कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

द गैंडाकोट म्यान

जसले १३ वर्ष लगाएर ३ किलोमिटर लामो कुलो खनाए र गैंडाकोट गाउँलाई हराभरा बनाइदिए ।
सिमान्तकृत तहमा रहेर समाजवादी काम गर्ने तिलकप्रसाद सापकोटाको भागदौडको डायरी ‘यात्रा निरन्तर’ प्रकाशनमा आउन लागेपछि उनी केन्द्रमा पनि सुनिन थालेका छन्
देवेन्द्र भट्टराई

भारतको बिहार राज्यमा गया सहरनजिकै एउटा गाउँ छ— गेहलौर । त्यही गाउँमा एक खेतीकिसानी बस्थे, दशरथ माझी । अग्लो पहाडी चट्टान नाघेर मात्रै औषधिमुलो किन्नलाई पुग्न सकिने त्यो गाउँमा एक दिन दशरथकी श्रीमतीलाई व्यथा लाग्छ । त्यो पहाड छिचोलेर सहर पुगेपछि मात्रै दशरथ छोरीका बाबु बन्छन् तर श्रीमतीको भने निधन हुन्छ । यो सत्य कथा र पीडाका माझ एक्लो सपनाजीवी बन्दै माझीले अठोट गर्छन्— त्यो विशाल पहाड छेडेर सडक बनाइछाड्ने । नभन्दै २२ वर्ष समय खर्चेर उनले बाटो पनि बनाए ।

द गैंडाकोट म्यान

यो अठोट र साहसको कथालाई सम्मान गर्दै माझीको निधन भएको ४ वर्ष (सन् २०११) पछि बिहार राज्य सरकारले यो सडकलाई पक्की बनाइसकेको छ । अझ त्योभन्दा महत्त्वपूर्ण त माझीको यही सत्य कथामा बनेको ‘माझी : द माउन्टेन म्यान’ (२०१५) धेरैका लागि प्रेरक फिल्म बनिसकेको छ ।

दशरथ माझीकै जस्तो बाहिर आउन नसकेको वा नचाहेको एउटा कथा छ– गैंडाकोटमा । पहाडको फेदीमा बहने जयश्री खोलाबाट झन्डै ३ किलोमिटर नहर खनेर गैंडाकोटमा ल्याउने र ४ सय बिघाभन्दा बढी सिञ्चन गर्ने अभियान पूरा हुनै १३ वर्ष लागेको थियो । २९ सालदेखि सुरु भएको यो लहडी काम सुरु गर्दा पूर्व–पश्चिम राजमार्ग बनिसकेकै थिएन । कुलोबाट पानी आएपछि गैंडाकोटका ४ सय बिगाहाभन्दा बढी जमिनमा दुई कमाइ धान वा मकै, गहुँजस्ता अनाजको छेलोखोलो स्थिति उब्जिएको थियो । यो लहडी योजनामा एक्ला अभियन्ता थिए— तिलकप्रसाद सापकोटा (७७) ।

२००१ सालमा बागलुङको दमेकमा जन्मिएका तिलकप्रसाद स्कुले बेलैदेखि कांग्रेस राजनीतिमा लागेकाले पञ्चायतकालमा उनलाई हेरिने दृष्टिकोण अर्कै थियो । २०१५ सालमा बागलुङको रामकोटमा कांग्रेस नेता बीपी कोइरालालाई भेटेपछि भित्री मनैदेखि पार्टीमा संगठक बनेर लागेका उनी यही कारण आफ्नो पुस्तैनी थातथलोबाट लखेटिएर नवलपरासीको गैंडाकोट उत्रिएका थिए । ‘बागलुङमा पञ्चहरूले लखेटेपछि असाध्य भएर भित्री तराई झरेको हुँ, २०२८ सालमा गैंडाकोट आइपुग्दा स्थानीय समाजसेवी सूर्यभक्त अधिकारीले उदारतापूर्वक जग्गा दिने, बस्ती बसाल्ने काम गर्नुभएको थियो,’ गैंडाकोटको विजय चोकस्थित निवासमा भेटिएका तिलकले भने, ‘त्यसबेला यहाँ टिनले छाएका एक/दुई घर मात्रै थिए । १० हजार रुपैयाँमा ४२ रोपनी जग्गा लिएर बसेपछि मात्रै २०२९ सालमा नापी आएको थियो ।’

...

उसबेला सहर भन्नु सहर थिएन, गाउँ पनि गाउँजस्तो थिएन नै । तिलकको भित्री मनमा नेता बीपी कोइरालाले बोलेको गुरुमन्त्र अड्किएको थियो— राजनीति गर्ने भनेर संगठनमा हिँडिहाल्नु पर्दैन । आफ्नै ठाउँमा बसेर झोपडीमा बस्ने र सबैभन्दा गरिब वर्गको कल्याण गर्ने काम गर्न सकियो भने राजनीति र संगठन दुवै भइहाल्छ ।

‘सबैभन्दा मुख्य कुरा त गाउँमा अन्नअनाज थिएन, कतिसम्म भने श्राद्ध गर्नका लागि चाहिने चामलसमेत बाहिरबाट खोजीमेली गरेर ल्याउनुपर्थ्यो,’ तिलक सम्झन्छन्, ‘यसको एउटै कारण खेतीपातीमा सिँचाइ नभएको अवस्था आफैंमा कष्टप्रद थियो । गैंडाकोटाबाट ८/१० किलोमिटर दूरीमा रहेको भेडावारीमा गएर गाईबस्तुका लागि पराल लिएर आउनुपर्थ्यो, घाँसपात ओसार्नुपर्थ्यो । किनभने धानखेती त्यहीं मात्रै हुन्थ्यो । गैंडाकोटको ४ सय बिघाभन्दा बढीको भूभाग सुक्खा थियो, यो खरबारी मात्रै थियो । अलिअलि मकै, तोरी मात्रै हुन्थ्यो ।’ बेलटारीतिरका दराई, कुमालहरू गाई त पाल्थे तर दूध दुहुँदैनथे । मलका लागि मात्रै गाई पालेका हुन्थे । दूध दुहुनुपर्छ, खानुपर्छ भनेर थाहै थिएन । खेत गर्नै, धान रोप्नै पनि सिकाउनुपर्ने समय थियो । ‘अनि साह्र बिरक्ति छाएर जयश्री खोलाको मुहानसम्म म पुगें, २०२९ साल भदौमा,’ तिलक सम्झन्छन्, ‘त्यही खोलाबाट गैंडाकोटसम्म पानी ल्याउन सकिन्छ भन्ने निधो गरेर स्थानीयवासीलाई सम्झाइबुझाइ गर्नै केही समय लाग्यो ।’

सुरुमा सेउलाको बाँध सुरु भयो, तारजाली र माटो–बालुवा पनि भयो । खन्दाखन्दै राजमार्गमा उडिसाबाट कामदार आएका थिए, ६० जना जति । कुलोमा कहींकतै १० फिटसम्मको गहिराइ थियो । त्यो बेला एक जना श्रमिक कुलोमा पुरिएको पनि थियो, उडिसाको । जेनतेन बाँच्यो । त्यही कुलो खन्ने समूहका अगुवा भानुभक्त मिश्रलाई स्थानीयवासीले ढुंगाले हानेर रक्ताम्मे बनाएका थिए । प्रतिरोधमा उत्रिएका टीकाराम, लक्ष्मीदत्त सापकोटाहरूलाई ज्यान मुद्दा लगाउनेसम्मका काम भए । ‘यसरी ४३ सालको बर्खायाममा कुलोमा पानी आयो । गैंडाकोटभर धान रोपाइँ भयो । कुलो निर्माणमा त्यो बेला तिलकको २४ हजार रुपैयाँ पैसा सकिएको रहेछ, केही जमिन सम्पत्ति पनि । गैंडाकोटका जमिनमा पानी सिञ्चित भएको त्यो दिन मैले पारिको कलबोटमा बसेर पानीको सिञ्चन हेरेको थिएँ,’ तिलक भन्छन्, ‘त्यसपछि गाउँघरमा तीजको गीत बनेको थियो— ‘अघिअघि तिलकबाबु साह्रै निन्दा गरियो/क्षमा दिनुस् तिलकबाबु भूलमा परियो...।’

...

२०३५ सालमा बीपी कोइराला काठमाडौंबाट विराटनगर हुँदै बनारस गएका थिए । विराटनगरमा रहेको एलिट क्लबमा गएर उनले मन्तव्य राखेका थिए । ‘अनि मलाई लाग्यो— यस्तो क्लब भएमा पञ्चायतकै शासन भए पनि बोल्न त सकिने रहेछ,’ तिलक सम्झन्छन्, ‘यही प्रेरणा भरमा २०३६ सालमा विजय युवा क्लब खोल्ने काम भयो । आज यही क्लब हुर्केर–बढेर गैंडाकोटको आर्थिक–सामाजिक परिवर्तनमा विजय विकास स्रोतकेन्द्र(भीडीआरसी) नामबाट परिचित बनेको छ ।’ यही क्लबको रूपान्तरण भएजस्तै आज गैंडाकोट क्षेत्रमा विजय सामुदायिक शिक्षा सदन (२०५८), विजय एफएम (२०६४), कालिका संस्कृत विद्यापीठ (२०५९), बिकु बचत तथा ऋण सहकारी संस्था बिछट्टको प्रभाव र पहुँच राख्दै सञ्चालनमा आएका छन् ।

‘०४८ सालतिर सुरुवातमा २६ जना सदस्यले दिनको १ मोहोर पैसा संकलन गर्ने एउटा अभियान थालिएको थियो, यो विजय बचत योजना (बिकु) ले आज यो भेगमै नमुना बैंकिङ प्रवर्द्धनको नमुना स्थापित गरेको छ । आज बिकुमा ८ अर्ब रुपैयाँको पुँजी सञ्चालन अवस्थामा छ,’ तिलक भन्छन्, ‘त्यो बेला १ सय रुपैयाँमा ५ रुपैयाँ मासिक ब्याज लिने चलन थियो, त्यो ब्याजबाट मुक्ति दिलाउने काम भयो । केटाकेटीको खुत्रुके बचत पनि सुरु भयो । यो पनि समाजवादी कार्यक्रम हो भन्ने लाग्छ ।’

‘मेरो सपनाको अर्को त्यान्द्रो थियो— कालिका संस्कृत विद्यापीठ । २०३३ सालमा सेउलाले छाएर सुरु भएको यो विद्यापीठमा आज आयुर्वेद पढाइ हुन्छ, संस्कृत पढाइ हुन्छ । यो विद्यापीठलाई पनि महेन्द्र संस्कृतअन्तर्गत आंगिक बनाएर यस अवस्थामा ल्याउन १३ वर्षै लाग्यो,’ तिलक भन्छन्, ‘आयुर्वेद मेरो सपना हो । जडीबुटीजति हामी टनको हिसाबमा बाहिरी दुनियाँलाई बेच्छौं, त्यसबाट बन्ने औषधि भने ग्रामका हिसाबमा यता लिन्छौं । यसकारण यो समाजवादी–व्यावहारिक शिक्षाको आधारलाई यहाँ स्थापित गर्न चाहेको हुँ ।’

...

राजनीतिक आन्दोलन र संगठन निर्माणकै कारण तिलकप्रसाद पञ्चायती नजरमा ‘राज्यद्रोही’ बनेर २०४१ जेठ महिनादेखि केही वर्ष भैरवहा, परासी र पाल्पा जेलमा समेत थुनामा परे । भैरहवा छँदा जेलका साथी थिए— राधाकृष्ण मैनाली, घनश्याम भुसाल आदि । झापा विद्रोहबाट चिनिएका राधाकृष्णको तर्क र अडान कट्टरपन्थको जस्तो सुनिन्थ्यो भने घनश्याम अल्लारे भईकन भौतिकवादी तर्कमा अडिँदै तिलकलाई भन्थे, ‘तपाईं गीता–गीता भन्नुहुन्छ, गीतामा के छ र ? जति मार्क्सका किताबमा छ ।’

संगत र सहाचर्यका हिसाबमा बीपी कोइरालादेखि गणेशमान, किसुनजी, गिरिजाबाबु र सीके प्रसाईंको आदर्श तथा राजनीतिक गुणलाई मन पराउने तिलक राजनीतिको केन्द्रमा भने त्यति आएनन्, देखा पर्न चाहेनन् । एकपटक सुकुम्बासी आयोगमा अल्पकालीन सदस्य बनेयता केन्द्र तहमा तिलक कहींकतै देखिएनन् । ‘एउटा चौतारी नबनाएका र एउटा पानीको कुवा नखनाएका मान्छे पनि यहाँ नेता बनेका छन्,’ तिलक भन्छन्, ‘मैले राजनीतिमा केन्द्र चाहिनँ । म कामबाटै प्रभाव खोज्ने वर्गमा परें, प्रभाव मात्रै खोज्दै हिँड्नेमा परिनँ ।’ उनका बुझाइमा, उनका लागि राजनीति स्वान्त सुखाय मात्रै भयो, यसले मनग्ये आत्मसन्तुष्टि दियो । तिलक सम्झन्छन्— बीपीले हरेकपटकको भेटमा कांग्रेसलाई बुझ्ने र बचाउने हो भने ‘किसुनजी, सीके (प्रसाईं), गिरिजाबाबु र गणेशमानलाई पढ्नू’ भन्नुहुन्थ्यो । त्यो भनेको किसुनजीको सन्तपन, सीकेको समाजवादी विचार, गिरिजाको संगठन क्षमता र गणेशमानको त्यागलाई एक ठाउँमा राखेर कांग्रेस बुझ्नु जरुरी छ भनिएको हो । ‘मैले जहिल्यै आदर्शलाई

पछ्याएँ, चाटुकारितातिर लागिनँ,’ उनी भन्छन्, ‘मलाई राजनीतिको केन्द्रमा पुगिनँ भन्ने पछुतो पनि छैन किनभने म पनि केन्द्रमा अरूहरूसरह पुगेको भए यसैगरी पैसा र पावरको भोकमा गनाइसकेको हुने थिएँ कि ? यसरी नाम जोगिनु नै ठूलो कुरा हो ।’

स्थानीय तहमा राम्रै प्रभाव र पकड रहे पनि २०६४ सालमा गिरिजाबाबुले तिलकलाई बालुवाटार बोलाएरै भनेका रहेछन्— ‘लु अब शशांकलाई इस्टाब्लिस गर्नुपर्‍यो । तिलकजीको क्षेत्र सुरक्षित देखेर मैले शशांकलाई तिमीकहाँ पठाएको छु । सकेको सहयोग गरिदेऊ, म तिमीलाई हेर्छु ।’

‘अब मलाई के हेर्नुहुन्छ ? टिकट दिने कुरामा दिनुभएन । शशांकलाई पठाइने भनिसक्नुभयो, ‘गुरुपुत्र’ हो मेरा लागि शशांकजी । यो मेरो कर्तव्य हो, म साथ–सहयोग दिनेछु । तर, यो पनि भन्न चाहन्छु— तपाईंहरूले केन्द्रबाट तिलक वा तिलकजस्ता कार्यकर्तालाई हेर्नुहोला भन्ने लाग्दैन,’ यति जवाफ दिएर गैंडाकोट फर्केका तिलक फेरि टिकट वा अरू केन्द्रीय भागदौडमा सामेल हुन काठमाडौं गएनन् । गिरिजाबाबुले जिम्मा दिएपछिका १५ वर्षयता लगालग शशांक कोइराला नवलपरासीको गैंडाकोट क्षेत्रबाट सांसद रहिआएका छन् ।

सिमान्तकृत तहमा रहेर आफ्नो भेगका लागि साँच्चिकै समाजवादी काम गर्ने यी सत्पात्रको जेलजीवन, संघर्ष र भागदौडको डायरी इतिवृत्तान्त ‘यात्रा निरन्तर’ यो साता प्रकाशनमा आउन लागेपछि तिलकप्रसादको नाम केन्द्रमा पनि सुनिन लागेको हो । तिलकप्रसादको जीवन र योगदान सम्झेर विश्लेषक हरि शर्माले ‘यात्रा निरन्तर’ को टिपोटमा लेखेका छन्—‘तिलकप्रसाद सापकोटा एक सिमान्तकृत योद्धा हुन् । योगदानको कुरा गर्दा ठूला नेता र केन्द्रको कुरा मात्रै धेरै प्रचार बनेर बाहिर आएको छ, स्थानीय तहमा रहेर–बसेर काम गर्ने सही अर्थका र तिलकजीजस्तै सांगठनिक नेताहरूका भोगाइ वा योजना–सपना ओझेलमै रहे, रहिरहेकै छन् ।’

प्रकाशित : चैत्र २८, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?