचलन गर्न पायो भने यो पनि दुःखीका पक्षमा दुईचार वटा उद्यम गर्न सायद सक्षम हुनेछ । सायद के, अवश्य सक्षम हुनेछ ।

(शनिबार प्रकाशन हुने कोसेलीबाट)

प्रकाशित : वैशाख ३, २०७८ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?