कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संगीतस्रष्टाका नालीबेली

आमाले गोपाल योञ्जनलाई संन्यासी बनाउने सपना देखेकी थिइन् । तर, गोपाल रक्सीको नशामा ढल्दै घर आएपछि आमा धुरूधुरू रोइन् । 
आधुनिक नेपाली संगीतमा काठमाडौं र दार्जिलिङ कसरी जोडिन पुग्यो ? किताबमा यसबारे  तथ्यसहित चर्चा छ । 
शार्दूल भट्टराई

झुले अर्ग्यानिक फार्महाउस एन्ड रिसोर्टमा गीत–संगीतबारे अनौपचारिक कुराकानी भइरहेको थियो । त्यसको नेतृत्व गरिरहेका थिए– बुलु मुकारुङले । कुराकानीमा सहभागी थिए– वसन्त थापा, नारायण ढकाल, डम्बर चेम्जोङ, सुरेश ढकाल र देवेन्द्र ढुंगाना ।

संगीतस्रष्टाका नालीबेली

म कुराकानीमा सहभागी हुनुभन्दा पनि बढी मात्रामा एउटा श्रोता थिएँ । कुराकानीमा बुलु मुकारुङले केही गायक/संगीतकारका सार्वजनिक जानकारीमा नआएका प्रसंगको खुलासा गर्न थाले । केही चाखलाग्दा घटना सुनिसकेपछि मेरो जिज्ञासा बढ्यो । मैले त्यस्ता घटनाको विश्वसनीयताबारे प्रश्न गरेँ । उत्तरमा बुलुले भने, ‘त्यसका लागि पिटर जे. कार्थकको ‘नेपाली संगीतस्रष्टा’ भन्ने पुस्तक पढ्नोस् ।’

‘सेलेब्रिटी’ का निजी जीवनका सामान्य घटना पनि मानिसका लागि चासो र जिज्ञासाका विषय बन्छन् । त्यस दिन बुलुका कुरा त्यस्तै थिए । उनले मेरो कौतुहलता बढाउने काम गरे । त्यही पुस्तकबारे थप केही सोध्दै थिएँ । मेरो कौतुहलतालाई अझै बढाउने काम वसन्त थापाले गरे । उक्त पुस्तकको अध्ययनप्रति वास्तवमै जागरुक भएँ ।

***

आमाले गोपाल योञ्जनलाई संन्यासी बनाउने सपना देखेकी थिइन् । तर, गोपाल एक दिन रक्सीको नशामा ढल्दै घरमा आएपछि आमा धुरुधुरु रोइन् र आफ्नो सपनालाई त्याग्न पुगिन् । आमाको सपना अधुरो रहे पनि तामाङ बौद्ध परम्परामा हुर्केबढेका गोपाल योञ्जनले आफ्नै शब्द, स्वर र संगीतमा दुईवटा हिन्दु आध्यात्मिक भजन रेकर्ड गरे र जीवनभर कडा शाकाहारी बनेर रहे ।

काठमाडौंको मासंगल्लीमा रहेको नारायण साहुको ठर्रा पसलमा जानेमानेका गायक, संगीतकार र कलाकारको ठूलै जमघट हुन्थ्यो । त्यहाँका नियमित ग्राहकमा नारायणगोपाल, पिटर जे.कार्थक, उत्तम नेपाली, रवि शाह, कोकिल गुरुङ, भीमवरसिंह थापा, यमबहादुर खड्का, श्यामकृष्ण प्रजापति आदि हुन्थे । गृह मन्त्रालयबाट खटिएका कालो टोपी लाउने जासुस र लल्लुपञ्जुहरू पनि त्यहाँ कलाकारसँग घुलमिल हुन आउँथे ।

नारायणगोपाल त्यहाँको कडा नेवारी रक्सी र मसालेदार सितन निकै मनपराउँथे । एक रात ११ बजे नारायणगोपाल र पिटर ठर्रा पसलबाट निस्किए । सेतो मच्छिन्द्रनाथको मन्दिरअगाडि पुगेपछि मन्दिरभित्र रात्रिकालीन भजन चलिरहेको सुनियो । नारायणगोपाल र पिटर त्यहीँ छिरे । त्यहाँ चिलिमका चिलिम गाँजाको धूवाँ पनि उडिरहेको थियो । रक्सीको नशामै चिलिम तान्दै नारायणगोपालले धूवाँको मुस्लो फाले । त्यहाँ उनले ६ वटा भजन गाए । रातभर रमाउनेहरूका लागि अँध्यारो रात पनि जीवन्त बन्न पुग्यो ।

दार्जिलिङको चाादमारी रोडको ठाडो र घुमाउरो नालीमा कहिलेकाहीँ मातेर लडेका दुई जना प्रधानाध्यापक भेटिन्थे । तिनमा एक जना अगमसिंह गिरी र अर्का पिटर जे. कार्थकका बाजे अल्बर्ट कार्थक हुन्थे । अगमसिंह गिरी एक दिन बेलुकी मातेर पिटरको घरको गेट हल्लाउन आइपुगे । उनले भने ‘पिटर भाइ, हामीले यी बिहारी, कैयाँ (मारबाडीलाई हेपेर बोलाउने शब्द) र बंगालीहरूलाई दार्जिलिङबाट खेदाउनुपर्छ । यो भूमि हाम्रो हो । उनीहरू यहाँका होइनन् ।’

नातिकाजी शक्तिसम्पन्न व्यक्तिहरूको दबाबको पालना गर्थे । एकपटक दरबारसँग जोडिएका एक जना राणाले नातिकाजीलाई आफ्नो गीतमा संगीत भर्न दबाब दिए । नातिकाजीले पनि त्यसलाई स्वीकार गरे । उनले त्यसै दिन कार्यालयमा पुग्नासाथ त्यसमा संगीत भरे । त्यही दिन दिउँसो फत्तेमानले त्यो गीत गाए । साँझ त्यो गीत रेडियो नेपालबाट प्रसारण भयो । यस्तै कामका कारण नातिकाजीलाई दरबारको कारिन्दा ठान्नेहरू पनि थिए । उनीहरू नातिकाजीलाई पञ्चायती व्यवस्थाका पिठ्ठु ठान्थे ।

रेडियो नेपालको अवस्था निकै नाजुक थियो । त्यहाँ बाजाहरू नै थिएनन् । एउटा थोत्रे अर्गन, केही भायोलिन, केही मादल, एउटा जलतरंग, एउटा ट्र्यांगल, केही मुरली, केही बाँसुरी, केही तबेला, ढोलक र तानपुरा थिए । एक दिन रेडियो नेपालमा नारायणगोपाल एउटा गीत रिहर्सल गरिरहेका थिए । सँगैको स्टोर कोठामा रञ्जित गजमेरले एउटा डबल बेस फेला पारे र त्यो पिटरलाई दिए । बाजा पुरानो भए पनि राम्रो अवस्थामा थियो । पिटरले अभ्यास गरेर त्यसलाई ‘थर्ड इफेक्ट’ का लागि तयार बनाए । पिटरकै कारण रेडियो नेपालको रेकर्डिङमा पहिलोपटक डबल बेसको आवाज गुन्जियो ।

‘नौलाख तारा उदाए....’ भन्ने गीत सार्वजनिक हुनेबित्तिकै दार्जिलिङमा लोकप्रिय बन्यो । त्यससँगै त्यो ठूलो विवादमा पनि पर्‍यो । त्यसलाई भारतमा दबिएका आप्रवासी समुदायको विरोधी ‘अराष्ट्रिय’ गीतको रूपमा चर्चा गरियो । त्यस गीतका कारण भारतको एकतामै खतरा उत्पन्न हुन पुगेको बताइयो । त्यही गीतका कारण अम्बर गुरुङलाई खेद्ने काम सुरु भयो । डुअर्सको एउटा कन्सर्टमा त ‘खोइ अम्बरे ?’ भन्दै एउटा ग्याङ आक्रमण नै गर्न आइपुगेको थियो । त्यति हुँदा पनि दार्जिलिङमा अम्बर गुरुङको पक्षमा त्यहाँका नेताले केही बोलेनन्, केही गरेनन् ।

बच्चुकैलाश राजपरिवार र तिनका नसनाताका राणा तथा ठकुरीकहाँ गएर गीत गाउँथे । उनलाई बोलाएर गीत गाउन लगाउने कुरामा तँछाडमछाड हुन्थ्यो । हिमालय शाहकी गजबदना पत्नी प्रिन्सेस शाह त बच्चुकैलाशको हितचिन्तनमा ‘सदा व्याकुल’ देखिन्थिन् । यस्ता उच्च वर्गका धेरै महिलाको लाडप्यार उनलाई थियो । ह्यान्डसम बच्चुकैलाश त्यस्ता ‘महिलाका चहेता’ थिए ।

***

सारांशमा माथि उल्लिखित केही प्रसंग हुन् पिटर जे. कार्थकको पुस्तक ‘नेपाली संगीतस्रष्टा’ भित्रका । पुस्तकमा यस्ता अनेकौं प्रसंग छन् । संगीतस्रष्टाहरू प्रेममा परेका, रक्सीले मात्तिएका, अराजक बनेका, महागफाडी भएका, जुवाडे बनेर हिँडेका, गुट बनाएका, चाकडीबाज बनेका, एकले अर्काको ईर्ष्या गरेका, घमण्डी बनेका, अपमान गरेका जस्ता अनेक प्रसंग पुस्तकमा छन् । कतिपय प्रसंग रोचकमात्र छैनन्, घोचक पनि छन् । पुस्तकमा काठमाडौं र दार्जिलिङको संगीत संसारका संगीतस्रष्टालाई समेटिएको छ ।

दार्जिलिङका पिटर जे. कार्थकले १२ वर्षकै उमेरमा आफ्नो सांगीतिक जीवन सुरु गरेका थिए । उनी दार्जिलिङको ‘म्युजिकल ब्यान्ड’ को नेतृत्व गर्न पुगे । दार्जिलिङबाट नेपाल छिरेपछि र काठमाडौंमा रहन थालेपछि उनको जीवनयात्रा अनेकतिर छरिन पुग्यो । उनी क्यासिनोका कुपियर मात्र बनेनन्, स्कुल र कलेजमा अंग्रेजी पढाउने अध्यापक पनि बने । रेडियो नेपालमा पूर्णकालीन गितारवादक बनेका उनी एउटै कृति ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ बाट उपन्यासकारको चर्चामा पनि रहे । ट्राभल एजेन्सी सञ्चालन र सडक निर्माणसँग सम्बन्धित काममा पनि उनको आबद्धता रह्यो । उनी अंग्रेजी पत्रिकाका स्तम्भकार पनि रहे । उनको सम्पर्क–सम्बन्ध विभिन्न क्षेत्रका मानिससँग भयो । तर, यस पुस्तकमा उनले आफ्नो संगतका संगीत स्रष्टाहरूलाई मात्र समेटेका छन् ।

राजा महेन्द्रले अम्बर गुरुङलाई नेपाल राजनकीय प्रज्ञा–प्रतिष्ठानका लागि ‘आयात’ गरेपछि दार्जिलिङका संगीत स्रष्टाहरूको काठमाडौं बसाइँसराइ बढेको विचार राख्ने पिटरले अम्बर गुरुङलाई नेपाली आधुनिक संगीतमा सबैभन्दा ठूलो स्रष्टा ठानेका छन् । उनले अम्बरलाई आधुनिक नेपाली संगीतका ‘अल्फा’ र ‘ओमेगा’ भनेका छन् । आफूहरूका लागि अम्बर गुरुङ उस्ताद, नाइके, पथप्रदर्शक, दार्शनिक, एकभन्दा बढी अवतारका गुरु र इटालीका प्रख्यात अर्केस्ट्रा कन्डक्टर आर्तुरो तोस्कानिनीको साक्षात अवतार भएको मानेका छन् । सँगसँगै रेडियो नेपालमा अम्बर गुरुङ, गोपाल योञ्जन, नारायणगोपाल, नातिकाजी र शिवशंकरका सामान्य सहयोगी बन्नकै लागि आफ्ना सारा सिर्जनशील इच्छाहरू दबाएर बस्नुपरेको गुनासो पनि पिटरको छ ।

पुस्तकमा पिटरले विभिन्न गायक/संगीतकारहरूका स्वभावबारेसमेत तिखो टिप्पणी गरेका छन् । उनका अनुसार, बेसुरा गाए पनि गायिका कहलिएकी र ‘सेक्स बम’ मानिएकी दिलमाया खाती दम्भी र अहंकारी थिइन् । पिटर योगेश वैद्यलाई एकलकाँटे, अभिमानी र साम्प्रदायिक ठान्छन् ।

नामचाहिँ पुण्यात्माजस्तो भए पनि भक्तराज आचार्यलाई उनी दम्भी, अहंकारी, व्यर्थको फुलेल गायक मान्छन् । उनी शान्ति ठटाललाई एकलकाँटे, अरूसँग नमिल्ने, हेपाहा, रूखो र छुच्ची ठान्छन् । उनी अम्बर–शान्तिको प्रेमजालको कुरा पनि गर्छन् । उनको टिप्पणी छ– ‘शान्तिजस्तो एकल महिलाका लागि यसो हुनु स्वाभाविक थियो होला तर अम्बर गुरुङ त चार जना छोराछोरीसमेत भएका विवाहित पुरुष थिए । प्रेम र संगीतमा सम्भवतः जे पनि क्षम्य छ ।’ पिटरले रेडियो नेपालमा वाद्यवादक भएर दस वर्ष काम गर्दा अरू सबैसँग आफ्नो राम्रो सम्बन्ध भए पनि तारादेवीसँग भने बोलचालसमेत नभएको बताएका छन् ।

संगीतसँगै पिटर राजनीतिको कुरा पनि गर्छन् । उनले नेहरूको ‘समाजवादी भारत’ लाई बन्द मुलुक बताएका छन् भने बंगाली मार्क्सवादीहरू आधुनिक संगीत र संगीतकारप्रति असहिष्णु भएको उल्लेख गरेका छन् । डुअर्समा कन्सर्ट बिथोलेर अम्बर गुरुङ र उनको टोलीलाई लखेट्ने ‘राजनीतिक गुन्डाहरू पछि नक्सलाइटका नामले चिनिएको’ दाबी पिटरको छ । गोर्खाल्यान्ड आन्दोलनका प्रमुख सुभास घिसिङले छेडेको अभियानलाई उनले बौद्धिकताविरोधी अभियान मानेका छन् । नेपालका राजा महेन्द्रप्रति भने उनको सद्भाव देखिन्छ ।

वसन्त थापाको सम्पादन, संयोजनमा हिमाल किताबबाट प्रकाशित यो पुस्तक पढ्नुअघि यसबारेका चर्चामात्र सुनेको अवस्थामा लागेको थियो– पुस्तक केही संगीतस्रष्टाको निजी जीवनसँग मात्र सम्बद्ध छ । तर, किताब पढ्दै जाँदा लाग्यो– पुस्तकले आधुनिक नेपाली संगीतको आरम्भ, विकास र यसमा संलग्न स्रष्टा बारेसमेत रोचक पारामा तथ्यगत जानकारी दिने काम गरेको छ । आधुनिक नेपाली संगीतमा नेपालको काठमाडौं र भारतको दार्जिलिङ कसरी जोडिन पुग्यो भन्ने विषयमा पनि पुस्तकमा उल्लेखित सन्दर्भहरूले तथ्यसहित उजागर गरेका छन् ।

प्रकाशित : चैत्र २१, २०७७ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?